सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्दमय संसारको कुञ्जी

आनन्दमय संसारको कुञ्जी

आनन्दमय संसारको कुञ्जी

“नासरीका येशू यो दुई हजार वर्षभित्रको मात्र नभई मानव इतिहासकै सबैभन्दा प्रभावशाली व्यक्‍ति हुनुहुन्छ” भनी टाइम पत्रिकाले बतायो। येशू यस पृथ्वीमा हुनुहुँदा हजारौं सोझा मानिसहरूले उहाँ महान्‌ हुनुहुन्छ भनेर मात्र होइन तर अरूको ख्याल गर्नुहुने व्यक्‍ति पनि हुनुहुन्छ भनेर देखे। तसर्थ, तिनीहरूले उहाँलाई राजा बनाउन चाहनु कुनै आश्‍चर्यको कुरा होइन। (यूहन्‍ना ६:१०, १४, १५) तथापि, अघिल्लो लेखमा उल्लेख गरिएझैं येशूले राजनीतिमा मुछिन इन्कार गर्नुभयो।

येशूको प्रतिक्रिया कम्तीमा पनि तीनवटा कुरामा आधारित थियो: उहाँको पिताले मानव स्वेच्छा तथा शासनप्रति राख्नुहुने दृष्टिकोण; मानिसले असल शासन गर्न गरेका प्रयासहरूको बावजूद त्यसलाई असफल पार्न शक्‍तिशाली अदृश्‍य शक्‍तिहरू क्रियाशील छन्‌ भन्‍ने कुराको ज्ञान अनि सारा पृथ्वीमाथि शासन गर्न स्वर्गीय सरकार स्थापना गर्ने परमेश्‍वरको उद्देश्‍य। यी तीन बुँदाहरूलाई नजिकबाट नियाल्यौं भने, यस संसारलाई राम्रो ठाउँ बनाउने मानव प्रयासहरू किन विफल भए भनेर थाह पाउन सक्छौं। अनि सफलता कसरी हासिल गर्न सकिन्छ भन्‍ने कुरा पनि बुझ्नेछौं।

के मानिसले आफैमाथि शासन गर्नसक्छ?

परमेश्‍वरले मानिसजातिलाई सृष्टि गर्नुभएपछि पशुजगत्‌माथिको अख्तियार तिनीहरूलाई दिनुभयो। (उत्पत्ति १:२६) तर मानिसजाति भने परमेश्‍वरको सार्वभौमिकताको अधीनमा थिए। प्रथम पुरुष तथा स्त्रीले आज्ञाकारी भई “असल र खराबको ज्ञान दिने” विशेष प्रकारको रूखको फल नखाईकन परमेश्‍वरप्रतिको अधीनता प्रकट गर्नुपर्थ्यो। (उत्पत्ति २:१७) दुःखको कुरा, आदम र हव्वाले आफ्नो स्वतन्त्रताको दुरुपयोग गरेर परमेश्‍वरको आज्ञा उल्लंघन गरे। निषेध गरिएको फल खानु चोरी मात्र थिएन। त्यो सरासर परमेश्‍वरको सार्वभौमिकताको विद्रोह गर्नु पनि थियो। द न्यु जेरुशलेम बाइबल-मा उत्पत्ति २:१७ को पाद टिप्पणीले भनेझैं आदम अनि हव्वाले “सही र गलत निर्धारण गर्न आफू स्वतन्त्र छु भन्‍ने दाबी गरे, जसद्वारा मानिसले आफू कसैद्वारा सृष्टि गरिएको हो भन्‍ने कुरालाई इन्कार गर्छ। . . . त्यो प्रथम पाप परमेश्‍वरको सार्वभौमिकतामाथि प्रत्यक्ष आक्रमण थियो।”

गम्भीर नैतिक विवादहरू मुछिएको कारण परमेश्‍वरले आदम, हव्वा र तिनीहरूका सन्ततिहरूलाई आफ्नो जीवनशैली छान्‍ने अनुमति दिनुभयो। अनि तिनीहरूले सही र गलतसम्बन्धी आफ्नै स्तरहरू निर्धारण गरे। (भजन १४७:१९, २०; रोमी २:१४) भनौं भने, त्यसैबेलादेखि मानिसले आफ्नो लागि आफै छनौट गर्न थाले। तर के यो सफल भएको छ? हजारौं वर्षको उपलब्धिलाई हेर्दा यो सफल भएको छैन भनेर हामी भन्‍न सक्छौं! उपदेशक ८:९ यसो भन्छ: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” मानिसको शासनसम्बन्धी यो दुःखलाग्दो रेकर्डले यर्मिया १०:२३ को सत्यतालाई पुष्टि गर्छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” मानवजातिसित आफ्नो सृष्टिकर्ताविना शासन गर्ने क्षमता छैन भन्‍ने कुरा इतिहासले प्रमाणित गरेको छ।

