सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एण्डीजमा जीवनदायी पानी बग्छ

एण्डीजमा जीवनदायी पानी बग्छ

एण्डीजमा जीवनदायी पानी बग्छ

एण्डीज पर्वतमाला पेरूको मध्य भाग भएर फैलिएको छ। यसले गर्दा पेरू दुई भागमा विभाजित भएको छ, पश्‍चिमतिर सुक्खा तटवर्तीय इलाका परेको छ भने पूर्वतिर घना जंगल रहेको छ। यो मेरुदण्डजस्तो देखिने पर्वतमालामा पेरूको २ करोड ७० लाख जनतामध्ये एक तिहाइ बसोबास गर्छन्‌। एण्डीजको उच्च पठार होस्‌ वा भिरालो पर्वत, गहिरो खोच होस्‌ वा सियराको उर्वर उपत्यका, तिनीहरू जताततै बसोबास गरिरहेका छन्‌।

एण्डीज पर्वतमालामा थुप्रै उकालीओराली भएको हुनाले यहाँ यात्रा गर्नु गाह्रो छ। परिणामस्वरूप, त्यहाँ बसोबास गरिरहेका लाखौं मानिसहरू पृथक भएका छन्‌ र प्रायजसो मानिसहरू आफ्नो इलाकाबाहिर भइरहेका घटना तथा विकासबारे अनभिज्ञ छन्‌।

अनाजका साथै लामा, अल्पाकास, भिसुन्यास र भेडाका बगालहरूलाई चाहिने जीवनदायी पानी पाउन सजिलो होस्‌ भनेर नदीको किनारतिर सानातिना गाउँहरू बस्न थालेका छन्‌। तथापि, एण्डीजमा अर्को प्रकारको अत्यावश्‍यक पानी पनि बग्छ। त्यो हो, “जीवित पानीको मूल” यहोवाबाट आउने स्वच्छ आध्यात्मिक पानी। (यर्मिया २:१३) एण्डीजका डाँडाहरूमा स्थापित गाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई आफू र आफ्ना उद्देश्‍यहरूबारे सही ज्ञान दिन मदत गर्ने हेतुले परमेश्‍वर आफ्ना साक्षीहरूलाई चलाउनुहुन्छ।—यशैया १२:३; यूहन्‍ना १७:३.

“सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा भएको कारण यी सेवकहरूले पुग्न साह्रै गाह्रो पर्ने समुदायहरूमा समेत गएर बाइबलबाट जीवनदायी सन्देश दिन कुनै कसर बाँकी छोड्‌दैनन्‌। (१ तिमोथी २:४) यो बाइबल आधारित सन्देश ज्ञानवर्धक तथा उत्कृष्ट छ। यसले स्थानीय सोझा मानिसहरूलाई प्राकृतिक शक्‍तिहरूको उपासना, अन्धविश्‍वास, रीतिथिति, मरेकाहरूको डर र दुष्टात्माबाट स्वतन्त्र तुल्याएका छन्‌। अझ महत्त्वपूर्ण कुरा त, यो सन्देशले तिनीहरूलाई पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने महिमित आशा प्रदान गर्छ।

प्रयास गर्दै

यी अनकन्टार ठाउँहरूमा भ्रमण गर्ने राज्य प्रचारकहरूले थुप्रै काँटछाँट गर्नुपर्छ। बाइबलको सन्देश मानिसहरूको हृदयसम्म पुऱ्‍याउन बाइबल शिक्षकहरूसित दुई स्थानीय भाषा, क्वेचुवा र आएमाराबारे केही ज्ञान हुनु जरुरी छ।

एण्डीजका गाउँहरूमा पुग्नु त्यति सजिलो छैन। ती क्षेत्रमा रेलमार्गहरू छैनन्‌। खराब मौसम र अप्ठ्यारो भौगोलिक बनौटले गर्दा यातायात अनिश्‍चित छ। उसोभए, साक्षीहरू ती मानिसहरूकहाँ राज्यको सन्देश लिएर कसरी पुग्छन्‌?

