सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ?

तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ?

तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ?

“आनन्द मनाउनु . . . किनकि [त्यो] . . . हराएको थियो, पाइयो।”—लूका १५:३२.

१, २. (क) केही युवाहरूले मसीही सच्चाइप्रति कस्तो प्रतिक्रिया देखाएका छन्‌? (ख) त्यस्तो परिस्थिति सामना गरिरहेका आमाबाबु तथा छोराछोरीले कस्तो महसुस गर्नसक्छन्‌?

 “म सच्चाइ छोड्‌दैछु!” आफ्ना छोराछोरीलाई मसीही मार्गमा हुर्काउन कडा मेहनत गरिरहेका आमाबाबुलाई यस्ता शब्दहरू सुन्‍नुपर्दा साँच्चै छाँगोबाट खसेझैं हुन्छ! अन्य कतिपय युवाहरूचाहिं आफ्नो मनसाय स्पष्ट नबताई ‘तर्केर जान्छन्‌।’ (हिब्रू २:१) यस्ता थुप्रै व्यक्‍ति येशूको दृष्टान्तको उडन्ता पुत्रसँग मिल्दोजुल्दा छन्‌, जो आफ्नो पिताको घर छोडेर टाढा देश गए र आफूसँग भएका सबै सरसम्पत्ति उडाए।—लूका १५:११-१६.

प्रायजसो यहोवाका साक्षीहरूसित यस्तो समस्या नभए तापनि, यस्तो समस्या भएकाहरूलाई जस्तोसुकै सान्त्वना दिए तापनि त्यसले तिनीहरूको वेदना पूर्णतया हटाउन सक्दैन। अनि बरालिएका युवा जनहरू आफैले अनुभव गर्ने दुःख त अझ छँदैछ। आफ्नो अन्तस्करणले तिनलाई घोच्नसक्छ। येशूको दृष्टान्तमा उडन्ता पुत्रको आखिरमा ‘होश खुल्यो’ र तिनको पिता पनि आनन्दित भए। आमाबाबु र मण्डलीका अन्य सदस्यहरूले उडन्ता छोरा वा छोरीलाई “होश[मा]” आउन कसरी मदत गर्नसक्छन्‌?—लूका १५:१७.

कसैकसैले किन सच्चाइ छोड्‌ने निर्णय गर्छन्‌

३. युवाहरूले मसीही मण्डली छोड्‌ने निर्णय गर्नुका केही कारणहरू के हुन्‌?

मसीही मण्डलीमा आनन्दित भएर यहोवाको सेवा गर्ने हजारौं युवाहरू छन्‌। त्यसोभए, किन कसैकसैले सच्चाइ छोड्‌छन्‌ त? तिनीहरूलाई आफूले संसारका कतिपय कुराहरू गुमाइरहेको छु जस्तो लाग्नसक्छ। (२ तिमोथी ४:१०) वा तिनीहरूलाई यहोवाको सुरक्षित गोठ झ्यालखाना जस्तो लाग्नसक्छ। आत्मग्लानि, विपरीत लिंगप्रति साह्रै आकर्षित हुनु वा आफ्ना साथीहरूले स्वीकारोस्‌ भन्‍नेजस्ता चाहनाले गर्दा पनि युवाहरू यहोवाको बगालदेखि तर्केर जानसक्छन्‌। कुनै युवाले आफ्ना आमाबाबुको वा अन्य कुनै मसीहीको कपट देखेर पनि यहोवाको सेवा गर्न छोड्‌नसक्छ।

४. युवाहरू बरालिनुको मुख्य कारण अक्सर के हुन्छ?

केटाकेटीको विद्रोही मनोवृत्ति र बानीबेहोरा साधारणतया आध्यात्मिक कमजोरीको लक्षण हुन्‌। यसले तिनको मनको कुरा प्रकट गर्छ। (हितोपदेश १५:१३; मत्ती १२:३४) जुनसुकै कारणले गर्दा युवाहरू बरालिएको भए तापनि त्यसको मुख्य कारणचाहिं तिनले “सत्यको ज्ञान” नलिनु हो। (२ तिमोथी ३:७) झारा टार्ने किसिमले यहोवाको उपासना गर्नुको साटो युवाहरूले उहाँसँग घनिष्ठ सम्बन्ध विकास गर्नु महत्त्वपूर्ण छ। कसो गर्दा तिनीहरूले घनिष्ठ सम्बन्ध विकास गर्न मदत पाउँछन्‌?

