सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले हामीलाई आफ्नो दिन गनेर बस्न सिकाउनुहुन्छ

यहोवाले हामीलाई आफ्नो दिन गनेर बस्न सिकाउनुहुन्छ

यहोवाले हामीलाई आफ्नो दिन गनेर बस्न सिकाउनुहुन्छ

“आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं।”—भजन ९०:१२.

१. “हामीलाई आफ्ना दिन गनेर बस्न” सिकाउनुहोस्‌ भनेर यहोवालाई भन्‍नु किन उपयुक्‍त छ?

 यहोवा परमेश्‍वर हाम्रो सृष्टिकर्ता र जीवनदाता हुनुहुन्छ। (भजन ३६:९; प्रकाश ४:११) अतः हामीलाई आफ्नो जीवन बुद्धिमानीसाथ प्रयोग गर्ने तरिका उहाँले भन्दा राम्ररी अरू कसैले देखाउन सक्दैन। त्यसैकारण त भजनरचयिताले परमेश्‍वरलाई यसप्रकार बिन्ती गरे: “हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं।” (भजन ९०:१२) भजन ९० औं अध्यायमा पाइने यो बिन्ती होसियारीसाथ विचार गर्नु उपयुक्‍त छ। यद्यपि आउनुहोस्‌, पहिले हामी परमेश्‍वरद्वारा प्रेरित यस गीतलाई नै सरसर्ती हेरौं।

२. (क) भजन ९० का रचनाकार को हुन्‌ र यो कहाँ लेखिएको हुनसक्छ? (ख) भजन ९० ले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई कसरी असर पार्नुपर्ने हो?

भजन ९० को शीर्षकले नै यसलाई “परमेश्‍वरको जन मोशाको प्रार्थना” भनेको छ। यस भजनमा मानिसको जीवन क्षणिक छ भनेर जोड दिएको हुनाले यो भजन इस्राएलीहरू मिस्रको दासत्वबाट छुटेर उजाडस्थानको ४० वर्षे लामो पदयात्राको दौडान हजारौं अविश्‍वासी पुस्ताको मृत्यु हुँदा रचिएको हुनसक्छ। (गन्ती ३२:९-१३) जे होस्‌, भजन ९० ले असिद्ध मानिसहरूको जीवन छोटो छ भनेर देखाउँछ। तसर्थ, हामीले आफ्ना अनमोल दिनहरू बुद्धिमानीसाथ प्रयोग गर्नुपर्छ।

३. भजन ९० मा मुख्यतः के-के छन्‌?

भजन ९० अध्यायको पद १ देखि ६ ले यहोवालाई हाम्रो अनन्त वासस्थानको रूपमा चिनाउँछ। पद ७ देखि १२ ले हाम्रो क्षणिक जीवन उहाँलाई ग्रहणयोग्य हुने तरिकामा प्रयोग गर्न के गर्नुपर्छ, सो देखाउँछ। अनि पद १३-१७ मा बताएझैं परमेश्‍वरको कृपा र आशिष्‌ पाउन हामी उत्कट इच्छा गर्छौं। हुन त, यहोवाको सेवकको हैसियतमा हामीले व्यक्‍तिगत तवरमा महसुस गरेका कुराहरूमा यो भजन प्रत्यक्षतः लागू हुँदैन। तथापि, प्रार्थनाको रूपमा गाइएको यस भजनमा व्यक्‍त गरिएका परमेश्‍वरप्रतिको भक्‍तिभावलाई हामीले ध्यान दिनुका साथै अनुकरण गर्नुपर्छ। त्यसकारण आउनुहोस्‌, भजन ९० लाई परमेश्‍वरमा समर्पित जनहरूको नजरले ध्यान दिएर हेरौं।

यहोवा—हाम्रो “वासस्थान”

४-६. यहोवा कसरी हाम्रोनिम्ति “वासस्थान” साबित हुनुभएको छ?

