सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌

तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌

तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌

“मेरो डर मान्‍ने र मेरा सबै कुरा पालन गर्ने तिमीहरूका हृदय भएता हुनेथियो!”—व्यवस्था ५:२९.

१. एक दिन मानिसहरू डरबाट मुक्‍त हुनेछन्‌ भनी हामी कसरी ढुक्क हुनसक्छौं?

 मानिसहरू डरै-डरमा बाँचेको शताब्दीयौं भइसक्यो। भोकमरी, रोग, अपराध वा युद्धको डरले लाखौं मानिसहरूलाई चिन्तित तुल्याउँछ। यसैकारण त मानवअधिकारसम्बन्धी विश्‍वव्यापी घोषणापत्रको सुरुमै सबै मानिसजाति डरबाट मुक्‍त हुने संसार सृजना गर्ने इच्छा व्यक्‍त गरिएको छ। a खुसीको कुरा, स्वयम्‌ परमेश्‍वरले त्यस्तो संसार आउनेछ भनी आश्‍वासन दिनुभएको छ तर मानिसहरूको प्रयासबाट होइन। नयाँ धार्मिक संसारमा ‘कसैले डर देखाउने’ छैनन्‌ भनी यहोवाले अगमवक्‍ता मीकामार्फत प्रतिज्ञा गर्नुभएको छ।—मीका ४:४.

२. (क) धर्मशास्त्रले परमेश्‍वरको भय मान्‍न कसरी आग्रह गरेको छ? (ख) परमेश्‍वरको भय मान्‍नुपर्ने हाम्रो दायित्वलाई विचार गर्दा कस्ता प्रश्‍नहरू उठ्‌नसक्छन्‌?

अर्कोतर्फ, भयले सकारात्मक प्रभाव पनि पार्नसक्छ। धर्मशास्त्रमा परमेश्‍वरका सेवकहरूलाई बारम्बार यहोवाको भय मान्‍न आग्रह गरिएको छ। मोशाले इस्राएलीहरूलाई यसो भने: “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरकै डर मान्‍नू, उहाँकै सेवा गर्नू।” (व्यवस्था ६:१३) शताब्दीयौंपछि सुलेमानले यस्तो लेखे: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक १२:१३) स्वर्गदूतहरूको निरीक्षणमा गरिएको हाम्रो साक्षी कार्यमार्फत हामी पनि सबै मानिसलाई “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ” भनी आग्रह गर्छौं। (प्रकाश १४:६, ७) मसीहीहरूले यहोवाको भय मान्‍नुका साथै आफ्नो सारा हृदयले उहाँलाई प्रेम गर्नुपर्छ। (मत्ती २२:३७, ३८) हामी कसरी परमेश्‍वरलाई प्रेम गर्नुका साथै उहाँको भय पनि मान्‍नसक्छौं? मायालु परमेश्‍वरको भय मान्‍नु किन आवश्‍यक छ? ईश्‍वरीय भय विकास गर्दा हामीले के-कस्ता लाभहरू पाउँछौं? यी प्रश्‍नहरूको जवाफ पाउन हामीले सबैभन्दा पहिला परमेश्‍वरको भय मान्‍नुको अर्थ के हो र कसरी यसप्रकारको भयले यहोवासँगको हाम्रो सम्बन्धमा महत्त्वपूर्ण भूमिका खेल्छ, त्यो बुझ्नुपर्छ।

विस्मय, श्रद्धा र भय

३. परमेश्‍वरप्रतिको भयको अर्थ के हो?

आफ्नो रचयिताप्रति हुनुपर्ने मसीहीहरूको भाव, परमेश्‍वरप्रतिको भय हो। यस भयको एउटा परिभाषा “सृष्टिकर्ताप्रतिको विस्मय अनि गहिरो श्रद्धा तथा उहाँलाई अप्रसन्‍न तुल्याउने स्वास्थ्यकर त्रास हो।” तसर्थ, परमेश्‍वरप्रतिको भयले हाम्रो जीवनका दुई महत्त्वपूर्ण पक्षलाई असर गर्छ: परमेश्‍वरप्रतिको हाम्रो मनोवृत्ति र उहाँले घृणा गर्नुहुने आचरणप्रतिको हाम्रो मनोवृत्ति। निस्सन्देह, यी दुवै पक्ष निर्णायक र विचारणीय छन्‌। भाइनको एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस-ले औंल्याएअनुसार यो श्रद्धेय भयले मसीहीहरूको जीवनका ‘आध्यात्मिक तथा नैतिक दुवै पक्षमा सही निर्देशन प्रदान गर्छ।’

४. सृष्टिकर्ताप्रति हामी कसरी विस्मय र श्रद्धाको भाव विकास गर्नसक्छौं?

