सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘धैर्य धारण गर्नुहोस्‌’

‘धैर्य धारण गर्नुहोस्‌’

‘धैर्य धारण गर्नुहोस्‌’

“करुणा, दया . . . र धैर्य धारण गर।”—कलस्सी ३:१२, नयाँ संशोधित संस्करण।

१. धैर्य धारणको एउटा असल उदाहरण बताउनुहोस्‌।

 दक्षिणपश्‍चिमी फ्रान्समा बसोबास गर्ने रेझीस १९५२ मा यहोवाको बप्तिस्मा प्राप्त साक्षी भए। यहोवाको सेवा गर्न नदिन तिनलाई तिनको पत्नीले वर्षौंसम्म सकेजति सबै गरिन्‌। तिनलाई सभामा जान नदिन गाडीको हावा फुस्काइदिन्थिन्‌। एक चोटि त रेझीस घरघरको प्रचारकार्यमा जाँदा तिनको पत्नीले तिनलाई पछ्याइन्‌ र घरधनीलाई परमेश्‍वरको राज्यबारे बाइबलको सन्देश सुनाइरहेको बेला तिनको गिल्ला गरिन्‌। यस्तो निरन्तर विरोधको बावजूद रेझीसले धैर्य धारण गरिरहे। यसप्रकार रेझीस सबै मसीहीको निम्ति असल उदाहरण हुन्‌ किनभने यहोवा आफ्ना सबै सेवकहरू अरूसँग व्यवहार गर्दा धीरजी भएको चाहनुहुन्छ।

२. “धैर्य धारण” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ के हो र त्यस शब्दले के बुझाउँछ?

युनानी भाषामा धीरज वा “धैर्य धारण”-को शाब्दिक अर्थ “आत्मालाई तन्काउनु” हुन्छ। न्यु वर्ल्ड ट्रान्सलेसन-मा यसलाई दस चोटि “धीरज,” तीन चोटि “धैर्य” र एक चोटि “सहनशीलता” भनी अनुवाद गरिएको छ। “धैर्य धारण” भनी अनुवाद गरिएको हिब्रू र युनानी शब्द दुवैले धीरज, सहनशीलता र रिस गर्नमा ढिलो भन्‍ने पनि बुझाउँछ।

३. धीरजबारे प्रथम शताब्दीका युनानीहरूको भन्दा मसीहीहरूको दृष्टिकोण कसरी भिन्‍न थियो?

प्रथम शताब्दीका युनानीहरूले धीरजलाई सद्‌गुणको रूपमा लिंदैन थिए। यो शब्द स्टोइक दार्शनिकहरूले कहिल्यै चलाएनन्‌। बाइबलविद्‌ विलियम बार्क्लेका अनुसार धीरज “युनानी सद्‌गुण होइन।” किनकि युनानी सद्‌गुणले अन्य थुप्रै कुरामध्ये “अपमान वा चोट सहन अस्वीकार गर्छ।” तिनी अझ यसो भन्छन्‌: “बदला लिन जे पनि गर्न तयार मानिस नै युनानीहरूको निम्ति ठूलो मान्छे हुन्थ्यो। मसीहीहरूको निम्ति ठूलो मान्छे त्यो हुन्थ्यो जसले बदला लिने मौका पाए तापनि लिंदैन।” युनानीहरूले धीरजलाई कमजोरीको चिह्नको रूपमा लिएको हुनसक्छ तर अन्य ठाउँहरूमा जस्तै यहाँ पनि “परमेश्‍वरको मूर्खता मानिसहरूको ज्ञानभन्दा श्रेष्ठ छ, औ परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्‍तिशाली छ।”—१ कोरिन्थी १:२५.

ख्रीष्टले बसाल्नुभएको धीरजको उदाहरण

४, ५. येशूले धीरजको कस्तो उत्कृष्ट उदाहरण बसाल्नुभयो?

यहोवापछि धीरजको उत्कृष्ट उदाहरण बसाल्नुहुने अर्को व्यक्‍ति येशू ख्रीष्ट मात्र हुनुहुन्छ। अत्यन्तै दबाउको बेलामा समेत येशूले संयम प्रदर्शन गर्नुभयो। उहाँबारे यस्तो भविष्यवाणी गरिएको थियो: “उ थिचोमिचोमा पऱ्‍यो, र उसलाई कष्ट थियो, तापनि उसले आफूलाई नम्र तुल्याएर आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेड़ा लाटो भएझैं उसले आफ्नो मुख खोलेन।”—यशैया ५३:७.

