सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नूहको विश्‍वासले संसारलाई दोषी ठहरायो

नूहको विश्‍वासले संसारलाई दोषी ठहरायो

हको विश्‍वासले संसारलाई दोषी ठहरायो

विश्‍वव्यापी रूपमा जलप्रलय आउँदा जीवन बचाउनको निम्ति जहाज बनाउने नूह नाउँ गरेको एक ईश्‍वरभीरु मानिसबारे के तपाईंले सुन्‍नुभएको छ? यो कथा जति पुरानो छ त्यतिनै लोकप्रिय पनि छन्‌। यद्यपि, नूहको जीवनले हामी सबैको लागि अर्थ राख्छ भनेर चाहिं अधिकांश मानिसहरूले सोच्दै सोच्दैनन्‌।

हजारौं वर्ष पुरानो यस विवरणमा हामीले किन चासो लिनुपर्छ? नूहको परिस्थिति अनि हाम्रो परिस्थितिबीच के कुनै समानता छ? यदि छ भने, हामी कसरी तिनको उदाहरणबाट लाभ उठाउनसक्छौं?

नूहको दिनको संसार

बाइबलको कालक्रमअनुसार नूहको जन्म सा.यु.पू. २९७० मा अर्थात्‌ आदमको मृत्यु भएको १२६ वर्षपश्‍चात्‌ भएको थियो। नूहको दिनमा पृथ्वी हिंसाले भरिएको थियो र आदमका अधिकांश सन्तानहरूले आफ्नो पुर्खाकै मनमानी गर्ने उदाहरण पछ्याए। त्यसैले, “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।”—उत्पत्ति ६:५, ११, १२.

यहोवालाई दुखित तुल्याउने कारण मानिसहरूको विद्रोह मात्र थिएन। उत्पत्तिको विवरणले यसप्रकार बताउँछ: “परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे, र आफ्ना-आफ्ना रुचिका पत्नीहरू ल्याए। . . . त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।” (उत्पत्ति ६:२-४, नयाँ संशोधित संस्करण) यी पदहरूलाई प्रेरित पत्रुसद्वारा लिपिबद्ध शब्दहरूसित तुलना गरेर हेर्दा “परमेश्‍वरका छोराहरू” अनाज्ञाकारी स्वर्गदूतहरू थिए भन्‍ने कुरा स्पष्ट हुन्छ। नफिलीम अर्थात्‌ नपिल भौतिक रूप धारण गरेका स्वधर्मत्यागी स्वर्गदूतहरू र पृथ्वीका स्त्रीहरूबीचको अवैध यौनसम्बन्धबाट जन्मेका ठिमाहा सन्तानहरू थिए।—१ पत्रुस ३:१९, २०.

“दैत्यहरू” अर्थ बुझाउने “नफिलीम” शब्दले अरूलाई घात पुऱ्‍याउने व्यक्‍तिहरूलाई संकेत गर्छ। तिनीहरू निरंकुश हुल्याहाहरू थिए र तिनीहरूका कामुक पिताहरूले गरेको पापचाहिं सदोम र गमोराको जस्तै अचाक्ली अस्वभाविक यौन विकृति थियो। (यहूदा ६, ७) तिनीहरूले पृथ्वीमा अचाक्ली दुष्टता मच्चाए।

“आफ्नो पुस्तामा . . . निर्दोष मानिस”

दुष्टता यत्ति साह्रो व्याप्त भयो कि परमेश्‍वरले मानिसजातिलाई नाश गर्ने निर्णय गर्नुभयो। तर प्रेरित विवरण यसो भन्छ: “नूहमाथि चाहिं परमप्रभुको अनुग्रह भयो। . . . नूह धर्मी . . . मानिस थिए। आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए। औ तिनी परमेश्‍वरको साथै हिड़नेगर्थे।” (उत्पत्ति ६:८, ९) विनाशको योग्य भक्‍तिहीन संसारमा ‘परमेश्‍वरसित हिंड्‌नु’ कसरी सम्भव थियो?

