सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुहोस्‌

यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुहोस्‌

यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुहोस्‌

“हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।”—भजन ५१:१०.

१, २. किन हामीले आफ्नो हृदयमा चासो लिनुपर्छ?

 तिनी अग्ला र आकर्षक थिए। यिशैका जेठो छोरालाई देखेर अगमवक्‍ता शमूएल यतिबिघ्न प्रभावित भए कि परमेश्‍वरले शाऊलपछि राजा हुन छान्‍नु भएको जन यिनै हुनुपर्छ भन्‍ने निष्कर्षमा तिनी पुगे। तर यहोवाले यसो भन्‍नुभयो: “त्यो [छोरो] सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। म त्यसलाई इन्कार गर्छु। . . . मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” यहोवाको छनौट यिशैका कान्छा छोरा दाऊद थिए किनकि तिनी यहोवा “आफैले रूचाउनुभएको एउटा मानिस” थिए।—१ शमूएल १३:१४; १६:७.

परमेश्‍वर मानव हृदय पढ्‌न सक्नुहुन्छ र यो कुरा उहाँले पछि यसरी स्पष्ट पार्नुभयो: “हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसको कर्मको फलअनुसार दिनलाई म परमप्रभु मानिसको मन तलाश गर्छु, त्यसको हृदयको म जाँच गर्छु।” (यर्मिया १७:१०) हो, “मानिसको मन जाँच गर्ने परमप्रभुनै हुनुहुन्छ।” (हितोपदेश १७:३) तर यहोवाले मानिसमा जाँच्नुहुने मन वा हृदय के हो? अनि उहाँले रुचाउनुहुने हृदय प्राप्त गर्न हामी के गर्न सक्छौं?

“हृदयको त्यो गुप्त मानिस”

३, ४. बाइबलमा मुख्यतया कुन अर्थमा “हृदय” शब्द प्रयोग गरिएको छ? उदाहरण दिनुहोस्‌।

पवित्र धर्मशास्त्रमा “हृदय” शब्द करिब एक हजार पटक उल्लेख भएको छ। प्रायः हृदय शब्द लाक्षणिक अर्थमा प्रयोग गरिएको छ। जस्तै, यहोवाले अगमवक्‍ता मोशालाई यसो भन्‍नुभएको थियो: “इस्राएलीहरूलाई भन्‌, ‘तिनीहरूले मेरो निम्ति भेटी ल्याऊन्‌। हरेकले आफ्नो मनको राजी-खुशीअनुसार चढ़ाएको भेटी तिमीहरूले मेरो निम्ति ग्रहण गर।’ ” अनि “जस जसका हृदय प्रेरणाले भऱ्‍यो,” तिनीहरूले भेटी ल्याए। (प्रस्थान २५:२; ३५:२१) स्पष्ट छ, लाक्षणिक हृदयको एक पक्ष प्रेरणा अर्थात्‌ काम गर्न उत्प्रेरित गर्ने आन्तरिक शक्‍ति हो। हाम्रो लाक्षणिक हृदयले हाम्रा भावना र अनुभूतिहरू अनि हाम्रा इच्छा तथा चाहनाहरू पनि प्रकट गर्छ। हृदय रिसले चूर हुनसक्छ अथवा डरले खानसक्छ, शोकले छियाछिया हुन वा आनन्दले प्रफुल्लित हुनसक्छ। (भजन २७:३; ३९:३; यूहन्‍ना १६:२२; रोमी ९:२) यो घमण्डले फुल्नसक्छ, नम्र वा मायालु हुनसक्छ, घृणाले भरिनसक्छ।—हितोपदेश १६:५; मत्ती ११:२९; १ पत्रुस १:२२.

