सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अब्राहाम विश्‍वासको उदाहरण

अब्राहाम विश्‍वासको उदाहरण

अब्राहाम विश्‍वासको उदाहरण

‘अब्राहाम विश्‍वास गर्नेहरू सबैका पिता थिए।’—रोमी ४:११.

१, २. (क) आज साँचो मसीहीहरू अब्राहामलाई कसरी सम्झन्छन्‌? (ख) किन अब्राहामलाई “विश्‍वास गर्नेहरू सबैका पिता” भनिन्छ?

 तिनी शक्‍तिशाली राष्ट्रका पिता, अगमवक्‍ता, व्यापारी अनि नाइके थिए। यद्यपि, आजका मसीहीहरूमाझ तिनी आफ्नो अटल विश्‍वासका लागि चिनिन्छन्‌ र यही गुणले गर्दा यहोवा परमेश्‍वरले तिनलाई आफ्नो मित्र ठान्‍नुभयो। (यशैया ४१:८; याकूब २:२३) तिनको नाउँ अब्राहाम थियो र बाइबलले तिनलाई “विश्‍वास गर्नेहरू सबैका पिता” भन्छ।—रोमी ४:११.

हाबिल, हनोक र नूहजस्ता अब्राहामअघिका पुरुषहरूले पनि त विश्‍वास देखाएका थिए नि, होइन र? हो, तर पृथ्वीका सारा जातिले आशिष्‌ पाउने करार अब्राहामसित मात्र बाँधिएको थियो। (उत्पत्ति २२:१८) यसरी प्रतिज्ञा गरिएको वंशमाथि विश्‍वास राख्ने जति सबैका लागि तिनी लाक्षणिक पिता भए। (गलाती ३:८, ९) यस अर्थमा, अब्राहामलाई हाम्रो पिता पनि मान्‍न सकिन्छ किनकि तिनको विश्‍वास अनुकरणीय छ। तिनको सम्पूर्ण जीवनलाई नै विश्‍वासको प्रदर्शन भन्‍न सकिन्छ किनकि तिनले आफ्नो जीवनमा थुप्रै परीक्षा सामना गरे। साँच्चै, अब्राहामले विश्‍वासको सबैभन्दा ठूलो परीक्षा अर्थात्‌ आफ्नो छोरा इसहाकलाई बलिदान चढाउने आज्ञा पाउनुअघि थुप्रै स-साना परीक्षाहरूद्वारा आफ्नो विश्‍वासको प्रमाण दिइसकेका थिए। (उत्पत्ति २२:१, २) आउनुहोस्‌, विश्‍वासका यी प्रारम्भिक परीक्षाहरूमध्ये केही जाँचौं र आज यी परीक्षाहरूले हामीलाई कस्तो पाठ सिकाउँछ, हेरौं।

ऊर छोड्‌ने आदेश

३. अब्रामको पृष्ठभूमिबारे बाइबलले के भन्छ?

बाइबलमा पहिलो पटक अब्रामको (पछि अब्राहाम) उल्लेख उत्पत्ति ११:२६ मा गरिएको पाउँछौं र त्यहाँ यसो भनिएको छ: “तेरहको उमेर सत्तरी वर्षको हुँदा तिनले अब्राम, नाहोर र हारानलाई जन्माए।” अब्राहाम ईश्‍वरभीरु शेमका सन्तान थिए। (उत्पत्ति ११:१०-२४) उत्पत्ति ११:३१ अनुसार अब्राम आफ्नो परिवारसित समृद्धशाली शहर “कल्दीहरूको ऊरमा” बस्थे र कुनै समय यो शहर यूफ्रेटिस नदीको पूर्वतिर पर्थ्यो। a अतः तिनी फिरन्तेजस्तो पालमा जन्मेका र हुर्केका थिएनन्‌। बरु, सुखविलासले भरिपूर्ण शहरमा हुर्केका थिए। ऊरका बजारहरूमा आयात गरिएका सरसामानहरू किन्‍न सकिन्थ्यो। त्यहाँका सडक छेउ लहरै कमेरोले पोतिएका घरहरू हुन्थे भने घरभित्रै नलपाइप आदि जडान गरिएका, १४ वटा जति ठूलठूला कोठाहरू हुन्थे।

४. (क) साँचो परमेश्‍वरका उपासकहरूले ऊरमा कस्तो चुनौती सामना गर्नुपर्थ्यो? (ख) अब्रामले कसरी यहोवामाथि भरोसा राख्न पुगे?