पृथ्वीमा आफ्नो सेवकाई अवधिभरि नै येशूले उल्लेखनीय ढंगमा धीरज देखाउनुभयो! उहाँले आफ्ना शत्रुहरूका छली प्रश्‍नहरू र विरोधीहरूको अपमान सहनुभयो। (मत्ती २२:१५-४६; १ पत्रुस २:२३) आफ्ना चेलाहरूले बारम्बार सबैभन्दा ठूलो को भनेर झगडा गरे तापनि उहाँले सहनशीलता देखाउनुभयो। (मर्कूस ९:३३-३७; १०:३५-४५; लूका २२:२४-२७) अनि उहाँलाई धोका दिइने रात “जागा रहो” भन्दाभन्दै पनि पत्रुस र यूहन्‍ना सुतिरहँदा उहाँले कस्तो प्रशंसानीय धीरज देखाउनुभयो!—मत्ती २६:३६-४१.

६. येशूको धीरजबाट पावलले कसरी लाभ उठाए र हामीले यसबाट के सिक्नसक्छौं?

आफ्नो मृत्यु र पुनरुत्थानपछि पनि येशूले धैर्य धारण गर्न छोड्‌नु भएन। अरूलाई भन्दा प्रेरित पावललाई यस विषयमा राम्ररी थाह थियो। किनभने तिनी पहिला मसीहीहरूलाई सताउने व्यक्‍ति थिए। पावलले यस्तो लेखे: “यो वचन विश्‍वासयोग्य र हर प्रकारले ग्रहणयोग्य छ, कि ख्रीष्ट येशू संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभएको हो। तिनीहरूमध्ये मचाहिं मुख्य हुँ। यसैकारणले अनन्त जीवनको निम्ति उहाँमाथि पछि विश्‍वास गर्नेहरूलाई एउटा नमूना हुनालाई म मुख्य भएँ तापनि येशू ख्रीष्टले मलाई जम्मै धैर्य देखाउनाको निम्ति मैले दया पाएँ।” (१ तिमोथी १:१५, १६) हाम्रो पहिलाको जीवनशैली जस्तोसुकै भए तापनि हामीले येशूमा भरोसा राख्यौं भने उहाँ हामीप्रति धीरजी हुनुहुनेछ। तर निस्सन्देह, हामीले “पश्‍चाताप योग्यको काम” गरेको उहाँले आशा गर्नुहुनेछ। (प्रेरित २६:२०; रोमी २:४) ख्रीष्टले एसिया माइनरको सातवटा मण्डलीलाई पठाउनुभएको सन्देशबाट उहाँ धीरजी भएर मात्र बस्नुहुन्‍न उन्‍नति गरेको पनि चाहनुहुन्छ भनी थाह पाउनसक्छौं।—प्रकाश अध्याय २ र.

आत्माको फल

७. धीरज र पवित्र आत्माबीच कस्तो सम्बन्ध छ?

गलातीहरूलाई लेखेको पत्रको पाचौं अध्यायमा पावलले आत्माको फलसित शरीरका कामहरूको तुलना गरेका छन्‌। (गलाती ५:१९-२३) धीरज परमेश्‍वरका गुणहरूमध्ये एउटा भएको कारण यस गुणको मूल उहाँ नै हुनुहुन्छ र यो उहाँको आत्माको फल हो। (प्रस्थान ३४:६, ७) पावलले दिएको आत्माको फलको सूचीमा धीरज, “प्रेम, आनन्द, शान्ति, . . . दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम[सँगसँगै]” चौथो स्थानमा पर्छ। (गलाती ५:२२, २३) अतः परमेश्‍वरका सेवकहरूले ईश्‍वरीय सहनशीलता वा धीरज प्रकट गर्दा पवित्र आत्माको प्रभावमा परेर नै उनीहरूले यसो गरिरहेका हुन्छन्‌।

८. धीरजका साथै आत्माका अन्य फलहरू हामी कसरी खेती गर्नसक्छौं?