हामी कसरी सृष्टिकर्ताप्रति विस्मय र श्रद्धाको भाव खेती गर्नसक्छौं? सुन्दर दृश्‍य, मनमोहक झरना वा सानदार सूर्यास्त देख्दा हामी विस्मित हुन्छौं। विश्‍वासको आँखाले हेर्दा हामी त्यस्तो सृजनशील कार्यपछाडि परमेश्‍वरको हात छ भनी बुझ्छौं अनि झनै विस्मित हुन्छौं। यसबाहेक, राजा दाऊदले जस्तै परमेश्‍वरको उदेकलाग्दो सृष्टिको तुलनामा हामी कत्ति तुच्छ छौं भनी बुझ्छौं। “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईंले नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ?” (भजन ८:३, ४) यस्तो गहिरो विस्मयले गर्दा हामी श्रद्धा महसुस गर्छौं र यसले हामीलाई यहोवाले हाम्रोलागि गर्नुभएका सबै कामहरूका निम्ति उहाँलाई धन्यवाद र प्रशंसा गर्न उत्प्रेरित गर्छ। दाऊदले यस्तो पनि लेखे: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजन १३९:१४.

५. हामीले किन यहोवाको भय मान्‍नुपार्छ र यस सन्दर्भमा हामी कस्तो राम्रो उदाहरण पाउँछौं?

विस्मय र श्रद्धाको भावले सृष्टिकर्ताको रूपमा परमेश्‍वरको शक्‍तिप्रति र उहाँ ब्रह्‍माण्डको शासक हुनुहुन्छ भनी लाभदायक तथा आदरपूर्ण भय विकास गर्छ। प्रेरित यूहन्‍नाले देखेको दर्शनमा “त्यस जानवरमाथि, त्यसको मूर्तिमाथि . . . विजयी” भएकाहरू अर्थात्‌ स्वर्गीय आशा भएका ख्रीष्टका अभिषिक्‍त अनुयायीहरू यस्तो उद्‌घोषणा गर्छन्‌, “हे परमप्रभु, परमेश्‍वर सर्वशक्‍तिमान, तपाईंका काम ठूला र आश्‍चर्यपूर्ण छन्‌। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्‌। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन?” (प्रकाश १५:२-४) उहाँको वैभवप्रतिको गहिरो श्रद्धाले गर्दा उत्पन्‍न हुने परमेश्‍वरको भयले स्वर्गीय राज्यमा ख्रीष्टका सहशासकहरूलाई परमेश्‍वर नै सर्वोच्च अख्तियार हुनुहुन्छ भनी आदर गर्न उत्प्रेरित गर्छ। यहोवाले गर्नुभएका सबै काम अनि उहाँले शासन गर्ने धार्मिक तौरतरिकाहरूबारे विचार गर्दा के हामी उहाँको भय मान्‍नुपर्ने यथेष्ट कारण पाउँदैनौं र?—भजन २:११; यर्मिया १०:७.

६. यहोवालाई अप्रसन्‍न तुल्याउन नपरोस्‌ भन्‍ने स्वास्थ्यकर भय हामीमा किन हुनुपर्छ?

तथापि, विस्मय र श्रद्धाबाहेक परमेश्‍वरप्रतिको भयमा उहाँलाई अप्रसन्‍न तुल्याउन नपरोस्‌ वा उहाँप्रति अनाज्ञाकारी हुन नपरोस्‌ भन्‍ने स्वास्थ्यकर भय पनि समावेश हुनुपर्छ। किन? किनभने यहोवा “रीस गर्नमा ढीलो, र कृपा[मा] . . . प्रशस्त हुनुहुन्छ” तर उहाँले ‘दोषीलाई कुनै किसिमले पनि निर्दोष ठहऱ्‍याउन हुन्‍न’ भन्‍ने कुरा हामीले बिर्सनुहुँदैन। (प्रस्थान ३४:६, ७) यहोवा मायालु अनि कृपालु हुनु भए तापनि उहाँ अधार्मिकता र जानाजानी गल्ती गर्नेहरूलाई सहनुहुन्‍न। (भजन ५:४, ५; हबकूक १:१३) यहोवाको नजरमा जे खराब छ त्यही कुरा जानाजानी गर्ने र पश्‍चात्ताप पनि नगर्ने तथा उहाँको विरुद्धमा खडा हुने व्यक्‍तिहरू सजायबाट उम्कन सक्दैनन्‌। प्रेरित पावलले भनेझैं “जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरो हो।” यस्तो परिस्थितिमा फसिएला भन्‍ने स्वास्थ्यकर भय हुनु वास्तवमा हाम्रैलागि सुरक्षा हो।—हिब्रू १०:३१.

