सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌’

‘शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌’

‘शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌’

“हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”— रोमी १२:१८.

१, २. मानिसले स्थापना गरेको शान्ति स्थायी नहुनुका केही कारणहरू के हुन्‌?

 कमजोर जग, बिग्रिएको बिम र भत्केर खस्नै लागेको छानो भएको घर कल्पना गर्नुहोस्‌। के तपाईं त्यस्तो घरमा सर्न चाहनुहुन्छ? सायद चाहनुहुन्‍न होला। त्यो घरमा रंगरोगन गरिए तापनि घरको बनावटमै भएको त्रुटि लुकाउन सकिंदैन। चाँडो होस्‌ वा ढिलो त्यो घर एक दिन अवश्‍य भत्किनेछ।

संसारले दिने शान्ति पनि त्यो घरजस्तै हो। यो कमजोर जग अर्थात्‌ मानिसहरूको प्रतिज्ञा तथा योजनाहरूमाथि बनिएको हुन्छ, “जसले बचाउन सक्दैनन्‌।” (भजन १४६:३, नयाँ संशोधित संस्करण) इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, राष्ट्र र जातीय समूहहरूबीच भएका झगडाहरूको थुप्रै रेकर्ड पाउँछौं। तर शान्ति छाएका समयहरू पनि छन्‌ तर कस्तो प्रकारको शान्ति? यदि दुइटा राष्ट्र युद्धमा मुछिएका छन्‌ र अन्ततः एउटा राष्ट्र पराजित भयो वा दुवै राष्ट्रले झगडामा केही फाइदा देखेन र शान्ति घोषणा गरिन्छ भने, त्यो कस्तो प्रकारको शान्ति हो? युद्धलाई जन्म दिने घृणा, शंका र ईर्ष्या आज पनि यथावत्‌ छन्‌। वैमनस्यता ढाकछोप गर्न ‘रंगरोगन गरिएको’ सतही शान्ति स्थायी हुँदैन।—इजकिएल १३:१०.

३. किन मानवद्वारा स्थापित शान्तिभन्दा परमेश्‍वरका जनहरूको शान्ति भिन्‍न छ?

यद्यपि, यस युद्धग्रस्त संसारमा साँचो शान्ति पनि पाइन्छ। कहाँ? येशू ख्रीष्टको पाइला पछ्याउने उहाँका अनुयायीहरू अर्थात्‌ साँचो मसीहीहरूमाझ। तिनीहरू येशूका शब्दहरू सुन्‍नुका साथै उहाँको जीवनपद्धति अनुकरण गर्ने प्रयास गर्छन्‌। (१ कोरिन्थी ११:१; १ पत्रुस २:२१) विभिन्‍न जात, सामाजिक ओहदा र राष्ट्रका साँचो मसीहीहरूबीचको शान्ति नै साँचो शान्ति हो किनभने यो परमेश्‍वरसँगको शान्तिमय सम्बन्धबाट उत्पन्‍न हुन्छ, जुन येशू ख्रीष्टको छुडौतीको बलिदानको विश्‍वासमा आधारित छ। तिनीहरूको शान्ति परमेश्‍वरले दिनुभएको वरदान हो, यो कुनै मानिसहरूले स्थापित गरेको शान्ति होइन। (रोमी १५:३३; एफिसी ६:२३, २४) यो तिनीहरू “शान्तिका राजकुमार” येशू ख्रीष्टको अधीनमा बसेको र “प्रेम र शान्तिका परमेश्‍वर[को]” उपासना गरेको नतिजा हो।—यशैया ९:६; २ कोरिन्थी १३:११.

४. मसीहीले कसरी शान्तिको “खोजी” गर्नसक्छ?

