सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसले हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्नसक्छ?

कसले हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्नसक्छ?

कसले हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्नसक्छ?

“हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।”—१ यूहन्‍ना ४:१९.

१, २. (क) कसैले हामीलाई माया गर्छ भनेर थाह पाउनु किन हाम्रोलागि महत्त्वपूर्ण छ? (ख) हामीलाई कसको माया नभई हुँदैन?

 कसैले आफूलाई माया गर्छ भनेर थाह पाउनु तपाईंलाई कत्तिको महत्त्वपूर्ण लाग्छ? बाल्यकालदेखि वयस्क, सबै उमेरमा माया पाएमा मानिसहरूको उन्‍नति हुन्छ। के तपाईंले मायालु आमाको काखको बच्चालाई कहिल्यै याद गर्नुभएको छ? वरपर जेसुकै भइरहेको होस्‌, बच्चालाई त्यसको केही मतलब हुँदैन बरु मायालु आमाको हँसिलो मुहारले गर्दा उसले ढुक्क महसुस गर्छ। अथवा किशोरावस्थामा हुनुहुँदा तपाईं कस्तो भावनात्मक उथलपुथलको सिकार हुनुभएको थियो, के तपाईंलाई त्यो याद छ? (१ थिस्सलोनिकी २:७) कहिलेकाहीं तपाईंले आफ्ना चाहनाहरू वा आफूले महसुस गरिरहेका कुराहरू के हुन्‌, त्यो नै बुझ्नुभएको थिएन होला, तैपनि तपाईंका आमाबाबुले तपाईंलाई माया गर्नुहुन्छ भनेर थाह पाउँदा कत्ति हल्का महसुस हुन्थ्यो! उहाँहरू सामु जस्तोसुकै समस्या वा प्रश्‍न बिसाउन सकिन्छ भनेर थाह पाउनु के मदतकारी थिएन? साँच्चै, जीवनभर हामीलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुराहरूमध्ये एक माया हो। यस्तो मायाले हाम्रो पनि केही मोल छ भनेर हामीलाई विश्‍वस्त गराउँछ।

आमाबाबुको अटुट मायाले छोराछोरीको उचित विकास तथा सन्तुलनमा ठूलो भूमिका निर्वाह गर्छ। तथापि, स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाले हामीलाई माया गर्नुहुन्छ भनेर विश्‍वस्त हुनु हाम्रो आध्यात्मिक तथा भावनात्मक सुस्वास्थ्यका लागि त्योभन्दा धेरै महत्त्वपूर्ण छ। यस पत्रिकाका केही पाठकहरूका पटक्कै वास्ता नगर्ने आमाबाबु हुनसक्छन्‌। यद्यपि, निरुत्साहित नहुनुहोस्‌। किनकि आमाबाबुले पटक्कै माया नगरे तापनि वा ज्यादै कम माया गरे तापनि परमेश्‍वरको वफादार प्रेमले त्यसको क्षतिपूर्ति गर्नेछ।

३. कसरी यहोवाले आफ्ना जनहरूलाई उहाँको मायाको आश्‍वासन दिनुभएको छ?

यहोवाले आफ्नो अगमवक्‍ता यशैयामार्फत आमाले आफ्नो दूधे बालकलाई ‘बिर्सनसक्छे’ तर उहाँ आफ्ना जनहरूलाई कहिल्यै बिर्सनुहुन्‍न भनेर जोड दिनुभयो। (यशैया ४९:१५) त्यसै गरी, दाऊदले पनि निर्धक्क भएर यसो भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सह्‍माल्नुहुनेछ।” (भजन २७:१०) कत्ति आश्‍वासनदायी वचन! परिस्थिति जस्तोसुकै होस्‌, यदि तपाईंले यहोवा परमेश्‍वरसित समर्पित सम्बन्ध गाँसिसक्नुभएको छ भने, उहाँले तपाईंलाई गर्नुहुने माया कुनै पनि मानिसले गर्ने मायाभन्दा धेरै नै अपार छ भन्‍ने कुरा सधैं सम्झिराख्नुपर्छ!

परमेश्‍वरको माया पाइरहनुहोस्‌

४. प्रथम शताब्दीका मसीहीहरूले कसरी परमेश्‍वरको मायाको आश्‍वासन पाए?

