सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको निमन्त्रणा स्वीकार्दा इनाम पाइन्छ

यहोवाको निमन्त्रणा स्वीकार्दा इनाम पाइन्छ

जीवनी

यहोवाको निमन्त्रणा स्वीकार्दा इनाम पाइन्छ

मारिया डो साऊ जनार्डेको वृत्तान्तमा आधारित

“आफूले के गर्दैछु भनी यहोवालाई राम्ररी थाह छ। उहाँले तिमीलाई निमन्त्रणा पठाउनुभएको छ भने, तिमीले नम्रतासाथ स्वीकार्नुपर्छ।” मेरो बुबाले यी शब्दहरू मलाई झन्डै ४५ वर्षअघि भन्‍नुभएको थियो र उहाँका यी शब्दहरूले मलाई पूर्ण-समय सेवकको रूपमा सेवा गर्न यहोवाको संगठनबाट प्राप्त पहिलो निमन्त्रणा स्वीकार्न मदत गऱ्‍यो। म आजसम्म पनि बुबाले दिनुभएको सल्लाहको निम्ति कृतज्ञ छु किनभने त्यस्ता निमन्त्रणाहरू स्वीकार्दा मैले प्रचुर मात्रामा इनाम पाएकी छु।

सन्‌ १९२८ मा बुबाले प्रहरीधरहरा पत्रिकाको ग्राहक बन्‍नुभएपछि बाइबलमा उहाँको चासो जाग्न थाल्यो। बुबा मध्य पोर्चुगलमा बसोबास गर्नुहुने भएकोले उहाँले परमेश्‍वरको मण्डलीसँग सम्पर्क राख्नुहुने एउटै मात्र माध्यम हुलाकद्वारा प्राप्त हुने साहित्यहरू र मेरा बाजेबज्यैको बाइबल थियो। सन्‌ १९४९ मा म १३ वर्षको हुँदा हाम्रो परिवार मेरी आमाको जन्मभूमि ब्राजिलमा बसाइँ सऱ्‍यो र हामी रियो दे जेनेरियोको छेउछाउमा बसोबास गर्न थाल्यौं।

हाम्रो नयाँ छिमेकीहरूले हामीलाई तिनीहरूको चर्चमा आउन आमन्त्रित गरे र दुई/तीन चोटि त हामी गयौं पनि। बुबा तिनीहरूलाई नरककुण्ड, आत्मा र पृथ्वीको भविष्यबारे प्रश्‍न गर्नुहुन्थ्यो तर तिनीहरूसित यी प्रश्‍नहरूको जवाफ थिएनन्‌। बुबाले यसो भन्‍ने गर्नुहुन्थ्यो, “हामीले साँचो बाइबल विद्यार्थीहरूलाई नै पर्खनुपर्छ।”

एक दिनको कुरा हो, एक जना अन्धो मान्छे प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिका प्रस्तुत गर्दै हाम्रो घरमा आए। बुबाले तिनलाई पनि सोही प्रश्‍नहरू गर्नुभयो र तिनले ती सबको बाइबलबाट स्पष्ट जवाफ दिए। अर्को हप्ता, अर्का एक जना यहोवाको साक्षी हाम्रो घर आइन्‌। अझ थप प्रश्‍नहरूको जवाफ दिइसकेपछि म फिल्ड अर्थात्‌ “खेत[मा]” जानुपर्छ भन्दै तिनले बिदा मागिन्‌। साक्षीहरू पनि खेलकुदमा भाग लिन्छन्‌ र भनी बुबाले आश्‍चर्य व्यक्‍त गर्नुहुँदा तिनले बुबालाई मत्ती १३:३८ पढेर सुनाइन्‌: “खेत संसार हो।” अनि बुबाले यस्तो प्रश्‍न गर्नुभयो: “म पनि तपाईंसँग आऊँ?” तिनले उत्तरमा भनिन्‌, “जरुर आउनुहोस्‌।” बाइबल सत्य फेरि भेट्टाएकोमा हामी खुसीले गद्‌गद भयौं! अर्को अधिवेशनमा बुबाले बप्तिस्मा लिनुभयो र मैले पनि त्यसको केही समयपछि नोभेम्बर १९५५ मा बप्तिस्मा लिएँ।

