सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी सकेजति राम्रो गर्छौं!

हामी सकेजति राम्रो गर्छौं!

हामी सकेजति राम्रो गर्छौं!

“सकेजति राम्रो गर्नुहोस्‌।” यो व्यावहारिक सल्लाह एक पटक यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यले एक जना मिसनरीलाई दिएका थिए। तर एक अनुभवी सेवकलाई किन यस्तो साधारण सल्लाह दिनुपऱ्‍यो र? प्रायः मिसनरीहरूले दिनहुँ जसो उडुस, उपियाँ, सर्प, गर्मी, रोग अनि थुप्रै कठिनाइको सामना गर्नुपर्छ, होइन र?

वास्तवमा, यहोवाका साक्षीहरूका मिसनरीहरू साधारण स्त्री तथा पुरुषहरू हुन्‌, जो यहोवा र आफ्ना सँगी मानिसहरूप्रतिको गहिरो प्रेमले गर्दा विदेशमा सेवा गर्न उत्प्रेरित भए। यिनीहरू यहोवालाई आफ्नो क्षमताले भ्याएसम्म सर्वोत्तम सेवा चढाउने प्रयास गर्छन्‌ र यहोवामा नै भर पर्छन्‌।—एफिसी ६:१०.

आउनुहोस्‌, मिसनरीहरूको काम अझ राम्ररी बुझ्न पश्‍चिम अफ्रिकाको एउटा ठेट मिसनरी गृहमा एकदिन बिताएको कल्पना गरौं।

मिसनरी कार्यमा बिताएको एकदिन

बिहानको ७ बज्नै लाग्यो। मिसनरी गृहमा दिनको शास्त्रपद छलफल गर्नेबेलामै हामी त्यहाँ टुपलुक्क पुग्यौं। त्यहाँका दस जना मिसनरीहरूले हाम्रो हार्दिक स्वागत गरे र हामीलाई पनि बिहानको चमेना खान आग्रह गरे। परिचय आदानप्रदान गरिसकेपछि वर्षौंदेखि मिसनरी सेवा गरिरहेकी एक जना मिसनरीले क्षेत्र सेवकाईमा आफूले बटुलेको एउटा हाँसउठ्‌दो अनुभव सुनाइन्‌। तर त्यसदिन शास्त्रपद छलफल गर्न खटाइएका अध्यक्षले शास्त्रपद छलफल गर्ने समय भयो भनेर त्यस आनन्दित समूहलाई बताउँदा हामीले आफ्नो कुराकानी बन्द गऱ्‍यौं। छलफल फ्रान्सेली भाषामा गरिने थियो। हुन त हामीलाई फ्रान्सेली भाषा बोल्न आउँदैन तर यी मिसनरीहरूले आफूहरू विदेशी भईकन पनि यो भाषामा आफ्ना भावनाहरू व्यक्‍त गर्दा यिनीहरू उक्‍त भाषामा कत्ति पोख्त भएछन्‌ भन्‍ने कुरा प्रस्टै देखिन्थ्यो।

शास्त्रपदको छलफल पश्‍चात्‌ हार्दिक प्रार्थना टक्य्राइयो र त्यसपछि बिहानको चमेना खान सुरु गऱ्‍यौं। कचौराभरि टन्‍न कर्नफ्लेक्स राखिसकेपछि हाम्रो छेवैमा बसेका मिसनरीले कर्नफ्लेक्समा केराका टुक्राहरू मिसाएर खान आग्रह गरे। तर हामीलाई केरा मन नपरे तापनि तिनले आग्रह गरेको हुँदा रैथाने केरा चाख्ने विचार गऱ्‍यौं र २/३ टुक्रा केरा कर्नफ्लेक्समा मिसायौं। तिनले भनेको कुरा त सोह्रै आना सत्य साबित भयो! केरा त साँच्चै स्वादिलो रहेछ! आइसक्रिमजस्तै! अनि टेबुलमा राखिएको फ्रेन्चब्रेड मिसनरी गृहपारिको बेकरीमा बिहान मात्रै तयार पारिएको ताजा पाउरोटी हो भनेर हामीलाई बताइयो।

