सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के कुनै कुराले मानसलाई साँच्चै एकताबद्ध बनाउनसक्छ?

के कुनै कुराले मानसलाई साँच्चै एकताबद्ध बनाउनसक्छ?

के कुनै कुराले मानसलाई साँच्चै एकताबद्ध बनाउनसक्छ?

तपाईंको विश्‍वास जुनसुकै भए तापनि तपाईंले हरेक धर्ममा सत्य मन पराउनेहरू छन्‌ भनेर स्वीकार्नुहुन्छ होला। सत्यको साँच्चै मूल्यांकन गर्ने र यसको खोजी गर्न इच्छुक मानिसहरू हिन्दू, क्याथोलिक, यहूदी तथा अन्य धर्महरूमा पनि छन्‌। तथापि, धर्मले मानिसहरूमा विभाजन ल्याएको जस्तो देखिन्छ। कसैकसैले त धर्मको नाउँमा खराब काम गर्छन्‌। के असल र सत्य मनपराउने सबै धर्मका निष्कपट हृदय भएका मानिसहरू एकताबद्ध हुनसक्लान्‌ र? के तिनीहरू पारस्परिक उद्देश्‍य पूरा गर्न एकताबद्ध हुनसक्लान्‌?

धर्म मानिसहरूबीच फाटो बढ्‌नुको बढ्‌दो कारण हुनु कत्ति दुःखलाग्दो कुरा हो! यी केही युद्धहरूलाई विचार गर्नुहोस्‌। श्रीलंकामा हिन्दूहरू बौद्ध धर्मावलम्बीहरूसित लड्‌छन्‌। प्रोटेस्टेन्ट, क्याथोलिक र यहूदीहरूले धेरै युद्धमा रगत बगाएका छन्‌। मसीही भनौंदाहरूले बोस्निया, चेचेन्या, इन्डोनेसिया तथा कोसोभोका मुसलमानहरूसित झगडा गर्छन्‌। अनि मार्च २००० मा दुई दिनको धार्मिक कलहले गर्दा ३०० जना नाइजेरियाली मारिए। साँच्चै, धर्मप्रतिको घृणाले गर्दा यस्ता युद्धहरूले झनै तीव्र रूप लिएको छ।

निष्कपट हृदय भएका मानिसहरू प्रायजसो धर्मको नाउँमा गरिने दुष्ट कार्य देखेर निरुत्साहित हुन्छन्‌। उदाहरणका लागि, केटाकेटीलाई यौन दुर्व्यवहार गर्ने पादरीहरूलाई कुनैकुनै चर्चले आधिकारीक रूपमा कुनै कारबाही नगरेको देख्दा चर्च धाउने थुप्रै मानिस तीनछक परेका छन्‌। समलैंगिकता तथा गर्भपतनजस्ता विषयहरूमा मसीही भनौंदाहरूबीच नै फाटो भएको देखेर पनि थुप्रै विश्‍वासीहरू धेरै हतास भएका छन्‌। स्पष्टतया, धर्मले मानिसजातिलाई एकताबद्ध बनाएको छैन। तथापि, निम्न अनुभवहरूले देखाएझैं थुप्रै धर्मका मानिसबीच पनि सत्यलाई मनपराउनेहरू छन्‌।

तिनीहरूले सत्यको तृष्णा गरे

फिडेलिया बोलिभियाको ला पाजमा अवस्थित सान फ्रान्सिस्को क्याथोलिक चर्चका एक जना इमानदार अनि समर्पित उपासक थिइन्‌। तिनी लम्पसार परेर मेरीको मूर्तिलाई दण्डवत गर्थिन्‌ र सकेसम्म किम्मती मैनबत्तीहरू किनेर क्रूसको अगाडि बाल्थिन्‌। हरेक हप्ता गरिबहरूलाई खाना खुवाउन तिनले ठूलो परिमाणमा भोजन पादरीलाई दान दिन्थिन्‌। तथापि, फिडेलियाका पाँचजना नवजात शिशुहरू बप्तिस्मा लिनुअघि नै मरे। त्यस पादरीले फिडेलियालाई उनीहरू सबैजना स्वर्गमा प्रवेश गर्न नपाएर अन्धकार ठाउँमा दुःख भोगिरहेका छन्‌ भनेर बताउँदा ‘परमेश्‍वर यदि मायालु अनि दयालु हुनुहुन्छ भने कसरी त्यसो गर्नसक्नु होला र?’ भनेर छक्क परिन्‌।

तारा, नेपालको काठमाडौंमा हिन्दू पृष्ठभूमिमा हुर्केकी चिकित्सक हुन्‌। आफ्ना पुर्खाहरूको शताब्दीयौंअघिको चलनहरू पछ्याउँदै तिनी हिन्दू मन्दिरहरूमा देवीदेवताहरूलाई पूजा गर्थिन्‌ र तिनको आफ्नै घरमा पनि मूर्तिहरू थिए। तर तारा यी प्रश्‍नहरूको जवाफ पाउन नसकेर अलमल्लमा परेकी थिइन्‌: किन यतिबिघ्न दुःखकष्ट? मानिसहरू किन मर्छन्‌? तिनले आफ्नो धर्ममा यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउन सकिनन्‌।

