सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

अदनको बगैंचामा असल र खराबको ज्ञान दिने रूखको सन्दर्भमा परमेश्‍वरले दिनुभएको आज्ञा उल्लंघन गर्न लगाउने विचार सर्पले हव्वालाई कसरी व्यक्‍त गऱ्‍यो?

उत्पत्ति ३:१ यसो भन्छ: “परमप्रभु परमेश्‍वरले बनाउनुभएका वनपशुहरूमध्ये साँप धूर्त थियो। त्यसले स्त्रीलाई यसो भने, ‘के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?’ ” सर्पले हव्वासित कसरी कुराकानी गऱ्‍यो भन्‍ने सन्दर्भमा विभिन्‍न धारणाहरू छन्‌। तीमध्ये सर्पले हाउभाउ वा इसाराद्वारा हव्वासित कुराकानी गऱ्‍यो भन्‍ने एउटा धारणा छ। उदाहरणका लागि, जोसेफ बेनसन नाउँको अंग्रेज पादरीले यस्तो टिप्पणी गरे: “धेरै हदसम्म कुनै संकेत नै प्रयोग गरिएको जस्तो देखिन्छ। साँच्चै भन्‍ने हो भने, सर्पमा सोच्नेबोल्ने क्षमता हुन्छ भनेर कसै-कसैले विश्‍वास गर्छन्‌। . . . तर यसको कुनै ठोस प्रमाण भने छैन।”

यद्यपि, केवल हाउभाउकै भरमा कसरी सर्पले हव्वालाई उक्‍त निषेधित फल खाएमा तिनी परमेश्‍वर जस्तै हुनेछिन्‌ अनि असल र खराबको भेद छुट्याउन सक्नेछिन्‌ भन्‍ने उपाय बताउन सक्थे होला र? साथै, सर्पको प्रश्‍नको जवाफ दिंदै हव्वाले पनि उक्‍त कुराकानीमा भाग लिए। (उत्पत्ति ३:२-५) यदि सर्पले हाउभाउद्वारा नै कुराकानी गरेको हो भने हव्वाले पनि हाउभाउद्वारा नै जवाफ दिएकी हुनुपर्छ भन्‍ने निष्कर्षमा पुग्न सकिन्छ जब कि बाइबलले भन्छ हव्वाले बोलेरै जवाफ दिइन्‌।

उक्‍त घटनालाई उद्धृत गर्दै प्रेरित पावलले सहमसीहीहरूलाई यस्तो चेताउनी दिए: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी . . . तिमीहरूका विचारहरू भ्रष्ट होलान्‌ कि भन्‍ने मलाई डर लागेको छ।” पावलले “झूटा प्रेरित, छल काम गर्ने[हरूबाट]” आउने खतराबारे बताए। त्यस्ता “मुख्य प्रेरित[हरूले]” ल्याएको खतरा हाउभाउको दायराभित्र पर्दैन्थ्यो। यसमा अरूलाई भर्माउन तिनीहरूले प्रयोग गर्ने धूर्त शब्दहरू बिथोलित थिए।—२ कोरिन्थी ११:३-५, १३.

हव्वालाई भर्माउन आवाजकै प्रयोग गरिएको थियो भन्‍नुको मतलब त्यस सर्पको स्वर ग्रन्थी थियो भन्‍न खोजिएको चाहिं होइन। वास्तवमा त्यतिबेला सर्पलाई यसको आवश्‍यकता नै थिएन। परमेश्‍वरको स्वर्गदूतले गधैनीमार्फत बिलामसित कुरा गर्दा उक्‍त जनावरलाई मानिसको जस्तो स्वरयन्त्र आवश्‍यक परेन। (गन्ती २२:२६-३१) निस्सन्देह, “गूँगो गधाले मानिसको बोलीमा” बोल्दा त्यसको पछाडि पक्कै कुनै आत्मिक शक्‍ति थियो।—२ पत्रुस २:१६, नयाँ संशोधित संस्करण।

हव्वासित बोल्ने सर्पको पछाडि लुक्ने आत्मिक प्राणीलाई बाइबलमा “वृद्ध साँप, दियाबल र शैतान” भनेर चिनाइएको छ। (प्रकाश १२:९) हव्वाले जसको आवाज सुनेर जवाफ दिएको थियो त्यो शैतानको थियो, जसले “आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ।”—२ कोरिन्थी ११:१४.

[पृष्ठ २७-मा भएको चित्र]

“असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमश्‍वरजस्तै हुनेछौ”