सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌!

अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌!

अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌!

“जो जो विश्‍वासका छन्‌, तिनीहरूनै अब्राहामका सन्तान हुन्‌।”—गलीती ३:७.

१. अब्रामले कनानमा आइपरेको नयाँ परीक्षाको कसरी सामना गरे?

 यहोवाको आज्ञा पालन गर्दै अब्रामले ऊरको आरामदायी जीवन त्यागेका थिए। तिनले त्यसपछिका वर्षहरूमा भोगेका असुविधाहरू पछि मिस्रमा विश्‍वासको खातिर भोग्नुपरेका परीक्षाहरूको तुलनामा नगन्य थिए। बाइबल विवरण यस्तो भन्छ: “अनि त्यस देशमा अनिकाल पऱ्‍यो।” यस्तो परिस्थिति आइपरेकोमा अब्रामले नमीठो मान्‍नु त स्वाभाविकै हुने थियो! तर आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्न तिनले व्यावहारिक कदमहरू चाले। “त्यहाँ घोर अनिकाल परेको हुनाले अब्राम मिश्र देशमा प्रवास गर्नलाई गए।” मिस्रमा अब्रामको ठूलो घरानालाई मानिसहरूले याद नगर्ने त कुरै भएन। के यहोवाले आफ्नो प्रतिज्ञाअनुरूप अब्रामलाई हानि नोक्सानीदेखि जोगाउनुहुने थियो?—उत्पत्ति १२:१०; प्रस्थान १६:२, ३.

२, ३. (क) अब्रामले आफ्नी श्रीमतीको वास्तविक परिचय किन लुकाउन खोजे? (ख) परिस्थितिको मागअनुसार अब्रामले आफ्नी पत्नीसित कसरी व्यवहार गरे?

हामी उत्पत्ति १२:११-१३ मा यस्तो लेखिएको पाउँछौं: “तिनी मिश्रमा पस्नै लाग्दा तिनले आफ्नी स्वास्नी साराईलाई भने, ‘हेर, तिमी हेर्नमा सुन्दरी छौ भन्‍ने मलाई थाह छ। औ मिश्रीहरूले तिमीलाई देख्ता “यो ता त्यसकी स्वास्नी रहिछ” भन्‍नेछन्‌। औ मलाई मारेर तिमीलाई चाहिं जीवित राख्नेछन्‌। “म तिनको बहिनी हुँ” भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।’ ” पैंसट्ठी वर्ष नाघिसकेकी भए तापनि साराई अझै पनि बिछट्टै राम्री थिइन्‌। त्यसकारण, अब्रामको जीवन खतरामा पर्न सक्ने सम्भावना थियो। a (उत्पत्ति १२:४, ५; १७:१७) योभन्दा पनि महत्त्वपूर्ण कुरा त, यहोवाको उद्देश्‍य पनि खतरामा पर्ने थियो। किनकि उहाँले अब्रामलाई तिनकै सन्तानद्वारा पृथ्वीका सारा जाति आशिषित्‌ हुनेछन्‌ भन्‍नुभएको थियो। (उत्पत्ति १२:२, ३, ७) अहिलेसम्म सन्तान नभएको कारण अब्राम जीवितै रहनु अत्यावश्‍यक थियो।

अब्रामले आफ्नी श्रीमतीसित मिलेर पूर्व सहमतिअनुसारै एउटा उपाय निकाले अनि सोही उपायअनुसार साराईले आफूलाई अब्रामकी बहिनी भन्‍नु पर्थ्यो। याद गर्नुहोस्‌, अब्रामसित कुलपिताको अख्तियार भए तापनि तिनले आफ्नो पदको दुरुपयोग गरेनन्‌। तर तिनले साराईको सहयोग र समर्थन खोजे। (उत्पत्ति १२:११-१३; २०:१३) यस सम्बन्धमा अब्रामले मायालु हुँदै शिरत्वको अभ्यास गर्न पतिहरूका लागि राम्रो उदाहरण छाडेका छन्‌ भने साराईले पनि अधीनता देखाएर आजका पत्नीहरूका लागि राम्रो उदाहरण छाडेकी छिन्‌।—एफिसी ५:२३-२८; कलस्सी ४:६.

