सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं आध्यात्मिक हृदयघातबाट बच्न सक्नुहुन्छ

तपाईं आध्यात्मिक हृदयघातबाट बच्न सक्नुहुन्छ

तपाईं आध्यात्मिक हृदयघातबाट बच्न सक्नुहुन्छ

एक जना कुशल र तन्दुरुस्त देखिने विश्‍वस्तरका खेलाडी अकस्मात्‌ अभ्यासको दौडान बेहोस भए र मरे। ती खेलाडी, ओलम्पिकमा दुई चोटि स्वर्ण पदक विजेता आइस स्केटर, सर्गी ग्रेनकोभ थिए। भर्खरै मात्र सुरु भएजस्तो देखिएको तिनको खेल जीवन अकस्मात्‌ अन्त भयो। तिनी २८ वर्ष मात्र पुगेका थिए। कस्तो दुःखलाग्दो कुरा! तिनको मृत्युको कारण के थियो? हृदयघात। भनिन्छ, तिनको मृत्यु होला भनेर कसैले सोचेको समेत थिएन किनभने तिनलाई मुटुसम्बन्धी रोग लागेको कुनै लक्षण नै थिएन। यद्यपि, परीक्षण गर्दा तिनको मुटु सुनिएको र मुटुका धमनीहरू निकै साँघुरो भइसकेको पाइयो।

थुप्रै हृदयघात चेताउनीविना नै भएजस्तो देखिए तापनि वास्तविकतामा यस्तो विरलै हुन्छ भनी चिकित्सकहरू बताउँछन्‌। तथ्य कुरा के हो भने, सास फेर्न गाह्रो हुनु, बढी वजन हुनु र छाती दुख्नुजस्ता स्पष्ट लक्षणहरू अक्सर बेवास्ता गरिन्छ। परिणामस्वरूप, त्यसरी बेवास्ता गर्ने व्यक्‍तिहरूको हृदयघातको कारण मृत्यु नभए तापनि जीवनभरको लागि तिनीहरू गम्भीर रूपमा अशक्‍त हुनसक्छन्‌।

हृदयघातबाट बच्न आफ्नो खानपिन र जीवनशैलीबारे सधैं होसियार हुनुका साथै नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्‍ने कुरामा आज चिकित्सकहरू सहमत छन्‌। a यस्तो सावधानीको अलावा आवश्‍यक परेको खण्डमा छाँटकाँट गर्न पनि तयार भएमा हृदयघातका दुःखलाग्दा नतिजाहरूबाट बच्न धेरै हदसम्म मदत मिल्नेछ।

तथापि, हाम्रो हृदयको अर्को एउटा पक्षलाई पनि ध्यान दिनुपर्छ। “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌” भनी बाइबल हामीलाई चेताउनी दिन्छ “किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) निस्सन्देह, यो शास्त्रपदले मुख्यतया लाक्षणिक हृदयलाई संकेत गरिरहेको छ। हाम्रो मुटुलाई सुरक्षित राख्न होसियार हुनु आवश्‍यक छ तर हाम्रो लाक्षणिक हृदयलाई आध्यात्मिक मृत्युतर्फ डोऱ्‍याउने रोगबाट बचाउने हो भने सचेत रहनु झनै महत्त्वपूर्ण छ।

लाक्षणिक हृदयघातको विश्‍लेषण

मुटुसम्बन्धी रोगहरूबाट जस्तै आध्यात्मिक अर्थमा हृदयघातबाट बच्ने सबैभन्दा राम्रो उपाय यसका कारणहरू पत्ता लगाउनु र यसलाई रोक्न केही ठोस कदम चाल्नु हो। लाक्षणिक र शारीरिक हृदय दुवैमा समस्या खडा गर्ने केही मुख्य कारणहरू के हुन्‌, आउनुहोस्‌ हामी छलफल गरौं।

