सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संघीय संवैधानिक अदालतमा भएको जीत

संघीय संवैधानिक अदालतमा भएको जीत

संघीय संवैधानिक अदालतमा भएको जीत

जर्मनीमा यहोवाका साक्षीहरूले कार्लजरु शहरको संघीय संवैधानिक अदालतमा एउटा महत्त्वपूर्ण मुद्दा जिते। यसरी तिनीहरूले कानुनी मान्यता प्राप्त गर्ने सम्बन्धमा एकदमै महत्त्वपूर्ण कदम चाले।

जर्मनीमा गत १०० वर्षदेखि यहोवाका साक्षीहरू सक्रिय छन्‌। तिनीहरूले २० औं शताब्दीका दुई तानाशाहबाट अर्थात्‌ राष्ट्रिय समाजवादी र साम्यवादीको हातबाट क्रूर सतावट भोग्नु परेको थियो। सन्‌ १९९० को दशकदेखि नै यहोवाका साक्षीहरूले सार्वजनिक ऐनअन्तर्गत पर्ने संस्थानको रूपमा कानुनी मान्यता प्राप्त गर्ने प्रयास गरेका थिए। पक्षमा गरिएका दुइटा फैसला र विपक्षमा गरिएको एउटा फैसलापछि, यहोवाका साक्षीहरूले संघीय संवैधानिक अदालतमा अपिल गरे, जसले डिसेम्बर १९, २००० मा आफ्नो निर्णय सुनायो।

यहोवाका साक्षीहरूको पक्षमा सर्वसम्मतिद्वारा गरिएको निर्णय

अदालतका सातै जना न्यायाधीशले यहोवाका साक्षीहरूको पक्षमा आफ्नो फैसला सुनाए। न्यायाधीशहरूले १९९७ मा संघीय प्रशासनिक अदालतले गरेको निर्णय बदर गर्नुका साथै उक्‍त अदालतलाई यहोवाका साक्षीहरूको मुद्दा पुनरावलोकन गर्नू भन्‍ने परमादेश जारी गऱ्‍यो।

संघीय संवैधानिक अदालतले यस अवसरको फाइदा उठाउँदै राष्ट्र र धार्मिक समूहहरूबीचको आधारभूत सम्बन्धबारे टिप्पणी गऱ्‍यो। मुख्यतः कुनै धर्मलाई मान्यता दिने कि नदिने भन्‍ने कुरा “त्यसको विश्‍वासको आधारमा होइन तर त्यसका अनुयायीहरूको आचरणद्वारा निर्धारित हुन्छ।”

यहोवाका साक्षीहरू “मसीही धर्मअनुरूप तटस्थ” रहन्छन्‌। तिनीहरू “प्रजातान्त्रिक सिद्धान्तमाथि आक्रमण गर्दैनन्‌” र “प्रजातान्त्रिक सरकारको ठाउँमा अर्कै सरकार बसाल्ने इच्छा पनि गर्दैनन्‌” भन्‍ने कुरा पनि अदालतले राम्ररी थाह पायो। यसरी राजनैतिक चुनाउमा भाग नलिंदैमा यसलाई यहोवाका साक्षीहरूले खोजेको कानुनी मान्यता नदिने हतियार बनाउन मिल्दैन।—यूहन्‍ना १८:३६; रोमी १३:१.

यसबाहेक, अदालतले के पनि भन्यो भने, साक्षी होऊन्‌ वा अरू धर्मका अनुयायी, व्यक्‍तिविशेषले कहिलेकाहीं आफूलाई अप्ठ्यारो परिस्थितिमाझ पाउँछ अर्थात्‌ राष्ट्र र धर्मले मागेको कुरा आपसमा बाझिन्छ। व्यक्‍तिविशेषको अन्तस्करणले “कानुनलाई भन्दा पनि आफ्नो धार्मिक विश्‍वासलाई प्राथमिकता दिंदा” मुलुकले यसलाई धार्मिक स्वतन्त्रताको परिधिभित्र न्यायोचित मान्‍न सक्छ।—प्रेरित ५:२९.

अदालतले गरेको यो निर्णय शीर्षसमाचार बन्यो। जर्मनीमा यस मुद्दाबारे रिपोर्ट नगर्ने कुनै पनि अखबार रहेनन्‌। सबै प्रमुख टेलिभिजन र रेडियो स्टेशनले यसबारे रिपोर्ट अथवा अन्तरवार्ता प्रसारण गरे। यसअघि जर्मनीमा यहोवाको नाउँ यसरी विस्तृत तवरमा प्रचारप्रसारमा कहिल्यै आएको थिएन।

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

AP Photo/Daniel Maurer