सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो विश्‍वास के यो अझै सम्भव छ?

साँचो विश्‍वास के यो अझै सम्भव छ?

साँचो विश्‍वास के यो अझै सम्भव छ?

“विश्‍वास भनेको परमेश्‍वरको अनुग्रहमाथिको सक्रिय र निडर भरोसा हो। विश्‍वासीहरू यति पक्का अनि निश्‍चित हुन्छन्‌ कि तिनीहरू आफ्नो ज्यान हजार चोटि भए पनि जोखिममा पार्न तयार हुन्छन्‌।”—मार्टिन लुथर, १५२२.

“एक किसिमले हाम्रो समाज धर्मनिरपेक्ष भइसकेको छ, जहाँ मसीही विश्‍वास र प्रचलनहरू पूर्णतया अस्तित्वहीन भइसकेको छ।”—लुड्‌भिक केनेडी, १९९९.

विश्‍वासबारे एकदमै भिन्‍नाभिन्‍नै विचारधाराहरू हुनसक्छन्‌। पहिलेपहिले परमेश्‍वरमाथि विश्‍वास गर्नु सामान्य कुरा थियो। आज, शंका र दुष्ट्याइँले भरिएको संसारमा परमेश्‍वर र बाइबलमाथिको साँचो विश्‍वास तीव्र रूपमा हराइरहेको छ।

साँचो विश्‍वास

थुप्रैका लागि “विश्‍वास”-को अर्थ केवल धार्मिक विश्‍वास हुनु वा एक प्रकारको उपासना गर्नु हो। तथापि, बाइबलमा प्रयोग गरिएको “विश्‍वास”-को अर्थ परमेश्‍वर र उहाँका प्रतिज्ञाहरूमा पूरा र दृढ भरोसा गर्नु हो। यो येशूका चेलाहरूलाई चिनाउने एउटा गुण हो।

एक चोटि, येशू ख्रीष्टले प्रार्थनाको आवश्‍यकताबारे बताउनुका साथै “निरुत्साह नहोऊन्‌” भन्‍नुभयो। यसो भन्‍नुभएर उहाँले हाम्रो दिनमा साँचो विश्‍वास रहिरहनेछ वा रहनेछैन भन्‍ने प्रश्‍न उठाउनुभयो। उहाँले यस्तो प्रश्‍न गर्नुभयो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?” उहाँले किन यस्तो प्रश्‍न गर्नुभयो?—लूका १८:१, ८.

गुमेको विश्‍वास

थुप्रै कारणले गर्दा मानिसहरूले आफ्नो विश्‍वास गुमाउनसक्छन्‌। थुप्रै कारणमध्ये एउटा दिनहुँ आइपर्ने कष्ट र परीक्षाहरू पनि हुन्‌। उदाहरणका लागि, १९५८ मा म्युनिकको हवाई दुर्घटनामा म्यानचेस्टर युनाइटेड फुटबल टोलीको झन्डै सबै सदस्यको मृत्यु हुँदा, प्राध्यापक माइकल गोल्डर बेलाइतको म्यानचेस्टर शहरमा पादरी थिए। बी बी सी टेलिभिजन कार्यक्रममा उद्‌घोषिका जोआन बेकवेलले यसो भनिन्‌, गोल्डरले “मानिसहरूको शोक देखेर आफूलाई निस्सहाय महसुस गरें।” त्यसपछि, तिनले “मानव मामिलामा हस्तक्षेप गर्ने परमेश्‍वरमाथिको विश्‍वास गुमाए।” अनि गोल्डरले आफ्नो विश्‍वासबारे यसो भने, “बाइबल . . . परमेश्‍वरको त्रुटिरहित वचन होइन” बरु, “कतैकतै मात्र ईश्‍वरीय प्रेरणा पाइएको छ नत्र यो मानिसको त्रुटिपूर्ण वचन हो।”

कहिलेकाहीं विश्‍वास बिस्तारै ओइलाएर जान्छ। लेखक तथा प्रसारक लुड्‌भिक केनेडीको सन्दर्भमा पनि त्यस्तै भयो। तिनी यसो भन्छन्‌, बाल्यकालदेखि नै मेरो मनमा “[परमेश्‍वरबारे] शंका उपशंकाहरू थिए र त्यसले गर्दा मेरो अविश्‍वास बढ्‌दै गयो।” कसैले पनि तिनका प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन सकेनन्‌। अनि तिनको बुबाको समुद्रमा अकस्मात्‌ मृत्यु हुँदा अत्यन्तै कमजोर भइसकेको विश्‍वासमा ठूलो धक्का लाग्यो। दोस्रो विश्‍वयुद्धको दौडान तिनको बुबा चढेको जहाज जर्मन युद्धपोतले गरेको आक्रमणको कारण ध्वस्त हुँदा परमेश्‍वरलाई “समुद्रका खतराहरू र शुत्रको आक्रमणबाट हामीलाई बचाउनुहोस्‌” भनी गरिएको प्रार्थना बेकार भयो।— अल इन द माइन्ड—अ फेयरवेल टु गड।

त्यस्ता अनुभवहरू असामान्य होइनन्‌। “सबैमा विश्‍वास छैन” भनी प्रेरित पावल भन्छन्‌। (२ थिस्सलोनिकी ३:२) तपाईंलाई कस्तो लाग्छ? के झन्‌ झनै शंकालु हुँदै गइरहेको संसारमा परमेश्‍वर र उहाँको वचनमा साँचो विश्‍वास पाउन सकिएला? यस विषयमा यसपछिको लेखले के भन्छ, जाँच्नुहोस्‌।