भजनरचयिता यी शब्दहरूद्वारा भजन गाउँछन्‌: “हे परमप्रभु, पुस्तादेखि पुस्तासम्म, तपाईं हाम्रो वासस्थान हुनुभएको छ। पहाडहरू उत्पन्‍न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्‍वर हुनुहुन्छ।”भजन ९०:१, २ नयाँ संशोधित संस्करण।

“सनातनका परमेश्‍वर” यहोवा हाम्रोनिम्ति “वासस्थान” अर्थात्‌ आध्यात्मिक शरणस्थान हुनुहुन्छ। (रोमी १६:२६) हामी सुरक्षित महसुस गर्छौं किनकि उहाँ “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ साथै हरबखत हामीलाई मदत गर्न उहाँ तयार हुनुहुन्छ। (भजन ६५:२) हामी आफ्ना फिक्रीहरू स्वर्गमा हुनुहुने पितासमक्ष उहाँको पुत्रमार्फत पोख्छौं। तसर्थ, ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्तिले हाम्रो हृदय र हाम्रा विचारलाई रक्षा गर्छ।’—फिलिप्पी ४:६, ७; मत्ती ६:९; यूहन्‍ना १४:६, १४.

हामी आध्यात्मिक सुरक्षाको आनन्द उठाउँछौं, किनकि लाक्षणिक अर्थमा भन्‍ने हो भने, यहोवा हाम्रो “वासस्थान” हुनुहुन्छ। उहाँले “भित्री कोठाहरू” अर्थात्‌ आध्यात्मिक शरणस्थानको पनि प्रबन्ध गर्नुभएको छ। भित्री कोठाहरूको उहाँका जनहरूका मण्डलीसित गहिरो सम्बन्ध हुनुपर्छ, जहाँ मायालु गोठालाहरूले गर्दा हामी झनै सुरक्षित महसुस गर्छौं। (यशैया २६:२०; ३२:१, २; प्रेरित २०:२८, २९) यसबाहेक, हामीमध्ये कोही-कोही पुस्तौंदेखि परमेश्‍वरको सेवा गरिरहेका परिवारका सदस्य हुन सक्छौं र हामीले व्यक्‍तिगत तवरमा यहोवालाई ‘पुस्तादेखि पुस्तौंसम्म, आफ्नो वासस्थान हुनुभएको’ पाएका छौं।

७. कुन अर्थमा पहाडहरू ‘उत्पन्‍न हुँदा’ र पृथ्वी ‘सृष्टि हुँदा’ मेहनतको आवश्‍यकता पऱ्‍यो?

पहाडहरू “उत्पन्‍न” हुनुभन्दा अघि अथवा पृथ्वी “सृजनभन्दा” अघिदेखि नै यहोवा हुनुहुन्थ्यो। मानव दृष्टिकोणले हेर्ने हो भने, पृथ्वीलाई यसका सम्पूर्ण पक्ष तथा जटिल कार्य प्रणालीहरू सहित सृजन निकै मेहनतको आवश्‍यकता पर्छ। अनि पहाडहरू “उत्पन्‍न हुनुभन्दा अघि” र पृथ्वी “सृजनुभन्दा अघि” भनेर यहोवाले यी चीजहरू सृष्टि गर्ने क्रममा गर्नुभएको मेहनतप्रति भजनरचयिताले गहिरो आदर देखाउँदै थिए। सृष्टिकर्ताको सृजनाप्रति के हामीले पनि यस्तै आदर र मूल्यांकन देखाउनु पर्दैन र?

यहोवा हामीलाई मदत गर्न सधैं तयार हुनुहुन्छ

८. “अनादिदेखि अनन्तसम्म” यहोवा नै परमेश्‍वर हुनुहुन्छ भन्‍ने वाक्यांशको अर्थ के हो?

“अनादिदेखि अनन्तसम्म तपाईंनै परमेश्‍वर हुनुहुन्छ” भन्दै भजनरचयिताले गाए। “अनादिदेखि अनन्तसम्म” भनेर अनुवाद गरिएको वाक्यांशको मूल भाषाको शब्दले अन्त त हुने तर कहिले अन्त हुने हो, त्यो नतोकिएका कुराहरूलाई संकेत गर्नसक्छ। (प्रस्थान ३१:१६, १७; हिब्रू ९:१५) तथापि, भजन ९०:२ र हिब्रू धर्मशास्त्रका अन्य केही पदहरूमा चाहिं अनन्तको अर्थ ‘अनन्त’ नै हुन्छ। (उपदेशक १:४) परमेश्‍वरको अस्तित्व कसरी अनन्त भएको होला भनेर हाम्रो मनले बुझ्न सक्दैन। यद्यपि, यहोवाको सुरु पनि थिएन र अन्त पनि हुनेछैन। (हबकूक १:१२) उहाँ सधैं जीवित र हामीलाई मदत गर्न तयार हुनुहुनेछ।

९. एक हजार वर्ष लामो मानव अस्तित्वलाई भजनरचयिता केसित तुलना गर्छन्‌?

