सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा धीरजी परमेश्‍वर हुनुहुन्छ

यहोवा धीरजी परमेश्‍वर हुनुहुन्छ

यहोवा धीरजी परमेश्‍वर हुनुहुन्छ

“परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा[ मा] . . . प्रशस्त हुनुहुन्छ।”—प्रस्थान ३४:६.

१, २. क) विगतमा यहोवाको धीरजबाट क-कसले लाभ उठाए? (ख) “धीरज” शब्दको अर्थ के हो?

 नूहका दिनका मानिसहरू, मोशासँग उजाडस्थानमा हिंडेका इस्राएलीहरू, येशू यस पृथ्वीमा हुनुहुँदा जीवित यहूदीहरू सबैको परिस्थिति भिन्‍नाभिन्‍नै थिए। तर सबैले यहोवाको एउटै मायालु गुणबाट फाइदा उठाए। त्यो गुण हो, धीरज। कसैकसैको निम्ति यो जीवन मृत्युको सवाल थियो। अनि यहोवाको धीरज आज हाम्रोलागि पनि जीवनदायी हुनसक्छ।

धीरज भनेको के हो? यहोवाले धीरज कहिले देखाउनुहुन्छ र किन? धीरज शब्दले, अरूले गलत काम गर्दा वा चिढ्याउँदा विचलित नभई सहनुका साथै बिग्रिएको सम्बन्ध सुध्रन्छ भनेर आशा गर्नुलाई बुझाउँछ। अतः यस गुणको उद्देश्‍य छ। यसले विशेष गरी अप्रिय परिस्थिति सृजना गर्ने मानिसको हितलाई हेर्छ। तथापि, धीरजी हुनुको अर्थ गल्तीको पक्ष लिनु होइन। जब धीरजी हुनुको उद्देश्‍य पूरा हुन्छ वा परिस्थितिलाई सहने कुनै कारण हुँदैन तब धीरज समाप्त हुन्छ।

३. यहोवाको धीरजको के उद्देश्‍य छ र यसको सीमा के हो?

मानिसहरू धीरजी हुनसके तापनि यस गुणको सर्वोत्कृष्ट नमुना यहोवा हुनुहुन्छ। पापको कारण यहोवा र उहाँको मानव सृष्टिबीचको सम्बन्ध बिग्रिएदेखि हाम्रो सृष्टिकर्ताले धीरज देखाउनुभएको छ र पश्‍चात्तापी मानिसहरूले उहाँसँगको सम्बन्ध सुधारोस्‌ भन्‍ने हेतुले एउटा माध्यमको पनि प्रबन्ध गर्नुभएको छ। (२ पत्रुस ३:९; १ यूहन्‍ना ४:१०) तर आफ्नो धीरजको उद्देश्‍य पूरा भएपछि परमेश्‍वरले जानाजानी गल्ती गर्नेहरूको कारबाही गर्नुहुनेछ र यस दुष्ट रीतिरिवाजको अन्त गर्नुहुनेछ।—२ पत्रुस ३:७.

परमेश्‍वरको प्रमुख गुणहरूसँग मेल खाने

४. क) हिब्रू धर्मशास्त्रमा धीरजको भाव कसरी व्यक्‍त गरिएको छ? (पादटिप्पणी पनि हेर्नुहोस्‌।) (ख) अगमवक्‍ता नहूमले यहोवाको कस्तो बयान गर्छ र यसले यहोवाको धीरजबारे के प्रकट गर्छ?