निस्सन्देह, नूहले विश्‍वासी अनि आदमकै समकालीन आफ्ना पिता लेमेकबाट धेरै कुरा सिके। आफ्नो छोराको नाउँ नूह (जसको अर्थ ‘विश्राम’ र ‘शान्ति’ हुन्छ) राख्दा लेमेकले यस्तो भविष्यवाणी गरे: “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परीश्रमबाट यसले हामीलाई शान्ति दिनेछ।” परमेश्‍वरले भूमिलाई दिनुभएको श्राप हटाउनुहुँदा उक्‍त भविष्यवाणी पूरा भयो।—उत्पत्ति ५:२९; ८:२१.

आमाबाबु ईश्‍वरभीरु हुँदैमा छोराछोरी पनि आध्यात्मिक तवरमा राम्रो हुन्छ भन्‍ने कुनै ग्यारेन्टी छैन। किनभने हरेकले यहोवासित व्यक्‍तिगत रूपमा सम्बन्ध स्थापित गर्नुपर्छ। ईश्‍वरीय अनुमोदित मार्ग पछ्याउँदै नूह ‘परमेश्‍वरसित हिंडे।’ नूहले परमेश्‍वरबारे जे जति सिके, ती कुराहरूले तिनलाई परमेश्‍वरको सेवा गर्न उत्प्रेरित गऱ्‍यो। परमेश्‍वरले नूहलाई ‘जलप्रलयद्वारा पृथ्वीका सारा प्राणीलाई नष्ट गर्ने’ आफ्नो अभिप्राय बताउनु हुँदा नूहको विश्‍वास रत्तिभर ढलपल भएन।—उत्पत्ति ६:१३, १७.

पहिला कहिल्यै नभएको यस्तो महाविपत्ति हुनेछ भन्‍ने विश्‍वासले गर्दा नूहले यहोवाको यो आज्ञा पालन गरे: “तैले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा कोठा बनाउनू र त्यसलाई भित्र बाहिर अलकत्राले लिप्सनू।” (उत्पत्ति ६:१४) जहाजको लागि परमेश्‍वरले दिनुभएका निर्देशनहरू हुबहु पालन गर्नु सजिलो थिएन। तथापि, “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम।” हो, “तिनले सबै गरे।” (उत्पत्ति ६:२२) नूहलाई यी सबै काम पूरा गर्न आफ्नी पत्नी र छोराहरू शेम, हाम र येपेतले सघाए। तिनको यस्तो विश्‍वासलाई यहोवाले आशिष्‌ दिनुभयो। आजका परिवारहरूको लागि कस्तो राम्रो उदाहरण!

जहाज बनाउनुमा कुन-कुन कुरा समावेश गर्नुपर्ने थियो? यहोवाले नूहलाई १३३ मिटर लम्बाइ २२ मिटर चौडाइ र १३ मिटर उचाइको पानी नछिर्ने, तीन तले, निकै ठूलो काठको वाकसजस्तो जहाज बनाउन निर्देशन दिनुभयो। (उत्पत्ति ६:१५, १६) त्यस जाहजको क्षमता आजका विभिन्‍न मालवाहक जाहजको जत्तिकै हुनसक्थ्यो।

कस्तो ठूलो अभिभारा! सायद, यसको लागि हजारौं रूखहरू ढाल्नुपऱ्‍यो होला अनि त्यसलाई घिसार्दै निर्माणस्थलसम्म लैजानुका साथै ती रूखहरूलाई बाक्लो फल्याक वा सत्तरीको आकारमा काट्‌नुपऱ्‍यो होला। यसको अर्थ, निर्माण कार्य थाल्दा खट बनाउनु, कीलाहरू बनाउनु, पानी नछिर्ने बनाउनको लागि अलकत्रा जुटाउनु, भाँडाहरू अनि औजारहरूको प्रबन्ध मिलाउनु आदि कामहरू पनि समावेश थिए। व्यापारीहरूसित मोलतोल गर्नु, सर-सामानको पैसा तथा ज्यालाहरू तिर्नुजस्ता कामहरू पनि गर्नुपऱ्‍यो होला। ती फल्याक तथा सत्तरीहरूलाई ठीकसित अड्याउन अनि निर्माणलाई निकै मजबुत बनाउन सिकर्मी काममा निपुणता चाहिन्थ्यो। अनि सोच्नुहोस्‌ त, निर्माण कार्य पूरा गर्न झन्डै ५० देखि ६० वर्ष लाग्यो!