अनन्त सृष्टिकर्ताको अनुभवको तुलनामा एक हजार वर्ष लामो मानव अस्तित्व अत्यन्तै छोटो छ भनेर तुलना गर्न भजनरचयिता उत्प्रेरित भए। परमेश्‍वरलाई सम्बोधन गर्दै तिनले यसप्रकार लेखे: “तपाईंले मानिसलाई धूलोमा परिवर्त्तन गर्नुहुन्छ। र भन्‍नुहुन्छ, ‘ए मानिसका सन्तान हो, फर्केर आओ।’ किनकि तपाईंको दृष्टिमा एक हजार वर्ष बितेको हिजको दिनजस्तै र रातीको एक पहरजस्तै हुन्छ।भजन ९०:३, ४.

१०. कसरी परमेश्‍वरले मानिसलाई ‘माटोमा फर्काउनुहुन्छ’?

१० मानिस मरणशील छ र परमेश्‍वरले उसलाई “धूलोमा परिवर्त्तन गर्नुहुन्छ।” यसको अर्थ, मानिस ‘धूलोमा’ परिवर्तन हुन्छ अथवा धूलोमा मिसिन्छ। अर्को अर्थमा भन्‍ने हो भने, यहोवा यसो भन्‍नुहुन्छ: ‘तँ माटोबाटै बनिएको थिइस्‌ त्यसैले तँ भूमिको माटैमा फर्केर जा।’ (उत्पत्ति २:७; ३:१९) यो बलियो वा कमजोर, धनी वा गरिब सबैमाथि लागू हुन्छ, किनकि असिद्ध मानिसले ‘मोल तिरेर भाइलाई समेत छुटाउन सक्दैन वा त्यो सधैं बाँचिरहोस्‌ भनेर परमेश्‍वरलाई उसको जीवनको मोल त्यसले दिन सक्दैन।’ (भजन ४९:६-९, नयाँ संशोधित संस्करण) ‘पुत्रमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌’ भनेर ‘परमेश्‍वरले आफ्ना एकमात्र पुत्रलाई दिनुभएकोमा’ हामी अत्यन्तै धन्यवादी छौं!—यूहन्‍ना ३:१६; रोमी ६:२३.

११. हामीलाई लामो लाग्ने समय परमेश्‍वरको निम्ति निकै छोटो छ भनेर हामी किन भन्‍न सक्छौं?

११ यहोवाको नजरमा ९६९ वर्ष बाँचेका मतूशेलहसमेत पूरा एकदिन पनि बाँचेनन्‌। (उत्पत्ति ५:२७) परमेश्‍वरको लागि हजार वर्ष हिजको दिनजस्तै अर्थात्‌ २४ घण्टाजस्तो मात्र हो। परमेश्‍वरको नजरमा हजार वर्ष त रातमा चारै पहर छाउनीको रखवाली गर्ने पहरेदारको समयजस्तो मात्रै हो भनेर पनि भजनरचयिता उल्लेख गर्छन्‌। (न्यायकर्त्ता ७:१९) स्पष्टतः हामीलाई लाग्ने लामो समय अनन्तका परमेश्‍वर यहोवाको निम्ति निकै छोटो छ।

१२. मानवहरू कसरी परमेश्‍वरद्वारा ‘बगाइलगिएका छन्‌’?

१२ परमेश्‍वरको अनन्त अस्तित्वको तुलनामा वर्तमान मानव जीवन साँच्चै छोटो छ। भजनरचयिता यसो भन्छन्‌: “बाढले लगेझैं तपाईंले तिनीहरूलाई लैजानुहुन्छ, तिनीहरू निद्राजस्तै छन्‌। तिनीहरू बिहान उम्रने घाँसजस्ता छन्‌ त्यो बिहान पलाउँछ र बढ्‌छ। बेलुकी त्यो काटिन्छ र ओइलिहाल्छ।” (भजन ९०:५, ६) मोशाले उजाडस्थानमा हजारौं इस्राएलीहरू, जलप्रलयको ‘बाढीले लगेझैं’ मरेको देखे। भजनको यो अंशलाई यसरी पनि उल्था गरिएको छ: “तपाईंले मानिसहरूलाई मृत्युको निद्रामा बगाइलानुहुन्छ।” (नयाँ संशोधित संस्करण) अर्कोतिर, असिद्ध मानवहरूको जीवन “निद्राजस्तै” छोटो छ अर्थात्‌ रातको क्षणिक सुताइजस्तो मात्र।

१३. हामी कसरी “बिहान उम्रने घाँसजस्ता” छौं र यसले हाम्रो सोचाइलाई कसरी असर गर्नुपर्ने हो?