हिब्रू धर्मशास्त्रमा दुई हिब्रू शब्दद्वारा धीरज शब्दको भाव व्यक्‍त गरिएको छ। यसको शाब्दिक अर्थ “नाकको लम्बाइ” हुन्छ र यसलाई न्यु वर्ल्ड ट्रान्सलेसन-मा (नयाँ विश्‍व अनुवाद) “रीस गर्नमा ढिलो” भनी अनुवाद गरिएको छ। a परमेश्‍वरको धीरजबारे कुरा गर्दै अगमवक्‍ता नहूमले यसो भने: “परमप्रभु रीस गर्नमा धीरजी हुनुहुन्छ। उहाँ अत्यन्त शक्‍तिमान हुनुहुन्छ, औ दोषीलाई कुनै किसिमले निर्दोष ठहराउनुहुन्‍न।” (नहूम १:३) तसर्थ, यहोवाले देखाउनुहुने धीरज उहाँको कमजोरीको चिह्न होइन र यो सीमारहित पनि छैन। सर्वोच्च परमेश्‍वर रिस गर्नमा ढिलो हुनुका साथै अत्यन्त शक्‍तिशाली पनि हुनुहुन्छ भन्‍ने तथ्यले उहाँ कुनै कदम चाल्नुअघि सोचविचार गर्नुहुन्छ भनेर बुझाउँछ। उहाँसँग सजाय दिने अधिकार छ तर जानाजानी उहाँले आफूलाई रोक्नुहुन्छ। यसो गर्दा गल्ती गर्ने व्यक्‍तिले परिवर्तन हुने मौका पाउँछ। (इजकिएल १८:३१, ३२) अतः यहोवाको धीरज उहाँको प्रेमको अभिव्यक्‍ति हो र यसले उहाँले आफ्नो शक्‍ति प्रयोग गर्नुहुँदा बुद्धि चलाउनुहुन्छ भनेर प्रदर्शित गर्छ।

५. यहोवाको धीरज कुन तरिकामा उहाँको न्यायसित मेल खान्छ?

यहोवाको धीरज उहाँको न्याय र धार्मिकतासँग पनि मेल खान्छ। उहाँले आफूलाई मोशासामु यसरी प्रकट गर्नुभयो, “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो [वा धीरजी], र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६) वर्षौंपछि मोशाले यहोवाको गुण यसरी गाए: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) हो, यहोवाको कृपा, धीरज, न्याय र धार्मिकता सबै एकअर्काका पूरक हुन्‌।

जलप्रलयअघि यहोवाको धीरज

६.यहोवाले आदम र हव्वाको सन्तानप्रति कस्तो उल्लेखनीय ढंगमा धीरज प्रदर्शित गर्नुभएको छ?

अदनको बगैंचामा आदम र हव्वाले विद्रोह गर्दा तिनीहरूले आफ्नो मायालु सृष्टिकर्तासँगको अनमोल सम्बन्ध फेरि कहिल्यै नजोडिने गरी तोडे। (उत्पत्ति ३:८-१३, २३, २४) यसरी परमेश्‍वरदेखि अलग हुँदा तिनीहरूको सन्तान पनि प्रभावित भए। तिनीहरू वंशानुगत पापी भए अनि असिद्धता तथा मृत्युको सिकार भए। (रोमी ५:१७-१९) प्रथम मानव दम्पतीले जानाजानी पाप गरेको भए तापनि यहोवाले तिनीहरूलाई सन्तान जन्माउन दिनुभयो। अनि आदम र हव्वाको सन्तानको उहाँसित मिलाप हुन सकोस्‌ भनेर प्रबन्ध मिलाउनुभयो। (यूहन्‍ना ३:१६, ३६) प्रेरित पावलले यसो भने: “परमेश्‍वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण झन्‌ बढ़तागरी अब उहाँको रगतले धर्मी ठहरिएको हुनाले, हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बाँच्नेछौं। किनकि यदि हामी शत्रु छँदै, उहाँको पुत्रको मृत्युद्वारा हामीले परमेश्‍वरसित मिलाप पायौं भने, त झन्‌ बढ़तागरी मिलाप पाएका भएर हामीले उहाँको जीवनबाट उद्धार पाउनेछौं।”—रोमी ५:८-१०.

७. जलप्रलयअघि यहोवाले कसरी धीरज देखाउनुभयो र जलप्रलयअघिको पुस्ताको विनाश किन न्यायोचित थियो?

