सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको सेवा गरेर हामीले थुप्रै नौला अनुभवहरू बटुल्यौं

यहोवाको सेवा गरेर हामीले थुप्रै नौला अनुभवहरू बटुल्यौं

जीवनी

यहोवाको सेवा गरेर हामीले थुप्रै नौला अनुभवहरू बटुल्यौं

एरिक र हेजल बेभरिजको वृत्तान्तमा आधारित

“म आजको मितिदेखि तिमीलाई छ महिनाको जेल सजाय दिन्छू।” यी शब्दहरू मेरो कानमा गुञ्जिन नसिद्धिंदै मलाई इंगल्याण्ड, म्यानचेस्टरको स्ट्रेन्जवेज जेलमा लगियो। त्यो वर्ष थियो, डिसेम्बर १९५० र म १९ वर्षको थिएँ। मेरो जवानीमा यो पहिलो कठिन परीक्षा थियो। मैले सैन्य सेवामा भर्ती हुन इन्कार गरेको थिएँ।—२ कोरिन्थी १०:३-५.

म यहोवाका साक्षीहरूको पूर्ण-समय अग्रगामी सेवक थिएँ र यसको अर्थ म सैन्य सेवाबाट मुक्‍त हुनुपर्थ्यो तर बेलाइती नियमले हामीलाई सेवकको रूपमा मान्यता दिएन। त्यसैले, म जेल जानुपऱ्‍यो। मैले आफ्नो बुबाबारे सोचें। अप्रत्यक्ष ढंगमा उहाँले गर्दा नै म जेलमा परेको थिएँ।

मेरो बुबा जेल अधिकारी हुनुहुन्थ्यो र उहाँ योर्कशायरबाट हुनुहुन्थ्यो। उहाँ कडा विश्‍वास र सिद्धान्त भएको व्यक्‍ति हुनुहुन्थ्यो। सेनामा र जेल अधिकारी हुँदाका अनुभवहरूले गर्दा उहाँ क्याथोलिक धर्मलाई साह्रै घृणा गर्नुहुन्थ्यो। उहाँले साक्षीहरूलाई १९३० को सुरुतिर सबैभन्दा पहिला भेट्‌नुभएको थियो। त्यतिबेला तिनीहरूलाई हकारेर पठाउने हेतुले उहाँले ढोका खोल्नुभयो तर उहाँ तिनीहरूका केही पुस्तकहरू लिएर फर्कनुभो! पछि उहाँ कन्सोलेसन पत्रिकाको (अहिले ब्यूँझनुहोस्‌!) ग्राहक बन्‍नुभयो। साक्षीहरू हरेक वर्ष ग्राहक नवीकरण गर्न प्रोत्साहन दिन आउँथे। म १५ वर्ष जतिको हुँदा बुबाको तिनीहरूसँग फेरि छलफल भयो र मैले साक्षीहरूको पक्ष लिंदै छलफलमा भाग लिएँ। त्यतिबेला देखि नै हो मैले बाइबल अध्ययन गर्न थालेको।

सत्र वर्षको उमेरमा अर्थात्‌ मार्च १९४९ मा मैले बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पण जनाएँ। सोही वर्ष मैले जोन र मिखेल चेरूकलाई भेटें। उहाँहरू गिलियड मिसनरी स्कूलको स्नातक हुनुहुन्थ्यो र नाइजेरिया जान लाग्नुभएको थियो। म उहाँहरूको मिसनरी मनोभाव देखेर निकै प्रभावित भएँ। उहाँहरूलाई यसबारे थाह छ कि छैन, मलाई थाह भएन तर उहाँहरूले मेरो हृदयमा मिसनरी आत्माको बीउ रोपिदिनुभयो।

बाइबल अध्ययन गर्दै जाँदा मभित्र विश्‍वविद्यालय जाने इच्छा मर्दै गयो। घरबाट टाढा लण्डनको कर कार्यालयमा काम गर्न थालेको एक वर्षमै, सरकारी जागिर खाँदै यहोवाप्रतिको आफ्नो समर्पण पूरा गर्न नसक्ने मैले महसुस गरें। मैले आफ्नो जागिर छोड्‌दा एक जना वरिष्ठ सहकर्मीले “जीवनै खत्तम पार्ने जागिर” छोडेकोमा मलाई बधाई दिए।