१३ हामी ‘बिहान उम्रने घाँसजस्ता छौं,’ जो साँझसम्ममा दिनभरि घामको चर्को रापले ओइलाइहाल्छन्‌। हो, हाम्रो जीवन घाँसजस्तै एकैदिनमा ओइलाएर जाने क्षणिक छ। त्यसकारण, यो अनमोल सम्पत्तिलाई व्यर्थैमा खेर नफालौं। बरु, यस रीतिरिवाजमा आफ्नो बाँकी जीवन बुद्धिमानीसाथ कसरी बिताउने हो, त्यसका लागि परमेश्‍वरसित निर्देशन माग्नुपर्छ।

यहोवा हामीलाई “आफ्ना दिन गनेर बस्न” मदत गर्नुहुन्छ

१४, १५. भजन ९०:७-९ को कस्तो पूर्ति इस्राएलीहरूमाथि भएको थियो?

१४ परमेश्‍वरको सम्बन्धमा भजनरचयिताले अझै यसो भने: “हामी ता तपाईंको रीसमा भस्म भएका छौं, र तपाईंको क्रोधमा हामी व्याकुल हुन्छौं। तपाईंले हाम्रा अधर्म आफ्नै सामु राख्नुभएको छ, हाम्रा गुप्त पापहरू तपाईंकै मोहोडाको प्रकाशमा छन्‌। किनकि हाम्रा सारा दिन तपाईंकै क्रोधमा बितिगएका छन्‌। सुस्केरामा हामी आफ्ना वर्ष बिताउँछौं।”—भजन ९०:७-९.

१५ अविश्‍वासी इस्राएलीहरू ‘परमेश्‍वरको रीसमा भस्म भए।’ तिनीहरू ‘उहाँको क्रोधमा व्याकुल भए’ अथवा ‘उहाँको आक्रोशमा आतंकित भए।’ (नयाँ संशोधित संस्करण) ईश्‍वरीय न्यायको फलस्वरूप कोही-कोही “वनमा परास्त भए।” (१ कोरिन्थी १०:५) यहोवाले ‘तिनीहरूका अधर्महरू आफूसामु राख्नुभयो।’ उहाँले तिनीहरूलाई तिनीहरूका सार्वजनिक अपराधको निम्ति जवाफदेही ठहराउनुभयो साथै तिनीहरूका “गुप्त पापहरू” अर्थात्‌ लुकाइएका पापहरू पनि ‘उहाँको मोहडाको प्रकाशमा’ आए। (हितोपदेश १५:३) परमेश्‍वरको क्रोधको पात्र भएकोले अपश्‍चात्तापी इस्राएलीहरूले ‘सुस्केरामा आफ्ना वर्ष बिताए।’ वास्तवमा हाम्रो छोटो जीवनकाल पनि त्यही कारणले गर्दा ओठबाट निस्कने सासजस्तो मात्र भएको छ।

१६. कसैले गुप्तमा पाप गरिरहेका छन्‌ भने, तिनीहरूले के गर्नुपर्ने हो?

१६ हामीमध्ये कसैले गुप्तमा पाप गऱ्‍यौं भने केही समयका लागि त त्यो घटना सँगी मानवबाट लुकाउन सकौंला। तर हाम्रो लुकिएको त्यो गलत कार्य ‘यहोवाको मोहडाको प्रकाशमा हुने छ’ र हाम्रो गल्तीले उहाँसितको हाम्रो सम्बन्धलाई बिगार्नेछ। यहोवासित फेरि घनिष्ठ हुन हामीले प्रार्थना गरेर क्षमा माग्नु, पापकर्मलाई त्याग्नु र मसीही प्राचीनहरूले दिने आध्यात्मिक मदतलाई कृतज्ञतासाथ स्वीकार्नु आवश्‍यक छ। (हितोपदेश २८:१३; याकूब ५:१४, १५) ‘सुस्केरामा आफ्ना वर्ष बिताएर’ अनन्त जीवनको आशालाई खतरामा पार्नुभन्दा त्यसो गर्नु कत्ति राम्रो हुनेछ!

