सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको सेवामा बिताएको समृद्धशाली जीवन

यहोवाको सेवामा बिताएको समृद्धशाली जीवन

जीवनी

यहोवाको सेवामा बिताएको समृद्धशाली जीवन

रसल कर्जनको वृत्तान्तमा आधारित

मेरो जन्म प्रथम विश्‍वयुद्धसँगै उदय भएको उल्लेखनीय युगभन्दा सात वर्षअघि अर्थात्‌ सेप्टेम्बर २२, १९०७ मा भएको थियो। हाम्रो परिवार सबैभन्दा महत्त्वपूर्ण कुरामा धनी थियो। सायद, हाम्रो परिवारका केही इतिहास पढेपछि तपाईंहरू पनि यस विषयमा सहमत हुनुहुनेछ।

बज्यै कर्जन सानै छँदादेखि परमेश्‍वरबारे सत्य कुराको खोजीमा हुनुहुन्थ्यो। किशोरावस्थामा पुग्नुअघि नै उहाँ स्वीट्‌जरल्याण्डको सुन्दर ठाउँ स्पीट्‌ज भन्‍ने ठाउँका विभिन्‍न चर्चहरूमा धाइसक्नुभएको थियो। सन्‌ १८८७ मा विवाह भएको केही वर्षपछि नै त्यतिबेलाका अन्य थुप्रै आप्रवासी जस्तै कर्जन परिवार पनि संयुक्‍त राज्यतर्फ लाग्यो।

हाम्रो परिवार ओहायोमा बसोबास गर्न थाल्यो। त्यहीं सन्‌ १९०० तिर बज्यैले आफूले खोजिरहनुभएको धन भेट्टाउनुभयो। उहाँले त्यो धन, चार्ल्स टेज रसलद्वारा लेखिएको समय नजिकै छ भन्‍ने पुस्तकमा भेट्टाउनुभयो। उक्‍त किताब जर्मन भाषामा थियो। त्यस पुस्तकमा बाइबलको सत्यको ज्योति लुकेको छ भनी उहाँले तुरुन्तै थाह पाइहाल्नुभयो। बज्यैलाई अंग्रेजी भाषा त्यति पढ्‌न आउँदैनथ्यो तैपनि उहाँ अंग्रेजी प्रहरीधरहरा-को ग्राहक बन्‍नुभयो। यसरी उहाँले थप बाइबल सत्यका साथसाथै अंग्रेजी भाषा पनि सिक्नुभयो। आध्यात्मिक कुराहरूमा बज्यैले जस्तो चासो हजुरबुबाले कहिल्यै देखाउनुभएन।

बज्यैको ११ जना छोराछोरीमध्ये दुई जना छोरा, जोन र अडोल्फले मात्र उहाँले भेट्टाउनुभएको आध्यात्मिक धनको मूल्यांकन गरे। जोन मेरो बुबा हुनुहुन्थ्यो र उहाँले सन्‌ १९०४ मा सेन्ट लुइस, मिसोरीमा आयोजित त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनिने यहोवाका साक्षीहरूको अधिवेशनमा बप्तिस्मा लिनुभयो। प्रायजसो बाइबल स्टुडेन्ट्‌सको सीमित आयस्रोत भएकोले सेन्ट लुइसमा विश्‍व मेला हुने समय पारेर अधिवेशनको समय मिलाइएको थियो। यसो गर्दा तिनीहरूले रेल टिकटमा पाइने विशेष छुटको फाइदा उठाउनसक्थे। पछि सन्‌ १९०७ मा मेरो काका अडोल्फले न्यु योर्कको नियग्रा फल्समा आयोजित अधिवेशनमा बप्तिस्मा लिनुभयो। मेरो बुबा र काकाले बाइबलबाट सिकेको कुरा जोसका साथ प्रचार गर्नुभयो र दुवै जना अन्ततः पूर्ण-समय (अहिले अग्रगामी भनिन्छ) सेवक हुनुभयो।