पहिलो निमन्त्रणा स्वीकार्दै

बप्तिस्मा लिएको डेढ वर्षपछि मैले यहोवाका साक्षीहरूको रियो दे जेनेरियोस्थित शाखा कार्यालयबाट ठूलो खैरो खाम प्राप्त गरें। त्यस खाममा मलाई पूर्ण-समय प्रचार कार्य गर्न निमन्त्रणा दिइएको थियो। त्यतिबेला आमाको स्वास्थ्यस्थिति त्यति राम्रो थिएन, त्यसैले मैले बुबासँग सल्लाह मागें। “आफूले के गर्दैछु भनी यहोवालाई थाह छ। उहाँले तिमीलाई निमन्त्रणा पठाउनुभएको छ भने, तिमीले नम्रतासाथ स्वीकार्नुपर्छ” भनी उहाँले स्पष्ट जवाफ दिनुभयो। यी शब्दहरू सुनेपछि प्रोत्साहित हुँदै मैले आवेदन फाराम भरें र जुलाई १, १९५७ देखि पूर्ण-समय सेवा गर्न थालें। मेरो पहिलो असाइनमेन्ट रियो दे जेनेरियो प्रान्तको एउटा शहर, ट्रेस रियोस थियो।

सुरु-सुरुमा त ट्रास रियोसका बासिन्दाहरू हाम्रो सन्देश सुन्‍नै हिचकिचाउँथे, किनभने हामीले क्याथोलिक संस्करणको बाइबल चलाउँदैनथ्यौं। तर हामीले जेराल्डो रामाल्यु नाउँ गरेका एक जना क्याथोलिकसँग बाइबल अध्ययन गर्न थालेपछि भने अलि सजिलो भयो। तिनको मदतद्वारा मैले स्थानीय पादरीको हस्ताक्षर भएको एउटा बाइबल प्राप्त गरें। त्यसबेला देखि यता कुनै मानिसले केही आपत्ति जनाएमा म तिनीहरूलाई पादरीको हस्ताक्षर देखाउँथे र त्यसपछि मात्र केही प्रश्‍न गरिंदैनथ्यो। जेराल्डोले पछि बप्तिस्मा लिए।

सन्‌ १९५९ मा ट्रेस रियोसको मध्य भागमा क्षेत्रीय सम्मेलन आयोजना हुँदा मलाई साह्रै खुसी लागेको थियो। त्यतिबेला बाइबल अध्ययन गरिरहेका प्रहरी प्रमुखले शहरभरि कार्यक्रमको विज्ञापन टुलहरू राख्नसमेत प्रबन्ध मिलाए। ट्रास रियोसमा काम गरेको तीन वर्षपछि मलाई साऊ पाउलोबाट ११० किलोमिटर टाढा पश्‍चिममा पर्ने इटु शहरमा खटाइयो।

रातो, नीलो र पहेंलो पुस्तकहरू

म र मेरो अग्रगामी साथीले कोठा खोज्न केही समय बिताएपछि शहरको मध्य भागमा मारिया नाउँ गरेकी विधवाको घरमा बस्ने सुविधाजनक कोठा पायौं। मारियाले हामीलाई आफ्नै छोरीहरूजस्तो व्यवहार गर्थिन्‌। तर केही समय नबित्दै इटुको रोमन क्याथोलिक पादरी तिनलाई भेट्‌न आए र हामीलाई घरबाट निकाल्न दबाउ दिए तर तिनी अडिग रहिन्‌: “मेरो श्रीमान्‌को मृत्यु हुँदा तपाईंहरूले मलाई सान्त्वना दिन केही पनि गर्नुभएन। यी यहोवाका साक्षीहरूले म तिनीहरूको धर्मको सदस्य नभए तापनि मलाई मदत गरेका छन्‌।”