भौतिक सुखसुविधाको बावजूद ऊर शहरले साँचो परमेश्‍वरको सेवा गर्न चाहनेहरूका लागि गम्भीर चुनौती खडा गर्थ्यो। किनकि ऊर मूर्तिपूजा र अन्धविश्‍वासमा चुर्लुम्म डुबेको थियो। साँच्चै, शहर वरपर जताततै चन्द्र-देव नान्‍नाको सम्मानमा बनाइएका अग्लाअग्ला मन्दिरहरू थिए। अब्रामलाई यस भ्रष्ट उपासनामा भाग लिन नातेदारहरूबाट समेत निकै दबाउ आएको हुनुपर्छ। केही यहूदी किंवदन्तीअनुसार अब्रामका पिता तेरह आफै पनि मूर्ति बनाउँथे। (यहोशू २४:२, १४, १५) जे होस्‌, अब्राम यस्तो भ्रष्ट उपासनामा लागेनन्‌। तिनका वृद्ध पुर्खा शेम त्यतिखेरसम्म जीवितै थिए र तिनले साँचो परमेश्‍वरबारे आफूले जानेका कुराहरू अरूलाई बताएको हुनुपर्छ। फलतः अब्रामले यहोवामाथि आफ्नो भरोसा राखे, नान्‍नामाथि होइन!—गलाती ३:६.

विश्‍वासको जाँच

५. अब्राम ऊरमै छँदा परमेश्‍वरले तिनलाई कस्तो आज्ञा दिनुभयो र तिनीसित कस्तो प्रतिज्ञा गर्नुभयो?

अब्रामको विश्‍वासको जाँच हुन लागेको थियो। परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र यस्तो आज्ञा गर्नुभयो: “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु। म तँलाई आशिष दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु। तँ आशिषको मूल भएस्‌। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई म सराप दिनेछु। तँमानै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्‌।”—उत्पत्ति १२:१-३; प्रेरित ७:२, ३.

६. ऊर शहर छोड्‌न अब्रामलाई किन साँचो विश्‍वास आवश्‍यक पऱ्‍यो?

अब्राम वृद्ध अनि निस्सन्तान थिए। अब यस्तो अवस्थामा तिनीबाट कसरी “एउटा ठूलो जाति” खडा हुनसक्थ्यो? अनि तिनलाई कहाँ जाने आदेश दिइएको थियो? यसबारे परमेश्‍वरले तिनलाई त्यतिखेरै केही बताउनुभएन। त्यसकारण, ऊरको सम्पूर्ण ऐसआराम छोडेर अपरिचित ठाउँमा जान अब्रामसित बलियो विश्‍वास हुनु आवश्‍यक थियो। परिवार, प्रेम र बाइबल (अंग्रेजी) पुस्तक यसो भन्छ: “गम्भीर पापको दोषी भेटिएको खण्डमा परिवारको सदस्यलाई दिइने सबैभन्दा कडा सजाय उसलाई परिवारबाट निकाल्नु, परिवारको ‘सदस्य’ नगन्‍नु थियो। . . . त्यसकारण, परमेश्‍वरको आज्ञाअनुसार आफ्नो मुलुक मात्र होइन, नातागोतासमेत छोड्‌न सक्नुको पछाडि अब्रामले परमेश्‍वरमाथि देखाएको असाधारण अनि निसंकोच आज्ञा पालन गर्नुका साथै उहाँमाथिको पूर्ण भरोसा थियो।”

७. अब्रामले भोगेजस्तै परीक्षाहरू आज मसीहीहरूले पनि कसरी भोग्न सक्छन्‌?