सुसमाचारका साहसी प्रचारकहरूले उक्‍त चुनौतीलाई स्वीकार्दै अगमवक्‍ता यशैयाको जस्तै यस्तो मनोभाव झल्काएका छन्‌: “म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशैया ६:८) सुत्ने कोठासमेत भएको तीनवटा गाडीहरू प्रयोग गरेर तिनीहरू उत्तरी, मध्य र दक्षिणी क्षेत्रहरूमा यात्रा गर्छन्‌। थुप्रै बाकस बाइबल तथा बाइबल साहित्यहरू आफूसँगै लगेर यी जोसिला अग्रगामी वा पूर्ण समय सेवकहरूले त्यहाँ बसोबास गर्ने मित्रैलो, अतिथि सत्कार गर्ने र सोझा मानिसहरूमा बाइबल सच्चाइको बीउ रोपेका छन्‌।

विशेष गरी डाँडाका घुमाउरा बाटाहरू खतरनाक छन्‌। त्यहाँसम्म पुग्नका लागि सवारी साधनहरूले नागबेली बाटो भएर जानुपर्छ। त्यस्तै एउटा यात्राको दौडान बसको पछाडि बसेका एक जना मिसनरीले झ्यालबाट बाहिर हेर्दा पछाडिपट्टिको एउटा चक्का त बाफ रे! १९० मिटरभन्दा अग्लो उचाइमा रहेको बाटोबाट खस्नै लागेजस्तो देखे! त्यसपछि बस अगाडि नबढुञ्जेल तिनले आँखा बन्द गरे।

केही बाटाहरू बिग्रेका र साँघुरा छन्‌। त्यस्तो उकालीओराली पार गर्ने क्रममा हाम्रो एउटा गाडी ओरालो झर्दै थियो र त्यसैबेला अगाडिबाट पनि एउटा ट्रक उकालो चढ्‌न थाल्यो। त्यसपछि त दुवै गाडी पास हुनसक्ने ठाउँ नभेटुञ्जेल हाम्रो गाडीलाई पछाडिबाट गुडाउँदै उकालो लैजानुपऱ्‍यो।

यद्यपि, त्यस्तो धैर्यतासाथ गरिएको प्रयत्नको परिणाम एकदमै उल्लेखनीय भएको छ। के तपाईं यीबारे अझ बढी जान्‍न चाहनुहुन्छ?

टिटिकाका तालमा “सिंचाइ गर्दै”

एण्डीज पर्वतमालाको फेद र समुद्री सतहबाट ३,८०० मिटरमाथि एकदमै अग्लो ठाउँमा रहेको टिटिकाका, जहाजसमेत चलाउन सकिने संसारकै सबैभन्दा धेरै पानी भएको ताल हो। हिउँले ढाकेका पहाडका चुचुराहरूमध्ये कुनैकुनै ६,४०० मिटरभन्दा अग्ला छन्‌ र तिनीहरू नै टिटिकाकामा बग्ने २५ वटा नदीका मुहानहरू हुन्‌। एकदमै उचाइमा भएको कारण यहाँको हावापानी चिसो छ र त्यहाँका स्थानीय बासिन्दालाई बाहेक अरूलाई लेक लाग्नसक्छ।

केही समयअघि, क्वेचुवा र आएमारा भाषा बोल्ने अग्रगामीहरूको समूहले टिटिकाका तालको आमान्तानी र ताकीले टापुहरूमा यात्रा गरे। तिनीहरूले “चर्चहरूलाई नियाल्दा” नामक मसीहीजगत्‌ले सिकाउने गलत शिक्षाहरूबारे खुलस्त पारिएको स्लाइड प्रस्तुति पनि आफूसँगै लगे। यसलाई प्रायजसोले मन पराए। एक जना मानिसले हाम्रा भाइहरूलाई स्वागत गरे र एउटा ठूलो कोठामा बस्न आग्रह गरेपछि बाइबल सिकाउन प्रस्ताव राखे।

आमान्तानीमा भएको पहिलो सभामा १०० जना उपस्थित भए भने ताकीलेको सभामा चाहिं १४० जना उपस्थित भए। उक्‍त प्रस्तुति क्वेचुवा भाषामा भएको थियो। केही समयअघि शहरमा बसोबास गरिसकेको एउटा दम्पतीले यसो भने: “यो तपाईं यहोवाका साक्षीहरूले हामीलाई सम्झनैपर्ने समय हो। हामी तपाईंहरू आओस्‌ भनेर प्रार्थना गरिरहेका थियौं।”

