सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो युवावस्थालाई सफल बनाउने

आफ्नो युवावस्थालाई सफल बनाउने

आफ्नो युवावस्थालाई सफल बनाउने

एक युरोपेली मुलुकका बासिन्दाहरूलाई यी तीन विकल्पहरूमध्ये एउटा छान्‍ने मौका दिइयो: सौन्दर्य, सरसम्पत्ति वा युवावस्था। पहिलो छनौट थियो: युवावस्था। हो, जुनसुकै उमेरका मानिसहरू होऊन्‌ सबैले किशोरावस्था र २०/२२ वर्षको उमेरलाई जीवनको विशेष क्षणका रूपमा लिन्छन्‌। अनि सबै जना बाल्यकाल छोडेर वयस्कतर्फ बढ्‌न युवावस्थालाई सफल बनाउन चाहन्छन्‌। तर कसरी सफल बनाउने?

के बाइबलले मदत गर्न सक्ला? पक्कै सक्छ। आउनुहोस्‌, युवाहरूका लागि परमेश्‍वरको वचन विशेष मदतकारी हुनसक्ने दुई क्षेत्रलाई जाँचौं। सायद यो अरू उमेरकाहरूलाई भन्दा पनि विशेष गरी युवाहरूलाई बढी मदतकारी हुनसक्छ।

अरूसित मिल्ने

युजेन्ट २०००, जर्मनीका ५,००० भन्दा बढी युवाहरूको मनोवृत्ति, मूल्य तथा मान्यता र बानीबेहोराबारे गरिएको सर्वेक्षणको रिपोर्ट हो। उक्‍त सर्वेक्षणअनुसार युवाहरूले रमाइलो गर्दा अर्थात्‌ गीत सुन्दा, कुनै खेल खेल्दा वा साथीहरूसित यसो समय बिताउँदा तिनीहरू प्रायजसो मानिसहरूबीच हुन्छन्‌। सायद अरू उमेरका मानिसहरूभन्दा युवाहरू आफ्नै साथीहरूसित उठबस गर्न बढी मन पराउँछन्‌। अतः युवावस्थालाई सफल बनाउने एउटा रहस्य अरूसित मिलेर बस्न सक्ने खालको मान्छे हुनु हो।

तर सधैं अरूसित मिलेर बस्न सजिलो हुँदैन। वास्तवमा, अक्सर अरूसितको सम्बन्ध पनि आफ्ना समस्याहरूमध्ये एक भएको युवाहरूले स्वीकारेका छन्‌। यहाँ बाइबल साँच्चै मदतकारी हुन सक्छ। परमेश्‍वरको वचनमा युवाहरूका लागि सन्तुलित सम्बन्ध विकास गर्ने आधारभूत मार्गनिर्देशन पाइन्छ। यस सम्बन्धमा बाइबलले के भन्छ?

मानव सम्बन्धलाई राम्रो पार्ने सिद्धान्तहरूमध्ये एउटा अत्यन्तै महत्त्वपूर्ण सिद्धान्तलाई सुनौलो नियम भनिन्छ र यस सिद्धान्तलाई यसप्रकार व्याख्या गरिएको छ: “मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौं, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर।” आदर, सम्मान र दयाका साथ अरूसित व्यवहार गर्दा उनीहरू पनि तपाईंलाई त्यसरी नै व्यवहार गर्न प्रोत्साहित हुन्छन्‌। दयालु व्यवहारले बेमेल र तनाउले गर्दा उत्पन्‍न हुने परिस्थितिलाई कम गर्न सक्छ। तपाईं अरूप्रति विचारशील हुनुहुन्छ भनेर चिनिनु भयो भने, अरूले तपाईंलाई स्वीकार्नेछन्‌। अरूले तपाईंलाई स्वीकार्दा के खुसी लाग्दैन?—मत्ती ७:१२, नयाँ संशोधित संस्करण।

बाइबलले “आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्‍ने सल्लाह दिन्छ। आफ्नो हेरचाह गरेर अनि आफूप्रति न धेरै न थोरै तर सन्तुलित आत्मसम्मान राखेर आफैलाई माया गर्नु आवश्‍यक छ। यस्तो दृष्टिकोण किन मदतकारी छ? किनकि, आत्मसम्मान छैन भने तपाईं अचाक्ली आलोचनात्मक हुन सक्ने सम्भावना हुन्छ, जसले राम्रो सम्बन्ध स्थापित गर्न बाधा पुऱ्‍याउँछ। तर सन्तुलित आत्मसम्मान बलियो मित्रता स्थापित गर्ने आधार हो—मत्ती २२:३९.