यसअघि मैले अर्को परीक्षाको पनि सामना गर्नुपऱ्‍यो। आफ्नो त्यस्तो राम्रो जागिर छोडेर पूर्ण-समय सेवक बन्‍न चाहन्छु भनेर बुबालाई कसरी भन्‍ने। बिदामा घर गएको बेला मैले यो कुरा सुनाएँ। मैले त बुबा रिसले पड्‌किनु हुन्छ होला भन्ठानेको थिएँ। तर उहाँले यस्तो जवाफ दिनुहुँदा म तीन छक परें: “यो तिम्रो आफ्नै निर्णय हो र यसको नतिजा पनि तिमीले नै भोग्नुपर्छ। तर यदि असफल भयौ भने मकहाँ फर्केर नआउनू।” मेरो दैनिकीमा जनवरी १, १९५० मा मैले यस्तो लेखेको रहेछु: “बुबालाई अग्रगामीको सेवाबारे भनें। उहाँको अत्यन्तै मदतकारी मनोवृत्ति देखेर म तीन छक परें। उहाँको दया देखेर मैले आफ्नो आँसु थाम्नै सकिनँ।” मैले सरकारी जागिरबाट राजीनामा दिएँ र पूर्ण-समय अग्रगामीको रूपमा कार्यभार स्वीकारें।

“कटेजमा” बसेर गरेको पहिलो सेवा

परमेश्‍वरप्रतिको समर्पणले गर्दा मैले अर्को परीक्षाको सामना गर्नुपऱ्‍यो। मलाई वेल्सका सँगी मसीही लोयड ग्रिफिट्‌ससँग ल्यानकाशायरमा “कटेजमा” सँगै बसेर अग्रगामीको काम गर्न खटाइयो। त्यस कटेजबारे नानाथरी सपना सजाउँदै र कल्पना गर्दै म दिक्कलाग्दो, झमझम्‌ पानी परिरहेको बकप शहर आइपुगें। त्यो कटेज भनेको त छिंडीको कोठा पो रहेछ! मेरो दुःख देखेर रातभरि मुसा र साङ्‌लोले हामीलाई सान्त्वना दिन आए। म त घर फर्किन तयार भइसकेको थिएँ। तर मैले मनमनै यो परीक्षाको सामना गर्न यहोवासित प्रार्थना गरेर बल मागें। अकस्मात्‌ ममाथि शान्ति छाएजस्तो लाग्यो र परिस्थितिलाई राम्ररी विचार गरें। यो यहोवाको संगठनबाट आएको असाइनमेन्ट थियो। त्यसैकारण, मैले मदतको लागि पनि यहोवामै भर पर्नुपर्छ। त्यस असाइनमेन्टबाट पछि नहटेकोमा म साह्रै कृतज्ञ छु किनभने यदि मैले यो असाइनमेन्ट छोडेर हिंडेको भए, सदाको लागि मेरो जीवनै परिवर्तन हुने थियो!—यशैया २६:३, ४.

मैले आर्थिक मन्दी छाइरहेको रोजनडेल उपत्यकामा झन्डै नौ महिना प्रचार गरें तर सैन्य सेवा इन्कार गरेको कारण म पक्राउमा परें। स्ट्रेन्जवेज जेलमा दुई हप्ताजति बिताएपछि मलाई इंगल्याण्डको दक्षिणी तटमा लुइस जेलमा सरुवा गरियो। त्यहाँ हामी पछि जम्मा पाँच जना साक्षीहरू भयौं र हामीले त्यहीं जेलको कोठरीमा ख्रीष्टको मृत्युको स्मरणार्थ मनायौं।

बुबा मलाई एक चोटि भेट्‌न आउनुभयो। यो उहाँको अभिमानको ठूलो परीक्षा हुनुपर्छ। किनभने एक जना नाउँ चलेका जेल अधिकारी जेलमा आफ्नो छोरा भेट्‌न आउनु कुनै चानचुने कुरा थिएन! त्यस भेटको निम्ति म सधैं कृतज्ञ हुनेछु। बल्लतल्ल १९५१ अप्रिलमा मलाई मुक्‍त गरियो।