परमेश्‍वरसँग नजिक हुनुहोस्‌

५. परमेश्‍वरसँग व्यक्‍तिगत सम्बन्ध विकास गर्नको लागि जवान व्यक्‍तिलाई कुन कुरा महत्त्वपूर्ण छ?

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” भनी चेला याकूबले लेखे। (याकूब ४:८) यसो गर्न जवान व्यक्‍तिलाई परमेश्‍वरको वचनको तृष्णा जगाउन मदत गर्नुपर्छ। (भजन ३४:८) सुरुसुरुमा त तिनलाई “दूध” अर्थात्‌ बाइबलको आधारभूत शिक्षा चाहिन्छ। तर जब तिनलाई परमेश्‍वरको वचन मनपर्दै जान थाल्छ र “खँदिलो खानेकुरा” अर्थात्‌ गहिरो आध्यात्मिक जानकारी बिस्तारै रुचाउन थाल्छ तब तिनले आध्यात्मिक परिपक्वता हासिल गर्नेछ। (हिब्रू ५:११-१४; भजन १:२) सांसारिक जीवनशैलीमा आफू चुर्लुम्म डुबिसकेको स्वीकार्ने एक जना युवकले आध्यात्मिक मूल्यमान्यताको कदर गर्न सिके। यस्तो परिवर्तन गर्न तिनलाई कुन कुराले मदत गऱ्‍यो? सम्पूर्ण बाइबल पढ्‌ने सल्लाह पाएपछि तिनले नियमित तवरमा बाइबल पढ्‌ने तालिकालाई कायमै राखे। हो, यहोवासँग घनिष्ठ सम्बन्ध विकास गर्न परमेश्‍वरको वचन पढ्‌नु अत्यवाश्‍यक छ।

६, ७. आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी परमेश्‍वरको वचनलाई मन पराउन मदत गर्नसक्छन्‌?

आमाबाबुले आफ्ना छोराछोरीलाई परमेश्‍वरको वचन मन पराउन मदत गर्नु एकदमै महत्त्वपूर्ण छ! नियमित पारिवारिक अध्ययनको बावजूद एक जना किशोरी हुल्याहाहरूसँग संगत गर्न थालेछिन्‌। आफ्नो पारिवारिक अध्ययनको सन्दर्भमा तिनी यस्तो सम्झना गर्छिन्‌: “बुबाले प्रश्‍न गर्नुहुँदा म उहाँको अनुहारै नहेरी किताबैबाट उत्तर दिन्थें।” बुद्धिमानी आमाबाबुले पारिवारिक अध्ययनको दौडान विषयवस्तुलाई मात्र ढाक्नुको सट्टा शिक्षण कला प्रयोग गर्छन्‌। (२ तिमोथी ४:२) युवाजनले अध्ययनबाट आनन्द उठाएको चाहन्छौं भने, तिनलाई पनि अध्ययनमा समावेश भएको महसुस गराउनुपर्छ। तिनको दृष्टिकोण बुझ्ने प्रश्‍नहरू गरेर तिनलाई आफ्ना विचारहरू व्यक्‍त गर्न दिए कसो होला? छलफल गरिएका कुराहरूलाई आफ्नो जीवनमा व्यावहारिक ढंगमा उतार्न छोराछोरीलाई प्रोत्साहन दिनुहोस्‌। a

यसबाहेक, धर्मशास्त्रीय छलफललाई जीवन्त बनाउनुहोस्‌। उपयुक्‍त भएमा केटाकेटीलाई बाइबल घटनाहरू अभिनय गर्न लगाउनुहोस्‌। छलफल गरिएको घटना भएको ठाउँ र त्यस ठाउँका विशेषताहरू कल्पना गर्न उनीहरूलाई मदत गर्नुहोस्‌। यसको लागि नक्सा तथा चार्टहरू मदतकारी हुनसक्छन्‌। हो, अलिकति कल्पना शक्‍ति चलाएर पारिवारिक अध्ययन गर्दा त्यो जीवन्त र रमाइलो हुनसक्छ। आमाबाबुले पनि यहोवासँगको आफ्नो सम्बन्ध केलाउनु बेस हुन्छ। आमाबाबु आफै यहोवासँग नजिक हुँदा उनीहरूले आफ्ना छोराछोरीलाई त्यसै गरी नजिक हुन मदत दिनसक्छन्‌।—व्यवस्था ६:५-७.