येशू यस कुरासित पूर्णतया सहमत हुनुहुन्थ्यो। उहाँको लागि परमेश्‍वरबाट स्वतन्त्र हुन खोज्नु सबैभन्दा अप्रिय कुरा थियो। उहाँले यसो भन्‍नुभयो, “म आफै केही गर्दिनँ।” “म सधैं उहाँलाई [परमेश्‍वरलाई] मन पर्ने कुराहरू गर्दछु।” (यूहन्‍ना ४:३४; ८:२८, २९) तसर्थ, मानिसहरूले उहाँलाई राजा बनाउने कोसिस गरे तापनि परमेश्‍वरले अनुमति नदिनुभएको कारण येशूले त्यस राजसत्तालाई स्वीकार्ने विचारसमेत गर्नुभएन। तथापि, यसको अर्थ उहाँ आफ्ना सहमानवहरूलाई मदत गर्न अनिच्छुक हुनुहुन्छ भन्‍न खोजेको चाहिं पटक्कै होइन। त्यसको ठीक विपरीत, वर्तमान अनि भविष्यमा समेत सुखी होऊन्‌ भनेर उहाँले मानिसहरूलाई यथासक्दो मदत गर्नुभयो। उहाँले मानिसजातिको लागि आफ्नै ज्यानसमेत दिनुभयो। (मत्ती ५:३-११; ७:२४-२७; यूहन्‍ना ३:१६) तर मानवजातिमाथि परमेश्‍वरको सार्वभौमिकता प्रदर्शित गर्नेलगायत “सबै कुराको लागि समय” छ भन्‍ने कुरा येशूलाई राम्ररी थाह थियो। (उपदेशक ३:१; मत्ती २४:१४, २१, २२, ३६-३९) यद्यपि, हाम्रा प्रथम मातापिताले सर्पको माध्यमबाट बोल्ने अदृश्‍य दुष्ट आत्मिक प्राणीको अधीनता स्वीकारेको कुरा पनि याद गर्नुहोस्‌। येशू ख्रीष्टले राजनीतिमा भाग नलिनुको दोस्रो कारण हामी यसै कुरामा पाउन सक्छौं।

संसारको अदृश्‍य शासक

आफूलाई ढोगेजस्तो मात्र गरे पनि “जगत्‌का सबै राज्य र तिनको गौरव” दिने प्रस्ताव शैतानले येशू समक्ष राखेको थियो भनी बाइबलले हामीलाई बताउँछ। (मत्ती ४:८-१०) मुख्यतः येशू समक्ष विश्‍व राज्यसत्ता दिने प्रस्ताव राखियो तर त्यसको लागि दियाबलका सर्तहरू मान्‍नुपर्थ्यो। येशू यस प्रलोभनको सिकार हुनुभएन। तर के यो साँच्चै प्रलोभन थियो? के शैतानले त्यस्तो ठूलो प्रस्ताव राख्न सक्थ्यो? सक्थ्यो, किनभने येशू आफैले दियाबललाई यस “संसारको शासक” भनेर सम्बोधन गर्नुभयो भने प्रेरित पावलले चाहिं त्यसलाई “यस संसारको देव” भनेर वर्णन गरे।—यूहन्‍ना १४:३०; २ कोरिन्थी ४:४; एफिसी ६:१२.

हो, दियाबलको मनमा मानिसजातिको भलाइ गर्ने अलिकति पनि चासो छैन भन्‍ने कुरा येशूलाई थाह थियो। उहाँले शैतानलाई “हत्यारा” अनि “झूट र झूटको पिता” भनेर वर्णन गर्नुभयो। (यूहन्‍ना ८:४४) स्पष्टतया त्यस्तो दुष्ट आत्माको अधीनमा रहेको संसार कहिल्यै सुखी हुनसक्दैन। (१ यूहन्‍ना ५:१९) तर दियाबलसित यो अख्तियार सधैंभरि हुनेछैन। अहिले शक्‍तिशाली आत्मिक प्राणी भइसक्नुभएको येशूले चाँडै शैतान तथा त्यसका सम्पूर्ण प्रभावहरूलाई पूर्णतया नामेट पार्नुहुनेछ।—हिब्रू २:१४; प्रकाश २०:१-३.

