सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैभन्दा मूल्यवान्‌ कुरा के हो?

सबैभन्दा मूल्यवान्‌ कुरा के हो?

सबैभन्दा मूल्यवान्‌ कुरा के हो?

आफूसित केही मूल्यवान्‌ कुरा छ भने साह्रै आनन्द लाग्छ। तर त्यस्तो मूल्यवान्‌ कुरा के हुनसक्छ? प्रशस्त रूपैयाँपैसा? बहुमूल्य वा असाधारण गरगहना? ख्याति र प्रधानता? थुप्रै मानिसलाई यी कुराहरू मूल्यवान्‌ लाग्छ। यी कुराहरूले जीवन धान्छ, जीवन झनै अर्थपूर्ण बनाउँछ वा नाउँ अनि दाम कमाउने आन्तरिक चाहनालाई सन्तुष्ट पार्छ। यी कुराहरूले हाम्रा लक्ष्य तथा आकांक्षाहरू पूरा गर्नेछन्‌ भन्‍ने आशा गर्दै के हामी ती प्राप्त गर्ने प्रयास गर्छौं?

नै कुराले आफ्नो व्यक्‍तिगत आवश्‍यकतालाई कसरी पूरा गर्छ वा सन्तुष्ट पार्छ त्यसैको आधारमा मानिसहरू अक्सर कुनै पनि कुरा मूल्यवान्‌, छन्‌ कि छैनन्‌ निधो गर्छन्‌। हामीलाई ढुक्क महसुस गराउने र सुरक्षित भविष्यको प्रत्याशा दिने कुराको हामी कदर गर्छौं। तुरुन्तै चिन्ता मुक्‍त गराउने, सान्त्वना वा नाउँ कमाउने कुरालाई हामी बहुमूल्य ठान्छौं। हाम्रो परिवर्तनशील इच्छा वा चासोमा आधारित कुराहरूलाई मूल्यवान्‌ ठान्‍नु खोक्रो र अदूरदर्शीता हुनेछ। वास्तवमा, हाम्रो सबैभन्दा ठूलो आवश्‍यकता के हो, त्यसलाई बुझ्यौं भने सबैभन्दा मूल्यवान्‌ कुरा के हो त्यो निधो गर्न सकिन्छ।

हाम्रो सबैभन्दा ठूलो आवश्‍यकता के हो? जीवन नै छैन भने कुनै पनि कुरा मूल्यवान्‌ हुँदैन। जीवन नै छैन भने हाम्रो अस्तित्व पनि छैन। पुरातन इस्राएलका राजा सुलेमानले यस्तो लेखे: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) हामी मऱ्‍यौं भने, हामीले आफूसित भएका सबथोक छोडेर जानैपर्ने हुन्छ। त्यसकारण, जीवन सुरक्षित राख्ने कुनै कुरा प्राप्त गर्नु नै हाम्रो सबैभन्दा ठूलो आवश्‍यकता हो। तर केले हाम्रो जीवन सुरक्षित राख्नेछ?

केले हाम्रो जीवन सुरक्षित राख्नेछ?

“रूपैयाँपैसा एउटा आश्रय हो” भनी राजा सुलेमानले बताए। (उपदेशक ७:१२, नयाँ संशोधित संस्करण) प्रशस्त पैसा छ भने, हामी खाने कुरा किन्‍न सक्छौं र आरामदायी घरमा बस्न सक्छौं। रूपैयाँपैसा छ भने, हामी टाढाटाढा घुम्न जान पनि सक्छौं। वृद्धावस्था वा अशक्‍तताले गर्दा काम गर्न नसक्दा यसले हाम्रा आवश्‍यकताहरू पूरा गर्नसक्छ। रूपैयाँपैसाका धेरै फाइदाहरू छन्‌। तथापि, रूपैयाँपैसाले हाम्रो जीवन सुरक्षित राख्न सक्दैन। प्रेरित पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “यस वर्त्तमान संसारका धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर . . . परमेश्‍वरमाथिनै आशा राखून्‌।” (१ तिमोथी ६:१७) संसारभरिका रूपैयाँपैसाले समेत हाम्रोलागि जीवन किनिदिन सक्दैन।

