सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भलाइ गर्नमा हरेस नखानुहोस्‌

भलाइ गर्नमा हरेस नखानुहोस्‌

भलाइ गर्नमा हरेस नखानुहोस्‌

“भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलीती ६:९.

१, २. (क) परमेश्‍वरको सेवा गर्न किन धीरज चाहिन्छ? (ख) अब्राहाम कसरी धीरजी भए र धीरजी हुन तिनलाई केले मदत गऱ्‍यो?

 यहोवाका साक्षीहरू भएकोले हामी परमेश्‍वरको इच्छाअनुसार गर्न पाउँदा रमाउँछौं। अनि चेला हुन पाएको “जुवा” उठाउँदा हामी स्फूर्ति पनि प्राप्त गर्छौं। (मत्ती ११:२९) तथापि, ख्रीष्टसित यहोवाको सेवा गर्नु सधैं सजिलो हुँदैन। यो कुरा स्पष्ट पार्दै प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “परमेश्‍वरको इच्छा पालन गरेर प्रतिज्ञाको फल पाइने भएको हुनाले तिमीहरूलाई धीरजको आवश्‍यकता छ।” (हिब्रू १०:३६) धीरज आवश्‍यक छ किनकि परमेश्‍वरको सेवा गर्नु चुनौतीपूर्ण हुन सक्छ।

अब्राहामको जीवन पक्कै पनि यस तथ्यको प्रमाण हो। तिनले निकै चोटि कठिन छनौट तथा तनावपूर्ण परिस्थितिहरूको सामना गर्नुपऱ्‍यो। ऊरको आरामदायी जीवन छोडेर हिंड्‌ने आदेश त सुरुआत मात्र थियो। केही समय नबित्दै तिनले अनिकाल भोगे, छिमेकीहरूको शत्रुता खपे, झन्डै श्रीमती गुमाए, केही कुटुम्बहरूको वैरभाव सहे र युद्धको क्रूरता आदि सामना गरे। यसभन्दा पनि ठूलो परीक्षा त भोग्न बाँकी नै थियो। तर अब्राहामले भलाइ गर्नमा हरेस खाएनन्‌। यो उल्लेखनीय छ किनकि तिनीसित आज हामीसित जस्तो परमेश्‍वरको सम्पूर्ण वचन थिएन। तथापि, तिनलाई पहिलो भविष्यवाणी पक्कै थाह थियो, जुन भविष्यवाणीमा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु।” (उत्पत्ति ३:१५) भविष्यवाणी गरिएको सन्तान आफ्नै कुलबाट आउने भएकोले अब्राहाम पक्कै पनि शैतानको दुश्‍मनीको तारो हुने थिए। यस तथ्यलाई बुझेको हुनाले अब्राहामले पक्कै पनि परीक्षाहरू दुःख नमानी सहन सके।

३. (क) आज यहोवाका जनहरूले परीक्षाहरू आइपर्छन्‌ भनेर किन आशा गर्नुपर्छ? (ख) गलाती ६:९ ले हामीलाई कस्तो प्रोत्साहन दिन्छ?

आज यहोवाका जनहरूले पनि सतावट आइपर्ने आशा गर्नुपर्छ। (१ पत्रुस १:६, ७) आखिर, प्रकाश १२:१७ ले शैतान शेष अभिषिक्‍त जनसित “युद्ध गर्न गयो” भनेर चेताउनी दिन्छ। अभिषिक्‍त जनहरूसितको घनिष्ठ सम्बन्धका कारण “अरू भेड़ा” पनि शैतानको क्रोधको तारो भएका छन्‌। (यूहन्‍ना १०:१६) मसीहीहरूले जन सेवकाईमा आउने विरोधको अलावा व्यक्‍तिगत जीवनमा पनि कठीन परीक्षाहरू सामना गर्नुपर्न सक्छ। पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” (गलाती ६:९) हो, हाम्रो विश्‍वासलाई कमजोर पार्न शैतानले कम्मर कसेको छ। तथापि, विश्‍वासमा बलियो हुँदै हामी त्यसको विरुद्धमा खडा हुनैपर्छ। (१ पत्रुस ५:८, ९) हामी विश्‍वासी भइरह्‍यौं भने त्यसको परिणाम कस्तो हुन्छ? यसबारे याकूब १:२, ३ यसो भन्छ: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्‍वासको जाँचले धीरज उत्पन्‍न गराउँछ।”

प्रत्यक्ष आक्रमण

४. परमेश्‍वरका जनहरूको निष्ठा भंग गर्न शैतानले कसरी प्रत्यक्ष आक्रमण गरेका छन्‌?