“उहाँमैं लीन भइरहनू”

७. यहोवाको बचाउने शक्‍तिमा विश्‍वास गर्न हामीसित कस्ता कारणहरू छन्‌?

परमेश्‍वरप्रतिको श्रद्धेय भय र उहाँको विस्मयकारी शक्‍तिबारे सजग हुनु भनेको यहोवामा विश्‍वास र भरोसाको सुरुआत हुनु हो। जसरी एक जना बच्चाले बुबा आफ्नो साथमा हुँदा सुरक्षित महसुस गर्छ, त्यसै गरी हामी पनि यहोवाको डोऱ्‍याइ पाउँदा सुरक्षित र ढुक्क महसुस गर्छौं। यहोवाले इस्राएलीहरूलाई मिश्रबाट मुक्‍त गर्नुभएपछि तिनीहरूले कस्तो प्रतिक्रिया देखाए याद गर्नुहोस्‌: “परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम इस्राएलले देखे, र मानिसहरूले परमप्रभुको भय माने। औ मानिसहरूले परमप्रभु[माथि] . . . विश्‍वास गरे।” (प्रस्थान १४:३१) एलीशाको अनुभवले पनि “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌, र तिनीहरूलाई छुटकारा दिन्छन्‌” भनी प्रमाण दिन्छ। (भजन ३४:७; २ राजा ६:१५-१७) यहोवाका जनहरूको आधुनिक इतिहास र सम्भवतः हाम्रो आफ्नै व्यक्‍तिगत अनुभवले पनि परमेश्‍वरले आफ्ना सेवकहरूको खातिर आफ्नो शक्‍ति प्रयोग गर्नुहुन्छ भन्‍ने प्रमाण पाउँछौं। (२ इतिहास १६:९) यसप्रकार, हामी “परमप्रभुको भयमाथि भरोसा गर्ने बलियो . . . हुनेछ” भनी मूल्यांकन गर्नसक्ने छौं।—हितोपदेश १४:२६.

८. (क) परमेश्‍वरप्रतिको भयले हामीलाई किन उहाँको मार्गमा हिंड्‌न उत्प्रेरित गर्छ? (ख) हामी कसरी यहोवामा “लीन” हुनुपर्छ, व्याख्या गर्नुहोस्‌।

परमेश्‍वरप्रतिको स्वास्थ्यकर भयले उहाँमाथिको विश्‍वास र भरोसा मात्र बढाउँदैन तर उहाँको मार्गमा हिंड्‌न पनि उत्प्रेरित गर्छ। सुलेमानले मन्दिर उद्‌घाटन गर्दा यहोवालाई यसरी प्रार्थना गरे: “हाम्रा पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले आफ्नो जीवनभरिनै तपाईंको भय मानेर आज्ञा पालन गर्नेछन्‌।” (२ इतिहास ६:३१) त्यसअघि मोशाले इस्राएलीहरूलाई यस्तो आग्रह गरेका थिए: “तिमीहरू चाहिं परमप्रभु आफ्ना परमेश्‍वरका मार्गमा हिंड़नू, उहाँको डर मान्‍नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्‍नू, उहाँको सेवा गर्नू औ उहाँमैं लीन भइरहनू।” (व्यवस्था १३:४) यी पदहरूले स्पष्टसित देखाएझैं परमेश्‍वरको मार्गमा हिंड्‌ने र उहाँमै “लीन” भइरहने चाहना परमेश्‍वरमाथिको भरोसा र विश्‍वासबाट उत्पन्‍न हुन्छ। हो, सानो बच्चाले आफ्नो बुबामाथि पूरा भरोसा र विश्‍वास राखेझैं ईश्‍वरीय भयले हामीलाई यहोवाको आज्ञा पालन गर्न, उहाँको सेवा गर्न, उहाँमा लीन हुन मदत गर्छ।—भजन ६३:८; यशैया ४१:१३.