भोजन। बजारी खाना स्वादिष्ट भए तापनि त्यसले शरीरलाई त्यति फाइदा गर्दैन वा भनौं पटक्कै फाइदा गर्दैन भनी साधारणतया सबैले स्वीकार्छन्‌। त्यस्तै गरी, मानसिक बजारी खाना पनि सजिलै पाउन सकिन्छ जुन लोभलाग्दो ढंगमा प्रस्तुत गरिएका हुन्छन्‌। तर यो आध्यात्मिक स्वास्थ्यको निम्ति हानिकारक हुन्छ। आजभोलि विज्ञापनहरूमा यौन अनैतिकता, लागू पदार्थ, हिंसा र बोक्सीविद्याले भरिएका विषयवस्तु अन्यन्तै चलाखीपूर्ण ढंगमा प्रस्तुत गरिएका हुन्छन्‌। त्यस्ता भोजनले मात्र आफ्नो मन भर्दा लाक्षणिक हृदयको लागि घातक साबित हुनसक्छ। परमेश्‍वरको वचनले यस्तो चेताउनी दिन्छ: “संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१६, १७.

फलफूल र हरियो सागसब्जीजस्ता स्वास्थ्यवर्धक खानाहरू अक्सर बजारी खाना रुचाउनेले मन पराउँदैनन्‌। त्यस्तै गरी, सांसारिक कुराले आफ्नो मन अनि हृदय भर्ने बानी भइसकेको मानिसलाई स्वास्थ्यवर्धक र ठोस आध्यात्मिक आहार मनमोहक लाग्दैन। केही समयसम्म त तिनी परमेश्‍वरको वचनको “दूध[मा]” सन्तुष्ट होलान्‌। (हिब्रू ५:१३) तर समयको अन्तरालमा तिनले मसीही मण्डली र सेवकाईका सानातिना आध्यात्मिक जिम्मेवारीहरू वहन गर्न आवश्‍यक आध्यात्मिक परिपक्वता विकास गर्दैन। (मत्ती २४:१४; २८:१९; हिब्रू १०:२४, २५) त्यस्तो अवस्थामा पुगेका कसै-कसैले आफ्नो आध्यात्मिक बललाई कमजोर हुन दिएको कारण निष्क्रिय साक्षी भएका छन्‌!

अर्को खतरा हो, बाहिरी रूप भ्रमात्मक हुनसक्छ। भौतिकवादी दर्शनहरू वा अनैतिकता, हिंसा वा बोक्सीविद्यासित सम्बन्धित मनोरञ्जनहरूमा लुकिछिपी लागेको कारण कमजोर हुँदै गएको लाक्षणिक हृदयलाई देखावटी तरिकामा मसीही जिम्मेवारीहरू वहन गरेर ढाकछोप गरिएला। त्यस्तो अस्वास्थ्यकर आध्यात्मिक भोजनले मानिसको आध्यात्मिकतामा खासै असर नपारेको जस्तो देखिएला तर पोषिलो खाना नखाँदा जसरी धमनीहरू साँघुरो भएर मुटुलाई हानि पुऱ्‍याउनसक्छ त्यसै गरी हानिकारक आध्यात्मिक भोजनले हाम्रो लाक्षणिक हृदयलाई खतरामा पार्नसक्छ। हृदयमा कुइच्छाहरू आउन नदिन येशूले चेताउनी दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) हो, आध्यात्मिक भोजन लिने राम्रो बानी नहुँदा आध्यात्मिक हृदयघात हुनसक्छ। यद्यपि, विचार गर्नुपर्ने थप कुराहरू पनि छन्‌।

