सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कपटको सामना तपाईं कसरी गर्नुहुन्छ?

कपटको सामना तपाईं कसरी गर्नुहुन्छ?

कपटको सामना तपाईं कसरी गर्नुहुन्छ?

गेतसमनीको बगैंचामा यहूदा इस्करयोती येशूको नजिक गएर “उहाँलाई म्वाइँ” खाए। यो न्यानो स्नेह व्यक्‍त गर्ने एउटा प्रचलन थियो। तर यहूदाले जे गरिरहेको थियो त्यो रातको समयमा येशूलाई पक्रन भनी आएका व्यक्‍तिहरूलाई उहाँ चिनाउने एउटा बहाना मात्र थियो। (मत्ती २६:४८, ४९) यहूदा कपटी अर्थात्‌ आफ्नो सक्कली रूप नदेखाउने, आफ्नो खराब मनसायलाई छोप्न निष्कपटताको मुकुन्डो लगाउने व्यक्‍ति थिए। यहाँ “कपट” भनेर अनुवाद गरिएको युनानी शब्दको अर्थ “जवाफ दिने व्यक्‍ति” हो र यसले रंगमञ्चका अभिनेतालाई पनि संकेत गर्छ। समयको अन्तरालमा अरूलाई झुक्क्याएर धोका दिने जुनसुकै व्यक्‍तिलाई संकेत गर्न पनि यही शब्द प्रयोग गरियो।

कपटप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? उदाहरणका लागि, धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनी चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ तरैपनि चुरोट उत्पादकहरूले यसको विज्ञापन गर्दा के तपाईं रिसाउनुहुन्छ? आफ्नो जिम्मामा सुम्पिएकाहरूमाथि दुर्व्यवहार गर्ने संरक्षकहरूको कपट देखेर के तपाईंलाई झोंक चल्छ? आफूले विश्‍वास गरेको मित्रले विश्‍वासघात गर्दा के तपाईंलाई चित्त दुख्छ? धार्मिक कपटले तपाईंलाई कस्तो असर गर्छ?

“धिक्कार, तिमीहरूलाई . . . कपटीहरू!”

येशू पृथ्वीमा हुनुहुँदाको धार्मिक वातावरणलाई विचार गर्नुहोस्‌। शास्त्री र फरिसीहरूले आफू परमेश्‍वरको व्यवस्थाका सच्चा शिक्षकहरू भएको ढोंग रच्थे तर वास्तवमा तिनीहरूले मानिसहरूको मनमा परमेश्‍वरबाट टाढा लैजाने मानव शिक्षाहरू भरे। ती शास्त्री र फरिसीहरू व्यवस्थाका नियमहरूमा नाटीकुटी गर्थे तर प्रेम र दयाजस्ता व्यवस्थाका आधारभूत सिद्धान्तहरूलाई भने तिनीहरू बेवास्ता गर्थे। तिनीहरू मानिसहरूका सामु परमेश्‍वरप्रति साह्रै निष्ठावान्‌ भई टोपोल्थे तर वास्तवमा भन्‍ने हो भने, सारा खराबीको काम तिनीहरूबाटै हुने गर्थ्यो। तिनीहरूले आफूले भनेअनुसार कहिल्यै काम गरेनन्‌। कुनै पनि कामकुरा गर्दा तिनीहरूको मुख्य उद्देश्‍य भनेकै “मानिसहरूलाई देखाउ[नु]” हुन्थ्यो। तिनीहरू साँच्चै ‘चून लाइराखेका चिहानहरू जस्ता थिए . . . जो बाहिरपट्टि सुन्दर देखिए तापनि भित्रपट्टि भने मुर्दाहरूका हाडहरू र सबै अशुद्ध वस्तुले भरिएका’ हुन्छन्‌। येशूले निर्भयतासाथ तिनीहरूको कपटलाई उदांग पार्दै तिनीहरूलाई बारम्बार यसो भन्‍नुभयो: “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो कपटीहरू!”—मत्ती २३:५, १३-३१.

तपाईं ती दिनहरूमा हुनु भएको भए, सायद अन्य निष्कपट हृदय भएका मानिसहरूलाई जस्तै तपाईंलाई पनि त्यस्ता धार्मिक कपट देखेर वाक्क लाग्ने थियो होला। (रोमी २:२१-२४; २ पत्रुस २:१-३) तर के तपाईं ती शास्त्री र फरिसीहरूको कपटदेखि चिढिएर येशू ख्रीष्ट अनि उहाँका चेलाहरूले अपनाएको धर्मलगायत अन्य सबै धर्म इन्कार गर्ने हदसम्म पुग्नुहुने थियो? त्यसो गर्दा के तपाईंकै हानि हुने थिएन र?