८. कसरी प्रार्थनाले परमेश्‍वरसँग नजिक हुन मदत गर्नसक्छ?

प्रार्थनाले पनि परमेश्‍वरसँग नजिक हुन मदत गर्छ। एक जना १४/१५ वर्षकी किशोरीले मसीही मार्ग र अर्कै धर्म मान्‍ने साथीहरूबीच कसलाई छान्‍ने भनेर दोधारमा परेको महसुस गरिन्‌। (याकूब ४:४) तिनले के गरिन्‌? तिनी यसो भन्छिन्‌: “जिन्दगीमा पहिलो चोटि मैले यहोवालाई आफ्नो मन खोलेर प्रार्थना गरें।” मण्डलीमै आफ्नो मनको कुरा बुझ्ने एक जना साथी भेट्‌टाउँदा तिनले आफ्नो प्रार्थनाको जवाफ पाएको बताइन्‌। यहोवाले तिनलाई डोऱ्‍याइ रहनुभएको छ भन्‍ने कुरा महसुस गर्दै तिनले परमेश्‍वरसँग व्यक्‍तिगत सम्बन्ध विकास गर्न थालिन्‌। आमाबाबुले आफ्नो प्रार्थनाको गुणस्तरमा उन्‍नति गरेर छोराछोरीलाई मदत गर्नसक्छन्‌। पारिवारिक रूपमा प्रार्थना गर्दा आमाबाबुले आफ्नो मनको कुरा पोख्नसक्छन्‌ ताकि छोराछोरीले आमाबाबु र यहोवासँगको व्यक्‍तिगत सम्बन्ध महसुस गर्न सकोस्‌।

धीरजी तर दृढ हुनुहोस्‌

९, १०. आफूखुसी गर्ने इस्राएलीहरूसँग धीरजी भएर यहोवाले कस्तो उदाहरण बसाल्नुभयो?

कुनै पनि युवा तर्केर जान थाल्दा, उसले आफूलाई अरूबाट अलग राख्न खोज्छ र आमाबाबुले ऊसँग आध्यात्मिक कुराबारे छलफल गर्न जस्तोसुकै प्रयास गरे तापनि त्यसको विरोध गर्नसक्छ। त्यस्तो कठिन परिस्थितिमा आमाबाबुले के गर्नसक्छन्‌? यहोवाले पुरातन इस्राएललाई के गर्नुभयो विचार गर्नुहोस्‌। उहाँले आफूखुसी गर्ने “हठी” इस्राएलीहरूलाई तिरस्कार गर्नुअघि झन्डै ९०० वर्षसम्म तिनीहरूलाई सहनुभयो। (प्रस्थान ३४:९; २ इतिहास ३६:१७-२१; रोमी १०:२१) बारम्बार ‘उहाँको परीक्षा गरे’ तापनि यहोवाले तिनीहरूसित “दयामा पूर्ण” भएर व्यवहार गर्नुभयो। “धेरैपल्ट उहाँले आफ्नो रीस मार्दै रहनुभयो, र उहाँले आफ्नो सबै क्रोध पोखाउनुभएन।” (भजन ७८:३८-४२) तिनीहरूसँगको व्यवहारमा परमेश्‍वरलाई दोष लगाउने कुनै ठाउँ छैन। मायालु आमाबाबुले यहोवाको अनुकरण गर्छन्‌ र आफ्ना छोराछोरीले भन्‍ने बित्तिकै उन्‍नति नगरे तापनि धीरजी हुन्छन्‌।