१७. साधारणतया मानिसहरूको आयु कति हुन्छ र हाम्रो जीवन केले भरिएको हुन्छ?

१७ असिद्ध मानवको आयुबारे भजनरचयिता यसो भन्छन्‌: “हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला। तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिं चाँडै बित्छ, र हामी उडिजान्छौं।” (भजन ९०:१०, नयाँ संशोधित संस्करण) साधारणतया मानिसको आयु ७० वर्ष हुन्छ तर ८५ वर्षको उमेरमा समेत कालेबसित असाधारण बल थियो भनेर बताइएको छ। यसका अपवादहरू पनि छन्‌, जस्तै हारून (१२३), मोशा (१२०) र यहोशू (११०)। (गन्ती ३३:३९; व्यवस्था ३४:७; यहोशू १४:६, १०, ११; २४:२९) तर मिस्रबाट निस्किआउनेहरू मध्ये २० वर्ष नाघेका अविश्‍वासी व्यक्‍तिहरू ४० वर्षको अवधिभित्रै मरे। (गन्ती १४:२९-३४) आज, थुप्रै मुलुकमा साधारणतया मानिसहरूको आयु भजनरचयिताले बताए जति मात्र छ। हाम्रो जीवन “कष्ट र शोक[ले]” भरिएको हुन्छ। यी तुरुन्तै बित्छन्‌ र ‘उडिजान्छन्‌।’—अय्यूब १४:१, २.

१८, १९. (क) “हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं” भन्‍नुको अर्थ के हो? (ख) बुद्धि प्रयोग गर्दा हामी के गर्न उत्प्रेरित हुनेछौं?

१८ भजनरचयिता यसप्रकार फेरि गाउँछन्‌: “तपाईंको रीसको शक्‍ति, तपाईंलाई दिनुपर्ने भयबमोजिम तपाईंको क्रोध कसलाई थाह छ? यसकारण हामीले आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं।” (भजन ९०:११, १२) परमेश्‍वरको रिस कति कडा छ भनेर हामीमध्ये कसैले पनि पूर्णतया बुझ्न सकेका छैनौं न त उहाँको क्रोधको सीमालाई नै बुझ्न सकेका छौं। त्यसैकारण, यसले उहाँप्रतिको हाम्रो श्रद्धेय भयलाई अझ बढाउनुपर्ने हो। वास्तवमा, यसले हामीलाई ‘बुझ्ने हृदय पाउने गरी हामीले कसरी आफ्ना दिन गनेर बस्ने हो, त्यो सिकाउनुहोस्‌’ भनेर उहाँलाई सोध्न उत्प्रेरित गर्नुपर्ने हो।

१९ भजनरचयिताका शब्दहरू यहोवाले आफ्ना जनहरूलाई तिनीहरूका बाँकी दिनको सही मूल्यांकन गर्न र उहाँले अनुमोदन गर्नुहुने तरिकामा प्रयोग गर्न कसरी बुद्धि चलाउनुपर्ने हो, त्यो उहाँले सिकाऊन्‌ भन्‍ने प्रार्थना हुन्‌। सत्तरी वर्षको छोटो जीवनमा २५,५०० दिन बाँच्ने आशा हुन्छ। यद्यपि, उमेर जतिसुकै भए तापनि हामी ‘यो जान्दैनौं, कि भोलि के हुने हो, किनकि हाम्रो जिन्दगी के छ? हामी त पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्दछ।’ (याकूब ४:१३-१५) सबैलाई ‘समय र अवसरलेनै अधीन गरेकोले’ हामी कतिञ्जेल बाँच्छौं, त्यसबारे केही भन्‍न सक्दैनौं। त्यसैकारण आउनुहोस्‌, परीक्षामा पर्दा त्यसको सामना गर्न, अरूसित उचित तरिकाले व्यवहार गर्न र अहिले नै, आजै यहोवाको सेवा सक्दो गर्नसकौं भनेर प्रार्थना गरौं! (उपदेशक ९:११; याकूब १:५-८) यहोवाले हामीलाई आफ्नो वचन, आत्मा र संगठनद्वारा डोऱ्‍याउनुहुन्छ। (मत्ती २४:४५-४७; १ कोरिन्थी २:१०; २ तिमोथी ३:१६, १७) बुद्धिको प्रयोगले हामीलाई ‘पहिले परमेश्‍वरको राज्य खोज्न’ र हाम्रो जीवनलाई परमेश्‍वरको महिमा हुने र उहाँको हृदयलाई प्रसन्‍न तुल्याउने तरिकामा प्रयोग गर्न उत्प्रेरित गर्छ। (मत्ती ६:२५-३३; हितोपदेश २७:११) हो, सम्पूर्ण हृदयले उहाँको उपासना गर्दा हाम्रो सारा समस्या हट्‌न त नहट्‌ला तर यसले गर्दा प्रशस्त आनन्द भने पक्कै पाउनेछौं।

