सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ

यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ

यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ

“किनकि तिमीले यसो भन्यौ: ‘यहोवा मेरो शरणस्थान हुनुहुन्छ,’ . . . तिमीमाथि कुनै पनि विपत्ति आइपर्नेछैन।”—भजन ९१:९, १०, NW.

१. यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?

 यहोवा आफ्ना जनहरूका लागि साँचो शरणस्थान हुनुहुन्छ। यदि हामी उहाँप्रति पूर्णतया समर्पित छौं भने, “सबैतिरबाट मिचिनेछौं, तापनि चूर्ण पारिने छैनौं। अन्योलमा पर्नेछौं, तापनि निराश हुनेछैनौं। खेदिने छौं, तापनि त्यागिने छैनौं। पिटिने छौं, तापनि नष्ट हुने छैनौं।” किन? किनकि यहोवाले हामीलाई “असामान्य शक्‍ति” ( NW) दिनुहुन्छ। (२ कोरिन्थी ४:७-९) हो, स्वर्गमा हुनुहुने हाम्रो पिताले हामीलाई ईश्‍वरीय जीवन यापन गर्न मदत गर्नुहुन्छ र हामी भजनरचयिताका यी शब्दहरूलाई मनमा साँची राख्न सक्छौं: “किनभने तिमीले यसो भन्यौ: ‘यहोवा मेरो शरणस्थान हुनुहुन्छ,’ तिमीले सर्वोच्च परमेश्‍वरलाई आफ्नो वासस्थान बनायौ; तिमीमाथि कुनै पनि विपत्ति आइपर्नेछैन।”—भजन ९१:९, १०, NW.

२. भजन ९१ बारे के भन्‍न सकिन्छ र यसमा के प्रतिज्ञा गरिएको छ?

भजन ९१ का यी शब्दहरू मोशाले लेखेका हुनसक्छन्‌। किनकि भजन ९० को शीर्षकले मोशा उक्‍त अध्यायका रचनाकार हुन्‌ भनेर बताएपछि ९१ औं भजनको शीर्षकमा अरू कुनै लेखकको नाउँ दिइएको छैन। सायद भजन ९१ सुरुमा एक जनाले गाउन सुरु गर्थ्यो होला (९१:१, २), त्यसपछि पूरै समूहले त्यसको जवाफ दिंदै गाउँथे होलान्‌ (९१:३-८)। त्यसपछि फेरि एक जनाले गाएर (९१:९क) पूरै समूहले त्यसको जवाफमा फेरि गाउँथे होलान्‌ (९१:९ख-१३)। अन्तमा चाहिं एक जना गायकले अन्तिम शब्दहरू गाएर टुंग्याउँथ्यो होला (९१:१४-१६)। जे होस्‌, भजन ९१ औं अध्यायले अभिषिक्‍त मसीहीहरूलाई समूहको रूपमा आध्यात्मिक सुरक्षा दिने वचन दिनुका साथै तिनीहरूका समर्पित मित्रहरूलाई पनि समूहगत रूपमा त्यस्तै सुरक्षा दिने आश्‍वासन दिन्छ। a आउनुहोस्‌, यहोवाका सबै यस्ता सेवकहरूको नजरबाट हामी यस भजनलाई विचार गरौं।

‘परमेश्‍वरको गुप्त ठाउँमा’ सुरक्षा

३. (क) “परम प्रधानको गुप्त ठाउँ” के हो? (ख) ‘सर्वशक्‍तिमान्‌को छत्रछायाँमुनि रहँदा’ हामी के महसुस गर्छौं?

