सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ज्योतिको शहरमा ज्योतिझैं चम्कँदै

ज्योतिको शहरमा ज्योतिझैं चम्कँदै

ज्योतिको शहरमा ज्योतिझैं चम्कँदै

फ्लूक्टुआट्‌ नेक मेर्गीटूर अथवा “छालहरूले उसलाई बेस्सरी हिर्काउँछ तर ऊ डुब्दैन।” यो हो, पेरिस शहरको भनाइ।

जहाजले जस्तै विगत २,००० वर्षदेखि पेरिस शहरले पनि अनगिन्ती विदेशी आक्रमण र आन्तरिक विद्रोहको आँधीबेह्री झेलेको छ। संसारका सुन्दर शहरहरूमध्ये एक पेरिस, यसको वैभव वास्तुकला, दुवैपट्टि लहरै रूख भएका फराकिला सडकहरू र विश्‍व-प्रसिद्ध संग्रहालयका लागि चिरपरिचित छ। कसैकसैले त पेरिस कविहरू, चित्रकारहरू र दार्शनिकहरू जमघट हुने ठाउँ हो भन्छन्‌। अरूचाहिं यहाँको रसिलो, स्वादिष्ट भोजन र नयाँ फेसन देखेर दंग पर्छन्‌।

ऐतिहासिक तवरमा पेरिस क्याथोलिक धर्मको बलियो पकड भएको शहर थियो। दुई सय वर्षअघि इन्लाइटनमेन्ट नामक युरोपेली बौद्धिक आन्दोलनमा पेरिसले खेलेको महत्त्वपूर्ण भूमिकाका कारण यसलाई ज्योतिको शहर भन्‍ने नाउँ दिइयो। आज, जानेर होस्‌ वा नजानेर, अधिकांश पेरिसवासीहरू धर्मले भन्दा पनि त्यतिखेरको दर्शनले बढी प्रभावित भएका छन्‌।

तथापि, मानव बुद्धिले मानिसको जीवनमा आशा गरेअनुसार ज्योति छर्न सकेको छैन। आज थुप्रैले बेग्लाबेग्लै स्रोतबाट ज्योति खोजिरहेका छन्‌। यहोवाका साक्षीहरू पेरिसमा “ज्योतिहरूझैं देखा” परेको लगभग ९० वर्ष भइसक्यो। (फिलिप्पी २:१५) दक्ष नाविकले जस्तै तिनीहरूले पनि “सबै जाति जातिका धन-सम्पत्तिहरू[लाई]” जहाजमा उतार्न परिवर्तनशील धार वा घटनाहरूअनुरूप निरन्तर काँटछाँट गर्नुपऱ्‍यो।—हाग्गै २:७.

चुनौतीले भरिएको शहर

सन्‌ १८५० तिर पेरिस शहरको जनसंख्या ६,००,००० थियो। अहिले पेरिसलगायत मोफसलहरूमा ९० लाखभन्दा धेरै मानिसहरू बसोबास गर्छन्‌। यस्तो वृद्धिले गर्दा पेरिस, फ्रान्सकै सबैभन्दा विविधताले भरिएको शहर भएको छ। यो संसारको उच्च शिक्षा हासिल गर्ने केन्द्र भएको छ र विश्‍वका सबैभन्दा पुराना विश्‍वविद्यालयहरूमध्ये एउटा विश्‍वविद्यालय यहाँ छ भने, यो शहर लगभग २,५०,००० विद्यार्थीहरूको गृहनगर पनि भएको छ। पेरिसका केही मोफसलहरूका घना बस्ती अपराध र बेरोजगारीले गर्दा बदनाम भएका छन्‌। निस्सन्देह, सबै मानिसलाई मनपर्ने तरिकामा सुसमाचार प्रस्तुत गर्न यहोवाका साक्षीहरू निपुण अनि परिस्थितिअनुसार चल्न सक्ने हुनु परेको छ।—१ तिमोथी ४:१०.

