सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं साँचो विश्‍वास पाउन सक्नुहुन्छ

तपाईं साँचो विश्‍वास पाउन सक्नुहुन्छ

तपाईं साँचो विश्‍वास पाउन सक्नुहुन्छ

सारा जेन १९ वर्षकी हुँदा तिनको पाठेघरमा क्यान्सर भएको पत्ता लाग्यो। शल्यक्रियापछि तिनले आराम महसुस गर्न थालिन्‌ र तिनी आफ्नो भविष्यबारे आशावादी भइन्‌। साँच्चै, तिनी यत्ति आशावादी भइन्‌ कि तिनले २० वर्षको हुँदा मग्नी गरिन्‌ र आफ्नो विवाहको लागि योजनाहरू बनाउन थालिन्‌। तर सोही वर्ष तिनलाई फेरि त्यही क्यान्सर रोगले सताउन थाल्यो र केही हप्तामै आफ्नो मृत्यु हुने कुरा तिनले थाह पाइन्‌। सारा जेनको जून २००० मा २१ वर्ष पनि नपुग्दै मृत्यु भयो।

अस्पतालमा सारा जेनलाई भेट्‌न जाने सबै मानिसहरू तिनको भविष्यबारे पूर्ण भरोसाका साथै परमेश्‍वर अनि उहाँको वचन बाइबलमाथि गहिरो विश्‍वास देखेर प्रभावित भए। तिनले सामना गरिरहेको अत्यन्तै दुःखद्‌ स्थितिको बावजूद तिनी पुनरुत्थानको आशा अर्थात्‌ आफ्ना सबै साथीहरूलाई भेट्‌न पाउने कुरामा विश्‍वस्त थिइन्‌। (यूहन्‍ना ५:२८, २९) तिनले यसो भनिन्‌, “म तपाईंहरू सबैलाई परमेश्‍वरको नयाँ संसारमा भेट्‌नेछु।”

कतिपयले त त्यस्तो प्रकारको विश्‍वासलाई भ्रम हो भनेर टार्न खोज्छन्‌। लुड्‌भिक केनेडीले यस्तो प्रश्‍न गरे, “मृत्युपछिको जीवन भनेको त असुरक्षित व्यक्‍तिहरूको विश्‍वास मात्रै हो, किनकि सास निस्केपछि मीठामीठा भोजन भएको र आनन्दै आनन्दले भरिएको हराभरा अदनको बगैंचामा तिनीहरूको आँखा खुल्नेछ अनि त्यहाँ आफूभन्दा अघि आएका र पछि आउनेहरूसँग तिनीहरूले आनन्दको क्षण बिताउन पाउने छन्‌।” तर यस भनाइप्रति असहमति प्रकट गर्दै हामी एउटा प्रश्‍न सोध्न चाहन्छौं। कुन बढी व्यावहारिक छ, केनेडीले भनेझैं “हाम्रो जीवन यति नै हो त्यसैले यसबाट अहिले नै पूरापूर लाभ उठाउनुपर्छ” भन्‍ने कुरामा विश्‍वास गर्ने कि परमेश्‍वर र पुनरुत्थानबारे उहाँको प्रतिज्ञामा विश्‍वास गर्ने? सारा जेनले पछिल्लो छनौट गरे। तिनले कसरी त्यस्तो विश्‍वास विकास गरिन्‌?

‘परमेश्‍वरलाई खोजून्‌ र भेट्टाउन्‌’

कसैमाथि विश्‍वास र भरोसा विकास गर्नको लागि तपाईंले तिनलाई चिन्‍नुका साथै तिनले कस्तो विचार र काम गर्छ सो थाह पाउनुपर्छ। यस प्रक्रियामा हृदय तथा मन दुवै समावेश हुन्छ। परमेश्‍वरमाथि साँचो विश्‍वास विकास गर्नु पनि त्यस्तै हो। तपाईंले उहाँलाई चिन्‍नुपर्छ, उहाँका गुण तथा व्यक्‍तित्वबारे सिक्नुपर्छ र उहाँले भन्‍नुभएका तथा गर्नुभएका काममा आफूलाई कत्तिको भरोसायोग्य अनि भरपर्दो प्रमाणित गर्नुभएको छ सो पत्ता लगाउनुपर्छ।—भजन ९:१०; १४५:१-२१.

