सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

यर्मिया ७:१६ मा लिपिबद्ध परमेश्‍वरको निर्देशनको अर्थ कुनै पनि मसीही अपश्‍चात्तापी पापी हुनाकारण मसीही मण्डलीबाट बहिष्कार भयो भने तिनको निम्ति मसीहीहरू प्रार्थना गर्नेछैन भनेको हो?

अविश्‍वासी यहूदा विरुद्ध आफ्नो न्यायदण्ड सुनाउनुभएपछि यहोवाले यर्मियालाई यसो भन्‍नुभयो: “तैंले चाहिं यस प्रजाको निम्ति प्रार्थना नगर्‌, अथवा यिनीहरूका निम्ति पुकारा वा बिन्ती नचढ़ा। मसित यिनीहरूका निम्ति अन्तरबिन्ती नगर्‌, किनकि म तेरो प्रार्थना सुन्दिनँ।”—यर्मिया ७:१६.

किन यहोवाले यर्मियालाई इस्राएलीहरूको निम्ति प्रार्थना गर्न निषेध गर्नुभयो? किनभने तिनीहरूले उहाँको व्यवस्था विरुद्ध घोर पाप गरिरहेका थिए। खुलमखुल्ला कुनै हिचकिचाहटविना तिनीहरू ‘चोरी, हत्या, व्यभिचार, झूटा शपथ, बाल देवतालाई धूप बाल्ने र नजानेका देवताहरूका पछि लागिरहेका थिए।’ फलतः यहोवाले अविश्‍वासी यहूदीहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूका सबै आफन्तहरू, एप्रैमका सबै सन्तानलाई फ्याँकिदिएझैं म तिमीहरूलाई मेरो नजरदेखि बाहिर फ्याँकिदिनेछु।” निश्‍चय पनि, यर्मिया वा अरू कसैले यहोवालाई आफ्नो न्यायदण्ड बदल्नुहोस्‌ भनी प्रार्थना गर्नु अनुचित हुने थियो।—यर्मिया ७:९, १५.

यसै कुरालाई मनमा राख्दै प्रेरित यूहन्‍नाले परमेश्‍वरलाई गर्ने उचित प्रार्थनाबारे लेखे। प्रथमतः तिनले मसीहीहरूलाई यस्तो आश्‍वासन दिए: “उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूहन्‍ना ५:१४) अनि अरूको खातिर प्रार्थना गर्ने सन्दर्भमा यूहन्‍नाले यसो भने: “यदि कसैले आफ्नो भाइलाई पाप गरेको देख्छ, तर यस्तो पाप जसको फल मृत्यु ता होइन, त्यसले प्रार्थना गर्नेछ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ, अर्थात्‌ तिनीहरूलाई जसले मृत्युसम्मको पाप गरेको छैनन्‌। मृत्युसम्मको पाप पनि हुन्छ, यसको विषयमा त्यसले बिन्ती गरोस्‌ भनी म भन्दिनँ।” (१ यूहन्‍ना ५:१६) येशूले ‘क्षमा नहुने’ पापबारे बताउनुभयो र त्यो हो, पवित्र आत्माको विरुद्ध गरिने पाप।—मत्ती १२:३१, ३२.

के यसको अर्थ अपश्‍चात्तापी पापी भएको कारण मसीही मण्डलीबाट बहिष्कार भएका सबैले “मृत्युसम्मको पाप” गरेका छन्‌ र तिनीहरूको निम्ति प्रार्थना गर्नुहुँदैन भनेको हो? सधैं यस्तो अवस्था नहुन पनि सक्छ, किनभने कुनै-कुनै अवस्थामा गल्तीहरू मृत्युसम्मको पाप नहुनसक्छ। तथापि, वास्तविकता थाह पाउन गाह्रो हुन्छ। यसको एउटा राम्रो उदाहरण यहूदाका राजा मनश्‍शेको हो। तिनले झूटा देवहरूको निम्ति वेदीहरू खडा गरे, आफ्नै छोराहरू बलिको रूपमा चढाए, भूतप्रेत खेलाए र यहोवाको मन्दिरमा कुँदिएको मूर्ति राखे। साँच्चै भन्‍ने हो भने, बाइबलअनुसार मनश्‍शे तथा मानिसहरूले “इस्राएलको सामुन्‍ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्दा पनि अझ बढी खराब काम . . . गरे।” यसैकारण, साङ्‌लाले बाँधेर कैदीको रूपमा बाबेल पठाउनुभएर यहोवाले मनश्‍शेलाई सजाय दिनुभयो।—२ राजा २१:१-९, नयाँ संशोधित संस्करण; २ इतिहास ३३:१-११.