परमेश्‍वरलाई प्रेम गर्नु भनेको उहाँको भय मान्‍नु हो

९. परमेश्‍वरप्रतिको प्रेम र परमेश्‍वरप्रतिको भयबीच कस्तो सम्बन्ध छ?

धर्मशास्त्रीय दृष्टिकोणअनुसार, परमेश्‍वरप्रति भय मान्दा कुनै पनि तरिकाले उहाँलाई प्रेम गर्नदेखि रोक्दैन। त्यसको ठीक विपरीत, इस्राएलीहरूलाई “परमप्रभुको डर मान, उहाँका सबै मार्गमा हिंड़, उहाँलाई प्रेम गर” भनी निर्देशन दिइएको थियो। (व्यवस्था १०:१२) अतः परमेश्‍वरको भय र उहाँप्रतिको प्रेमको नजिकको सम्बन्ध छ। परमेश्‍वरप्रतिको भयले हामीलाई उहाँको मार्गमा हिंड्‌न उत्प्रेरित गर्छ र यसले उहाँप्रति हाम्रो प्रेमको प्रमाण दिन्छ। (१ यूहन्‍ना ५:३) यो कुरा तार्किक छ किनभने हामी आफूले प्रेम गर्ने मानिसलाई चित्त दुखाउन डराउँछौं। उजाडस्थानमा इस्राएलीहरूले आफ्नो विद्रोही मार्गद्वारा यहोवाको चित्त दुखाए। निश्‍चय पनि, हामी हाम्रो स्वर्गमा हुनुहुने पितालाई दुःखित तुल्याउने त्यस्तो कुनै काम गर्न चाहँदैनौं। (भजन ७८:४०, ४१) अर्कोतर्फ, “उहाँसँग डराउनेहरूसित . . . परमप्रभु खुशी” हुनुहुने भएकोले हाम्रो आज्ञाकारिता र वफादारिताले उहाँको हृदयलाई प्रसन्‍न तुल्याउँछ। (भजन १४७:११; हितोपदेश २७:११) परमेश्‍वरप्रतिको प्रेमले हामीलाई उहाँलाई आनन्दित तुल्याउन उत्प्रेरित गर्छ र परमेश्‍वरप्रतिको भयले उहाँलाई चित्त दुखाउनदेखि रोक्छ। यी एकअर्काका पूरक गुण हुन्‌, विपरीत होइन।

१०. यहोवाको भय मान्दा आफू आनन्दित भएको कुरा येशूले कसरी देखाउनुभयो?

१० येशू ख्रीष्टको जीवनपद्धतिले हामी कसरी परमे-श्‍वरलाई प्रेम गर्नुका साथै उहाँको भय मान्‍नसक्छौं भनी स्पष्ट पार्छ। येशूबारे अगमवक्‍ता यशैयाले यस्तो लेखे: “परमप्रभुको आत्मा उहाँमा रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्‍तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको श्रद्धाको आत्मा। औ परमप्रभुको भयमानै उहाँको आनन्द हुनेछ।” (यशैया ११:२, ३) यस भविष्यवाणीअनुसार परमेश्‍वरको आत्माले येशूलाई आफ्नो स्वर्गमा हुनुहुने पिताको भय मान्‍न उत्प्रेरित गऱ्‍यो। यसबाहेक, यो भय बोझिलो हुनुको साटो सन्तोषजनक थियो भनी हामी थाह पाउँछौं। अत्यन्तै कठिन परिस्थितिमा समेत परमेश्‍वरको इच्छाअनुसार गर्न र उहाँलाई प्रसन्‍न तुल्याउन येशू आनन्दित हुनुभयो। शूलीमा मृत्युको सामना गर्नुपर्दा उहाँले यहोवालाई यसो भन्‍नुभयो: “मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छा बमोजिम होस्‌।” (मत्ती २६:३९) यस ईश्‍वरीय भयको कारण यहोवाले आफ्नो पुत्रको बिन्ती सुन्‍नुभयो, उहाँलाई बल दिनुभयो र उहाँलाई मृत्युबाट बचाउनुभयो।—हिब्रू ५:७.

यहोवाको भय मान्‍न सिक्ने

११, १२. (क) हामीले किन यहोवाको भय मान्‍न सिक्नैपर्छ? (ख) यहोवाको भय मान्‍न हामीलाई येशूले कसरी सिकाउनुहुन्छ?