यी दुई ठूलठूला टापुहरूबाहेक टिटिकाका तालको झन्डै चालिसवटा “तैरिरहेका” टापुहरूमा पनि सुसमाचार पुगिसकेको छ। तैरिरहेका टापुहरू? हो, यिनीहरू तालको कम गहिरो ठाउँमा उम्रने टोटोरस भनिने नर्कटबाट बनिएका हुन्छन्‌। टोटोरस पानीभित्रबाट सतहभन्दा माथिसम्म उम्रन्छ। टापु बनाउन स्थानीय बासिन्दाहरू नर्कटहरूलाई उखेल्दैनन्‌ तर त्यसैलाई बंग्याएर मचान बनाउन तिनीहरूलाई बुन्छन्‌। त्यसपछि उक्‍त मचान माटोले लिपिन्छ र थप नर्कटहरू राखेर त्यसलाई बलियो बनाइन्छ। त्यसमाथि बनाइएको नर्कटका छाप्रोमा मानिसहरू बसोबास गर्छन्‌।

यहोवाका साक्षीहरूले टिटिकाका तालका ती टापुहरूमा प्रचार गर्न १६ जना अटाउने एउटा डुंगा लिएको छ। ती तैरिरहेका टापुहरूमा रोकिएपछि, साक्षीहरू एकपछि अर्को गर्दै ती नर्कटका मचानहरूमा बनाइएका छाप्रोहरूमा जान्छन्‌। तिनीहरूको भनाइअनुसार तिनीहरू अक्सर छाप्रोको भुइँ हल्लिएको महसुस गर्छन्‌। यात्रा गर्दा रिंगटा लाग्नेहरूका लागि भने यो ठाउँ उपयुक्‍त छैन!

आएमारा भाषा बोल्ने मानिसहरूचाहिं तालका किनारका थुप्रै गाउँलगायत तालकै प्रायद्वीपहरूमा बसोबास गर्छन्‌। यी ठाउँहरूमा हिंडेरै जानुभन्दा डुंगाबाट जानु सजिलो पर्छ। यसरी त्यस्ता डुंगाहरूबाट राज्यको सन्देश पुऱ्‍याइने यस क्षेत्रमा लगभग ४,००,००० मानिसहरू बसोबास गर्छन्‌ भन्‍ने अनुमान गरिएको छ। त्यसैले, ती डुंगाहरू त अब व्यस्त हुने नै भयो।

आध्यात्मिक तिर्खा मेटाउँदै

फ्लेभियो, एण्डीजको हुलायाका नजिकैको सान्ता लुसिया भन्‍ने गाउँमा बसोबास गर्थे। तिनलाई आफ्नो इभान्जलिकल चर्चमा नरक कुण्डबारे सिकाइएको थियो। वर्षौंसम्म तिनी त्यस्तो अनन्त अग्निकुण्डमा शासना दिइन्छ भन्‍ने डरै डरमा बाँचिरहेका थिए। मायालु परमेश्‍वरले कसरी मानिसलाई त्यस्तो अग्निकुण्डमा शासना दिनुहुन्छ होला र भनी तिनी सोच्ने गर्थे। एक दिन यहोवाका साक्षीहरूको एक जना पूर्ण-समय सेवक, टिटो तिनको गाउँमा आए र तिनले फ्लेभियोलाई पनि भेटे।

फ्लेभियोले सर्वप्रथम यो प्रश्‍न सोधे, “के तपाईंको धर्मले मानिसहरूलाई अग्निकुण्डमा शासना दिइन्छ भनेर सिकाउँछ?” त्यस्तो कुरा सृष्टिकर्तालाई मन पर्दैन र त्यसले प्रेमको परमेश्‍वर यहोवाको नाउँमा कलंक लगाउँछ भनेर टिटोले तिनलाई बताए। फ्लेभियोकै बाइबल चलाएर टिटोले मरेकाहरू अचेत अवस्थामा हुन्छन्‌ र तिनीहरू परमेश्‍वरको राज्यमा पुनरुत्थान नहोउञ्जेल त्यसै अवस्थामा रहन्छन्‌ भनेर देखाए। (उपदेशक ९:५; यूहन्‍ना ५:२८, २९) यसले फ्लेभियोको आँखा खोल्यो। तिनले तुरुन्तै बाइबल अध्ययन गर्न सहमति जनाए र चाँडै नै एक जना बप्तिस्मा प्राप्त मसीही भए।

