सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

हिब्रू ४:९-११ मा संकेत गरिएको “विश्राम” के हो र व्यक्‍तिविशेष कसरी “त्यस विश्राममा प्रवेश” गर्छ?

प्रथम शताब्दीका हिब्रू मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरका मानिसहरूका निम्ति विश्राम-दिनको आरामी बाँकीनै छ। किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्‍वर आफैले गर्नुभएझैं आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ। यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नालाई प्रयत्न गरौं।”—हिब्रू ४:९-११.

परमेश्‍वरले आफ्नो कामबाट विश्राम लिनुभएको विषयमा कुरा गर्दा पावलले सम्भवतः उत्पत्ति २:२ मा उल्लेख गरिएको कुरालाई संकेत गरिरहेको हुनुपर्छ, जहाँ हामी यस्तो लेखिएको पाउँछौं: “आफूले गर्नभएका काम सातौं दिनमा परमेश्‍वरले सिध्याउनुभयो। औ सातौं दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।” परमेश्‍वरले किन “सातौं दिनमा . . . विश्राम लिनुभयो?” निश्‍चय पनि “आफूले गर्नुभएका सबै कामबाट” आराम लिनको लागि होइन। त्यसैको अर्को पदले यसबारे यस्तो सुराक दिन्छ: “परमेश्‍वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।”—उत्पत्ति २:३; यशैया ४०:२६, २८.

“सातौं दिनमा” यहोवाले आशिष्‌ दिनुभएर पवित्र तुल्याउनुभएको कारण यो दिन अन्य छ दिनभन्दा फरक थियो। यो दिन विशेष उद्देश्‍यको निम्ति छुट्याइएको वा समर्पण गरिएको थियो। त्यो उद्देश्‍य के थियो? सुरुमा परमेश्‍वरले मानिसजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य प्रकट गर्नुभएको थियो। प्रथम पुरुष तथा तिनकी पत्नीलाई परमेश्‍वरले यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) परमेश्‍वरले मानिसजाति र पृथ्वीको सिद्ध सुरुआत गर्नुभए तापनि परमेश्‍वरको उद्देश्‍यअनुरूप सम्पूर्ण पृथ्वीलाई वशमा पार्न र सिद्ध मानव परिवारले भरिएको प्रमोदवनमा परिणत गर्न समय लाग्ने थियो। अतः “सातौं दिन[मा]” परमेश्‍वरले आफ्नो सृजनशील कामबाट विश्राम लिनुभएर सृष्टि भइसकेका कुराहरूलाई उहाँको इच्छाअनुसार विकास हुन दिनुभयो। त्यस “दिन[को]” अन्तसम्ममा परमेश्‍वरका सबै उद्देश्‍य वास्तविकतामा परिणत भइसकेका हुनेछन्‌। त्यो विश्राम कति लामो हुनेछ?

हिब्रूको पुस्तकमा पावलको कुरालाई फेरि विचार गर्दा तिनले “परमेश्‍वरका मानिसहरूका निम्ति विश्राम-दिनको आरामी बाँकीनै छ” भनी बताएको हामी याद गर्छौं र तिनले सँगी मसीहीहरूलाई “त्यस विश्राममा प्रवेश गर्नालाई” यथासक्दो “प्रयत्न” गर्न आग्रह गरे। यसबाट के कुरा स्पष्ट हुन्छ भने, पावलले यी शब्दहरू लेख्दा परमेश्‍वरको विश्रामको “सातौं दिन,” जुन झन्डै ४,००० वर्षअघि सुरु भएको थियो त्यो अझै सिद्धिएको थिएन। यो सातौं दिन, “विश्राम-दिनको प्रभु” येशू ख्रीष्टको हजार वर्षीय शासनअन्तर्गत मानिसजाति र पृथ्वीसित सम्बन्धित परमेश्‍वरको उद्देश्‍य पूरा नहोउञ्जेलसम्म सिद्धिने छैन।—मत्ती १२:८; प्रकाश २०:१-६; २१:१-४.