भजनरचयिता यसप्रकार गाउँछन्‌: “जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ, त्यो सर्वशक्‍तिमानको छत्र छायामनि रहन्छ। परमप्रभुको विषयमा म भन्छु, ‘उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमा म भरोसा राख्तछु।’ ” (भजन ९१:१, २) “परम प्रधानको गुप्त ठाउँ” हाम्रोनिम्ति र विशेष गरी दियाबलको मुख्य तारो भएका अभिषिक्‍त जनहरूका लागि सुरक्षा दिने लाक्षणिक स्थान हो। (प्रकाश १२:१५-१७) परमेश्‍वरको छत्रछायाँमुनि सुरक्षित नहुँदा हौं त त्यसले हामी सबैलाई खत्तम पार्ने थियो। ‘सर्वशक्‍तिमानको छत्रछायाँमुनि रहेर’ हामीले परमेश्‍वरले दिनुहुने सुरक्षात्मक कवच वा छायाँ पाएका छौं। (भजन १५:१, २; १२१:५) हाम्रो सर्वशक्‍तिमान्‌ प्रभु, यहोवाले दिनुहुने जस्तो सुरक्षित शरणस्थान वा ढाल्नै नसकिने किल्ला अन्त कतै छैन।—हितोपदेश १८:१०.

४. “शिकारी” शैतानले कस्ता साधनहरू प्रयोग गर्छ र हामी त्यसबाट कसरी उम्कन्छौं?

भजनरचयिता अझै यसो भन्छन्‌: “उहाँलेयहोवाले] तिमीलाई शिकारीको पासोबाट र हानिकारक रूढीबाट बचाउनुहुनेछ।” (भजन ९१:३) पुरातन इस्राएलमा सिकारीले जाल फिंजाएर वा पासो थापेर चराहरू पक्रन्थ्यो। “शिकारी” अर्थात्‌ शैतानले प्रयोग गर्ने जालहरूमा त्यसको दुष्ट संगठन र “धूर्त चालहरू” पर्दछन्‌। (एफिसी ६:११, NW, पादटिप्पणी) हामीलाई दुष्टतामा फसाउन र हाम्रो आध्यात्मिकतालाई खत्तम पार्न हाम्रो बाटोमा पासोहरू थाह नपाउने किसिमले थापिएका हुन्छन्‌। (भजन १४२:३) तापनि, हामीले अधार्मिकतालाई त्यागेको कारण “शिकारीको पासोबाट चरा उम्केझैं, हाम्रो प्राण उम्केको छ।” (भजन १२४:७, ८) यहोवाले हामीलाई दुष्ट “शिकारी[बाट]” छुटाउनुभएकोमा हामी उहाँप्रति साह्रै कृतज्ञ छौं!—मत्ती ६:१३.

५, ६. कस्तो “रूढी[ले]” ‘हानि’ गराएको छ तर यहोवाका जनहरू किन त्यसको पन्जामा पर्दैनन्‌?

भजनरचयिता “हानिकारक रूढी[बारे]” उल्लेख गर्छन्‌। मानव परिवार र यहोवाको सार्वभौमिकताको पक्ष लिनेहरूलाई सरुवा रोगजस्तै “हानिकारक” साबित हुने केही कारक तत्त्व छन्‌। यस सम्बन्धमा इतिहासकार आर्नोल्ड ट्योनबीले यस्तो लेखे: “दोस्रो विश्‍व युद्ध अन्त भएदेखि यता राष्ट्रवादले स्वतन्त्र राज्यहरूको संख्या दोब्बर बढाएको छ . . . मानिसजाति हाल झन्‌ झनै फूट ल्याउने मनस्थितिको भएका छन्‌।”