कृतज्ञता जाहेर गर्ने गाउँ

कहिल्यै बाइबल नदेखेका गाउँलेहरूका लागि धर्मशास्त्र लगिदिनु वा यहोवाका साक्षीहरूले प्रचार गर्ने सुसमाचारबारे कहिल्यै नसुनेका गाउँहरूमा प्रचार गर्नु कत्ति रोमाञ्चकारी होला, कल्पना गर्नुहोस्‌ त! यो अनुभव रोजा, एलीसिया र सेसीलिया नामक तीन जना अग्रगामी बहिनीहरूको हो। उनीहरूले पेरूको मध्यभागमा ३,६०० मिटरमाथि रहेका ईस्कुचाका र कोनाइका गाउँहरूमा प्रचार गरे।

पहिलो गाउँमा पुग्दा तिनीहरूले बस्ने ठाउँ नै भेट्टाएनन्‌। तिनीहरूले आफू त्यहाँ आउनुको कारण स्थानीय प्रहरी अधिकृतलाई बताए। परिणाम के भयो? तिनले उनीहरूलाई प्रहरी चौकीमै रात बिताउन दिए। भोलिपल्ट ती अग्रगामीहरूले एउटा स्थायी बासस्थान भेट्टाए र त्यहींबाट तिनीहरूले सबै कामकुरा गर्न थाले।

चाँडै ख्रीष्टको मृत्युको वार्षिक स्मरणार्थ मनाउने दिन पनि आयो। ती अग्रगामीहरू ईस्कुचाका गाउँका सबै घरहरूमा गएर मानिसहरूलाई बाइबल दिनुका साथै थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गरिसकेका थिए। स्मरणार्थअघि तिनीहरूले त्यस साँझको उत्सवको उद्देश्‍य अनि त्यस उत्सवको दौडान प्रयोग गरिने प्रतीकहरूको अर्थबारे वर्णन गरेर सबैलाई निमन्त्रणा दिए। केही भाइहरूलाई उक्‍त कार्यक्रममा सहायता गर्न निम्तो दिइएको थियो र तिनीहरूमध्ये एक जनाले भाषण पनि दिए। यो विशेष समारोहमा त्यो सानो गाउँबाट ५० जना उपस्थित भएको हेर्न पाउनु साह्रै आनन्दको कुरा थियो! तिनीहरूले पहिलो पटक प्रभुको साँझको भोज भनेको साँच्चै के रहेछ भनेर बुझ्नसके। अनि आफ्नो हातमा परमेश्‍वरको वचन पाउँदा तिनीहरूले त्यसलाई असाध्यै बहुमूल्य ठाने!

गह्रौं बोझहरूबाट छुटकारा

झूटो धर्मको बन्धनमा परेकाहरूलाई बाइबल सच्चाइको स्वच्छ पानी पुऱ्‍याइदिनु सधैं नै आनन्ददायी हुन्छ। पिसाक, पुरातन इन्का साम्राज्यको बलियो गढ थियो। आज त्यहाँ बसोबास गर्ने अधिकांश मानिसहरूलाई अग्निकुण्डबारे गैरशास्त्रीय शिक्षा सिकाइएको छ। हामीले बिन्तीभाउ गरेपछि मात्र तिमीहरू स्वर्ग जान पाउँछौं भनेर पादरीहरूले तिनीहरूलाई भन्‍ने गर्छन्‌।