यहोवाको धीरज नूहको समयमा पनि देखियो। जलप्रलय आउनुभन्दा एक शताब्दीअघि “परमेश्‍वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए।” (उत्पत्ति ६:१२) तथापि, सीमित समयका लागि भए तापनि यहोवाले मानिसजातिप्रति आफ्नो धीरज प्रदर्शन गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “मेरो आत्माले मानिसमा सधैंको निम्ति बास गर्नेछैन, किनभने त्यो शरीर मात्र हो। तापनि त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” (उत्पत्ति ६:३) त्यो १२० वर्षमा नूहले छोराछोरी जन्माउने र परमेश्‍वरले आज्ञा गर्नुभएपछि जहाज निर्माण गर्ने अनि आफ्ना समकालीनहरूलाई जलप्रलयबारे चेताउनी दिने समय पाए। प्रेरित पत्रुसले यसो लेखे: “नूहको समयमा जहाज तयार होउञ्जेल परमेश्‍वरको सहनशीलताले [धीरजसँग सम्बन्धित गुण] पर्खिरहेको थियो, जसमा थोरै प्राणी, अर्थात्‌ आठ जना पानीद्वारा बाँचेका थिए।” (१ पत्रुस ३:२०) हो, नूहको परिवारका सदस्यबाहेक अरू कसैले पनि तिनको प्रचारकार्यबारे “वास्तै गरेनन्‌।” (मत्ती २४:३८, ३९, NW) तर नूहलाई जहाज निर्माण गर्न लगाउनुका साथै सायद केही दशक “धर्मका प्रचारक[को]” रूपमा सेवा गर्न लगाउनुभएर यहोवाले नूहका समकालीनहरूलाई आफ्नो हिंस्रक मार्ग त्यागेर उहाँको सेवा गर्ने पर्याप्त मौका दिनुभयो। (२ पत्रुस २:५; हिब्रू ११:७) अन्ततः त्यस दुष्ट पुस्ताको विनाश, पूर्णतया न्यायोचित थियो।

इस्राएलप्रति उदाहरणीय धीरज

८. यहोवाले इस्राएल राष्ट्रप्रति कसरी धीरज प्रकट गर्नुभयो?

यहोवा इस्राएल राष्ट्रप्रति १२० वर्ष मात्र धीरजी हुनुभएन। परमेश्‍वरको चुनिएको जातिको रूपमा १,५०० वर्षभन्दा लामो इतिहासको दौडान इस्राएलीहरूले परमेश्‍वरको धीरजको सीमा नाघ्ने गरी परीक्षा नगरेको कमै होला। मिश्रबाट चमत्कारपूर्ण ढंगमा छुटकारा पाएको केही हप्तामै तिनीहरूले मूर्तिपूजामा भाग लिएर आफ्नो उद्धारकको घोर अनादर गरे। (प्रस्थान ३२:४; भजन १०६:२१) त्यसपछिका दशकहरूमा इस्राएलीहरूले यहोवाले चमत्कारी ढंगमा मरुभूमिमा दिनुभएको भोजनको गुनासो गरे, मोशा र हारूनको विरुद्धमा गनगन गरे, यहोवाको विरुद्धमा बोले र बाल उपासनामा समेत भाग लिंदै मूर्तिपूजकहरूसित व्यभिचार गरे। (गन्ती ११:४-६; १४:२-४; २१:५; २५:१-३; १ कोरिन्थी १०:६-११) यहोवाले आफ्ना जनहरूलाई नाश गर्नु न्यायोचित हुने थियो। तर त्यसो गर्नुको सट्टा उहाँले धीरज देखाउनुभयो।—गन्ती १४:११-२१.

९. न्यायकर्ता तथा राजतन्त्रको दौडान यहोवाले कसरी आफूलाई धीरजी परमेश्‍वर भनेर प्रमाणित गर्नुभयो?