वर्षेनी दुई करोडभन्दा धेरै पर्यटक पेरिस आउँछन्‌। रोमाञ्चित हुँदै तिनीहरू आइफल टावर उक्लन्छन्‌, सेन नदी वरपर टहल्छन्‌ वा वरपर नियाल्छन्‌ अनि बाटो छेउका क्याफे र बिस्त्रोहरूमा घुम्छन्‌। यद्यपि, पेरिसवासीहरूको दैनिक जीवन निकै दौडधूपमा बित्छ। पूर्ण-समय सेवक, क्रिस्ट्याङ भन्छन्‌, “मानिसहरूलाई

जहिले पनि हतार भइरहेको हुन्छ। . . . कामबाट घर फर्कंदा तिनीहरू थाकेर लखतरान भएका हुन्छन्‌।” यस्ता व्यस्त मानिसहरूसित कुराकानी गर्नु सजिलो छैन।

पेरिसमा यहोवाका साक्षीहरूले भोग्ने सबैभन्दा ठूला समस्याहरूमध्ये एउटा मानिसहरूलाई तिनीहरूको घरमा नभेट्‌नु हो। कुनैकुनै घरमा इन्टरकम जडान गरिएको हुन्छ। तथापि, बढ्‌दो अपराधले गर्दा अपार्टमेन्ट भवनहरूको प्रवेशद्वारमा विद्युतीय सुरक्षा प्रणाली जडान गरिएका हुन्छन्‌ र ती भवनहरूभित्र पस्न सम्भव हुँदैन। अतः कुनैकुनै इलाकामा १,४०० व्यक्‍तिहरूको अनुपातमा १ जना मात्र यहोवाका साक्षी किन भएछ, त्यो बुझ्न सकिन्छ। त्यसकारण, धेरैजसो टेलिफोन साक्षी र अनौपचारिक साक्षी दिइन्छ। के यहोवाका साक्षीहरूले अरू तरिकामा पनि आफ्नो ‘ज्योति चम्काउन’ सकेका छन्‌?—मत्ती ५:१६.

अनौपचारिक साक्षी दिने अवसर र स्थान प्रशस्त छन्‌। मार्टिनले बस बिसौनीमा एक जना आइमाई हताश भएर उभिरहेकी देखिन्‌। यस आइमाईको हालै मात्र एक्ली छोरी मरेकी रहिछे। मार्टिनले तिनलाई पुनरुत्थानबारे बाइबलको सान्त्वनादायी आशा भएको पुस्तिका दिइन्‌। त्यसपछि उनले केही महिना तिनीसित कुनै सम्पर्क राख्न सकिनन्‌। तर पछि फेरि तिनलाई भेट्‌दा मार्टिनले तिनीसित बाइबल अध्ययन सुरु गर्न सकिन्‌। श्रीमान्‌को विरोधको बावजूद उक्‍त आइमाई साक्षी भइन्‌।

फलदायी अनौपचारिक साक्षी

पेरिसको यातायात सुविधा संसारभरिकै सबैभन्दा भरपर्दा सुविधाहरूमध्ये एक हो। सुप्रसिद्ध मेट्रो अर्थात्‌ यातायातका साधनहरूले दिनहुँ ५०,००,००० यात्रुहरूलाई सुविधा पुऱ्‍याएका छन्‌। पेरिसको जमिनमुनिको केन्द्रीय स्टेशन शाट्‌ले-ले-आल संसारकै सबैभन्दा ठूलो र व्यस्त स्टेसन हो भनिन्छ। यहाँ मानिसहरूलाई भेट्‌ने मौका प्रशस्त छ। आलेक्साङड्रा दिनहुँ काममा जाँदा मेट्रोको सुविधा लिने गर्छिन्‌। एक दिन तिनले ल्युकेमियाले ग्रस्त नौजवानसित कुराकानी गरिन्‌। आलेक्साङड्राले तिनलाई प्रमोदवनको आशाबारे चर्चा गरिएको पर्चा दिइन्‌। त्यसपछिको छ हप्तासम्म त्यही समय र त्यही ठाउँमा बाइबलबाट छलफल सुरु भयो। तर त्यसपछि एक दिन उक्‍त नौजवान आएनन्‌। त्यसको केही दिनपछि तिनकी पत्नीले आलेक्साङड्रालाई फोन गरिन्‌ र आफ्नो श्रीमान्‌को अवस्था एकदमै नाजुक भएकोले अस्पताल आइदिन आग्रह गरिन्‌। दुःखको कुरा आलेक्साङड्रा त्यहाँ आइपुग्दा धेरै ढिलो भइसकेको थियो। त्यस नौजवानको मृत्युपछि तिनकी पत्नी फ्रान्सको दक्षिणपश्‍चिममा पर्ने बर्डो शहरमा सरिन्‌ र त्यहाँ तिनलाई स्थानीय यहोवाका साक्षीहरू भेट्‌न आए। यसको वर्षदिनपछि उक्‍त विधवा यहोवाको बप्तिस्मा प्राप्त मसीही साक्षी भइन्‌ र आफ्नो श्रीमान्‌को पुनरुत्थान भएको हेर्ने आशा साँचिरहेकी छिन्‌ भन्‍ने खबर सुन्‍न पाउँदा आलेक्साङड्रा कत्ति रमाइन होलिन्‌!—यूहन्‍ना ५:२८, २९.