व्यायाम। बसी-बसी खाने जीवनशैलीले गर्दा हृदयघात हुने सम्भावना धेरै हुन्छ भनी प्रायः सबैलाई थाह छ। त्यस्तै गरी, आध्यात्मिक तवरमा पनि बसी-बसी खाने जीवनशैलीको गम्भीर परिणामहरू हुनसक्छन्‌। उदाहरणका लागि, कसैले मसीही सेवकाईमा भाग त लेलान्‌ तर आफ्नो सुविधाअनुसार मात्र गरेर “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” हुन कुनै प्रयत्न गर्दैनन्‌। (२ तिमोथी २:१५) अथवा, कोही-कोही केही मसीही सभाहरूमा उपस्थित त होलान्‌ तर केही तयारी नगरीकन आउने र भाग पनि नलिने हुनसक्छन्‌। कुनै आध्यात्मिक लक्ष्य नराख्ने वा आध्यात्मिक कुराहरूको निम्ति रुचि वा उत्साह नदेखाउने हुनसक्छन्‌। आध्यात्मिक व्यायामको कमीले गर्दा अन्ततः तिनको विश्‍वास कमजोर र मरेतुल्य हुनसक्छ। (याकूब २:२६) प्रेरित पावलले हिब्रू मसीहीहरूलाई यस खतराबारे लेखे किनभने तिनीहरूमध्ये कोही-कोही आध्यात्मिक तवरमा बसी-बसी खाने जीवनशैलीमा फसिसकेका थिए। यसले तिनीहरूको आध्यात्मिकतामा कस्तो नकारात्मक असर पार्छ भनी तिनले दिएको चेताउनीलाई याद गर्नुहोस्‌। “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्‍वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्‍वासको दुष्ट हृदय हुनेछ। तर ‘आजको दिन’ भन्दा एउटाले अर्कोलाई दिनदिनै अर्ती देऊ। नत्रता तिमीहरूमध्ये कोही पापको छलले कठोर हुनेछ।”—हिब्रू ३:१२, १३.

तनाउ। हृदयघात हुनुको अर्को मुख्य कारण असाध्यै तनाउग्रस्त हुनु हो। त्यसै गरी, तनाउ वा “जीवनको फिक्री” पनि लाक्षणिक हृदयको लागि घातक साबित हुनसक्छ र यसले गर्दा पीडित व्यक्‍तिले परमेश्‍वरलाई पूरा तनमनले सेवा गर्न छोड्‌नसक्छन्‌। यस सन्दर्भमा येशूको निम्न चेताउनी अत्यन्तै उपयुक्‍त छ: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।” (लूका २१:३४, ३५) आफूले गोप्यमा गरेको पापको कारण लामो समयसम्म पीडित भइरह्‍यौं भने तनाउले हाम्रो लाक्षणिक हृदयमा प्रतिकूल असर पार्नसक्छ। त्यस्तो हानिकारक तनाउसित सम्बन्धित पीडा कस्तो हुन्छ भनेर राजा दाऊदलाई राम्ररी थाह भएको कारण तिनले यसो भने: “मेरो पापले गर्दा मेरा हाड़हरू स्वस्थ्य छैन। किनकि मेरा अधर्महरू मेरो शिरसम्म पुगेका छन्‌, गह्रौं भारीझैं ती मेरो निम्ति अति गह्रौं छन्‌।”—भजन ३८:३, ४.

बढ्‌तै आत्मविश्‍वास। हृदयघातको सिकार भएका थुप्रै बिरामीहरू हृदयघात हुनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे निकै ढुक्क थिए। स्वास्थ्य परीक्षणहरूको अक्सर बेवास्ता गर्थे वा बेकार हुन्‌ भनेर ठट्टामा उडाउँथे। त्यसरी नै, कोही-कोहीलाई मसीही भएको धेरै समय भइसकेको कारण अब आफूलाई केही हुँदैन भन्‍नेजस्तो लाग्नसक्छ। समस्या नआएसम्म तिनीहरूले आध्यात्मिक परीक्षण वा आत्मपरीक्षणलाई बेवास्ता गर्नसक्छन्‌। बढ्‌तै आत्मविश्‍वास हुने सन्दर्भमा प्रेरित पावलले दिएको असल सल्लाहलाई मनमा राख्नु अत्यावश्‍यक छ: “म खड़ा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” हाम्रा असिद्ध झुकाउहरू छन्‌ भनी स्वीकार्दै समय-समयमा आफ्नो आध्यात्मिक परीक्षण गर्नु नै बुद्धिमानी मार्ग हो।—१ कोरिन्थी १०:१२; हितोपदेश २८:१४.