मित्रता फस्टाउन थालेपछि दुवै पक्षले यसलाई बलियो बनाउने प्रयास गर्नु आवश्‍यक छ। मित्रता कायम राख्न समय खर्च गर्नुपर्दा तपाईं आनन्दित हुनुपर्ने हो किनकि “लिनुभन्दा दिनु अझ असल हो।” दिने एउटा तरिका, माफी दिनु हो र यसमा सानातिना गल्तीहरूलाई बेवास्ता गर्नु र अरूबाट सिद्धताको माग नगर्नु समावेश छ। बाइबल हामीलाई यसो भन्छ: “तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्‌।” “हुन सक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रह[नुहोस्‌]।” तपाईंको मित्रले कुनै खोट देखाइदियो भने तपाईं के गर्नुहुन्छ? “रीस देखाउन छिटो नगर्‌” भन्‍ने बाइबलको व्यावहारिक सुझाउलाई विचार गर्नुहोस्‌ किनकि “मित्रले दिएको चोट सुधारको निम्ति हुन्छ।” साथीहरूले तपाईंको सोचविचार गर्ने तरिका, बोलीवचन र आनीबानीमा प्रभाव पार्न सक्छ, होइन र? त्यसकारण, बाइबल यस्तो चेताउनी दिन्छ: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” तर अर्कोतिर “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ।”—प्रेरित २०:३५; फिलिप्पी ४:५; रोमी १२:१७, १८; उपदेशक ७:९; हितोपदेश १३:२०; २७:६; १ कोरिन्थी १५:३३.

थुप्रै युवाको विचारधारा प्रकट गर्दै मार्को यसो भन्छन्‌: “अरूसित मन मिल्ने खालको हुन बाइबलका सिद्धान्तहरूले साँच्चै मदत गर्छ। मैले चिनेजानेका केही मानिसहरू आफ्नै विषयमा मात्र सोच्छन्‌ र सकेसम्म आफ्नै व्यक्‍तिगत फाइदा मात्र हेर्ने खालका छन्‌। बाइबलले हामीलाई आफ्नै बारेमा मात्र बढ्‌ता नसोच्न र अरूको विषयमा सोच्न सिकाउँछ। मैले जानेबुझेअनुसार राम्रो मानव सम्बन्ध कायम गर्ने यो सर्वोत्तम तरिका हो।”

मार्को जस्ता युवाहरूलाई बाइबलबाट सिकेको कुराले तिनीहरूलाई जवानीमा मात्र नभई पछि भविष्यमा समेत मदत गरेको छ। अनि भविष्यको सम्बन्धमा युवा पुस्ताका लागि बाइबल विशेष मदतकारी साबित हुन सक्ने अर्को तरिका हामी पाउन सक्छौं।

भविष्यबारे फिक्री

थुप्रै युवा स्वभावैले जिज्ञासु हुन्छन्‌। अन्य उमेरका मानिसहरूको तुलनामा यिनीहरू के भइरहेछ र किन, त्यो जान्‍न बढी उत्सुक हुन्छन्‌। अनि बाइबलले संसारको अवस्था यस्तो हुनुका कारणहरू र भविष्यमा के आशा गर्नसक्छौं तीबारे अरू पुस्तकले भन्दा राम्ररी व्याख्या गर्छ। युवा पुस्ताले जान्‍न चाहेको कुरा पनि यही नै त हो। हामी किन ठोकुवा गरेर यसो भन्‍न सक्छौं?

युवाहरू वर्तमानका लागि मात्र बाँच्छन्‌ भन्‍ने विश्‍वास व्याप्त भए तापनि केही सर्वेक्षणले भिन्‍नै कुरा देखाएको छ। ती सर्वेक्षणहरूअनुसार युवाहरू आफू वरपर के भइरहेका छन्‌, त्यो होसियारीसाथ हेर्छन्‌ र भविष्यमा जीवन कस्तो हुनेछ भनी आफ्नै निष्कर्ष निकाल्छन्‌। चार युवायुवतीमध्ये ३ जनाले “अक्सर” र “बारम्बार” भविष्यबारे सोच्नु नै यसको प्रमाण हो। सामान्यतया युवायुवतीहरू आशावादी स्वभावको भए तापनि धेरैजसो युवाहरू आफ्नो भविष्यबारे फिक्री गर्छन्‌।