आज पनि मसीहीहरूले यस्तै परीक्षाहरूको सामना गर्नुपर्ने हुन सक्छ। अब्रामले जस्तै हामीले पनि आध्यात्मिक कुराहरूभन्दा भौतिक कुराहरूलाई प्राथमिकता दिने दबाउ महसुस गरौंला। (१ यूहन्‍ना २:१६) विश्‍वासमा नभएका परिवारका सदस्यहरू र बहिष्कृत नातेदारहरूले समेत हाम्रो विरोध गर्न सक्छन्‌ वा हामीलाई हानिकारक संगतमा लाग्न लोभ्याउने प्रलोभित गर्न सक्छन्‌। (मत्ती १०:३४-३६; १ कोरिन्थी ५:११-१३; १५:३३) यसरी अब्रामले हाम्रोनिम्ति राम्रो उदाहरण बसाले। तिनले सबथोक अर्थात्‌ पारिवारिक बन्धनलाई भन्दा परमेश्‍वरसितको मित्रतालाई प्राथमिकता दिए। परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू कसरी, कहिले वा कहाँ पूरा हुनेछ भनी तिनलाई थाह थिएन। तैपनि, तिनी ती प्रतिज्ञाहरूका लागि आफ्नो जीवनै दाउमा लगाउन पनि तयार थिए। आज हाम्रो जीवनमा परमेश्‍वरको राज्यलाई प्राथमिकता दिनुपर्छ भन्‍ने कस्तो राम्रो प्रोत्साहन!—मत्ती ६:३३.

८. अब्रामसँगै गएका परिवारमाथि तिनको विश्‍वासले कस्तो प्रभाव पाऱ्‍यो र यसबाट मसीहीहरूले के सिक्न सक्छन्‌?

अब्रामसँगै गएका परिवारका अन्य सदस्यहरूको विषयमा चाहिं के भन्‍न सकिन्छ नि? तिनीहरूमाथि पनि अब्रामको अटल विश्‍वास र आस्थाले निकै प्रभाव पारेको हुनुपर्छ। किनकि तिनकी पत्नी साराई र तिनका अनाथ भतिजो लूतले पनि परमेश्‍वरको आज्ञा पालन गर्दै ऊर छाडे। अब्रामका दाइ नाहोर र तिनका केही सन्तानले पछि ऊर छोडेर हारानमा बसोबास गरे, जहाँ तिनीहरूले यहोवाको उपासना गरे। (उत्पत्ति २४:१-४, १०, ३१; २७:४३; २९:४, ५) यहाँसम्म कि अब्रामका बुबा तेरहसमेत आफ्नो छोरासँगसँगै जान राजी भए! यसरी तेरह कनान जानअघि सरेकोले बाइबलले तिनलाई परिवारको शिरको रूपमा सम्मान दिएको छ। (उत्पत्ति ११:३१) आफ्ना नातेदारहरूलाई कौशलतासाथ प्रचार गर्दा कतै हामी पनि केही हदसम्म यस्तै सफलता पाउँछौं कि?

९. यात्राको निम्ति अब्रामले कस्तो तयारी गर्नुपऱ्‍यो र यसका लागि तिनले कस्ता त्यागहरू गर्नुपरेको हुन सक्छ?

यात्रा थाल्नुअघि अब्रामले थुप्रै काम गर्नुपर्ने थियो। तिनले आफ्नो सरसम्पत्ति र मालसामान बेचेर पाल, ऊट, खाद्यान्‍न र आवश्‍यक औजारहरू किन्‍नुपर्थ्यो। यसरी हतारमा बेचबिखन गर्नुपर्दा अब्रामले आर्थिक घाटा पनि बेहोर्नुपऱ्‍यो होला तर तिनी परमेश्‍वरले दिनुभएको आज्ञा पालन गर्न पाएकोमा खुसी थिए। सम्पूर्ण तयारी भइसकेर अब्रामसित यात्रामा जानेहरूको लस्कर ऊरको पर्खालबाहिर तम्तयार भएको दिन कत्ति उल्लेखनीय थियो होला! यूफ्रेटिस नदीको किनार हुँदै यो समूह उत्तरपश्‍चिमतिर लाग्यो। हप्तादिनको लगभग १,००० किलोमिटर लामो दूरी तय गरिसकेपछि तिनीहरू उत्तरी मेसोपोटामिया शहरको हारान भन्‍ने ठाउँमा आइपुगे, जुन लामो यात्रा गर्नेहरूले विश्राम लिने ठाउँ थियो।

१०, ११. (क) अब्राम किन केही समय हारानमा बसेका हुन सक्छन्‌? (ख) आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्ने मसीहीहरूलाई कस्तो प्रोत्साहन दिन सकिन्छ?