अर्कोतिर नूहले पर्याप्त खाना अनि जनावरहरूको दानापानीमा पनि ध्यान दिनुपर्थ्यो। (उत्पत्ति ६:२१) तिनले जहाजमा जनावरहरूको ठूलो बगाललाई जम्मा गर्नुका साथै तिनीहरूको रेखदेख पनि गर्नु परेको थियो। परमेश्‍वरले आज्ञा गर्नु भएबमोजिम नूहले सबै गरे र कार्य पूरा भयो। (उत्पत्ति ६:२२) यो काम पूर्णतया सफल भयो भन्‍ने कुरा यहोवाले दिनुभएको आशिष्‌ले पक्का गरायो।

“धर्मका प्रचारक”

जहाज बनाउनुको अलावा, नूहले चेताउनी दिए र “धर्मका प्रचारक[को]” हैसियतमा विश्‍वासीसाथ परमेश्‍वरको सेवा गरे। तर मानिसहरूले भने ‘जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल केही ध्यानै दिएनन्‌।’—२ पत्रुस २:५; मत्ती २४:३८, ३९.

ती दिनहरूको खोक्रो आध्यात्मिक अवस्थालाई विचार गर्दा, नूहका परिवार, ती अविश्‍वासी छरछिमेकहरूको खिसी, दुर्वचन अनि गिल्लाको पात्र बने होलान्‌ भनेर सजिलै अनुमान लगाउन सकिन्छ। मानिसहरूले पक्कै पनि तिनीहरूलाई बौलाहा ठाने होलान्‌। यद्यपि, नूह आफ्नो परिवारलाई आध्यात्मिक प्रोत्साहन अनि मदत दिन सफल भए, किनकि तिनीहरूले कहिल्यै आफ्ना अधर्मी पुस्ताको हिंसा, अनैतिकता अनि विद्रोही मार्ग पछ्याएनन्‌। आफ्नो वचन अनि कार्यद्वारा नूहले आफ्नो विश्‍वास प्रदर्शित गरे अनि संसारलाई दोषी ठहराए।—हिब्रू ११:७.

जलप्रलयबाट बचेका

मुसलधारे पानी पर्नु केही दिनअघि परमेश्‍वरले नूहलाई तयार भइसकेको जहाजभित्र पस्ने आज्ञा दिनुभयो। नूहका परिवार अनि जनावरहरू जहाजमा पसिसकेपछि ती खिसी गर्ने मानिसहरूलाई पस्न नदिन “परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो।” जलप्रलय आउँदा ती अनाज्ञाकारी स्वर्गदूतहरू सम्भवतः आत्मिक शरीर धारण गरेर विनाशबाट बचे। तर अरूलाई चाहिं के भयो नि? नपिलहरूलगायत जहाजबाहिर भएका सारा जीवित प्राणीहरू नष्ट नहुने त कुरै थिएन! केवल नूह अनि तिनको परिवार बचे।—उत्पत्ति ७:१-२३.

नूह अनि तिनको परिवारले जहाजभित्र पूरै एक चन्द्र वर्ष र दश दिन बिताए। जनावरहरूलाई दानापानी दिंदै, फोहोर सफा गर्दै अनि जहाजबाहिरको अवस्थाको जानकारी लिंदैमा तिनीहरू व्यस्त थिए। जहाजमा यात्रा गर्दा लेखिने दैनिकीजस्तै उत्पत्तिको पुस्तकले जलप्रलयका विभिन्‍न चरणहरूलाई दुरुस्त अनि मितिको आधारमा बताउँछ। यसले विवरणको यथार्थतालाई पुष्टि दिन्छ।—उत्पत्ति ७:११, १७, २४; ८:३-१४.