बिहानको चमेना खाइसकेपछि हामीले मिसनरी दम्पतीसित समय बिताउने भयौं र हामी तिनीहरूलाई बेन र कारेन भन्‍नेछौं। हामीले पश्‍चिम अफ्रिकाको फलदायी इलाकाबारे सुनेका थियौं, त्यसैले उक्‍त रिपोर्ट सही हो कि होइन, पत्ता लाउन उत्सुक छौं।

बस स्टप पुग्दा करिब एक दर्जन जति मानिसहरू बस पर्खिरहेको पायौं। केही बेरमै हाम्रा मिसनरी दम्पती साथीहरू एउटी आइमाई र तिनका छोरासित बाइबलबारे जीवन्त छलफल गर्न थाले। फ्रेन्च भाषा बोल्न नजानेकोले हामी त्यहीं उभिएर मुस्कुराइ रह्‍यौं! उक्‍त आइमाईले प्रहरीधरहराब्यूँझनुहोस्‌-का केही प्रतिहरू लिन मात्र के लागेकी थिइन्‌, बस आइपुग्यो र त्यसपछि सबै जना एकै चोटि बसमा चढ्‌न खोजे! हामी जसोतसो बसमा चढ्‌न खोज्दै थियौं, भीडले त हामीलाई पछाडिबाट ठेल्न थाल्यो। बसमा पछाडि ठेलिंदै जाँदा आफ्नै खुट्टामा उभिन पनि हामीलाई निकै गाह्रो भयो। ड्राइभरले बस गुडाउन थालेपछि हामीले दायाँबायाँ जता हुन्छ, च्याप्प समात्यौं। ठाउँठाउँमा ड्राइभरले झ्याप्पै बेक्र समात्थ्यो र बस रोक्थ्यो। अनि अझै धेरै मानिसहरू बसमा कोच्थ्यो। हामी सहयात्रीहरू एकअर्कालाई हेर्दै मुसुक्क हाँस्यौं। तिनीहरूसित कुरा गर्न पाए कत्ति बेस हुन्थ्यो होला जस्तो हामीलाई लाग्यो!

बस कुद्‌न थालेपछि हामीले बसको झ्यालबाट बाहिर हेऱ्‍यौं र सडकमा भइरहेका दृश्‍यहरू हाम्रा आँखासामु सर्रर बग्न थाले। दुई जना आइमाईहरू शिरमा बडेमाको भारी बोकेर सँगसँगै हिंडिरहेका थिए। तिनीहरूमध्ये एउटीले त होसियारीसाथ ठूलो भाँडोमा पानी बोकेकी रहेछिन्‌। एक जना व्यापारीले त सडकछेउ कपडा ओछ्याएर सानातिना सरसामान बेचिरहेका रहेछन्‌। जताततै मानिसहरू किन्‍न अनि बेच्न सकिने जति सबथोक किन्‍नबेच गर्नमा व्यस्त थिए।

मेरै छेउ उभिरहेका बेनलाई अचानक आफ्नो खुट्टामा केही चीजले ठुंगेजस्तो लागेछ। केले पो होला? बस त टनाटन भरिएको छ। लौ! तिनलाई फेरि घोच्यो। तिनले जसोतसो तल हेरे। तिनको खुट्टा छेवैमा रहेको झोलामा हाँस पो रहेछ र त्यही हाँसले बेलाबेलामा झोलाबाट टाउको निकाल्दै बेनलाई ठुंग्दै रहेछ! त्यो हाँसलाई बजारमा बेच्न लगिएको हुनसक्छ भनेर बेनले हामीलाई बताए।