शताब्दीयौंभरि नै केही शासकहरूले अन्तरराष्ट्रिय तवरमा नै फूट उत्पन्‍न गर्न आगोमा घिउ थप्ने काम गरेका छन्‌। तिनीहरूले आफ्नो मात्र वा विभिन्‍न मूर्ति वा प्रतिमाहरूको आदर गर्नुपर्ने मागसमेत गरेका छन्‌। तर यहोवाले आफ्ना विश्‍वासी जनहरूलाई यस्तो “रूढी[को]” पन्जामा पर्न दिनुभएको छैन। (दानियल ३:१, २, २०-२७; ६:७-१०, १६-२२) हाम्रो मायालु अन्तरराष्ट्रिय भ्रातृत्व भएको कारण हामी यहोवालाई ऐकान्तिक भक्‍ति चढाउँछौं, धर्मशास्त्रीय तटस्थता कायम राख्छौं र “हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ” भनेर निष्पक्ष भई स्वीकार्छौं। (प्रेरित १०:३४, ३५; प्रस्थान २०:४-६; यूहन्‍ना १३:३४, ३५; १७:१६; १ पत्रुस ५:८, ९) हामीले ‘हानिस्वरूप’ सतावट भोग्नु परे तापनि मसीही भएकोले हामी “परम प्रधानको गुप्त ठाउँमा” आनन्दित अनि आध्यात्मिक तवरमा सुरक्षित छौं।

७. कसरी यहोवाले हामीलाई आफ्नो “पखेटामनि” ढाक्नुहुन्छ?

यहोवा हाम्रो शरणस्थान हुनुभएकोले हामी यी शब्दहरूबाट सान्त्वना पाउँछौं: “उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नहुनेछ, र उहाँका पखेटामनि तिमीले शरण लिनेछौ, उहाँको सत्यता सानो ढाल र ठूलो ढाल हो।” (भजन ९१:४) आफ्ना बचेराहरूसँगसँगै उडेर रक्षा गर्ने चराले जस्तै परमेश्‍वरले पनि हाम्रो रक्षा गर्नुहुन्छ। (यशैया ३१:५) ‘उहाँले हामीलाई आफ्ना पखेटाले ढाक्नुहुन्छ।’ आफ्ना पखेटा फैलाएर चराले आफ्ना बचेरालाई सिकारीहरूबाट जोगाउँछ। कलिला बचेराहरूजस्तै हामी यहोवाका लाक्षणिक पखेटामुनि सुरक्षित छौं। किनकि हामीले उहाँको साँचो मसीही संगठनमा शरण लिएका छौं।—रूथ २:१२; भजन ५:१, ११.

८. यहोवाको “सत्यता” कसरी एउटा ठूलो ढाल र पर्खाल जस्तो हो?

हामी “सत्यता” वा वफादारितामा भरोसा गर्छौं। यस्तो वफादारितालाई पुरातन समयको ठूलो ढालसँग तुलना गर्न सकिन्छ। त्यो ढाल ढोका जस्तो ठूलो हुनुका साथै पूरै शरीरलाई ढाक्ने खालको हुन्छ। (भजन ५:१२) यस्तो भरोसाले हामीलाई डरबाट मुक्‍त गर्छ। (उत्पत्ति १५:१; भजन ८४:११) हाम्रो विश्‍वासजस्तै परमेश्‍वरको सत्यता सुरक्षा दिने ठूलो ढाल हो। यसले शैतानका सबै अग्निबाणलाई छेक्न र शत्रुको घातक प्रहारबाट जोगाउनसक्छ। (एफिसी ६:१६) यो एउटा बलियो पर्खाल वा ढिस्को जस्तो पनि हो, जसको पछाडि हामी स्थिर भई खडा रहन सक्छौं।

‘हामी त्रसित हुनेछैनौं’

९. रातको समय किन डरलाग्दो हुन्छ तर हामी किन डराउँदैनौं?

परमेश्‍वरले दिनुहुने सुरक्षालाई विचार गर्दै भजनरचयिता यसो भन्छन्‌: “तिमी रातको ठूलो त्रासदेखि, दिनमा उड़ेर आउने वाणदेखि, राती चल्ने रूढ़ीदेखि, दिउँसो क्षय गर्ने नाशदेखि डराउनेछैनौ।” (भजन ९१:५, ६) रातको अन्धकारमा थुप्रै खराब काम गरिने भएकोले रात डरलाग्दो समय हुनसक्छ। अहिले पृथ्वीलाई आध्यात्मिक अन्धकारले ढाकिरहेको हुँदा, यसको मौका छोप्दै हाम्रा शत्रुहरूले अक्सर हाम्रो आध्यात्मिकतालाई खत्तम पार्न र हाम्रो प्रचारकार्यलाई रोक्न हर किसिमको प्रयास गर्छ। तर ‘हामी रातको ठूलो त्रासदेखि डराउनेछैनौं,’ किनकि यहोवाले हाम्रो रक्षा गर्नुहुन्छ।—भजन ६४:१, २; १२१:४; यशैया ६०:२.

