सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌

आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌

आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌

“कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”—हितोपदेश ४:२३.

१, २. हामीले आफ्नो हृदयलाई सुरक्षित राख्नु किन आवश्‍यक छ?

 क्यारेबियन टापुका एक वृद्ध पुरुष तुफान शान्त भएपछि आफ्नो आश्रयस्थलबाट बाहिर निस्किए। वरपर के-कति क्षति भएछ भनी हेर्दा तिनले आफ्नो मूल ढोकाछेउ दशकौं पुरानो एक विशाल रूख ढलेको देखे। ‘वरपरका साना रूखहरू जस्ताको तस्तै छन्‌ तर यो रूखचाहिं ढलेछ, कसरी पो ढल्यो होला’ भन्दै तिनी छक्क परे। त्यो ढलेको रूखको ठुटाले तिनको प्रश्‍नको जवाफ दियो। त्यो बलियो देखिएको रूख भित्रभित्रै कुहेर खोक्रो भइसकेको रहेछ, तुफान चल्दा पो बल्ल देखियो।

मसीही मार्गमा बलियो गरी जरा गाडिएको जस्तो देखिने साँचो उपासक विश्‍वासको परीक्षामा असफल हुँदा कत्ति दुःखलाग्दो हुन्छ। बाइबलले “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ” भन्‍नु साँच्चै उपयुक्‍त छ। (उत्पत्ति ८:२१) त्यसैकारण, निरन्तर होसियार भएनौं भने, असल हृदय पनि खराब काम गर्न उक्सनसक्छ। भ्रष्टताबाट असिद्ध मानव हृदय जोगिन नसक्ने भएको कारण हामीले यो सल्लाहलाई गम्भीरतासाथ लिनु आवश्‍यक छ: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌।” (हितोपदेश ४:२३) त्यसोभए, हामी कसरी आफ्नो लाक्षणिक हृदयलाई सुरक्षित राख्न सक्छौं?

नियमित जाँच—अत्यावश्‍यक छ

३, ४. (क) हाम्रो शारीरिक हृदयको सम्बन्धमा कस्ता प्रश्‍नहरू सोध्न सकिन्छ? (ख) हाम्रो लाक्षणिक हृदयलाई जाँच्न हामीलाई केले मदत गर्नेछ?

स्वास्थ्य परीक्षण गर्न डाक्टरकहाँ जानुहुँदा तिनले पक्कै पनि तपाईंको मुटु जाँच्नेछन्‌। के तपाईंको स्वास्थ्य र मुटुले समेत तपाईंले पर्याप्त मात्रामा पौष्टिक आहार खाइरहनुभएको छ भनेर संकेत गर्छ? तपाईंको रक्‍तचाप कस्तो छ? के तपाईंको मुटुको ढुकढुकी एकैनासको र प्रस्ट छ? के तपाईं पर्याप्त मात्रामा कसरत गर्नुहुन्छ? के तपाईंको मुटुले अनावश्‍यक तनाउ झेलिरहेको छ?

हाम्रो शरीरभित्रको हृदयलाई त नियमित तवरमा जाँच्नुपर्छ भने लाक्षणिक हृदयलाई नि? त्यसलाई यहोवाले जाँच्नुहुन्छ। (१ इतिहास २९:१७) अनि हामीले पनि जाँच्नुपर्ने हो। कसरी? यस्ता प्रश्‍नहरू सोधेर: के मेरो हृदयले नियमित तवरमा व्यक्‍तिगत अध्ययन गरेर अनि सभामा उपस्थित भएर पर्याप्त मात्रामा आध्यात्मिक आहार प्राप्त गरिरहेको छ? (भजन १:१, २; हिब्रू १०:२४, २५) के यहोवाको सन्देश मेरो हृदयमा “जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको” जस्तै भएर मलाई राज्य प्रचारकार्य र चेला बनाउने काममा भाग लिन उत्प्रेरित गर्ने गरी गम्भीर चासोको विषय भएको छ? (यर्मिया २०:९; मत्ती २८:१९, २०; रोमी १:१५, १६) के म सम्भव भएको बेला पूर्ण-समय सेवाको कुनै एक पक्षलाई अँगाल्न सक्दो प्रयत्न गर्न उत्प्रेरित भएको छु? (लूका १३:२४) मैले आफ्नो हृदयलाई कस्तो प्रकारको वातावरणमा भिज्न दिइरहेको छु? ज-जसको हृदय साँचो उपासनामा एकताबद्ध भएको छ, के म तिनीहरूसँग संगत गर्न खोज्छु? (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) हामीले आफूमा भएको कमीकमजोरीलाई तुरुन्तै पत्ता लगाउन सकौं र परिस्थितिलाई सुधार्न तुरुन्तातुरुन्तै कदम चाल्न सकौं।