अक्सर, “हृदय” उत्प्रेरणा र भावनाहरूसित सम्बन्धित छ भने, “मन” विशेष गरी बौद्धिक विचारहरूसित सम्बन्धित छ। धर्मशास्त्रमा, एउटै पदमा यी दुवै शब्दहरू प्रयोग हुँदा हामीले यी शब्दहरूको अर्थ यसरी बुझ्नुपर्छ। (मत्ती २२:३७; फिलिप्पी ४:७) तर हृदय र मन पूर्णतया भिन्‍नाभिन्‍नै शब्द भने होइनन्‌। जस्तै, मोशाले इस्राएलीहरूलाई यस्तो आग्रह गरे: “परमप्रभुनै स्वर्ग र पृथ्वीभरिमा परमेश्‍वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन। यही कुरो तिमीहरूलाई आज निश्‍चत रूपले थाह होस्‌ र तिमीहरूका हृदयमा [अथवा, “मनमा,” NW, पादटिप्पणी] गड़ोस्‌।” (व्यवस्था ४:३९) उहाँ विरुद्ध षड्यन्त्र रचिरहेका सदुकीहरूबारे येशूले यसो भन्‍नुभयो: “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ?” (मत्ती ९:४) “समझ,” “ज्ञान” र “तर्क” आदि पनि हृदयसित सम्बन्धित छन्‌। (१ राजा ३:१२; हितोपदेश १५:१४; मर्कूस २:६) त्यसकारण, लाक्षणिक हृदयमा हाम्रो बौद्धिक क्षमता अर्थात्‌ हाम्रो विचार तथा समझ पनि समावेश छ।

५. लाक्षणिक हृदयले केलाई जनाउँछ?

एउटा सन्दर्भिकाअनुसार लाक्षणिक हृदयले “साधारणतया बीचको भाग, आन्तरिक कुरा र भित्री मानिसका विभिन्‍न क्रियाकलापहरू, उनको इच्छा, स्नेह, भावना, आवेश, उद्देश्‍य, उनको विचार, दृष्टिकोण, कल्पना, उनको बुद्धि, ज्ञान, दक्षता, उनको विश्‍वास तथा तर्क, उनको यादगार र उनको सचेतताको” प्रतिनिधित्व गर्छ। यसले हामी भित्र कस्ता छौं अर्थात्‌ हाम्रो “हृदयको त्यो गुप्त मानिस” कस्तो छ भन्‍ने कुरा प्रकट गर्छ। (१ पत्रुस ३:४) यहोवाले हेर्नुहुने र नियाल्नुहुने कुरा पनि यही नै हो। अतः दाऊदले यसरी प्रार्थना गर्नसके: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।” (भजन ५१:१०) हामी कसरी शुद्ध हृदय प्राप्त गर्न सक्छौं?

परमेश्‍वरको वचन “मनमा राख”

६. मोआबको बेंसीमा पाल गाडेर बसिरहेका इस्राएलीहरूलाई मोशाले कस्तो उपदेश दिए?

प्रतिज्ञा गरिएको मुलुकमा पस्नुअघि मोआबको बेंसीमा जम्मा भएका इस्राएलका छोराहरूलाई सल्लाह दिंदै मोशाले यसो भने: “आज मैले तिमीहरूलाई दिएका सबै वचनहरू आफ्नो मनमा राख आफ्ना छोरा छोरीहरूलाई पनि यस व्यवस्थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा देओ।” (व्यवस्था ३२:४६) इस्राएलीहरूले “राम्ररी ध्यान दिनुपर्थ्यो।” (नक्स) परमेश्‍वरका आज्ञाहरूसित पूर्णतया अभ्यस्त भएपछि मात्र तिनीहरूले ती आज्ञाहरू आफ्ना छोराछोरीको हृदयमा हालिदिनसक्थे।—व्यवस्था ६:६-८.

७. परमेश्‍वरको वचनलाई ‘हृदयमा प्रयोग गर्नुमा’ के समावेश छ?

शुद्ध हृदय प्राप्त गर्न नभई नहुने मुख्य कुरा परमेश्‍वरको इच्छा तथा उद्देश्‍यहरूबारे सही ज्ञान हासिल गर्नु हो। यो ज्ञानको एक मात्र स्रोत छ र त्यो स्रोत परमेश्‍वरको प्रेरित वचन हो। (२ तिमोथी ३:१६, १७) सतही ज्ञानले मात्र हामीलाई परमेश्‍वरलाई प्रसन्‍न पार्ने हृदय प्राप्त गर्न मदत गर्न सक्दैन। हामी भित्र कस्ता छौं, त्यसलाई ज्ञानले प्रभाव पारोस्‌ भन्‍ने चाहन्छौं भने, सिकेको कुरा ‘हृदयमा प्रयोग’ गर्नैपर्छ अथवा ‘मनमा राख्नैपर्छ।’ (व्यवस्था ३२:४६) यो कसरी गर्न सकिन्छ? भजनरचयिता दाऊदले यसप्रकार वर्णन गरे: “म उहिले उहिलेका दिनहरू सम्झन्छु। म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।”—भजन १४३:५.

