सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन

विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन

सिद्ध र पूरा निश्‍चय भएका होओ

विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन

बाह्र वर्ष, ३ महिना अनि ११ दिनको अथक प्रयासपछि यो काम पूरा भयो। तथापि, नयाँ बाइबल अनुवादको अन्तिम भाग अनुवाद गर्ने कामचाहिं मार्च १३, १९६० मा पूरा भयो। यसलाई न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स (पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद) भन्‍ने नाउँ दिइयो।

यसको एक वर्षपछि, यहोवाका साक्षीहरूले उक्‍त अनुवाद एउटा खण्डको रूपमा प्रकाशित गरे। सन्‌ १९६१ मा यस संस्करणको दस लाख प्रति छापियो। आज यो दस करोडभन्दा बढी छापिसक्यो र यसरी न्यु वर्ल्ड ट्रान्सलेशन विस्तृत रूपमा वितरित बाइबलमध्ये एक भएको छ। तथापि, यसरी बाइबल अनुवाद गर्न यहोवाका साक्षीहरूलाई केले प्रेरित गऱ्‍यो?

बाइबलको नयाँ अनुवाद—किन?

पवित्र धर्मशास्त्रको सन्देशलाई बुझ्न र घोषणा गर्न यहोवाका साक्षीहरूले विगतमा विभिन्‍न अंग्रेजी बाइबलका थुप्रै संस्करण प्रयोग गरेका छन्‌। यी संस्करणहरूका राम्रा पक्षहरू भए तापनि अक्सर धार्मिक परम्परा र मसीहीजगत्‌का धार्मिक विश्‍वासद्वारा प्रभावित भएको पाइन्छ। (मत्ती १५:६) त्यसकारण, यहोवाका साक्षीहरूले प्रेरित लेखोटको मूल प्रतिमा भएको विचार विशुद्ध किसिमले अनुवाद गर्नुपर्ने आवश्‍यकतालाई बुझे।

यस आवश्‍यकतालाई पूरा गर्ने पहिलो कदम १९४६ को अक्टोबरमा चालियो। त्यतिखेर यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य, नेथन. एच. नोरले नयाँ बाइबल अनुवाद निकाल्ने प्रस्ताव राखे। डिसेम्बर २, १९४७ मा मूल ग्रन्थसित दुरुस्त मिल्ने, हालै भेट्‌टाइएका बाइबल हस्तलिपिहरूको अध्ययनबाट संकलन गरिएका जानकारीहरू पनि समावेश गर्ने र वर्तमान पाठकहरूले सजिलै बुझ्न सक्ने भाषामा बाइबल अनुवाद तयार पार्न न्यु वर्ल्ड बाइबल ट्रान्सलेशन समिति गठन गरियो।

सन्‌ १९५० मा पहिलो खण्ड अर्थात्‌ न्यु वर्ल्ड ट्रान्सलेशन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स (मसीही युनानी धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद) प्रकाशित हुँदा अनुवादकहरूले आफ्नो लक्ष्य प्राप्त गरेको प्रस्टै देखियो। पहिले-पहिले स्पष्टसित नबुझिएका बाइबल पदहरू अब छर्लंग बुझिने भए। उदाहरणका लागि, पहिला त्यति राम्ररी नबुझिएको बाइबल पद, मत्ती ५:३ को “धन्य आत्मामा दरिद्र हुनेहरू” पदलाई विचार गर्नुहोस्‌। उक्‍त पदलाई यसरी अनुवाद गरियो: “आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू आनन्दित हुन्छन्‌।” मत्ती २४:३ मा प्रयोग गरिएको “आगमन” शब्दलाई “उपस्थिति” भनेर अनुवाद गरिएको छ भने १ तिमोथी ३:१६ मा प्रयोग गरिएको “भक्‍तिको रहस्य[लाई]” “ईश्‍वरीय भक्‍तिको पवित्र रहस्य” भनेर अनुवाद गरिएको छ। स्पष्टतः न्यु वर्ल्ड ट्रान्सलेशन-ले बाइबल बुझ्ने सन्दर्भमा नयाँ आयाम थपिदियो।

