सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दियाबल—अन्धविश्‍वास मात्रै होइन

दियाबल—अन्धविश्‍वास मात्रै होइन

दियाबल—अन्धविश्‍वास मात्रै होइन

“नयाँ नियमभरि परमेश्‍वर तथा भलाइको शक्‍ति र दुष्टको नेतृत्व लिने शैतानबीच महाद्वन्द्व भएको पाइन्छ। यो एक दुई जना बाइबल लेखकको मात्र विचार होइन तर साझा विचारधारा हो . . . अतः नयाँ नियममा भन्‍न खोजिएको कुरा स्पष्ट छ। शैतान एउटा खतरनाक वास्तविकता हो, जसले सधैं परमेश्‍वर र परमेश्‍वरका जनहरूको विरोध गर्छ।”–“द न्यु बाइबल डिक्सनरी।”

त्यसोभए, बाइबलमा विश्‍वास गर्छौं भनी दाबी गर्ने थुप्रै मसीही भनौंदाहरूले दियाबल साँच्चै छ भनी स्वीकार्न किन इन्कार गर्छन्‌ त? किनभने, यथार्थमा तिनीहरूले बाइबललाई परमेश्‍वरको वचनको रूपमा स्वीकार्दैनन्‌। (यर्मिया ८:९) बाइबल लेखकहरूले आफू वरपरका राष्ट्रका दर्शनहरूबाट प्रभावित भई परमेश्‍वरबाटको सत्य कुरा ठीकसँग बताएनन्‌ भनी तिनीहरू भन्छन्‌। उदाहरणका लागि, क्याथोलिक दर्शनशास्त्री हान्स कुङ यस्तो लेख्छन्‌: “प्रेतहरूको फौजसहितको शैतानबारे पौराणिक विचारधारा . . . बेबिलोनी मिथ्याबाट प्रारम्भिक यहूदी धर्ममा घुस्यो अनि त्यहाँबाट नयाँ नियममा।”— अन बिइङ अ क्रिस्चेन।

तर बाइबल मानिसको वचन मात्र होइन। यो साँच्चै परमेश्‍वरको प्रेरित वचन हो। अतः बाइबलले दियाबलबारे के भन्छ, त्यसलाई गम्भीरतासाथ लिनु बुद्धिमानी हुनेछ।—२ तिमोथी ३:१४-१७; २ पत्रुस १:२०, २१.

येशूले के सोच्नुभयो?

येशू ख्रीष्टले दियाबल साँच्चै छ भनी विश्‍वास गर्नुभयो। येशूलाई आफूभित्र भएको कुनै दुष्टताले प्रलोभित गरेको थिएन। उहाँलाई वास्तविक व्यक्‍तिले आक्रमण गरेको थियो, जसलाई उहाँले पछि “संसारको शासक” भन्‍नुभयो। (यूहन्‍ना १४:३०; मत्ती ४:१-११) त्यसका दुष्ट युक्‍तिहरूमा अन्य आत्मिक प्राणीहरूले साथ दिन्छन्‌ भनेर पनि उहाँले विश्‍वास गर्नुहुन्थ्यो। उहाँले “भूत लागेका” मानिसहरूलाई निको पार्नुभयो। (मत्ती १२:२२-२८) नास्तिकवादी प्रकाशन अ ऱ्‍यासनलिस्ट इनसाइक्लोपीडिया-ले समेत यस कुराको महत्त्वबारे यसो भन्यो: “सुसमाचारको पुस्तकको येशूले समेत दुष्ट आत्मिक प्राणीहरूमा विश्‍वास गर्नु धर्मविद्‌हरूको निम्ति सधैं तगारो भएको छ।” येशूले दियाबल र त्यसका प्रेतहरूबारे कुरा गर्नुहुँदा उहाँले बेबिलोनी मिथ्याबाट आएका अन्धविश्‍वासहरू मात्र दोहऱ्‍याइ रहनुभएको थिएन। तिनीहरू साँच्चै छन्‌ भनी उहाँलाई थाह थियो।

येशूले आफ्नो समयका धर्मगुरुहरूलाई भन्‍नुभएको कुरा विचार गर्दा हामीले दियाबलबारे धेरै कुरा सिक्नसक्छौं: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।”—यूहन्‍ना ८:४४.