आज मसीहीहरूले “अनेक किसिमका परीक्षाहरू” भोग्नुपर्न सक्छ, त्यो अब्राहामको जीवनलाई हेरेर अनुमान लगाउन सकिन्छ। उदाहरणका लागि, तिनले शिनारबाट आएका आक्रमणकारीहरूको सामना गर्नुपऱ्‍यो। (उत्पत्ति १४:११-१६) अतः शैतानले सतावट ल्याउने एउटा तरिका प्रत्यक्ष आक्रमण हुनु कुनै अचम्मको कुरा होइन। दोस्रो विश्‍वयुद्धको अन्त यता थुप्रै मुलुकले यहोवाका साक्षीहरूको शैक्षिक कार्यक्रममा सरकारी प्रतिबन्ध लगाएका छन्‌। अंगोलाका मसीहीहरूले शत्रुहरूको हातबाट भोग्नुपरेको हिंसाबारे २००१ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-मा रिपोर्ट गरिएको छ। यस्ता मुलुकका हाम्रा भाइहरू यहोवामा भर पर्दै अटल भएर बसेका छन्‌! तिनीहरूले न त हिंसात्मक व्यवहार देखाएका छन्‌ न विद्रोह नै गरेका छन्‌। बरु, होसियारीसाथ प्रचार कार्यमा लागिरहेका छन्‌।—मत्ती २४:१४.

५. युवा मसीहीहरू स्कूलमा सतावटको सिकार कसरी हुन सक्छन्‌?

तथापि, सतावट हिंसात्मक नै हुन्छ भन्‍ने पनि छैन। अन्ततः अब्राहाम, इश्‍माएल र इसहाक नाउँ भएका दुई छोराहरूको बुबा भए। उत्पत्ति २१:८-१२ हामीलाई एकपटक इश्‍माएलले इसहाकसित “ठट्टा” गरिरहेको विषयमा बताउँछ। पावलले गलातीहरूलाई लेखेको पत्रअनुसार यो ठट्टा वास्तवमा केटाकेटीको चञ्चले बानी नभई निकै गम्भीर प्रकृतिको थियो। किनकि पावल, इश्‍माएलले इसहाकको खेदो गरिरहेका थिए भन्छन्‌! (गलाती ४:२९) साथीहरूको गिल्ला र विरोधीहरूको दुर्वचनलाई सतावट भन्‍नु जायज छ। सहपाठीहरूले गरेको दुर्व्यवहार सम्झँदै रायन नाउँ गरेका जवान मसीही यसो भन्छन्‌: “साथीहरूको दुर्वचनले गर्दा स्कूल जाँदा र घर फर्कंदा बसमा लाग्ने १५ मिनेट मलाई घण्टौं लामो लाग्छ। तिनीहरू चुरोट सल्काउने लाइटर बालेर तताएको पेपर क्लीपले मलाई पोल्थे।” साथीहरू किन यसरी निष्ठूर भएका? “परमेश्‍वरको संगठनमा मैले पाएको तालिमले गर्दा म स्कूलमा अरूभन्दा भिन्‍न थिएँ।” तथापि, आमाबाबुको समर्थन पाएर रायनले यो सतावट विश्‍वासी हुँदै सहन सके। केटाकेटीहरू हो, के साथीहरूको ठट्टाले गर्दा तपाईं हतोत्साही हुनुभएको छ? छ भने, हार नमान्‍नुहोस्‌! विश्‍वासी भई सहँदा येशूका यी शब्दहरू पूरा भएको पाउनुहुनेछ: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌।”—मत्ती ५:११.

दिनदिनैको फिक्री

. कस्ता कुराहरूले आज सँगी मसीहीहरूबीचको सम्बन्धमा फाटो ल्याउन सक्छ?

आज हामीले सामना गर्ने प्रायजसो परीक्षाहरूमा दिनदिनै भोग्ने फिक्रीहरू समावेश छन्‌। अब्राहाम आफ्ना गोठाला र भतिजोका गोठालाहरूबीचको खिचातानीको सिकार हुनु परेको थियो। (उत्पत्ति १३:५-७) त्यसै गरी आज पनि भिन्‍न व्यक्‍तित्व र सानोतिनो ईर्ष्याले गर्दा फाटो आउन सक्छ र मण्डलीको शान्तिसमेत खतरामा पर्न सक्छ। “जहाँ इबी र विरोध हुन्छ, त्यहाँ डाह र हरेक किसिमको भ्रष्ट काम हुन्छ।” (याकूब ३:१६) हार नमान्‍नुहोस्‌ तर अब्राहामले जस्तै घमण्डको ठाउँमा शान्तिलाई ठाउँ दिनु र अरूको चासोलाई प्राथमिकता दिनु अत्यन्तै महत्त्वपूर्ण छ!—१ कोरिन्थी १३:५; याकूब ३:१७.