यहोवाको आशिष्‌ले हामीलाई आनन्द दिन्छ

२०. (क) परमेश्‍वरले कसरी “दया गर्नुहुन्छ”? (ख) हामीले गम्भीर पाप गरेका छौं तर साँचो पश्‍चात्तापी भाव देखायौं भने यहोवाले हामीसित कस्तो व्यवहार गर्नुहुन्छ?

२० हाम्रो बाँकी जीवन आनन्दै आनन्दमा बिताउन पाए कत्ति राम्रो हुने थियो होला! यस सम्बन्धमा मोशा यस्तो बिन्ती गर्छन्‌: “हे परमप्रभु, फर्कनुहोस्‌, कहिलेसम्म? र आफ्ना दासहरूमाथि दया गर्नुहोस्‌। बिहान आफ्नो कृपालेवा, “वफादार प्रेमले,” NW] हामीलाई तृप्त पार्नुहोस्‌, र हामी आफ्ना सारा दिन रमाऔं र आनन्दित होऔं।” (भजन ९०:१३, १४) परमेश्‍वर गल्ती गर्नुहुन्‍न। तथापि, गल्ती गर्ने व्यक्‍तिले उहाँको चेताउनी सुनेर आफ्नो मनोवृत्ति र आचरणमा परिवर्तन ल्याउँदा उहाँ ‘दया गर्नुहुन्छ’ र आफ्नो रिस ‘शान्त गर्नुहुन्छ’, सजाय दिनदेखि आफ्नो हातलाई रोक्नुहुन्छ। (व्यवस्था १३:१७) त्यसकारण, गम्भीर गल्ती नै गरेका छौं भने पनि यदि साँचो पश्‍चात्तापी भाव देखायौं भने यहोवाले ‘आफ्नो कृपाले हामीलाई तृप्त पार्नु’ हुनेछ र हामीसित ‘रमाउने’ कारण हुनेछ। (भजन ३२:१-५) अनि धार्मिक मार्गमा हिंडेर हामी परमेश्‍वरले हामीप्रति देखाउनुभएको वफादार प्रेम महसुस गर्नेछौं र ‘आफ्ना सारा दिन’ अर्थात्‌ बाँकी जीवनभर ‘रमाउनेछौं।’

२१. भजन ९०:१५, १६ मा लिपिबद्ध शब्दहरूमार्फत मोशाले के आग्रह गरिरहेका हुनसक्छन्‌?

२१ भजनरचयिता यसप्रकार हार्दिक प्रार्थना गर्छन्‌: “हामीलाई दुःख दिनुभएका दिनहरूझैं र हामीले क्लेश देखेका वर्षअनुसार हामीलाई आनन्दित तुल्याउनुहोस्‌। तपाईंको काम तपाईंका दासहरूकहाँ र तपाईंको महिमा तपाईंका छोरा-छोरीहरूकहाँ देखा परोस्‌।” (भजन ९०:१५, १६) इस्राएलीहरूले जत्ति दिन दुःख पाए र जत्ति वर्ष क्लेश भोगे, त्यत्ति नै दिन र त्यत्ति नै वर्ष तिनीहरूलाई आनन्दित तुल्याउनुहोस्‌ भनेर मोशाले परमेश्‍वरसित बिन्ती गरिरहेका हुनसक्छन्‌। तिनले, इस्राएलीहरूलाई आशिष्‌ दिनुहुने परमेश्‍वरको “काम” उहाँका सेवकहरूले प्रस्टै देखून्‌ र उहाँको महिमा तिनीहरूका छोराछोरी वा सन्तानमाथि प्रकट होऊन्‌ भनिरहेका थिए। त्यसै गरी हामीले पनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा आज्ञाकारी मानिसहरूमाथि आशिष्‌ वर्षोस्‌ भनेर प्रार्थना गर्नु उपयुक्‍त हुनसक्छ।—२ पत्रुस ३:१३.

