सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रायजसो युवाहरूले चासो नराख्ने किताब

प्रायजसो युवाहरूले चासो नराख्ने किताब

प्रायजसो युवाहरूले चासो नराख्ने किताब

“बाइबल साँच्चै परमेश्‍वरको वचन हो भनेर मैले कसरी मानिलिने? मलाई यो किताब त्यति रोचक लाग्दैन।” यो टिप्पणी बियाट नाउँ गरेकी युवतीको थियो।

बियाट बस्ने देश जर्मनीका प्रायजसो युवाहरू त्यस्तै महसुस गर्छन्‌। त्यसैकारण, तिनीहरूलाई बाइबल महत्त्वपूर्ण छ जस्तो लाग्दैन। हालै गरिएको सर्वेक्षणअनुसार लगभग १ प्रतिशत युवाहरूले मात्र नियमित बाइबल पढ्‌ने गरेको पत्ता लागेको छ भने, २ प्रतिशतले अक्सर, १९ प्रतिशतले कहिलेकाहीं र झन्डै ८० प्रतिशतले त कहिल्यै पढेका छैनन्‌ रहेछ। अन्य मुलुकको वा भनौं तपाईं बसोबास गर्ने मुलुकको तथ्यांक पनि यस्तै हुनसक्छ। स्पष्टतः बाइबल प्रायजसो युवाहरूले चासो नराख्ने किताब भएको छ।

त्यसैले, सामान्यतया युवा पुस्तालाई बाइबलबारे त्यति ज्ञानै छैन। सन्‌ २००० को प्रारम्भमा लाउजिट्‌सर रुन्टशाउ नामक समाचारपत्रले कति जनालाई दस आज्ञाबारे थाह छ र कतिले ती आज्ञाहरूलाई मार्गदर्शकको रूपमा लिएका छन्‌, त्यसबारे गरिएको सर्वेक्षणको रिपोर्ट दिइएको थियो। साठी वर्ष नाघिसकेका मानिसहरूको सम्बन्धमा भने ६७ प्रतिशत जतिलाई ती आज्ञाहरूबारे थाह रहेछ र त्यसलाई मार्गनिर्देशनको रूपमा प्रयोग गर्दा रहेछन्‌। तर ३० वर्षमुनिकाहरू त २८ प्रतिशत मात्र रहेछन्‌। हो, थुप्रै युवालाई परमेश्‍वरको वचन तिनीहरूको चासो बाहिरको कुरा भएको छ।

कसैकसैको भिन्‍नै दृष्टिकोण छ

अर्कोतिर, संसारभरिका लाखौं युवाहरूले परमेश्‍वरको वचन अत्यन्तै अनमोल भएको पाएका छन्‌। उदाहरणका लागि, १९ वर्षीय आलेक्सजान्डर प्रत्येक बिहान काममा जानुअघि बाइबल पढ्‌ने गर्छन्‌। “बाइबल पढ्‌नु दिन सुरु गर्ने राम्रो तरिका हो” भनी तिनी टिप्पणी गर्छन्‌। सान्ड्रालाई हरेक साँझ बाइबलका केही अंश पढ्‌ने बानी बसिसक्यो। तिनी भन्छिन्‌, “यो मेरो दैनिक तालिकाको भाग भइसक्यो।” अनि १३ वर्षीया जुल्याले चाहिं राती सुत्नुअघि बाइबलबाट एक अध्याय भए पनि पढ्‌ने बानी बसालेकी छिन्‌। “मलाई बाइबल पढ्‌दा रमाइलो लाग्छ र म पछिसम्म बाइबल पढिरहन चाहन्छु।”

यीमध्ये कुन दृष्टिकोण सही र बुद्धिमानी छ? के बाइबल साँच्चै पढ्‌न योग्यको छ? के यो युवा पुस्ताका लागि पनि अनमोल र महत्त्वपूर्ण छ? तपाईंलाई कस्तो लाग्छ?