यसअनुसार, दियाबल जसलाई युनानीमा “विरोधी” भनी परिभाषित गरिएको छ, त्यो “झूट र झूटको पिता हो।” त्यो नै परमेश्‍वरबारे झूट बोल्ने प्रथम प्राणी थियो र त्यो झूट त्यसले अदनको बगैंचामा बोल्यो। यहोवाले हाम्रा प्रथम आमाबाबुलाई असल र खराबको ज्ञान दिने रूखको फल खाएमा ‘तिमीहरू मर्नेछौ’ भनी भन्‍नुभएको थियो। तर शैतानले साँपलाई चलाएर त्यो कुरा गलत हो भन्यो। (उत्पत्ति २:१७; ३:४) त्यसैकारण, त्यसलाई “वृद्ध साँप, दियाबल र शैतान भनिने” भन्‍नु उपयुक्‍त छ।—प्रकाश १२:९.

दियाबलले असल र खराबको ज्ञान दिने रूखबारे झूट बोल्यो। त्यस रूखको फल खान निषेध गर्नु ठीक होइन, शक्‍तिको दुरुपयोग हो भनी त्यसले तर्क गऱ्‍यो। त्यसले आदम र हव्वा, “परमेश्‍वरजस्तै” असल र खराब छुट्‌याउन सक्ने हुनेछन्‌ भने। स्वतन्त्र नैतिक प्राणीको हैसियतमा तिनीहरू आफैले पूर्णतया छुट्याउन सक्नुपर्छ भनी शैतानले भने। (उत्पत्ति ३:१-५) परमेश्‍वरको राज्यधिकारमाथि आक्रमण गर्दा गम्भीर विवाद खडा भयो। त्यसैकारण, यहोवाले यी विवादहरू सुल्झाउन समय दिनुभएको छ। यसको अर्थ, शैतानलाई केही समयसम्म बाँच्न दिइयो। अब त्यसको समय सिद्धिनै लागेको छ। (प्रकाश १२:१२) तैपनि, त्यसले झूट र छलद्वारा मानिसहरूलाई परमेश्‍वरबाट टाढा लैजान खोज्छ र यसका लागि त्यसले येशूको समयका शास्त्री र फरिसीजस्ता मानिसहरू चलाउँछ।—मत्ती २३:१३, १५.

येशूले दियाबल “शुरूदेखिनै हत्यारा” थियो र “सत्यमा ठहरेन” भनी भन्‍नुभयो। यसको अर्थ यहोवाले दियाबललाई “हत्यारा[को]” रूपमा सृष्टि गर्नुभएको थियो भन्‍न खोजिएको होइन। परमेश्‍वरका विरोधीहरूलाई सास्ती दिने अग्निकुण्डको जिम्मा पाएको राक्षसको रूपमा त्यसको सृष्टि भएको थियो भनी बाइबलले सिकाउँदैन। यसबाहेक बाइबलमा त्यस्तो ठाउँबारे कतै पनि उल्लेख गरिएको छैन। बाइबलले मृत मानिसहरू शैतानको बासस्थान वा अग्निमय ठाउँमा नभई मानिसजातिको सामान्य चिहानमा छ भनी बताउँछ।—प्रेरित २:२५-२७; प्रकाश २०:१३, १४.