धर्मकर्म गर्ने व्यक्‍तिहरूको कपटपूर्ण व्यवहारले गर्दा धर्म भन्‍नासाथ हामीलाई घृणा लाग्नसक्छ। तथापि, यस्तो भावनाले हाम्रो मनमा साँचो उपासकहरूको निष्कपटताप्रति पनि शंका उत्पन्‍न हुनसक्छ। कपटीहरूको जालमा नफस्न हामीले खडा गरेको पर्खालले हामीलाई साँचो मित्रहरूबाट पनि अलग्याउनसक्छ। त्यसैले, कपटप्रति हाम्रो दृष्टिकोण व्यावहारिक अनि सन्तुलित हुनुपर्छ।

होशियार रहो”

सर्वप्रथम, हामीले कपटीहरूलाई चिन्‍न सिक्नैपर्छ। यसो गर्नु सधैं सजिलो छैन। एउटा परिवारले यो सिक्न ठूलो मूल्य चुकाउनुपऱ्‍यो। आमाचाहिं बेहोस अवस्थामा थिइन्‌। यो घटना घटेको अस्पताल विरुद्ध गलत औषधोपचार गरेको आरोपमा मुद्दा दायर गर्न उक्‍त परिवारले एक जना वकिल भाडामा लिए। तिनी एक स्थानीय चर्चका प्रचारक थिए। अस्पतालले तीन लाख चालिस हजार अमेरिकी डलर हर्जना तिरे तापनि त्यस परिवारको झनै दुर्गति भयो। आमाचाहिंको मृत्यु हुँदा तिनीहरूको अवस्था साह्रै नराम्रो थियो र तिनीहरूसित अन्त्येष्टि गर्नसमेत पैसा थिएन। किन? किनकि सबै पैसा वकिलले आफ्नो गोजीमा हाले। यस वकिलबारे एउटा कानुनसम्बन्धी पत्रिकाले यस्तो लेखे: “उसले आफ्नो कामअनुसारको शिक्षा दियो भने . . . उसको सन्देश यस्तो हुने थियो: आउनुहोस्‌, लुटौं।” यस्ता मानिसहरूबाट हामी कसरी जोगिनसक्छौं?

धार्मिक कपटको सामना गर्नु परिरहेका आफ्नो समयका मानिसहरूलाई येशूले “होशियार रहो” भनेर सल्लाह दिनुभयो। (मत्ती १६:६; लूका १२:१) हो, हामी होसियार हुनुपर्छ। मानिसहरूले आफ्नो निष्कपटता देखाउन निकै बढाइचढाइ गरेर आकर्षक कुराहरू गर्लान्‌। तर हामी तिनीहरूले भनेकै भरमा विश्‍वास गर्दैनौं बरु, होसियारी अपनाउँछौं। नक्कली नोटहरूको बिगबिगी छन्‌ भनी थाह पायौं भने के हामी आफ्ना नोटहरू जाँच गर्दैनौं र?

साँचो मसीही मण्डलीभित्र पनि कपटीहरू देखा परेका छन्‌। प्रेरित यहूदाले तिनीहरूबारे यसो भन्दै चेताउनी दिए: “यीचाहिं तिमीहरूका प्रीति-भोजमा खान बस्ने कलंकहरू हुन्‌। निष्फिक्रीसँग आफ्नै पेट भर्ने गोठालाहरू, बतासले उड़ाएर लैजाने पानी नभएका बादल, औ फल नभएका, दुइचोटि मरेका, जरैसमेत उखलिएका हेमन्तका रूखहरू यिनै हुन्‌।”—यहूदा १२.

‘होसियार रहनु’ भनेको आफू निकै मायालु छु भनी देखाउने तर वास्तवमा आफ्नै स्वार्थ मात्र हेर्ने र परमेश्‍वरको वचनमा आधारित नभएका विचारहरू प्रवर्धन गर्ने व्यक्‍तिहरूको धोकामा नपर्नु हो। शान्त पानीको पींधमा रहेका धारिला चट्टानहरूले जस्तै यस्ता व्यक्‍तिहरूले होसियार नरहने व्यक्‍तिहरूको आध्यात्मिक जहाज डुबाउनसक्छ। (१ तिमोथी १:१९) कपटी व्यक्‍तिले प्रशस्त आध्यात्मिक स्फूर्ति दिने वचन बोल्ला तर त्यो ‘पानी नभएका बादल’ अर्थात्‌ पानी नपार्ने बादलसरि हुन्छ। फल नदिने रूखजस्तै धोकेबाजले पनि साँचो मसीही फल फलाउँदैन। (मत्ती ७:१५-२०; गलाती ५:१९-२१) हो, हामी यस्ता धोकेबाजहरूदेखि सधैं होसियार रहनुपर्छ। यद्यपि, हामी सबै व्यक्‍तिको मनसायप्रति शंकालु हुनुहुँदैन।