४. आफ्ना भाइहरूको जीवनै खतरामा परेको बेला आज परमेश्‍वरका विश्‍वासी मसीहीहरूले कसरी व्यवहार गर्नुपर्छ?

वास्तवमा साराई अब्रामकी सौतेनी बहिनी नै पर्ने भएकी हुँदा उनले आफूलाई अब्रामकी बहिनी भन्‍न सक्थिन्‌। (उत्पत्ति २०:१२) यसबाहेक, अब्रामले सबै मानिसहरूलाई आफूबारे जानकारी दिइरहनु आवश्‍यक थिएन। (मत्ती ७:६) परमेश्‍वरका आधुनिक समयका विश्‍वासी सेवकहरूले इमानदार हुने सम्बन्धमा बाइबलको आदेश पालन गर्छन्‌। (हिब्रू १३:१८) उदाहरणका लागि, अदालतमा शपथ लिनेबेला तिनीहरू कहिल्यै झूट बोल्दैनन्‌। तर आफ्ना भाइहरूको शारीरिक वा आध्यात्मिक जीवनै खतरामा परेको बेला जस्तै, सतावट आइपर्दा वा गृहयुद्ध मच्चिंदा भने तिनीहरू येशूले “सर्पझैं चनाखो र ढुकुरझैं सोझो होओ” भन्‍नुभएको आज्ञा पालन गर्छन्‌।—मत्ती १०:१६; प्रहरीधरहरा, नोभेम्बर १, १९९६, पृष्ठ १८, अनुच्छेद १९ हेर्नुहोस्‌।

५. साराई अब्रामको आग्रह मान्‍न किन इच्छुक थिइन्‌?

साराईले अब्रामको आग्रह सुनेर कस्तो प्रतिक्रिया व्यक्‍त गरिन्‌? प्रेरित पत्रुस तिनीजस्ता आइमाईहरूलाई “परमेश्‍वरमा आशा राख्ने” भनेर उल्लेख गर्छन्‌। तसर्थ, यस परिस्थितिसित सम्बन्धित आध्यात्मिक मुद्दा साराईले राम्ररी बुझेकी थिइन्‌। यसबाहेक, तिनी आफ्नो पतिलाई माया अनि आदर गर्थिन्‌। यसरी साराईले ‘आफ्नो पतिको अधीनमा’ रहने छनौट गरिन्‌ र आफू विवाहित भएको कुरा लुकाइन्‌। (१ पत्रुस ३:५) हो, यसो गर्दा तिनलाई पनि खतरा थियो। “जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहेछन्‌ भनी देखे। औ फिरऊनका राजकुमारहरूले तिनलाई देखेर फिरऊनकहाँ तिनको तारीफ गरे, र तिनलाई फिरऊनको घरमा लगे।”—उत्पत्ति १२:१४, १५.

यहोवाले दिनुभएको छुटकारा

६, ७. अब्राम र साराई कस्तो आपत्‌मा परे र यहोवाले साराईलाई कसरी छुटाउनुभयो?

यो घटनाको कारण अब्राम र साराई कत्ति व्याकुल भए होलान्‌! साराईको इज्जतमा दाग लाग्नै लागेको जस्तो देखिएको थियो। यसबाहेक, साराई विवाहित स्त्री थिइन्‌ भनेर थाह नपाएका फिरऊनले अब्रामलाई प्रशस्तै उपहारहरू दिए र यसरी अब्रामसित “भेड़ा, गोरू, कमारा-कमारी, गधा र ऊँटहरू” भए। b (उत्पत्ति १२:१६) ती उपहारहरू अब्रामलाई कत्ति घिन लाग्यो होला! चारैतिर अन्धकारले घेरेजस्तो लाग्यो होला तर यहोवाले अब्रामलाई त्याग्नुभएको थिएन।