तसर्थ, १९०७ मा मेरो जन्म हुँदा मेरो परिवार आध्यात्मिक अर्थमा धनी भइसकेको थियो। (हितोपदेश १०:२२) सन्‌ १९०८ मा मेरो आमाबाबु जोन र इडाले मलाई पुट-इन-बे, ओहायोमा आयोजित “विजयतर्फ” भन्‍ने अधिवेशनमा लग्नुहुँदा म सानै थिएँ। त्यतिबेलाको परिभ्रमण सेवक जोसेफ एफ. रदरफोर्ड त्यस अधिवेशनको अध्यक्ष हुनुहुन्थ्यो। केही हप्ताअघि उहाँ डाल्टन ओहायोमा हुनुहुन्थ्यो र त्यतिबेला उहाँ हाम्रो घर आउनुभएर स्थानीय बाइबल स्टुडेन्ट्‌सलाई भाषण दिनुभएको थियो।

निस्सन्देह, ती घटनाहरू मलाई त्यति राम्ररी सम्झना छैन तर १९११ मा माउन्टेन लेक पार्क, मेरील्याण्डमा भएको अधिवेशन भने मैले सम्झेको छु। त्यहाँ मेरी बहिनी एस्तर र मैले चार्ल्स टेज रसललाई भेटेका थियौं। उहाँले त्यतिबेला बाइबल स्टुडेन्ट्‌सको विश्‍वव्यापी प्रचार गतिविधिको रेखदेख गरिरहनुभएको थियो।

जून २८, १९१४ मा संसार सारायभोमा आर्कड्युक फर्डिनान्ड र तिनकी पत्नीको हत्याको कारण युद्धमा मुछिएको बेला मचाहिं आफ्नो परिवारसँग कोलम्बस, ओहायोमा आयोजित शान्तिपूर्ण अधिवेशनमा थिएँ। ती दिनहरूदेखि नै मैले यहोवाका जनहरूको थुप्रै अधिवेशनमा उपस्थित हुने सुअवसर पाएको छु। कुनैकुनै अधिवेशनमा केही सय व्यक्‍तिहरू मात्र थिए भने अरूचाहिं संसारमै सबैभन्दा ठूला मानिने रंगशालाहरूमा आयोजना गरिएका थिए।

हाम्रो पायक पर्ने घर

पिट्‌सबर्ग, पेन्सलभेनिया र क्लिभल्याण्ड ओहायोको बीचमा पर्ने हाम्रो घरमा १९०८ देखि १९१८ सम्म बाइबल स्टुडेन्ट्‌सको सानो समूहका सभाहरू हुन्थे। हाम्रो घरमा हामीले थुप्रै परिभ्रमण वक्‍ताहरूको अतिथि सत्कार गऱ्‍यौं। उहाँहरूले हाम्रो खलोपछाडि आफ्ना घोडा तथा बग्गीहरू बान्‍नुहुन्थ्यो र भेला भएकाहरूलाई रोमाञ्चकारी अनुभवका साथै आध्यात्मिक सत्यका कुराहरू बताउनुहुन्थ्यो। ती साह्रै प्रोत्साहनजनक समय थिए!

बुबा स्कूलको शिक्षक हुनुहुन्थ्यो तर उहाँको मनचाहिं सधैं महान्‌ शिक्षण कार्य अर्थात्‌ मसीही सेवकाईमै हुन्थ्यो। उहाँले सधैं आफ्नो परिवारलाई यहोवाबारे सिकाउनुहुन्थ्यो र हरेक साँझ हामी पूरै परिवार मिलेर प्रार्थना गर्थ्यौं। सन्‌ १९१९ को वसन्तऋतुमा बुबाले हाम्रो घोडा र बग्गी बेच्नुभयो अनि अझ धेरै मानिसलाई प्रचार गर्न १७५ अमेरिकी डलरमा १९१४ मोडलको फर्ड गाडी किन्‍नुभयो। हामी त्यही गाडी चढेर १९१९ र १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा आयोजित बाइबल स्टुडेन्ट्‌सको ऐतिहासिक अधिवेशन गयौं।