कसैकसैलाई यो असम्भव लाग्ला। परमेश्‍वर साँच्चै हुनुभए तापनि उहाँ हामीदेखि धेरै टाढा र रहस्यमयी हुनुहुन्छ भनी तिनीहरू भन्लान्‌। शंकालु व्यक्‍तिले यस्तो प्रश्‍न गर्छन्‌, “सारा जेनजस्तो मसीहीको लागि परमेश्‍वर त्यति वास्तविक हुनुहुन्छ भने, हामी बाँकीसामु चाहिं उहाँ किन देखा पर्नुहुन्‍न?” तर के परमेश्‍वर साँच्चै एकदमै टाढा, भेट्टाउनै नसकिने ठाउँमा हुनुहुन्छ? समझदार व्यक्‍तिहरूले उहाँलाई ‘खोजून्‌ र भेट्टाउन्‌’ भनेर आवश्‍यक सबै कुरा ‘संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुहुने परमेश्‍वरले’ प्रबन्ध गर्नुभएको छ भन्‍ने कुरा प्रेरित पावलले एथेन्सका दार्शनिक तथा बौद्धिक वर्गलाई दिएको भाषणमा बताए। वास्तवमा, पावलले यसो भने: “उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।”—प्रेरित १७:२४-२७.

त्यसोभए, तपाईं कसरी ‘परमेश्‍वरलाई खोज्न र भेट्टाउन’ सक्नुहुन्छ? कसैकसैले आफू वरपरको ब्रह्‍माण्डमा भएका कुराहरूमा मात्र ध्यान दिएर पनि यसो गर्न सकेका छन्‌। ब्रह्‍माण्डलाई हेर्दा मात्र पनि थुप्रैले सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने प्रमाण पाएका छन्‌। a (भजन १९:१; यशैया ४०:२६; प्रेरित १४:१६, १७) तिनीहरूले पनि प्रेरित पावलले जस्तै महसुस गर्छन्‌ कि “[परमेश्‍वरको] अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन।”—रोमी १:२०; भजन १०४:२४.

तपाईंलाई बाइबल चाहिन्छ

तथापि, सृष्टिकर्तामाथि साँचो विश्‍वास विकास गर्न उहाँले प्रबन्ध गर्नुभएको एउटा अर्को कुरा पनि तपाईंलाई चाहिन्छ। त्यो के हो? बाइबल अर्थात्‌ परमेश्‍वरको प्रेरित वचन, जसमा उहाँले आफ्नो इच्छा र उद्देश्‍यहरू प्रकट गर्नुभएको छ। (२ तिमोथी ३:१६, १७) कसैले यसो भन्ला, “तर बाइबलमा कसरी विश्‍वास गर्ने किनभने यसलाई पछ्याउने दाबी गर्ने मानिसहरू नै असाध्यै नराम्रा कामहरूमा मुछिएका छन्‌?” हो, मसीहीजगत्‌को कपट, क्रूरता र अनैतिकताको असाध्यै नराम्रो रेकर्ड छ। तर व्यावहारिक व्यक्‍तिले, मसीहीजगत्‌ले बाइबलका सिद्धान्तहरू पछ्याएको ढोंग मात्र गर्छ भनेर थाह पाइहाल्छ।—मत्ती १५:८.

थुप्रै मानिसले परमेश्‍वरको उपासना गर्छु भनी दाबी गर्नेछन्‌ तर तिनीहरूले वास्तवमा “तिनीहरूलाई किन्‍नुभएको मालिकलाई समेत इन्कार” गर्नेछन्‌ भनी बाइबलमै चेताउनी दिइएको छ। “त्यसको कारणले सत्यको मार्गको बदनाम हुनेछ” भनी प्रेरित पत्रुसले भने। (२ पत्रुस २:१, २) येशूले तिनीहरू “अधर्म काम गर्ने[हरू] हो” र तिनीहरूको दुष्ट कामबाटै स्पष्ट चिन्‍न सकिन्छ भन्‍नुभयो। (मत्ती ७:१५-२३) मसीहीजगत्‌को नराम्रो रेकर्डको कारण परमेश्‍वरको वचनलाई तिरस्कार गर्नु त आफ्नो विश्‍वासीलो मित्रको पत्र खराब मानिसले ल्यायो भन्दैमा फ्याँक्नु बराबर हुन्छ।

