सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसरी ख्रीष्टको शान्तिले हाम्रो हृदयमा नियन्त्रण गर्नसक्छ?

कसरी ख्रीष्टको शान्तिले हाम्रो हृदयमा नियन्त्रण गर्नसक्छ?

कसरी ख्रीष्टको शान्तिले हाम्रो हृदयमा नियन्त्रण गर्नसक्छ?

“ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य [ “नियन्त्रण”, NW] गरोस्‌। त्यसैको निम्ति पनि तिमीहरू एउटै शरीरमा बोलावट भएका छौ।”— कलस्सी ३:१५.

१, २. मसीहीको हृदय कुन तरिकामा “ख्रीष्टको शान्ति[द्वारा]” नियन्त्रित हुनुपर्छ?

 नियन्त्रण भन्‍ने शब्द थुप्रैलाई मन पर्दैन किनभने यो शब्द सुन्‍ने बित्तिकै तिनीहरूको मनमा जबरजस्ती र छलकपट गरेर आफ्नो अधीनमा पार्नेजस्ता विचारहरू आउँछन्‌। अतः “ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य [“नियन्त्रण,” NW] गरोस्‌” भनी पावलले कलस्सीका मण्डलीहरूलाई दिएको सल्लाह कसैकसैलाई अव्यावहारिक लाग्नसक्छ। (कलस्सी ३:१५) के हामी स्वतन्त्र नैतिक प्राणी होइनौं र? अन्य केही कुरा वा कसैलाई किन हाम्रो हृदयमा नियन्त्रण गर्न दिने?

पावलले कलस्सी मण्डलीकाहरूलाई आफ्नो स्वतन्त्र इच्छा नै त्याग्नू भनिरहेका थिएनन्‌। कलस्सी ३: १५ मा “नियन्त्रण” भनी अनुवाद गरिएको युनानी शब्द अम्पायरको निम्ति चलाइने शब्दसित सम्बन्धित छ। अम्पायरले पुरातन समयमा खेलकुद प्रतियोगितामा विजेताहरूलाई पुरस्कार दिन्थे। खेलका नियमहरू पालन गर्ने सन्दर्भमा खेलाडीहरूसित केही हदसम्म स्वतन्त्रता हुन्थ्यो तर अन्ततः कसले नियम पालन गऱ्‍यो र को विजयी भयो भन्‍ने कुराको निर्णय भने अम्पायरले नै गर्थ्यो। त्यसै गरी, जीवनमा थुप्रै निर्णय गर्ने स्वतन्त्रता हामीसँग छ तर त्यसो गर्दा ख्रीष्टको शान्ति सधैं “अम्पायर” वा अनुवादक एड्‌गार जे. गुडस्पिडले भनेझैं हाम्रो हृदयलाई “नियन्त्रण गर्न” दिनुपर्छ।

३. “ख्रीष्टको शान्ति” भनेको के हो?

“ख्रीष्टको शान्ति” भनेको के हो? येशूको चेला भइसकेपछि यहोवा परमेश्‍वर तथा उहाँको पुत्र येशूले हामीलाई माया गर्नुका साथै अनुमोदन दिनुहुन्छ भनी थाह पाउँदा महसुस हुने आनन्द र आन्तरिक शान्ति हो। आफ्ना चेलाहरूलाई छाडेर जाने बेला नजिकै आउँदा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “शान्ति म तिमीहरूका निम्ति छोड़दछु। . . . तिमीहरूको हृदय नता विचलित होस्‌, न भयभीत होस्‌।” (यूहन्‍ना १४:२७) झन्डै २,००० वर्षदेखि ख्रीष्टका विश्‍वासी अभिषिक्‍त मसीहीहरूले त्यो शान्ति अनुभव गरिरहेका छन्‌ र आज तिनीहरूको सँगी “अरू भेड़ा[ले]” त्यो शान्ति अनुभव गर्न पाइरहेका छन्‌। (यूहन्‍ना १०:१६) त्यो शान्तिले हाम्रो हृदयलाई नियन्त्रण गर्न दिनुपर्छ। हामीमाथि कठिन परीक्षा आइपर्दा यसले हामीलाई अत्यन्तै त्रसित नहुन वा अत्यन्तै चिन्तित नहुन मदत गर्नसक्छ। हामीमाथि अन्याय हुँदा, हामीलाई फिक्रीले घेर्दा र बेकारीपनको भावले पक्रँदा यो कसरी साँचो साबित हुन्छ, हामी हेरौं।