तथापि, यसको अर्थ परमेश्‍वरले मानिसहरूलाई आफ्नो आत्मा जबरजस्ती लाद्‌नुहुन्छ भनेको होइन। हामी आफै राजीखुसीसाथ आत्माको प्रभावमा पर्नुपर्छ। (२ कोरिन्थी ३:१७; एफिसी ४:३०) हाम्रो सबै क्रियाकलापमा आत्माका फलहरू खेती गरेर हामी आफ्नो जीवनमा आत्माको प्रभाव पर्न दिन्छौं। शरीरका कामहरू र आत्माको फलको सूची बनाइसकेपछि पावलले अझ यसो भने: “हामी आत्माले जिउँछौं भने आत्माकै अनुसार हिंड़ौं। धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।” (गलाती ५:२५; ६:७, ८) यदि हामी सफलतासाथ धीरजको खेती गर्न चाहन्छौं भने, पवित्र आत्माद्वारा मसीहीहरूमा हुने आत्माका बाँकी फलहरू पनि खेती गर्नैपर्छ।

“प्रेम धीरजी . . . हुन्छ”

९. पावलले कोरिन्थका मण्डलीलाई “प्रेम धीरजी . . . हुन्छ” भन्‍नुको कारण के हुनसक्छ?

प्रेम र धीरजबीचको विशेष सम्बन्ध पावलले निम्न कुरा उल्लेख गरेर बताए: “प्रेम धीरजी . . . हुन्छ।” (१ कोरिन्थी १३:४) एक जना बाइबलविद्‌ अल्बर्ट बार्न्सका अनुसार कोरिन्थको मसीही मण्डलीमा विद्यमान विभाजन र कलहलाई मनमा राखेर पावलले यस कुरामा जोड दिएका हुन्‌। (१ कोरिन्थी १:११, १२) बार्न्स यसप्रकार उल्लेख गर्छन्‌: “यहाँ [धीरजको निम्ति] प्रयोग गरिएको शब्द सोचविचारै नगरी कुनै काम गर्ने, रिसाउँदै आफ्ना भावना तथा विचारहरू व्यक्‍त गर्ने र चिढिनुको विपरीत हो। यसले शोषणमा पर्दा, कसैले चिढ्याउँदा लामो समयसम्म सहने मनस्थितिलाई बुझाउँछ।” प्रेम र धीरजले अझै पनि मसीही मण्डलीको शान्तिमा ठूलो योगदान पुऱ्‍याउँछ।

१०. (क) कुन तरिकामा प्रेमले हामीलाई धीरजी हुन मदत गर्छ र यस सन्दर्भमा प्रेरित पावल कस्तो सल्लाह दिन्छन्‌? (ख) परमेश्‍वरको धीरज र दयाको सन्दर्भमा एक जना बाइबलविद्‌ले कस्तो टिप्पणी गरे? (पादटिप्पणी हेर्नुहोस्‌।)

१० “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले . . . आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन।” यसप्रकार, थुप्रै तरिकामा प्रेमले हामीलाई धीरजी हुन मदत गर्छ। a (१ कोरिन्थी १३:४, ५) प्रेमले एकअर्कालाई सहन मदत गर्नुका साथै हामी असिद्ध छौं र सबैले गल्ती गर्छन्‌ भनी सम्झाउँछ। यसले हामीलाई क्षमाशील हुन मदत गर्छ। प्रेरित पावल हामीलाई यस्तो प्रोत्साहन दिन्छन्‌, “सारा विनय र नम्रतासित, धीरजसँग, एउटाले अर्कोलाई प्रेममा सहेर, आत्माको एकता राख्नालाई शान्तिको बन्धनमा परिश्रम गर।”—एफिसी ४:१-३.

११. मसीही समुदायमा धीरजी हुनु किन विशेष गरी महत्त्वपूर्ण छ?

११ मसीही समुदायको शान्ति अनि आनन्दमा यसका सदस्यहरूको धीरजले ठूलो भूमिका खेल्छ, चाहे त्यो मण्डली, बेथेल घर, मिसनरी घर, निर्माण टोली वा स्कूलहरू नै किन नहोस्‌। व्यक्‍तित्व, रुचि, पृष्ठभूमि, शिष्टताको स्तर र सरसफाइको शैलीको भिन्‍नताले समेत कहिलेकाहीं अप्ठ्यारो परिस्थिति सृजना हुनसक्छ। परिवारहरूमा पनि यस्तै हुनसक्छन्‌। अतः रिस गर्नमा ढिलो हुनु अत्यावश्‍यक छ। (हितोपदेश १४:२९; १५:१८; १९:११) राम्रो परिवर्तनको आशा गर्दै सबैजना धीरजी हुनु वा धैर्यपूर्वक सहनु अत्यन्तै महत्त्वपूर्ण छ।—रोमी १५:१-६.