लुइसबाट मलाई छोडेपछि म रेलबाट कार्डिफ, वेल्स गएँ, जहाँ मेरो बुबा जेलको प्रमुख अधिकारीको रूपमा काम गरिरहनुभएको थियो। म र मेरा दुई भाइ अनि एक बहिनी गरी हामी जम्मा चार जना छोराछोरी थियौं। आफ्नो जीवन धान्‍न र अग्रगामीको काम गरिरहन मैले कम समय काम गरे पुग्ने जागिर खोज्नुपऱ्‍यो। मैले एउटा लुगा पसलमा काम गरें तर मेरो जीवनको प्रमुख उद्देश्‍य मसीही सेवकाई थियो। यति नै बेला आमाले हामीलाई छोडेर जानुभयो। त्यसले गर्दा बुबा र हामी ८ देखि १९ वर्षका छोराछोरीलाई ठूलो चोट पुग्यो। दुःखको कुरा, हाम्रो आमाबाबुको सम्बन्धविच्छेद भयो।

तिनी जसले असल पत्नी पाउँछ. . . 

मण्डलीमा पाँच-छ जना जति अग्रगामीहरू थिए। तिनीहरूमध्ये एक जना बहिनी थिइन्‌, जो सधैं कोइला खानी भएको रोन्डा उपत्यकाबाट आफ्नो काम र प्रचारकार्यको सिलसिलामा आउने गर्थिन्‌। तिनको नाउँ हेजल ग्रिन थियो र तिनी असाध्यै योग्य अग्रगामी थिइन्‌। हेजल सच्चाइमा आएको म भन्दा धेरै वर्ष भइसकेको थियो। तिनका आमाबाबु १९२० को दशकदेखि नै बाइबल स्टुडेन्ट्‌सका (अहिले यहोवाका साक्षीहरू) सभाहरूमा धाउँथे। अब तिनको कथा तिनैको मुखबाट सुन्‍नुहोस्‌।

“सन्‌ १९४४ मा धर्मले गोलमाल उत्पन्‍न गर्छ (अंग्रेजी) पुस्तिका पढेपछि मात्र मैले बाइबललाई गम्भीरतासाथ लिन थालें। आमाले मलाई कार्डिफमा हुन लागेको क्षेत्रीय सम्मेलनमा जान जबरजस्ती गर्नुभयो। म, बाइबलको क समेत नजान्‍ने मान्छे, बजारको बीचमा विज्ञापनपाटी झुन्ड्‌याएर घोषणा गर्दै हिंड्‌नुपऱ्‍यो। पादरी र अन्य व्यक्‍तिहरूले कायल पारे तापनि मैले यो काम छोडिंनँ। मैले १९४६ मा बप्तिस्मा लिएँ र सोही वर्षको डिसेम्बर महिनादेखि अग्रगामीको काम सुरु गरें। अनि १९५१ मा भर्खरै जेलबाट छुटेका जवान अग्रगामी कार्डिफ आइपुगे। तिनी अरू कोही नभई एरिक थिए।

“हामी सँगै प्रचार जान्थ्यौं। हाम्रो कुरा मिल्थ्यो। हाम्रो एउटै उद्देश्‍य थियो। त्यो हो, परमेश्‍वरको सेवा गर्ने। त्यसैले, डिसेम्बर १९५२ मा हामीले बिहे गऱ्‍यौं। हामी दुवै जना पूर्ण-समय अग्रगामी भएको कारण हाम्रो आयस्रोत सीमित थियो तर हामी कहिल्यै आधारभूत आवश्‍यकताहरूबाट वञ्चित भएनौं। कहिलेकाहीं साक्षी भाइबहिनीले आफूलाई बढी भएको जाम वा साबुन हामीलाई दिन्थे र हामीलाई चाहिरहेको कुरा पनि ठ्याक्क त्यही हुन्थ्यो! यस्ता काम लाग्ने उपहारहरूको निम्ति हामी उनीहरूप्रति साँच्चै कृतज्ञ छौं। तर अझ थप नौला कुराहरूको सामना गर्नु त बाँकी नै थियो।”