अन्यायमा पर्दा

४. (क) येशू अन्यायसित कसरी परिचित हुनुभयो? (ख) अन्यायको सिकार हुँदा मसीहीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

राजा सुलेमानले यस्तो टिप्पणी गरे: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उपदेशक ८:९) यी शब्दहरू कत्ति सत्य छन्‌ भनी येशूलाई थाह थियो। स्वर्गमा छँदा एउटा मानिसले अर्को मानिसलाई साह्रै दुःख दिएको उहाँले देख्नुभएको थियो। येशू एक जना सिद्ध व्यक्‍ति हुनुहुन्थ्यो तर यस पृथ्वीमा छँदा उहाँलाई समेत ईश्‍वरनिन्दाको अभियोग लगाएर अपराधीको रूपमा मारिंदा उहाँले घोर अन्याय भोग्नुभयो। (मत्ती २६:६३-६६; मर्कूस १५:२७) आज पनि अन्याय व्याप्त छ र साँचो मसीहीहरू पनि “सबै जातिमध्ये . . . घृणित” भएको कारण उनीहरूले अचाक्ली दुःख भोगेका छन्‌। (मत्ती २४:९) यद्यपि, नाजी र सोभियत यातना शिविरमा भोग्नुपरेका पीडादायी अनुभवहरू, हूलदंगा, झूटो अभियोग तथा आक्रमणको बावजूद ख्रीष्टको शान्तिले तिनीहरूलाई दृढ रहन मदत गरेको छ। तिनीहरूले येशूको अनुकरण गरेका छन्‌ जसबारे यसो भनिएको छ: “जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।”—१ पत्रुस २:२३.

५. मण्डलीमा अन्याय भएको कुरा सुन्दा हामीले पहिला के कुरा विचार गर्नु जरुरी छ?

धेरै टाढा नगई मसीही मण्डलीभित्रै हेर्दा मात्र पनि हामीलाई, कसैलाई पक्षपात गरिएको जस्तो लाग्नसक्छ। त्यस्तो अवस्थामा हामीले पनि पावलले जस्तै महसुस गर्नसक्छौं, जसले यसो भने: “कसलाई चाहिं बाधा पर्न आउँछ, र म चाहिं रिसले जल्दिनँ?” (२ कोरिन्थी ११:२९) हामी के गर्नसक्छौं? हामीले आफैलाई यस्तो प्रश्‍न गर्नसक्छौं, ‘के साँच्चै अन्याय भएको हो?’ अक्सर हामीलाई सबै तथ्य थाह हुँदैन। सबै कुरा थाह भएको दाबी गर्ने मानिसको कुरा सुनेर हामीले कडा प्रतिक्रिया देखाइरहेका हुनसक्छौं। असल कारण भएकोले बाइबलले यसो भन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ।” (हितोपदेश १४:१५) त्यसैले, हामी सावधान हुनु जरुरी छ।

६. मण्डलीभित्रै अन्याय भएजस्तो लाग्दा हामी कस्तो प्रतिक्रिया देखाउनसक्छौं?

तर तपाईं आफै अन्यायको सिकार भएजस्तो लाग्यो भने नि। हृदयमा ख्रीष्टको शान्ति भएको मानिसले कस्तो प्रतिक्रिया देखाउनेछन्‌? हामीसित अन्याय गर्ने व्यक्‍तिसित कुरा गर्नुपर्ने आवश्‍यकता हामी देखौंला। त्यसपछि, आफ्नो कुरा सुन्‍ने मानिससित समस्या छलफल गर्नुको साटो यस कुरा यहोवासामु प्रार्थनामा राखे कसो होला? (भजन ९:१०; हितोपदेश ३:५) सायद, त्यसो गरिसकेपछि हाम्रो हृदयमै समस्या समाधान गरेर ‘चूपचाप रहँदा’ सन्तुष्ट हुन सक्नेछौं। (भजन ४:४) प्रायजसो परिस्थितिमा पावलको सल्लाह लागू हुन्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”—कलस्सी ३:१३.

७. हाम्रा भाइहरूसँग व्यवहार गर्दा हामीले सधैं के कुरा सम्झिनुपर्छ?