असिद्ध मानिसहरूले शान्ति स्वतः पाउँदैन। तसर्थ, प्रत्येक मसीहीले “शान्तिको खोजी गरोस्‌ र त्यसको पछि लागोस्‌” भनी पत्रुसले लेखे। (१ पत्रुस ३:११, नयाँ संशोधित संस्करण) हामी कसरी त्यसो गर्नसक्छौं? एउटा पुरातन भविष्यवाणीले यसको जवाफ दिन्छ। यशैयामार्फत कुरा गर्नुहुँदै यहोवाले यसो भन्‍नुभयो: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्‌, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३; फिलिप्पी ४:९) हो, यहोवाका शिक्षा सुन्‍नेहरूले साँचो शान्ति अनुभव गर्छन्‌। यसबाहेक, शान्तिलगायत “प्रेम, आनन्द, . . . धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” परमेश्‍वरको पवित्र आत्माका फलहरू हुन्‌। (गलाती ५:२२, २३) यो कठोर, आनन्दरहित, अधीर, दुष्ट, धोखेबाज, क्रूर वा आत्मसंयमविनाका मानिसहरूले अनुभव गर्नसक्दैन।

“सबै मानिसहरूसँग शान्तिमा रहो”

५, ६. (क) बाइबलअनुसार शान्तिमा रहनुको अर्थ के हो? (ख) मसीहीहरू कोसित शान्तिमा रहने कोसिस गर्छन्‌?

शान्ति शब्दलाई “विद्रोह, होहल्ला, खलबली आदि नभएको अवस्था” भनी परिभाषित गरिएको छ। त्यस्तो परिभाषाले कलह नभएको थुप्रै अवस्थालाई ढाक्छ। अरू त के कुरा, उक्‍त परिभाषाअनुसार मरिसकेको व्यक्‍तिसमेत शान्तिमा हुन्छन्‌! तथापि, शान्त स्वभावको भएर मात्र पुग्दैन, शान्ति प्रवर्धन गर्ने पनि हुनुपर्छ। डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “धन्य मेल-मिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्‍वरका पुत्र कहलाइनेछन्‌।” (मत्ती ५:९) येशू पछि परमेश्‍वरका आत्मिक पुत्र र स्वर्गमा अमर जीवन प्राप्त गर्ने सुअवसर पाउने व्यक्‍तिविशेषहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो। (यूहन्‍ना १:१२; रोमी ८:१४-१७) अनि आखिरमा, स्वर्गीय आशा नभएका सबै विश्‍वासी मानिसहरूले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता” पाउनेछन्‌। (रोमी ८:२१) शान्तिमा रहने अर्थात्‌ मेल-मिलापमा रहनेहरूले मात्र त्यस्तो आशाको आनन्द उठाउनसक्छन्‌। त्यसकारण, धर्मशास्त्रीय अर्थमा भन्‍ने हो भने, शान्तिमा रहनुको अर्थ सक्रियतासाथ शान्तिको प्रवर्धन गर्नु र कहिलेकाहीं शान्ति नभएका ठाउँमा मेल-मिलाप गरेर शान्ति स्थापना गर्नु हो।

यस कुरालाई मनमा राख्दै प्रेरित पावलले रोमीहरूलाई दिएको सल्लाह विचार गर्नुहोस्‌: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१८) शान्त मनोभाव राख्नु मदतकारी भए तापनि पावलले रोमीहरूलाई त्यतिमै चित्त बुझाएर बस्नु भनिरहेका थिएनन्‌। तिनले तिनीहरूलाई शान्ति कायम गर्न अर्थात्‌ मेलमिलापमा रहन प्रोत्साहन दिइरहेका थिए। तर कोसित? “सबै मानिसहरूसँग” अर्थात्‌ परिवारका सदस्य, सँगी मसीहीहरू अनि बेग्लै विश्‍वास भएका व्यक्‍तिहरूसँग समेत। तिनले रोमीहरूलाई “सक्दोभर” सबैसँग मेलमिलापमा रहन प्रोत्साहन दिए। अहँ, शान्तिको खातिर आफ्नो विश्‍वासको सम्झौता गरेको तिनी चाहँदैनथे। बरु, अरूलाई बेकारमा रिस उठाउनुको साटो शान्ति कायम गर्ने मनसायले तिनीहरू अघि बढ्‌नुपर्ने थियो। मसीहीहरूले चाहे मण्डलीभित्रका होस्‌ वा बाहिरका, सबै व्यक्‍तिहरूसँग त्यस्तो व्यवहार गर्नुपर्ने थियो। (गलाती ६:१०) यसैअनुरूप पावलले पनि यस्तो लेखे: “सधैं एउटाले अर्कोसँग र सबैसँग भलाई गर्ने चेष्टा गर।”—१ थिस्सलोनिकी ५:१५.