१० सायद आफ्नो वृद्ध बुबा तेरहलाई ध्यानमा राख्दै अब्रामले हारानमा पाल टाँगे। (लेवी १९:३२) त्यसै गरी आज पनि थुप्रै मसीहीले आफ्ना वृद्ध वा रोगी आमाबाबुको ख्याल गर्ने जिम्मेवारी वहन गर्नुका साथै यो जिम्मेवारी पूरा गर्न कसैकसैले आफ्नो जीवनमा काँटछाँटसमेत गरेका छन्‌। आवश्‍यकताअनुसार तिनीहरूले गरेका मायालु त्यागहरू “परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य” छन्‌ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुन सक्छन्‌।—१ तिमोथी ५:४.

११ समय बित्दै गयो। “तेरहको उमेर दुइ सय पाँच वर्ष पुगेपछि तिनी हारानमा मरे।” बुबाको मृत्युले अब्रामलाई पक्कै दुःखी बनाएको हुनुपर्छ। तर शोक गर्ने समय सकेपछि तिनी आफ्नो बाटो लागे। “हारानबाट निस्केर जाँदा अब्राम पचहत्तर वर्षका थिए। अनि अब्राम, तिनकी स्वास्नी साराई र तिनका भतीजा लूत र तिनीहरूले जम्मा गरेका सबै धन-सम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्के।”—उत्पत्ति ११:३२; उत्पत्ति १२:४, ५.

१२. हारानमा छँदा अब्रामले के गरे?

१२ हारानमा छँदा अब्रामले ‘धनसम्पत्ति जम्मा गरेका थिए’ भन्‍ने कुरा चाखलाग्दो छ। ऊर छोड्‌ने बेला आफ्नो सबै भौतिक सरसम्पत्ति त्याग्नुपरे तापनि हारान छोड्‌दा अब्राम धनी भइसकेका थिए। स्पष्ट छ, परमेश्‍वरको आशिष्‌ले गर्दा नै त्यसो भएको हुनुपर्छ। (उपदेशक ५:१९) आज आफ्ना सबै जनहरूलाई परमेश्‍वरले धनसम्पत्ति दिनुहुने प्रतिज्ञा त गर्नुहुन्‍न तर राज्यको खातिर ‘घर, दाजुभाइ, दिदीबहिनी’ छोड्‌नेहरूको आवश्‍यकता पूरा गर्ने आफ्नो प्रतिज्ञा भने उहाँले अवश्‍य पूरा गर्नुहुन्छ। (मर्कूस १०:२९, ३०) अब्रामले ‘मानिसहरू पनि प्राप्त गरेका’ थिए अर्थात्‌ तिनका थुप्रै चाकर थिए। द जेरूशलेम टार्गम र कल्दी लेखांशले अब्रामले ‘धर्म परिवर्तन गराए’ भन्छ। (उत्पत्ति १८:१९) के तपाईंको विश्‍वासले तपाईंलाई आफ्ना छिमेकी, सहकर्मी वा सहपाठीहरूसित कुरा गर्न उत्प्रेरित गर्छ? परमेश्‍वरको आज्ञा बिर्सेर आरामसित जीवन बिताउनुको साटो अब्रामले हारानमा छँदा आफ्नो समय फलदायी काममा लगाए। तर त्यहाँ बस्ने तिनको समय सिद्धिनै लागेको थियो। “यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले।”—उत्पत्ति १२:४.

यूफ्रेटिस पार

१३. अब्रामले यूफ्रेटिस नदी कहिले तरे र उक्‍त घटना किन उल्लेखनीय थियो?