हाम्रो जीवन नै परिवर्तन गर्ने अप्रत्याशित घटना

नोभेम्बर १९५४ मा हेजल र मैले आशै नगरेको एउटा कुरा भयो—मेरोलागि यहोवाका साक्षीहरूको लण्डनस्थित शाखा कार्यालयबाट परिभ्रमण निरीक्षकको निम्ति आवेदन फाराम पठाइएको थियो। परिभ्रमण निरीक्षकहरू हरेक हप्ता विभिन्‍न मण्डलीमा जानुपर्छ। यो चिठी गल्तीले हामीकहाँ आएको हो भनी हामी पक्का थियौं, त्यसैकारण हामीले मण्डलीमा कसैलाई पनि यसबारे केही बताएनौं। तथापि, मैले फाराम भरेर पठाएँ र दिन गन्‍न थालें। केही दिनपछि यस्तो जवाफ आयो: “प्रशिक्षणको निम्ति लण्डन आउनुहोस्‌”!

लण्डन अफिसमा २३ वर्षको उमेरमा प्राइस ह्‍युग, एमिलियन विन्स, अर्नी बीभर, अर्नी गीभर, बब गो, ग्लिन पार, स्टान र मार्टिन बुडवर्नजस्ता अन्य थुप्रै उल्लेखनीय भाइहरूलाई भेट्‌न पाउँदा मैले विश्‍वासै गर्न सकिनँ। उहाँहरू मेरोनिम्ति आध्यात्मिक तवरमा उत्कृष्ट नमुनाहरू हुनुहुन्थ्यो। अहिले उहाँहरूमध्ये धेरैको मृत्यु भइसक्यो। उहाँहरूले १९४० र १९५० को दशकमा बेलाइतमा जोस र निष्ठाको बलियो जग बसाल्नुभयो।

बेलाइतमा क्षेत्रीय काम कहिल्यै नरमाइलो भएन

हामीले १९५४/५५ को असाध्यै चिसो, हिउँ परिरहेको जाडो यामदेखि क्षेत्रीय भ्रमणको काम सुरु गऱ्‍यौं। हामीलाई इस्ट एन्जिलिया खटाइयो, जुन बेलाइतको समतल भाग थियो र त्यहाँ उत्तरको चिसो हावा बहन्थ्यो। त्यतिबेला बेलाइतमा ३१,००० जना मात्र साक्षीहरू थिए। यो पहिलो क्षेत्रीय काम हामीलाई गाह्रो लाग्यो। तर त्यहाँका भाइहरूलाई पनि सजिलो चाहिं भएन। मेरो अनुभवको कमी र म आएको योर्कशायरका मानिसहरूको जस्तै मेरो पनि धक नमानी ठाडै बोल्ने बानीले गर्दा मैले कति भाइहरूको चित्त दुखाएँ। वर्षौंको अनुभवद्वारा मैले कार्यकुशल हुनुभन्दा दयालु हुनु र प्रक्रियाहरूभन्दा मानिसहरू महत्त्वपूर्ण छन्‌ भन्‍ने कुरा सिकेको छु। म अझै कोसिस गर्दैछु तर येशूले जस्तो अरूलाई विश्राम दिनसक्ने क्षमताको सधैं सफलतासाथ अनुकरण गर्न सकेको छैन।—मत्ती ११:२८-३०.

इस्ट एन्जिलियामा १८ महिना बिताएपछि हामीलाई बेलाइतको उत्तरपूर्वी भाग न्युक्यासलदेखि टाइन र नर्थम्बरल्याण्ड खटाइयो। मलाई यस ठाउँको सौन्दर्य र मानिसहरूको न्यानोपन असाध्यै मनपऱ्‍यो। सं.रा.अ., वाशिङटन सियाटलबाट आउनुभएका जिल्ला निरीक्षक डन वर्डले मलाई धेरै मदत गर्नुभयो। उहाँ गिलियडको २० औं कक्षाको स्नातक हुनुहुन्थ्यो। भाषण दिंदा म बन्दुकको गोलीझैं एकदमै छिटोछिटो बोल्थें र उहाँले मलाई बिस्तारै, रोकेर बोल्न अनि राम्ररी बुझाउन सिकाउनुभयो।