७, ८. भिन्‍नै विश्‍वास हुनेहरूसँग मसीहीहरू कसरी शान्तिमा रहन्छन्‌ र किन?

हामी कसरी भिन्‍न विश्‍वास भएकाहरू र हामीलाई सताउने व्यक्‍तिहरूसित समेत शान्तिमा रहनसक्छौं? एउटा त हो, आफूलाई श्रेष्ठ नठानेर। उदाहरणका लागि, अरूलाई हेपेर कुरा गर्दा पक्कै पनि त्यसले मेलमिलापमा रहन मदत गर्दैन। यहोवाले संगठन तथा वर्गहरूको कस्तो न्याय गर्नुहुनेछ, त्यो हामीलाई थाह छ। तर त्यसो भन्दैमा, कोही तिरस्कृत नै भइसकेको जस्तो गरी उनीहरूसँग कुरा गर्ने हामीसित अधिकार छैन। हो, हामी आफ्ना विरोधीहरूको समेत न्याय गर्दैनौं। क्रेटका मसीहीहरूलाई मानव अख्तियारवालाहरूसँग गर्नुपर्ने व्यवहारबारे सल्लाह दिनु भनी तीतसलाई भनिसकेपछि पावलले तिनीहरूलाई यो कुरा पनि सम्झाउनु भने: “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू।”—तीतस ३:१, २.

भिन्‍नै विश्‍वास हुनेहरूसँग शान्तिमा रहँदा त्यसले तिनीहरूलाई सच्चाइतर्फ आकर्षित गर्न ठूलो मदत गर्छ। निस्सन्देह, ‘भला चाल-चलनलाई बिगार्ने’ व्यक्‍तिहरूसँग हामी मित्रता बढाउँदैनौं। (१ कोरिन्थी १५:३३) तैपनि, हामी शिष्ट हुनसक्छौं र हामीले सबै मानिसलाई सम्मान र दयालु व्यवहार गर्नुपर्छ। पत्रुसले यस्तो लेखे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।”—१ पत्रुस २:१२.

सेवकाईमा शान्ति

९, १०. अविश्‍वासीहरूसँग शान्ति कायम गर्ने सन्दर्भमा प्रेरित पावलले कस्तो राम्रो उदाहरण बसाले?

प्रथम शताब्दीका मसीहीहरू तिनीहरूको साहसको निम्ति चिनिन्थे। मानिससित शान्ति कायम गर्नुपर्छ भन्दैमा तिनीहरूले आफ्नो सन्देशलाई हलुका ठानेनन्‌। अनि सतावट आइपर्दा तिनीहरू मानिसको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्न कटिबद्ध थिए। (प्रेरित ४:२९; ५:२९) यद्यपि, तिनीहरूले छुच्चो व्यवहार पनि गरेनन्‌। राजा अग्रिपा द्वितीयसामु आफ्नो विश्‍वासको पक्षमा बोल्नुपर्दा पावलले के गरे, विचार गर्नुहोस्‌। हेरोद अग्रिपाको आफ्नै बहिनी बर्णिससँग हाडनाताकरणीको सम्बन्ध थियो। तथापि, पावलले अग्रिपालाई नैतिकताको पाठ सिकाएनन्‌। बरु, दुवै जना सहमत भएको बुँदामा तिनले जोड दिए अनि अग्रिपाको प्रशंसा गर्दै तिनी यहूदी चलनहरूको विशेषज्ञ र अगमवक्‍ताहरूमाथि विश्‍वास गर्ने व्यक्‍ति हुन्‌ भने।—प्रेरित २६:२, ३, २७.