त्यस सुन्दर प्रत्याशालाई मनमा राख्दै पावलले परमेश्‍वरको विश्राममा कसरी प्रवेश गर्न सकिन्छ, त्यसबारे बताए। तिनले यस्तो लेखे: “उहाँको विश्राममा प्रवेश गर्नेले . . . आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ।” यसबाट के कुरा स्पष्ट हुन्छ भने, मानिसजातिको सिद्ध सुरुआत भए तापनि सम्पूर्ण मानिसजाति परमेश्‍वरको विश्राममा प्रवेश गरिसकेका थिएनन्‌। यसैकारण आदम र हव्वाले, परमेश्‍वरले तिनीहरूका निम्ति गर्नुभएका सबै प्रबन्धहरू स्वीकार्दै परमेश्‍वरको विश्रामको “सातौं दिनमा” लामो समयसम्म बसेनन्‌। बरु, तिनीहरूले विद्रोह गरे र परमेश्‍वरबाट स्वतन्त्र हुन चाहे। साँच्चै भन्‍ने हो भने, तिनीहरूले परमेश्‍वरको मायालु निर्देशन स्वीकार्नुको सट्टा शैतानको चाललाई समर्थन गरे। (उत्पत्ति २:१५-१७) फलस्वरूप, तिनीहरूले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशा गुमाए। त्यस समयदेखि सबै मानिसजाति पाप र मृत्युको दासत्वमा परे।—रोमी ५:१२, १४.

मानिसजातिको विद्रोहले परमेश्‍वरको उद्देश्‍य भंग गर्न सकेन। उहाँको विश्राम दिन अझ जारी छ। तथापि, यहोवाले मायालु प्रबन्ध गर्नुभयो। त्यो हो, उहाँको पुत्र येशू ख्रीष्टमार्फत छुडौतीको बलिदान। विश्‍वासको आधारमा यसलाई स्वीकार्ने सबैले पाप र मृत्युको दलदलबाट छुटकारा र विश्राम पाउने आशा गर्नसक्छन्‌। (रोमी ६:२३) त्यसकारण, पावलले आफ्ना सँगी मसीहीहरूलाई ‘आफ्नो कामबाट विश्राम लिन’ आग्रह गरेका थिए। तिनीहरूले आदम र हव्वाले जस्तै आफैले आफ्नो भविष्य तय गर्न खोजेर होइन तर मुक्‍तिको निम्ति परमेश्‍वरले गर्नुभएको प्रबन्ध स्वीकार्नु आवश्‍यक थियो। आफ्नो जस्तै कामबारे सफाइ पेश गर्नदेखि पनि तिनीहरू होसियार हुनुपर्थ्यो।

परमेश्‍वरको इच्छा गर्नको लागि आफ्ना स्वार्थी इच्छा वा सांसारिक कुराहरू त्याग्नु निश्‍चय पनि स्फूर्तिदायी छ। येशूले यस्तो निमन्त्रणा दिनुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छ। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.

परमेश्‍वरको विश्राम र त्यसमा कसरी कुनै व्यक्‍ति प्रवेश गर्नसक्छ भनी पावलले गरेको छलफल निश्‍चय पनि यरूशलेममा भएका हिब्रू मसीहीहरूको लागि ठूलो प्रोत्साहनको स्रोत भएको हुनुपर्छ, जसले विश्‍वासको कारण धेरै सतावट र गिल्ला सहेका थिए। (प्रेरित ८:१; १२:१-५) त्यसरी नै, पावलका शब्दहरू आजका मसीहीहरूको लागि पनि ठूलो प्रोत्साहनको स्रोत हुनसक्छन्‌। उहाँको धार्मिक राज्यमा पार्थिव प्रमोदवन बसाल्ने परमेश्‍वरको प्रतिज्ञा पूरा हुनै लागेको छ भनी थाह पाएको कारण हामीले आफ्नो कामबाट विश्राम लिनुपर्छ र त्यस विश्राममा प्रवेश गर्न यथासक्दो गर्नुपर्छ।—मत्ती ६:१०, ३३; २ पत्रुस ३:१३.

[पृष्ठ ३१-मा भएका चित्रहरू]

पार्थिव प्रमोदवनबारे परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा उहाँको विश्राम दिनको अन्तमा पूरा हुनेछ