हामीले जुनसुकै काम गर्नुपर्दा पनि के कुरा बिर्सनु हुँदैन भने, हामीले भइसकेको कुरालाई नियन्त्रण गर्न नसके तापनि हामी आफ्नो प्रतिक्रियालाई नियन्त्रणमा राख्नसक्छौं। अन्याय भएजस्तो लाग्दा यदि हामीले असन्तुलित प्रतिक्रिया देखायौं भने, अन्यायले भन्दा त्यसले हाम्रो शान्तिमा हानिकारक प्रभाव पार्नसक्छ। (हितोपदेश १८:१४) हामीलाई ठेस पनि लाग्नसक्छ, जसको कारण न्याय भएको छैन जस्तो लागेसम्म मण्डलीसँग संगत गर्नसमेत छोड्‌नसक्छौं। यहोवाको व्यवस्थालाई प्रेम गर्नेहरूको निम्ति “ठेस खाने कुनै कारणै रहँदैन” भनी भजनरचयिताले लेखे। (भजन ११९:१६५) साँचो कुरा के हो भने, सबैले समयसमयमा अन्याय भएको अनुभव गर्छन्‌। त्यस्तो अप्रिय अनुभवलाई यहोवाको सेवामा कहिल्यै बाधक बन्‍न नदिनुहोस्‌। बरु, ख्रीष्टको शान्तिले तपाईंको हृदयमा नियन्त्रण गरोस्‌।

फिक्रीले घेरिंदा

८. फिक्री हुने केही कारणहरू के हुन्‌ र फिक्रीले गर्दा के हुनसक्छ?

यस “आखिरी दिनमा” फिक्री जीवनको एउटा अभिन्‍न भाग नै भएको छ। (२ तिमोथी ३:१) हो, येशूले यसो भन्‍नुभयो: “आफ्नो प्राणको लागि के खाऔंला र आफ्नो शरीरको लागि के लाऔंला भनी फिक्री नगर।” (लूका १२:२२) तर सबै फिक्री भौतिक कुराहरूको चिन्ताले गर्दा मात्र उत्पन्‍न भएका हुँदैनन्‌। सदोमको नैतिक भ्रष्टता देखेर लूत “अति दुःखित” भएका थिए। (२ पत्रुस २:७) “सबै मण्डलीहरूका निम्तिको फिक्री[ले]” पावल घेरिएका थिए। (२ कोरिन्थी ११:२८) आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येशूले यस्तो वेदना महसुस गर्नुभयो कि “उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।” (लूका २२:४४) स्पष्टतः सबै फिक्री कमजोर विश्‍वासको प्रमाण होइन। तथापि, जेसुकै कारणले गर्दा फिक्री लागेको होस्‌, यदि लामो समयसम्म साह्रै फिक्री भयो भने यसले हाम्रो शान्ति हरण गर्नसक्छ। साह्रै फिक्री गरेको कारण कोहीकोहीले यहोवाको सेवासित सम्बन्धित जिम्मेवारीहरू नै सम्हाल्न असमर्थ महसुस गरेका छन्‌। बाइबल यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।” (हितोपदेश १२:२५) फिक्रीले पिरोल्यो भने हामी के गर्नसक्छौं त?

९. हामीले फिक्री हटाउन चाल्नसक्ने केही व्यावहारिक कदमहरू के हुन्‌ तर कस्ता फिक्रीहरू हटाउन सकिंदैन?

कुनैकुनै परिस्थितिमा हामी व्यावहारिक कदम चाल्नसक्छौं। यदि हाम्रो फिक्रीको मुख्य कारण स्वास्थ्यसम्बन्धी समस्या हो भने, त्यो मामिला व्यक्‍तिगत निर्णयको कुरा भए तापनि यसलाई ध्यान दिनु बुद्धिमानी हुनेछ। a (मत्ती ९:१२) यदि हामी थुप्रै जिम्मेवारीले लादिएका छौं भने कुनैकुनै जिम्मेवारी अरूसँग बाँड्‌न सकिन्छ। (प्रस्थान १८:१३-२३) तर अरूलाई सुम्पन नसक्ने गम्भीर जिम्मेवारी हुनेहरू जस्तै, आमाबाबुले के गर्नसक्छन्‌? कुनै मसीहीको विरोध गर्ने पति वा पत्नी छ भने नि? कुनै परिवारलाई गम्भीर आर्थिक कठिनाइ पऱ्‍यो वा युद्धग्रस्त इलाकामा बस्नुपऱ्‍यो भने नि? स्पष्टतः यस दुष्ट रीतिरिवाजमा हामी सबै फिक्री हटाउन सक्दैनौं। तथापि, हामी आफ्नो हृदयमा ख्रीष्टको शान्तिलाई साँचिराख्न सक्छौं। कसरी?