१० के पावलले आफ्नो छुटकाराको लागि चापलुसी गरिरहेका थिए? थिएनन्‌। पावलले आफूले दिएको सल्लाहअनुरूप गरे र सत्य कुरा बोले। तिनले अग्रिपालाई भनेको कुनै पनि कुरा गलत थिएन। (एफिसी ४:१५) तर पावल शान्ति कायम गर्ने व्यक्‍ति थिए र तिनी “सबैका निम्ति . . . सबै कुरा” हुन जान्दथे। (१ कोरिन्थी ९:२२) तिनको उद्देश्‍य येशूबारे प्रचार गर्ने आफ्नो अधिकारलाई सुरक्षित राख्नु थियो। असल शिक्षक भएको कारण तिनले आफू र अग्रिपा सहमत हुने केही कुरा उल्लेख गरेर आफ्नो कुरा अघि बढाए। यसप्रकार, पावलले त्यस अनैतिक राजालाई मसीहीधर्मबारे सकारात्मक विचारधारा राख्न मदत गरे।—प्रेरित २६:२८-३१.

११. सेवकाईमा हामी कसरी शान्ति कायम गर्ने हुनसक्छौं?

११ हाम्रो सेवकाईमा हामी कसरी शान्ति कायम गर्नसक्छौं? पावलजस्तै हामी पनि बहस गर्नदेखि टाढा रहनुपर्छ। हो, कहिलेकाहीं हामीले आफ्नो विश्‍वासको पक्षमा “परमेश्‍वरको वचन विनाडर” बोल्नुपर्छ। (फिलिप्पी १:१४, नयाँ संशोधित संस्करण) तर हाम्रो मुख्य उद्देश्‍य सुसमाचार प्रचार गर्नु हो। (मत्ती २४:१४) यदि व्यक्‍तिविशेषले परमेश्‍वरको उद्देश्‍यमा सच्चाइ छ भनी बुझ्यो भने, तिनले झूटा धार्मिक विचारधाराहरू हटाउनसक्छन्‌ र अशुद्ध बानीहरूबाट आफूलाई स्वच्छ बनाउनसक्छन्‌। अतः सकेसम्म आफ्ना श्रोताहरूलाई मनपर्ने कुराहरूमा जोड दिनु वा दुवै जना सहमत हुने विषयमा कुराकानी थाल्नु उत्तम हुनेछ। चतुऱ्‍याइसाथ कुरा गर्दा हाम्रो सन्देश सुन्‍नसक्ने मानिसलाई रिस उठायो भने उल्टो नकारात्मक प्रभाव पर्नसक्छ।—२ कोरिन्थी ६:३.

परिवारमा शान्ति कायम गर्ने

१२. परिवारमा हामी कुन तरिकामा शान्ति कायम गर्ने हुनसक्छौं?

१२ विवाह गर्नेहरूको “शरीरमा कष्ट हुनेछ” भनी पावलले बताए। (१ कोरिन्थी ७:२८) विभिन्‍न कठिनाइहरूको सामना गर्नुपर्छ। अन्य कुराहरूको अलावा दम्पतीहरूको समय समयमा मतभिन्‍नताहरू हुनेछन्‌। यस्ता मतभिन्‍नताहरूलाई कसरी समाधान गर्नुपर्ने हो? शान्तिमय ढंगमा। शान्ति कायम गर्ने व्यक्‍तिले झगडा साम्य पार्ने कोसिस गर्नेछन्‌। कसरी? पहिला जिब्रोलाई नियन्त्रणमा राखेर। व्यंग्यात्मक र अपमानजनक शब्दहरू बोल्दा यो सानो अंग साँच्चै “भयंकर विषले भरिएको चंचल बदमास” हुनसक्छ। (याकूब ३:८) शान्ति कायम गर्ने व्यक्‍तिले आफ्नो जिब्रो अरूलाई चोट पुऱ्‍याउन होइन तर प्रोत्साहन दिन प्रयोग गर्छ।—हितोपदेश १२:१८.