५. विश्‍वासका परीक्षाहरूले कस्ता लाभकारी लक्ष्यहरू हासिल गर्न सक्छन्‌?

हामी अक्सर विश्‍वासका परीक्षाहरू सामना गर्छौं। यी परीक्षाहरूले हामीलाई आ-आफ्नो हृदयको अवस्था बुझ्ने मौकाहरू दिन्छन्‌। प्रतिज्ञा गरिएको मुलुकको संघारमा पुगिसकेका इस्राएलीहरूलाई मोशाले यसो भने: “तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँको आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोराउनुभयो।” (व्यवस्था ८:२) अप्रत्याशित परिस्थिति वा प्रलोभनहरूको सामना गर्नुपर्दा हामीमा आउने भावना र चाहनाहरू वा हामीले व्यक्‍त गर्ने प्रतिक्रिया देखेर हामी अक्सर छक्क पर्छौं, होइन र? यहोवाले हामीमाथि आइपर्न दिनुहुने जाँचहरूले पक्कै पनि हामीलाई आफ्ना त्रुटिहरू चिन्‍न र सुधार्न मौका दिनसक्छ। (याकूब १:२-४) हाम्रो जाँच हुँदा हामीले व्यक्‍त गर्ने प्रतिक्रियाबारे प्रार्थनापूर्वक विचार गर्न हामी कहिल्यै नचुकौं!

हाम्रो बोलीले के प्रकट गर्छ?

६. हामीलाई छलफल गर्न मनपर्ने विषयहरूले हाम्रो हृदयबारे के प्रकट गर्नसक्छ?

हामीले आफ्नो हृदयमा के राखेका छौं, त्यो कसरी निधो गर्न सक्छौं? येशूले भन्‍नुभयो: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्टै थोक निकाल्दछ। किनकि हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) हामीले जे गर्ने संकल्प गरेका छौं, अक्सर त्यही विषयमा कुरा गर्छौं। के हामी अक्सर भौतिक कुराहरू र सांसारिक उपलब्धिहरूबारे कुरा गर्छौं? अथवा के हाम्रो वार्तालाप अक्सर आध्यात्मिक कामकुरा र ईश्‍वरतान्त्रिक लक्ष्यहरूमा केन्द्रित हुन्छ? अरूका गल्तीहरूको प्रचारप्रसार गर्नुको साटो के हामी मायालु हुँदै ती गल्तीहरू ढाकछोप्न गर्न उत्प्रेरित हुन्छौं? (हितोपदेश १०:११, १२) के हाम्रो अरू मानिसहरूबारे र तिनीहरूको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन्‌, त्यसबारे मात्र बढी कुरा गर्ने तर आध्यात्मिक र नैतिक विषयहरूमा चाहिं पटक्कै कुरै नगर्ने प्रवृत्ति छ? यसो गर्नु हामीले अरू मानिसहरूको निजी मामिलामा अनावश्‍यक हस्तक्षेप गर्दैछौं भन्‍ने संकेत हुँदैन र?—१ पत्रुस ४:१५.

७. यूसुफका दस जना दाजुहरूको घटनाबाट हामी आफ्नो हृदयलाई सुरक्षित राख्ने विषयमा कस्तो पाठ सिक्न सक्छौं?