हाम्रो जीवनै परिवर्तन गर्ने अर्को अप्रत्याशित घटना

सन्‌ १९५८ मा हामीले एउटा पत्र प्राप्त गऱ्‍यौं, जसले हाम्रो जीवनै परिवर्तन गरिदियो। न्यु योर्क, साउथ ल्यानसिङमा हामीलाई गिलियड स्कूलको निम्ति आमन्त्रित गरियो। हामीले आफ्नो सानो १९३५ मोडलको अस्टिन सेभेन गाडी बेच्यौं र न्यु योर्क जान जहाजको टिकट किन्यौं। हामी पहिला न्यु योर्क शहरमा आयोजित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित भयौं। त्यहाँबाट हामी पिटरबरो, ओन्टारियो गयौं जहाँ हामीले गिलियड जानुअघि छ महिनासम्म अग्रगामीको काम गऱ्‍यौं।

स्कूलका शिक्षकहरूमध्ये एक जना अल्बर्ट श्रोडर हुनुहुन्थ्यो। उहाँ अहिले परिचालक निकायको सदस्य हुनुहुन्छ। अरूचाहिं म्याक्सवेल फ्रेन्ड र ज्याक रेडफोर्ड हुनुहुन्थ्यो, जसको मृत्यु भइसक्यो। चौधवटा देशबाट आएका ८२ जना विद्यार्थीहरूसँगको संगति अत्यन्तै प्रोत्साहनजनक थियो। हामीले एकअर्काको संस्कृति बिस्तारै अलिअलि बुझ्न थाल्यौं। अलिअलि मात्र अंग्रेजी जान्‍ने विदेशी विद्यार्थीहरूसँग संगत गर्दा हामीले आफूले अर्को भाषा सिक्दा भोग्नुपर्ने समस्याहरूको स्वाद पायौं। पाँच महिनामा हाम्रो प्रशिक्षण सकियो र २७ विभिन्‍न देशमा हामीलाई खटाइयो। त्यसपछि हाम्रो दीक्षान्त समारोह भयो र केही दिनमै हामी न्यु योर्क शहरको बन्दरगाहमा क्वीन एलिजाबेथ जहाज चढेर युरोपमै फर्क्यौं।

हाम्रो पहिलो विदेशी असाइनमेन्ट

हामीलाई कहाँ खटाइयो? पोर्चुगल! हामी नोभेम्बर १९५९ मा लिस्बन आइपुग्यौं। अब हामीले नयाँ भाषा र संस्कृतिअनुसार काँटछाँट गर्नुपर्ने परीक्षाको सामना गर्नुपऱ्‍यो। सन्‌ १९५९ मा पोर्चुगलको जनसंख्या झन्डै ९० लाख थियो तर साक्षीहरू भने जम्मा ६४३ जना मात्र थिए। तर हाम्रो प्रचारकार्यले अझसम्म कानुनी मान्यता पाएको थिएन। हाम्रा राज्यभवनहरू थिए तर बाहिर कुनै संकेत वा सूचनापाटी थिएन।

मिसनरी एल्जा पिकोनेले हामीलाई पोर्चुगाली भाषा सिकाइन्‌ अनि त्यसपछि हेजल र म लिस्बन, फारो, इभोरा र बाझा शहर वरिपरि मण्डली तथा समूहहरूको भ्रमणको निम्ति गयौं। त्यसपछि १९६१ मा परिस्थितिमा परिवर्तन आउन थाल्यो। म झाउ गन्सालभिस नाउँ गरेको युवकसित बाइबल अध्ययन गर्थें। सैन्य सेवाको सन्दर्भमा मसीहीको रूपमा तटस्थ रहने तिनले निर्णय गरे। त्यसको केही समयपछि मलाई केरकारको निम्ति प्रहरी मुख्यालयमा बोलाइयो। अर्को अप्रत्याशित घटना! केही दिनपछि हामीलाई ३० दिनभित्र देश छोड्‌ने पूर्जी दिइयो! सँगी मिसनरीहरू एरिक र क्रिस्टिना ब्रिटेन अनि डोमिनिक तथा एल्सा पिकोनलाई पनि त्यस्तै पूर्जी दिइयो।