७. (क) सँगी मसीहीले गर्दा चित्त दुखेको व्यक्‍तिले के गर्नुपर्छ? (ख) अरूसित राम्रो सम्बन्ध कायम राख्ने सन्दर्भमा अब्राहामले कस्तो असल उदाहरण कायम गरे?

सँगी विश्‍वासीले हामीमाथि अन्याय गरेजस्तो लाग्दा शान्तिसित बस्नु चुनौती हुन सक्छ। हितोपदेश १२:१८ यसो भन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” पाप नचिताए तापनि सोचविचार नगरी बोलिएका शब्दहरूले गहिरो चोट पुऱ्‍याउन सक्छ। हाम्रो निन्दोचर्चो गरिएको वा हामीबारे नचाहिंदो कुरा काटेजस्तो लाग्दा पीडा अझ असह्‍य हुन्छ। (भजन ६:६, ७) तर चित्त दुख्दैमा मसीहीले हार मान्‍नु मिल्दैन! तपाईं यस्तै परिस्थितिको मारमा परिरहनुभएको छ भने तपाईंको चित्त दुखाउने व्यक्‍तिसित दयालु ढंगमा कुरा गरेर स्थिति सुधार्ने प्रयास गर्न अघि सर्नुभए कसो होला? (मत्ती ५:२३, २४; एफिसी ४:२६) त्यस व्यक्‍तिलाई क्षमा दिन अग्रसर हुनुहोस्‌। (कलस्सी ३:१३) द्वेष भाव राखेनौं भने हामीले आफ्नो चोटमा मलहम लगाउनुका साथै भाइसितको सम्बन्धलाई सुधार्न बाटो खोल्न सम्भव तुल्याइरहेका हुनेछौं। चित्त दुखेकै भए तापनि अब्राहामले लूतप्रति कुनै द्वेष भाव राखेनन्‌। त्यसैले त तिनी लूत र तिनको परिवारको सुरक्षाको निम्ति दगुरिहाले!—उत्पत्ति १४:१२-१६.

हामी आफैले ल्याउने परीक्षाहरू

८. (क) कसरी मसीहीहरूले ‘धेरै दुःखले आफ्नो हृदय छेड्‌न सक्छन्‌’? (ख) अब्राहामले भौतिक साधनहरूप्रति कसरी सन्तुलित दृष्टिकोण राख्न सके?

हो, केही परीक्षाका कारण हामी आफै हुन सक्छौं। उदाहरणका लागि, येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्‌।” (मत्ती ६:१९) यद्यपि, केही भाइहरूले परमेश्‍वरको राज्यलाई भन्दा भौतिक कुरालाई प्राथमिकता दिएकोले ‘धेरै दुःखले आफ्नो हृदय छेडेका छन्‌।’ (१ तिमोथी ६:९, १०) परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन अब्राहाम भौतिक सुख त्याग्न तयार थिए। “विश्‍वासैबाट आफ्नो होइन, तर अर्काको देशमा जस्तो गरी त्यही प्रतिज्ञाका हकदारहरू भएर पालमा बास गरी इसहाक र याकूबका साथमा प्रतिज्ञाको देशमा तिनी प्रवासी भए। किनकि तिनले त्यही जग भएको शहरको प्रतीक्षा गर्दथिए, जसको बनाउने र निर्माण गर्ने परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ११:९, १०) भावी “शहर” वा परमेश्‍वरको सरकारमाथिको विश्‍वासले अब्राहामलाई धनसम्पत्तिमा भर नपर्न मदत गऱ्‍यो। हामीले पनि त्यसै गर्नु के बुद्धिमानी हुनेछैन र?

९, १०. (क) विशिष्ट हुने इच्छा कसरी परीक्षा साबित हुन सक्छ? (ख) आज पनि कुनै भाइ अथवा बहिनीले आफैलाई कसरी “सानो” तुल्याउन सक्छन्‌?