८. अध्ययन गर्दा हामीले कस्ता प्रश्‍नहरू विचार गर्न सक्छौं?

हामीले पनि कृतज्ञ हुँदै परमेश्‍वरको कामबारे मनन गर्नुपर्छ। बाइबल अथवा बाइबलमा आधारित प्रकाशनहरू पढ्‌दा हामीले यस्ता प्रश्‍नहरू सोच्नु आवश्‍यक छ: ‘यसले मलाई यहोवाबारे के सिकाउँछ? यहाँ म यहोवाको कुनकुन गुण प्रकट भएको देख्छु? यहोवालाई मन पर्ने र मन नपर्ने कुराहरूबारे यो विवरणले मलाई के सिकाउँछ? यहोवालाई मन पर्ने मार्गमा चल्दा र मन नपर्ने मार्गमा चल्दा के हुन्छ? मैले थाह पाइसकेको जानकारीसित यो कसरी सम्बन्धित छ?’

९. व्यक्‍तिगत अध्ययन तथा मनन कतिको महत्त्वपूर्ण छ?

बत्तीस वर्षीया लीसाले a उद्देश्‍यपूर्ण अध्ययन तथा मननको कदर कसरी गर्न सकिन्‌, त्यसबारे तिनी आफै यसरी बताउँछिन्‌: “सन्‌ १९९४ मा बप्तिस्मा लिइसकेपछि करिब दुई वर्षजति त म सच्चाइमा निकै सक्रिय थिएँ। म सबै मसीही सभाहरूमा उपस्थित हुन्थें, प्रत्येक महिना क्षेत्र सेवकाईमा ३० देखि ४० घण्टा बिताउँथें र सँगी मसीहीहरूसित संगत गर्थें। तर त्यसपछि भने म बिस्तारै तर्कन थालें। मेरो अवस्था यत्ति खस्कियो कि मैले परमेश्‍वरको व्यवस्थालाई समेत उल्लंघन गरें। तर मेरो होस फर्कियो र मैले आफ्नो जीवनलाई बाइबलअनुरूप बिताउने निर्णय गरें। यहोवाले मेरो पश्‍चात्तापी भाव बुझ्नु भएर मलाई फेरि ग्रहण गर्नुभएकोमा म औधी खुसी छु! म अक्सर सोच्थें: ‘म किन असफल भएँ?’ अनि मेरो मनमा यसको सधैं यस्तो जवाफ आइरहन्थ्यो, उद्देश्‍यपूर्ण अध्ययन र मननलाई बेवास्ता गरेकोले नै त्यसो भएको हो। भनौं भने, बाइबल सच्चाइ मेरो हृदयसम्म पुगिसकेको थिएन। अबदेखि व्यक्‍तिगत अध्ययन र मनन सधैं मेरो जीवनको महत्त्वपूर्ण भाग हुनेछ।” यहोवा, उहाँको पुत्र र उहाँको वचनसम्बन्धी हाम्रो ज्ञान बढ्‌दै जाँदा अर्थपूर्ण मनन गर्न समय निकाल्नु कत्ति महत्त्वपूर्ण रहेछ!

१०. व्यक्‍तिगत अध्ययन तथा मननका लागि हामीले समय निकाल्नु किन अत्यन्तै जरुरी छ?

१० यस व्यस्त संसारमा अध्ययन तथा मनन गर्न समय निकाल्नु साँच्चै चुनौती नै भएको छ। तथापि, आज मसीहीहरू प्रतिज्ञा गरिएको उदेकलाग्दो मुलुक अर्थात्‌ परमेश्‍वरको धार्मिक नयाँ संसारको संघारमै छन्‌। (२ पत्रुस ३:१३) “महान्‌ बेबिलोन[को]” विनाश र ‘मागोग देशको गोगले’ परमेश्‍वरका जनमाथि आक्रमण गर्ने समय अब धेरै टाढा छैन। (प्रकाश १७:१, २, ५, १५-१७; इजकिएल ३८:१-४, १४-१६; ३९:२) अब हुने घटनाहरूले परमेश्‍वरप्रतिको हाम्रो प्रेमलाई परीक्षामा पार्नसक्छ। त्यसकारण, समयको अवसरलाई विचार गरेर परमेश्‍वरको वचनलाई मनमा राख्नु अत्यावश्‍यक भएको छ!—एफिसी ५:१५, १६.