१३ अब्रामले फेरि एकपल्ट यात्रा गर्नुपऱ्‍यो। हारान छोडेर आफ्नो टोलीसहित लगभग ९० किलोमिटर लामो यात्रा गर्दै तिनी पश्‍चिमतिर लगे। अब्रामले यूफ्रेटिस नदीको किनारमा, कर्कमीशको तत्कालीन व्यापार केन्द्रको वारिपट्टि पाल टाँगेका हुन सक्छन्‌। व्यापारीहरू उक्‍त ठाउँ भएर जान्थे। b अब्रामको टोलीले कुन मितिमा उक्‍त नदी तरेका थिए? यो घटना यहूदीहरूले सा.यु.पू. १५१३ नीसान १४ का दिन मिस्रबाट प्रस्थान हुनभन्दा ४३० वर्षअघि भएको थियो भनी बाइबलले देखाउँछ। प्रस्थान १२:४१ मा यसो भनिएको छ: “चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दल मिश्रबाट बाहिर निस्के।” त्यसोभए, सा.यु.पू १९४३ नीसान १४ मा अब्रामले आज्ञाकारी हुँदै यूफ्रेटिस नदी पार गर्दा अब्रामसित गरिएको करार लागू हुन थाल्यो।

१४. (क) अब्रामले आफ्नो विश्‍वासको आँखाले के देख्न सक्थे? (ख) कुन अर्थमा आज परमेश्‍वरका जनहरू अब्रामभन्दा पनि बढी आशिषित्‌ भएका छन्‌?

१४ अब्रामले समृद्ध शहर छोडेर आएका थिए। यद्यपि, तिनले अब भने मानिसजातिमाथि शासन गर्ने धार्मिक सरकारको “एउटा जग भएको शहरको” कल्पना गर्नसक्थे। (हिब्रू ११:१०, नयाँ संशोधित संस्करण) हो, आफूसित पर्याप्त जानकारी नभए तापनि अब्रामले परमेश्‍वरले मरणासन्‍न मानिसजातिलाई छुटकारा दिन ठहराउनुभएको उद्देश्‍यका केही आधारभूत पक्ष अब्रामले बुझ्न थालिसकेका थिए। आज हामीले परमेश्‍वरको उद्देश्‍यबारे अब्रामले भन्दा धेरै कुरा बुझ्न पाएका छौं। (हितोपदेश ४:१८) अब्रामले आशा गरेको त्यो “शहर” अथवा परमेश्‍वरको राज्य सरकार अहिले वास्तविकतामा परिणत भइसकेको छ अर्थात्‌ १९१४ मा स्वर्गमा स्थापित भइसकेको छ। त्यसैकारण, के हामी यहोवामाथि विश्‍वास गर्न र भरोसा राख्न उत्प्रेरित हुनुपर्ने होइन?

प्रतिज्ञा गरिएको देशमा अस्थायी बसोबास

१५, १६. (क) यहोवाको निम्ति वेदी खडा गर्न अब्राम किन साहसी हुनु परेको थियो? (ख) आज मसीहीहरू अब्रामजस्तै साहसी कसरी हुन सक्छन्‌?

१५ उत्पत्ति १२:५, ६ हामीलाई यसो भन्छ: “[तिनीहरू] कनान देशमा जानलाई निस्के। अब्राम त्यस देशबाट भएर शेकेममा मोरेको फँलाटको रूख भएको ठाउँसम्म पुगे।” शेकेम, यरूशलेमको उत्तरतिर ५० किलोमिटर जति पर पर्थ्यो। यहाँको उर्वरा जमिनले गर्दा यस ठाउँलाई “पवित्र भूमिको प्रमोदवन” भनिन्छ। तैपनि, “त्यसबेला त्यस ठाउँमा कनानीहरू बस्थे।” कनानीहरू नैतिक तवरमा एकदमै पतित भएकाले आफ्नो परिवारलाई तिनीहरूको भ्रष्ट प्रभावबाट जोगाउन अब्राम सतर्क हुनु परेको थियो।—प्रस्थान ३४:११-१६.