हाम्रो इलाकामा पुगेपछि हामी अब ठेट अफ्रिकी बस्तीमा जाँदैछौं भनेर थाह पाउँदा एकदमै दंग पऱ्‍यौं। पहिलो घरनजिकै पुगेपछि घरधनीलाई हामी आयौं भनेर संकेत दिन बेनले बेस्सरी थप्पडी बजाए। यहाँ त मानिसहरू यसरी पो “ढोका ढकढकाउँदा” रहेछन्‌। एक नौजवान बाहिर निस्कन्छन्‌ र अहिले अलि व्यस्त भएकोले केही बेरपछि आउन आग्रह गर्छन्‌।

अर्को ढोकामा पुग्दा हामीले एउटा आइमाईलाई भेट्यौं र तिनको भाषा बेनले बुझ्न सकेनन्‌। त्यसकारण, तिनले आफ्नो छोरालाई बोलाइन्‌ र उसलाई बेनले भनेको कुरा उल्था गरेर सुनाउन आग्रह गरे। बेनले भन्‍नुपर्ने कुरा भनिसकेपछि उक्‍त आइमाईले बाइबलसम्बन्धी एउटा पुस्तिका ग्रहण गरिन्‌ र छोराचाहिंले आमालाई पढेर बुझाइदिने वचन दिए। तेस्रो घरको आँगनमा केही नौजवानहरू बसिरहेका थिए। तिनीहरूमध्ये दुई जनाले तुरुन्तै उठेर हाम्रोनिम्ति कुर्सी खाली गरे। उपासना गर्दा क्रूसको प्रयोग गर्नुहुन्छ कि हुँदैन भन्‍ने विषयमा जीवन्त छलफल सुरु भयो। अर्को हप्ता थप छलफल गर्ने प्रबन्ध मिलाइयो। अब त्यो पहिलो घरमा भेटिएको व्यस्त नौजवानलाई भेट्‌न जाने समय भयो। सडकपारि हामीले नौजवानहरूसित गरेको छलफल तिनले कुन्‍नि कसरी हो, सुनिसकेका रहेछन्‌। तिनले बाइबलसम्बन्धी थुप्रै प्रश्‍न सोधे र बाइबल अध्ययन गर्न सकिन्छ कि भनेर सोधे। आफ्नो तालिका हेरेर बेनले अर्को हप्ता यही समयमा तिनलाई फेरि भेट्‌न आउने कुरा बताए। दिउँसोको खाना खान मिसनरी गृह फर्कंदा बेन र कारेनले आफूले भ्याउन सक्ने भन्दा धेरै बाइबल अध्ययनहरू सजिलै पाउन सकिने भएकोले बाइबल अध्ययनहरू निकै होसियारीसाथ मिलाउने गरेको हामीलाई बताए।

तिनीहरूले फ्रान्सेली भाषा फररर बोल्न सकेकोमा हामीले तिनीहरूको प्रशंसा गऱ्‍यौं। बेनले, तिनी र कारेनले मिसनरी सेवा गरेको छ वर्ष भइसकेको र अहिले तिनीहरूलाई फ्रान्सेली भाषा बोल्न सजिलो लागेको बताए। नयाँ भाषा सिक्नु सजिलो कुरा त होइन, तर मेहनतको फल मीठो भयो भनेर तिनीहरूले हामीलाई प्रस्ट पारे।

दिउँसोको खाना खान १२:३० मा सबै मिसनरीहरू टेबल वरपर जम्मा भए। प्रत्येक दिन भिन्‍नाभिन्‍नै मिसनरीलाई बिहानको र दिउँसोको खाना तयार पार्न अनि पछि खाना खाइसकेपछि भाँडाकुँडा माझ्न खटाइएको हुँदो रहेछ भनेर हामीले थाह पायौं। आज एक जना मिसनरीले मुखै रसाउने खाना तयार पारेकी रहेछिन्‌। तिनले भुटेको कुखुरा, तारेको आलु र तिनको विशेषता अर्थात्‌ गोलभेडाको सलाद तयार पारेकी रहेछिन्‌!