जहाजभित्र हुँदा नूहले पक्कै पनि आफ्नो परिवारलाई आध्यात्मिक छलफल र परमेश्‍वरलाई धन्यवाद दिने काममा डोऱ्‍याएको हुनुपर्छ। स्मरणीय छ, नूह अनि तिनको परिवारले गर्दा नै जलप्रलयअघिको इतिहास जोगिए। जलप्रलयको दौडान तिनीहरूसित भएको भरपर्दा मौखिक वा लिखित ऐतिहासिक विवरणहरूले लाभदायी छलफलको लागि तिनीहरूलाई राम्रो विषयवस्तु प्रदान गर्ने थियो।

फेरि एक चोटि सुक्खा भूमिमा पाइला टेक्न पाउँदा नूह अनि तिनको परिवारका सदस्यहरू पक्कै पनि खुसीले गद्‌गद भएको हुनुपर्छ! सर्वप्रथम तिनले एउटा वेदी बनाए अनि आफूलाई बचाउने परमेश्‍वरलाई बलिदान चढाउँदै आफ्नो परिवारको लागि पूजाहारीको हैसियतमा तिनले काम गरे।—उत्पत्ति ८:१८-२०.

“जस्तो नूहको दिनमा भएथ्यो”

येशू ख्रीष्टले यसो भन्‍नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ।” (मत्ती २४:३७) मानिसहरूलाई पश्‍चात्ताप गर्न आग्रह गर्ने आजका मसीहीहरू पनि धर्मका प्रचारक हुन्‌। (२ पत्रुस ३:५-९) नूहको दिनको घटनालाई आजको परिस्थितिसित तुलना गर्दा जलप्रलय आउनुअघि नूहको मनमा कस्ता विचारहरू आए होलान्‌ भनेर हामीलाई अचम्म लाग्नसक्छ। के तिनले कहिल्यै आफ्नो प्रचार कार्यलाई व्यर्थको सम्झे? के तिनी कहिलेकाहीं थकित भए? यसबारे बाइबलले केही पनि बताउँदैन। बाइबलले केवल नूहले परमेश्‍वरको आज्ञा पालन गरे भनेर मात्र बताएको छ।

नूहको परिस्थितिबाट के तपाईंले आफ्नो जीवनमा व्यावहारिक रूपमा लागू गर्न सकिने केही पाठ सिक्नुभयो? विरोध अनि कठिनाइको बावजूद तिनले यहोवाको आज्ञा पालन गरे। त्यसैकारण यहोवाले तिनलाई धर्मी ठहराउनुभयो। परमेश्‍वरले कहिले जलप्रलय ल्याउनुहुनेछ भनेर नूहको परिवारलाई थाह थिएन तर त्यो दिन आउनेछ भन्‍ने कुरामा तिनीहरू पक्का थिए। परमेश्‍वरले भन्‍नुभएका कुराप्रतिको विश्‍वासले नूहलाई वर्षौं मेहनत गर्न अनि फलहीन जस्तो देखिने प्रचार कार्यमा लागिरहन बल दियो। वास्तवमा, हामीलाई यस्तो भनिएको छ: “विश्‍वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्‍वासअनुसारको धार्मिकताका हकदार भए।”—हिब्रू ११:७.