१०. (क) “दिनमा उडेर आउने वाण[ले]” केलाई संकेत गरेको हुनसक्छ र हामी यसप्रति कस्तो प्रतिक्रिया देखाउँछौं? (ख) “राती चल्ने रूढी” के हो र हामी किन त्यससित डराउँदैनौं?

१० “दिनमा उडेर आउने वाण[को]” अर्थ मौखिक आक्रमण हुनसक्छ। (भजन ६४:३-५; ९४:२०) साँचो जानकारी दिने संकल्प गरिरहँदा हाम्रो पवित्र सेवाको खुलेआम विरोध व्यर्थ साबित हुन्छ। यसबाहेक, “हामी राती चल्ने रूढीदेखि” डराउँदैनौं। यो लाक्षणिक रूढी शैतानको पन्जामा परेको यस नैतिक तथा आध्यात्मिक तवरमा पतित संसारको अन्धकारमा फस्टाइरहेको लाक्षणिक रूढी हो। (१ यूहन्‍ना ५:१९) यसले मन र हृदय दुवैलाई खतरनाक अवस्थामा पुऱ्‍याउँछ भने मानिसहरूलाई यहोवा, उहाँका उद्देश्‍यहरू अनि उहाँका प्रबन्धहरूबारे अनभिज्ञ पार्छ। (१ तिमोथी ६:४) तर यस्तो अन्धकारमा हामी डराउँदैनौं, किनकि हामी प्रशस्त आध्यात्मिक ज्योतिको आनन्द उठाउँछौं।—भजन ४३:३.

११. “दिउँसो क्षय” महसुस गर्नेहरूलाई के हुन्छ?

११ “दिउँसो क्षय गर्ने नाशदेखि” पनि हामी डराउदैनौं। “दिउँसो[ले]” यस संसारको तथाकथित बौद्धिक ज्योतिलाई संकेत गरिरहेको हुनसक्छ। यसको भौतिक दृष्टिकोण अपनाउन थाल्ने व्यक्‍तिले आध्यात्मिक क्षय भोग्छ। (१ तिमोथी ६:२०, २१) साहसी भई परमेश्‍वरको राज्य सन्देश घोषणा गर्दा हामी कुनै पनि शत्रुसित डराउँदैनौं, किनकि यहोवा हाम्रो रक्षक हुनुहुन्छ।—भजन ६४:१; हितोपदेश ३:२५, २६.

१२. कसको नजिकै हजारौं “लोट्‌नेछन्‌” र कुन तरिकामा?

१२ भजनरचयिता अझै यसो भन्छन्‌: “एक हजार जना तिम्रो नजीक लोट्‌नेछन्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजीक कोही आइपुग्दैन। तिम्रो आँखाले मात्र त्यो हेर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।” (भजन ९१:७, ८) यहोवालाई आफ्नो शरणस्थान नबनाएको कारण धैरै जना आध्यात्मिक अर्थमा हामी ‘नजिक लोटेका छन्‌।’ वास्तवमा, आजको आध्यात्मिक इस्राएलको “दाहिने हाततर्फ दश हजार जना” लोटेका छन्‌। (गलाती ६:१६) तर चाहे हामी अभिषिक्‍त मसीहीहरू होऔं वा तिनीहरूका समर्पित मित्रहरू, हामी परमेश्‍वरको “गुप्त ठाउँमा” सुरक्षित छौं। हामी केवल ‘हेर्नेछौं, र’ वाणिज्य, धार्मिक अनि अन्य क्षेत्रमा समस्याको सामना गर्नुपरिरहेका ‘दुष्टहरूको प्रतिफल देख्नेछौ।’—गलाती ६:७.