दियाबल सुरुमा त “सत्यमा” थियो। एक समय त्यो परमेश्‍वरको सिद्ध आत्मिक पुत्रको रूपमा यहोवाको स्वर्गीय परिवारको भाग थियो। तर त्यो “सत्यमा ठहरेन।” त्यसले आफ्नै तौरतरिका र आफ्नै झूटा सिद्धान्तहरू रुचायो। त्यसको “शुरू” परमेश्‍वरको स्वर्गदूतीय पुत्रको रूपमा सृष्टि गर्दा भएको थिएन तर त्यसले जानाजानी परमेश्‍वरको विद्रोह गरेर आदम र हव्वासँग झूट बोल्दा भएको थियो। दियाबल मोशाको समयका परमेश्‍वरको विरोध गर्ने मानिसहरूजस्तै हो। तिनीहरूबारे यस्तो लेखिएको हामी पढ्‌नसक्छौं: “तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌।” (व्यवस्था ३२:५) शैतानबारे पनि त्यसै भन्‍न सकिन्छ। जबदेखि त्यसले विद्रोह गऱ्‍यो र आदम अनि हव्वा र अन्ततः सबै मानव परिवारको मृत्युको निम्ति जिम्मेवार भयो तब त्यो “हत्यारा” भयो।—रोमी ५:१२.

अनाज्ञाकारी स्वर्गदूतहरू

अन्य स्वर्गदूतहरूले पनि त्यसको विद्रोहमा साथ दियो। (लूका ११:१४, १५) ती स्वर्गदूतहरूले नूहको दिनमा ‘आफ्ना घर-बार छोडेर’ मानव रूप धारण गरे अनि “मानिसका छोरीहरू[सँग]” यौन सम्बन्ध राखे। (यहूदा ६; उत्पत्ति ६:१-४; १ पत्रुस ३:१९, २०) “स्वर्गको तेस्रो भागका ताराहरू” अर्थात्‌ थोरै आत्मिक प्राणीहरूले यो मार्ग अपनाएका छन्‌।—प्रकाश १२:४.

अत्यन्तै प्रतीकात्मक ढंगमा लेखिएको पुस्तक प्रकाशमा दियाबललाई “एउटा ठूलो रातो अजीङ्‌गर[को]” रूपमा चित्रण गरिएको छ। (प्रकाश १२:३) किन? त्यसको साँच्चै घिनलाग्दो, डरलाग्दो शरीर भएकोले होइन। वास्तवमा भन्‍ने हो भने, आत्मिक प्राणीहरूको शरीर कस्तो हुन्छ हामीलाई थाह छैन तर सम्भवतः शैतानको रूप अन्य स्वर्गदूतीय आत्मिक प्राणीहरूको भन्दा भिन्‍न नहुनुपर्ने हो। तथापि, शैतानको लुटाहा, डरलाग्दो, शक्‍तिशाली र विनाशकारी मिजासको निम्ति “ठूलो रातो अजीङ्‌गरजस्तो पशु” भन्‍ने वर्णन उपयुक्‍त छ।

अहिले शैतान तथा त्यसका प्रेतहरू अत्यन्तै बन्देजमा परेका छन्‌। तिनीहरूले सम्भवतः पहिले जस्तो मानिसको रूप धारण गर्न सक्दैनन्‌। सन्‌ १९१४ मा ख्रीष्टको नेतृत्वमा परमेश्‍वरको राज्य स्थापना भएको लगत्तै तिनीहरू तल पृथ्वीमा फ्याँकिए।—प्रकाश १२:७-९.

सजिलै परास्त गर्न नसकिने शत्रु, दियाबल

तैपनि, दियाबललाई सजिलै परास्त गर्न सकिंदैन। त्यो “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।” (१ पत्रुस ५:८) त्यो असिद्ध मानिसहरूमा हुने खराबी मात्र होइन। हो, हामीले आफ्ना पापी झुकाउहरू विरुद्ध दिनहुँ संघर्ष गर्नुपर्छ। (रोमी ७:१८-२०) तर हाम्रो वास्तविक संघर्ष त “प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।”—एफिसी ६:१२.