“परमप्रभुले अब्रामकी स्वास्नी साराईको कारणले फिरऊन र तिनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।” (उत्पत्ति १२:१७) फिरऊनसामु ती “विपत्तिहरू” आइपर्नुका साँचो कारण प्रकट गरियो तर कसरी प्रकट गरियो त्यसबारे केही बताइएको छैन। तिनले तुरुन्तै कदम चाले: “यसकारण फिरऊनले अब्रामलाई बोलाएर भने, ‘यो तिमीले मलाई के गऱ्‍यौ? तिनी तिम्रो स्वास्नी हुन्‌ भनेर तिमीले मलाई किन भनेनौ? “तिनी मेरी बहिनी हुन्‌” भनेर तिमीले किन भन्यौ? यसैले मैले तिनलाई मेरो स्वास्नी तुल्याउन लगेको हुँ। अब, हेर, तिम्रो स्वास्नी यहीं छिन्‌। तिनलाई लिएर गइहाल।’ अनि फिरऊनले मानिसहरूलाई तिनका विषयमा हुकूम गरे, र तिनीहरूले अब्रामलाई तिनका स्वास्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।”—उत्पत्ति १२:१८-२०; भजन १०५:१४, १५.

८. आज यहोवाले मसीहीहरूलाई कस्तो सुरक्षा दिने प्रतिज्ञा गर्नुभएको छ?

आज, हामीमाथि मृत्यु, अपराध, भोकमरी वा प्राकृतिक प्रकोपजस्ता आपत्‌ आइपर्दा यहोवाले आफ्ना सेवकहरूलाई त्यसबाट सुरक्षित राख्ने ग्यारेन्टी नदिनुभए तापनि हाम्रो आध्यात्मिकतालाई खतरामा पार्नसक्ने परिस्थितिहरूबाट भने हामीलाई सधैं जोगाउने प्रतिज्ञा यहोवाले गर्नुभएको छ। (भजन ९१:१-४) उहाँले मुख्यतः आफ्नो वचन र “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” सामयिक चेताउनी दिनुभएर हामीलाई जोगाउनुहुन्छ। (मत्ती २४:४५) अनि सतावटको कारण मृत्यु हुनसक्ने खतराबाट नि? केही व्यक्‍तिको मृत्यु हुन दिनु होला तर परमेश्‍वरले कहिल्यै आफ्ना सम्पूर्ण जन नै सखाप हुन दिनुहुने छैन। (भजन ११६:१५) अनि कोही विश्‍वासी जन मृत्युको पन्जामा परिहाले भने पनि हामी तिनीहरूको पुनरुत्थान हुन्छ भनेर ढुक्क हुनसक्छौं।—यूहन्‍ना ५:२८, २९.

शान्ति कायम गर्न त्यागहरू गर्न तयार

९. कनानमा छँदा अब्रामले एकै ठाउँमा डेरा जमाएर बसेनन्‌ भनी केले संकेत गर्छ?

कनानमा परेको अनिकाल पूर्णतया हटेपछि “अब्राम, तिनकी स्वास्नी र तिनीसँग भएका सबै थोक र लूतलाई साथमा लिएर मिश्रबाट उक्लेर कनानको नेगेबमा [यहूदाको पर्वतको दक्षिणतिर पर्ने कम वर्षा हुने इलाकामा] आए। पाल्तु-पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढय थिए।” (उत्पत्ति १३:१, २) तिनको यस्तो फलिफापले गर्दा स्थानीय बासिन्दाले तिनलाई शक्‍तिशाली र प्रभावशाली शासकको रूपमा लिए। (उत्पत्ति २३:६) तर अब्रामको त्यहाँ डेरा जमाएर बस्ने र कनानीहरूको राजनीतिमा विथोलित हुने इच्छा थिएन। बरु, “तिनी नेगेबबाट यात्रा गरेर बेतेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि शुरूमा बेतेल र ऐको बीचमा तिनको पाल थियो।” सदाझैं अहिले पनि अब्रामले जहाँजहाँ गए, यहोवाको उपासनालाई प्राथमिकता दिए।—उत्पत्ति १३:३, ४.