चेताउनीमूलक लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्‌

लाक्षणिक हृदयको अवस्थालाई धर्मशास्त्रले प्राथमिकता दिनुको ठोस कारण छ। यर्मिया १७:९, १० मा हामी यस्तो लेखिएको पाउँछौं: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र? हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसको कर्मको फलअनुसार दिनलाई म परमप्रभु मानिसको मन तलाश गर्छु, त्यसको हृदयको म जाँच गर्छु।” हाम्रो हृदयको परीक्षण गर्नुको अलावा आवश्‍यक आत्मपरीक्षण गर्न यहोवाले मायालु प्रबन्धहरू पनि गर्नुभएको छ।

“विश्‍वासी र बुद्धिमान दास[मार्फत]” हामीलाई समयानुकूल सम्झौटाहरू दिइन्छ। (मत्ती २४:४५) उदाहरणका लागि, हाम्रो लाक्षणिक हृदयले हामीलाई धोका दिनसक्ने मुख्य तरिका हामीलाई सांसारिक कुराहरूको कल्पनामा डुब्न उक्साएर हो। यी हुन्‌, अव्यावहारिक कल्पना, दिवास्वप्न, मनलाई चंचल हुन दिनु आदि। त्यस्तो कल्पना विशेष गरी अशुद्ध विचारहरू हुन्‌ भने त झनै हानिकारक हुनसक्छ। तसर्थ, त्यस्ता कल्पना वा विचारहरूलाई हामीले पूर्णतया तिरस्कार गर्नुपर्छ। येशूले जस्तै अधर्मलाई घृणा गऱ्‍यौं भने हामी आफ्नो हृदयलाई सांसारिक कुराहरूको कल्पनामा डुब्नदेखि बचाउनेछौं।—हिब्रू १:८, ९.

यसबाहेक, मसीही मण्डलीमा हामी मायालु प्राचीनहरूको मदत पाउनसक्छौं। अरूले हामीप्रति चासो देखाउँदा हामी त्यसको मूल्यांकन गर्छौं तैपनि लाक्षणिक हृदयको हेरचाह गर्ने प्रमुख जिम्मेवारी अन्ततः प्रत्येक व्यक्‍तिविशेष आफैको हो। ‘सबै कुराको जाँच गरेर’ आफू ‘विश्‍वासमा छ कि छैन भनी जाँचेर’ हेर्ने जिम्मेवारी प्रत्येक व्यक्‍तिविशेषको हो।—१ थिस्सलोनिकी ५:२१; २ कोरिन्थी १३:५.

हृदयलाई सुरक्षित राख्नुहोस्‌

“मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ” भन्‍ने बाइबलको सिद्धान्त हाम्रो लाक्षणिक हृदयको सुस्वास्थ्यमा पनि लागू हुन्छ। (गलाती ६:७) अक्सर, आध्यात्मिक विपत्ति अकस्मात्‌ भएजस्तो लाग्नसक्छ तर यो वास्तवमा लामो समयसम्म गोप्य रूपमा आध्यात्मिकतालाई हानि पुऱ्‍याउने कुराहरू जस्तै, अश्‍लील कुराहरू हेर्ने बानी, भौतिक कुराहरूबारे अचाक्ली चिन्ता गर्ने वा प्रतिष्ठा वा शक्‍ति आदिको पछि लाग्नुको नतिजा हो।

अतः हृदयलाई सुरक्षित राख्न आफूले खाने आध्यात्मिक भोजनमा ध्यान दिनु आवश्‍यक छ। परमेश्‍वरको वचनबाट भोजन लिएर मन अनि हृदयलाई पोषण दिनुहोस्‌। सजिलै पाइने र शरीरलाई अत्यन्तै आकर्षक लाग्ने मानसिक बजारी खानालाई तिरस्कार गर्नुहोस्‌, जसले लाक्षणिक हृदयलाई बोधो मात्र बनाउँछ। भजनरचयिताले चिकित्साशास्त्रअनुसार पनि सही र उचित यस्तो चेताउनी दिन्छन्‌: “तिनीहरूको हृदय बोसोजस्तै बाक्लो भएको छ।”—भजन ११९:७०.