दियाबलको प्रभाव कत्तिको व्यापक छ? “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनी प्रेरित यूहन्‍ना बताउँछन्‌। (१ यूहन्‍ना ५:१९) निस्सन्देह, दियाबल वा त्यसप्रतिको अन्धविश्‍वासी डरले हामी त्राहीत्राही हुनु आवश्‍यक छैन। तर सत्यप्रति हामीलाई अन्धा बनाउने र परमेश्‍वरप्रतिको हाम्रो निष्ठालाई तोड्‌ने त्यसको प्रसायबारे चाहिं हामी सजग हुनुपर्छ।—अय्यूब २:३-५; २ कोरिन्थी ४:३, ४.

परमेश्‍वरको इच्छा गर्न चाहनेहरू विरुद्ध दियाबलले सधैं क्रूर तरिकाहरू चलाउँदैन। कहिलेकाहीं त्यसले आफूलाई “ज्योतिको स्वर्गदूतको” रूपमा प्रस्तुत गर्छ। यसबारे मसीहीहरूलाई चेताउनी दिंदै प्रेरित पावलले यस्तो लेखे: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान्‌ कि भन्‍ने मलाई डर लागेको छ।”—२ कोरिन्थी ११:३, १४.

त्यसकारण हामी ‘सचेत र जागा भई आफ्नो विश्‍वासमा दह्रो भएर त्यसको विरोध गर्नुपर्छ।’ (१ पत्रुस ५:८, ९; २ कोरिन्थी २:११) बोक्सीविद्यासँग सम्बन्धित केही कुरामा पनि भाग नलिनुहोस्‌ र यसो गर्दा त्यसले हामीलाई सजिलै झुक्याउन सक्दैन। (व्यवस्था १८:१०-१२) दियाबलले येशू ख्रीष्टलाई प्रलोभित गर्दा उहाँले बारम्बार परमेश्‍वरको वचन उल्लेख गर्नुभएको कुरा सम्झँदै परमेश्‍वरको वचनको असल विद्यार्थी बन्‍नुहोस्‌। (मत्ती ४:४, ७, १०) परमेश्‍वरको आत्माको निम्ति प्रार्थना गर्नुहोस्‌। यसका फलहरूको मदतद्वारा तपाईं शरीरका कामहरू त्याग्न सक्नुहुन्छ, जुन शैतानले एकदमै प्रभावकारी ढंगमा प्रवर्धन गर्छ। (गलाती ५:१६-२४) साथै, दियाबल तथा त्यसका प्रेतहरूबाट कुनै तरिकामा दबाउ महसुस गर्नुभयो भने, निष्कपटतासाथ यहोवालाई प्रार्थना गर्नुहोस्‌।—फिलिप्पी ४:६, ७.

दियाबलसँग त्रसित हुनुपर्ने कुनै कारण छैन। शैतानले गर्नसक्ने कुनै पनि कुरा विरुद्ध यहोवाले सुरक्षा दिने प्रतिज्ञा गर्नुभएको छ। (भजन ९१:१-४; हितोपदेश १८:१०; याकूब ४:७, ८) “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान होओ” भनी प्रेरित पावल भन्छन्‌। तब तपाईं “शैतानका युक्‍तिहरूका विरुद्धमा खड़ा” हुन सक्नुहुनेछ।—एफिसी ६:१०, ११.

[पृष्ठ ५-मा भएको चित्र]

दियाबल वास्तविक व्यक्‍ति हो भनी येशूलाई थाह थियो

[पृष्ठ ६-मा भएको चित्र]

“सारा संसार त्यस दुष्टको अधीनमा परेको छ”

[स्रोत]

NASA photo

[पृष्ठ ७-मा भएका चित्रहरू]

परमेश्‍वरको वचन अध्ययन गरेर अनि नियमित तवरमा प्रार्थना गरेर दियाबल विरुद्ध अडान लिनुहोस्‌