मैले सुनुवाइको निम्ति अपिल गरें र हामीले गुप्तचर विभागको प्रमुखलाई भेट्‌ने अनुमति पायौं। तिनले हामीलाई देश छोड्‌ने आज्ञा दिइनुको कारण स्पष्टसँग बताए र जाउ गन्जालिस, मेरो बाइबल अध्ययनको नाउँ लिए! पोर्चुगलले, बेलाइतले जस्तै धार्मिक अडानको आधारमा स्वतन्त्रता दिन नसक्ने कुरा तिनले बताए। त्यसैकारण हामीले पोर्चुगल छोड्‌नुपऱ्‍यो र जाउसँग कुनै सम्पर्क भएन। छब्बीस वर्षपछि तिनी, तिनकी श्रीमती र तीन छोरीहरूलाई नयाँ पोर्चुगल बेथेलको समर्पणमा भेट्‌न पाउँदा औधी हर्षित भएका थियौं! पोर्चुगलमा गरेको हाम्रो सेवकाई व्यर्थ गएनछ!—१ कोरिन्थी ३:६-९.

अब हामीलाई कहाँ खटाइने थियो? अर्को आश्‍चर्य! नजिकैको देश स्पेनमा। आँखाभरि आँसु बनाउँदै हामी फेब्रुअरी १९६२ मा लिस्बनबाट रेलमा माड्रिडतर्फ लाग्यौं।

नयाँ संस्कृतिसित हेलमेल

स्पेनमा हामीले लुकीछिपी प्रचार तथा सभाहरू सञ्चालन गर्न सिक्नुपऱ्‍यो। हामी प्रचारमा जाँदा अक्सर कहिल्यै सँगैको दुइटा घरमा जाँदैनथ्यौं। कुनै एउटा घरमा प्रचार गरिसकेपछि हामी दुई घर छोडेर अर्को घर जान्थ्यौं। त्यसो गर्दा प्रहरी वा पादरीहरूलाई, हामीलाई समात्न गाह्रो भयो। नबिर्सनुहोस्‌, हामी फासिस्ट, क्याथोलिक तानाशाहको अधीनमा थियौं र हाम्रो प्रचारकार्यमा प्रतिबन्ध लगाइएको थियो। विदेशी भएको कारण सुरक्षाको निम्ति हामीले स्पेनी नाउँ राख्यौं। मेरो नाउँ पाब्लो भयो भने हेजलको नाउँ क्वाना।

माड्रिडमा केही समय काम गरेपछि हामीलाई बार्सिलोना खटाइयो। हामी शहरको विभिन्‍न मण्डलीहरूमा गयौं र अक्सर हरेक मण्डलीमा दुई वा तीन हप्ताजति बिताउँथ्यौं। हाम्रो भ्रमण त्यति लामो हुनुको कारण हामीले प्रत्येक पुस्तक अध्ययन समूहमा, मण्डलीमा जस्तै गरी भ्रमण गर्नुपर्थ्यो र अक्सर हरेक हप्ता दुई समूहमा भ्रमण गर्थ्यौं।

अप्रत्याशित चुनौती

हामीलाई १९६३ मा स्पेनमा जिल्ला निरीक्षकको काम गर्न आमन्त्रित गरियो। झन्डै ३,००० सक्रिय साक्षीहरूको सेवा गर्न हामी पूरा देश वा भनौं त्यतिबेलाको नौवटा क्षेत्रहरूमा जानुपर्थ्यो। हामीले कुनैकुनै अविस्मरणीय गोप्य क्षेत्रीय सम्मेलनहरू सेभिलसँगैको जंगलमा, गिजोनसँगैको खेत र माड्रिड, बार्सिलोना र लोगरोनोको नजिकैको नदी छेउछाउमा आयोजना गऱ्‍यौं।

घरघर प्रचार गर्दा केही भइहाल्यो भने भाग्न सजिलो होस्‌ भनेर म पहिल्यै भाग्न सजिलो बाटो वा गल्ली कताकता छन्‌, राम्ररी हेर्थें। माड्रिडमा एकदिन प्रचार गरिरहेको बेला म र अर्का एक साक्षी घरको माथिल्लो तल्लामा थियौं। त्यतिनै बेला हामीले अकस्मात्‌ तल चर्को स्वरमा चिच्च्याइ रहेको आवाज सुन्यौं। हामी तल झरेर हेर्दा त किशोरीहरूको समूह पो रहेछ। तिनीहरू इकास डे मारी (मरियमका छोरीहरू) नाउँ गरेको क्याथोलिक समूहका सदस्यहरू थिए। तिनीहरूले छिमेकीहरूलाई हाम्रोबारेमा सतर्क गराउँदै थिए। हामी तिनीहरूलाई सम्झाउने अवस्थामा थिएनौं र हामी त्यहाँबाट निस्किहाल्नुपर्छ भनेर थाह थियो नत्र पुलिस हामीलाई पक्रन आउनेथ्यो। त्यसैले, हामी त्यहाँबाट तुरुन्तै भागिहाल्यौं!