१० धीरजी हुनुको अर्थ “लामो समयसम्म सहनु” मात्र होइन। यसले अलि खटपट भइरहेको सम्बन्धलाई अब केही सुधार गर्न सकिंदैन भनी पूरै आशा नमार्नुलाई पनि बुझाउँछ। यहोवाले धीरजी हुने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो। आफै अग्रसर भएर उहाँले सन्देशवाहकहरूमार्फत “घरिघरि” इस्राएलीहरूलाई सन्देश पठाउनुभयो। “तिनीहरूले उहाँको दूतहरूलाई हंसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा” गर्न छाडेनन्‌ तरैपनि उहाँले ‘आफ्नो प्रजालाई दया गर्नुभयो।’ (२ इतिहास ३६:१५, १६) इस्राएलीहरूलाई उहाँले यस्तो आग्रह गर्नुभयो: “अब तिमीहरू हरेक आफ्नो खराब चाल र कुकर्मदेखि फर्क।” (यर्मिया २५:४, ५) यद्यपि, यहोवाले आफ्ना धार्मिक सिद्धान्तहरूमाथि चाहिं सम्झौता गर्नुभएन। इस्राएलीहरूलाई परमेश्‍वर र उहाँका मार्गहरूतिर ‘फर्कन’ निर्देशन दिइयो।

११. तर्केर गएका छोराछोरीसँग आमाबाबु कसरी धीरजी तर दृढ हुनसक्छन्‌?

११ आमाबाबुले छोराछोरी तर्केर जाँदा चाँडै हरेस नखाएर यहोवाको धीरजको अनुकरण गर्नसक्छन्‌। हरेस नखाई तिनीहरू कुराकानीको ढोका खुला राख्न वा पुनः कुराकानी गर्न अग्रसर हुनसक्छन्‌। धार्मिक स्तरहरू पालन गर्दै तिनीहरूले “घरिघरि” आफ्ना छोराछोरीलाई सत्यको मार्गमा फर्कन अपिल गर्नसक्छन्‌।

नाबालिग छोराछोरी बहिष्कृत हुँदा

१२. आमाबाबुसँगै बस्ने नाबालिग मण्डलीबाट बहिष्कृत हुँदा, ऊप्रति आमाबाबुको जिम्मेवारी के हुन्छ?

१२ आमाबाबुसँगै बस्ने नाबालिग कुनै गम्भीर पापमा मुछिन्छ र तिनको अपश्‍चात्तापी मनोवृत्तिको कारण मण्डलीबाट बहिष्कृत हुँदा के गर्ने? ऊ आमाबाबुसँगै बस्ने भएकोले तिनीहरूले अझै पनि उसलाई परमेश्‍वरको वचनअनुरूप निर्देशन र अनुशासन दिइरहनुपर्छ। यो कसरी गर्न सकिन्छ?—हितोपदेश ६:२०-२२; २९:१७.

१३. व्यक्‍तिगत बाइबल अध्ययनको दौडान आमाबाबुले कसरी आफ्नो गल्ती गर्ने सन्तानको हृदयसम्म पुग्ने कोसिस गर्नसक्छन्‌?

१३ सम्भव भए अथवा साँच्चै भन्‍ने हो भने, त्यस्तो निर्देशन र अनुशासन व्यक्‍तिगत बाइबल अध्ययनको दौडान दिनु सबैभन्दा बेस हुनेछ। छोराछोरीको कठोर मनोवृत्तिपछाडि र तिनको हृदयमा के लुकेको छ भनी बुझ्ने कोसिस गर्नुपर्छ। ऊ कुन हदसम्म आध्यात्मिक तवरमा बिरामी भएको छ? (हितोपदेश २०:५) के तिनको हृदयको कोमल भागसम्म पुग्न सकिन्छ? कुन शास्त्रपदहरू प्रभावकारी ढंगमा प्रयोग गर्न सकिन्छ? प्रेरित पावल यस्तो आश्‍वासन दिन्छन्‌: “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) हो, आमाबाबुले आफ्ना छोराछोरीलाई गलत काममा नलाग्नू भनी भन्‍नुबाहेक अरू धेरै गर्नसक्छन्‌। तिनीहरूले छोराछोरीलाई निको पार्ने काम सुरु गर्न र कायमै राख्नसक्छन्‌।

१४. गल्ती गर्ने युवाजनले यहोवासँग फेरि सम्बन्ध गाँस्न चाल्नुपर्ने पहिलो कदम के हो र आमाबाबुले आफ्ना छोराछोरीलाई त्यो कदम चाल्न कसरी मदत गर्नसक्छन्‌?