किन फिक्री? आजकल धेरैजसो युवाहरू अपराध, हिंसा र लागू पदार्थको दुर्व्यसनजस्ता समस्याहरूको जालोमा फसिसकेका छन्‌। अचाक्ली प्रतिस्पर्धा हुने समाजमा स्थायी जागिर पाइएला कि नपाइएला भनेर युवाहरू चिन्ता गर्छन्‌। तिनीहरू स्कूलमा राम्रो अंक प्राप्त गर्नैपर्ने वा काममा सफल हुनैपर्ने दबाउ महसुस गर्छन्‌। एक १७ वर्षीया किशोरीले यसरी विलौना गरिन्‌: “हामी खुट्टा तान्‍ने प्रवृत्ति भएको समाजमा बाँचिरहेका छौं। सबै जना आफ्नै इच्छा मात्र पूरा गर्न खोज्छन्‌। आफ्नो योग्यता सधैं प्रमाणित गरिरहनुपर्छ र यसले मलाई दिक्क पारिसक्यो।” बाइस वर्षीय युवकले चाहिं यसो भने: “सफल व्यक्‍ति प्रायः सबै कुरामा अगाडि हुन्छ र आरामले जिन्दगी बिताउँछ। तर परिस्थितिको मारमा परेकाहरू थुप्रै कारणले गर्दा सफलता हासिल गर्न सक्दैनन्‌ र पछि पर्छन्‌।” किन जीवन यतिविघ्न प्रतिस्पर्धात्मक भएको होला? के जीवन सधैं यस्तै भइरहन्छ?

व्यावहारिक व्याख्या

समाजलाई पीडित नजरले हेर्दा वा समाजप्रति चिन्तित हुँदा, तिनीहरूले जानेर हो कि नजानेर हो बाइबलसित सहमति जनाइरहेका छन्‌। परमेश्‍वरको वचनले आजको यो “खुट्टा तान्‍ने समाज” यस समयको चिह्न हो भन्छ। प्रेरित पावलले तिमोथी नाउँ गरेका युवकलाई लेखेको पत्रमा हाम्रो समयबारे यसो भने: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ।” किन डरलाग्दो? पावलले अझ लेखे, “मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, . . . बैगुणी, र अपवित्र, . . . निष्ठूर” हुनेछन्‌। आज कतिपय मानिसहरूको दुरुस्त व्यवहारबारे यसले बताएको छ, हैन र?—२ तिमोथी ३:१-३.

यी डरलाग्दा समय “आखिरी दिनमा” अर्थात्‌ सारा मानव समाजमाथि ठूलठूला परिवर्तनहरू ल्याउनुअघि हुनेछन्‌ भनेर बाइबलले बताउँछ। यी परिवर्तनहरूले जवान तथा वृद्धलगायत सबैलाई असर गर्नेछन्‌। तर कस्ता परिवर्तनहरू हुनेछन्‌? अब चाँडै स्वर्गको राज्यले हस्तक्षेप गर्नेछ र मानव सरकारलाई हटाएर आफ्नो सरकार बसाल्नेछ। तत्पश्‍चात्‌ त्यस राज्यको जनताले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” फिक्री र चिन्ता विगतको कुरा हुनेछ।—भजन ३७:११, २९.

बाइबलले मात्र भविष्यबारे भरपर्दो अन्तरदृष्टि प्रदान गर्न सक्छ। अब आउँदा केही वर्षहरूमा के हुनेछन्‌ भनी युवाहरू पक्का छन्‌ भने, त्यसका लागि तिनीहरू तयार हुन सक्छन्‌, सुरक्षित महसुस गर्न सक्छन्‌ र आफ्नो जीवनलाई अझै नियन्त्रणमा राख्न सक्ने हुन सक्छन्‌। यस्तो अनुभूतिले तनाउ र फिक्री कम गर्छ। यसप्रकार, युवा पुस्ताको विशेष आवश्‍यकता अर्थात्‌ समाजलाई बुझ्ने र भविष्य कस्तो छ थाह पाउने चाहनालाई बाइबलले पूरा गरेको छ।

युवावस्थालाई सफल बनाउने

कुन कुराले युवावस्थालाई सफल बनाउँछ? उच्च शिक्षा, भौतिक सरसम्पत्ति र धेरै साथीहरूले? धेरैले त्यसै भन्ठान्लान्‌। किशोरावस्था र २०/२२ वर्ष राम्ररी बित्यो भने व्यक्‍तिविशेषको बाँकी जीवन राम्रो हुनेछ। अर्को शब्दमा भनौं भने, सफल युवावस्था नै पछि के हुनेछ भन्‍ने कुराको संकेत हुन सक्छ।