स्पेनमा बिताएका ती वर्षहरू साह्रै रोमाञ्चकारी थिए। हामीले त्यहाँ योग्य भाइबहिनीहरूलगायत विशेष अग्रगामीहरूलाई प्रोत्साहन दिने कोसिस गरिरहेका थियौं। तिनीहरूले परमेश्‍वरको राज्य प्रचारकार्य र मण्डलीहरू स्थापना गर्न तथा बलियो बनाउन जेल सजायको खतरा र अन्य कठिनाइहरूको सामना गरिरहेका थिए।

यसै समय अवधिमा हामीले केही नराम्रा खबरहरू पनि सुन्‍नुपऱ्‍यो। हेजल यसो भन्छिन्‌: “सन्‌ १९६४ मा मेरी आमा, जो एक जना विश्‍वासी साक्षी हुनुहुन्थ्यो उहाँको मृत्यु भयो। उहाँलाई अन्तिम चोटि भेट्‌नसमेत नपाई उहाँको मृत्यु हुँदा साह्रै नमीठो लाग्यो। मिसनरी भएपछि चुकाउनुपर्ने यो एउटा मूल्य हो र यो मूल्य अरू थुप्रैले पनि चुकाएका छन्‌।”

आखिरमा स्वतन्त्रता

वर्षौंको सतावटपछि जुलाई १९७० मा फ्रान्कोको सरकारले आखिरमा हाम्रो कामलाई कानुनी मान्यता दियो। माड्रिडमा पहिलो र लेसेप्समा दोस्रो राज्यभवन सुरु गरिंदा म र हेजल खुसीले गदगद्‌ भयौं। ती राज्यभवनहरूका बाहिर बत्ती बालेको ठूलो साइनबोर्ड हुन्थ्यो। हामीले कानुनी मान्यता पाएका छौं र हामी कतै जाने छैनौं भनी मानिसहरूले थाह पाओस्‌ भन्‍ने हामी चाहन्थ्यौं! यतिबेलासम्म अर्थात्‌ १९७२ मा स्पेनमा झन्डै १७,००० साक्षीहरू भइसकेका थिए।

यही समयतिर मैले बेलाइतबाट अत्यन्तै प्रोत्साहनजनक खबर पाएँ। बुबा हामीलाई भेट्‌न १९६९ मा स्पेन आउनुभएको थियो। स्पेनी साक्षीहरूले उहाँसँग गरेको व्यवहार देखेर उहाँ यति प्रभावित हुनुभयो कि बेलाइत फर्केर उहाँले बाइबल अध्ययन गर्न थाल्नुभयो। अनि १९७१ मा बुबाले बप्तिस्मा लिनुभएको खबर पाएँ! हामी घर जाँदा, मेरो मसीही भाइको रूपमा भोजन गर्नअघि उहाँले प्रार्थना गर्नुहुँदाको क्षण असाध्यै हृदयस्पर्शी थियो। यस दिनको निम्ति मैले २० वर्ष कुरें। मेरो भाइ बब र तिनकी पत्नी आइरिस १९५८ मा साक्षी भए। तिनीहरूको छोरा फिलिप अहिले स्पेनमा आफ्नो पत्नी जीनसित क्षेत्रीय काम गर्दैछन्‌। त्यस सुन्दर देशमा तिनीहरूले सेवा गरिरहेको देख्दा साह्रै आनन्द लाग्छ।

हालै भएको एकदमै नौलो कुरा

सन्‌ १९८० फेब्रुअरीमा परिचालक निकायको एक जना सदस्य प्रान्त निरीक्षकको रूपमा स्पेन आउनुभयो। उहाँ मसँग क्षेत्र सेवकाईमा जान चाहनुहुँदा म छक्क परें। उहाँले मेरो कुरा बुझिरहनुभएको रहेछ भनेर मलाई के थाह! अनि सेप्टेम्बरमा हामीलाई न्यु योर्क, ब्रूकलिनस्थित मुख्यालयमा आमन्त्रित गरियो! हामी अक्क न बक्क भयौं। हामीलाई स्पेनका भाइहरू छोड्‌न अत्यन्तै दुःखलागे तापनि हामीले निमन्त्रणा स्वीकाऱ्‍यौं। यतिञ्जेल स्पेनमा ४८,००० साक्षीहरू भइसकेका थिए!