१४ गल्ती गर्ने युवाजनले यहोवासँग फेरि सम्बन्ध गाँस्नुपर्छ। यसको निम्ति तिनले सबैभन्दा पहिला ‘पश्‍चात्ताप गरेर फर्कनुपर्छ।’ (प्रेरित ३:१९; यशैया ५५:६, ७) आफूसँगै घरमा बस्ने छोराछोरीलाई पश्‍चात्ताप गर्न मदत गर्दा आमाबाबुले ‘नम्रतासाथ विरोध गर्नेहरूलाई सुधार्नुपर्छ।’ (२ तिमोथी २:२४-२६, नयाँ संशोधित संस्करण) बाइबलीय अर्थमा भन्‍ने हो भने, तिनीहरूलाई ‘हप्काउनुपर्छ।’ ‘हप्काउनु’ भनी अनुवाद गरिएको युनानी शब्दलाई “चित्तबुझ्दो प्रमाण दिनु” भनी पनि अनुवाद गर्न सकिन्छ। (प्रकाश ३:१९; यूहन्‍ना १६:८) अतः हप्काउनुमा छोराछोरीलाई तिनी हिंडिरहेको मार्ग गलत छ भनी प्रशस्त प्रमाणहरूद्वारा देखाउनु पनि हो। हो, त्यसो गर्नु सजिलो छैन। तिनले गरेको काम गलत हो भनी विश्‍वस्त गर्न सम्भव भएसम्म उपयुक्‍त धर्मशास्त्रीय तरिकाहरू चलाएर आमाबाबु तिनको हृदयसम्म पुग्नसक्छन्‌। तिनीहरूले उसलाई “खराबीलाई घृणा, भलाइलाई प्रेम” गर्नुको महत्त्व बुझ्न पनि मदत गर्नुपर्छ। (आमोस ५:१५; नयाँ संशोधित संस्करण) यसो गर्दा ऊ सायद “चेतना पाएर दियाबलको पासोबाट उम्कनेछन्‌।”

१५. गल्ती गर्ने व्यक्‍ति र यहोवाबीचको सम्बन्ध सुधार्न प्रार्थनाले कस्तो भूमिका खेल्छ?

१५ यहोवासँग फेरि सम्बन्ध गाँस्न प्रार्थना गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। निस्सन्देह, एक समय मसीही मण्डलीसँग संगत गर्ने व्यक्‍तिले पश्‍चात्तापी भावविना सरासर गलत काम गरिनै रहन्छ भने त्यस विषयमा कसैले “बिन्ती” गरिदिनु मिल्दैन। (१ यूहन्‍ना ५:१६, १७; यर्मिया ७:१६-२०; हिब्रू १०:२६, २७) तैपनि, बुद्धिमानीसाथ यस्तो परिस्थितिको सामना गर्न सकूँ भनेर आमाबाबुले यहोवालाई प्रार्थना गर्नसक्छन्‌। (याकूब १:५) बहिष्कृत युवाले पश्‍चात्तापी मनोभाव देखाउँछ तर तिनीसँग ‘परमेश्‍वरको सामुन्‍ने जाने साहस’ छैन भने, तिनको पाप क्षमा हुने कुनै आधार छ भने त्यसैअनुसार होस्‌ भनी आमाबाबुले यहोवालाई प्रार्थना गर्नसक्छन्‌। (१ यूहन्‍ना ३:२१, नयाँ संशोधित संस्करण) यस्ता प्रार्थनाहरू सुनेर यहोवा दयालु परमेश्‍वर हुनुहुन्छ भनी छोराछोरीले बुझ्न सक्नुपर्छ। bप्रस्थान ३४:६, ७; याकूब ५:१६.

१६. मण्डलीबाट बहिष्कृत भएका नाबालिगको परिवारलाई हामी कसरी मदत गर्नसक्छौं?