न्यायकर्ताहरूको समयमा इस्राएलीहरूले बारम्बार मूर्तिपूजा गरे। तिनीहरूले त्यसो गर्दा यहोवाले तिनीहरूलाई शत्रुहरूको हातमा पर्न दिनुभयो। तर तिनीहरूले पश्‍चात्ताप गरेर उहाँसँग गुहार माग्दा उहाँले तिनीहरूप्रति धीरज देखाउनुभयो र तिनीहरूलाई मुक्‍ति दिन न्यायकर्ताहरू खडा गर्नुभयो। (न्यायकर्त्ता २:१७, १८) राजतन्त्रको लामो युगको दौडान कमै राजाले मात्र यहोवाप्रति ऐकान्तिक भक्‍ति देखाए। अनि वफादार राजाहरूको शासनकालमा समेत मानिसहरूले साँचो उपासनालाई झूटो उपासनासित मिसाउँथे। अविश्‍वासी कार्यबारे चेताउनी दिन यहोवाले न्यायकर्ताहरू पठाउनुहुँदा मानिसहरू भ्रष्ट धर्मगुरु र झूटा अगमवक्‍ताहरूको कुरा सुन्‍न रुचाउँथे। (यर्मिया ५:३१; २५:४-७) यहाँसम्म कि, इस्राएलीहरूले यहोवाका विश्‍वासी अगमवक्‍ताहरूलाई सताउनुसम्म सताए र तीमध्ये कसैकसैको त हत्यासमेत गरे। (२ इतिहास २४:२०, २१; प्रेरित ७:५१, ५२) तैपनि, यहोवाले धीरज देखाइरहनुभयो।—२ इतिहास ३६:१५.

यहोवा अझै धीरजी हुनुहुन्छ

१०. कहिले यहोवाको धीरज चरम सीमामा पुग्यो?

१० तथापि, इतिहासले यहोवाको धीरजको सीमा छ भनेर देखाउँछ। सा.यु.पू. ७४० मा उहाँले इस्राएलको दस कुलको राज्यलाई अश्‍शूरीहरूको हातमा पर्न दिनुका साथै तिनीहरूलाई कैदी बनाएर लैजान दिनुभयो। (२ राजा १७:५, ६) अनि त्यसपछिको शताब्दीको अन्ततिर उहाँले यहूदाको दुई कुलको राज्यमाथि बेबिलोनीहरूलाई आक्रमण गर्ने अनुमति दिनुभयो र तिनीहरूले उनीहरूको मन्दिरलगायत यरूशलेम शहर ध्वस्त पारे।—२ इतिहास ३६:१६-१९.

११. न्यायदण्ड दिनुहुँदा समेत यहोवाले कसरी धीरज प्रदर्शन गर्नुभयो?

११ तथापि, इस्राएल र यहूदालाई न्यायदण्ड दिनुहुँदा समेत यहोवाले धीरजी हुन बिर्सनुभएन। आफ्नो अगमवक्‍ता यर्मियामार्फत यहोवाले आफ्नो चुनिएको जातिको पुनर्स्थापनाबारे भविष्यवाणी गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “बाबेलको सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूको सुधि लिनेछु र मेरो प्रतिज्ञा म पुरा गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु। परमप्रभु भन्‍नहुन्छ, तिमीहरूले मलाई भेट्टाउनेछौ। . . . औ जाति जातिहरू र ठाउँ ठाउँहरूदेखि म तिमीहरूलाई जम्मा गर्नेछु, र मैले तिमीहरूलाई कैदमा पठाएका ठाउँदेखि तिमीहरूलाई फेरि ल्याउनेछु।”—यर्मिया २९:१०, १४.

१२. मसीहको आगमनलाई ध्यानमा राख्दै, बाँकी रहेका यहूदीहरू यहूदा फर्कनु कसरी परमेश्‍वरको निर्देशनअनुरूप साबित भयो?