१६ दोस्रो पटक “परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, ‘म तेरा सन्तानलाई यो देश दिनेछु।’ ” कस्तो रोमाञ्चकारी घटना! हो, पछि आफ्ना सन्तानले मात्र पाउने कुरामा रमाउन अब्रामलाई विश्‍वास आवश्‍यक परेको थियो। तैपनि, यसको जवाफस्वरूप अब्रामले “तिनीकहाँ देखा पर्नुभएको परमप्रभुका निम्ति . . . त्यहाँ एउटा वेदी बनाए।” (उत्पत्ति १२:७) एक बाइबलविद्‌को विचारमा “त्यस मुलुकमा वेदी बनाउनुको अर्थ आफ्नो विश्‍वासको आधारमा त्यस मुलुकलाई आफ्नो बनाउनु थियो।” यस्तो वेदी बनाउनु पनि साहसिक कार्य थियो। पछि व्यवस्था करारमा उल्लिखित प्राकृतिक अवस्थामा भेटिएका (नछाँटिएका) ढुंगा थुपारेर बनाइएको वेदी पक्कै पनि उक्‍त वेदीजस्तै हुनुपर्छ। (प्रस्थान २०:२४, २५) कनानीहरूले प्रयोग गर्ने वेदीभन्दा यो वेदी एकदमै भिन्‍न देखिने थियो। यसरी अब्रामले साहसी हुँदै साँचो परमेश्‍वर यहोवाको उपासकको रूपमा आफूलाई चिनाए र यसो गर्दा तिनले शत्रुता कमाउनुका साथै आफैलाई जोखिममा पार्न सक्थे। आजको परिस्थिति नि? हामीमध्ये कोहीकोही, विशेष गरी किशोरकिशोरी आफ्ना छिमेकी वा सहपाठीहरूलाई हामी यहोवाको उपासना गर्छौं भनेर बताउनदेखि कतै पछि हटिरहेका पो छौं कि? अब्रामको साहसी उदाहरणले हामी सबैलाई यहोवाको सेवक हुन पाएकोमा गर्व गर्न प्रोत्साहित गरोस्‌!

१७. कसरी अब्रामले आफूलाई परमेश्‍वरको नाउँको प्रचारक प्रमाणित गरे र यसले आज मसीहीहरूलाई के स्मरण गराउँछ?

१७ अब्राम जताजता गए, तिनले यहोवाको उपासनालाई सधैं प्राथमिकता दिए। “त्यहाँबाट तिनी हिड़ेर बेतेलको पूर्वपट्टि भएको पहाड़मा सरे, बेतेललाई पश्‍चिम र ऐ शहरलाई पूर्वपट्टि पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको नाउँमा त्यहाँ एउटा वेदी बनाएर परमप्रभुको नाउँको पुकारा गरे।” (उत्पत्ति १२:८) “परमप्रभुको नाउँको पुकारा गरे” भन्‍ने हिब्रू पद्यांशको अर्थ “नाउँ उद्‌घोषणा (प्रचार) गर्नु” पनि हुन्छ। निस्सन्देह, अब्रामले साहसी हुँदै कनानी छिमेकीहरूसामु यहोवाको नाउँ उद्‌घोषणा गरे। (उत्पत्ति १४:२२-२४) यसले आज हामीलाई सम्भव भएसम्म “जनसमक्ष उहाँको नाउँको घोषणा ग[र्ने]” काममा धेरैभन्दा धेरै भाग लिनुपर्ने हाम्रो कर्तव्य पूरा गर्न स्मरण गराउँछ।—हिब्रू १३:१५, NW; रोमी १०:१०.

१८. कनानीहरूसित अब्रामको सम्बन्ध कस्तो थियो?

१८ अब्राम यी ठाउँहरूमध्ये कुनै पनि ठाउँमा धेरै समयसम्म बसेनन्‌। “अनि अब्राम अझै यात्रा गर्दै यहूदाको दक्षिण भाग नेगेबतिर” अर्थात्‌ यहूदाका पहाडहरूको दक्षिणतिर पर्ने न्युन वर्षा हुने भूमितिर गए। (उत्पत्ति १२:९) लगातार अघि बढेर अनि प्रत्येक नयाँ स्थानमा आफूलाई यहोवाको उपासकको रूपमा स्थापित गरेर अब्राम र तिनका घरानाले “तिनीहरू पृथ्वीमा परदेशी र परदेशी हुन्‌ भन्‍ने स्वीकार ग[रे]।” (हिब्रू ११:१३) साथै, मूर्तिपूजक छिमेकीहरूसित घनिष्ठ हुनदेखि तिनी सधैं होसियार रहे। त्यसै गरी, आज मसीहीहरू पनि “संसारका” भाग पटक्कै हुनुहुँदैन। (यूहन्‍ना १७:१६) हामी छिमेकी र सहकर्मीहरूसित नम्र र शिष्ट व्यवहार गर्छौं। तर परमेश्‍वरबाट विराना भएका यस संसारको आत्मा प्रतिबिम्बित गर्ने आचरणमा फस्नदेखि होसियार हुन्छौं।—एफिसी २:२, ३.