तपाईंले यहोवाको मायाबारे पहिलो पटक कहिले थाह पाउनुभयो? सायद, तपाईंले पनि प्रथम शताब्दीका मसीहीहरूले जस्तै अनुभव गर्नुभएको होला। पावलले रोमीहरूलाई लेखेको पत्रको पाँचौं अध्यायमा कुनै समय परमेश्‍वरबाट बिराना भएका पापीहरूले कसरी यहोवाको माया पाए भनेर राम्ररी वर्णन गरिएको छ। पद ५ मा हामी यस्तो लेखिएको पाउँछौं: “हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।” पद ८ मा पावल यस्तो पनि लेख्छन्‌: “परमेश्‍वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।”

५. परमेश्‍वरको मायाको गहिराइलाई बुझ्न र त्यसका लागि कृतज्ञ हुन तपाईंलाई केले मदत गऱ्‍यो?

त्यसै गरी, परमेश्‍वरको वचनबाट सत्य कुराहरू सुन्‍नुभएपछि तपाईंले विश्‍वास गर्न थाल्नुभयो, यहोवाको आत्माले तपाईंको हृदयमा काम गर्न थाल्यो। यसप्रकार, आफ्नो प्रिय पुत्रलाई तपाईंको निम्ति मर्न पठाउनुभएर यहोवाले देखाउनुभएको प्रेमको महत्त्व तपाईंले बुझ्न थाल्नुभयो अनि कृतज्ञ हुन थाल्नुभयो। यसरी यहोवाले मानिसजातिलाई कत्ति माया गर्नुहुन्छ, त्यो बुझ्न उहाँले तपाईंलाई मदत गर्नुभयो। मानिसजाति पापमै जन्मेर परमेश्‍वरबाट बिराना भए तापनि यहोवाले मानिसजातिलाई धर्मी ठहराउने अनि अनन्त जीवन दिने बाटो खोलिदिनुभएको रहेछ भनेर बुझ्नुहुँदा के तपाईंको हृदय द्रवित भएन? के तपाईंको मनमा यहोवाको निम्ति माया पलाएन?—रोमी ५:१०.

६. किन कहिलेकाहीं परमेश्‍वरबाट अलि बिरानो भएजस्तो लाग्नसक्छ?

स्वर्गमा हुनुहुने पिताको मायाले खिचिनुभएर अनि उहाँ सामु ग्रहणयोग्य हुन आफ्नो जीवनमा काँटछाँट गर्नुभएपछि तपाईंले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्नुभयो। तपाईंले परमेश्‍वरसित सुमधुर सम्बन्धको आनन्द उठाउन थाल्नुभयो। यद्यपि, के तपाईंलाई कहिलेकाहीं आफू यहोवाबाट टाढा भएछु जस्तो लाग्छ? यस्तो हामीमध्ये कसैलाई पनि लाग्नसक्छ। तर परमेश्‍वर बदल्नुहुन्‍न भनेर कहिल्यै नबिर्सनुहोस्‌। उहाँको माया पृथ्वीमा न्यायो किरण छर्न कहिल्यै बन्द नगर्ने सूर्यजस्तै स्थिर र अटल छ। (मलाकी ३:६; याकूब १:१७) अर्कोतिर, केही समयका लागि भए पनि हामी बद्‌लिन सक्छौं। पृथ्वीले फन्को मार्दा पृथ्वीको आधा भागलाई अन्धकारले छोप्छ। त्यसै गरी, परमेश्‍वरबाट तर्कंदा, हो अलिकता तर्कंदा मात्र पनि उहाँसितको हाम्रो सम्बन्ध चिसिएको महसुस हुनसक्छ। यस्तो परिस्थितिलाई सुधार्न के गर्न सक्छौं?

७. आत्मपरीक्षणले हामीलाई परमेश्‍वरको माया पाइरहन कसरी मदत गर्नसक्छ?