हाम्रो सम्पूर्ण परिवार अर्थात्‌ आमा, बुबा, एस्तर, भाइ जोन र म जन प्रचारकार्यमा भाग लिन्थ्यौं। घरधनीले मलाई पहिलो चोटि बाइबल प्रश्‍न गरेको मलाई अझै याद छ। म त्यतिबेला लगभग सात वर्षको थिएँ। “बाबु, आरमागेडोन भनेको के हो?” भनी त्यस मानिसले सोधे। बुबाको मदत लिंदै म तिनलाई बाइबलबाट उत्तर दिन सफल भएँ।

पूर्ण-समय सेवकाई

सन्‌ १९३१ मा कोलम्बस, ओहायोमा आयोजित अधिवेशनमा हाम्रो परिवार पनि उपस्थित थियो र त्यहाँ यहोवाका साक्षीहरू भन्‍ने नयाँ नाउँ धारण गर्न पाउँदा हामी रोमाञ्चित भएका थियौं। जोन त यत्ति रोमाञ्चित भए कि हामी दुवैले अग्रगामी सेवा गर्नुपर्छ भनेर तिनले निर्णय गरे। a हामीले अग्रगामीको काम गर्न थाल्यौं र पछि आमा, बुबा र एस्तरले पनि थाल्नुभयो। परमेश्‍वरको राज्यको सुसमाचार प्रचारकार्यमा सम्पूर्ण परिवार एकताबद्ध हुनु कस्तो बहुमूल्य धन थियो! यस आशिष्‌को निम्ति म यहोवालाई कहिल्यै धन्यवाद नदिई बस्न सक्दिनँ। हामी त्यतिबेला अत्यन्तै आनन्दित थियौं तर अझ धेरै आनन्द अनुभव गर्न बाँकी नै थियो।

सन्‌ १९३४ फेब्रुअरी महिनादेखि मैले ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको (बेथेल भनिने) मुख्यालयमा सेवा गर्न थालें। म त्यहाँ गएको केही हप्तामै जोन पनि आयो। तिनले १९५३ मा जेस्सीसँग बिहे नगरेसम्म हामी सँगै एउटै कोठामा बस्थ्यौं।

म र जोन बेथेल आएपछि मेरो आमाबाबु देशको विभिन्‍न भागमा अग्रगामीको काम गर्न राजी हुनुभयो अनि एस्तर र ज्वाइँ जोर्ज रिड उहाँहरू सँगसँगै जान्थे। सन्‌ १९६३ मा आफ्नो पार्थिव जीवन पूरा नभएसम्म हाम्रो आमाबाबुले अग्रगामी काम छोड्‌नुभएन। एस्तर र ज्वाइँले आफ्नो परिवारलाई असाध्यै राम्ररी हुर्काए। मेरा थुप्रै भान्जा-भान्जीहरू छन्‌। म तिनीहरू सबैलाई असाध्यै माया गर्छु।

बेथेलको काम र संगति

जोनले आफूसँग भएको प्राविधिक सीप प्रयोगमा ल्याउन पाए। तिनी बेथेलका अन्य भाइहरूसित मिलेर पोर्टेबल फोनोग्राफ बनाउने जस्ता काममा लागे। हजारौं यहोवाका साक्षीहरूले ती फोनोग्राफ आफ्नो घरघरको सेवकाईमा चलाए। जोनले ग्राहकहरूलाई पठाउने पत्रिकाको खोल बनाउने तथा लेबल गर्ने मेसिन डिजाइन गर्न र बनाउन पनि मदत गरे।