यसबाट थुप्रै विद्वान्‌ प्रभावित भए। उदाहरणका लागि, न्यु वर्ल्ड ट्रान्सलेशन-ले युनानी भाषाको वर्तमान काललाई दुरुस्तै उतार्नु उल्लेखनीय छ भनी बेलाइती बाइबलविद्‌ आलेक्सजेन्डर थम्सनले टिप्पणी गरे। उदाहरणका लागि, एफिसी ५:२५ मा “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर” मात्र भन्‍नुको सट्टा न्यु वर्ल्ड ट्रान्सलेशन-मा यस्तो लेखिएको पाउँछौं: “पतिहरू हो, आफ्ना पत्नीलाई निरन्तर माया गरिरह।” “यस उल्लेखनीय पक्षलाई अन्य कुनै पनि अनुवादले विशेष जोड दिएर उल्लेख गरेका छन्‌ जस्तो देखिंदैन” भनी न्यु वर्ल्ड ट्रान्सलेशन-बारे थम्सनले बताए।

परमेश्‍वरको व्यक्‍तिगत नाउँ, यहोवालाई धर्मशास्त्रका दुवै खण्ड, हिब्रू तथा युनानीमा प्रयोग गर्नु न्यु वर्ल्ड ट्रान्सलेशन-को अर्को उल्लेखनीय पक्ष हो। पुरानो नियम भनिने खण्डमा परमेश्‍वरको हिब्रू नाउँ झन्डै ७,००० पटकभन्दा धेरै चोटि प्रयोग हुनुले सृष्टिकर्ता आफ्ना उपासकहरूले उहाँको नाउँ प्रयोग गरेको र उहाँलाई एक व्यक्‍तिको रूपमा चिनेको चाहनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। (प्रस्थान ३४:६, ७) न्यु वर्ल्ड ट्रान्सलेशन-ले लाखौं मानिसहरूलाई त्यसै गर्न मदत गरेको छ।

न्यु वर्ल्ड ट्रान्सलेशन थुप्रै भाषामा छापिन्छ

अंग्रेजी भाषामा मुद्रण हुन थालेदेखि नै विश्‍वभरिका यहोवाका साक्षीहरूले न्यु वर्ल्ड ट्रान्सलेशन आफ्नै मातृभाषामा होस्‌ भन्‍ने चाहेका छन्‌ र यस्तो चाहना राख्नुको जायज कारण पनि छ। कुनै-कुनै देशमा स्थानीय भाषाको बाइबल भेट्टाउन निकै गाह्रो हुन्छ। कारण, आफूले वितरण गरिरहेका धेरैजसो बाइबल यहोवाका साक्षीहरूको हातमा पर्ने भएकोले बाइबल सोसाइटीका प्रतिनिधिहरू अप्रसन्‍न छन्‌। यसबाहेक, यस्ता स्थानीय भाषाका बाइबलहरूमा अक्सर आधारभूत शिक्षाहरू नै लुकाइएका हुन्छन्‌। यसको विशिष्ट उदाहरणस्वरूप दक्षिण युरोपेली भाषाको बाइबललाई लिन सकिन्छ। उक्‍त भाषाको बाइबलमा येशूले “तपाईंको नाउँ पवित्र गरिओस्‌” भनेर परमेश्‍वरको नाउँलाई औंल्याउनुको सट्टा “मानिसहरूले तपाईंको आदर गरून्‌” भनी अनुवाद गरिएको छ।—मत्ती ६:९.