धीरजले हामीलाई सहन मदत गर्छ

१२. कठिन परिस्थितिहरूमा धीरज किन महत्त्वपूर्ण छ?

१२ धीरजले हामीलाई कहिल्यै अन्त नहुने जस्तो वा चाँडै समाधान नहुने जस्तो देखिने कठिन परिस्थिति सहन मदत गर्छ। सुरुमा उल्लेख गरिएको रेझीसको सन्दर्भमा यो कुरा साँचो साबित भयो। यहोवाको सेवा गर्न नदिन तिनको पत्नीले वर्षौंसम्म सकेजति सबै गरिन्‌। तथापि, एक दिन तिनकी पत्नी आँखाभरि आँसु राख्दै तिनीकहाँ आएर यसो भनिन्‌: “यही नै सत्य हो भनेर मैले थाह पाएँ। मलाई मदत गर्नुहोस्‌। म बाइबल अध्ययन गर्न चाहन्छु।” तिनले अन्ततः एक जना साक्षीको रूपमा बप्तिस्मा लिइन्‌। रेझीस यसो भन्छन्‌: “यसबाट के प्रमाणित हुन्छ भने, मैले वर्षौं धैर्यतासाथ गरेको संघर्ष र धीरजको यहोवाले इनाम दिनुभएको छ।” तिनको धीरजले इनाम पायो।

१३. पावलले कसरी सहन सके र तिनको उदाहरणले हामीलाई सहन कसरी मदत गर्नसक्छ?

१३ सा.यु. प्रथम शताब्दीमा प्रेरित पावल धीरजका असल उदाहरण थिए। (२ कोरिन्थी ६:३-१०; १ तिमोथी १:१६) आफ्नो जीवनको अन्ततिर आफ्नो जवान सँगी तिमोथीलाई सल्लाह दिने क्रममा तिनले सबै मसीहीहरूले परीक्षाको सामना गर्नुपर्नेछ भनी चेताउनी दिए। पावलले आफ्नै उदाहरण दिए र धीरजको निम्ति आवश्‍यक आधारभूत मसीही गुणहरू विकास गर्ने सुझाउ दिए। तिनले यस्तो लेखे: “तिमी ता मेरो शिक्षा, चालचलन, अभिप्राय, विश्‍वास, सहनशीलता, प्रेम, धीरज, खेदो, कष्ट-भोगमा पछि लाग्यौ। कस्ता कस्ता कुराहरू एन्टिओक, आइकोनियम र लिस्त्रामा मलाई पर्नआएको थियो। कस्ता कस्ता खेदो मैले सहें, र ती सबैबाट प्रभुले मलाई छुटकारा दिनुभयो। ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१०-१२; प्रेरित १३:४९-५१; १४:१९-२२) सहनको निम्ति हामी सबैसँग विश्‍वास, प्रेम र धीरज हुनु आवश्‍यक छ।

धैर्य धारण गर्ने

१४. धीरजजस्तो ईश्‍वरीय गुणहरूलाई पावलले केसित तुलना गरे र तिनले कलस्सीका मण्डलीलाई कस्तो सल्लाह दिए?

१४ प्रेरित पावलले धीरज र अन्य ईश्‍वरीय गुणहरूलाई मसीहीहरूले “पुरानो मनुष्यत्व” त्यागेपछि लगाउनुपर्ने वस्त्रसित तुलना गरे। (कलस्सी ३:५-१०) तिनले यस्तो लेखे: “परमेश्‍वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता [धीरज] धारण गर। एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१२-१४.

१५. मसीहीहरूले धीरज र अन्य ईश्‍वरीय गुणहरू ‘धारण’ गर्दा कस्तो नतिजा हुन्छ?