एउटा ठूलो परिवारलाई के भयो, त्यो विचार गर्नुहोस्‌। याकूबका दस जना जेठा छोराहरू आफ्नो भाइ यूसुफसित “राम्ररी बोल्दैन थिए।” किन? किनभने तिनी बुबाका मनपर्ने छोरा भएकोले तिनीहरूलाई डाह लागेको थियो। पछि, जब परमेश्‍वरले यूसुफलाई सपनामार्फत तिनीमाथि यहोवाको आशिष्‌ छ भन्‍ने कुरा प्रमाणित गर्नुभयो तब तिनका दाजुहरूले तिनीसित “झन्‌ बढ़ी दुश्‍मनी राख्नलागे।” (उत्पत्ति ३७:४, ५, ११) क्रूरतासाथ तिनीहरूले आफ्नो भाइलाई दासत्वमा बेचे। त्यसपछि, आफ्नो भूल ढाकछोप गर्न यूसुफ जंगली जनावरको सिकार भयो भनेर तिनीहरूले आफ्नो बुबालाई ढाँटे। त्यतिखेर यूसुफका दस जना दाजुहरूले आफ्नो हृदयलाई सुरक्षित राख्न सकेनन्‌। यदि हामी तुरुन्तै अरूको आलोचना गरिहाल्छौं भने, कतै त्यो हाम्रो हृदयमा भएको ईर्ष्या वा डाहको प्रमाण त होइन? हाम्रो मुखबाट कस्तो कुरा निस्कँदैछ, त्यो जाँच्न अनि अनुचित झुकाउलाई तुरुन्तै हटाउन हामी सजग हुनु आवश्‍यक छ।

८. कथंकदाचित्‌ झूट बोलिहाल्यौं भने केले हामीलाई आफ्नो हृदय जाँच्न मदत गर्नेछ?

“परमेश्‍वर[सित] झूट बोल्न असम्भव” भए तापनि असिद्ध मानिसहरू झूट बोलिहाल्छन्‌। (हिब्रू ६:१८) “सबै मानिस झूटा हुन्‌” भनेर भजनरचयिताले विलाप गरे। (भजन ११६:११) प्रेरित पत्रुसले समेत झूटो बोल्दै येशूलाई तीन पटक इन्कार गरे। (मत्ती २६:६९-७५) स्पष्ट छ, हामी झूट बोल्नदेखि पर बस्नैपर्छ किनकि यहोवा “झूट बोल्ने जिब्रो[लाई]” घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) हामीले कथंकदाचित्‌ झूट बोलिहाल्यौं भने पनि किन झूट बोल्यौं त्यसको कारण कोट्याउनु बुद्धिमानी हुनेछ। मानिसको डरले गर्दा पो झूट बोलेका हौं कि? कतै सजाय पाइएला भन्‍ने डरले गर्दा पो हो कि? आफू लाजमा पर्न नपरोस्‌ भनेर अथवा सरासर स्वार्थपनले गर्दा पो झूट बोलेका हौं कि? कारण जेसुकैहोस्‌, यस विषयमा विचार गर्नु, आफ्ना कमीकमजोरीलाई नम्रतासाथ स्वीकार्नु र ती कमजोरीहरूलाई जित्न यहोवाको मदत माग्दै उहाँसित माफी माग्नु एकदमै उचित छ! अनि यस्तो मदत दिन सबैभन्दा सक्षम व्यक्‍तिहरू, “मण्डलीको धर्म-गुरुहरू” नै हुनसक्छन्‌।—याकूब ५:१४.

९. प्रार्थनाहरूले हाम्रो हृदयबारे के प्रकट गर्नसक्छन्‌?

युवा राजा सुलेमानले बुद्धि र ज्ञान माग्दा यहोवाले यसो भन्‍नुभयो: “तेरो इच्छा यही रहेछ। तैंले धन-सम्पत्ति अथवा अधिकार वा मान-मर्यादा . . . मागेनस्‌, तर . . . बुद्धि र ज्ञान मैले तँलाई दिएँ। म तँलाई धन-सम्पत्ति, अधिकार र मान-मर्यादा पनि दिनेछु।” (२ इतिहास १:११, १२) सुलेमानले मागेका र नमागेका कुराहरूबाट यहोवाले सुलेमानको हृदयभित्र के रहेछ, त्यो बुझ्नुभयो। हामीले परमेश्‍वरलाई गर्ने प्रार्थनाले हाम्रो हृदयबारे के प्रकट गर्छ? के हाम्रा प्रार्थनाहरूले हामी ज्ञान, बुद्धि र समझको निम्ति तिर्खाएका छौं भनेर देखाउँछ? (हितोपदेश २:१-६; मत्ती ५:३) के हामी राज्यसम्बन्धी कामकुराहरूलाई माया गर्छौं? (मत्ती ६:९, १०) यदि हाम्रा प्रार्थनाहरू एकोहरो र झारो टार्ने किसिमका मात्र भएका छन्‌ भने, यसलाई यहोवाले गर्नुभएका कामहरू मनन गर्नैपर्ने समय भएको रहेछ भन्‍ने संकेतको रूपमा लिन सकिन्छ। (भजन १०३:२) आफ्ना प्रार्थनाहरूले के प्रकट गर्छन्‌, त्यो बुझ्न सबै मसीही सतर्क हुनैपर्छ।