१०. अब्राम र लूतका गोठालाहरूबीच कस्तो समस्या उत्पन्‍न भयो र यो समस्या तुरुन्तै समाधान गर्नु किन महत्त्वपूर्ण थियो?

१० “अब्रामका साथमा लागेका लूतको पनि भेड़ाबाख्रा र गाई-वस्तुहरूका बथान र पालहरू थिए। त्यस ठाउँमा तिनीहरू दुवै जना साथसाथै रहनलाई प्रशस्त ठाउँ भएन, किनकि तिनीहरूका भेड़ा-बाख्रा र गाई-वस्तुका सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। अब्राम र लूतका गाईवस्तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू बस्थे।” (उत्पत्ति १३:५-७) उक्‍त मुलुकमा अब्राम र लूत दुवैका बगालका लागि पर्याप्त पानी र खर्क थिएन। त्यसैकारण, गोठालाहरूबीच खिचातानी र रिस उठ्‌ने कुराहरू हुन थाल्यो। यसरी स-साना कुरामा झगडा गर्नु साँचो परमेश्‍वरका उपासकहरूका लागि सुहाउँदो कुरा थिएन। यो कलहलाई सुल्झाउन सकिएन भने तिनीहरूबीच सदाका लागि फाटो उत्पन्‍न हुने थियो। त्यसोभए, अब्रामले यस्तो परिस्थितिको सामना कसरी गर्ने थिए? लूतका बुबाको मृत्युपछि तिनले लूतलाई पाल्न थालेका थिए। तिनीहरू दुईमध्ये जेठो आफू नै भएकोले अब्राम असल कुराका हकदार थिए होइन र?

११, १२. अब्रामले उदार हुँदै लूतलाई कस्तो छनौट गर्न दिए र लूतको छनौट किन बुद्धिमानी थिएन?

११ तर “अब्रामले लूतलाई भने, ‘तिम्रो र मेरो बीचमा औ तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्‌, किनकि हामी ता नातेदार हौं। सारा देश तिम्रै अगि छ। यसैले म तिमीलाई भन्दछु, कि तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।’ ” बेथेल नजिकै “पूरै प्यालेस्टाइन देखिने अग्लो स्थान” थियो। सायद, त्यहींबाट “लूतले आफ्नो आँखा उठाएर हेरे, र यर्दनको बेंसी चाहिं परमप्रभुको बगैंचाजस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो, अर्थात्‌ सोअरतिरको मिश्र देशजस्तै देखे—सदोम र गमोरा परमप्रभुले सर्वनाश पार्न अघिको कुरो यो हो।”—उत्पत्ति १३:८-१०.

१२ बाइबलले लूतलाई “धार्मिक” भनेर सम्बोधन गरे तापनि कुनै कारणले होला, तिनले यस विषयमा अब्रामको इच्छा के छ, जान्‍ने प्रयास गरेनन्‌ न त अब्रामको सल्लाह के छ त्यो नै बुझ्न चाहे। (२ पत्रुस २:७) “लूतले यर्दनको जम्मै बेंसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए। तर अब्राम चाहिं कनान देशमानै बस्नलागे। लूत चाहिं बेंसीका शहरहरूमा बास गरे। तिनले आफ्नो पाल सदोमसम्म सारे।” (उत्पत्ति १३:११, १२) सदोम सम्पन्‍न शहर थियो र त्यहाँ थुप्रै भौतिक लाभ उठाउन सकिन्थ्यो। (इजकिएल १६:४९, ५०) भौतिक अर्थमा हेर्दा लूतले निकै बुद्धिमानी छनौट गरेजस्तो देखिन्छ तर उक्‍त छनौट आध्यात्मिक अर्थमा बुद्धिमानी थिएन। किन? किनकि “सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरूद्धमा साह्रै पाप गर्थे” भनी उत्पत्ति १३:१३ ले बताउँछ। सदोममा बसाइँ सर्ने लूतको निर्णयले अन्ततः तिनको परिवारमाथि विपत्ति ल्याउने थियो।

१३. आर्थिक विवादमा परेका मसीहीहरूका लागि अब्रामको उदाहरण कसरी लाभकारी साबित हुनसक्छ?