हितोशीको अनुभवलाई विचार गर्नुहोस्‌। गरिब परिवारमा जन्मेकोले हितोशीसित धनी हुने उत्कट चाहना थियो। तिनी पैसाको शक्‍तिमा यत्ति साह्रो विश्‍वास गर्थे कि तिनको विचारमा पैसाले मानिसको माया वा वफादारीसमेत किन्‍न सकिन्छ। त्यसपछि हितोशीको घरमा एक जना मानिस आए र तपाईंकै निम्ति येशू ख्रीष्ट मर्नुभएको हो भन्‍ने कुरा के तपाईंलाई थाह छ भनेर सोधे। यो प्रश्‍नले हितोशीको कौतुहलता जाग्यो किनकि तिनलाई म जस्तोको निम्ति पनि कोही मर्न चाहला र जस्तो लागेको थियो। तिनी बाइबल आधारित जनभाषण सुन्‍न गए र ‘आँखा निर्मल राख्नुहोस्‌’ भन्‍ने सल्लाह सुन्दा छक्क परे। “निर्मल” आँखा दूरदर्शी हुन्छ र यसले आध्यात्मिक कुरामा ध्यान केन्द्रित गर्छ भनी वक्‍ताले व्याख्या गरे। (लूका ११:३४) रूपैयाँपैसा कमाउन दौडधूप गर्नुको साटो, हितोशीले जीवनमा आध्यात्मिक कुराहरूलाई महत्त्व दिन थाले।

भौतिक सरसम्पत्तिले हामीलाई केही हदसम्म स्थिरता र सुरक्षा प्रदान गर्नसक्छ। आफूसँग प्रशस्त छ भने दैनिक जीवनका आवश्‍यकताहरू पूरा गर्न चिन्ता गर्नुपर्दैन। मनपर्दो टोलमा भव्य घर हुँदा हामी सबै कुराले भरिपूर्ण महसुस गर्छौं। विभिन्‍न स्टाइलका पहिरन र चिल्लो राम्रो गाडी छ भने अरूको तारिफ कमाउन सक्छौं।

“आफ्नो सारा परिश्रमको . . . उपभोग गर्नुनै” आशिष्‌ हो। (उपदेशक ३:१३) अनि आफूसित प्रशस्तै छ भने त झन्‌ हाम्रा प्रियजनहरूले पनि ‘खान, पिउन र आनन्द उपभोग गर्न सक्छन्‌।’ तथापि, भौतिक साधनहरूको महत्त्व क्षणभरको हुन्छ। लोभी नहुन चेताउनी दिंदै येशू ख्रीष्टले यसो भन्‍नुभयो: “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५-२१) सरसम्पत्तिको मात्रा वा मूल्य जतिसुकै होस्‌, त्यसले हामीलाई जीवनको ग्यारेन्टी दिन सक्दैन।

उदाहरणका लागि, लीजको विवाह भौतिक तवरमा सम्पन्‍न व्यक्‍तिसित भएको थियो। तिनी यसो भन्छिन्‌: “हाम्रो सुन्दर घर थियो, दुइटा गाडी थिए र हाम्रो आर्थिक अवस्था राम्रो भएको कारण हामी संसारमा पैसाले किन्‍न सकिने हरेक चीजको आनन्द उठाउन सक्थ्यौं। . . . यो सुन्दा अनौठो लाग्ला, तर मलाई सधैं रूपैयाँपैसाको चिन्ता हुन्थ्यो।” तिनी अझ बताउँछिन्‌: “हामीले गुमाउन सक्ने कुरा थुप्रै थियो। आफूसित जत्ति धेरै छ, त्यत्ति नै असुरक्षित महसुस हुँदो रहेछ।”