१५ मण्डलीका सदस्यहरूले जब सहानुभूति, दया, नम्रता, विनय, धीरज र प्रेमजस्ता गुणहरू ‘धारण’ गर्छन्‌ तब तिनीहरूले समस्याहरू समाधान गर्नसक्छन्‌ र एकताबद्ध भई यहोवाको सेवा गरेर अघि बढ्‌नसक्छन्‌। विशेष गरी मसीही निरीक्षकहरू धीरजी हुनुपर्छ। कहिलेकाहीं कुनै मसीहीलाई हप्काउनु आवश्‍यक पर्नसक्छ तर हप्काउने विभिन्‍न तरिकाहरू छन्‌। पावलले तिमोथीलाई लेख्दा हामीसित हुनुपर्ने सबैभन्दा उत्तम मनोवृत्ति यसरी बताए: “सब सहनशीलता र शिक्षासाथ दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ।” (२ तिमोथी ४:२) हो, यहोवाको भेडालाई सधैं धीरज, सम्मान र कोमलतासाथ व्यवहार गर्नुपर्छ।—मत्ती ७:१२; ११:२८; प्रेरित २०:२८, २९; रोमी १२:१०.

“सबैसँग सहनशीलता देखाओ”

१६. हामी ‘सबैसँग सहनशील हुँदा’ नतिजा कस्तो हुनसक्छ?

१६ यहोवाले मानिसजातिप्रति धीरज देखाउनुभएको कारण हामी पनि ‘सबैसँग सहनशील’ हुनु हाम्रो नैतिक दायित्व हो। (१ थिस्सलोनिकी ५:१४) यसको अर्थ परिवारमा अर्कै धर्म मान्‍ने सदस्य, छिमेकी, सहकर्मी र सहपाठीहरूसँग धीरजी हुनु हो। काम गर्ने ठाउँमा वा स्कूलका सँगी साथीहरूको वर्षौं व्यंग वा विरोधको सामना गर्नुपरेका साक्षीहरूले पूर्वाग्रहमाथि विजय हासिल गरेका छन्‌। (कलस्सी ४:५, ६) प्रेरित पत्रुसले यस्तो लेखे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।”—१ पत्रुस २:१२.

१७. हामी कसरी यहोवाको प्रेम र धीरजको अनुकरण गर्नसक्छौं र हामीले किन त्यसो गर्नुपर्छ?

१७ लाखौं मानिसहरूको निम्ति यहोवाको धीरजको अर्थ जीवन हुनेछ। (२ पत्रुस ३:९, १५) यदि हामीले यहोवाको प्रेम र धीरजको अनुकरण गऱ्‍यौं भने, धैर्यतासाथ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिरहनुका साथै अरूलाई ख्रीष्टको राज्यशासनको अधीनमा बस्न सिकाउनेछौं। (मत्ती २८:१८-२०; मर्कूस १३:१०) हामीले प्रचार गर्न बन्द गऱ्‍यौं भने त्यसको अर्थ यहोवाको धीरजलाई सीमित गर्नु र मानिसहरूलाई पश्‍चात्तापसम्म डोऱ्‍याउने त्यसको उद्देश्‍यलाई बिर्सनु बराबर हुनेछ।—रोमी २:४.

१८. कलस्सीका मण्डलीको निम्ति पावलले कस्तो प्रार्थना गरे?

१८ एसिया माइनरमा पर्ने कलस्सीका मण्डलीलाई लेखेको पत्रमा पावलले यस्तो लेखे: “यसैकारण हामीले त्यो सुनेको दिनदेखि सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ भनेर हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोड़ेका छैनौं, हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्‍वरको ज्ञानमा बढ़दै गएर, आनन्दसित सारा धीरज र सहनशीलताको निम्ति उहाँको महिमाको सामर्थ्यअनुसार सारा शक्‍तिले बलवान [भए]।”—कलस्सी १:९-११.

१९, २०. (क) यहोवाको धीरजलाई परीक्षाको रूपमा नहेर्न हामीले के गर्नुपर्छ? (ख) हामी धीरजी हुँदा कस्ता लाभहरू उठाउनसक्छौं?