अर्को पक्षलाई ध्यान दिनुहोस्‌। बाइबलले यो सशक्‍त निर्देशन दिन्छ: “केही न केहीका मानिसले म केही हुँ भन्‍ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ।” (गलाती ६:३) यसबाहेक, हामीलाई “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा” गर भनेर पनि आग्रह गरिएको छ। (फिलिप्पी २:३) यो सल्लाहलाई पालन नगरेर केहीले आफैमाथि परीक्षा ल्याएका छन्‌। “असल काम” गर्नुको साटो विशिष्ट हुने इच्छा गरेकोले मण्डलीमा विशेषाधिकार प्राप्त नहुँदा तिनीहरू हतोत्साही र असन्तुष्ट हुन्छन्‌।—१ तिमोथी ३:१.

१० अब्राहामले ‘आफूलाई जस्तो सम्झनुपर्छ, त्यसभन्दा बढी नसम्झेर’ राम्रो उदाहरण बसाले। (रोमी १२:३) मल्किसेदेकलाई भेट्‌दा अब्राहामले मै हुँ भन्ठानेन्‌ र परमेश्‍वरको अनुमोदन पाएको भए तापनि आफूलाई तिनीभन्दा ठूलो ठानेन्‌। बरु, अब्राहामले मल्किसेदेकलाई दशांश दिएर पूजाहारीको रूपमा तिनको उच्च ओहदालाई स्वीकारे। (हिब्रू ७:४-७) त्यसै गरी आज मसीहीहरूले पनि आफूलाई “सानो” ठान्छन्‌ र सबैको ध्यान आफूले पाउनुपर्छ भन्‍ने माग गर्दैनन्‌। (लूका ९:४८) मण्डलीमा नेतृत्व लिनेहरूले तपाईंलाई कुनै विशेषाधिकारबाट वञ्चित गरिरहेछन्‌ जस्तो तपाईंलाई लागिरहेको छ भने, इमानदार भई आफैलाई जाँच्नुहोस्‌ र आफ्नो व्यक्‍तित्वमा के-कस्ता सुधार गर्नुपरेको छ वा कामकुरालाई कसरी सम्हाल्नुपर्छ, त्यो निधो गर्नुहोस्‌। आफूले नपाएको विशेषाधिकार सम्झदैं तीतो महसुस गर्नुको साटो आफूसित भएका विशेषाधिकार अर्थात्‌ अरूलाई यहोवा चिन्‍न मदत गर्ने विशेषाधिकारको पूरापूरा सदुपयोग गर्नुहोस्‌। हो, ‘परमेश्‍वरका बलवान बाहुलीमनि आफैलाई नम्र तुल्याउनुहोस्‌, र उहाँले समयमा तपाईंलाई उच्च पार्नुहुनेछ।’—१ पत्रुस ५:६.

नदेखिएका कुरामा विश्‍वास

११, १२. (क) मण्डलीमा कसैकसैले अबिलम्बी हुनुपर्ने भाव किन गुमाएका हुन सक्छन्‌? (ख) परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरूमाथि आफ्नो जीवन केन्द्रित गरेर अब्राहामले कसरी राम्रो उदाहरण बसाले?

११ अर्को परीक्षामा यस वर्तमान रीतिरिवाजको अन्त आउन ढिलो भएजस्तो देखिनुसित सम्बन्धित छ। दोस्रो पत्रुस ३:१२ अनुसार मसीहीहरूले “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर” बस्नुपर्छ। तथापि, थुप्रैले वर्षौंदेखि र कतिपयले त दशकौंदेखि यस “दिनको” प्रतीक्षा गरेका छन्‌। फलतः कोहीकोही निराश हुन सक्छन्‌ र अविलम्बी हुनुपर्ने भाव गुमाउन सक्छन्‌।

१२ फेरि पनि अब्राहामलाई विचार गर्नुहोस्‌। परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू आफ्नो जीवनकालमा पूरा हुने सम्भावना नभए तापनि तिनले आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरका प्रतिज्ञाहरूमा केन्द्रित गरे। हो, तिनले आफ्नो छोरो इसहाक हुर्केको देख्न पाए। तर तिनका सन्तान “आकाशका तारा” वा “समुद्र किनारका बालुवासरह” हुन त शतकौं लाग्ने थियो। (उत्पत्ति २२:१७) तथापि, अब्राहामले नमीठो पनि मानेनन्‌, निराश पनि भएनन्‌। त्यसैकारण प्रेरित पावलले अब्राहाम र अन्य कूलपिताहरूबारे यसो भने: “यी सबै प्रतिज्ञाहरू नपाईकन, तर तिनीहरूलाई टाढ़ैबाट देखेर स्वागत गरी तिनीहरू पृथ्वीमा परदेशी र परदेशी हुन्‌ भन्‍ने स्वीकार गर्दै विश्‍वासैमा तिनी मरे।”—हिब्रू ११:१३.