१३ पछि आफ्नो सन्तानले नै सारा मुलुक प्राप्त गर्नेछन्‌ भन्‍ने यहोवाको प्रतिज्ञामा विश्‍वास जाहेर गरे तापनि उक्‍त मुलुकको सानो टुक्रा पनि आफूले नपाएकोमा अब्रामले गनगन गरेनन्‌। उदार हुँदै तिनले जे गरे त्यो पछि १ कोरिन्थी १०:२४ मा लेखिएको यो सिद्धान्तअनुरूप थियो: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।” सँगी विश्‍वासीसित आर्थिक विवादमा परेकाहरूको निम्ति यो कत्ति राम्रो सम्झौटा हो। मत्ती १८:१५-१७ मा दिइएको सल्लाह पालन गर्नुको साटो कसैकसैले आफ्ना भाइहरूलाई अदालतसम्म लगेका छन्‌। (१ कोरिन्थी ६:१, ७) यहोवाको नाउँमा कलंक लगाउनुको साटो अथवा मसीही मण्डलीको शान्तिलाई भंग गर्नुको साटो आफैले आर्थिक घाटा बेहोर्नु बेस छ भनी अब्रामको उदाहरणले देखाउँछ।—याकूब ३:१८.

१४. आफ्नो उदारताको कारण अब्रामले कसरी आशिष्‌ पाए?

१४ आफूले देखाएको उदारताको कारण अब्रामले आशिष्‌ पाउने थिए। परमेश्‍वरले यसो भन्‍नुभयो: “म तेरो सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु। यहाँसम्म कि कसैले पृथ्वीको धूलो गन्‍नसक्छ भने तेरो सन्तान पनि गन्‍न सक्नेछ।” निस्सन्तान अब्रामका लागि यो प्रकटीकरण एकदमै प्रोत्साहनदायी भएको हुनुपर्छ! त्यसपछि, परमेश्‍वरले यस्तो आज्ञा दिनुभयो: “उठ्‌, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।” (उत्पत्ति १३:१६, १७) अहँ, अब्रामले कुनै पनि शहरमा आरामसित बस्ने अनुमति पाउने थिएनन्‌। तिनी कनानीहरूदेखि अलग रहनुपर्थ्यो। त्यसै गरी, आज मसीहीहरू पनि संसारबाट अलग रहनुपर्छ। तिनीहरू आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनन्‌ तर आफूलाई गैरशास्त्रीय आचरणमा फसाउन लोभ्याउन सक्ने कुनै पनि व्यक्‍तिसित घनिष्ठ हुँदैनन्‌।—१ पत्रुस ४:३, ४.

१५. (क) अब्रामको यात्राको के महत्त्व हुन सक्थ्यो? (ख) आज मसीही परिवारको निम्ति अब्रामले कस्तो उदाहरण बसाले?

१५ बाइबलकालीन समयमा कुनै पनि व्यक्‍तिले जग्गाजमिन प्राप्त गर्नुअघि उक्‍त जग्गाको निरीक्षण गर्न पाउथ्यो। यसरी यात्रा गरिरहनुले उक्‍त मुलुक पछि अब्रामका शाखासन्तानले पाउनेछन्‌ भन्‍ने कुरा निरन्तर स्मरण गराएको हुनसक्छ। आज्ञाकारी हुँदै “अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा भएको मम्रेको फँलाटका रूखहरूमा आए। त्यहाँ आएर तिनी त्यहीं बसोबास गर्नलागे। त्यहाँ परमप्रभुको निम्ति तिनले एउटा वेदी बनाए।” (उत्पत्ति १३:१८) फेरि पनि अब्रामले यहोवाको उपासनालाई निकै प्राथमिकता दिए। के तपाईंले आफ्नो परिवारमा पारिवारिक अध्ययन, पारिवारिक प्रार्थना र सभाको निम्ति तयारी गर्नु आदिलाई प्राथमिकता दिने गर्नुभएको छ?