‘परमेश्‍वरको व्यवस्था अध्ययन गर्न मन तयार पार्नुहोस्‌’

११. कसरी हाम्रो हृदयलाई माटोसित तुलना गर्न सकिन्छ?

११ लाक्षणिक हृदयलाई सत्यको बीउ रोप्न सकिने माटोसित तुलना गर्न सकिन्छ। (मत्ती १३:१८-२३) उब्जनी राम्रो होस्‌ भनेर अक्सर गोडमेल गरिन्छ। त्यसै गरी, हाम्रो हृदयलाई पनि तयार पार्नुपर्छ ताकि हामी परमेश्‍वरको वचनलाई अझै ग्रहण गर्न सकौं। पूजाहारी एज्राले “परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न . . . मन दिएका थिए।” (एज्रा ७:१०) हामी आफ्नो हृदयलाई कसरी तयार पार्न सक्छौं?

१२. अध्ययन गर्न हृदयलाई केले तयार पार्न मदत गर्नेछ?

१२ परमेश्‍वरको वचनलाई विचार गर्दा हृदयलाई तयार पार्ने सर्वोत्तम तरिका हार्दिक प्रार्थना गर्नु हो। साँचो उपासकहरूका मसीही सभाहरू प्रार्थनाद्वारा नै सुरु र अन्त हुन्छन्‌। त्यसैकारण हरेक चोटि व्यक्‍तिगत बाइबल अध्ययन गर्दा हार्दिक प्रार्थनाद्वारा अध्ययन सुरु गर्नु र त्यसपछि पनि अध्ययनभरि नै प्रार्थना गर्ने मनोवृत्तिलाई कायम राख्नु साह्रै उपयुक्‍त हुन्छ!

१३. यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्न हामीले के गर्नैपर्छ?

१३ लाक्षणिक हृदयलाई कपोलकल्पित धारणाहरूलाई पन्छाउन पनि तयार पार्नैपर्छ। येशूको जमानाका धार्मिक नेताहरू त्यसो गर्न अनिच्छुक थिए। (मत्ती १३:१५) अर्कोतिर, येशूकी आमा मरियमले आफूले सुनेको सत्य कुराको आधारमा “आफ्नो मनमा” निष्कर्ष निकालिन्‌। (लूका २:१९, ५१) तिनी येशूकी विश्‍वासी चेला भइन्‌। थाइआटीराकी लिडियाले पावलको कुरा सुनिन्‌ र “ध्यानसित सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।” तिनी पनि विश्‍वासी भइन्‌। (प्रेरित १६:१४, १५) हामी कहिल्यै पनि मेरो गोरुको बाह्रै टक्का भनेझैं व्यक्‍तिगत विचारधारालाई वा सबैलाई मनपर्ने सिद्धान्तहरूलाई पक्रेर राख्ने नगरौं। बरु, हामी “परमेश्‍वर सत्य र हरेक मानिस झूटो ठहरिओस्‌” भन्‍ने इच्छा गरौं।—रोमी ३:४.

१४. मसीही सभाहरूमा भनिएका कुराहरू सुन्‍न हामी आफ्नो हृदयलाई कसरी तयार पार्न सक्छौं?

१४ मसीही सभाहरूमा सुन्‍न, हृदयलाई तयार पार्नु विशेष गरी महत्त्वपूर्ण छ। अलमल्याउने कुराहरूले हाम्रो ध्यान अन्तै खिच्नसक्छन्‌। दिनभरि भएको कुरा सोचिरह्‍यौं वा भोलि के होला भनेर विचार गरिरह्‍यौं भने, वक्‍ताले भनिरहेको कुरा हामी एउटा कानले सुनेर अर्को कानबाट उडाइ रहेका हुनेछौं। भनिएको कुराबाट फाइदा उठाउने हो भने, हामी सुन्‍न र सिक्न कटिबद्ध हुनु आवश्‍यक छ। अनि अर्थ खुलाइएका शास्त्रपदहरू र व्याख्या गरिएको अर्थ बुझ्न कटिबद्ध हुँदा हामी धेरै फाइदा उठाउन सक्छौं!—नहेम्याह ८:५-८, १२.

१५. कसरी नम्रताले हामीलाई अझै सिकाउन सकिने बनाउन मदत गर्छ?