अब बेन र कारेनको दिउँसोको कार्यक्रम के होला? देशभरि नै सबै जना दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म घामबाट जोगिन घरमै आराम गर्दा रहेछन्‌। त्यसकारण, मिसनरीहरू पनि अक्सर यो समय अध्ययन गर्न वा आराम गर्न बिताउँदा रहेछन्‌। कारेनले नयाँ मिसनरीलाई यो चलनअनुसार चल्न धेरै समय लाग्दैन भन्दा हामीलाई अचम्म लागेन।

एक झप्की निद्रा सुतिसकेपछि हामी फेरि क्षेत्र सेवकाईमा लाग्यौं। बेनले केही समयदेखि भेट्‌न खोजिरहेका जिज्ञासु पुरुषलाई आज पनि घरमा भेट्‌न सकिएन तर बेनले थप्पडी बजाउँदा दुई जना युवकहरू घरबाहिर निस्किए। घरधनीले बेन आउनेछन्‌ भनेको र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ नामक बाइबल अध्ययन सहायक पुस्तक लिनू भनेर एकदमै आग्रह गरेको तिनीहरूले बताए। तिनीहरूलाई उक्‍त पुस्तकको एक प्रति दिन पाउँदा हामीलाई रमाइलो लाग्यो। त्यसपछि, कारेनले एक जिज्ञासु आइमाईसित बाइबल अध्ययन सञ्चालन गर्ने इलाकामा लैजाने बस समात्यौं।

हूलमूलले भरिएको व्यस्त सडक हुँदो जाँदै गर्दा कारेनले हामीलाई यो आइमाईसित कसरी भेट भयो, त्यसबारे बताइन्‌। एकदिन कारेन र यो आइमाई अन्य यात्रुहरूसमेत एउटै ट्याक्सीमा सँगै यात्रा गर्न पुगेका रहेछन्‌। यात्राको दौडान पढ्‌न भनेर कारेनले यस आइमाईलाई एउटा पर्चा दिएकी रहेछिन्‌। उक्‍त आइमाईले त्यो पर्चा पढिसकेपछि अर्को पर्चा मागिन्‌। तिनले त्यो पनि बडो चासो लिंदै पढिन्‌। यात्रा सिद्धिनै लागेको बेला कारेनले उक्‍त आइमाईलाई घरैमा आएर भेट्‌ने प्रबन्ध मिलाइन्‌ र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबाट फलदायी बाइबल अध्ययन सुरु गरिन्‌। आज कारेनले यो पुस्तिकाको पाँचौं पाठ सुरु गर्न लागेकी छे।

क्षेत्र सेवकाईमा बिताएको यो दिन हामीलाई निकै रमाइलो लाग्यो। तर मिसनरी कार्यबारे हाम्रो मनमा केही प्रश्‍नहरू अझै बाँकी थिए। घर फर्केपछि हाम्रोनिम्ति हलुका खाना तयार पारिसकेपछि ती प्रश्‍नहरूको जवाफ दिने आश्‍वासन तिनीहरूले हामीलाई दिए।

तिनीहरू कसरी शान्ति कायम राख्छन्‌

तारेको अण्डा, फ्रेन्च पाउरोटी र चीज खाइरहेको बेला हामीले मिसनरी जीवनबारे थप कुराहरू थाह पायौं। सोमबारको दिन अक्सर मिसनरीहरूले आराम वा व्यक्‍तिगत काम गर्दा रहेछन्‌। प्रायजसो मिसनरीहरू त्यस दिन परिवार र साथीभाइलाई चिठी लेख्दा रहेछन्‌। तिनीहरूका लागि घरको हालखबर अत्यन्तै महत्त्वपूर्ण हुन्छ र मिसनरीहरू चिठी पाउँदा र पठाउँदा निकै रमाउँछन्‌।