स्पष्टतया, त्यस्ता मानिसहरू बाइबल सच्चाइको स्वच्छ पानीका लागि तिर्खाउँछन्‌। ढोका ढोकाको प्रचार कार्यमा जाँदा यहोवाका साक्षीहरूको एक जना पूर्ण-समय सेवक सान्टिआगोले एक जना मानिसलाई धर्मीहरू पार्थिव प्रमोदवनमा बाँच्नेछन्‌ भनेर बताउने मौका पाए। (भजन ३७:११) मरेकाहरूको पुनरुत्थान गरिनेछ र अनन्त जीवन दिन मानिसजातिलाई यहोवाको सिद्ध तौर-तरिकाअनरूप निर्देशन दिइनेछ भनेर सान्टिआगोले बाइबलबाट देखाए। (यशैया ११:९) त्यसबेला तिनी भक्‍त क्याथोलिक थिए र प्रेतवादमा लागेर पछि जँड्याहा भएका थिए। अहिले तिनले बाइबल आधारित आशा र जीवनको उद्देश्‍य अर्थात्‌ प्रमोदवनमा बाँच्ने आशा पाएका छन्‌। तिनले प्रेतवादसित सम्बन्धित आफ्ना सम्पूर्ण चीजबीजहरू जलाइदिए र रक्सीको कुलत पनि त्यागे। तिनले आफ्नो परिवारलाई एकत्रित गरे र बाइबल अध्ययन स्वीकारे। पछि पूरै परिवारले आफ्नो जीवन यहोवा परमेश्‍वरलाई समर्पण गरे र बप्तिस्मा लिए।

अतिथि सत्कारको मूल्यांकन

पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरू अतिथि सत्कार गर्न खप्पिस छन्‌। गरिब भएको कारण तिनीहरूको घर थोत्रो भए तापनि तिनीहरू पाहुनाहरूलाई आफूसित भएका कुराले स्वागत गर्छन्‌। बाइबलका उच्च स्तरहरू सिक्नुअघि घरधनीले आफ्ना पाहुनालाई कुराकानी गरुञ्जेल कोकाको पात चपाउन दिन्थे। तर साक्षी भइसकेपछि भने तिनले त्यस अनकन्टार ठाउँमा त्यो पात जतिकै अमूल्य चीज अर्थात्‌ एक चम्चा चिनी खुवाउँछन्‌।

एक जना भाइले मिसनरीलाई आफ्नो पुनःभेटहरूमा साथ दिन आग्रह गरे। एकदमै कठिन परिश्रम गरेर ठाडो उकालो चढेपछि घरधनीलाई आफू आइपुगेको संकेत दिन तिनीहरूले ताली बजाए। तिनीहरूलाई खरको छानो भएको घरभित्र आउन निम्तो दिइयो र तुरुन्तै तिनीहरू निहुरिएर साँघुरो ढोकाबाट भित्र पसे। त्यस फोहोर कोठाको बीचमा आमाचाहिंले एउटा खाल्डो खनी त्यसमा कम्बल ओछ्याएर आफ्नो बच्चालाई राखेकी थिइन्‌। तिनीहरू त्यस खाल्डोको छेउमा होसियारीसाथ पाइला टेक्दै अघि बढे। खाल्डोमा बसिरहेको बच्चाचाहिं आफू त्यहाँबाट निस्कन नसके तापनि ठूलाबडाको कुरा सुनेर रमाइलो मानिमानि आफ्नै सुरमा एक्लै बोलिरहेको थियो। परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरूबारे कुरा गरिसकेपछि ती आइमाईले स्थानीय पेय पदार्थ राखिएको एउटा ठूलो भाँडो ल्याइन्‌। चाँडै ती भाइहरू तलतिर अरू ठाउँमा जान आफ्नो बाटो लागे।

प्रशस्त कटनी

अहिले यस क्षेत्रमा लगभग सयवटा पृथक समूहहरूमा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेका एक हजारभन्दा बढी मानिसहरू छन्‌। यी समूहहरूलाई मण्डलीमा परिणत गर्न मिनिस्टेरियल ट्रेनिङ स्कूलका स्नातकहरूलाई त्यहाँ खटाइएको छ। राज्यको सुसमाचारले गर्दा झूटो धर्म तथा अन्धविश्‍वासको बन्धनमा परेका असल मानिसहरूले स्वतन्त्रता पाएका छन्‌! (यूहन्‍ना ८:३२) सत्यको पानीको निम्ति तिनीहरूको तिर्खा मेटाइँदैछ।

[पृष्ठ १०-मा भएको चित्र]

टिटिकाका तालका “तैरिरहेका” टापुहरूमा साक्षी दिंदै