हाम्रा कामहरूले के भन्छन्‌?

१०, ११. (क) करणी र व्यभिचार कहाँबाट सुरु हुन्छ? (ख) ‘हृदयमा व्यभिचार नगर्न’ हामीलाई केले मदत गर्नेछ?

१० भनिन्छ, कुराभन्दा काम प्रभावकारी हुन्छ। हाम्रो भित्री रूप कस्तो छ, हाम्रो कामबाट धेरै नै प्रकट हुन्छ। जस्तै, नैतिकताको सम्बन्धमा हृदयलाई सुरक्षित राख्नुमा करणी वा व्यभिचारबाट अलग रहनु मात्र समावेश छैन। डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) हामी आफ्नो हृदयमा व्यभिचार गर्नदेखि कसरी पर बस्न सक्छौं?

११ विश्‍वासी कुलपिता अय्यूबले विवाहित मसीही पुरुष तथा स्त्रीका लागि राम्रो उदाहरण बसाले। निस्सन्देह, अय्यूबले युवतीहरूसित सामान्य व्यवहार गर्नुपर्थ्यो र आवश्‍यक परेको खण्डमा दया देखाउँदै उनीहरूलाई मदत पनि गर्नुपर्थ्यो। तर यस निष्ठा पालक पुरुषले तिनीहरूमा रोमान्टिक चासो लिने विचार कहिल्यै गरेनन्‌। किन? किनकि तिनले कुनै पनि आइमाईलाई कामवासनाको दृष्टिले नहेर्ने दृढ संकल्प गरेका थिए। तिनले यसो भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ़ संकल्प गरें।” (अय्यूब ३१:१) हामी पनि आफ्नो आँखासित त्यस्तै वाचा बाधौं र आफ्नो हृदयलाई सुरक्षित राखौं।

१२. आफ्नो हृदयलाई सुरक्षित राख्न तपाईं लूका १६:१० कसरी प्रयोग गर्नुहुन्छ?

१२ परमेश्‍वरको पुत्रले यस्तो घोषणा गर्नुभयो: “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ, औ जो सानो कुरोमा अविश्‍वासी हुन्छ, त्यो धेरैमा पनि अविश्‍वासी हुन्छ।” (लूका १६:१०) हो, हामीले दैनिक जीवनका नगण्य कुराहरूमा र आफ्नो घरमा हुने निजी कुराहरूमा समेत आफ्नो आचरण जाँच्नुपर्छ। (भजन १०१:२) घरमा, टेलिभिजन हेर्दा वा इन्टरनेटमा चलाउँदा के हामी “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ। औ न अशिष्टता, न बेमतलबका कुरा अथवा ठट्टा, यी उचित होइनन्‌” भन्‍ने धर्मशास्त्रीय सल्लाह पालन गर्ने निधो गर्छौं? (एफिसी ५:३, ४) अनि टेलिभिजन वा भिडियो गेममा देखाइने हिंसा नि? भजनरचयिताले यसो भने, “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।”—भजन ११:५.

१३. हाम्रो मनमा के छ, त्यसबारे विचार गर्दा कुन कुरादेखि होसियार हुनुपर्छ?