‘हामीमाथि कुनै विपत्ति आइपर्ने छैन’

१३. कस्ता विपत्तिहरू हामीमाथि आइपर्ने छैनन्‌ र किन?

१३ यो संसार झन्‌ झनै असुरक्षित हुँदै गइरहेको भए तापनि हामी परमेश्‍वरलाई प्राथमिकता दिन्छौं र भजनरचयिताका यी शब्दहरूबाट साहस बटुल्छौं: “किनकि तिमीले यसो भन्यौ: ‘यहोवा मेरो शरणस्थान हुनुहुन्छ,’ तिमीले सर्वोच्चलाई नै आफ्नो वासस्थान बनाएका छौ; तिमीमाथि कुनै पनि विपत्ति आइपर्ने छैन, महामारीसमेत तिम्रो पाल नजिक आउने छैन।” (भजन ९१:९, १०, NW ) हो, यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ। तथापि, हामी सर्वोच्च परमेश्‍वरलाई “आफ्नो वासस्थान” पनि बनाउँछौं, जहाँ हामी सुरक्षित हुन्छौं। यहोवा सार्वभौम सत्ताधारी हुनुभएकोमा हामी उहाँको प्रशंसा गर्छौं र उहाँको राज्यको सुसमाचार घोषणा गर्छौं। (मत्ती २४:१४) त्यसकारण, “कुनै पनि विपत्ति” अर्थात्‌ यस भजनको सुरुमा वर्णन गरिएको एउटै पनि विपत्ति हामीमाथि “आइपर्ने छैन।” अरूसँगसँगै हामी पनि भुइँचालो, तुफान, बाढी, अनिकाल र युद्धको सिकार हुनु परे तापनि यी कुराहरूले हाम्रो विश्‍वास वा हाम्रो आध्यात्मिक सुरक्षालाई तोड्‌न सक्दैनन्‌।

१४. यहोवाको सेवक भएकोले हामी किन घातक महामारीको संक्रमणमा पर्दैनौं?

१४ अभिषिक्‍त मसीहीहरू यस रीतिरिवाजभन्दा टाढा पालमा बसिरहेका परदेशीहरू जस्तै हुन्‌। (१ पत्रुस २:११) ‘महामारीसमेत तिनीहरूको पाल नजिक आउँदैन।’ चाहे हाम्रो आशा स्वर्गीय होस्‌ वा पार्थिव, हामी यस संसारको भाग होइनौं र हामी संसारका अनैतिकता, भौतिकवाद, झूटो धर्म अनि “जानवर” र त्यसको “मूर्ति” संयुक्‍त राष्ट्र संघको उपासनाजस्ता आध्यात्मिक तवरमा घातक साबित हुने महामारीहरूबाट संक्रमित भएका छैनौं।—प्रकाश ९:२०, २१; १३:१-१८; यूहन्‍ना १७:१६.

१५. हामी कुन अर्थमा स्वर्गदूतीय मदत पाउँछौं?

१५ हामीले पाइरहेको सुरक्षाको सम्बन्धमा भजनरचयिता अझै यसो भन्छन्‌: “उहाँलेयहोवाले] आफ्ना दूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई कडा आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई आफ्ना हात माथि माथिनै उठाउनेछन्‌, नत्रता तिम्रा खुट्टाले ढुङ्‌गामा ठेस खानेछ।” (भजन ९१:११, १२) हाम्रो रक्षा गर्न स्वर्गदूतहरूलाई शक्‍ति दिइएको छ। (२ राजा ६:१७; भजन ३४:७-९; १०४:४; मत्ती २६:५३; लूका १:१९) तिनीहरूले हामीलाई ‘हाम्रा सबै मार्गमा’ रक्षा गर्छन्‌। (मत्ती १८:१०) परमेश्‍वरको राज्यको उद्‌घोषकको रूपमा हामी स्वर्गदूतको निर्देशन र संरक्षणको आनन्द उठाउँछौं र आध्यात्मिक तवरमा ठेस खाँदैनौं। (प्रकाश १४:६, ७) हाम्रो काम ठप्प बन्द गर्न लगाउने प्रतिबन्धजस्ता ‘ढुंगाले’ समेत हामीलाई ठेस लगाउन र परमेश्‍वरको अनुमोदन गुमाउने हदसम्म पुऱ्‍याउन सक्दैन।