थुप्रैले ख्याति र प्रधानतालाई पनि एकदमै महत्त्वपूर्ण ठानेका छन्‌ किनकि तिनीहरूले प्रशंसा र आदर ल्याउनसक्छ। आजको संसारमा सबैले ईर्ष्या गर्ने सफलता नै सफल पेसा हो। कुनै कुरामा विशेष दक्षता वा सीप हासिल गर्दा त्यसले राम्रो नाउँ कमाउन मदत गर्छ। अरूले हाम्रो प्रशंसा गर्नसक्छ, हाम्रो विचारको निकै कदर गर्नसक्छ र हाम्रो अनुमोदन पाउँन निकै व्याकुल हुनसक्छ। यी सबै आनन्ददायी र सन्तोषप्रद हुनसक्छन्‌। तथापि, अन्तमा यी सबै हराउँछन्‌। सुलेमानसित एक जना राजासित हुने महिमा र शक्‍ति, सब थोक थियो, तैपनि तिनले यसरी विलाप गरे: “बुद्धिमान्‌ मानिसको पनि मूर्खको झैं धेरै सम्झना रहँदैन। . . . दुवै जना बिर्सिइनेछन्‌।” (उपदेशक २:१६, नयाँ संशोधित संस्करण) ख्याति र प्रधानताले जीवन दिन सक्दैन।

चेलो नाउँ गरेका एक शिल्पकारले ख्यातिभन्दा पनि बहुमूल्य एक थोकको निकै कदर गर्न सिके। प्रतिभाशाली भएकाले तिनी आफ्नो सीप तिखार्न स्कूलमा भर्ना हुन योग्यको भए। केही समयमै प्रेस र समालोचकहरूले तिनको सीपको प्रशंसा गरे। युरोपका प्रमुख शहरहरूमा तिनका थुप्रै शिल्पकला प्रदर्शनमा राखिए। चेलो यसो भन्छ: “एक समय, शिल्पकला नै मेरो जीवनको सबैभन्दा मूल्यवान्‌ कुरा थियो भनेर मैले स्वीकार्नैपर्छ। तथापि, यही पेसा अँगाल्ने हो भने, एकै चोटिमा दुई जना मालिकको सेवा गर्न खोजिरहेको हुनेछु भनेर मैले बुझें। (मत्ती ६:२४) मैले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा त परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु हो भनेर म विश्‍वस्त भएँ। त्यसकारण, मैले शिल्पकारको पेसा त्याग्ने व्यक्‍तिगत निर्णय गरें।”

सबैभन्दा मूल्यवान्‌ कुरा के हो?

जीवन छैन भने कुनै पनि कुराको अर्थ नरहने वा मूल्यवान्‌ नहुने भएकोले हामीले प्राप्त गर्नसक्ने कुन कुराले चाहिं हामीलाई जीवनको ग्यारेन्टी दिन्छ? सबै जीवनको मूल यहोवा परमेश्‍वर हुनुहुन्छ। (भजन ३६:९) साँच्चै, “हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं।” (प्रेरित १७:२८) आफूलाई मन पर्ने व्यक्‍तिहरूलाई उहाँ अनन्त जीवन दिनुहुन्छ। (रोमी ६:२३) यो उपहार प्राप्त गर्न योग्यको हुन हामीले के गर्नैपर्छ?

अनन्त जीवन प्राप्त गर्नु यहोवासित घनिष्ठ सम्बन्ध कायम राख्नुमा भर पर्छ। त्यसकारण, उहाँको अनुमोदन प्राप्त गर्नु हामीले प्राप्त गर्न सक्ने कुनै पनि कुराभन्दा धेरै मूल्यवान्‌ छ। उहाँको अनुमोदन पायौं भने, साँचो र चिरकालीन आनन्दको प्रत्याशा पाउछौं। तथापि, परमेश्‍वरको अनुमोदनबिना हामीले अनन्त विनाश भोग्नेछौं। स्पष्ट छ, यहोवासित राम्रो सम्बन्ध कायम गर्न मदत गर्ने जुनसुकै साधनको महत्त्व असीम छ।