१३ “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ” भनी यर्मियाले चेताउनी दिए। (यर्मिया १७:९) हामीले आफ्ना गल्तीहरूको बहाना बनाउन खोज्दा, आफ्ना भूलहरूलाई सानो पार्न खोज्दा, व्यक्‍तित्वमा देखिएका गम्भीर त्रुटिहरूको सफाइ दिन खोज्दा वा आफ्ना उपलब्धिहरूबारे बढाइचढाइ कुरा गर्दा त्यसले हाम्रो हृदय छली भएछ भन्‍ने कुरा प्रकट गर्नसक्छ। छली हृदय दुईमुखे पनि हुनसक्छ अर्थात्‌ मुखले राम्रो बोल्ने तर कामले अर्कै व्यवहार गर्ने हुनसक्छ। (भजन १२:२; हितोपदेश २३:७) हाम्रो हृदयबाट निस्कने कुरालाई इमानदार भई जाँच्नु कत्ति आवश्‍यक रहेछ!

के हाम्रो आँखा निर्मल छ?

१४, १५. (क) “निर्मल” आँखा भनेको के हो? (ख) आँखालाई निर्मल राख्दा हृदयलाई सुरक्षित राख्न कसरी मदत पाउँछौं?

१४ येशूले यसो भन्‍नुभयो: “शरीरको ज्योति आँखा हो।” त्यसपछि उहाँले अझै यसो भन्‍नुभयो: “यसकारण यदि तिम्रो आँखा निर्मल छन्‌ भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।” (मत्ती ६:२२) निर्मल आँखा, लक्ष्य अथवा उद्देश्‍यमा केन्द्रित हुन्छ र त्यो अलमलिने वा पथभ्रष्ट हुने गर्दैन। निस्सन्देह, हाम्रो आँखा “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी” गर्नमा केन्द्रित हुनुपर्छ। (मत्ती ६:३३) हाम्रो आँखा निर्मल छैन भने, हाम्रो लाक्षणिक हृदयलाई के हुनसक्छ?

१५ जीविकोपार्जन गर्ने कुरालाई नै लिनुहोस्‌। परिवारको आवश्‍यकता पूरा गर्नु मसीही दायित्व हो। (१ तिमोथी ५:८) तर सबैभन्दा नयाँ, राम्रो वा रहरलाग्दो भोजन, लत्ताकपडा, आवास र यस्तै अन्य कुराहरू प्राप्त गर्ने इच्छाले प्रलोभित भयौं भने नि? के यसले हाम्रो हृदय र मनलाई दास बनाएर परमेश्‍वरको उपासना गर्न आधा मनको बनाउँदैन र? (भजन ११९:११३; रोमी १६:१८) हामी किन पो आफ्नो परिवार, व्यापार र भौतिक कुराहरूमा मात्र आफ्नो जीवन केन्द्रित हुने गरी भौतिक आवश्‍यकताहरू पूरा गर्न व्यस्त हुनु पऱ्‍यो र? यो प्रेरित सल्लाहलाई सम्झनुहोस्‌: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ।”—लूका २१:३४, ३५.

१६. आँखाको सम्बन्धमा येशूले के सल्लाह दिनुभयो र किन?

१६ मन अनि हृदयसित कुराकानी गर्ने प्रमुख माध्यम आँखा हो। आँखाले ध्यान केन्द्रित गरेका कुराहरूले हाम्रो विचार, भावना र काममा गहिरो प्रभाव पार्नसक्छ। अलंकार प्रयोग गर्दै येशूले आँखाको प्रलोभनको शक्‍तिबारे यसो भन्‍नुभयो: “यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पार्ने तुल्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अंगहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुन्छ।” (मत्ती ५:२९) अनुचित कुराहरूमा ध्यान केन्द्रित गर्नदेखि आँखालाई रोक्नैपर्छ। जस्तै, यसलाई अवैध कामवासना र तृष्णा उत्पन्‍न गराउने कुनै पनि कुरामा पटक्कै ध्यान केन्द्रित गर्न दिनु हुँदैन।

१७. कलस्सी ३:५ लागू गर्दा आफ्नो हृदयलाई सुरक्षित राख्न कसरी मदत पाउँछौं?

१७ हामीलाई बाह्‍य संसारसित सम्पर्क गराउने इन्द्रिय दृष्टि मात्र पक्कै होइन। स्पर्श र श्रवणजस्ता अन्य इन्द्रियहरूको पनि आफ्नै भूमिका छ र यससित सम्बन्धित शरीरका अन्य अंगहरूबारे पनि हामीले आवश्‍यक सतर्कता अपनाउनु जरुरी छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।”—कलस्सी ३:५.