११ प्रकृतिको शक्‍ति र वैभवता देख्दा हामी स्वतः विस्मित हुन्छौं तर परमेश्‍वरप्रतिको भय स्वतः उत्पन्‍न हुँदैन। त्यसैकारण महान्‌ दाऊद, येशू ख्रीष्टले भविष्यसूचक ढंगमा हामीलाई यस्तो निमन्त्रणा दिनुहुन्छ: “आऊ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको डर मान्‍न सिकाउनेछु।” (भजन ३४:११) परमेश्‍वरको भय मान्‍न हामी येशूबाट कसरी सिक्नसक्छौं?

१२ हाम्रो स्वर्गमा हुनुहुने पिताको अद्‌भुत व्यक्‍तित्व बुझ्न हामीलाई मदत गर्नुभएर येशूले हामीलाई परमेश्‍वरको भय मान्‍न सिकाउनुहुन्छ। (यूहन्‍ना १:१८) स्वयम्‌ येशूको उदाहरणले परमेश्‍वरको सोचाइ र उहाँले अरूसित गर्नुहुने व्यवहार प्रकाश पार्छ किनभने येशूले आफ्नो पिताको व्यक्‍तित्व दुरुस्त गरी झल्काउनुहुन्छ। (यूहन्‍ना १४:९, १०) यसबाहेक, येशूको बलिदानमार्फत हामी आफ्नो पापको क्षमाको निम्ति यहोवालाई प्रार्थनामा पुकार्नसक्छौं। परमेश्‍वरको कृपाको यो उल्लेखनीय अभिव्यक्‍ति नै उहाँको भय मान्‍ने सशक्‍त कारण हो। भजनरचयिताले यस्तो लेखे: “तपाईंको डर मान्‍न तपाईंसित क्षमा पनि छ।”—भजन १३०:४.

१३. हितोपदेशको पुस्तकमा औंल्याएको कस्ता कदमहरूले हामीलाई यहोवाको भय मान्‍न सिकाउँछ?

१३ हितोपदेशको पुस्तकले ईश्‍वरीय भय विकास गर्न हामीले क्रमबद्ध ढंगमा चाल्नुपर्ने कदमहरूबारे बताएको छ। “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्‍तिमा लगाइस्‌ भने, तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌। . . . तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।” (हितोपदेश २:१-५) अतः परमेश्‍वरको भय मान्‍न हामीले उहाँको वचन अध्ययन गर्नुपर्छ, यसका निर्देशनहरू निष्कपटसाथ बुझ्ने प्रयास गर्नुपर्छ र यसका सल्लाहहरूलाई गम्भीरतासाथ ध्यान दिनुपर्छ।

१४. इस्राएलका राजाहरूलाई दिइएको सल्लाह हामी कसरी पालन गर्नसक्छौं?

१४ पुरातन इस्राएलका सबै राजाहरूलाई व्यवस्थाको प्रति बनाउन आज्ञा दिइएको थियो र ‘आफ्नो जीवनभरि त्यो पढ्‌न र परमप्रभु आफ्ना परमेश्‍वरको डर मान्‍न सिक्नुपर्ने’ थियो। (व्यवस्था १७:१८, १९) हामीले यहोवाको भय मान्‍न सिक्ने हो भने बाइबल पढाइ र अध्ययन अत्यावश्‍यक छन्‌। आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू लागू गर्दै जाँदा बिस्तारै हामी ईश्‍वरीय बुद्धि र ज्ञान हासिल गर्छौं। यसले गर्दा हाम्रो जीवनमा हुने सकारात्मक नतिजाहरू देखेपछि हामीले ‘परमप्रभुको भय बुझ्नेछौं’ र परमेश्‍वरसँगको सम्बन्धलाई कदर गर्नेछौं। यसबाहेक, सँगी विश्‍वासीहरूसित नियमित तवरमा भेला हुँदा जवान तथा वृद्ध दुवैले ईश्‍वरीय शिक्षा सुन्‍नसक्छन्‌, परमेश्‍वरको भय मान्‍न सिक्नसक्छन्‌ र उहाँको मार्गमा हिंड्‌नसक्छन्‌।—व्यवस्था ३१:१२.

परमप्रभुदेखि डराउने सबै धन्यको हो

१५. कुन-कुन तरिकामा परमेश्‍वरको भय उहाँको उपासनासित सम्बन्धित छ?