परमेश्‍वरको मायाबाट टाढा भएजस्तो लाग्दा हामीले आफैलाई यस्तो प्रश्‍न गर्नुपर्छ: ‘के मैले परमेश्‍वरको प्रेमलाई हल्कासित लिइरहेको छु? के म जीवित अनि मायालु परमेश्‍वरबाट बिस्तारै टाढिंदै, विभिन्‍न तरिकामा आफ्नो विश्‍वास कमजोर भइरहेको देखाइरहेको छु? कतै मैले आफ्नो मन “आत्मामा” लगाउनुको साटो “शरीरमा” पो लगाइरहेको छु कि? (रोमी ८:५-८; हिब्रू ३:१२) यदि हामी यहोवाबाट टाढा भएका छौं भने, उहाँसित फेरि न्यानो अनि घनिष्ठ सम्बन्ध गाँस्न आवश्‍यक कदमहरू चाल्न सक्छौं। याकूब यस्तो आग्रह गर्छन्‌: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) यहूदाका यी शब्दहरू पालन गर्नुहोस्‌: “हे प्रिय हो, तिमीहरूचाहिं तिमीहरूको अति पवित्र विश्‍वासमा आफ्नो उन्‍नति गर्दै, पवित्र आत्मामा प्रार्थना गरी, . . . तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड़।”—यहूदा २०, २१.

परिस्थिति परिवर्तन हुँदैमा परमेश्‍वरको माया कम हुँदैन

८. हाम्रो जीवनमा अचानक के-कस्ता परिवर्तनहरू आउनसक्छन्‌?

यस रीतिरिवाजमा बाँचुञ्जेल हाम्रो जीवनमा थुप्रै उतारचढाउ आइरहन्छन्‌। राजा सुलेमानले “समय र अवसरलेनै [हामी] सबैलाई अधीन गरेको हुन्छ” भनेर याद गरे। (उपदेशक ९:११) क्षणभरमै हाम्रो जीवन पूरै परिवर्तन हुनसक्छ। आजसम्म स्वस्थ थियौं भने, भोलि नै गम्भीर रोग लाग्नसक्छ। आजसम्म हाम्रो जागिर स्थायी थियो भने, भोलि नै हामी बेरोजगार हुन सक्छौं। कुनै पूर्वसूचनाबिना मृत्युले हाम्रो प्रियजन खोसेर लैजानसक्छ। मसीहीहरूले आफ्नो मुलुकमा आनन्द उठाइरहेको शान्ति अचानक उल्टेर हिंसात्मक सतावटमा परिवर्तन हुनसक्छ। हामीमाथि झूटो आरोप लाग्नसक्छ र यसले गर्दा हामी अन्यायको सिकार हुन सक्छौं। हो, जिन्दगीको कुनै भरोसा छैन।—याकूब ४:१३-१५.

९. रोमी अध्याय ८ को एउटा खण्डलाई विचार गर्नु किन उपयुक्‍त हुनसक्छ?

हामीमाथि यस्ता दुःखदायी घटनाहरू बज्रपात हुँदा हामी त्यागिएको महसुस गर्न सक्छौं र परमेश्‍वरको माया सेलाएको जस्तो पनि लाग्नसक्छ। हामी सबैलाई यस्तो हुनसक्ने भएकोले रोमी अध्याय ८ मा लिपिबद्ध प्रेरित पावलका सान्त्वनादायी शब्दहरूलाई होसियारीसाथ विचार गर्नु बेस हुन्छ। हुन त, यी शब्दहरू आत्म-अभिषिक्‍त मसीहीहरूका लागि लेखिएका हुन्‌। तथापि, सैद्धान्तिक रूपमा यी अरू भेडामाथि पनि लागू हुन्छन्‌ र यिनीहरू मसीही-पूर्व समयका अब्राहामजस्तै परमेश्‍वरको मित्र कहलिएका छन्‌।—रोमी ४:२०-२२; याकूब २:२१-२३.

१०, ११. (क) कहिलेकाहीं शत्रुहरूले परमेश्‍वका जनहरू विरुद्ध कस्ता आरोपहरू लगाएका छन्‌? (ख) मसीहीहरूलाई यस्ता आरोपहरूले किन कुनै फरक पार्दैन?