१३, १४. अनर्थ बोलिहाल्यौं वा भावनाहरू आफ्नो वशभन्दा बाहिर हुन थाल्यो भने हामी कसरी शान्ति कायम गर्नसक्छौं?

१३ असिद्ध भएको कारण हामी सबैले कुनै न कुनै बेला पछि पछुताउनुपर्ने कुराहरू भन्छौं। त्यतिखेर तुरुन्तै सुलह गरेर शान्ति कायम गर्नुहोस्‌। (हितोपदेश १९:११; कलस्सी ३:१३) “वाद-विवाद गर्ने” र स-साना कुरामा “कचिङ्‌गल” उत्पन्‍न गर्ने नगर्नुहोस्‌। (१ तिमोथी ६:४, ५) बरु, सतहमा होइन गहिराइ बुझ्नुहोस्‌ र आफ्नो जीवनसाथीको भावना बुझ्ने कोसिस गर्नुहोस्‌। तपाईंसँग छुच्चो बोली गऱ्‍यो भन्दैमा तपाईंले पनि त्यस्तै बोली नफर्काउनुहोस्‌। “मीठो जवाफले क्रोधलाई शान्त गर्छ” भन्‍ने कुरा नबिर्सनुहोस्‌।—हितोपदेश १५:१.

१४ कहिलेकाहीं तपाईंले हितोपदेश १७:१४ मा उल्लिखित सल्लाह विचार गर्नुपर्ने हुनसक्छ: “झगड़ा . . . बढ़नअघिनै रीस छोड़िदेऊ।” रिसको झोंकमा केही अनर्थ बोल्न वा गर्नअघि, ठण्डा दिमागले सोच्नुहोस्‌। पछि आफ्ना भावनाहरूलाई वशमा राखिसकेपछि तपाईंले दुवैलाई चित्त बुझ्ने तरिकामा समस्या समाधान गर्न सक्नुहुनेछ होला। कुनैकुनै अवस्थामा परिपक्व मसीही निरीक्षकको मदत लिनु बेस हुनसक्छ। वैवाहिक शान्ति नै खतरामा पर्दा त्यस्ता अनुभवी र समानुभूतिशील पुरुषहरू स्फूर्तिदायी मदत साबित हुनसक्छन्‌।—यशैया ३२:१, २.

मण्डलीमा शान्ति कायम गर्ने

१५. याकूबका अनुसार कोहीकोही मसीहीहरूमा कस्तो खराब मनोभाव विकास भएको थियो र त्यो मनोभाव किन “सांसारिक,” “पाशविक” र “शैतानी” छ?

१५ दुःखको कुरा, प्रथम शताब्दीका कोहीकोही मसीहीले शान्तिको विपरीत डाही र घमण्डी मनोभाव देखाए। याकूबले यसो भने: “यो ज्ञान माथिबाट आउने ज्ञान होइन, तर यो ता सांसारिक, स्वाभाविक [“पाशविक,” NW] र शैतानी ज्ञान हो। किनभने जहाँ इबी र विरोध हुन्छ, त्यहाँ डाह र हरेक किसिमको भ्रष्ट काम हुन्छ।” (याकूब ३:१४-१६) कसैकसैले “इबी” भनी अनुवाद गरिएको युनानी शब्द स्वार्थी अभिलाषा, मानपदवीका लागि तँछाडमछाड गर्नुसँग सम्बन्धित छ भन्छन्‌। त्यसैकारण पनि याकूबले यसलाई “सांसारिक, स्वाभाविक [“पाशविक,” NW] र शैतानी ज्ञान” भनी संज्ञा दिनु उपयुक्‍त थियो। इतिहासभरि संसारका शासकहरूले इबी राखेर एकअर्कासँग झगडा गर्ने जंगली पशुहरूजस्तै व्यवहार गरेका छन्‌। इबी साँच्चै “सांसारिक” र “पाशविक” छ। यो “शैतानी” पनि छ। यो छली गुण सबैभन्दा पहिला, शक्‍तिको भोको स्वर्गदूतले प्रदर्शित गरेका थिए। त्यसले यहोवा परमेश्‍वरको विद्रोह गरे अनि पछि त्यो प्रेतहरूको शासक शैतान भयो।

१६. प्रथम शताब्दीका कोहीकोही मसीहीहरूले शैतानको जस्तो मनोभाव कसरी प्रकट गरे?