२२. भजन ९०:१७ अनुसार हामीले केको निम्ति प्रार्थना गर्नु उपयुक्‍त छ?

२२ भजन ९० को अन्तमा यो बिन्ती गरिएको छ: “हाम्रा परमप्रभु परमेश्‍वरको सुन्दरता हामीमा रहोस्‌, र हाम्रा हातका कामहरू हाम्रा निम्ति स्थिर गर्नुहोस्‌। हाम्रा हातका कामहरूचाहिं तपाईंलेनै स्थिर गर्नुहोस्‌।” (भजन ९०:१७) उहाँको सेवा गर्न हामीले गरेको प्रयासमाथि परमेश्‍वरको आशिष्‌ रहोस्‌ भनेर प्रार्थना गर्नु उपयुक्‍त छ भनेर यी शब्दहरूले देखाउँछन्‌। अभिषिक्‍त मसीही वा तिनीहरूका साथीहरू अर्थात्‌ “अरू भेडा[को]” हैसियतमा हामी ‘यहोवाको सुन्दरता’ हामीमाथि छाएकोमा रमाउँछौं। (यूहन्‍ना १०:१६) राज्य उद्‌घोषक र अन्य तरिकामा परमेश्‍वरले ‘हाम्रा हातका कामहरू स्थिर गर्नु’ भएकोमा हामी साह्रै खुसी छौं!

हाम्रा दिनहरू गन्दै बस्न सकौं

२३, २४. भजन ९० मनन गरेर हामी कसरी लाभ उठाउन सक्छौं?

२३ भजन ९० औं अध्याय मनन गरिसकेपछि त्यसले यहोवा, हाम्रा “वासस्थान[माथिको]” हाम्रो निर्भरतालाई अझै बढाउनुपर्ने हो। क्षणिक जीवनबारे बताउने यसका शब्दहरू विचार गरिसकेपछि हाम्रा दिनहरू गन्‍न ईश्‍वरीय मार्गनिर्देशन चाहिंदो रहेछ भनेर हामी झनै सजग हुनुपर्ने हो। अनि यदि ईश्‍वरीय बुद्धि निरन्तर खोजिरह्‍यौं र त्यसलाई प्रयोगमा ल्याइरह्‍यौं भने यहोवा परमेश्‍वरको कृपा र आशिष्‌ हामीले पाउनेछौं भन्‍ने कुरामा पक्का हुन सक्छौं।

२४ यहोवाले हामीलाई आफ्ना दिनहरू गन्‍न सिकाइरहनुहुनेछ। अनि यदि हामीले उहाँको निर्देशन पालन गऱ्‍यौं भने, हामी अनन्तसम्म आफ्ना दिनहरू गनिरहन सक्नेछौं। (यूहन्‍ना १७:३) तथापि, यदि हामी अनन्त जीवन साँच्चै चाहन्छौं भने, यहोवा हाम्रो शरणस्थान हुनैपर्छ। (यहूदा २०, २१) यो बुँदा भजन ९१ का प्रोत्साहनदायी शब्दहरूद्वारा सुस्पष्ट पारिएको यसपछिको लेखमा हामी देख्नेछौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवा हाम्रोनिम्ति कसरी वास्तविक “वासस्थान” हुनुभएको छ?

• यहोवा हामीलाई मदत गर्न सधैं तयार हुनुहुन्छ भनेर हामी कसरी भन्‍न सक्छौं?

• कसरी यहोवाले हामीलाई “आफ्ना दिन गनेर बस्न” मदत गर्नुहुन्छ?

• केले ‘हामीलाई सारा दिन रमाउन’ मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

यहोवा “पहाडहरू उत्पन्‍न हुनभन्दा अघि” नै परमेश्‍वर हुनुहुन्थ्यो

[पृष्ठ १२-मा भएको चित्र]

यहोवाको नजरमा ९६९ वर्ष बाँचेका मतूशेलह एक दिन पनि पूरा बाँचेनन्‌

[पृष्ठ १४-मा भएको चित्र]

यहोवाले ‘हाम्रा हातका कामहरूलाई स्थिर गर्नु’ भएको छ