१६ बप्तिस्माप्राप्त जवानलाई बहिष्कार गरियो भने मण्डलीका सदस्यहरू “त्यसको सङ्‌गत नगर्नू” भन्‍ने सल्लाहअनुसार चल्नेछन्‌। (१ कोरिन्थी ५:११; २ यूहन्‍ना १०, ११) यसले तिनलाई ‘होसमा आउन’ र परमेश्‍वरको सुरक्षित गोठमा फर्कन मदत गर्नसक्छ। (लूका १५:१७) तथापि, तिनी फर्कोस्‌ या नफर्कोस्‌, मण्डलीका सदस्यहरूले बहिष्कृत जवानको परिवारलाई प्रोत्साहन दिनसक्छन्‌। हामी सबैले “भातृ-प्रेम” देखाउने अवसर खोज्नसक्छौं र तिनीहरूप्रति “कोमल हृदयका” हुनसक्छौं।—१ पत्रुस ३:८, ९.

अरूले कसरी मदत गर्नसक्छन्‌

१७. तर्केर गएका जवानहरूलाई मदत गर्दा मण्डलीका सदस्यहरूले के कुरा मनमा राख्नुपर्छ?

१७ मसीही मण्डलीबाट बहिष्कृत नभएको तर विश्‍वासमा कमजोर भएको युवाजनबारे के भन्‍न सकिन्छ नि? “एउटा अंगलाई दुःख भयो भने, सबै अंगले यसैको साथसाथै दुःख भोग्छन्‌” भनी प्रेरित पावलले लेखे। (१ कोरिन्थी १२:२६) अरूहरूले यस्तो जवान व्यक्‍तिमाथि उत्कट चासो लिनसक्छन्‌। निस्सन्देह, होसियार हुनु पनि जरुरी छ किनभने आध्यात्मिक तवरमा कमजोर त्यस जवानले अरू जवान केटाकेटीमाथि प्रतिकूल असर पार्नसक्छ। (गलाती ५:७-९) एउटा मण्डलीमा, केही वयस्कहरूले आध्यात्मिक तवरमा कमजोर जवानहरूलाई मदत गर्ने मनसायले केही लोकप्रिय संगीत सँगै बजाउन तिनीहरूलाई आमन्त्रित गरे। ती युवाहरू खुसीसाथ त्यस कार्यक्रममा आएर रमाइलो गरे तर अन्ततः एकअर्कामा परेको प्रभावले गर्दा तिनीहरूले मण्डलीसँग संगत गर्नै छाडे। (१ कोरिन्थी १५:३३; यहूदा २२, २३) त्यस्तो आध्यात्मिक तवरमा बिरामी परेका जवानहरूलाई कुनै आध्यात्मिक निर्देशन नभएको जमघटले होइन तर आध्यात्मिक कुराहरूप्रति चासो जगाउने संगतिले मदत गर्नसक्छ। c

१८. येशूको दृष्टान्तमा उडन्ता पुत्रको बुबाले देखाएको मनोवृत्ति हामी कसरी अनुकरण गर्नसक्छौं?

१८ मण्डली छोडेर जाने युवा पुनः मण्डली वा सम्मेलनमा आउँदा तिनले कस्तो महसुस गर्छन्‌ विचार गर्नुहोस्‌। के हामीले येशूको दृष्टान्तमा उडन्ता पुत्रको बुबाले देखाएको जस्तो स्वागत गर्ने मनोवृत्ति प्रदर्शित गर्नुपर्दैन र? (लूका १५:१८-२०, २५-३२) मसीही मण्डली छोड्‌ने र पछि जिल्ला अधिवेशन धाउने एक जना किशोरले यसो भने: “मजस्तो मानिसलाई सबैले बेवास्ता गर्नेछन्‌ भन्ठानेको थिएँ तर भाइबहिनीहरू मलाई भेट्‌न आए र मलाई स्वागत गरे। म अत्यन्तै प्रभावित भएँ।” तिनले पुनः बाइबल अध्ययन गर्न थाले र पछि बप्तिस्मा लिए।

हरेस नखानुहोस्‌

१९, २०. हामीले किन उडन्ता छोरा वा छोरीप्रति सकारात्मक मनोवृत्ति राख्नुपर्छ?