“अर्काको निसाफ नगर”

असिद्ध मानिसहरूलाई आफ्नो गल्तीको वास्तै नगरी अरूको गल्ती देखाउनु एकदमै सजिलो हुन्छ! तथापि, यस्तो झुकाउले हामीलाई कपटी बनाउनसक्छ। येशूले यसो भन्‍नुभयो: “ए कपटी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट कसिंगर निकाल्नालाई छर्लंगै देख्नसक्नेछौ।” उहाँका सल्लाहहरूमा ध्यान दिनु नै हाम्रोलागि बेस हुनेछ: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्‌। . . . किन तिमी आफ्नो भाइको आँखामा भएको कसिंगर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ा चाहिं थाह पाउँदैनौ?”—मत्ती ७:१-५.

कहिलेकाहीं हामीलाई कसैले कपटपूर्ण ढंगमा काम गरेजस्तो लागे तापनि त्यस्ता व्यक्‍तिलाई तुरुन्तै कपटीको वर्गमा नराख्न हामी होसियार हुनुपर्छ। उदाहरणका लागि, यरूशलेमबाट आएका यहूदी आगन्तुकहरूलाई खुसी पार्न प्रेरित पत्रुस एन्टिओकका अन्यजातिका सँगी विश्‍वासीहरूबाट ‘अलग्गै हटे[र]’ बसे। “तिनीहरूको कपट्याइँले गर्दा बर्णाबासपनि तिनीहरूकै तर्फ लागे।” अन्यजातिहरूलाई मसीही मण्डलीमा प्रवेश गराउन बाटो खोल्ने सुअवसर पत्रुसलाई दिइएको भए तापनि उनले यस्तो काम गरे। (गलाती २:११-१४; प्रेरित १०:२४-२८, ३४, ३५) तर बर्णाबास र पत्रुसको यो गल्तीको कारण उनीहरू पक्कै पनि शास्त्री र फरिसीहरू वा यहूदा इस्करयोतीको वर्गमा परेनन्‌।

“प्रेम निष्कपटको होस्‌”

येशूले यस्तो अर्ती दिनुभयो, “यसकारण जब तिमी धर्म-कर्म गर्दछौ, तब आफ्नो सामु तुरही नबजाऊ, जस्तो कपटीहरूले सभाघरहरू र गल्लीहरूमा मानिसहरूबाट प्रशंसा पाउनालाई गर्दछन्‌।” (मत्ती ६:२) प्रेरित पावलले यस्तो लेखे, “प्रेम निष्कपटको होस्‌।” (रोमी १२:९) उनले जवान तिमोथीलाई “शुद्ध हृदयबाटको प्रेम . . . र निष्कपट विश्‍वास” राख्न प्रोत्साहन दिए। (१ तिमोथी १:५) यदि हाम्रो प्रेम र विश्‍वास स्वार्थ अनि छलजस्ता कुराहरूबाट दुषित भएको छैन र सच्चा छन्‌ भने अरूले हामीमाथि भरोसा गर्नेछन्‌। आफू वरपर बस्ने व्यक्‍तिहरूको लागि हामी साँचो बल अनि प्रोत्साहनको स्रोत हुनेछौं। (फिलिप्पी २:४; १ यूहन्‍ना ३:१७, १८; ४:२०, २१) अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त, हामीले यहोवाको अनुमोदन प्राप्त गर्नेछौं।

अर्कोतर्फ, जसले कपट गर्छ अन्तमा यो उसकै लागि घातक साबित हुनेछ। अन्तमा अवश्‍य पनि कपटको पर्दाफास हुनेछ। येशू ख्रीष्टले यसो भन्‍नुभयो, “ढाकिएर प्रकट नहुने केही छैन, लुकेर थाह नहुने केही छैन।” (मत्ती १०:२६; लूका १२:२) बुद्धिमान्‌ राजा सुलेमानले यस्तो घोषणा गरे: “हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्‌ हरेक गुप्त कुराको न्याय परमेश्‍वरले गर्नुहुनेछ।”—उपदेशक १२:१४.

त्यसोभए, साँचो मित्रहरूको चोखो मायाबाटै बञ्चित गर्ने हदसम्म किन अरूको कपटलाई आफूमा असर पार्न दिने? अरूप्रति अचाक्ली शंकालु नभएर हामी होसियार हुनसक्छौं। अनि जसरी हुन्छ, हामी हाम्रो प्रेम अनि विश्‍वासलाई निष्कपट राखौं।—याकूब ३:१७; १ पत्रुस १:२२.

[पृष्ठ २२, २३-मा भएका चित्रहरू]

शास्त्री र फरिसीहरूको कपटले गर्दा के तपाईं येशू अनि उहाँका चेलाहरूलाई नै इन्कार गर्नुहुने थियो?