बेथलमा मैले सबैभन्दा पहिला गरेको काम किताबमा बाइन्डिङ गर्ने थियो। त्यतिबेला मसँगै काम गर्ने जवान भाइहरू अझै बेथेलमा विश्‍वासीपूर्वक सेवा गरिरहेका छन्‌। तिनीहरूमध्ये केही क्यारी बार्बर र रबर्ट ह्‍याट्‌सफिल्ड हुन्‌। मेरो सम्झनामा आउने अन्य केही भाइहरू नेथन नोर, कार्ल क्लाइन, लिम्यान स्विंगल, क्लाउस जेनसेन, ग्रान्ट सुटर, जोर्ज ग्यांगस, ओरिन हिबर्ड, जोन सियोरस, रबर्ट पेन, चार्ल्स फेकेल, बेन्‍नो बरचिक र जोन पेरी हुन्‌ तर उहाँहरू सबैको मृत्यु भइसक्यो। उहाँहरूले वर्षौं कहिल्यै गनगन नगरी वा “बढुवा”-को आशा नगरी विश्‍वासपूर्वक काम गर्नुभयो। यद्यपि, यी थुप्रै वफादार, आत्म-अभिषिक्‍त मसीहीहरूले पछि संगठन बढ्‌दै जाँदा थुप्रै जिम्मेवारी सम्हाले। कोहीकोहीले त यहोवाका साक्षीहरूको परिचालक निकायमा समेत काम गरे।

यी आत्म-त्यागी भाइहरूसँग काम गरेर मैले महत्त्वपूर्ण पाठ सिकें। बाहिर जागिर खाँदा कामदारहरूले आफ्नो परिश्रमको निम्ति तलब पाउँछन्‌। त्यो तिनीहरूको इनाम हो। बेथेलमा सेवा गर्दा प्रचुर मात्रामा आध्यात्मिक आशिष्‌ पाइन्छ र यस्तो इनामको आध्यात्मिक पुरुष तथा स्त्रीहरूले मात्र मूल्यांकन गर्छन्‌।—१ कोरिन्थी २:६-१६.

सन्‌ १९२३ मा किशोरावस्थामै बेथेल आउनुभएका नेथन नोर १९३० को दशकमा छापाखानाका निरीक्षक हुनुहुन्थ्यो। उहाँ हरेक दिन छापाखाना आउनुभएर प्रत्येक कामदारलाई अभिवादन गर्नुहुन्थ्यो। हामी जस्तो बेथेल भर्खरै आएकाहरूले त्यस्तो व्यक्‍तिगत तवरमा देखाइएको चासोको साँच्चै मूल्यांकन गर्थ्यौं। सन्‌ १९३६ मा हामीले जर्मनीबाट नयाँ छाप्ने मेसिन प्राप्त गऱ्‍यौं र केही जवान भाइहरूलाई पाटपुर्जा जोड्‌न असाध्यै गाह्रो भयो। त्यसैकारण, मेसिनले राम्ररी काम नगरेसम्म भाइ नोर आफै काम गर्दा लगाउने बाक्लो लुगा लगाएर एक महिनाभन्दा बढी तिनीहरूसँगै काम गर्नुभयो।

भाइ नोर यस्तो परिश्रमी हुनुहुन्थ्यो कि हामीमध्ये प्रायः उहाँको रफ्तारमा काम गर्नै सक्दैन थियौं। तर उहाँ रमाइलो पनि गर्नुहुन्थ्यो। सन्‌ १९४२ जनवरी महिनामा यहोवाका साक्षीहरूको विश्‍वव्यापी प्रचारकार्यको रेखदेख गर्ने जिम्मेवारी पाउनुभएपछि पनि उहाँ कहिलेकाहीं बेथेल परिवारका सदस्यहरू र नजिकै साउथ ल्यानसिङ, न्यु योर्कमा गिलियड मिसनरी स्कूलका विद्यार्थीहरूसँग बेसबल खेल्नुहुन्थ्यो।

सन्‌ १९५० अप्रिलमा १२४ कोलम्बिया हाइट्‌स, ब्रूकलिन, न्यु योर्कमा अवस्थित हाम्रो भर्खरै निमार्ण गरिएको दस तले आवसीय भवनमा बेथेल परिवार सऱ्‍यो। खाना खाने नयाँ कोठामा हामी सबैजना अटाउँथ्यौं। यस आवसीय भवन निमार्ण अवधिभरि अर्थात्‌ झन्डै तीन वर्षजति हामीले बिहान दैनिक पद छलफल कार्यक्रम गर्न सकेनौं। त्यो कार्यक्रम पुनः सुरु हुँदा हामी खुसीले गद्‌गद भयौं! परिवारका नयाँ सदस्यहरूको नाउँ सम्झन मदत गर्नको लागि भाइ नोरले मलाई उहासँगै अध्यक्षको टेबुलमा बस्न भन्‍नुभयो। म ५० वर्षसम्म बिहान दैनिक पदको छलफल र नास्ताको निम्ति त्यही ठाउँमा बसें। त्यसपछि अगस्त ४, २००० मा खाना खाने त्यो कोठा बन्द गरियो र पहिलेको टावर्स होटल भएको भवन मर्मत गरिएपछि त्यहाँको खाना खाने कोठाहरूमध्ये एउटामा खटाइयो।