१६. “जवान सिंह” र “सर्प”-ले गर्ने आक्रमण कसरी भिन्‍न छ र हामीले यसप्रति कस्तो प्रतिक्रिया व्यक्‍त गर्छौं?

१६ भजनरचयिता अझै यसो भन्छन्‌: “तिमीले सिंह र अजिङ्‌गरलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामनि लतार्नेछौ।” (भजन ९१:१३) जवान सिंहले अगाडिबाट हमला गरेजस्तै हाम्रा केही शत्रुहरूले पनि हाम्रो प्रचार कार्यलाई रोक्न कानुन पारित गरेर प्रत्यक्ष विरोध गर्छन्‌। यसबाहेक गोमन सर्पले जस्तो लुकेर हमला गर्नेहरू पनि छन्‌। कहिलेकाहीं पादरीहरूले विधायक, न्यायाधीश वा अरूको पछाडि लुकेर हामीमाथि अप्रत्यक्ष ढंगमा हमला गर्छन्‌। तर यहोवाको समर्थन पाएर हामी शान्तपूर्वक अदालतहरूमा समाधान खोज्छौं र यसरी “सुसमाचारको रक्षा र समर्थनको काम” गर्छौं।—फिलिप्पी १:७; भजन ९४:१४, २०-२२.

१७. हामी ‘जवान सिंहलाई’ कसरी कुल्चन्छौं?

१७ भजनरचयिता “जवान सिंह र सर्पलाई” कुल्चिमिल्ची गर्ने विषयमा बताउँछन्‌। जवान सिंह अत्यन्तै हिंस्रक स्वभावको हुनसक्छ र सर्प बडेमानको हुनसक्छ। (यशैया ३१:४) अगाडिबाट हमला गर्ने जवान सिंह जत्तिसुकै हिंस्रक देखिए तापनि परमेश्‍वरको आज्ञा पालन गरेर हामी त्यस्ता सिंहरूपी मानिसहरूलाई वा संगठनहरूलाई लाक्षणिक अर्थमा कुल्चन्छौं। (प्रेरित ५:२९) यसप्रकार डरलाग्दो सिंहले हामीलाई आध्यात्मिक तवरमा घाइते पार्नसक्दैन।

१८. ‘सर्पले’ हामीलाई कसको सम्झना गराउनसक्छ र त्यसको आक्रमणमा पऱ्‍यौं भने हामीले के गर्नु आवश्‍यक छ?

१८ युनानी सेप्टुआजिन्ट-मा ‘सर्पलाई’ “अजीङ्‌गर” भनिएको छ। यसले हामीलाई “अजीङ्‌गरजस्तै पशु . . . त्यो वृद्ध साँप, दियाबल र शैतान[को]” स्मरण गराउनसक्छ। (प्रकाश १२:७-९; उत्पत्ति ३:१५) त्यो आफ्नो सिकारलाई धूलोपीठो पारेर स्वात्तै निल्नसक्ने भयानक घस्रने जन्तुजस्तै छ। (यर्मिया ५१:३४) शैतानले हामीलाई आफ्नो गुँडुलोमा कस्न, यस संसारका दबाउहरूले किचिमिचि पार्न र निल्न खोज्दा यस ‘ठूलो सर्पको’ बन्धनबाट आफैलाई मुक्‍त पारौं र त्यसलाई कुल्चिमिल्ची गरौं। (१ पत्रुस ५:८) रोमी १६:२० को पूर्तिमा सहभागी हुने हो भने अभिषिक्‍त मसीहीहरूले त्यसो गर्नैपर्छ।

यहोवा—हाम्रो उद्धारको स्रोत

१९. हामी किन यहोवाको शरणमा पर्छौं?