पेरिसदेखि फ्रान्सको मध्य भाग अर्थात्‌ लीमोज्झसम्म जाने रेलमा एक मसीही वृद्धाले रेनाटासित कुरा गरिन्‌। रेनाटाले आफ्नो मुलुक पोल्याण्डमा पाँच वर्षसम्म धर्मविज्ञान, हिब्रू र युनानीबारे अध्ययन गरेकी थिइन्‌ तर तिनी परमेश्‍वरमाथि भने विश्‍वास गर्दिनन्‌ थिइन्‌। तीन महिनाअघि तिनले परमेश्‍वरलाई प्रार्थना गरेकी रहेछिन्‌। यी वृद्ध दिदीले भनेको कुरा सुन्‍न त्यति चासो नलागे तापनि र फेरि यिनीसित भेट होला कि नहोला, सोच्दै नसोची रेनाटाले तिनलाई आफ्नो टेलिफोन नम्बर दिइन्‌। तथापि, मसीही बहिनी हार मान्‍ने खालकी थिइनन्‌ र रेनाटालाई कसैले भेट्‌न गए कि गएनन्‌ पक्का गरिन्‌। एक साक्षी दम्पती भेट्‌न आउँदा रेनाटाले मनमनै ‘तिनीहरूले मलाई के पो सिकाउलान्‌’ भन्ठानेकी थिइन्‌। धर्मविज्ञानको शिक्षा हासिल गरेको भए तापनि रेनाटा बाइबलको सच्चाइप्रति आकर्षित भइन्‌। “सच्चाइ यही नै हो भनेर मैले तुरुन्तै थाह पाइहालें” भनी तिनी बताउँछिन्‌। अहिले तिनी अरूलाई बाइबलको सन्देश सुनाउन पाएकोमा आनन्दित छिन्‌।

मीशेलले गाडी चलाउने तालिम लिइरहेकी थिइन्‌। तालिमसम्बन्धी सैद्धान्तिक कक्षामा अन्य विद्यार्थीहरूले विवाहपूर्व राखिने यौन सम्बन्धबारे कुरा गर्न थाले। मीशेलले यसको घोर भर्त्सना गरिन्‌। यसको एक हप्तापछि तिनकी प्रशिक्षक सिल्भीले मीशेललाई सोधिन्‌: “के तपाईं यहोवाका साक्षी हुनुहुन्छ?” मीशेलको बाइबलमा आधारित दृष्टिकोणबारे थाह पाएर सिल्भी प्रभावित भइन्‌। सिल्भीसित बाइबल अध्ययन सुरु गरियो र यसको वर्षदिनपछि तिनले बप्तिस्मा लिइन्‌।

पेरिसका थुप्रै पार्क तथा बगैंचाहरू मानिसहरूसित कुराकानी थाल्ने राम्रो ठाउँ भएको छ। आराम गर्ने समयमा झोजेट पार्क गइन्‌ र त्यहाँ उनले एउटी वृद्ध, आलीनलाई टहलिरहेकी भेटिन्‌। झोजेटले तिनलाई बाइबलमा पाइने अद्‌भुत प्रतिज्ञाहरूबारे बताइन्‌। बाइबल अध्ययनको प्रबन्ध मिलाइयो र चाँडै आलीन बप्तिस्मा लिन योग्यको समेत भइन्‌। अहिले ७४ वर्षको उमेरमा आलीन फलदायी नियमित अग्रगामीको रूपमा सेवा गरिरहेकी छिन्‌ र अरूलाई मसीही सच्चाइबारे बताउन पाएकोमा दंग छिन्‌।