१० रोमी ८:३१-३४ पढ्‌नुहोस्‌। पावल सोध्छन्‌: “यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?” हो, शैतान र यो दुष्ट संसार हामी विरुद्ध छन्‌। शत्रुहरूले हामीमाथि र अदालतमा समेत हामी विरुद्ध झूटो आरोप लगाउलान्‌। छोराछोरीको उपचार गर्दा परमेश्‍वरको व्यवस्था उल्लंघन हुने औषधोपचार विधि नस्वीकारेको कारण वा छोराछोरीलाई मूर्तिपूजक चाडपर्वहरूमा भाग लिन नदिएको कारण केही मसीही आमाबाबुलाई आफ्ना छोराछोरीलाई घृणा गर्नेहरू भन्‍ने आरोप लगाइएको छ। (प्रेरित १५:२८, २९; २ कोरिन्थी ६:१४-१६) युद्धमा भाग लिएर सँगी मानवको हत्या गर्न नचाहेको कारण वा राजनीतिमा भाग नलिएको कारण अन्य विश्‍वासी मसीहीहरूमाथि देशद्रोहको गलत आरोप लगाइएको छ। (यूहन्‍ना १७:१६) केही विरोधीहरूले सञ्चार माध्यमद्वारा यहोवाका साक्षीहरू विरुद्ध निन्दनीय झूटा कुराहरू फैलाएका छन्‌ र यहोवाका साक्षीहरू खतरनाक गुट हुन्‌ भन्‍ने गलत आरोपसमेत लगाएका छन्‌।

११ तर प्रेरितहरूको समयमा “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्‌” भन्‍ने मानिसहरू थिए भनेर नबिर्सनुहोस्‌। (प्रेरित २८:२२) झूटा आरोपहरूले हामीलाई केही फरक पार्दैन। ख्रीष्टमाथिको विश्‍वासको आधारमा साँचो मसीहीहरूलाई धर्मी घोषित गर्नुहुने व्यक्‍ति त स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ। आफूले दिनसक्ने सर्वोत्तम उपहार अर्थात्‌ आफ्नो प्रिय पुत्र नै दिइसक्नुभए पछि यहोवाले आफ्ना उपासकहरूलाई किन पो माया गर्न छोड्‌नु हुन्थ्यो र? (१ यूहन्‍ना ४:१०) अहिले ख्रीष्ट मृत्युबाट ब्यूँताइसक्नुभएको र परमेश्‍वरको दायाँ हाततिर बसिसक्नुभएकोले उहाँ सक्रियतासाथ मसीहीहरूको पक्षमा बोल्नुहुन्छ। ख्रीष्टले आफ्ना अनुयायीहरूको पक्षमा बोल्नुहुँदा त्यसको खण्डन गर्ने अधिकार कोसित पो छ र अथवा परमेश्‍वरले आफ्ना विश्‍वासी जनहरूलाई ग्रहणयोग्य ठहऱ्‍याउनुहुँदा कसले पो सफलतासाथ त्यसलाई ललकार्नसक्छ र? कसैले पनि सक्दैन!—यशैया ५०:८, ९; हिब्रू ४:१५, १६.

१२, १३. (क) कस्ता परिस्थिति वा अवस्थाहरूले हामीलाई परमेश्‍वरको मायाबाट अलग पार्न सक्दैन? (ख) हामीलाई कठिन परिस्थितिमा जाक्नुको पछाडि दियाबलको के उद्देश्‍य छ? (ग) मसीहीहरू किन पूर्णतया विजयी हुन्छन्‌?

१२ रोमी ८:३५-३७ पढ्‌नुहोस्‌। हामी आफैले बाहेक यहोवा र उहाँको पुत्र येशू ख्रीष्टको मायाबाट हामीलाई अलग पार्नसक्ने अरू कोही वा केही छ? शैतानले आफ्ना पार्थिव चम्चाहरूलाई चलाएर मसीहीहरूलाई कुन हदसम्मको दुःख देला। बितेका शताब्दीहरूमा थुप्रै मुलुकका हाम्रा कतिपय भाइबहिनीहरूले भीषण सतावटको सामना गर्नु परेको थियो। अहिले पनि केही मुलुकहरूमा हाम्रा भाइहरूले दिनहुँजसो आर्थिक संकट सहनु परेको छ। कतिपयले खाली पेट वा एकसरो लुगामा जीवन बिताइरहेका छन्‌। दियाबलले यस्ता कठिन परिस्थितिहरू खडा गर्नुको पछाडि के उद्देश्‍य छ? त्यसका उद्देश्‍यहरू थुप्रै होलान्‌ तर ती उद्देश्‍यहरूमध्ये एउटाचाहिं पक्कै यहोवाको साँचो उपासना गर्नदेखि मानिसहरूलाई निरुत्साहित तुल्याउनु हो। परमेश्‍वरको माया सेलाइसक्यो भनेर शैतान हामीलाई विश्‍वस्त गराउन चाहन्छ। तर के परमेश्‍वरको माया साँच्चै सेलाएको हो त?