हामी त्यहाँबाट जाँदा एक जना भाइले मलाई उपहारस्वरूप खल्तीमा राख्न मिल्ने घडी दिए। तिनले त्यसमा दुइटा पद, “लूका १६:१०; लूका १७:१०” कुँदेका थिए। तिनले ती मसँग सम्बन्धित पदहरू हुन्‌ भने। लूका १६:१० मा, हामी सानो कुरामा पनि विश्‍वासी हुने विषयमा जोड दिइएको छ भने, लूका १७:१० मा हामी “नालायक दास” हौं भनी भनिएको छ। त्यसैले, हामीसँग घमण्ड गर्ने कुनै कारण छैन। हामीले यहोवाको सेवा गर्न जुनसुकै काम गरे तापनि समर्पित मसीहीको रूपमा त्यो कतर्व्य मात्र हो भनी मैले बुझेको छु।

स्वास्थ्यस्थितिमा पनि नौलो कुरा

सन्‌ १९९० मा मलाई मुटुसम्बन्धी समस्याहरू हुन थाल्यो। अन्ततः मैले साँघुरिएको धमनी खोल्न सानो पाइप राख्नुपऱ्‍यो। यो कठिन शारीरिक कमजोरीको बेला हेजलले मलाई विभिन्‍न तरिकामा सहयोग गरेकी छिन्‌। म कमजोर हुँदा अक्सर तिनले नै झोला तथा सुटकेसहरू बोक्छिन्‌। अनि मे २००० मा मेरो मुटुमा पेसमेकर हालियो। यसले गर्दा असाध्यै सजिलो भएको छ!

विगत ५० वर्षको दौडान हेजल र मैले यहोवाको हात शक्‍तिहीन भएको छैन र उहाँका उद्देश्‍यहरू हाम्रो समयमा होइन तर उहाँकै तोकिएको समयमा पूरा हुन्छ भनी बुझेका छौं। (यशैया ५९:१; हबकूक २:३) हाम्रो जीवनमा थुप्रै अप्रत्याशित आनन्दका र केही दुःखलाग्दा घटनाहरू भएका छन्‌ तर यी सबैको दौडान यहोवाले हामीलाई सम्हाल्नुभएको छ। यहाँ यहोवाका जनहरूको मुख्यालयमा हामीले दिनदिनै परिचालक निकायका सदस्यहरूसँग भेट्‌ने सुअवसर पाइरहन्छौं। म कहिलेकाहीं आफैलाई प्रश्‍न गर्छु, ‘के हामी साँच्चै यहाँ छौं?’ यो ठूलो अनुग्रह हो। (२ कोरिन्थी १२:९) यहोवाले हामीलाई शैतानका धूर्त चालहरूदेखि जोगाउनुहुनेछ र पृथ्वीमा उहाँको धार्मिक शासनको आनन्द उठाउनसक्ने छौं भनी हामी विश्‍वस्त छौं।—एफिसी ६:११-१८; प्रकाश २१:१-४.

[पृष्ठ २६-मा भएको चित्र]

मलाई सबैभन्दा पहिला जेल सजाय भएको म्यानचेस्टरको स्ट्रेन्जवेज जेल

[पृष्ठ २७-मा भएको चित्र]

बेलाइतमा क्षेत्रीय काम गर्दा चलाएको हाम्रो अस्टिन सेभेन गाडीसँग

[पृष्ठ २८-मा भएको चित्र]

थर्सिडिल्या, मेड्रिड, स्पेनमा लुकीछिपी गरेको सम्मेलन, १९६२

[पृष्ठ २९-मा भएको चित्र]

ब्रूकलिनमा हाम्रो साक्षी दिने टेबुल