परमेश्‍वरको वचनविना साँचो विश्‍वास विकास गर्नु असम्भव छ। साँच्चै भन्‍ने हो भने, बाइबलका पानाहरूद्वारा नै यहोवाले आफ्ना कुराहरू प्रस्तुत गर्नुहुन्छ। उहाँले पहिलादेखि उठेको प्रश्‍न जस्तै, किन उहाँले अहिलेसम्म दुःखकष्ट रहिरहन दिनुभएको र यस अवस्थाबारे उहाँले के गर्नुहुन्छ भनी जवाफ दिनुभएको छ। (भजन ११९:१०५; रोमी १५:४) सारा जेनले बाइबल, परमेश्‍वरको प्रेरित वचन हो भनी विश्‍वास गरिन्‌। (१ थिस्सलोनिकी २:१३; २ पत्रुस १:१९-२१) कसरी? तिनका आमाबाबुले सिकाएको कारणले मात्र तिनले विश्‍वास गरेकी होइनन्‌ तर तिनले इमानदारीसाथ बाइबल परमेश्‍वरले दिनुभएको अनुपम प्रकाश हो भन्‍ने प्रमाण खोजिन्‌। (रोमी १२:२) उदाहरणका लागि, तिनले बाइबलका सिद्धान्तअनुरूप जीवन बिताउने व्यक्‍तिहरूको जीवनमा यसले पारेको शक्‍तिशाली प्रभाव याद गरिन्‌। द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? b (बाइबल—परमेश्‍वरको वचन वा मानिसको?) जस्तो पुस्तकको सहायता लिएर तिनले बाइबल ईश्‍वरीय प्रेरणाद्वारा लेखिएको पुस्तक हो भनेर साबित गर्ने प्रशस्त प्रमाणहरू होसियारीसाथ केलाइन्‌।

“विश्‍वास सुनाइबाट, . . . आउँछ”

तथापि, बाइबल हुनु वा बाइबल प्रेरित वचन हो भनेर विश्‍वास गर्नु मात्र पर्याप्त छैन। “विश्‍वास सुनाइबाट, . . . आउँछ” भनी प्रेरित पावल लेख्छन्‌। (रोमी १०:१७) आफूसँग बाइबल हुनु-ले होइन तर बाइबलको कुरा सुन्दा विश्‍वास विकास हुन्छ। उहाँको वचन पढेर र अध्ययन गरेर तपाईं परमेश्‍वरले भन्‍नुभएको कुरा सुन्‍न सक्नुहुनेछ। केटाकेटीले समेत यो गर्नसक्छन्‌। तिमोथीलाई “बाल्यकालदेखि” तिनको आमा तथा बज्यैले “पवित्र लेखोटहरू” सिकाएका थिए भनी पावल भन्छन्‌। के यसको अर्थ तिनको दिमागमा खालि यी कुराहरू मात्र भरिदिएको थियो भन्‍न खोजिएको हो? होइन! तिमोथीलाई कुनै किसिमको जबरजस्ती वा छल गरिएको थिएन। तिनलाई आफूले सुनेको र पढेको कुरा “जानेर . . . लागिरह[न]” भनियो।—२ तिमोथी १:५; ३:१४, १५.

सारा जेन पनि यसरी नै विश्‍वस्त भइन्‌। प्रथम शताब्दीका बिरियावासीहरूले जस्तै तिनले पनि “हृदयमा ज्यादै तयारी भएर [तिनकी आमाबाबु र अन्य शिक्षकहरूबाट सिकेको] धर्मशास्त्र ग्रहण ग[रिन्‌]।” सानो बच्ची नै छँदा तिनले आफ्ना आमाबाबुले भनेको कुरामा पूरा विश्‍वास गरे। पछि हुर्कंदै जाँदा तिनले अन्धाधुन्ध आफूलाई सिकाइएको कुरामा विश्‍वास गरिनन्‌। तिनले सधैं “ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।”—प्रेरित १७:११.

तपाईं पनि साँचो विश्‍वास विकास गर्न सक्नुहुन्छ

तपाईंले पनि प्रेरित पावलले हिब्रू मसीहीहरूलाई लेखेको पत्रमा भनिएको विश्‍वास अर्थात्‌ साँचो विश्‍वास विकास गर्न सक्नुहुनेछ। तिनले त्यस्तो विश्‍वास “आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो” भने। (हिब्रू ११:१) त्यस्तो विश्‍वास राख्दा पुनरुत्थान गर्नुहुने परमेश्‍वरको प्रतिज्ञालगायत तपाईंका अन्य सबै आशाहरू साकार हुनेछन्‌ भनी तपाईं पूर्णतया विश्‍वस्त हुन सक्नुहुन्छ। त्यस्तो विश्‍वास गर्नु केवल मनको लड्डु घ्यूसित खानु मात्र होइन भनी विश्‍वस्त हुन सक्नुहुन्छ। यहोवाले आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुभएको छ भनी तपाईंले थाह पाउनुहुनेछ। (यहोशू २१:४५; २३:१४; यशैया ५५:१०, ११; हिब्रू ६:१८) परमेश्‍वरको प्रतिज्ञा गरिएको नयाँ संसार अहिल्यै साँच्चै आइसके जस्तै गरी तपाईंलाई वास्तविक लाग्नेछ। (२ पत्रुस ३:१३) अनि तपाईंले आफ्नो विश्‍वासको आँखाले यहोवा परमेश्‍वर, येशू ख्रीष्ट र परमेश्‍वरको राज्य सबै वास्तविकता हो, भ्रम होइन भनी थाह पाउनुहुनेछ।