१८. अनुचित विचारहरू हटाउने सम्बन्धमा हामीले कस्तो कदम चाल्नुपर्छ?

१८ हाम्रो मनको गुप्त भागमा अनुचित इच्छा जाग्नसक्छ। यसैमा मन खेलाइरहँदा अक्सर कुइच्छा झन्‌ प्रबल हुन्छ र यसले हृदयलाई असर गर्छ। “तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ।” (याकूब १:१४, १५) यो कुरा अक्सर हस्तमैथुन गर्न पुगेका थुप्रैले स्वीकारेका छन्‌। हाम्रो मनलाई आध्यात्मिक कुराहरूले भरिरहनु कत्ति महत्त्वपूर्ण रहेछ! (फिलिप्पी ४:८) अनि कथंकदाचित्‌ अनुचित विचार हाम्रो मनमा आएको खण्डमा, त्यस्तो विचारलाई तुरुन्तै हटाइहाल्ने प्रयास हामीले गर्नुपर्छ।

‘सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌’

१९, २०. सारा हृदयले यहोवाको सेवा गर्न हामी कसरी सफल हुन सक्छौं?

१९ वृद्धावस्थामा राजा दाऊदले आफ्नो छोरालाई यसो भने: “सुलेमान मेरो छोरा चाहिं, तिम्रा पिताका परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान, र सारा हृदय र इच्छुक मनले उहाँको सेवा गर। किनभने परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाह पाउनुहुन्छ।” (१ इतिहास २८:९) सुलेमान आफैले पनि “बुझ्ने मन दिनुहोस्‌” भनी प्रार्थना गरेका थिए। (१ राजा ३:९) यद्यपि, तिनले जीवनभर आफ्नो मनलाई जोगाइ राख्ने चुनौतीको सामना गर्नुपऱ्‍यो।

२० यदि हामी सफल हुन चाहन्छौं भने, हामीले यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुका साथै त्यसलाई सुरक्षित पनि राख्नुपर्छ। यसका लागि हामीले परमेश्‍वरको वचनमा पाइने सम्झौटाहरूलाई आफ्नो हृदयमा राख्नुपर्छ अर्थात्‌ ‘हृदयमा लिइराख्नैपर्छ।’ (हितोपदेश ४:२०-२२) हाम्रो बोली र कामले के प्रकट गर्छ, त्यसबारे प्रार्थनापूर्वक विचार गर्दै आफ्नो हृदयलाई जाँच्ने बानी बसाल्नुपर्छ। तर यदि हामी आफ्ना कमीकमजोरीलाई सुधार्न व्यग्रतासाथ यहोवाको मदत माग्दैनौं भने, माथि भनेझैं विचार गर्नुमा के नै तुक रहन्छ र? अनि हामीले आफ्ना ज्ञानेन्द्रियहरूमार्फत के सिकिरहेका छौं, त्यसबारे पनि होसियार हुनु अत्यावश्‍यक छ! यसो गर्नका लागि हामीसित “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, [हाम्रो] हृदय र [हाम्रो] विचारलाई येशूमा रक्षा गर्नेछ” भन्‍ने आश्‍वासन छ। (फिलिप्पी ४:६, ७) हो, कुनै पनि मूल्यवान्‌ वस्तुलाई भन्दा आफ्नो हृदयलाई सुरक्षित राख्न र सारा हृदयले यहोवाको सेवा गर्न कटिबद्ध होऔं।

के तपाईंलाई सम्झना छ?

• हृदयलाई सुरक्षित राख्नु किन महत्त्वपूर्ण छ?

• आफूले बोलेका कुरालाई विश्‍लेषण गर्दा त्यसले हाम्रो हृदयलाई सुरक्षित राख्न कसरी मदत गर्छ?

• हामीले आफ्नो आँखा किन “निर्मल” राख्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएका चित्रहरू]

हामी क्षेत्र सेवकाईमा, सभाहरूमा र घरमा अक्सर के कुरा गर्छौं?

[पृष्ठ २५-मा भएका चित्रहरू]

निर्मल आँखा अलमलिंदैन