१९ साँचो उपासकहरूको सम्बन्धमा भजनरचयिता परमेश्‍वरको प्रतिनिधित्व गर्दै यसो भन्छन्‌: “उनले मसित प्रेम गरेको हुनाले म उनलाई छुटाउनेछु, उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्च स्थानमा राख्नेछु।” (भजन ९१:१४) “म उनलाई छुटाउनेछु” भन्‍ने वाक्यांशको शाब्दिक अर्थ “म उनलाई उच्च स्थानमा राख्नेछु” हुन्छ अर्थात्‌ अरूले भेट्टाउन नसकिने ठाउँमा राख्नुहुन्छ। यहोवाको उपासकको हैसियतमा हामी उहाँको शरणमा पर्छौं, किनभने ‘हामीले उहाँसित प्रेम गरेका छौं।’ (मर्कूस १२:२९, ३०; १ यूहन्‍ना ४:१९) फलतः परमेश्‍वरले हामीलाई हाम्रा शत्रुहरूबाट ‘छुटाउनुहुन्छ।’ हामी पृथ्वीबाट कहिल्यै नामेट हुनेछैनौं। बरु, हामी जोगाइनेछौं किनकि हामीलाई ईश्‍वरीय नाउँ थाह छ र विश्‍वासी भई हामी त्यो नाउँ पुकार्छौं। (रोमी १०:११-१३) अनि हामीले ‘सदा सर्वदै यहोवाको नाउँमा हिंड्‌ने’ संकल्प गरेका छौं।—मीका ४:५; यशैया ४३:१०-१२.

२०. भजन अध्याय ९१ को अन्तमा यहोवा आफ्ना विश्‍वासी सेवकसित के गर्ने प्रतिज्ञा गर्नुहुन्छ?

२० भजन ९१ अध्यायको अन्तमा यहोवा आफ्ना विश्‍वासी सेवकबारे यसो भन्‍नुहुन्छ: “उनले मेरो पुकारा गर्नेछन्‌, र म उनलाई उत्तर दिनेछु, उनको दुःखमा म उनीसित हुनेछु, म उनलाई छुट्‌कारा दिनेछु, र आदर गर्नेछु। म उनलाई दीर्घायु बनाएर सन्तुष्ट तुल्याउनेछु, र मेरो उद्धार देखाउनेछु।” (भजन ९१:१५, १६) हामीले परमेश्‍वरलाई उहाँको इच्छाबमोजिम प्रार्थनाद्वारा पुकार्दा उहाँले हामीलाई जवाफ दिनुहुन्छ। (१ यूहन्‍ना ५:१३-१५) शैतानले उक्साएको वैरभावले गर्दा हामीले धेरै दुःख भोगिसकेका छौं। “उनको दुःखमा म उनीसित हुनेछु” भन्‍ने शब्दहरूले हामीलाई भावी परीक्षाहरूका लागि तयार पार्छ र यो दुष्ट रीतिरिवाज नाश हुँदा परमेश्‍वरले हामीलाई थाम्नुहुनेछ भनेर हामीलाई ढुक्क बनाउँछ।

२१. अभिषिक्‍त जनहरू कसरी महिमित भइसके?