सन्‌ १९५० को दशकमा केही समय मैले फ्याक्ट्रीमा लिनोटाइप मेसिनमा अक्षरहरू मिलाउने काम गरें। त्यसरी अक्षरहरू मिलाइसकेपछि छाप्ने प्लेट बनाइन्थ्यो। मलाई त्यो काम गर्न मन त पर्दैनथ्यो तर मेसिनको रेखदेख गर्ने भाइ विलियम पिटर्सनले मलाई यस्तो माया गर्नुहुन्थ्यो कि त्यहाँ मैले आनन्दसाथ काम गर्न सकें। त्यसपछि १९६० मा भर्खरै निर्माण गरिएको १०७ कोलम्बिया हाइट्‌सको आवसीय भवनमा रङ लगाउन स्वयम्‌सेवकहरू चाहियो। बढ्‌दो बेथेल परिवारको निम्ति भवन तयार गर्न मैले खुसीसाथ त्यही काम गरें।

एक सय सात कोलम्बिया हाइट्‌सको आवसीय भवन रङ लगाउन सकिएको केही समय नबित्दै मलाई बेथेलमा आउने आगन्तुकहरूलाई स्वागत गर्ने काम दिंदा म तीन छक परें। मैले वर्षौं बेथेलमा गरेका अन्य सेवाहरूजस्तै रिसेप्सनमा काम गरेर बिताएको ४० वर्ष पनि आनन्दमय भयो। बेथेलमा आएका आगन्तुकहरू होस्‌ वा बेथेलका नयाँ सदस्यहरू, राज्य गतिविधिलाई अघि बढाउन हामी सबैले गरेको प्रयासका नतिजाहरूबारे सबैसँग कुरा गर्न पाउनु मेरोलागि रोमाञ्चकारी भएको छ।

बाइबलका चतुर विद्यार्थीहरू

हाम्रो बेथेल परिवार आध्यात्मिक तवरमा फस्टाइरहेको छ किनभने बेथेलका सबै सदस्यहरू बाइबल मन पराउँछन्‌। म पहिलो चोटि बेथेल आउँदा मैले संशोधकको काम गर्ने एमा ह्‍यामिल्टनलाई बाइबल कति चोटि पढ्‌नुभयो भनेर सोधेको थिएँ। उहाँले यस्तो उत्तर दिनुभयो: “३५ चोटिसम्म त मैले गनें तर त्यसपछि त गन्‍नै छोडिदिएँ।” त्यही समयताका बेथेलमा सेवा गर्ने अर्का अग्रणी मसीही आन्टोन कोरब्रर यसो भन्‍ने गर्थे: “बाइबललाई कहिल्यै आफ्नो नजरबाट नहटाउनु।”

सन्‌ १९१६ मा भाइ रसलको मृत्युपछि संगठनको जिम्मेवारी जोसेफ एफ. रदरफोर्डको काँधमा आयो। रदरफोर्ड प्रभावशाली, अनुभवी जनवक्‍ता थिए। उहाँले वकिलको हैसियतमा संयुक्‍त राज्यको सर्वोच्च अदालतमा यहोवाका साक्षीहरूको पक्षमा मुद्दाहरू लड्‌नुभएको थियो। सन्‌ १९४२ मा रदरफोर्डको मृत्युपछि भाइ नोरले त्यो जिम्मेवारी सम्हाल्नुभयो र कुशल जनवक्‍ता हुन निकै मेहनत गर्नुभयो। उहाँको कोठा मेरो कोठासँगै भएको कारण उहाँले आफ्ना भाषणहरू दोहऱ्‍याइतेहऱ्‍याइ अभ्यास गरिरहेको सुन्थें। त्यस्तो लगनशील प्रयासको कारण समयमा उहाँ कुशल जनवक्‍ता हुनुभयो।