१६ याकूबले मसीहीहरूलाई इबी नराख्न आग्रह गरे किनभने यो शान्तिको विपरीत छ। तिनले यस्तो लेखे: “तिमीहरूमा लड़ाइँ कहाँबाट आउँछ? औ झगड़ा कहाँबाट आउँछ? तिमीहरूको अंगमा संग्राम गर्ने तिमीहरूका सुख-विलासबाटै होइन र?” (याकूब ४:१) यहाँ “सुख-विलास” भन्‍ने अभिव्यक्‍तिले भौतिक कुराहरूको वा प्रतिष्ठा, अधिकार वा प्रभावको लोभलाई संकेत गर्नसक्छ। मण्डलीका कोहीकोही “सानो” हुन चाहनुको सट्टा शैतानजस्तै चमकिला ताराहरू हुन चाहन्थे। (लूका ९:४८) यस्तो मनोभावले मण्डलीको शान्ति हरण गर्नसक्छ।

१७. मसीहीहरू आज मण्डलीमा कसरी शान्ति कायम गर्नेहरू हुनसक्छन्‌?

१७ आज, हामीले पनि भौतिकवाद, इबी वा महत्त्वकांक्षी झुकाउको प्रतिरोध गर्नुपर्छ। हामी साँच्चै शान्ति कायम गर्न चाहने व्यक्‍तिहरू हौं भने, न त हामी मण्डलीमा आफूभन्दा अरू कुनै क्षेत्रमा बढी सिपालु भएकोमा खतरा महसुस गर्छौं न तिनीहरूको मनसायमाथि प्रश्‍न गरेर अरूसँग त्यसबारे कुरा काट्‌ने गर्छौं। हामीसँग कुनै उल्लेखनीय योग्यता छ भने, मानौं हाम्रो कार्य कुशलता र ज्ञान तथा अनुभवले गर्दा मात्रै मण्डली फस्टाइरहेको छ भन्‍नेजस्तो भान पार्दै अरूको अगाडि आफ्नो योग्यता देखाउने प्रयास गर्दैनौं। त्यस्तो मनोभावले विभाजन ल्याउँछ, शान्ति होइन। शान्ति कायम गर्न चाहनेहरूले आफ्नो योग्यताको घमण्ड गर्दैन तर नम्रतासाथ यसलाई आफ्ना भाइहरूको सेवा गर्न र यहोवाको आदर गर्न चलाउँछन्‌। आखिर साँचो मसीहीको चिनारी योग्यता होइन तर प्रेम हो भनी तिनीहरूले बुझेका हुन्छन्‌।—यूहन्‍ना १३:३५; १ कोरिन्थी १३:१-३.

“शान्तिलाई तेरा राज्यपाल . . . तुल्याउनेछु”

१८. कसरी प्राचीनहरूले आफूबीच शान्ति कायम गर्छन्‌?