१३ भजन ४४:२२ उद्धरण गर्ने पावलले जस्तै हामीले पनि परमेश्‍वरको लिखित वचन अध्ययन गरेका छौं। परमेश्‍वरको नाउँको खातिर हामी, उहाँका ‘भेडामाथि’ यस्ता घटना आइपर्छन्‌ भनेर हामीले बुझेका छौं। यसमा परमेश्‍वरको नाउँको पवित्रिकरण र उहाँको विश्‍व ब्रह्‍माण्डीय सार्वभौमिकता मुछिएको छ। यस्ता गम्भीर विषयहरूले गर्दा परमेश्‍वरले परीक्षाहरू आइपर्ने अनुमति दिनुभएको छ, हामीलाई माया नगर्नु भएकोले होइन। परिस्थिति जतिसुकै कठिन भए तापनि, हामीलगायत आफ्ना जनहरूप्रतिको परमेश्‍वरको माया बदलिएको छैन भन्‍ने कुरामा हामी ढुक्क छौं। आफ्नो निष्ठालाई कायम राख्यौं भने, हामीले भोग्नु परे जस्तो देखिएको कुनै पनि हार विजयमा परिणत हुनेछ। परमेश्‍वरको अटुट मायाको आश्‍वासनले हामी बलियो हुनका साथै फस्टाएका छौं।

१४. मसीहीहरूले भोग्नु पर्नसक्ने कठिन परिस्थितिको बावजूद परमेश्‍वरले माया गरिरहनुहुन्छ भनेर पावल किन ढुक्क हुनसके?

१४ रोमी ८:३८, ३९ पढ्‌नुहोस्‌। कुनै पनि कुराले मसीहीहरूलाई परमेश्‍वरको मायाबाट अलग पार्न सक्दैन भनेर विश्‍वस्त हुन पावललाई केले मदत गऱ्‍यो? निस्सन्देह, पावलले सेवकाईमा बटुलेका व्यक्‍तिगत अनुभवले हामीप्रति परमेश्‍वरको मायालाई कठिन परीक्षाहरूले अलिकति पनि असर गर्न सक्दैन भन्‍ने तिनको विश्‍वासलाई अझै बलियो बनायो। (२ कोरिन्थी ११:२३-२७; फिलिप्पी ४:१३) यसको अतिरिक्‍त, पावललाई यहोवाको अनन्त उद्देश्‍य र विगतमा उहाँले आफ्ना जनहरूसित गर्नुभएको व्यवहारबारे पनि थाह थियो। विश्‍वासी भई उहाँको सेवा गर्नेहरूलाई के मृत्युले परमेश्‍वरको मायाबाट अलग गर्नसक्छ? पटक्कै सक्दैन! मृत्यु भएका यस्ता विश्‍वासी जनहरू सधैं परमेश्‍वरको सम्झनामा रहनेछन्‌ र उहाँले आफ्नो निश्‍चित समयमा तिनीहरूको पुनरुत्थान गर्नुहुनेछ।—लूका २०:३७, ३८; १ कोरिन्थी १५:२२-२६.

१५, १६. आफ्ना वफादार सेवकहरूलाई माया गर्नदेखि परमेश्‍वरलाई कहिल्यै रोक्न नसक्ने केही कुराहरू बताउनुहोस्‌।

१५ आज अपांग बनाउने दुर्घटना, दीर्घकालीन रोग वा आर्थिक संकष्टजस्ता जस्तोसुकै विपत्ति आइपरे तापनि यीमध्ये कुनै पनि घटनाले आफ्ना जनहरूप्रतिको परमेश्‍वरको मायालाई कम गर्न सक्दैन। शैतान बनेका अनाज्ञाकारी स्वर्गदूतलगायत शक्‍तिशाली स्वर्गदूतहरूले समेत यहोवालाई आफ्ना भक्‍त सेवकहरूलाई माया नगर्न मनाउन सक्दैनन्‌। (अय्यूब २:३) सरकारहरूले परमेश्‍वरका जनहरूमाथि प्रतिबन्ध लगाउलान्‌, तिनीहरूलाई जेलमा हाल्लान्‌, दुर्व्यवहार गर्लान्‌ र “बदनाम” गर्लान्‌। (१ कोरिन्थी ४:१३) राष्ट्रहरूले देखाएको यस्तो बेमनासिब घृणाले मानिसहरूलाई हामीविरुद्ध खडा हुन दबाउ देलान्‌ तर यसले विश्‍वका सर्वोच्च शासकलाई, हामीलाई त्याग्न लगाउन सक्दैन।