शत्रुको आक्रमण

१६. (क) उत्पत्ति १४:१ का सुरुका शब्दहरू किन अनिष्टकारी भाव प्रकट गर्ने खालका थिए? (ख) चार पूर्वेली राजाहरूले चढाइ गर्नुको कारण के थियो?

१६ “यसै समयमा शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर c तथा गोयीमका राजा तिदालले . . . युद्ध गरे।” मूल हिब्रूमा यी सुरुका शब्दहरू (“यसै समयमा . . . ”) अनिष्टकारी भाव प्रकट गर्ने खालका थिए र यी शब्दहरूले “अन्ततः आशिष्‌मा परिणत हुने परीक्षालाई” संकेत गर्छ। (उत्पत्ति १४:१, २, NW, पादटिप्पणी) यी चार पूर्वेली राजाहरू र तिनीहरूका सेनाले कनानमाथि विनाशकारी चढाइ गर्दा उक्‍त परीक्षा सुरु भयो। तिनीहरूको लक्ष्य? विद्रोह गर्ने पाँच शहरहरू सदोम, गमोरा, अदमा, सबोयीम र बेलालाई दबाउनु थियो। यी पाँच शहरहरूको विद्रोहलाई साम्य पार्दै यी चार राजाहरू “सिद्दीमको बेंसीमा (अर्थात्‌ खारा समुद्रको किनारमा) जम्मा भए।” लूत र तिनको परिवार त्यहीं नजिकै बस्थे।—उत्पत्ति १४:३-७.

१७. लूतलाई कैद गरेर लगिनु कसरी अब्रामको लागि विश्‍वासको जाँच थियो?

१७ कनानी राजाहरूले यी आक्रमणकारीहरूको डटेर सामना गरे तर तिनीहरूले लाजमर्दो पराजय भोग्नुपऱ्‍यो। “अनि शत्रुहरूले सदोम र गमोराका माल-सामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। तिनीहरूले सदोममा बसेका अब्रामका भतीजा लूतलाई पनि तिनका सबै माल-सामानसमेत लिएर गए।” तुरुन्तै यो नराम्रो खबर अब्रामको कानमा पुगिहाल्यो: “तब उम्केर भगेको एक जना आएर हिब्रू अब्रामलाई यो कुरा बताइदियो। तिनी एश्‍कोल र आनेरको भाइ एमोरीको मम्रेको फँलाटका रूखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्र-भावमा थिए। अब्रामले आफ्नो नातेदारलाई कैद गरेर लगेको कुरा सुने।” (उत्पत्ति १४:८-१४) विश्‍वासको कत्ति ठूलो जाँच! भतिजो लूतले सबैभन्दा राम्रो जग्गाजमिन लिएकोमा के अब्रामले द्वेष भाव राख्ने थिए? नबिर्सनुहोस्‌, यी आक्रमणकारीहरू तिनकै शहर शिनारबाट आएका थिए। तिनीहरू विरुद्ध लड्‌नुको अर्थ फेरि घर फर्कने सम्पूर्ण ढोका बन्द गर्नुसरह हुने थियो। यसबाहेक, कनानीहरूले एक जुट भई लड्‌दा पनि त परास्त गर्न नसकेका सैन्य शक्‍ति विरुद्ध अब्रामले के पो गर्नसक्ने थिए होला र?

१८, १९. (क) अब्रामले लूतलाई कसरी छुटाउन सके? (ख) यस विजयको श्रेय कसलाई जान्छ?