१२ निर्वासित यहूदीहरूमध्ये बाँकी रहेकाहरू साँच्चै यहूदा फर्के र यरूशलेमको पुननिर्मित मन्दिरमा यहोवाको उपासना सुरु गरे। यहोवाको उद्देश्‍य पूरा गर्ने क्रममा यो बाँकी रहेको जन “परमप्रभुबाट आएको शीत” जस्तै हुने थियो, जसले स्फूर्ति र समृद्धि ल्याउने थियो। तिनीहरू ‘जंगलका पशुहरूका बीच सिंहजस्तै’ साहसी र बलियो पनि हुने थिए। (मीका ५:७, ८) यो पछिल्लो अभिव्यक्‍ति मक्काबीहरूको समयमा यहूदीहरूले मक्काबी परिवारको नेतृत्वमा आफ्ना शत्रुहरूलाई प्रतिज्ञा गरिएको देशबाट निकालेर अशुद्ध भएको मन्दिरलाई पुनः समर्पित गर्दा पूरा भएको हुनसक्छ। यसप्रकार, पछि आउने विश्‍वासी शेष जनहरूले परमेश्‍वरको पुत्र मसीहको रूपमा देखा पर्दा उहाँको स्वागत गर्न पाओस्‌ भनेर भूमि र मन्दिरलाई जोगाइयो।—दानियल ९:२५; लूका १:१३-१७, ६७-७९; ३:१५, २१, २२.

१३. यहूदीहरूले उहाँको पुत्रको हत्या गरिसकेपछि पनि यहोवाले कसरी तिनीहरूप्रति धीरज देखाइरहनुभयो?

१३ यहूदीहरूले आफ्नो पुत्रको हत्या गरे तापनि यहोवाले साढे तीन वर्षसम्म तिनीहरूप्रति धीरज देखाउनुभयो र तिनीहरूलाई अब्राहामको आध्यात्मिक सन्तानको भाग बन्‍ने सुअवसर दिनुभयो। (दानियल ९:२७) b सा.यु. ३६ अघि र पछि केही यहूदीहरूले यो आह्वान स्वीकारे र पावलले पछि भनेझैं “अनुग्रहको चुनाउअनुसार केही संख्या बाँकी रहे।”—रोमी ११:५.

१४. (क) सा.यु. ३६ मा अब्राहामको आध्यात्मिक सन्तानको भाग हुने सुअवसर कसलाई दिइयो? (ख) यहोवाले आध्यात्मिक इस्राएलको सदस्य जुन तरिकाले छान्‍नुहुन्छ त्यसबारे पावलले आफ्नो भावना कसरी व्यक्‍त गरे?

१४ सा.यु. ३६ मा पहिलो चोटि अब्राहामको आध्यात्मिक सन्तानको भाग हुने सुअवसर त्यस्ता मानिसहरूलाई पनि दिइयो जो न त यहूदी न धर्म परिवर्तन गरी यहूदी भएकाहरू नै थिए। यो निमन्त्रणा स्वीकार्ने जति सबैले यहोवाको दया र धीरज अनुभव गर्न पाए। (गलाती ३:२६-२९; एफिसी २:४-७) यही कृपालु धीरजको कारण यहोवाले आध्यात्मिक इस्राएलको सदस्य हुन बोलावट भएकाहरूको संख्या पूरा पनि गर्नुहुन्छ। अतः त्यस्तो धीरजपछाडि लुकेको बुद्धि र उद्देश्‍यप्रति गहिरो मूल्यांकन व्यक्‍त गर्दै पावलले यस्तो उद्‌गार व्यक्‍त गरे: “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ! उहाँका इन्साफ कति अगम, र उहाँका मार्ग अभेद्य छ!”—रोमी ११:२५, २६, ३३; गलाती ६:१५, १६.

आफ्नो नाउँको खातिर धीरज

१५. परमेश्‍वर धीरजी हुनुको मुख्य कारण के हो र कुन विवाद सुल्झाउनको निम्ति समय चाहिन्थ्यो?