सन्‌ १९४२ फेब्रुअरीमा भाइ नोरले बेथलमा भएका सबै भाइहरूको शिक्षण र बोल्ने कलामा प्रगति गर्न एउटा कार्यक्रम थाल्नुभयो। त्यो स्कूल बाइबल अनुसन्धान र जनसमक्ष बोल्ने सीपसित सम्बन्धित थियो। सुरुमा हामी प्रत्येकले बाइबल पात्रहरूबारे छोटो भाषण दिने असाइनमेन्ट पायौं। मेरो पहिलो भाषण मोशाबारे थियो। सन्‌ १९४३ मा त्यस्तै स्कूल यहोवाका साक्षीहरूको मण्डलीमा पनि सुरु गरियो र आजसम्म पनि यथावत्‌ छ। बेथेलमा अझ पनि बाइबल ज्ञान हासिल गर्न र प्रभावकारी शिक्षण कला विकास गर्न जोड दिइन्छ।

फेब्रुअरी १९४३ मा गिलियड मिसनरी स्कूलको पहिलो कक्षा सुरु भयो। अहिले भर्खरै गिलियडको १११ औं कक्षाले स्नातक प्राप्त गरेको छ! सञ्चालन भएको ५८ भन्दा बढी वर्षभित्र स्कूलले विश्‍वभरि मिसनरीको रूपमा सेवा गर्न ७,००० भन्दा बढी व्यक्‍तिहरूलाई प्रशिक्षण दिइसकेको छ। उल्लेखनीय कुरा के छ भने, १९४३ मा स्कूल सुरु हुँदा विश्‍वभरि लगभग १,००,००० जना साक्षीहरू मात्र थिए। अहिले परमेश्‍वरको राज्यको सुसमाचार प्रचारकार्यमा ६० लाखभन्दा बढीले भाग लिइरहेका छन्‌!

मेरो आध्यात्मिक सम्पदाको निम्ति कृतज्ञ

गिलियड सुरु हुनुभन्दा केही समयअघि बेथेलबाट हामी तीन जनालाई संयुक्‍त राज्यभरिका मण्डलीहरू भ्रमण गर्न खटाइएको थियो। ती मण्डलीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउन हामी मण्डलीमा एक दिन, दुई/तीन दिन वा एक हप्तासम्म पनि बिताउथ्यौं। हामीलाई भाइहरूको सेवक भनिन्थ्यो, जसलाई पछि क्षेत्रीय सेवक वा क्षेत्रीय निरीक्षक भनिन थाल्यो। तथापि, गिलियड स्कूलको स्थापनापछि मलाई फर्केर आएर केही कक्षाहरू लिन अनुरोध गरियो। मैले दोस्रोदेखि पाँचौं कक्षासम्म लगातार शिक्षकको रूपमा सिकाएँ र मैले १४ औं कक्षामा पनि एक जना नियमित शिक्षक नआएको बेला सिकाएँ। विद्यार्थीहरूलाई यहोवाको संगठनको आधुनिक इतिहासका घटनाहरू, जुन घटनाहरूमध्ये कतिपय त मैले व्यक्‍तिगत तवरमै अनुभव गरेको थिएँ, ती सबै सुनाउन पाउँदा आफ्नो समृद्धशाली आध्यात्मिक सम्पदाको झनै मूल्यांकन गर्न थालें।