त्यसै समयताका इटुको क्याथोलिक पादरीले आफ्नो इलाकाका मानिसहरूलाई “दियाबलबारे लेखिएको रातो पुस्तक” लिन निषेध गरेको कुरा एक जना महिलाले बताइन्‌। तिनीहरूले, हामीले त्यस हप्ताको दौडान मानिसहरूलाई दिइरहेको “लेट गड बी ट्रु” भन्‍ने बाइबल आधारित साहित्यलाई संकेत गरिरहेका थिए। पादरीले रातो पुस्तक “निषेध” गरेको कारण हामीले नीलो पुस्तक (“न्यु हेभेन्स एण्ड ए न्यु अर्थ्‌”) प्रस्तुत गर्न तयारी गऱ्‍यौं। पछि, पादरीले यस परिवर्तनबारे सुनेपछि हामीले पहेंलो पुस्तक (ह्वट ह्‍याज रिलिजन डन फर म्यानकाइन्ड?) आदि प्रस्तुत गर्न थाल्यौं। विभिन्‍न रङका थुप्रै पुस्तकहरू उपलब्ध हुँदा साँच्चै फाइदा भयो!

इटुमा लगभग एक वर्ष बिताएपछि मैले राष्ट्रिय सम्मेलनको तयारीको लागि रियो दे जेनेरियोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालय अथवा बेथलमा अस्थायी रूपमा काम गर्न आमन्त्रित गरेको टेलिग्राम पाएँ। मैले खुसीसाथ स्वीकारें।

थप सुअवसर तथा चुनौतीहरू

बेथेलमा कामको कुनै कमी हुँदैनथ्यो र म जुनै पनि तरिकामा मदत गर्न खुसी थिएँ। हरेक बिहान दैनिक पदको छलफल र सोमबार साँझ पारिवारिक प्रहरीधरहरा अध्ययनमा उपस्थित हुन पाउनु साह्रै इनामदायी थियो! ओट्टो इस्टेलमान र बेथेल परिवारका अन्य अनुभवी सदस्यहरूका हृदयस्पर्शी प्रार्थनाबाट म असाध्यै प्रभावित भएँ।

राष्ट्रिय सम्मेलनपछि म आफ्नो सरसामान पोको पारेर इटु फर्कन तयार भएँ तर शाखा निरीक्षक ग्रान्ट मिलरले मलाई बेथेल परिवारको स्थायी सदस्य हुन आमन्त्रित गरिएको पत्र दिंदा म तीन छक परें। बहिनी होसा याजेडिजिन र म एउटै कोठामा बस्थ्यौं। उहाँ अहिले पनि ब्राजिल बेथेलमै सेवा गर्दै हुनुहुन्छ। ती दिनहरूमा बेथेल परिवार सानो थियो। हामी जम्मा २८ जना मात्र थियौं र हामी सबै आपसमा एकदमै घनिष्ठ थियौं।

सन्‌ १९६४ मा झाऊ जनार्डे नाउँ गरेको एक जना जवान पूर्ण-समय सेवक बेथेलमा प्रशिक्षणको निम्ति आउनुभयो। त्यसपछि उहाँलाई क्षेत्रीय निरीक्षकको रूपमा नजिकै खटाइयो। उहाँ रिपोर्टहरू दिन बेथेल आउनुहुँदा कहिलेकाहीं हाम्रो भेट हुन्थ्यो। शाखा निरीक्षकले झाऊलाई सोमबार साँझ हुने पारिवारिक अध्ययनमा उपस्थित हुन अनुमति दिनुभयो। यसरी हामीले अझ धेरै सँगै समय बिताउने मौका पायौं। झाऊ र मैले अगस्त १९६५ मा बिहे गऱ्‍यौं। श्रीमान्‌सँगै क्षेत्रीय काममा जाने निमन्त्रणालाई मैले खुसीसाथ स्वीकारे।