१९ यहोवा “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ र हामी “उहाँको [यस] इच्छाको ज्ञानले” भरिएका छौं भने यहोवाको धीरज वा सहनशीलता हाम्रोलागि परीक्षा हुनेछैन। (१ तिमोथी २:४) बरु विशेष गरी “राज्यको यो सुसमाचार सारा संसारमा” प्रचार गर्दै हामी “हरेक असल काममा फलिफाप हुँदै” जानेछौं। (मत्ती २४:१४) हामीले यदि विश्‍वासीपूर्वक त्यसो गरिरह्‍यौं भने, यहोवाले हामीलाई “सारा शक्‍तिले बलवान” बनाउनुहुनेछ र हामी “आनन्दसित सारा धीरज र सहनशील” हुनसक्नेछौं। साथै, हामी यहोवाको “योग्य चालमा चल्न” सक्नेछौं र उहाँलाई “हर किसिमले खुश” पारिरहेका छौं भन्‍ने कुरा जानेर आनन्दित महसुस गर्नेछौं।

२० धीरजी हुनुभएर यहोवाले ठूलो अन्तरदृष्टि देखाउनुभएको छ भन्‍ने कुरामा हामी पूर्णतया विश्‍वस्त होऔं। यो हाम्रो र हाम्रो प्रचार तथा शिक्षा सुन्‍नेहरूको निम्ति उद्धार हो। (१ तिमोथी ४:१६) प्रेम, दया, भलाइ, नम्रता र संयमजस्ता आत्माका फलहरू खेती गर्दा हामीले आनन्दसित धीरजी हुन मदत पाउनेछौं। हामी आफ्नो परिवारका सदस्यहरूका साथै मण्डलीका भाइबहिनीहरूसित मिलेर बस्न सक्नेछौं। धीरजले हामीलाई आफ्नो सहकर्मी वा सहपाठीहरूसँग सहनशील हुन पनि मदत गर्नेछ। अनि हाम्रो धीरजको उद्देश्‍य हुनेछ अर्थात्‌ गल्ती गर्नेहरूलाई बचाउने अनि धीरजी परमेश्‍वर, यहोवाको महिमा गर्ने।

[फुटनोट]

a “प्रेम धीरजी र दयालु हुन्छ” भन्‍ने पावलको कथनबारे टिप्पणी गर्दै बाइबलविद्‌ गोर्डन डि. फिई यस्तो लेख्छन्‌: “पावलको शिक्षाअनुसार [धीरज र दयाले] मानिसजातिप्रति ईश्‍वरीय दृष्टिकोणको दुई पक्षलाई बुझाउँछ। (सि एफ. रोमी २:४) एकतिर, विद्रोही मानिसजातिमाथि रिस नपोखाउनुभएर उहाँले आफ्नो मायालु सहनशीलता प्रदर्शन गर्नुभयो भने अर्कोतर्फ, उहाँले देखाउनुभएको अनगिन्ती कृपामा उहाँको दया झल्किन्छ। यसप्रकार, प्रेमबारे पावलले गरेको वर्णन परमेश्‍वरको उक्‍त दोहोरो वर्णनबाट सुरु हुन्छ। परमेश्‍वरले ख्रीष्टमार्फत ईश्‍वरीय न्यायदण्डका योग्य मानिसहरूसामु आफूलाई धीरजी र दयालु प्रमाणित गर्नुभएको छ।”

के तपाईं बुझाउन सक्नुहुन्छ?

• कुनकुन तरिकामा ख्रीष्ट धीरजको उत्कृष्ट उदाहरण हुनुहुन्छ?

• धीरज खेती गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

• धीरजले परिवार, मसीही समुदाय र प्राचीनहरूलाई कसरी मदत गर्छ?

• धीरजी हुँदा कसरी त्यसले आफूलाई र अरूलाई लाभ पुऱ्‍याउँछ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

अत्यन्तै दबाउमा परेको बेलामा समेत येशूले आफ्ना चेलाहरूसँग धैर्य धारण गर्नुभयो

[पृष्ठ १६-मा भएको चित्र]

मसीही निरीक्षकहरूलाई आफ्ना भाइहरूसँग व्यवहार गर्दा धीरजको असल उदाहरण बसाल्न आग्रह गरिएको छ

[पृष्ठ १७-मा भएको चित्र]

यहोवाको प्रेम र धीरजको अनुकरण गऱ्‍यौं भने हामी सुसमाचार प्रचार गरिरहनेछौं

[पृष्ठ १८-मा भएको चित्र]

मसीहीहरू ‘आनन्दसित धीरजी’ होऊन्‌ भनी पावलले प्रार्थना गरे