१९ “उड़न्ता” छोरा वा छोरीलाई ‘होसमा ल्याउन’ धीरजको आवश्‍यकता पर्छ र यो आमाबाबु अनि अरूको निम्ति चुनौतीपूर्ण हुनसक्छ। तर हरेस नखानुहोस्‌। “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिनीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) यहोवा मानिसहरूले पश्‍चात्ताप गरेर बाँचेको चाहनुहुन्छ भनेर विश्‍वास गर्ने हामीसित धर्मशास्त्रीय आश्‍वासन छ। वास्तवमा भन्‍ने हो भने, उहाँसँग पुनः मिलाप गराउने प्रबन्धसमेत उहाँले मिलाइसक्नुभएको छ। (२ कोरिन्थी ५:१८, १९) उहाँले धीरज गर्नुभएको कारण लाखौं होसमा आएका छन्‌।—यशैया २:२, ३.

२० त्यसोभए, के आमाबाबुले आफ्नो उडन्ता छोरा वा छोरीको होस खोल्न सक्दो धर्मशास्त्रीय उपायहरू प्रयोग गर्नु पर्दैन र? यहोवाको अनुकरण गर्दै र धीरजी हुँदै आफ्नो छोराछोरीलाई यहोवातर्फ फर्कन मदत गर्नका लागि सकारात्मक कदमहरू चाल्नुहोस्‌। बाइबलका सिद्धान्तहरू बलियो गरी पक्रिनुहोस्‌ अनि प्रेम, बुद्धि र न्यायजस्ता परमेश्‍वरका गुणहरू प्रदर्शन गर्ने कोसिस गर्दै उहाँसँग प्रार्थनामार्फत मदत माग्नुहोस्‌। कठोर भएका थुप्रै विद्रोहीले जसरी यहोवाको निमन्त्रणा स्वीकारेर फर्के, त्यसरी नै तपाईंको उडन्ता छोरा वा छोरी पनि परमेश्‍वरको सुरक्षित बगालमा फर्कनसक्छन्‌।—लूका १५:६, ७.

[फुटनोटहरू]

a जवान व्यक्‍तिहरूलाई प्रभावकारी ढंगमा सिकाउने विषयमा थप जानकारीको निम्ति प्रहरीधरहरा, जुलाई १, १९९९ को पृष्ठ १३-१७ हेर्नुहोस्‌।

b बहिष्कृत नाबालिकको खातिर त्यस्ता प्रार्थनाहरू सार्वजनिक रूपमा मण्डलीका सभाहरूमा गरिंदैनन्‌ किनभने बहिष्कृत व्यक्‍तिको अवस्था सबैलाई थाह नहुनसक्छ।— प्रहरीधरहरा, (अंग्रेजी) अक्टोबर १५, १९७९ पृष्ठ ३१ हेर्नुहोस्‌।

c उपयुक्‍त सुझाउहरूका लागि जून २२, १९७२, पृष्ठ १३-१६ को अवेक!; अक्टोबर ८, १९९६, पृष्ठ २१-३ को ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

युवाजनहरूले मण्डली छोड्‌नुको मुख्य कारण के हुनसक्छ?

• यहोवासँग व्यक्‍तिगत सम्बन्ध विकास गर्न युवा जनहरूलाई कसरी मदत गर्न सकिन्छ?

• उडन्ता छोरा वा छोरीलाई मदत गर्दा आमाबाबु किन धीरजी तर दृढ हुनुपर्छ?

• उडन्ता युवा फर्कंदा मण्डलीकाहरूले कसरी मदत गर्नसक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

यहोवासँग घनिष्ठ सम्बन्ध विकास गर्न परमेश्‍वरको वचन पढ्‌नु अत्यावश्‍यक छ

[पृष्ठ १५-मा भएको चित्र]

आमाबाबुको हृदयस्पर्शी प्रार्थनाले छोराछोरीलाई आमाबाबु र यहोवाबीच नजिकको व्यक्‍तिगत सम्बन्ध महसुस गर्न मदत गर्नसक्छ

[पृष्ठ १७-मा भएको चित्र]

उडन्ता छोरा वा छोरी ‘होसमा’ फर्कंदा स्वागत गर्नुहोस्‌

[पृष्ठ १८-मा भएको चित्र]

आफ्ना छोराछोरीलाई यहोवातिर फर्कन मदत गर्न सकारात्मक कदम चाल्नुहोस्‌