शैतान आफैलाई पनि आफ्नो शासन गर्ने समय सिद्धिंदैछ भनेर थाह छ। यसर्थ, त्यसले भएभरको शक्‍ति अनि स्रोतहरू चलाएर नूहको दिनको जलप्रलयअघिजस्तै सुधार्नै नसकिने गरी मानवजातिलाई भ्रष्ट पार्ने दुष्प्रयास गरिरहेको छ। (उत्पत्ति ६:१-५; यहूदा ६) “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ” भनेर प्रकाश १२:१२ ले बताउँछ। बाइबलका भविष्यवाणीहरू र संसारका घटनाहरूले हामी यो “अल्प समय” अन्त हुनै लागेको समयमा बाँचिरहेका छौं भनी देखाउँछ। (२ तिमोथी ३:१-५) मुक्‍ति अब चाँडै आउनेछ।

सुख ल्याउने सरकार

भविष्यमा परमेश्‍वरले सारा संसारमाथि शासन गर्ने एउटा स्वर्गीय सरकार स्थापना गर्नुहुनेछ भन्‍ने कुरा थाह हुनु येशू राजनीतिबाट अलग रहनुको तेस्रो कारण हो। बाइबलमा यस सरकारलाई परमेश्‍वरको राज्य भनिन्छ र येशूको शिक्षाको मूल विषय पनि त्यही नै थियो। (लूका ४:४३; प्रकाश ११:१५) येशूले आफ्ना चेलाहरूलाई त्यो राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। किनभने त्यसको शासनअन्तर्गत मात्र ‘परमेश्‍वरको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पनि पूरा हुनेछ।’ (मत्ती ६:९, १०) तपाईं छक्क पर्दै यसो भन्‍नुहोला, ‘यदि यस राज्यले सारा संसारभरि शासन गर्नेछ भने मानिसले बनाएका सरकारहरूलाई चाहिं के हुनेछन्‌ नि?’

जवाफ दानियल २:४४ मा पाइन्छ: “ती [वर्तमान रीतिरिवाजको अन्तिम समयमा शासन गरिरहेका] राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूकोमानिसले बनाएका राज्यहरूको] अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” परमेश्‍वरको राज्यले यी पार्थिव शासनहरूलाई किन “चक्नाचूर” पार्नेछ? किनभने यी मानव शासनहरूले, शैतानले धेरैअघि अदनको बगैंचामा प्रवर्धन गरेको आफूखुसी गर्ने मनोभावलाई कायम राख्ने कोसिस गर्छन्‌, जसले परमेश्‍वरको विरोध गर्छ। यसबाहेक, त्यस्तो मनोभावलाई बढवा दिने मानिसहरूले मानिसजातिको भलाइ हुने काम कहिल्यै गर्दैन र सृष्टिकर्ताको विद्रोह गर्छ। (भजन २:६-१२; प्रकाश १६:१४, १६) तसर्थ, हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नैपर्छ, ‘हामी परमेश्‍वरको शासनको पक्षमा छौं कि विपक्षमा?’

तपाईं कसको शासन छान्‍नुहुन्छ?

ठीक शासन कुनचाहिं हो, छान्‍न सकोस्‌ भनेर येशूले आफ्ना चेलाहरूलाई वर्तमान रीतिरिवाजको अन्त आउनुअघि नै “राज्यको . . . सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गर्नु भन्‍ने आज्ञा दिनुभयो। (मत्ती २४:१४) आज परमेश्‍वरको राज्य विश्‍वव्यापी तवरमा प्रचार गर्नेहरू को हुन्‌? तिनीहरू यहोवाका साक्षीहरू हुन्‌। यस पत्रिकाले आफ्नो आवरणमै “यहोवाको राज्यको घोषणा गर्छ” भनेर उल्लेख गरेको धेरै भइसक्यो। आज, २३० भन्दा बढी मुलुकहरूमा ६० लाख जति साक्षीहरूले मानिसहरूलाई यस राज्यबारे सही ज्ञान हासिल गर्न मदत गरिरहेका छन्‌। a