१५ अहिलेसम्मको छलफलबाट हामीले परमेश्‍वरको भय यहोवाको उपासनाको आधारभूत भाग हो भनी थाह पाइसकेको कारण हामी सबैले यो लाभदायी मनोभाव खेती गर्नुपर्छ। यसले हामीलाई उहाँमा पूर्ण भरोसा राख्न, उहाँको मार्गमा हिंड्‌न र उहाँमा लीन हुन सिकाउँछ। येशू ख्रीष्टले गर्नुभएझैं परमेश्‍वरप्रतिको भयले हामीलाई समर्पणको बेला हामीले गरेको बाचा अहिले र सदाको लागि पूरा गर्न पनि उत्प्रेरित गर्नसक्छ।

१६. किन यहोवाले हामीलाई उहाँको भय मान्‍न प्रोत्साहन दिनुहुन्छ?

१६ ईश्‍वरीय भय थरथर कमाउने त्रास वा अचाक्ली बन्देज खडा गर्ने डर होइन। “हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिंड़छ, त्यो धन्यको हो” भनी बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (भजन १२८:१) यस गुणले हाम्रो रक्षा गर्छ भनी उहाँलाई थाह भएको कारण यहोवाले हामीलाई उहाँको भय मान्‍न प्रोत्साहन दिनुहुन्छ। मोशालाई भन्‍नुभएका शब्दहरूमा उहाँको मायालु चिन्ता झल्कन्छ: “मेरो डर मान्‍ने र मेरा सबै कुरा पालन गर्ने तिमीहरूका [इस्राएलीहरू] हृदय भएता हुनेथियो! तिनीहरू र तिनीहरूका सन्तानको भलो हुनेथियो!”—व्यवस्था ५:२९.

१७. (क) परमेश्‍वरको भय मान्दा हामी कस्ता लाभहरू उठाउँछौं? (ख) यसपछिको लेखले ईश्‍वरीय भयका कस्ता पक्षहरू छलफल गर्नेछ?

१७ त्यसै गरी, हामीले आफ्नो हृदयलाई परमेश्‍वरको भय मान्‍ने बनायौं भने, हाम्रो नै भलो हुनेछ। कसरी? प्रथमतः त्यस्तो मनोभाव देखेर परमेश्‍वर खुसी हुनुहुनेछ र हामी उहाँसँग घनिष्ठ हुनेछौं। “उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ” भनी दाऊदले आफ्नो व्यक्‍तिगत अनुभवबाट महसुस गरेका थिए। (भजन १४५:१९) दोस्रो, ईश्‍वरीय भयले हामीलाई लाभ पुऱ्‍याउँछ किनभने यसले खराबीप्रतिको हाम्रो दृष्टिकोणमा असर गर्छ। (हितोपदेश ३:७) यसपछिको लेखले यस्तो भयले हामीलाई आध्यात्मिक खतराबाट कसरी जोगाउँछ भनी छलफल गर्नुका साथै परमेश्‍वरको भय मान्‍ने र खराब कुराहरूबाट अलग रहेका केही व्यक्‍तिहरूका उदाहरणहरू धर्मशास्त्रबाट पुनरावलोकन गर्नेछ।

[फुटनोट]

a संयुक्‍त राष्ट्रको साधारण सभाले डिसेम्बर १०, १९४८ मा मानवअधिकारसम्बन्धी घोषणापत्र पारित गरेको थियो।

के तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ?

• परमेश्‍वरको भय मान्‍नुको अर्थ के हो र यसले हामीलाई कसरी असर गर्छ?

• परमेश्‍वरको भय मान्‍नु र उहाँको मार्गमा हिंड्‌नुबीच कस्तो सम्बन्ध छ?

• परमेश्‍वरको भय परमेश्‍वरप्रतिको प्रेमसित सम्बन्धित छ भनेर येशूको उदाहरणले कसरी देखाउँछ?

• हामीले कुन तरिकामा आफ्नो हृदयलाई यहोवाको भय मान्‍ने बनाउनसक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

इस्राएली राजाहरूलाई व्यवस्थाको व्यक्‍तिगत प्रति बनाउन र त्यसलाई दिनहुँ पढ्‌न आज्ञा दिइएको थियो

[पृष्ठ १८-मा भएको चित्र]

छोराले आफ्नो बुबामा भरोसा राखेझैं परमेश्‍वरप्रतिको भयले हामीलाई उहाँमाथि भरोसा राख्न उत्प्रेरित गर्छ

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

Stars: Photo by Malin, © IAC/RGO 1991