२१ शैतानको क्रूर विरोधको बावजूद हामीमाझ भएका अभिषिक्‍त जनहरूको पूर्ण समूहले पृथ्वीमा बिताएको ‘लामो समयपछि’ यहोवाले तोक्नुभएको समयमा स्वर्गमा महिमा पाउनेछन्‌। यद्यपि, यहोवाले गर्नुभएका उल्लेखनीय छुटकाराहरूले गर्दा अभिषिक्‍त जनहरू अहिले नै आध्यात्मिक अर्थमा महिमित भइसकेका छन्‌। अनि यहोवाका साक्षीहरूको हैसियतमा यस पृथ्वीमा यी आखिरी दिनहरूको दौडान नेतृत्व लिन पाउनु तिनीहरूको निम्ति एकदमै सम्मानको कुरा हो! (यशैया ४३:१०-१२) यहोवाले आफ्ना जनहरूलाई दिनुहुने सबैभन्दा ठूलो छुटकारा त आरमागेडोनको ठूलो युद्धको बेला उहाँले आफ्नो सार्वभौमिकता उच्च पार्नुहुँदा अनि आफ्नो नाउँ पवित्र गर्नुहुँदा हुनेछ।—भजन ८३:१८; इजकिएल ३८:२३; प्रकाश १६:१४, १६.

२२. कसले ‘यहोवाले गर्नुहुने उद्धार देख्नेछन्‌’?

२२ चाहे हामी अभिषिक्‍त मसीहीहरू होऔं वा तिनीहरूका समर्पित मित्र, यहोवाले नै हाम्रो उद्धार गर्नुहुन्छ भनेर हामी आशा गर्छौं। “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन[मा]” वफादार भई यहोवा परमेश्‍वरको सेवा गर्नेहरू जोगाइनेछन्‌। (योएल २:३०-३२) परमेश्‍वरको नयाँ संसारमा जीवितै पुग्ने हामी ‘ठूलो भीडका’ सदस्यहरूचाहिं अन्तिम परीक्षाको बेलासमेत विश्‍वासी भइरह्‍यौं भने, हामीलाई ‘उहाँले दीर्घायु बनाउनुहुनेछ’ अर्थात्‌ हाम्रो जीवनको कुनै अन्त हुनेछैन। उहाँले लाखौंको पुनरुत्थान पनि गर्नुहुनेछ। (प्रकाश ७:९; २०:७-१५) येशू ख्रीष्टमार्फत हामीलाई ‘उहाँको उद्धार देखाउन’ यहोवा पक्कै पनि अत्यन्तै प्रसन्‍न हुनुहुनेछ। (भजन ३:८) हामीसामु यस्तो महान्‌ प्रत्याशा भएकोले उहाँको प्रशंसा गर्दै हामी आफ्नो दिन गन्‍न परमेश्‍वरसित मदत मागिरहौं। हाम्रो बोलीवचन तथा कामकुराबाट समेत यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ भनेर हामी निरन्तर प्रमाणित गरिरहन सकौं।

[फुटनोट]

a मसीही युनानी धर्मशास्त्रका लेखकहरूले भजन ९१ लाई मसीहसित सम्बन्धित भविष्यवाणीको रूपमा लिएनन्‌। हो, यहोवा येशू ख्रीष्टको निम्ति शरणस्थान र किल्ला हुनुभएझैं यस “अन्तको समय[मा]” समूहको रूपमा येशूका अभिषिक्‍त चेलाहरू र तिनीहरूका समर्पित मित्रहरूका लागि पनि उहाँ शरणस्थान र किल्ला हुनुहुन्छ।—दानियल १२:४.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• “परम प्रधानको गुप्त ठाउँ” के हो?

• हामी किन डराउँदैनौं?

• कसरी ‘हामीमाथि कुनै पनि विपत्ति आइपर्ने छैन’?

• यहोवा हाम्रो उद्धारको स्रोत हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

यहोवाको सत्यता हामीलाई बचाउने ठूलो ढाल जस्तै हो भन्‍ने कुरा के तपाईंलाई थाह छ?

[पृष्ठ १८-मा भएको चित्र]

अप्रत्याशित आक्रमणहरू र प्रत्यक्ष विरोधका बावजूद यहोवाले आफ्ना सेवकहरूलाई तिनीहरूको सेवकाई पूरा गर्न मदत गर्नुहुन्छ

[स्रोत]

Cobra: A. N. Jagannatha Rao, Trustee, Madras Snake Park Trust ▼