१८ अब्रामले पुनः यहोवामाथि आफ्नो सारा भरोसा राखेका थिए। “आफ्नो घरमा जन्मेर तालीम पाएका तीन सय अठाह्र दासहरूलाई साथमा लिएर तिनीहरूलाई दानसम्मै खेदेर गए। औ तिनले आफ्नो लड़ाकु दललाई शत्रुहरूका विरुद्धमा लड़न राती आफै र आफ्ना दासहरूका बीचमा दल दल बनाई तिनीहरूलाई परास्त गरेर मारे, र दमीसकको उत्तर तर्फको होबासम्मै तिनीहरूलाई खेदे। तब तिनले सबै माल-सामान र तिनका नातेदार लूतलाई औ तिनका धन-सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए।” (उत्पत्ति १४:१४-१६) यहोवामाथिको आफ्नो बलियो विश्‍वास प्रकट गर्दै अब्रामले आफ्नो टुकडीलाई लिएर लूत र तिनको परिवारलाई छुटाउन विशाल सेनासित लडे र विजयी भए। त्यसपछि अब्रामको शालेमका राजा तथा पूजाहारी मल्कीसेदेकसित जम्काभेट भयो। “अनि शालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामलाई भेट गर्न आए। तिनी सर्वोच्च परमेश्‍वरका पूजाहारी थिए। तिनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, ‘स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्‍वरबाट अब्रामलाई आशिष मिलोस्‌। सर्वोच्च परमेश्‍वर धन्यका होऊन्‌, जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।’ अनि अब्रामले तिनलाई सबै कुराको दशांश दिए।”—उत्पत्ति १४:१८-२०.

१९ हो, यहोवाले विजयी तुल्याउनुहुन्छ। आफ्नो विश्‍वासको कारण अब्रामले फेरि यहोवाले दिनुहुने छुटकारा अनुभव गर्न पाए। आज परमेश्‍वरका जनहरू साँच्चैको युद्धमा भाग लिंदैनन्‌ तर तिनीहरू थुप्रै परीक्षा र चुनौती सामना गर्छन्‌। अब्रामको उदाहरणले हामीलाई यी परीक्षा र चुनौतीहरूसित सफलतासाथ डट्‌न कसरी मदत गर्न सक्छ, त्यसबारे यसपछिको लेखले देखाउनेछ।

[फुटनोटहरू]

a इन्साइट अन द स्क्रिप्चर्स-अनुसार (यहोवाका साक्षीहरूद्वारा प्रकाशित) “फिरऊनले सुन्दरी स्त्रीलाई कब्जा गर्न र तिनका लोग्नेलाई चाहिं मार्न हातहतियारले सुसज्जित सैन्यदल पठाएको कुरा पुरातन पपाइरसले बताउँछ।” त्यसकारण, अब्राम यसरी डराउनु अचाक्ली थिएन।

b पछि अब्रामकी उपपत्नी बनेकी हागार यतिखेरै अब्रामलाई दिइएका सेवकहरूमध्येकी हुनुपर्छ।—उत्पत्ति १६:१.

c शिनारमाथि एलामले यस्तो प्रभाव कहिल्यै जमाउन सकेको थिएन र कदोर्लाओमेरले आक्रमण गऱ्‍यो भन्‍ने कुरा मिथ्या हो भनेर समालोचकहरूले दाबी गरेका थिए। यस बाइबल विवरणको पुरातात्त्विक प्रमाणका लागि प्रहरीधरहरा-को अंग्रेजी अंकको जुलाई १, १९८९, पृष्ठ ४-७ हेर्नुहोस्‌।

के तपाईंले याद गर्नुभयो?

• कनानमा परेको अनिकाल कसरी अब्रामको निम्ति विश्‍वासको जाँच साबित भयो?

• आजका पतिपत्नीहरूका लागि अब्राम र साराईले कसरी राम्रो उदाहरण बसाले?

• अब्रामले आफ्ना अनि लूतका दासहरूबीचको झगडालाई जसरी सुल्झाए, त्यसबाट हामी के पाठ सिक्नसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चित्र]

अब्रामले आफ्नो हक जमाउने कोसिस गरेनन्‌ बरु आफ्नो इच्छालाई भन्दा लूतको इच्छालाई प्राथमिकता दिए

[पृष्ठ २४-मा भएको चित्र]

आफ्नो भतिजो लूतलाई छुटाउने बेला अब्राम यहोवामाथि भर परे