१६ पावलले भनेका “वर्त्तमानको कुराहरू” अर्थात्‌ यस वर्तमान रीतिरिवाजका घटना, अवस्था र परिस्थितिलगायत भविष्यमा हुने कुनै पनि कुराले आफ्ना जनहरूसितको परमेश्‍वरको घनिष्ठतालाई तोड्‌न सक्दैन भनेर हामी मसीहीहरू ढुक्क हुन सक्छौं। पार्थिव र दुष्ट आत्मिक शक्‍तिहरू हामीसित लडे तापनि परमेश्‍वरको वफादार मायाले हामीलाई जोगाउनेछ। पावलले जोड दिएझैं “न उँचाइले, न गहराइले” नै परमेश्‍वरको मायालाई रोक्छ। हो, हामीलाई निरुत्साहित तुल्याउन सक्ने र हामीमाथि प्रभुत्व जमाउन खोज्ने शक्‍ति कुनैले पनि हामीलाई परमेश्‍वरको मायाबाट अलग गर्न सक्दैन। त्यसै गरी, न त कुनै सृष्टिले नै आफ्ना वफादार सेवकहरूसित सृष्टिकर्ताको सम्बन्धलाई बिगार्नसक्छ। परमेश्‍वरको माया कहिल्यै टल्दैन; यो चिरकालीन छ।—१ कोरिन्थी १३:८.

परमेश्‍वरको करुणाको सदासर्वदा कदर गर्नुहोस्‌

१७. (क) परमेश्‍वरको माया पाउनु “जीवनभन्दा उत्तम” किन छ? (ख) परमेश्‍वरको करुणाको कदर गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

१७ तपाईंलाई परमेश्‍वरको माया कत्तिको महत्त्वपूर्ण लाग्छ? के तपाईं यो वचन लेख्ने दाऊदले जस्तै महसुस गर्नुहुन्छ: “किनकि तपाईंको करुणा जीवनभन्दा उत्तम छ, मेरा ओठले तपाईंको प्रशंसा गर्नेछ। यसैले म मेरो जीवनभरि तपाईंलाई धन्यको भन्‍नेछु, र तपाईंको नाउँ लिएर आफ्ना हात उचाल्नेछु”? (भजन ६३:३, ४) साँच्चै भनौं भने, के यो संसारले परमेश्‍वरको माया र उहाँसितको वफादार मित्रताभन्दा उत्तम कुरा दिनसक्छ? जस्तै, के एकदमै मुनाफादायी सांसारिक पेसामा लाग्नु परमेश्‍वरसितको घनिष्ठ सम्बन्धबाट प्राप्त हुने मनोशान्ति र आनन्दभन्दा उत्तम कुरा हो? (लूका १२:१५) केही मसीहीहरूले यहोवालाई त्याग्ने कि मृत्युलाई अँगाल्ने, छनौट गर्नुपरेको थियो। दोस्रो विश्‍वयुद्धताक नाजी यातना शिविरमा परेका यहोवाका थुप्रै साक्षीलाई यस्तै भएको थियो। केही मुठीभर व्यक्‍तिहरूबाहेक हाम्रा बाँकी मसीही भाइहरूले परमेश्‍वरको माया नै रोजे र आवश्‍यक परेमा मृत्यु भोग्नसमेत तयार भए। वफादार भई यहोवाको माया खोजिरहनेहरूले, परमेश्‍वरले दिनुहुने अनन्त भविष्य प्राप्त गर्ने आशा गर्नसक्छन्‌, जुन संसारले कहिल्यै दिनसक्दैन। (मर्कूस ८:३४-३६) तर यहाँ अनन्त जीवनभन्दा पनि बढी कुरा बिथोलित छ।

१८. अनन्त जीवन किन अत्यन्तै रहरलाग्दो छ?