१०. कुन दुई तरिकामा मसीहीहरूले फिक्री कम गर्ने प्रयास गर्नसक्छन्‌?

१० मनमा शान्ति साँचिराख्ने एउटा तरिका, परमेश्‍वरको वचनमा सान्त्वना खोज्नु हो। राजा दाऊदले यस्तो लेखे: “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भजन ९४:१९) यहोवाका “सान्त्वनाहरू” बाइबलमा पाउन सकिन्छ। नियमित तवरमा प्रेरित पुस्तकमाथि विचार गर्दा त्यसले हाम्रो हृदयमा ख्रीष्टको शान्ति कायम राख्न मदत गर्नेछ। बाइबल यसो भन्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) त्यसै गरी, पावलले यस्तो लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) व्यग्र तथा नियमित तवरमा गरेको प्रार्थनाले हामीलाई शान्ति कायम राख्न मदत गर्नेछ।

११. (क) प्रार्थनाको सन्दर्भमा येशू कसरी असल उदाहरण हुनुहुन्थ्यो? (ख) हामीले प्रार्थनालाई कुन दृष्टिले हेर्नुपर्छ?

११ यस सन्दर्भमा येशू उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो। कहिलेकाहीं उहाँ स्वर्गमा हुनुहुने आफ्नो पितासँग घण्टौं प्रार्थना गरेर कुरा गर्नुहुन्थ्यो। (मत्ती १४:२३; लूका ६:१२) उहाँले एकदमै कठिन परीक्षासमेत प्रार्थनाले गर्दा सहन सक्नुभयो। उहाँको मृत्यु हुनुभन्दा अघिल्लो रात उहाँ असाध्यै निराश हुनुहुन्थ्यो। उहाँले के गर्नुभयो? “उहाँले झन्‌ परिश्रमसँग प्रार्थना गर्नुभयो।” (लूका २२:४४) हो, परमेश्‍वरको सिद्ध पुत्रले नियमित तवरमा प्रार्थना गर्नुहुन्थ्यो। अतः उहाँका असिद्ध अनुयायीहरूले झनै प्रार्थना गर्ने बानी बसाल्नु कत्ति आवश्‍यक छ! “बराबर प्रार्थना गरिरहून्‌ र निरुत्साह नहोऊन्‌” भनी येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। (लूका १८:१) हामी आफूले आफूलाई जति राम्ररी चिन्छौं त्योभन्दा अझ राम्ररी चिन्‍नुहुनेसित प्रार्थना गरेर सम्पर्क कायम राख्नु अत्यावश्‍यक छ। (भजन १०३:१४) हाम्रो हृदयमा ख्रीष्टको शान्ति कायम राख्ने हो भने, ‘निरन्तर प्रार्थना गरिरहनेछौं।’—१ थिस्सलोनिकी ५:१७.

हाम्रा सीमितताहरूमाथि विजय हासिल गर्ने

१२. कस्ता कारणहरूले गर्दा कसैकसैले आफू चढाइरहेको सेवा अपर्याप्त भएको महसुस गर्छन्‌?

१२ यहोवाको नजरमा उहाँका सबै सेवक बहुमूल्य छन्‌। (हाग्गै २:७) यद्यपि, थुप्रैलाई यो कुरा स्वीकार्न गाह्रो लाग्छ। बुढ्यौली, बढ्‌दो पारिवारिक जिम्मेवारी वा बिग्रँदो स्वास्थ्यको कारण कोहीकोही निरुत्साहित हुनसक्छन्‌। कसैकसैले चाहिं बाल्यकालका तीता अनुभवहरूले गर्दा अयोग्य महसुस गर्लान्‌। अरू कतिपयले चाहिं विगतमा गरेको गल्तीबाट पीडित भई यहोवाले क्षमा दिनुहुन्छ भन्‍ने कुरामा शंका गर्नसक्छन्‌। (भजन ५१:३) यस्ता भावनाहरू उत्पन्‍न हुँदा के गर्न सकिन्छ?