बाइबलले युवाहरूलाई आफ्नो युवावस्था सफल पार्न मदत गर्न सक्दो रहेछ भनेर हामीले देख्यौं। थुप्रै युवाले त्यसको प्रमाण पाइसकेका छन्‌। तिनीहरू दिनहुँ परमेश्‍वरको वचन पढ्‌छन्‌ र सिकेको कुरा व्यवहारमा उतार्छन्‌। (पृष्ठ ६ मा “यहोवाको युवा सेवकले दिएको सुझाउ” हेर्नुहोस्‌।) साँच्चै, बाइबल आज युवाहरूलाई चाहिने किताब हो। किनकि यसले तिनीहरूलाई “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” बन्‍न मदत गर्नसक्छ।—२ तिमोथी ३:१६, १७.

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

युवावस्थालाई सफल बनाउने एउटा रहस्य अरूसित मिल्न सक्ने खालको मान्छे हुनु हो

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

अन्य उमेरका मानिसहरूको तुलनामा युवायुवती के भइरहेछ र किन, त्यो जान्‍न बढी उत्सुक हुन्छन्‌

[पृष्ठ ६, ७-मा भएको पेटी]

यहोवाको युवा सेवकले दिएको सुझाउ

आलेक्सजान्डर १९ वर्ष पुगे। तिनी यहोवाका साक्षीहरूको परिवारमा हुर्केका थिए र तिनी आफ्नो सारा हृदयले आफ्नो विश्‍वासअनुसार गर्न अत्यन्तै रमाउँछन्‌। तर तिनलाई यस्तो लाग्न थालेको हालै मात्र हो। किन? आलेक्सजान्डर आफै बताउँछन्‌:

“तपाईं पत्याउनुहोस्‌ वा नपत्याउनुहोस्‌, मैले यहोवाका साक्षीहरूसित सात वर्षभन्दा धेरै समय बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा संगत गरें। त्यतिखेर म आधा मनले मात्र यहोवाको उपासना गर्थें र भनौं भने, मेरो उपासना गर्ने तरिका नीरस थियो। मेरो विचारमा आफूलाई इमानदार भई जाँच्ने साहस मसित थिएन।”

त्यसपछि आलेक्सजान्डरको मनोवृत्ति परिवर्तन भयो। तिनी अझै यसो भन्छन्‌:

“मेरा आमाबुबा र मण्डलीका साथीहरूले मलाई दिनहुँ बाइबल पढ्‌न र यहोवालाई व्यक्‍तिगत तवरमा चिन्‍न आग्रह गरिरहनुहुन्थ्यो। अन्तमा मैले उहाँहरूले भन्‍नुभए जस्तै गरी हेर्ने विचार गरें। त्यसकारण, मैले टिभी हेर्ने मेरो समय कटौती गरें र हरेक बिहान बाइबल पढ्‌ने तालिका बनाएँ। बल्ल मैले बाइबल के रहेछ बुझ्न थालें। बाइबलले मलाई व्यक्‍तिगत तवरमा कसरी मदत गर्न सक्दो रहेछ, देख्न थालें। अनि सबैभन्दा महत्त्वपूर्ण त, यहोवा मैले उहाँबारे के थाह पाओस्‌ भन्‍ने चाहनुहुन्छ भन्‍ने कुरा पनि बुझें। फलतः यहोवासितको मेरो व्यक्‍तिगत सम्बन्ध प्रगाढ हुन थाल्यो र मण्डलीका साथीहरूसित पनि म घनिष्ठ हुन थालें। बाइबलले मेरो जीवनमा उल्लेखनीय परिवर्तन गऱ्‍यो! म यहोवाका प्रत्येक युवा सेवकहरूलाई दिनहुँ बाइबल पढ्‌ने सुझाउ दिन चाहन्छु।”

यहोवाका साक्षीहरूसित संगत गर्ने युवाहरू संसारभरि लाखौंलाख छन्‌। के तपाईं तिनीहरूमध्ये एक हुनुहुन्छ? के तपाईं नियमित तवरमा बाइबल पढेर त्यसबाट फाइदा उठाउन चाहनुहुन्छ? आलेक्सजान्डरले गरेजस्तै गर्नुभए कसो होला? कम महत्त्वका गतिविधिमा बिताउने समय कटौती गर्नुहोस्‌ र बाइबल पढाइलाई आफ्नो दैनिक जीवनको भाग बनाउनुहोस्‌। यसो गर्नुभयो भने, तपाईंले पक्कै लाभ उठाउनुहुनेछ।