१८ यहोवाबिना सधैंभरि बाँच्नु सम्भव नभए तापनि सृष्टिकर्ताबिनाको लामो जीवन कस्तो होला, कल्पना गर्ने प्रयास गर्नुहोस्‌। त्यस्तो जीवन शून्य र साँचो उद्देश्‍यविहीन हुन्छ। यी आखिरी दिनमा यहोवाले आफ्ना जनहरूलाई सन्तोषप्रद काम दिनुभएको छ। त्यसकारण, आफ्नो उद्देश्‍य पूरा गर्नुहुने महान्‌ परमेश्‍वरले अनन्त जीवन दिनुहुँदा त्यो जीवन हामीले सिक्न अनि गर्नसक्ने मनमोहक र सार्थक कुराहरूले भरिपूर्ण हुनेछ भनेर हामी निर्धक्क हुन सक्छौं। (उपदेशक ३:११) हजारौं हजार लामो जीवनमा हामीले जत्तिसुकै सिके तापनि, ‘परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्तिको गहिराइ’ कहिल्यै पूर्णतया बुझ्नसक्ने छैनौं।—रोमी ११:३३.

पिताले तिमीहरूलाई माया गर्नुहुन्छ

१९. जानेबेलामा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई कस्तो आश्‍वासन दिनुभयो?

१९ सा.यु. ३३ निसान १४ को आखिरी साँझ आफ्ना विश्‍वासी ११ जना प्रेरितहरूसित बिताउनुहुँदा येशूले अब हुने कुराहरूको निम्ति तिनीहरूलाई बलियो पार्न धेरै कुरा भन्‍नुभयो। तिनीहरू येशूका परीक्षाहरूमा उहाँसँगै थिए र तिनीहरूले येशूको माया व्यक्‍तिगत तवरमा महसुस गरेका थिए। (लूका २२:२८, ३०; यूहन्‍ना १:१६; १३:१) त्यसपछि येशूले तिनीहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ।” (यूहन्‍ना १६:२७) स्वर्गमा हुनुहुने तिनीहरूका पिताले तिनीहरूप्रति कत्ति कोमल भाव राख्नुभएको रहेछ भनेर बुझ्न यी शब्दहरूले चेलाहरूलाई ठूलो मदत गऱ्‍यो!

२०. तपाईंले के गर्ने निधो गर्नुभएको छ र तपाईं कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?

२० अहिले थुप्रैले वफादार भई यहोवाको सेवा गरेको दशकौं भइसक्यो। यस दुष्ट रीतिरिवाजको अन्त आउनुअघि हामीले अझ थुप्रै परीक्षा सामना गर्नुपर्नेछ भन्‍ने कुरामा कुनै शंका छैन। यस्ता परीक्षा अथवा कष्टहरूले तपाईंप्रतिको परमेश्‍वरको वफादार मायामाथि कहिल्यै शंका उत्पन्‍न नगरोस्‌। यहोवाले तपाईंलाई माया गर्नुहुन्छ भनेर हजार चोटि भने पनि सायद त्यो कमै होला। (याकूब ५:११) आउनुहोस्‌, हामी प्रत्येकले आ-आफ्नो भागमा परेको काम गरौं अर्थात्‌ वफादार भई परमेश्‍वरका आज्ञाहरू पालन गरौं। (यूहन्‍ना १५:८-१०) उहाँको नाउँको प्रशंसा गर्ने हरेक अवसरको पूरापूर सदुपयोग गरौं। हामीले प्रार्थना अनि उहाँको वचन अध्ययन गरेर निरन्तर यहोवासित घनिष्ठ हुने हाम्रो संकल्पलाई सबल बनाउनुपर्छ। भोलि जेसुकै होस्‌, यहोवालाई प्रसन्‍न पार्न यथासक्दो प्रयास गरिरहेका छौं भने, हामीमा शान्ति छाउनेछ र उहाँको कहिल्यै नटल्ने माया पाइरहनेछौं भनेर ढुक्क हुनेछौं।—२ पत्रुस ३:१४.

तपाईं के भन्‍नुहुन्छ?

• आध्यात्मिक अनि भावनात्मक सन्तुलन कायम गर्न हामीलाई विशेष गरी कसको माया चाहिन्छ?

• कुन कुराहरूले यहोवालाई आफ्ना सेवकहरूलाई माया गर्नदेखि कहिल्यै रोक्न सक्दैन?

• यहोवाको माया पाउनु “जीवनभन्दा उत्तम” किन छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएका चित्रहरू]

परमेश्‍वरको प्रेमबाट टाढिएजस्तो महसुस गऱ्‍यौं भने हामी स्थितिलाई सुधार्न सक्छौं

[पृष्ठ १५-मा भएको चित्र]

पावललाई आफू सतावटमा पर्नुको कारण थाह थियो