१५ ठीक मात्रामा मलजल हाल्दा माटो मलिलो भएजस्तै नम्रता, आध्यात्मिकताको निम्ति भोक, भरोसा, ईश्‍वरीय भय र परमेश्‍वरप्रतिको प्रेम खेती गऱ्‍यौं भने, यी कुराहरूले हाम्रो लाक्षणिक हृदयलाई मलिलो पार्नसक्छ। नम्रताले हृदयलाई कोमल बनाउँछ र अझै सिकाउन सकिने अवस्थामा पुग्न मदत गर्छ। यहोवाले यहूदाका राजा योशियाहलाई यसो भन्‍नुभयो: “तैंले मेरो कुरा ध्यानसित सुनिस्‌, र खुशीसित ग्रहण गरिस्‌, . . . तैंले सुन्दा तँ परमप्रभुको सामने नम्र भएर झुकिस्‌। . . . तँ मेरो सामने रोइस्‌। यी सबैको कारण मैले तेरो प्रार्थना सुने।” (२ राजा २२:१९) योशियाहको हृदय नम्र अनि ग्रहणशील थियो। येशूका “अपठित र अजान” चेलाहरू नम्र भएकाले आध्यात्मिक सच्चाइ ग्रहण गर्न र प्रयोग गर्न सके जबकि त्यही सच्चाइलाई “बुद्धिमान र समझदार[हरूले]” ग्रहण गर्न सकेनन्‌। (प्रेरित ४:१३; लूका १०:२१) यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्ने प्रयास गर्दा “परमेश्‍वरका सामने हामी आफैलाई दीन तुल्याउन” सकौं।—एज्रा ८:२१.

१६. हामीले आध्यात्मिक भोजनको निम्ति भोक जगाउने प्रयास गर्नु किन आवश्‍यक छ?

१६ येशूले यसो भन्‍नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) हामीलाई आध्यात्मिक क्षमता दिइएको भए तापनि यस दुष्ट संसारबाट आउने दबाउ अथवा अल्छेपनाजस्ता दुर्गुणहरूले गर्दा हामी आफ्नो आवश्‍यकतालाई चिन्‍न नसक्ने भइरहेका हुन सक्छौं। (मत्ती ४:४) हामीले स्वास्थ्यकर आध्यात्मिक भोक जगाउनैपर्छ। सुरुमा बाइबल पढ्‌न र व्यक्‍तिगत अध्ययन गर्न रमाइलो नलागे तापनि यदि प्रयत्न गरिरह्‍यौं भने, ज्ञानले हाम्रो ‘हृदय आनन्दित’ भएको पाउनेछौं र हामी अध्ययन गर्न उत्सुक हुन थाल्नेछौं।—हितोपदेश २:१०, ११.

१७. (क) किन यहोवा हाम्रो सम्पूर्ण भरोसाको योग्य हुनुहुन्छ? (ख) हामी कसरी यहोवामाथि भरोसा खेती गर्न सक्छौं?

१७ राजा सुलेमानले यस्तो सल्लाह दिए: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌।” (हितोपदेश ३:५) आफ्नो वचनमार्फत यहोवाले जेजति माग्नु हुन्छ वा निर्देशन दिनुहुन्छ, ती सधैं सही हुन्छन्‌ भनेर उहाँमाथि भरोसा गर्ने हृदयलाई थाह हुन्छ। (यशैया ४८:१७) यहोवा अवश्‍य हाम्रो पूर्ण भरोसाको योग्य हुनुहुन्छ। आफ्नो सम्पूर्ण उद्देश्‍य पूरा गर्न उहाँ सक्षम हुनुहुन्छ। (यशैया ४०:२६, २९) भनौं भने, उहाँको नाउँको अर्थ नै “उहाँले हुन दिनुहुन्छ” भएकोले उहाँ आफ्नो प्रतिज्ञा पक्कै पूरा गर्न सक्नुहुन्छ भन्‍ने कुराले उहाँमाथिको हाम्रो भरोसा बढाउँछ! उहाँ “आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ।” (भजन १४५:१७) हो, उहाँमाथि भरोसा गर्न सिक्न हामीले बाइबलबाट सिकेको कुरालाई व्यक्‍तिगत जीवनमा प्रयोग गरेर अनि यसले पुऱ्‍याएका फाइदाहरूलाई विचार गरेर ‘यहोवा कस्तो भलो हुनुहुन्छ, पारख गरेर हेर्नु’ आवश्‍यक छ।—भजन ३४:८.