नूहले कसरी यस्तो विश्‍वास प्राप्त गऱ्‍यो? स्पष्टतः यहोवाबारे आफूले सिकेको कुरामा ध्यान दिन तिनले प्रशस्त समय निकाले र त्यसैअनुरूप आफ्नो जीवन बिताए। निस्सन्देह, नूहले प्रार्थनामा यहोवासित कुरा गरे। साँच्चै भन्‍ने हो भने, तिनी यहोवासित यत्ति घनिष्ठ भए कि तिनी ‘परमेश्‍वरसित हिंडे।’ परिवारको शिरको हैसियतमा नूहले खुसीसाथ आफ्नो परिवारलाई समय तथा मायालु ध्यान दिए। यसमा आफ्नी पत्नी, तीन छोरा अनि बुहारीहरूको आध्यात्मिक चासोको रेखदेख गर्नु पनि समावेश थियो।

नूहलाई जस्तै आज साँचो मसीहीहरूलाई पनि यहोवाले अब चाँडै यस भक्‍तिहीन रीतिरिवाजको अन्त गर्नुहुनेछ भनेर थाह छ। त्यो आउने दिन र घण्टा हामीलाई थाह नभए तापनि यस “धर्मका प्रचारक[को]” विश्‍वास अनि आज्ञाकारिता अनुकरण गरेको खण्डमा अवश्‍यै “आत्माको उद्धार” पाउनेछौं भनी हामीले बुझेका छौं।—हिब्रू १०:३६-३९.

[पृष्ठ २९-मा भएको पेटी]

के यो साँच्चै भएको थियो?

मानवशास्त्रीहरूले प्रायः सबै जाति अनि राष्ट्रहरूबाट २७० भन्दा धेरै दन्त्यकथा संकलन गरेका छन्‌। विद्वान्‌ क्लाउस वेस्टरमेन यसो भन्छन्‌, “संसारभरि नै प्रलयका कथाहरू सुन्‍न पाइन्छ। सृष्टिको वृत्तान्त जस्तै यो पनि हाम्रो महत्त्वपूर्ण सांस्कृतिक सम्पदाको एउटा भाग नै हो। सारा पृथ्वीभरि प्राचीन प्रलयको कथा सुन्‍न पाउनु साँच्चै अचम्मको कुरा हो।” यसले कुन कुरालाई स्पष्ट पार्छ? टिप्पणीकार एनरिको गालबाइटी यसो भन्छन्‌, “विविध अनि चारैतिर छरिएका मानिसहरूले सुनाउने उस्ता-उस्तै प्रकारको प्रलयका किंवदन्तीहरूले यस्ता किंवदन्तीहरू पछाडि लुकेको ऐतिहासिक सत्यतालाई प्रकट गर्छ।” यद्यपि, विद्वान्‌हरूका दृष्टिकोणभन्दा मानव इतिहासमा जलप्रलय एउटा वास्तविक घटना हो भनेर स्वयम्‌ येशू ख्रीष्टले बताउनुभएको जानकारी नै मसीहीहरूको लागि महत्त्वपूर्ण छ।—लूका १७:२६, २७.

[पृष्ठ ३०-मा भएको पेटी]

पौराणिक कथामा नपिल?

देव अनि मानवहरूबीचको अवैध यौन सम्बन्ध र त्यसबाट जन्मेका “शूरवीरहरू” अथवा “अर्धदेवहरू[का]” कथाहरू युनानी, मिश्री, युग्यारीटिक, हुर्रियन र मेसोपोटामियाको धर्मविज्ञानमा छ्यासछ्यास्ती पाइन्थे। युनानी पौराणिक कथाका देवहरूको रूप मानवको जस्तै थियो साथै तिनीहरू अति सुन्दर थिए। तिनीहरू खान्थे, पिउँथे, सुत्थे, यौन सम्बन्ध राख्थे, झगडा गर्थे, युद्ध गर्थे, जालझेल र बलात्कार गर्थे। पवित्र हुनुपर्ने भए तापनि छल गर्न र अपराध गर्नमा तिनीहरू खप्पीस थिए। भनिन्छ, एकिलसजस्ता वीर योद्धाहरू, देव अनि मानव दुवै कुलका थिए र तिनीहरूलाई असाधारण शक्‍ति दिइए तापनि अमरत्व भने दिइएको थिएन। त्यसैकारण, नपिलहरूबारे उत्पत्तिको पुस्तकले दिएको विवरणले यस्ता पौराणिक कथाहरूको सम्भाव्य स्रोत के हो, सो बुझ्न मदत दिन्छ।