१९. (क) फिरन्ते जीवन बिताउँदा अब्राम र साराईले किन थुप्रै चुनौती सामना गर्नुपर्थ्यो? (ख) अब्रामले अझै कस्ता चुनौतीहरू सामना गर्न सक्ने थिए?

१९ फिरन्ते जीवन बिताउनुपर्दा आइपर्ने कठिनाइहरू सामना गर्न अब्राम र साराई दुवैलाई सजिलो भएन भनी नबिर्सौं। पशुपालन नै आफ्नो भोजनको स्रोत भएकोले ऊरको सरसामानले टन्‍न बजारमा खाद्यान्‍न किन्‍नु पर्दैनथ्यो र तिनी पक्की घरहरूमा बस्नुको साटो पालमा बस्थे। (हिब्रू ११:९) अब्रामको जीवन सक्रिय थियो; आफ्नो बगाल र कमाराहरूलाई व्यवस्थित गर्न तिनले धेरै काम गर्नुपर्थ्यो। निस्सन्देह, साराईले त्यसबेलाको सभ्यताअनुसार आइमाईले परम्परादेखि गर्दै आएका सम्पूर्ण काम जस्तै, पीठो मुछ्‌ने, रोटी पकाउने, ऊन कात्ने, लुगा सिउने आदि सबै गर्थिन्‌। (उत्पत्ति १८:६, ७; २ राजा २३:७; हितोपदेश ३१:१९; इजकिएल १३:१८) तैपनि, तिनीहरूमाथि नयाँ परीक्षाहरू आउनै लागेका थिए। अब चाँडै अब्राम र तिनको घरानाले तिनीहरूको जीवन खतरामा पर्ने परिस्थिति सामना गर्नै लागेका थिए! के अब्रामको विश्‍वासले यो चुनौती सामना गर्न सक्ने थियो?

[फुटनोटहरू]

a हाल यूफ्रेटिस नदी, पहिलेको ऊर शहरको १६ किलोमिटर पूर्वतिर बग्छ। प्राप्त प्रमाणअनुसार पुरातन समयमा नदी शहरको पश्‍चिमतिरबाट बग्थ्यो। यसरी अब्रामलाई पछि “महानदी [यूफ्रेटिस] पारिबाट” आएका भनी सम्बोधन गर्न सकिन्थ्यो।—यहोशू २४:३.

b शताब्दियौंपछि अश्‍शूरी राजा अश्‍शूरनासीरपाल द्वितीयाले कर्कमीश नजिक यूफ्रेटिस नदी तर्न काठको फल्याक प्रयोग गरेका थिए। अब्रामले पनि त्यसै गर्नु परेको थियो वा तिनी र तिनको टोलीले नदीमै झरेर नदी तरेका थिए, बाइबलले त्यसबारे बताएको छैन।

के तपाईंले याद गर्नुभयो?

• अब्रामलाई किन “विश्‍वास गर्नेहरू सबैका पिता” भनिन्छ?

• कल्दीहरूको ऊर देश छोड्‌न अब्रामलाई किन विश्‍वास आवश्‍यक पऱ्‍यो?

• यहोवाको उपासनालाई आफूले प्राथमिकता दिएको कुरा अब्रामले कसरी देखाए?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अब्रामको यात्रा

ऊर

हारान

कर्कमीश

कनान

भूमध्यसागर

[स्रोत]

Based on a map copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel

[पृष्ठ १५-मा भएको चित्र]

ऊरको आरामदायी जीवन त्यागेर हिंड्‌न अब्रामलाई विश्‍वास आवश्‍यक थियो

[पृष्ठ १८-मा भएको चित्र]

पालमा बसेर अब्राम र तिनको घरानाले “तिनीहरू पृथ्वीमा परदेशी र परदेशी हुन्‌ भन्‍ने स्वीकार ग[रे]”