जातिजातिका मानिसहरूका लागि ज्योति

पेरिसका साक्षीहरू विविध संस्कृतिको आनन्द उठाउन टाढाटाढा जानु पर्दैन। यहाँको कुल जनसंख्याको २० प्रतिशत त विदेशीहरू नै हुन्‌। यहाँ लगभग २५ वटा विभिन्‍न भाषाका मसीही मण्डली तथा समूहहरू छन्‌।

कौशलता र परिकल्पनाले गर्दा यस विशेष प्रचारकार्यमा अक्सर राम्रो परिणाम प्राप्त गर्न सकिएको छ। एक फिलिपिनो साक्षीले आफ्नै विशेष इलाका तयार पारिन्‌। किनमेल गर्न जाँदा पसलमा भेटिएका अन्य फिलिपिनोहरूसितको साधारण कुराकानीबाटै तिनले थुप्रै बाइबल अध्ययन सुरु गर्न सकेकी छिन्‌।

प्रचारकार्यमा अग्रसर हुँदा परिणाम राम्रो हुन्छ। डिसेम्बर १९९६ मा विश्‍वप्रसिद्ध सर्कस टोली आउँदै छ भन्‍ने सुनेर एउटा विदेशी भाषाको मण्डलीका साक्षीहरूले सर्कसका कलाकारहरूलाई भेट्‌न प्रयास गर्ने निर्णय गरे। एक साँझ कार्यक्रमपछि तिनीहरूले होटल फर्कन लागेका सर्कस कलाकारहरूसित कुरा गर्न पाए। यसरी अग्रसर भएकोले २८ वटा बाइबल, ५९ वटा मसीही पुस्तकहरू, १३१ पुस्तिकाहरू र २९० वटा पत्रिकाहरू प्रस्तुत गर्न सकियो। त्यो सर्कस त्यहाँ तीन हप्ताको निम्ति आएको थियो र फर्कनुअघि एक जना कलाकारले यस्तो प्रश्‍न सोध्यो: “म कसरी यहोवाको साक्षी बन्‍न सक्छु?” अर्कोले यसो भन्यो: “म आफ्नो देशमा प्रचार गर्नेछु!”

अझै फेला नपरेको गाडधन

पेरिसमा आउने अतिथिहरू जतासुकै युगौंयुगदेखिका रमणीय वास्तुकला देख्छन्‌। तथापि, यीभन्दा पनि अनमोल कुराहरू त भेट्टाउन बाँकी नै छ। अनीजा आफ्नो कुटनीतिज्ञ फुपासित फ्रान्स आएकी थिइन्‌। तिनी आफै नियमित तवरले घरैमा बाइबल पढ्‌ने गर्थिन्‌। एक दिन हतारपतार घरबाट बाहिर जान लागेकी बेला एक जना अग्रगामीले तिनलाई तपाईं किन बाइबलमा विश्‍वास गर्न सकनु हुन्छ? नामक पर्चा दिइन्‌। अर्को हप्ता भेट्‌ने प्रबन्ध मिलाइयो र बाइबल अध्ययन थालियो। अनीजाले परिवारको निकै विरोध खप्नुपऱ्‍यो। तर तिनले उन्‍नति गरिन्‌ र बप्तिस्मा लिन योग्यको भइन्‌। अरूसित सच्चाइ बाँड्‌न पाउनुजस्तो ठूलो विशेषाधिकारप्रति तिनको कस्तो दृष्टिकोण छ? “सुरुमा त प्रचार गर्न निकै गाह्रो लाग्यो किनकि म स्वभावैले अलि लजालु छु। तर बाइबल पढ्‌दा त्यसले मलाई उत्प्रेरित गर्छ। म केही नगरी चुपो लागेर बस्नै सक्दिनँ।” “प्रभुको काममा प्रशस्त हुँदै” जाने पेरिसका थुप्रै यहोवाका साक्षीहरूको मनोवृत्ति यस्तै छ।—१ कोरिन्थी १५:५८.