के मनश्‍शेले मृत्युसम्मको घोर पाप गरेका थिए? तिनले गरेको पाप मृत्युसम्मको नहुनसक्छ, किनभने तिनीबारे अझ यसो भनिएको छ: “आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई प्रार्थना गरेर उहाँलाई शान्त गराउन खोजे। औ आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ विनम्र भएर झुके। तिनले प्रार्थना गरे। औ परमेश्‍वरले तिनको अर्जबिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो। यसरी मनश्‍शेले परमप्रभुनै परमेश्‍वर हुनुहुँदो रहेछ भन्‍ने थाह पाए।”—२ इतिहास ३३:१२, १३.

अतः कोही व्यक्‍ति मण्डलीबाट बहिष्कार हुने बित्तिकै हामी उक्‍त व्यक्‍तिले मृत्युसम्मको पाप गरेका छन्‌ भन्‍ने निष्कर्षमा पुग्नु हुँदैन। व्यक्‍तिविशेषको हृदयको साँचो अवस्था प्रकट हुन समय लाग्नसक्छ। वास्तवमा, बहिष्कार गर्नुका उद्देश्‍यहरूमध्ये एउटा कारण पापी आफ्नो होसमा आओस्‌ र पश्‍चात्ताप गरेर फर्कन सकोस्‌ भनेर पनि हो भनी अक्सर उल्लेख गरिन्छ।

उक्‍त व्यक्‍ति मण्डलीमा नहुने भएकोले तिनको हृदय र मनोवृत्तिमा भएको परिवर्तन सबैभन्दा पहिला तिनको नजिकको व्यक्‍ति जस्तै, पति या पत्नी वा परिवारका सदस्यहरूले याद गर्नेछन्‌। त्यस्तो परिवर्तन देख्ने मानिसहरू पापीले मृत्युसम्मको पाप गरेका छैनन्‌ भन्‍ने निष्कर्षमा पुग्नसक्छन्‌। तिनीहरू उक्‍त व्यक्‍तिले परमेश्‍वरको प्रेरित वचनबाट बल पाओस्‌ र यहोवाले आफ्नो इच्छाबमोजिम पापीप्रति केही गरून्‌ भनी प्रार्थना गर्न उत्प्रेरित हुनसक्छन्‌।—भजन ४४:२१; उपदेशक १२:१४.

पापीले पश्‍चात्ताप गरेका छन्‌ भनी विश्‍वास गर्न कोही-कोहीले पर्याप्त कारण पाए तापनि मण्डलीमा सर्वसाधारण सबैलाई त्यसबारे थाह हुँदैन। गल्ती गर्ने व्यक्‍तिको निम्ति सार्वजनिक रूपमा प्रार्थना गरेको सुन्दा तिनीहरू अलमल्लमा पर्नुका साथै तिनीहरूलाई ठेस पनि पुग्नसक्छ। यसकारण, पापीको लागि प्रार्थना गर्न उत्प्रेरित भएका व्यक्‍तिहरूले व्यक्‍तिगत रूपमा मात्र गर्नुपर्छ र बाँकी कुरा मण्डलीका जिम्मेवार प्राचीनहरूको हातमा छोडिदिनुपर्छ।

[पृष्ठ ३१-मा भएको चित्र]

मनश्‍शेले आफूलाई यहोवासामु नम्र साबित गरेपछि तिनका पापहरू क्षमा गरियो

[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]

Reproduced from Illustrierte Pracht - Bibel/Heilige Schrift des Alten und Neuen Testaments, nach der deutschen Uebersetzung D. Martin Luther’s