१८. परमेश्‍वरको निर्देशन पालन गर्न ग्रहणशील बनाउन ईश्‍वरीय भयले हामीलाई कसरी मदत गर्छ?

१८ हाम्रो हृदयलाई ईश्‍वरीय निर्देशन ग्रहण गर्न तयार बनाउने अर्को गुणबारे सुलेमानले यसो भने: “परमप्रभुको भय मान्‌, र दुष्कर्मबाट अलग बस्‌।” (हितोपदेश ३:७) पुरातन इस्राएलको सम्बन्धमा यहोवाले यसो भन्‍नुभयो: “मेरो डर मान्‍ने र मेरा सबै कुरा पालन गर्ने तिमीहरूका हृदय भएता हुनेथियो! तिनीहरू र तिनीहरूका सन्तानको भलो हुनेथियो!” (व्यवस्था ५:२९) हो, परमेश्‍वरको भय राख्नेहरूले उहाँको आज्ञा पालन गर्छन्‌। “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन” र आज्ञा पालन नगर्नेहरूलाई दण्ड दिन यहोवा सक्षम हुनुहुन्छ। (२ इतिहास १६:९) परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने श्रद्धेय भयले हाम्रा कार्य, विचार तथा भावनाहरूलाई सम्हालून्‌।

‘आफ्नो सारा हृदयले यहोवालाई प्रेम गर्नू’

१९. हाम्रो हृदयलाई यहोवाको निर्देशन ग्रहण गर्ने बनाउन प्रेमले कस्तो भूमिका खेल्छ?

१९ अन्य गुणहरूले भन्दा पनि वास्तवमा प्रेमले हाम्रो हृदयलाई परमेश्‍वरको निर्देशन पालन गर्न तयार बनाउँछ। परमेश्‍वरप्रतिको प्रेमले ओतप्रोत भएको हृदयले व्यक्‍तिविशेषलाई, परमेश्‍वरलाई प्रसन्‍न पार्ने र नपार्ने कुराहरू जान्‍न उत्सुक बनाउँछ। (१ यूहन्‍ना ५:३) येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) परमेश्‍वरले गर्नुभएको भलाइमा ध्यान दिएर, घनिष्ठ मित्रसित जस्तै उहाँसित नियमित तवरमा कुरा गरेर अनि अरूसित उहाँबारे कुरा गर्न उत्सुक भएर परमेश्‍वरप्रतिको हाम्रो प्रेमलाई अझ गहिरो बनाऔं।

२०. हामी कसरी यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्न सक्छौं?

२० त्यसोभए अन्तमा: यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुमा परमेश्‍वरको वचनलाई हामी भित्र कस्ता छौं अर्थात्‌ हाम्रो हृदयको गुप्त मानिस कस्तो छ, त्यसमा असर पार्न दिनुपर्छ। धर्मशास्त्रको अर्थपूर्ण व्यक्‍तिगत अध्ययन र कृतज्ञ हुँदै मनन गर्नु अत्यावश्‍यक छ। यसो गर्ने उत्तम तरिका हृदयलाई तयार बनाउनु हो। किनकि तयारी हृदय पूर्वकल्पित धारणाहरूबाट अलग हुन्छ र हामीलाई सिकाउन सकिने बनाउने गुणहरूले भरिएको हुन्छ! हो, यहोवाको मदतद्वारा परमेश्‍वरले रुचाउनुहुने हृदय प्राप्त गर्न सकिन्छ। तथापि, आफ्नो हृदयलाई जोगाउन हामी के-कस्ता कदमहरू चाल्न सक्छौं?

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

तपाईं के भन्‍नुहुन्छ?

• यहोवाले जाँच्नुहुने लाक्षणिक हृदय के हो?

• हामी कसरी परमेश्‍वरको वचन ‘आफ्नो मनमा राख्न सक्छौं?’

• हामीले आफ्नो हृदयलाई परमेश्‍वरको वचनमा ध्यान दिन कसरी तयार बनाउनुपर्छ?

• यो लेख छलफल गरिसकेपछि, तपाईं के गर्न उत्प्रेरित हुनुभयो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

दाऊदले कृतज्ञ हुँदै आध्यात्मिक कुराहरूमा मनन गरे। के तपाईं पनि त्यसै गर्नुहुन्छ?

[पृष्ठ १८-मा भएका चित्रहरू]

परमेश्‍वरको वचन अध्ययन गर्नुअघि आफ्नो हृदयलाई तयार पार्नुहोस्‌