सन्‌ १९६१ देखि नै अनुवादकहरूले न्यु वर्ल्ड ट्रान्सलेशन-को अंग्रेजी संस्करणलाई अन्य भाषाहरूमा अनुवाद गर्न थालिसकेका थिए। दुई वर्षभित्रमै थप छवटा भाषाहरूमा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स अनुवाद गर्ने काम पूरा भयो। त्यस बेलासम्ममा विश्‍वभरिका प्रत्येक ४ साक्षीमा ३ जनाले आफ्नै भाषामा बाइबल पढ्‌न पाइसकेका थिए। तथापि, यहोवाका साक्षीहरूले अझै लाखौं मानिसहरूसम्म बाइबल पुऱ्‍याउने हो भने थुप्रै काम गर्नु बाँकी नै थियो।

सन्‌ १९८९ मा यहोवाका साक्षीहरूको मुख्यालयमा ट्रान्सलेशन सर्भिसेज स्थापित भएपछि यो लक्ष्य हासिल गर्न सजिलो हुने सम्भावना देखियो। यस विभागले कम्प्युटर प्रविधिको मदतले बाइबलका शब्दहरूको अध्ययन र अनुवाद गर्ने विधिको विकास गऱ्‍यो। यस प्रणालीले गर्दा मसीही युनानी धर्मशास्त्रलाई एक वर्षमा र हिब्रू धर्मशास्त्रलाई दुई वर्षमा अन्य भाषाहरूमा पनि अनुवाद गर्न सम्भव भएको छ। यो समय सामान्यतया बाइबल अनुवाद गर्न लाग्ने समयको तुलनामा ज्यादै कम छ। यो विधि विकास भएदेखि अंग्रेजी भाषाबाट न्यु वर्ल्ड ट्रान्सलेशन-को २९ वटा संस्करण अनुवाद भएको छ भने दुई अरबभन्दा बढी मानिसहरूले बोल्ने भाषामा विमोचित भइसकेको छ। अहिले १२ वटा भाषामा काम भइरहेको छ। अहिलेसम्ममा न्यु वर्ल्ड ट्रान्सलेशन पूर्ण वा आंशिक रूपमा अन्य ४१ भाषामा अनुवाद भइसकेको छ।

अगस्त ३, १९५० मा, न्यु योर्क शहरमा आयोजित यहोवाका साक्षीहरूको थियोक्रेसीस इन्क्रिज सम्मेलनमा न्यु वर्ल्ड ट्रान्सलेशन-को पहिलो भाग विमोचन भएको अहिले ५० वर्षभन्दा बढी भइसक्यो। त्यतिखेर नेथन एच. नोरले अधिवेशनमा उपस्थित सबैलाई यस्तो आग्रह गरेका थिए: “यो अनुवाद लिनुहोस्‌। खुसीसाथ सुरुदेखि अन्तसम्मै पढ्‌नुहोस्‌। अध्ययन गर्नुहोस्‌, किनकि यसो गर्दा तपाईंहरूले परमेश्‍वरको वचनलाई अझ राम्ररी बुझ्न सक्नुहुनेछ। अनि अरूलाई पनि यो पुस्तक दिनुहोस्‌।” हामी तपाईंलाई दिनहुँ बाइबल पढ्‌न प्रोत्साहन दिन्छौं, किनकि यसमा भएको सन्देशले तपाईंलाई “सिद्ध र पूरा निश्‍चय भएका” हुन मदत गर्नसक्छ।—कलस्सी ४:१२.

[पृष्ठ ८, ९-मा भएको ग्राफ/चित्रहरू]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

न्यु वर्ल्ड ट्रान्सलेशन विमोचित हुन्छ”

सुरुमा अंग्रेजीमा विमोचित यो न्यु वर्ल्ड ट्रान्सलेशन अहिले ४१ वटा थप भाषामा पूर्ण वा आंशिक रूपमा उपलब्ध छ

मसीही युनानी धर्मशास्त्र सम्पूर्ण बाइबल

१९५०

१९६०-६९ ६ ५

१९७०-७९ ४ २

१९८०-८९ २ २

१९९०-हाल २९ १९