बाइबल सच्चाइ पेरिस शहरबाहिरका घरघडेरी योजनाहरूमा पनि चम्केकोले अन्य “रत्नहरू” पनि देखा परेका छन्‌। साथीसित गीतका केही रेकर्डिङ माग्ने विचारले ब्रूस साथीलाई भेट्‌न गएका थिए। तिनका साथी हालै मात्र यहोवाका साक्षी भएका रहेछन्‌। उक्‍त साथी आफूले चिनेकै व्यक्‍तिसित बाइबलसम्बन्धी छलफल गरिरहेकोले ब्रूसले पनि तिनीहरूको कुराकानी सुने। तिनले बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारे तर तिनको केही समस्या थियो। “म आफ्नो टोलभरि चिनिन्थें। मेरो जेठा दाइ सधैंजसो मारपिट गरिरहनुहुन्थ्यो र म पार्टीमा चर्को आवाजमा गानाबजाना बजाउने गर्थें। म यहोवाको साक्षी हुँदैछु भन्‍ने कुरा अरूले थाह पाएमा के सोच्लान्‌?” पार्टी आयोजना गर्न निरन्तर दबाउ आए तापनि ब्रूसले त्यसो गर्न चट्टै छोडे। महिनादिन जतिपछि तिनले प्रचार गर्न थाले: “टोलभरिका सबै जना म किन यहोवाको साक्षी बनें, बुझ्न चाहन्थे।” यसको केही समयपछि तिनले बप्तिस्मा लिए। समयमा तिनले मिनिस्टेरियल ट्रेनिङ स्कूलमा तालिम लिने विशेषाधिकार पनि पाए।

गाडधन खोज्न निकै परिश्रम गर्नुपर्छ। तथापि, परिश्रमको मीठो फल प्राप्त हुँदा कत्ति मजा आउँछ! झाकी, ब्रुएनो र दाम्येङ पेरिसमा बेकरीको काम गर्छन्‌। झाकी भन्छन्‌, “हामीलाई भेट्‌नु साह्रै गाह्रो थियो किनकि हामी दिनभरि काम गर्थ्यौं। त्यसैले, कोठामा हामी कहिल्यै हुँदैन थियौं।” नियमित अग्रगामी, प्याट्रिकले एउटा भवनको माथिल्लो तलामा केही साना कोठाहरू देखे र तीमध्ये एउटा कोठामा कोही बस्छ जस्तो तिनलाई लाग्यो। अन्तमा एक दिन दिउँसोतिर केही छिनका लागि घर बसिरहेका झाकीलाई भेट्‌दा तिनको प्रयास सफल भयो। परिणाम के भयो त? यी तीन मित्रहरू यहोवाका साक्षी भए र यिनीहरूले ईश्‍वरतान्त्रिक क्रियाकलापमा धेरैभन्दा धेरै समय बिताउन सक्ने अर्कै काम खोजे।

आँधीबेहरीलाई शान्त पार्दै

हालै फ्रान्सका केही सञ्चार माध्यमहरूले यहोवाका साक्षीहरूलाई खतरनाक धार्मिक गुटको रूपमा प्रस्तुत गरेका थिए। सन्‌ १९९६ मा यहोवाका साक्षीहरूले यहोवाका साक्षीहरू—तपाईंले तिनीहरूबारे के थाह पाउनुपर्छ (अंग्रेजी) शीर्षकको विशेष जानकारी भएको पर्चा ९० लाख प्रति वितरण गर्न यथासक्दो गरे। यसको राम्रो परिणाम पाइयो।

सबैलाई भेट्‌ने विशेष प्रयास गरिएको थियो। थुप्रै सरकारी कर्मचारीहरूले यहोवाका साक्षीहरूको मूल्यांकन गरे। नगरपालिकाका एक जना सल्लाहकारले यस्तो लेखे: “यहोवाका साक्षीहरूले यो पर्चा वितरण गरेर राम्रो गरेका छन्‌। यसले झूट के हो पर्दाफास गरेको छ।” एक जना चिकित्सकले यस्तो टिप्पणी गरे: “मैले यो जानकारी पर्खेको निकै भइसकेको थियो!” पेरिसका एक जना पुरुषले यस्तो लेखे: “संयोगले मैले यहोवाका साक्षीहरू—तपाईंले तिनीहरूबारे के थाह पाउनुपर्छ (अंग्रेजी) पढें। म अझ धेरै कुरा थाह पाउन चाहन्छु र निश्‍शुल्क गृह बाइबल अध्ययनको फाइदा पनि उठाउन चाहन्छु।” अर्की एक जनाले यसरी लेखिन्‌: “तपाईंहरूको इमानदारिताका लागि धन्यवाद।” एउटी क्याथोलिक आइमाईले साक्षीहरूलाई यसो भनिन्‌: “वाह! आखिर तपाईंहरूले यो झूट पर्दाफास गरेरै छाड्‌नुभयो!”