राज्यको अधीनमा हुनेहरूका लागि आशिष्‌हरू

येशू सधैंभरि परमेश्‍वरले चाहनु भएअनुसार चल्नुभयो। तसर्थ, स्वतन्त्र मार्ग छानेर राजनैतिक माध्यमहरूद्वारा विद्यमान रीतिरिवाजलाई उकास्नुको सट्टा उहाँले संसारका समस्याहरूको एक मात्र समाधानको रूपमा परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन परिश्रम गर्नुभयो। उहाँले देखाउनुभएको वफादारिताको इनामस्वरूप उहाँलाई त्यस राज्यको राजाको रूपमा स्वर्गमा महिमित सिंहासन दिइयो। परमेश्‍वरको अधीनमा रहेर उहाँले साँच्चै कत्ति अद्‌भुत इनाम पाउनुभयो!—दानियल ७:१३, १४.

आज येशूको अनुकरण गर्दै परमेश्‍वरको राज्यलाई प्राथमिकता दिने र परमेश्‍वरको इच्छाको अधीनतामा बस्न चाहने लाखौंले पनि परमेश्‍वरको राज्यको प्रजा हुने सुअवसरको इनाम पाउनेछन्‌। (मत्ती ६:३३) परमेश्‍वरको राज्यको मायालु शासनको अधीनमा तिनीहरू अनन्त जीवनको आशासहित सिद्धतातर्फ अघि बढ्‌दै जानेछन्‌। (प्रकाश २१:३, ४) पहिलो यूहन्‍ना २:१७ यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” शैतान तथा त्यसका समर्थकहरूलगायत राष्ट्रियता, भ्रष्ट अर्थतन्त्र तथा झूटो धर्मरहित विश्‍वव्यापी प्रमोदवनमा सधैंभरि बाँच्न पाउनु साह्रै उत्कृष्ट आशा हो!—भजन ३७:२९; ७२:१६.

हो, परमेश्‍वरको राज्य वास्तविक सुखी संसारको कुञ्जी हो र अहिले उक्‍त राज्यको घोषणा गर्ने सन्देश साँच्चै सुसमाचार नै हो। यदि तपाईंले अहिलेसम्म यो सुसमाचार सुन्‍नुभएको छैन भने, अर्कोपल्ट यहोवाका साक्षीहरूले तपाईंको घरको ढोका ढक्ढक्याउँदा तपाईंकहाँ ल्याइएको सुसमाचार सुन्‍नुभए कसो होला?

[फुटनोटहरू]

a परमेश्‍वरको राज्यको वकालत गर्न यहोवाका साक्षीहरू राजनीतिमा भाग लिंदैनन्‌। साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको वा उनीहरूलाई सताइएका मुलुकहरूमा समेत उनीहरू सांसारिक सरकारहरूको विद्रोह गर्दैनन्‌। (तीतस ३:१) बरु, उनीहरूले येशू ख्रीष्ट र उहाँका प्रथम शताब्दीका चेलाहरूले जस्तै गैर-राजनीतिक, उपयोगी, आध्यात्मिक योगदान पुऱ्‍याउँछन्‌। साक्षीहरू, विभिन्‍न समुदायका आध्यात्मिक झुकाउ भएका मानिसहरूलाई पारिवारिक प्रेम, इमानदारिता, नैतिक स्वच्छता जस्ता बाइबलका स्वस्थकर स्तरहरू अपनाउन मदत गर्न यथासक्दो प्रयास गर्छन्‌। मुख्यतः तिनीहरू बाइबलका सिद्धान्तहरू कसरी पालन गर्ने भनेर सिकाउनुका साथै मानिसजातिको साँचो आशा परमेश्‍वरको राज्य हो भनेर बुझाउने प्रयत्न गर्छन्‌।

[पृष्ठ ५-मा भएका चित्रहरू]

परमेश्‍वरविना मानिसजातिले सफलतासाथ शासन गर्न सक्दैन भनेर इतिहासले प्रमाणित गर्छ

[पृष्ठ ५-मा भएको चित्र]

वर्तमान “रीतिरिवाजको” शासक भएको कारण शैतानले येशूलाई “यस संसारका सबै राज्य” दिने प्रस्ताव राख्न सकेको हो

[पृष्ठ ७-मा भएका चित्रहरू]

परमेश्‍वरको राज्य व्यवस्थाअन्तर्गत यो संसार राम्रो ठाउँ हुनेछ भनेर येशूले सिकाउनुभयो