साँचो विश्‍वास विकास गर्न तपाईंलाई एक्लै छोडिएको छैन। आफ्नो वचन निश्‍शुल्क उपलब्ध गराउनुका साथै निष्कपट हृदय भएका मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास विकास गर्न मदत गर्न यहोवाले विश्‍वभरि मसीही मण्डलीको पनि प्रबन्ध गरिदिनुभएको छ। (यूहन्‍ना १७:१९; रोमी १०:१४, १५) आफ्नो संगठनमार्फत यहोवाले प्रबन्ध गर्नुभएको सबै मदत स्वीकार्नुहोस्‌। (प्रेरित ८:३०, ३१) अनि विश्‍वास परमेश्‍वरको पवित्र आत्माको फल भएको कारण साँचो विश्‍वास विकास गर्न मदतको लागि निरन्तर प्रार्थना गर्नुहोस्‌।—गलाती ५:२२.

परमेश्‍वर र उहाँको वचनमा विश्‍वास गर्ने सबै मानिसलाई गिल्ला गर्ने आलोचकहरूको कारण निरुत्साहित नहुनुहोस्‌। (१ कोरिन्थी १:१८-२१; २ पत्रुस ३:३, ४) वास्तवमा, साँचो विश्‍वास त्यस्ता आक्रमणहरूसामु दृढ रहनु अत्यन्तै मूल्यवान्‌ छ। (एफिसी ६:१६) सारा जेनको सन्दर्भमा यो कुरा साँचो साबित भयो र तिनलाई अस्पतालमा भेट्‌न आउने सबैलाई आफ्नो विश्‍वास बलियो बनाउन तिनी प्रोत्साहन दिन्थिन्‌। तिनी यसो भन्‍ने गर्थिन्‌, “सत्यलाई आफ्नो बनाउनुहोस्‌। परमेश्‍वरको वचन पढ्‌नुहोस्‌। परमेश्‍वरको संगठनसँग नजिक हुनुहोस्‌। निरन्तर प्रार्थना गर्नुहोस्‌। यहोवाको सेवामा सक्रिय रहनुहोस्‌।”—याकूब २:१७, २६.

परमेश्‍वर र पुनरुत्थानमा तिनको विश्‍वास देखेर तिनको एक जना नर्सले यसो भनिन्‌: “तपाईंको विश्‍वास साँच्चै बलियो छ।” परीक्षाको बावजूद तपाईं कसरी आशावादी रहन सक्नुभयो भन्‍ने प्रश्‍नको उत्तरमा तिनले यसो भनिन्‌: “यो सबै यहोवामा विश्‍वास गरेको कारणले गर्दा हो। उहाँ मेरो साँचो मित्र हुनुहुन्छ र म उहाँलाई साँच्चै माया गर्छु।”

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इज देर अ क्रिएटर हु क्येर्स अबाउट यु? (के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ?) पुस्तक हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ६-मा भएको चित्र]

तिमोथीलाई “बाल्यकालदेखि” नै तिनको आमा तथा बज्यैले “पवित्र लेखोटहरू” सिकाएका थिए

[पृष्ठ ६-मा भएको चित्र]

धर्मशास्त्र दिनहुँ जाँच गरेकोले बिरियावासीहरूको सराहना गरियो

[स्रोत]

From “Photo-Drama of Creation,” 1914

[पृष्ठ ७-मा भएको चित्र]

विश्‍वास विकास गर्न बाइबल हुनु मात्र पर्याप्त छैन, सुन्‍नु अनि पालन गर्नु पनि आवश्‍यक छ!

[पृष्ठ ७-मा भएको चित्र]

“म तपाईंहरू सबैलाई परमेश्‍वरको नयाँ संसारमा भेट्‌नेछु”