१५ यहोवाले किन धीरज धर्नुहुन्छ? मुख्यतः आफ्नो पवित्र नाउँ महिमित गर्न र आफ्नो सार्वभौमिकता उच्च पार्न। (१ शमूएल १२:२०-२२) यहोवाको सार्वभौमिकतामाथि शैतानले खडा गरेको नैतिक विवाद सबै सृष्टिसामु सन्तोषजनक ढंगमा सुल्झाउन समय चाहिन्थ्यो। (अय्यूब १:९-११; ४२:२, ५, ६) तसर्थ, उहाँका जनहरू मिश्रमा शोषित हुँदा यहोवाले फिरऊनलाई यसो भन्‍नुभयो: “मेरो शक्‍ति प्रकट गर्ने अभिप्रायलेनै मैले तँलाई जीवित राखेको छु, र यसरी सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।”—प्रस्थान ९:१६.

१६. (क) यहोवाको धीरजले उहाँको नाउँको खातिर मानिसहरू तयार गर्न कसरी सम्भव पाऱ्‍यो? (ख) यहोवाको नाउँ कसरी महिमित गरिनेछ र उहाँको सार्वभौमिकता कसरी उच्च पारिनेछ?

१६ परमेश्‍वरको पवित्र नाउँको महिमामा उहाँको धीरजले निर्वाह गर्ने भूमिकाबारे व्याख्या गर्दा प्रेरित पावलले यहोवाले फिरऊनलाई भन्‍नुभएको शब्द उद्धृत गरे। पावलले यस्तो लेखे: “यदि परमेश्‍वरले आफ्नो क्रोध देखाउन र आफ्नो शक्‍ति जनाउन इच्छा गरेर विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँड़ाहरूलाई साह्रै धीरजसँग सहनुभयो, र आफ्नो महिमाका सम्पत्ति आफूले अघिबाटै महिमाको निम्ति तयार गर्नुभएको कृपा पात्रहरूमाथि देखाऊँ भनेर, जसलाई, अर्थात्‌ हामीलाई उहाँले न केवल यहूदीहरूबाट, तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो भने, के? जस्तो होशेको पुस्तकमा पनि उहाँ भन्‍नुहुन्छ, ‘जो मेरो मानिस थिएन, त्यसलाई म मेरो प्रजा तुल्याउनेछु।’ ” (रोमी ९:१७, २२-२५) धीरजी हुनुभएको कारण यहोवाले ‘आफ्नो नाउँको निम्ति’ राष्ट्रहरूबाट मानिसहरू छनौट गर्नुभयो। (प्रेरित १५:१४) यी “पवित्र जनहरू” परमेश्‍वरको राज्यको उत्तराधिकारी हुन्‌। तिनीहरू आफ्नो शिर येशू ख्रीष्टको अधीनमा बस्छन्‌। अनि यही राज्यमार्फत उहाँले आफ्नो महान्‌ नाउँ महिमित गर्नुका साथै आफ्नो सार्वभौमिकता उच्च पार्नुहुनेछ।—दानियल २:४४; ७:१३, १४, २७; प्रकाश ४:९-११; ५:९, १०.

यहोवाको धीरजको कारण उद्धार पाइन्छ

१७, १८. (क) हामीले के गर्दा अनजानमै यहोवाको धीरजको आलोचना गरिरहेका हुनेछौं? (ख) यहोवाको धीरजप्रति कस्तो दृष्टिकोण राख्न हामीलाई प्रोत्साहन दिइएको छ?