अर्कोतर्फ पान्या, थाइल्याण्डको बैंककस्थित नहरछेउको घरमा बौद्ध परिवारमा हुर्केका हुन्‌। मानिसले पूर्वजन्ममा गरेका कार्यहरूको कारण दुःखकष्ट भोग्छ र यसबाट स्वतन्त्र हुन मानिसले आफूलाई सम्पूर्ण अभिलाषाबाट अलग राख्नुपर्छ भनेर उसलाई सिकाइएको थियो। अरू इमानदार बौद्ध धर्मावलम्बीहरूलाई जस्तै उसलाई पनि हरेक बिहानी भिक्षा माग्न आउने गेरूवा वस्त्रधारी भिक्षुहरूको बुद्धिलाई गहिरो आदर गर्न सिकाइयो। ऊ ध्यान गर्थ्यो र सुरक्षित हुने विश्‍वासमा बुद्धका प्रतिमा जम्मा गर्थ्यो। एउटा गम्भीर दुर्घटनामा परेपछि उसको कमरमुनिको सम्पूर्ण भाग पक्षघात भयो। आफू चमत्कारी ढंगमा निको हुने निष्कपट आशा गर्दै तिनी बौद्ध गुम्बाहरूमा गए। तर ऊ त्यहाँ गएर निको भएन नत उसले आध्यात्मिक ज्योति नै पाए। बरु, उसले त्यहाँ प्रेतविद्याबारे थाह पाए र पछि त्यसैमा लाग्न थाले।

भर्जिल, संयुक्‍त राज्यमा जन्मेर पछि कलेजमा हुँदा ब्ल्याक मुस्लिम नाउँको समूहका सदस्य भए। श्‍वेत मानिसहरू दियाबल हुन्‌ भनिएका साहित्यहरू तिनले जोसका साथ वितरण गरे। तिनीहरू दियाबल भएकोले अश्‍वेतहरूका विरुद्धमा त्यस्तो क्रूर व्यवहार गर्छन्‌ भनी तिनीहरू विश्‍वास गर्थे। आफ्नो विश्‍वासप्रति इमानदार भए तापनि भर्जिलको मनमा यी प्रश्‍नहरू खेल्न थाल्यो: कसरी सबै श्‍वेतजाति खराब हुनसक्छन्‌ र? अनि त्यस्तो प्रचारकार्य किन पैसा संकलन गर्न प्रयोग गरिएको?

चारो क्याथोलिकहरूको बाहुल्य रहेको दक्षिण अमेरिकामा हुर्केकी भए तापनि एक जना निष्कपट प्रोटेस्टेन्ट थिइन्‌। आफ्नो वरपरका मूर्तिपूजकहरूको भाग हुन नपरेकोमा तिनी खुसी थिइन्‌। चारो हरेक आइतबारका दिन भावनात्मक तवरमा उत्साहित गर्ने सेवामा भाग लिन चर्च जान्थिन्‌। त्यहाँ तिनी “हल्लेलूयाह” भनेर चिच्च्याउँथिन्‌ र धार्मिक गीत तथा त्यसपछि हुने नाचमा पनि भाग लिन्थिन्‌। आफूले मुक्‍ति पाएको र आफ्नो पुनर्जन्म भयो भनेर तिनी साँच्चै विश्‍वास गर्थिन्‌। आफ्नो हर आम्दानीको दशांश चर्चमा तिर्थिन्‌ अनि मनपर्ने टिभी प्रचारकले अनुदान माग्दा अफ्रिकी केटाकेटीहरूलाई मदत गर्न पैसा पठाउँथिन्‌। तथापि, तिनले पास्टरलाई मायालु परमेश्‍वरले मानिसलाई किन नरकमा पठाउनुहुन्छ भनेर सोध्दा कुनै अर्थपूर्ण जवाफ पाउन सकिनन्‌। पछि, आफूले पठाएको अनुदानहरू अफ्रिकी केटाकेटीलाई मदत गर्न प्रयोग नगरिएको थाह पाइन्‌।

भिन्‍नाभिन्‍नै पृष्ठभूमिबाट आएका भए तापनि यी पाँचै जनाको एउटा कुरामा भने समानता थियो। तिनीहरूले सच्चाइलाई प्रेम गरे र इमानदार भई आफ्ना प्रश्‍नहरूको सही जवाफको खोजी गरे। तर के तिनीहरू सबै साँचो उपासनामा साँच्चै एकताबद्ध हुनसक्लान्‌ र? आउँदो लेखले यस प्रश्‍नको जवाफ दिइनेछ।

[पृष्ठ ४-मा भएको चित्र]

के भिन्‍नाभिन्‍नै पृष्ठभूमिका मानिसहरू साँच्चै एकताबद्ध हुन सम्भव छ?

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

G.P.O., Jerusalem