धेरै पहिलादेखि गोप्यमा गरेका गल्तीहरू छन्‌ भने ती हटाउन कडा प्रयत्न गर्नुहोस्‌, अन्यथा यसले तपाईंका लाक्षणिक धमनीहरूमा अवरोध खडा गर्नेछ। संसारको तडकभडक र मोजमस्ती अत्यन्तै आकर्षक लाग्न थाल्यो भने प्रेरित पावलले दिएको बुद्धिमानी सल्लाह मनन गर्नुहोस्‌। तिनले यस्तो लेखे: “म यो भन्दछु, कि समय अल्प भएको छ, र अब उप्रान्त . . . यस संसारका रीतिमा चल्नेहरू नचल्नेहरूजस्ता होऊन्‌, किनभने यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:२९-३१) अनि, भौतिक धनसम्पत्ति थुपार्ने इच्छा जागेमा अय्यूबका यी शब्दहरू पालन गर्नुहोस्‌: “यदि मैले सुनमा मेरो भरोसा राखेको भए, र निखुर सुनमा मैले आशा गरेको भए, त्यो ता व्यवस्थाको विरुद्धमा एउटा अपराध हुनेथियो, किनभने म स्वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा अविश्‍वासी हुनेथिएँ।”—अय्यूब ३१:२४, २८; भजन ६२:१०; १ तिमोथी ६:९, १०.

बाइबल आधारित सल्लाहलाई इन्कार गर्ने बानीको खतराबारे बाइबल यस्तो चेताउनी दिन्छ: “धेरै सुधारले पनि हठी बानी नछोड़ने मानिस सम्हाल्न नसकिने गरी एक्कसि नाश हुन्छ।” (हितोपदेश २९:१) त्यसको ठीक विपरीत, हाम्रो लाक्षणिक हृदयको राम्रो हेरचाह गऱ्‍यौं भने हामी सरल र व्यवस्थित जीवन बिताउँदा महसुस हुने मनोशान्ति र आनन्द अनुभव गर्नसक्ने छौं। यही नै हो साँचो मसीहीधर्मको उत्तम मार्ग। प्रेरित पावल यस्तो लेख्न प्रेरित भए: “तर सन्तुष्टता सहितको भक्‍तिनै ठूलो लाभ हो। किनकि हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:६-८.

हो, ईश्‍वरीय भक्‍तिअनुसार आफूलाई प्रशिक्षण दिनुका साथै अभ्यास गऱ्‍यौं भने हाम्रो लाक्षणिक हृदय स्वस्थ र बलियो हुने कुरामा कुनै सन्देह छैन। आफूले खाने आध्यात्मिक भोजनमा होसियार भयौं भने, हामी हाम्रो आध्यात्मिकतालाई हानि पुऱ्‍याउने यस संसारको विनाशकारी मार्ग र विचारलाई कुनै स्थान दिनेछैनौं। अझ सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवाले आफ्नो संगठनमार्फत गर्नुभएका प्रबन्धहरूलाई स्वीकारेर नियमित तवरमा आफ्नो लाक्षणिक हृदयको परीक्षण गरिरहौं। लगनशील भई त्यसो गरेको खण्डमा हामी आध्यात्मिक हृदयघातका दुःखदायी नतिजाहरूबाट धेरै हदसम्म बच्नसक्ने छौं।

[फुटनोट]

a थप जानकारीको लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्‌!-को जनवरी ८, १९९७ अंकको “हृदयघात—त्यसबाट जोगिन के गर्न सकिन्छ?” श्रृंखला हेर्नुहोस्‌।

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

पोषिलो भोजन नखाँदा जसरी धमनीहरू साँघुरो भएर मुटुलाई हानि पुऱ्‍याउनसक्छ त्यसै गरी हानिकारक आध्यात्मिक भोजनले हाम्रो लाक्षणिक हृदयलाई खतरामा पार्नसक्छ

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

आध्यात्मिक तवरमा बसी-बसी खाने जीवनशैलीका गम्भीर नतिजाहरू हुनसक्छन्‌

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“जीवनको फिक्री” लाक्षणिक हृदयको लागि घातक साबित हुनसक्छ

[पृष्ठ ११-मा भएको चित्र]

हाम्रो आध्यात्मिक सुस्वास्थ्यलाई बेवास्ता गर्दा धेरै पीडा हुनसक्छ

[पृष्ठ १३-मा भएका चित्रहरू]

असल आध्यात्मिक बानी विकास गर्दा लाक्षणिक हृदय सुरक्षित हुन्छ

[पृष्ठ ९-मा भएको चित्रको स्रोत]

AP Photo/David Longstreath