१७ यहोवाले मानिसजाति पापमा फसेदेखि अहिलेसम्म आफूलाई धीरजी प्रमाणित गर्नुभएको छ। जलप्रलयअघि उहाँको धीरजको कारण चेताउनी दिन र बच्नको निम्ति एउटा साधन निर्माण गर्ने समय पाइयो। तर उहाँको धीरजको सीमा नाघेपछि जलप्रलय आयो। त्यसै गरी, आज पनि यहोवाले असाध्यै धैर्य धारण गर्नुभएको छ र यो कसैकसैले आशा गरेभन्दा लामो समयसम्म रहिरहेको छ। तथापि, हरेस खाने कुनै कारण छैन। किनभने हरेस खानु भनेको परमेश्‍वर धीरजी हुनुभएको कारण उहाँको आलोचना गर्नु बराबर हुनेछ। पावलले यस्तो प्रश्‍न गरे: “परमेश्‍वरको कृपाले तँलाई पश्‍चतापमा डोऱ्‍याउँछ भन्‍ने थाह नपाएर, के तँ उहाँको दया, सहनशीलता र धैर्यको सम्पत्तिलाई तुच्छ ठान्छस्‌?”—रोमी २:४.

१८ उद्धारको निम्ति उहाँको अनुमोदन पाउन हामीलाई परमेश्‍वरको धीरज कत्तिसम्म चाहिन्छ भनेर हामी कसैलाई पनि थाह छैन। पावल हामीलाई “डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै जाओ” भनी सल्लाह दिन्छन्‌। (फिलिप्पी २:१२) प्रेरित पत्रुसले सँगी मसीहीहरूलाई यस्तो लेखे: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.

१९. यहोवाको धीरजको हामी कुन तरिकामा लाभ उठाउनसक्छौं?

१९ त्यसैकारण, यहोवाले जसरी कामकुराहरू सम्हालिरहनुभएको छ, त्यो देखेर हामी अधीर नहोऔं। बरु, पत्रुसले दिएको थप सल्लाह पालन गरौं र “प्रभुको धीरजनै मुक्‍ति हो भनी [सम्झौं]।” कसको मुक्‍ति? हाम्रो अनि अझै भनौं भने ‘राज्यको सुसमाचार’ सुन्‍न बाँकी अन्य लाखौं मानिसहरूको। (२ पत्रुस ३:१५; मत्ती २४:१४) यसले हामीलाई परमेश्‍वरले एकदमै उदार भएर देखाउनुभएको गुण धीरजको कदर गर्न मदत गर्नुका साथै अरूसँग धीरजी हुन उत्प्रेरित गर्नेछ।

[फुटनोटहरू]

a हिब्रू भाषामा साधारणतया रिसलाई लाक्षणिक अर्थमा बुझाउन “नाक” (आफ) भन्‍ने शब्द चलाइन्छ। किनभने रिसाहा मानिसको रिस नाकको टुप्पामा हुन्छ।

b यस भविष्यवाणीको अझ थप जानकारीको निम्ति यहोवाका साक्षीहरूद्वारा प्रकाशित पे अटेन्सन टु डानियल्स प्रोफेसी! (दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!) पुस्तकको पृष्ठ १९१-४ हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• बाइबलमा चलाइएको “धीरज” शब्दको अर्थ के हो?

• जलप्रलयअघि, बेबिलोनीको कैदपछि र सा.यु. प्रथम शताब्दीमा यहोवाले कसरी धीरज देखाउनुभयो?

• कुन महत्त्वपूर्ण कारणले गर्दा यहोवाले धीरज देखाउनुभएको छ?

• हामीले यहोवाको धीरजलाई कुन दृष्टिले हेर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

जलप्रलयअघि यहोवाले देखाउनुभएको धीरजको कारण मानिसहरूले पश्‍चात्ताप गर्ने पर्याप्त मौका पाए

[पृष्ठ १०-मा भएको चित्र]

बेबिलोनको पतनपछि यहूदीहरूले यहोवाको धीरजबाट लाभ उठाए

[पृष्ठ ११-मा भएको चित्र]

प्रथम शताब्दीमा यहूदी र गैरयहूदी दुवैले यहोवाको धीरजबाट लाभ उठाए

[पृष्ठ १२-मा भएको चित्र]

आज पनि मसीहीहरूले परमेश्‍वरको धीरजबाट लाभ उठाउँछन्‌