१८ मण्डलीका प्राचीनहरूले शान्ति कायम गर्ने काममा नेतृत्व लिन्छन्‌। यहोवाले आफ्ना जनहरूको सन्दर्भमा यस्तो भविष्यवाणी गर्नुभयो: “शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु।” (यशैया ६०: १७) यी भविष्यसूचक शब्दहरूअनुरूप, मसीही गोठालोको रूपमा सेवा गर्नेहरूले आफूबीच र बगालहरूबीच शान्ति कायम गर्न निकै मेहनत गर्छन्‌। प्राचीनहरूले आफूबीच ‘माथिबाट आएको’ व्यावहारिक “ज्ञान” र शान्ति देखाएर मेलमिलाप कायम गर्नसक्छन्‌। (याकूब ३:१७) भिन्‍न पृष्ठभूमि र अनुभवको कारण कहिलेकाहीं मण्डलीका प्राचीनहरूको विभिन्‍न विचारधाराहरू हुन्छन्‌। के यसको अर्थ तिनीहरूमा शान्तिको कमी छ भन्‍न खोजेको हो? होइन यदि तिनीहरूले परिस्थिति राम्ररी सम्हाले भने। शान्ति कायम गर्नेहरूले आफ्नो विचार विनम्रतासाथ व्यक्‍त गर्छन्‌ अनि आदरपूर्वक अरूको कुरा सुन्छन्‌। आफ्नै कुरामा जिद्दी गर्नुको साटो शान्ति कायम गर्ने व्यक्‍तिले प्रार्थनापूर्वक आफ्नो भाइको विचारधारा विचार गर्नेछ। कुनै बाइबल सिद्धान्त उल्लंघन भएको छैन भने, विभिन्‍न विचारधारा खडा हुनु राम्रै कुरा हो। अरू असहमत हुँदा शान्ति कायम गर्ने व्यक्‍तिले बहुमतले गरेको निर्णयलाई समर्थन गर्नेछ। यसप्रकार, तिनले आफूलाई व्यावहारिक प्रमाणित गर्नेछ। (१ तिमोथी ३:२, ३) अनुभवी निरीक्षकहरू आफूले भनेजस्तो गर्न पाउनुलाई भन्दा पनि शान्ति कायम गर्नुलाई महत्त्वपूर्ण ठान्छन्‌।

१९. मण्डलीभित्र प्राचीनहरूले कसरी शान्ति कायम गर्छन्‌?

१९ प्राचीनहरूले बगालका सदस्यहरूलाई समर्थन गरेर र तिनीहरूले गरेको प्रयासको आलोचना नगरेर शान्ति कायम गर्छन्‌। हो, कसैकसैलाई सुधार गर्नु आवश्‍यक पर्नसक्छ। (गलाती ६:१) तर मसीही निरीक्षकको काम अनुशासन दिने मात्र होइन। तिनले अक्सर अरूको सराहना गर्छ। मायालु प्राचीनहरू अरूको भलाइ खोज्छन्‌। निरीक्षकहरू सँगी मसीहीहरूको मेहनतको मूल्यांकन गर्छन्‌ र आफ्ना सँगी विश्‍वासीहरूले यथासक्दो गरिरहेका छन्‌ भनी विश्‍वस्त हुन्छन्‌।—२ कोरिन्थी २:३, ४.

२०. सबैले शान्ति कायम गऱ्‍यो भने मण्डलीलाई कसरी फाइदा हुन्छ?

२० तसर्थ, परिवारमा, मण्डलीमा र भिन्‍नै विश्‍वास भएकाहरूसँग व्यवहार गर्दा हामी शान्ति र मेलमिलाप कायम गर्ने प्रयास गर्छौं। हामीले लगनशील भई शान्ति खेती गऱ्‍यौं भने मण्डलीको शान्तिमा योगदान पुऱ्‍याइरहेका हुनेछौं। यसका साथसाथै हामी सुरक्षित र थुप्रै तरिकामा सुदृढ पनि हुनेछौं। यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौं।

के तपाईंले सम्झनुभएको छ?

• शान्ति कायम गर्नुको अर्थ के हो?

• गैर-साक्षीहरूसँग व्यवहार गर्दा हामी कसरी शान्ति कायम राख्नसक्छौं?

• परिवारमा शान्ति खेती गर्ने केही तरिकाहरू के हुन्‌?

• कसरी प्राचीनहरूले मण्डलीमा शान्ति प्रवर्धन गर्नसक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

शान्ति कायम गर्नेहरूले श्रेष्ठताको मनोभाव देखाउँदैनन्‌

[पृष्ठ १०-मा भएका चित्रहरू]

मसीहीहरू सेवकाईमा, घरमा र मण्डलीमा शान्ति कायम गर्छन्‌