सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के दियाबल छ?

के दियाबल छ?

के दियाबल छ?

“आज जसरी थोरै मानिसहरूको निम्ति परमेश्‍वर वास्तविक हुनुहुन्छ त्यसरी नै मसीही चर्चको इतिहासमा एक समय दियाबल, बालजिबुल वा शैतान अर्थात्‌ दुष्टको राजा पनि वास्तविक र शक्‍तिशाली थियो। यहूदी तथा प्रारम्भिक मसीहीहरूले आफू वरपर देखिएको दुष्टता चित्रण गर्न अर्धमानव र अर्धपशु रचना गरे। पछि मसीहीहरूले यो यथार्थमा आधारित नभएको काल्पनिक चित्रण मात्र हो भनी थाह पाएपछि त्यसलाई बिस्तारै विश्‍वास गर्न छाडे।”–“अल इन द माइन्ड–अ फेरवेल टु गड,” लुडभिक केनेडीद्वारा लिखित।

शताब्दीयौंसम्म मसीहीजगत्‌को कुनै पनि सदस्यले दियाबलको अस्तित्वमाथि शंका गरेन भनी लेखक तथा प्रसारक लुडभिक केनेडी बताउँछन्‌। बरु, प्राध्यापक नर्मन कोनले भनेझैं कहिलेकाहीं मसीहीहरू “शैतान तथा त्यसका प्रेतहरूको शक्‍तिमा मन्त्रमुग्ध हुन्थे।” (युरोपस इनर डिमन्स) साधारण तथा अशिक्षित कृषकहरू मात्र यस्ता कुरामा मन्त्रमुग्ध भएका थिएनन्‌। दुष्ट तथा घिनलाग्दा रीतिहरूमा आफ्नो नियन्त्रण जमाउन दियाबलले पशुको रूप लियो भन्‍ने विश्‍वास, उदाहरणका लागि, “अशिक्षित मानिसहरूको विश्‍वास होइन तर त्यसको विपरीत बौद्धिक वर्गको विचारधारा थियो” भनी प्राध्यापक कोनले बताए। पन्ध्रौं शताब्दीदेखि १७ औं शताब्दीबीचमा युरोपभरि चर्च तथा सरकारी अधिकारीहरूले बोक्सीविद्या सिकेको अभियोगमा झन्डै ५०,००० मानिसलाई खोजी खोजी सास्ती दिएर मार्ने कामका लागि यो “बौद्धिक वर्ग” पनि जिम्मेवार छ, जसमा शिक्षित पादरीहरू पर्छन्‌।

त्यसैकारण, थुप्रैले दियाबलबारे अन्धविश्‍वासी विचारधारा इन्कार गर्नु कुनै छक्कलाग्दो कुरा होइन। सन्‌ १७२६ मा समेत डानिएल डेफोले शैतान “चमेरोको जस्तो पखेटा, सीङ, चिरिएको खुट्टा, लामो पुच्छर, काँटा जस्तो जिब्रो इत्यादि” भएको डरलाग्दो दानव हो भन्‍ने मानिसहरूको विश्‍वासको भर्त्सना गरे। तिनको भनाइअनुसार ती “दानवको गुनगान गर्ने वा दानवको रचना गरेर” मानिसहरूले “आफ्नो कपोलकल्पित निराधार धारणाहरू अघि बढाएर सोझा मानिसहरूलाई ठगिरहेका थिए।”

के तपाईंको सोचाइ पनि यस्तै छ? के तपाईंको सोचाइमा “दियाबल भनेको मानिसले आफ्नो पापी झुकाउका लागि दोष थोपर्न सृजना गरेको परिकल्पना” मात्र हो? उक्‍त अभिव्यक्‍ति द जन्डरभान पिक्टोरियल इन्साइक्लोपीडिया अफ द बाइबल-मा प्रकाशित भएको छ र मसीही भनौंदा थुप्रै मानिस त्यस्तै सोचाइ राख्छन्‌। जेफ्री बर्टन रसलले बताएअनुसार मसीहीजगत्‌का धर्मविद्‌हरूले सामान्यतया “दियाबल र त्यसका प्रेतहरू केवल अन्धविश्‍वासमा आधारित तत्त्वहरू हुन्‌” भन्छन्‌।

यद्यपि, कसैकसैले भने दियाबल वास्तविक प्राणी हो भन्ठान्छन्‌। मानव इतिहासमा सधैं प्रभाव जमाएको अलौकिक, खतरनाक शक्‍ति हुनुपर्छ भन्‍ने तर्क तिनीहरू गर्छन्‌। “बीसौं शताब्दीमा देखा परेको डरत्रास दियाबलमाथि पुनः विश्‍वास गर्न थालिनुको” एउटा कारण हो भनी रसल भन्छन्‌। लेखक डन लुविसका अनुसार थुप्रै आधुनिक तथा शिक्षित मानिसहरू, जो आफ्ना “अनपढ पुर्खाहरूको अन्धविश्‍वास तथा डर सम्झेर “खिसी गर्दै हाँस्थे” तिनीहरू नै “आज असामान्य दुष्ट तत्त्वबाट” आश्‍चर्यचकित हुन थालेका छन्‌।— रिलिजियस सुपरस्टिशन थ्रु दी एजेस।

त्यसोभए, यसबारे साँचो कुरा के हो त? के दियाबल बेकारको अन्धविश्‍वास मात्र हो? वा यो २१ औं शताब्दीमा पनि यसलाई गम्भीरतासाथ लिनुपर्ने हो?

[पृष्ठ ४-मा भएको चित्र]

गुस्ताभ डोरेको यस कुँदिएको चित्रमा देखाइएझैं पुरातन अन्धविश्‍वासहरूले दियाबललाई अर्धमानव, अर्धपशुको रूपमा चित्रण गर्थे

[स्रोत]

The Judecca—Lucifer/The Doré Illustrations For Dante’s Divine Comedy/Dover Publications Inc.