वर्षौंको दौडान मैले आनन्द उठाएको अर्को सुअवसर यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनहरू धाउनु हो। सन्‌ १९६३ मा “अनन्त सुसमाचार” विषयक अधिवेशनको लागि म ५०० भन्दा बढी प्रतिनिधिसँग विश्‍वभरि यात्रा गरें। मैले धाएको अन्य ऐतिहासिक अधिवेशनहरूमध्ये केही सन्‌ १९८९ मा पोल्याण्डको वार्समा, १९९० मा जर्मनीको बर्लीनमा र सन्‌ १९९३ मा रूसको मस्कोमा भएका अधिवेशनहरू हुन्‌। प्रत्येक अधिवेशनमा मैले नाजी, कम्युनिष्ट वा दुवै शासनअन्तर्गत दशकौंसम्म सतावट भोगेका हाम्रा प्रिय भाइ तथा बहिनीहरूलाई भेट्‌ने सुअवसर पाएँ। विश्‍वासलाई सुदृढ बनाउने त्यो साह्रै राम्रो अनुभव थियो!

यहोवाको सेवामा बिताएको मेरो जीवन साँच्चै नै समृद्धशाली भएको छ! उहाँले दिनुहुने आध्यात्मिक आशिष्‌को कुनै अन्त छैन। अनि भौतिक धन-सम्पत्ति जस्तो नभई हामी यो अनमोल धन जति बाँड्‌छौं त्यति नै हाम्रो धन बढ्‌छ। म कहिलेकाहीं कसैकसैले तिनीहरू यहोवाका साक्षीहरू भएर नहुर्केको भए पनि त हुन्थ्यो भनेको सुन्छु। त्यस्तो भएको भए तिनीहरूले बाइबल सत्यलाई अझ बढी मूल्यांकन गर्नसक्थे होला भन्छन्‌।

जवानहरूले त्यसो भनेको सुन्दा मलाई साह्रै खल्लो लाग्छ, किनभने तिनीहरूले वास्तवमा परमेश्‍वरको तौरतरिका अनुसार आफूलाई नहुर्काइएको भए बेस हुन्थ्यो भनिरहेका हुन्छन्‌। पछि मात्र बाइबल सत्य थाह पाउने व्यक्‍तिहरूले कस्तो खराब बानी र भ्रष्ट विचार त्याग्न सिक्नुपर्छ विचार गर्नुहोस्‌। मेरो आमाबाबुले हामी तीन जनालाई धार्मिक मार्गमा हुर्काएकोमा म सधैं उहाँहरूप्रति आभारी छु। जुलाई १९८० मा आफ्नो मृत्यु नहोउञ्जेल जोन विश्‍वासी भइरहे र एस्तर अहिलेसम्म पनि विश्‍वासीपूर्वक सेवा गर्दैछिन्‌।

विश्‍वासी मसीही भाइबहिनीहरूसँगको थुप्रै घनिष्ठ मित्रताको मीठो सम्झना मसँग छ। अब त मैले बेथेलमा सेवा गरेको पनि ६७ वर्ष भइसक्यो। मैले कहिल्यै विवाह नगरे तापनि मेरा थुप्रै आध्यात्मिक छोराछोरी र नातिनातिनीहरू छन्‌। अनि हाम्रो विश्‍वव्यापी आध्यात्मिक परिवारका अन्य नयाँ सदस्यहरूलाई सम्झँदा म आनन्दित हुन्छु। तिनीहरू सबै अनमोल छन्‌। यी शब्दहरू कत्ति सही छन्‌: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ”!—हितोपदेश १०:२२.

[फुटनोटहरू]

a मैले मार्च ८, १९३२ मा बप्तिस्मा लिएँ। साँच्चै भन्‍ने हो भने, मैले अग्रगामीको काम गर्नुपर्छ भनी निर्णय गरेपछि मात्र मैले बप्तिस्मा लिएँ।

[पृष्ठ २०-मा भएको चित्र]

बायाँदेखि दायाँ: भाइ जोनलाई काखमा लिंदै बुबा, एस्तर, म र आमा

[पृष्ठ २३-मा भएका चित्रहरू]

सन्‌ १९४५ मा गिलियड कक्षामा पढाउँदै

माथि दायाँ: गिलियड निर्देशकहरू एड्‌वर्डो केलर, फ्रेड फ्रान्ज, म र अल्बर्ट श्रोडर

[पृष्ठ २४-मा भएको चित्र]

यहोवाको सेवामा बिताएको समृद्धशाली जीवनबारे विचार गर्दै