हामीले के गर्नैपर्छ

हाम्रो सफलता हामीले आर्जन गर्ने ज्ञानमा निर्भर छ। सही ज्ञानको स्रोत परमेश्‍वरको वचन, बाइबल हो। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन हामीले के गर्नैपर्छ, त्यो यसले मात्रै बताउँछ। त्यसकारण, हामीले धर्मशास्त्र होसियारीसाथ अध्ययन गर्नुपर्छ। यहोवा परमेश्‍वर र येशू ख्रीष्टबारे हामीले सकेजति सबथोक सिक्न लगनशील प्रयास गऱ्‍यौं भने, ‘अनन्त जीवनतर्फ लैजाने ज्ञान’ प्राप्त गर्नेछौं। (यूहन्‍ना १७:३) यस्तो ज्ञान कदर गर्नुपर्ने सम्पत्ति हो!—हितोपदेश २:१-५.

परमेश्‍वरको वचनबाट पाएको ज्ञानले हामीलाई अर्को कदम चाल्न मदत गर्नेछ अर्थात्‌ येशू ख्रीष्टमा विश्‍वास गर्न लगाउनेछ। परमेश्‍वरतर्फ आउन चाहनेहरू सबै येशूमार्फत आउनुपर्छ भनेर यहोवाले आज्ञा गर्नुभएको छ। (यूहन्‍ना १४:६) वास्तवमा, “नता अरू कसैबाट मुक्‍ति छ।” (प्रेरित ४:१२) हाम्रो बचावट “चाँदी अथवा सुन[मा]” होइन ‘तर ख्रीष्टको अनमोल रगतमा’ निर्भर छ। (१ पत्रुस १:१८, १९) येशूको शिक्षामा विश्‍वास गरेर अनि उहाँको उदाहरण अनुसरण गरेर हामीले उहाँमाथिको हाम्रो भरोसा प्रकट गर्नैपर्छ। (हिब्रू १२:१-३; १ पत्रुस २:२१) अनि उहाँको यो बलिदान अति अनमोल छ! येशूको बलिदानले गर्दा हुने फाइदाहरू प्राप्त हुनुमा नै सबै मानिसजातिको अनन्तकालीन भविष्य अडेको छ। ती फाइदाहरू पूर्णतया प्राप्त भएपछि हामीले अनन्त जीवन जस्तो साँच्चै अनमोल उपहार पाउनेछौं।—यूहन्‍ना ३:१६.

येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) यहोवालाई प्रेम गर्नुको अर्थ “उहाँका आज्ञा पालन गर्नु” हो। (१ यूहन्‍ना ५:३) उहाँका आज्ञाहरू पालन गर्नुमा यस संसारबाट अलग रहनु, बलियो नैतिक आचरण कायम राख्नु र वफादार भई उहाँको राज्यलाई समर्थन गर्नु आदि कुराहरू समावेश छन्‌। यसरी हामी मृत्युको साटो “जीवननै रो[ज्छौं]।” (व्यवस्था ३०:१९) हामी ‘परमेश्‍वरको नजिक आयौं भने उहाँ हामीहरूको नजिक आउनुहुनेछ।’—याकूब ४:८.

परमेश्‍वरको अनुमोदन पाउनु, संसारका सबै सरसम्पत्तिहरू भन्दा धेरै मूल्यवान्‌ छ। परमेश्‍वरको अनुमोदन पाउनेहरू पृथ्वीका सबैभन्दा धनी व्यक्‍तिहरू हुन्‌! त्यसैकारण आउनुहोस्‌, हामी साँच्चै मूल्यवान्‌ सम्पत्ति अर्थात्‌ यहोवाको अनुमोदन प्राप्त गर्ने प्रयास गरौं। हामी सबैले प्रेरित पावलको यो सल्लाह पूरापूर पालन गरौं: “धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग। विश्‍वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख।”—१ तिमोथी ६:११, १२.

[पृष्ठ २१-मा भएका चित्रहरू]

तपाईं केलाई सबैभन्दा मूल्यवान्‌ ठान्‍नुहुन्छ? रूपैयाँपैसा, भौतिक सरसम्पत्ति, ख्याति अथवा अरू नै कुरा?

[पृष्ठ २३-मा भएको चित्र]

हामीले होसियारीसाथ धर्मशास्त्रको अध्ययन गर्नु आवश्‍यक छ