१३. (क) आज मसीहीहरू कसरी “परदेशी” जस्तै हुन्‌? (ख) किन यहोवाले यस दुष्ट रीतिरिवाजको अन्त गर्नुहुनेछ?

१३ अब्राहामले “टाढै” रहेका प्रतिज्ञाहरूमा त आफ्नो जीवन केन्द्रित गर्न सकेका थिए भने आज ती प्रतिज्ञाहरूको पूर्ति धेरै नजिक भइसकेको समयमा हामीले कत्ति धेरै गर्नुपर्ने हो! अब्राहामले जस्तै हामीले पनि सुखविलासी जीवनशैलीमा चुर्लुम्म डुब्न इन्कार गर्दै शैतानको यस रीतिरिवाजमा आफूलाई “परदेशी” ठान्‍नैपर्छ। “सबै कुराको अन्त” चाँडै होइन तर तुरुन्तै होस्‌ भन्‍ने चाहना हुनु स्वाभाविकै हो। (१ पत्रुस ४:७) सायद हामी गम्भीर स्वास्थ्य समस्याले पिरोलिएका होऔंला। अथवा आर्थिक दबाउले हामी अत्यन्तै थिचिएका होऔंला। तैपनि हामीले बिर्सन नहुने कुरा के हो भने यहोवाले हामीलाई यी दुःखदायी परिस्थितिबाट छुटाउन मात्र होइन तर आफ्नो नाउँ पवित्र पार्न पनि अन्त ल्याउन लाग्नुभएको हो। (इजकिएल ३६:२३; मत्ती ६:९, १०) अन्त पक्कै आउनेछ। हामीलाई सुविधा पर्ने समयमा नै त नआउला तर यहोवाको उद्देश्‍यअनुसारै अवश्‍य आउनेछ।

१४. परमेश्‍वरले धीरज देखाउनुभएको कारण आज मसीहीहरूले कसरी लाभ उठाएका छन्‌?

१४ यो पनि नबिर्सनुहोस्‌, “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिनीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) याद गर्नुहोस्‌, परमेश्‍वरले ‘तपाईंतर्फ धीरज देखाउनुभएको छ’ अर्थात्‌ मण्डलीका सदस्यहरूप्रति धीरज देखाउनुभएको छ। हामीमध्ये कतिपयलाई “प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई” परिवर्तन र काँटछाँट गर्न अवश्‍य अझै समय चाहिन्छ। (२ पत्रुस ३:१४) त्यसोभए, परमेश्‍वरले यसरी धीरज देखाउनुभएकोमा के हामी कृतज्ञ हुनुपर्ने होइन र?

अवरोधका बावजूद कसरी आनन्दित हुने

१५. परीक्षा आउँदासमेत येशूले आफ्नो आनन्दलाई कसरी कायम राख्न सक्नुभयो र उहाँको अनुसरण गरेर आज मसीहीहरू कसरी लाभान्वित हुन सक्छन्‌?

१५ अब्राहामको जीवनीले आज मसीहीहरूलाई थुप्रै पाठ सिकाउँछ। तिनले विश्‍वास मात्र प्रकट गरेनन्‌, धीरज, चतुऱ्‍याइँ, साहस र निःस्वार्थ प्रेम पनि देखाए। तिनले यहोवाको उपासनालाई प्राथमिकता दिए। तथापि, हामीले अनुसरण गर्नुपर्ने सर्वोत्तम नमूना येशू ख्रीष्टले बसाल्नुभयो भनेर बिर्सनुहुँदैन। उहाँले पनि अनगिन्ती परीक्षाको सामना गर्नुपऱ्‍यो तर यी परीक्षाहरू आइपर्दा उहाँले कहिल्यै पनि आफ्नो आनन्द गुमाउनु भएन। किन? किनभने उहाँले आफूसामु राखिएको आशामा आफ्नो ध्यान लगाउनुभयो। (हिब्रू १२:२, ३) त्यसैकारण, पावलले यसरी प्रार्थना गरे: “अब धीरज र शान्तिका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन दिऊन्‌।” (रोमी १५:५) सही मानसिक झुकाउ छ भने शैतानले हामीसामु राखिदिएका अवरोधहरूको बावजूद हामी आनन्दित हुन सक्छौं।

१६. समस्याले आच्छुआच्छु पारेको बेला हामी के गर्न सक्छौं?