१३. अयोग्य महसुस गर्नेहरूको निम्ति धर्मशास्त्रमा कस्तो सान्त्वना पाइन्छ?

१३ ख्रीष्टको शान्तिले हामीलाई यहोवाको प्रेमको आश्‍वासन दिन्छ। हामीले अरूको दाँजोमा कति गरेका छौं, त्यसैको आधारमा हाम्रो महत्त्व तौलिनेछ भनेर येशूले कहिल्यै भन्‍नुभएन भन्‍ने कुरालाई विचार गरेर हामी आफ्नो हृदय-मा शान्ति पुनर्स्थापित गर्नसक्छौं। (मत्ती २५:१४, १५; मर्कूस १२:४१-४४) बरु, उहाँले वफादारीमाथि जोड दिनुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) स्वयम्‌ येशू मानिसहरूबाट “घृणित” हुनुभए तापनि उहाँले कहिल्यै आफ्नो पिताको प्रेममाथि शंका गर्नु भएन। (यशैया ५३:३; यूहन्‍ना १०:१७) अनि उहाँले आफ्ना चेलाहरूलाई, तिमीहरूलाई पनि यहोवाले प्रेम गर्नुहुन्छ भनी बताउनुभयो। (यूहन्‍ना १४:२१) यस कुरामाथि जोड दिन येशूले यसो भन्‍नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) यहोवाको प्रेमको कस्तो न्यानो आश्‍वासन!

१४. यहोवाले हामी प्रत्येकलाई बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने कस्तो आश्‍वासन हामीसित छ?

१४ येशूले यसो पनि भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) येशूको अनुकरण गर्न यहोवाले हामीलाई खिचिसक्नुभएको कारण, उहाँ पक्कै पनि हामीले उद्धार पाएको चाहनुहुन्छ। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “यी सानाहरूमध्ये एउटा पनि नष्ट नहोस्‌ भन्‍ने तिमीहरूका स्वर्गमा हुने पिताको इच्छा छ।” (मत्ती १८:१४) त्यसकारण, यदि पूरा तनमनले सेवा गरिरहनुभएको छ भने आफूले जे-जति असल काम गरिरहनुभएको छ, त्यसैमा तपाईं रमाउन सक्नुहुन्छ। (गलाती ६:४) बितेको समयमा गरेको भूलको कारण पीडित हुनुहुन्छ भने, यहोवाले साँच्चै पश्‍चात्ताप गर्नेहरूलाई “प्रशस्त गरी” क्षमा गर्नुहुनेछ भनी विश्‍वस्त हुनुहोस्‌। (यशैया ४३:२५; ५५:७) अन्य कुनै कारणले गर्दा यदि तपाईं निरुत्साहित हुनुभएको छ भने, “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ” भन्‍ने कुरा नबिर्सनुहोस्‌।—भजन ३४:१८.

१५. (क) कसरी शैतानले हाम्रो शान्ति हरण गर्ने प्रयास गर्छ? (ख) यहोवामाथि हामी कस्तो भरोसा राख्नसक्छौं?

१५ तपाईंको शान्ति हरण गर्न पाउँदा शैतान दंग पर्छ। हामी सबैले संघर्ष गर्नु परिरहेको जन्मजात पापको जिम्मेवार व्यक्‍ति त्यही नै हो। (रोमी ७:२१-२४) आफ्नो असिद्धताले गर्दा तपाईंले यहोवालाई चढाइरहनुभएको सेवा अस्वीकार्य भएको छ भन्‍ने सोचाइ तपाईंले राखेको त्यो चाहन्छ। तपाईंलाई निरुत्साहित पार्न दियाबललाई कहिल्यै मौका नदिनुहोस्‌! त्यसका धूर्त चालहरूसित सतर्क हुनुहोस्‌ र त्यही सतर्कताले तपाईंलाई धैर्य धारण गर्न कटिबद्ध बनाऊन्‌। (२ कोरिन्थी २:११; एफिसी ६:११-१३) “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ” भनी नबिर्सनुहोस्‌। (१ यूहन्‍ना ३:२०) यहोवा हाम्रा कमीकमजोरीहरू मात्र हेर्नुहुन्‍न। उहाँ हाम्रो मनसाय र विचारहरू पनि बुझ्नुहुन्छ। त्यसकारण, भजनरचयिताका निम्न शब्दहरूबाट सान्त्वना प्राप्त गर्नुहोस्‌: “परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन्‌, नता उहाँले आफ्ना निज भागलाई त्याग्नुहुनेछ।”—भजन ९४:१४.