पेरिसका थुप्रै युवा साक्षीहरूका लागि विशेष आनन्दको क्षण त सन्‌ १९९७ को क्याथोलिक वर्ल्ड युथ डेका दिन मिलाइएको प्रचार अभियान थियो। तापक्रम ३५ डिग्री सेन्टिग्रेड भन्दा माथि भए तापनि लगभग २,५०० जना साक्षीहरूले यस अभियानमा भाग लिए। केही दिनमै तिनीहरूले संसारका कुनाकाप्चाबाट आएका जवानहरूलाई १८,००० प्रति सबैका लागि उपयोगी किताब नामक पुस्तिका वितरण गरे। यहोवाको नाउँको राम्रो साक्षी दिनु र सच्चाइको बीउ रोप्नुको अलावा यो अभियानले यहोवाका युवा साक्षीहरूलाई उत्साह दियो। यस विशेष अभियानमा पूरापूर भाग लिनका लागि आफ्नो बिदा छोट्याउने जवान बहिनीले यस्तो लेखिन्‌: “यस पृथ्वीमा यहोवाका आनन्दित मानिसहरू छन्‌ र तिनीहरू उहाँको नाउँको प्रशंसा गर्न आफ्नो बल प्रयोग गर्छन्‌। यी दुई दिन अत्यन्तै इनामदायी साबित भयो। जीवनभर मनाइने बिदालाई यस्तो काममा खर्च गर्नुपरे तापनि पछुताउनु पर्ने थिएन! (भजन ८४:१०)”

फेब्रुअरी २८, १९९८ का दिन हिट्‌लरले जर्मनीमा यहोवाका साक्षीहरूलाई प्रतिबन्ध गरेको ६५ वर्ष पुगेको थियो। फ्रान्सका साक्षीहरूले यस अवसरको फाइदा उठाउँदै भवनहरू बहालमा लिएर जेहोभाज्‌ विट्‌नेसेज स्याण्ड फर्म अगेन्स्ट नाजी असल्ट भिडियो प्रदर्शन गरे। यस भिडियोमा यहोवाका जनहरूले भोगेको सतावटको विवरण प्रस्तुत गरिएको छ। झन्डै ७० लाखभन्दा बढी निमन्त्रणा पत्र दिइयो। इतिहासकार तथा पहिले यातना शिविरमा परेका साथीहरूले मनै छुने बयान दिए। पेरिसमा मात्र झन्डै ५,००० जना उपस्थित भएका थिए र यसमा गैर-साक्षीहरूको उल्लेखनीय उपस्थिति थियो।

पेरिसका थुप्रै मानिसहरू आध्यात्मिक ज्योतिको निकै मूल्यांकन गर्छन्‌ र राज्य प्रकाशकहरू चम्किला ज्योतिहरूझैं चम्किरहनु पाएकोमा तिनीहरू खुसी छन्‌। यो येशूले भन्‍नुभएझैं भएको छ: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌।” (मत्ती ९:३७) शहरमा प्रचार गर्दा आइपर्ने चुनौतीहरू सामना गर्ने यहोवाका साक्षीहरूको दृढताले गर्दा नै पेरिस शहर विशेष अर्थमा ज्योतिको शहर भएको छ र यसले यहोवाको प्रशंसा गरेको छ।

[पृष्ठ ९-मा भएको चित्र]

सिटी हल

[पृष्ठ ९-मा भएको चित्र]

गार्नियर नाट्यशाला

[पृष्ठ ९-मा भएको चित्र]

लुभ्र संग्रहालय

[पृष्ठ १०-मा भएका चित्रहरू]

व्यस्त मानिसहरू जहाँजहाँ भेटिन्छन्‌, त्यहींत्यहीं बाइबल सन्देश बाँड्‌दै