१६ समस्याले आच्छुआच्छु पार्दा यहोवाले अब्राहामलाई माया गर्नुभएझैं तपाईंलाई पनि माया गर्नुहुन्छ भनेर नबिर्सनुहोस्‌। उहाँ तपाईं सफल भएको चाहनुहुन्छ। (फिलिप्पी १:६) उहाँले ‘तपाईंलाई तपाईंको शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तपाईंले सहन सकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ’ भनी ढुक्क हुँदै आफ्नो सम्पूर्ण भरोसा यहोवामा राख्नुहोस्‌। (१ कोरिन्थी १०:१३) दिनहुँ परमेश्‍वरको वचन पढ्‌ने बानी बसाल्नुहोस्‌। (भजन १:२) प्रार्थनामा अटुटसित लागिरहनुहोस्‌ र धैर्य धारण गर्न मदत गर्नुहोस्‌ भन्दै यहोवालाई पुकार्नुहोस्‌। (फिलिप्पी ४:६) उहाँले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) यहोवाले तपाईंलाई आध्यात्मिक तवरमा सम्हाल्न गर्नुभएका प्रबन्धहरू जस्तै, बाइबल आधारित प्रकाशनहरूको पूरापूर फाइदा उठाउनुहोस्‌। साथै, भाइहरूको आड खोज्नुहोस्‌। (१ पत्रुस २:१७) विश्‍वासी भई मसीही सभाहरूमा उपस्थित हुनुहोस्‌ किनकि त्यहाँ तपाईंले धैर्य धारण गर्न चाहिने प्रोत्साहन पाउनुहुनेछ। (हिब्रू १०:२४, २५) धैर्य धारण गर्नुभयो भने, परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुनुहुनेछ र वफादार हुनुहुँदा उहाँको हृदय प्रसन्‍न हुनेछ भनेर तपाईंले राख्नुभएको दृढ विश्‍वाससित रमाउनुहोस्‌!—हितोपदेश २७:११; रोमी ५:३-५.

१७. किन मसीहीहरू निराश भएर लत्तो छोड्‌दैनन्‌?

१७ परमेश्‍वरले अब्राहामलाई आफ्नो “मित्र[लाई]” जस्तै माया गर्नुभयो। (याकूब २:२३) तैपनि, अब्राहामको जीवन तनाउग्रस्त परीक्षाहरूले भरिएको थियो। यस “आखिरी दिनमा” यो भन्दा कम परीक्षा आउला भनेर मसीहीहरूले आशा गर्न सक्दैनन्‌। वास्तवमा, बाइबलले हामीलाई “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌” भनी चेताउनी दिन्छ। (२ तिमोथी ३:१, १३) निराश हुनुको साटो हामीले भोगिरहेको दबाउले हामी शैतानको दुष्ट रीतिरिवाजको अन्तमा आइसक्यौं भन्‍ने प्रमाण दिन्छ भनेर सम्झनुहोस्‌। “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ” भनी येशूले हामीलाई सम्झाउनुभयो। (मत्ती २४:१३) त्यसकारण, ‘भलाइ गर्नमा हरेस नखानुहोस्‌!’ अब्राहामको अनुकरण गर्नुहोस्‌ र “विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरू[बीच]” हुनुहोस्‌।—हिब्रू ६:१२.

के तपाईंले याद गर्नुभयो?

• किन यहोवाका जनहरूले आज परीक्षाहरू आइपर्नेछन्‌ भनेर आशा गर्नुपर्छ?

• कुनकुन तरिकामा शैतानले प्रत्यक्ष आक्रमण गर्छ?

• मसीहीहरूबीचको व्यक्‍तिगत मतभेद कसरी समाधान गर्न सकिन्छ?

• घमण्ड र अहम्‌भावले कसरी परीक्षा ल्याउनसक्छ?

• परमेश्‍वरको प्रतिज्ञा पूरा हुने सम्बन्धमा अब्राहामले कसरी राम्रो उदाहरण बसाले?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

थुप्रै मसीही युवाहरूले साथीहरूको गिल्लाको पात्र भएर सतावट सहन्छन्‌

[पृष्ठ २९-मा भएको चित्र]

अब्राहामको समयमा परमेश्‍वरका प्रतिज्ञाहरू ‘टाढा’ थियो, तैपनि तिनले तिनै प्रतिज्ञाहरूमा आफ्नो जीवन केन्द्रित गरे