ख्रीष्टको शान्तिमा एकताबद्ध

१६. कुन तरिकामा हामी एक्लैले धैर्य धारण गर्ने प्रयास गरिरहेका छैनौं?

१६ हामी “एउटै शरीरमा बोलावट भएका” कारण हामीले ख्रीष्टको शान्तिलाई हाम्रो हृदयमा राज्य गर्न दिनुपर्छ भनी पावलले लेखे। पावलले उक्‍त कुरा लेखेका अभिषिक्‍त मसीहीहरूलाई ख्रीष्टको शरीरको भाग हुन बोलाइएको थियो। आज बाँकी रहेका अभिषिक्‍त जनहरू पनि ख्रीष्टको शरीरको भाग हुन बोलाइएका हुन्‌। तिनीहरूको “अरू भेड़ा[का]” सँगीहरू “एकै गोठाला” येशू ख्रीष्टको अधीनमा रहेर “एकै बगाल[मा]” एकताबद्ध छन्‌। (यूहन्‍ना १०:१६) विश्‍वव्यापी तवरमा लाखौंको संख्यामा पुगेको “बगाल[ले]” एकताबद्ध भई ख्रीष्टको शान्तिलाई आफ्नो हृदयमा नियन्त्रण गर्न दिएका छन्‌। हामी एक्लो छैनौं भनी थाह पाउँदा त्यसले हामीलाई धैर्य धारण गर्न मदत गर्छ। पत्रुसले यस्तो लेखे: “तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌ भन्‍ने जानेर त्यसको [शैतान] विरोध गर।”—१ पत्रुस ५:९.

१७. ख्रीष्टको शान्तिलाई हाम्रो हृदयमा नियन्त्रण गर्न दिने हामीसित कस्तो उत्प्रेरणा छ?

१७ अतः आउनुहोस्‌, हामी सबै परमेश्‍वरको पवित्र आत्माको महत्त्वपूर्ण फल शान्ति खेती गरिरहौं। (गलाती ५:२२, २३) जसलाई यहोवाले निष्खोट, चोखो र शान्तिमा भेट्टाउनुहुन्छ उनीहरूले अन्ततः प्रमोदवनमा अनन्त जीवनको आशिष्‌ पाउनेछन्‌, जहाँ धार्मिकताले बास गर्नेछ। (२ पत्रुस ३:१३, १४) ख्रीष्टको शान्तिलाई हाम्रो हृदयमा नियन्त्रण गर्न दिने हामीसित हर कारण छ।

[फुटनोट]

a कहिलेकाहीं गम्भीर मानसिक उदासीनता जस्ता शारीरिक अवस्थाले गर्दा फिक्री झनै तीव्र हुनसक्छ।

के तपाईंले सम्झनुभएको छ?

• ख्रीष्टको शान्ति भनेको के हो?

• अन्यायमा पर्दा कसरी ख्रीष्टको शान्तिले हाम्रो हृदयमा नियन्त्रण गर्नसक्छ?

• ख्रीष्टको शान्तिले कसरी हामीलाई फ्रिकीको सामना गर्न मदत गर्छ?

• अयोग्य महसुस हुँदा ख्रीष्टको शान्तिले हामीलाई कसरी सान्त्वना दिनसक्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

उहाँलाई अभियोग लगाउनेहरूसामु येशूले आफूलाई यहोवामा समर्पित गर्नुभयो

[पृष्ठ १६-मा भएको चित्र]

मायालु पिताको न्यानो अँगालोले जस्तै यहोवाको सान्त्वनाले हाम्रो फिक्रीलाई कम गर्नसक्छ

[पृष्ठ १८-मा भएको चित्र

धैर्य धारण गर्नु, यहोवाको नजरमा अत्यन्तै मूल्यवान्‌ छ