मिसनरीहरू एकै ठाउँमा बसेर सँगसँगै काम गर्ने भएकोले सँगी मिसनरीहरूसित उठ्‌दा बस्दा आध्यात्मिक कुराहरू छलफल गरेर आपसमा राम्रो कुराकानी कायम राख्नु अत्यावश्‍यक छ। त्यसैले, नियमित तालिकाअनुसार व्यक्‍तिगत बाइबल अध्ययन गर्नुको अतिरिक्‍त हरेक सोमबार साँझ मिसनरीहरू बाइबल र प्रहरीधरहरा पत्रिका अध्ययन गर्दा रहेछन्‌। भिन्‍नाभिन्‍नै पृष्ठभूमि भएका मिसनरीहरू एकै ठाउँमा बस्दा कहिलेकाहीं नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ तर पारिवारिक अध्ययनको यो आध्यात्मिक प्रबन्धले तिनीहरूलाई शान्ति र एकता कायम राख्न मदत गर्छ भनेर बेनले बुझाए। यसले आफूलाई अत्यन्तै महत्त्वपूर्ण नठान्‍न पनि मदत गर्छ भनी बेनले जोड दिए।

नम्रता पनि अत्यावश्‍यक छ। मिसनरीहरू सेवा पाउन होइन सेवा गर्न खटाइएका हुन्छन्‌। जुनसुकै भाषामा होस्‌, “मलाई माफ गरिदिनुहोस्‌,” भन्‍न निकै गाह्रो भएको र त्यसमा पनि विशेष गरी अन्जानमा आफूले भनेका वा गरेका कुराहरूको निम्ति माफी माग्नु त साह्रै गाह्रो भएको हाम्रा मिसनरी मित्रहरूले महसुस गरेका छन्‌। बेनले हामीलाई बाइबलबाट आफ्नो श्रीमान्‌को अशिष्ट व्यवहारको निम्ति माफी मागेर विध्वंशकारी साबित हुनसक्ने परिस्थितिलाई शान्त पार्ने अबिगेलको उदाहरण स्मरण गराए। (१ शमूएल २५:२३-२८) असल मिसनरी हुन आवश्‍यक एउटा महत्त्वपूर्ण कुरा ‘शान्तिमा रहनसक्नु’ हो।—२ कोरिन्थी १३:११.

महिनामा एक पटक मिसनरीहरू परिवारलाई असर गर्ने कुराहरूका साथै मिसनरी गृहमा कामकुरा सम्हाल्न तालिकामा गर्नुपर्ने काँटछाँटबारे छलफल गर्न सभा गर्दा रहेछन्‌। त्यसपछि सबैले विशेष मिठाई खाँदा रहेछन्‌। हामीलाई यो प्रबन्ध साह्रै व्यावहारिक अनि स्वादिलो लाग्यो।

खाना खाइसकेपछि हामी मिसनरी गृह सरसरती घुम्यौं। मिसनरी गृह साधारण भए तापनि मिसनरीहरूले उक्‍त गृहलाई अत्यन्तै मेहनतसाथ सफा राख्ने प्रयास गरेका रहेछन्‌। त्यहाँ फ्रिज, लुगा धुने मेसिन र चुल्हो थियो। यो पश्‍चिम अफ्रिकाजस्तो उष्णकटिबन्धीय मुलुकहरूमा एयरकन्डिशनर पनि उपलब्ध हुनसक्छ भनेर कारेनले हामीलाई बताइन्‌। उपयुक्‍त बास, स्वास्थ्यकर भोजन र स्वास्थ्यसम्बन्धी सामान्य कुराहरूमा होसियार हुँदा मिसनरीहरूले स्वस्थ र फलदायी हुने मदत पाउँछन्‌।

सकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्ने

हामी आफूले देखेजति सबै कुराबाट प्रभावित भयौं। के हामी पनि मिसनरी कार्य गर्न सकौंला? हामी कसरी पक्का हुनसक्छौं? सोचविचार गर्नका लागि हाम्रा मित्र, बेन र कारेनले हामीलाई केही कुराहरू बताए।

सर्वप्रथम, तिनीहरू हामीलाई मसीही मिसनरीहरू रमाइलो गर्नको लागि मिसनरी बन्दैनन्‌ भन्छन्‌। मिसनरीहरू परमेश्‍वरका उदेकलाग्दा प्रतिज्ञाहरूबारे सिक्न चाहने इमानदार हृदय भएका मानिसहरूलाई खोज्दै हिंड्‌छन्‌। तिनीहरूले हरेक महिना क्षेत्र सेवकाईमा कमसे कम १४० घण्टा बिताउँछन्‌। त्यसकारण, क्षेत्र सेवकाईको प्रेम हुनु अनिवार्य छ।

‘तर सर्प, माउसुली अनि उडुस, उपियाँबारे बेनको सल्लाह के होला’ भनेर हामी सोच्न थाल्यौं। प्रायजसो मिसनरी क्षेत्रमा यी पाइने भए तापनि पछि बानी पर्छ भनेर बेनले हामीलाई बताए। प्रत्येक मिसनरीको कार्यभारको आ-आफ्नै विशेषता हुन्छ र समयमा मिसनरीहरूले आफ्नो कार्यभारका सकारात्मक पक्षहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्‌ भनेर बेनले हामीलाई अझै बताए। पहिले “गर्न सकिन्‍न” जस्तो लागेका कुराहरू समय नबित्दै सामान्य लाग्न थाल्छन्‌ र कहिलेकाहीं त रमाइलोसमेत लाग्न थाल्छ। निकै वर्ष पश्‍चिम अफ्रिकामा मिसनरी सेवा गरेकी एक जना मिसनरी बहिनीले व्यक्‍तिगत दायित्वहरूको कारण घर फर्कनुपर्दा वर्षौंअघि आफ्नो घर छोड्‌नुपर्दा भन्दा पनि यो मिसनरी कार्य गरेको इलाका छोड्‌न तिनलाई साह्रै गाह्रो भएको बताएकी रहेछिन्‌। तिनले आफ्नो मिसनरी कार्य गर्ने इलाकालाई नै आफ्नो घर मानिसकेकी रहेछिन्‌।

के तपाईं तयार हुनुहुन्छ?

बेन र कारेनले बताएका कुराहरूले हामीलाई थुप्रै विषयमा विचार गर्न लगायो। अनि तपाईंलाई नि? मिसनरीको रूपमा विदेशी भूमिमा सेवा गर्नेबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ? छ भने, त्यो लक्ष्य प्राप्त गर्न तपाईं आफूले कल्पना गरेभन्दा पनि नजिक पुगिसक्नुभएको हुनसक्छ। पूरा गर्नुपर्ने प्रमुख आवश्‍यकताहरूमध्ये एउटा पूर्ण-समय सेवकाईप्रति प्रेम हुनु र मानिसहरूलाई मदत गर्न रमाइलो मान्‍नु हो। नबिर्सनुहोस्‌, मिसनरीहरू वीर पुरुष वा स्त्रीहरू होइनन्‌, साधारण स्त्री तथा पुरुषहरू हुन्‌। तिनीहरू एउटा अत्यन्तै महत्त्वपूर्ण काम पूरा गर्न आफूले सकेजत्ति राम्रो गरिरहेका छन्‌।

[पृष्ठ २७-मा भएका चित्रहरू]

बाइबल पदको छलफलबाट प्रत्येक दिनको सुरुआत हुन्छ

[पृष्ठ २८, २९-मा भएका चित्रहरू]

अफ्रिकाका दृश्‍यहरू

[पृष्ठ २९-मा भएको चित्र]

मिसनरीको जीवन निकै सन्तोषदायी हुनसक्छ