ती दिनहरूमा ब्राजिलको भित्री भागहरूमा काम गर्नु अलि जोखिमपूर्ण नै थियो। मिनास गेरियास प्रान्तको आराने भन्‍ने ठाउँका प्रकाशकहरूको समूहलाई भेट्‌न गएको समय म कहिल्यै बिर्सन सक्दैनौं। त्यहाँसम्म पुग्न हामी आधी बाटो रेलमा जान्थ्यौं र त्यहाँदेखि फेरि हिंड्‌नुपर्थ्यो। त्यति मात्र कहाँ हो र, साथमा सुटकेस, टाइपराइटर, स्लाइड प्रोजेक्टर, सेवकाईमा जाँदा बोक्ने झोला र साहित्यहरू हुन्थे। लुरिभल चान्टल नाउँ गरेको एक जना पाको भाइ हामी हरेक चोटि जाँदा स्टेसनमा हाम्रो सरसामान बोक्न मदत गर्न कुरिरहेको देख्दा साह्रै खुसी लाग्थ्यो।

आरानेमा सभाहरू एउटा भाडामा लिएको कोठामा हुन्थ्यो। हामी पछाडिको सानो कोठामा सुत्थ्यौं। कोठाको एक कुनामा खाना पकाउने र पानी तताउने चुलो थियो। पानीचाहिं हामीलाई भाइहरूले बाल्टिनमा ल्याइदिन्थे। बाँसको झाडी नजिकै खनेको सानो खाल्टोचाहिं हाम्रो चर्पी हुन्थ्यो। राती हामीले गोब्रे कीरा आउन नदिन ग्याँसबाट बल्ने बत्ती बालिरहन्थ्यौं, किनभने यस कीराले चागास रोग फैलाउनसक्छ। बिहान उठ्‌दा हाम्रो नाक धूवाँले गर्दा सधैं कालो हुन्थ्यो। यो साँच्चै बिर्सनै नसकिने अनुभव हो!

पाराना प्रान्तको क्षेत्रमा सेवा गरिरहेको बेला हामीले शाखा कार्यालयबाट फेरि ठूलो खैरो खाम प्राप्त गऱ्‍यौं। यहोवाको संगठनबाट एउटा अर्को निमन्त्रणा आएको रहेछ तर यसपाली चाहिं यो पोर्चुगलमा सेवा गर्ने निमन्त्रणा थियो! त्यस चिठीमा हामीलाई लूका १२:२८ मा दिइएको सिद्धान्तलाई मनमा राख्दै यो असाइनमेन्ट स्वीकार्नुअघि राम्ररी विचार गर्नु भनिएको थियो किनभने त्यहाँ हाम्रो मसीही कार्यमा प्रतिबन्ध लगाइएको थियो र त्यसको साथै पोर्चुगल सरकारले थुप्रै भाइहरूलाई पक्रिसकेको थियो।

त्यस्तो सतावटको सामना गर्नुपर्ने देशमा जाने कि नजाने? झाऊले यसो भन्‍नुभयो: “यदि पोर्चुगलका भाइहरू त्यहाँ बसेर विश्‍वासीपूर्वक यहोवाको सेवा गर्नसक्छन्‌ भने, हामीले किन नसक्नु?” बुबाले दिनुभएको प्रोत्साहनलाई सम्झँदै मैले पनि सहमति जनाउँदै यसो भनें: “यहोवाले हामीलाई निमन्त्रणा दिनुभएको छ भने, हामीले त्यसलाई स्वीकार्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ।” थप निर्देशन तथा यात्राको निम्ति आवश्‍यक कागजातहरू मिलाउन हामी त्यसको लगत्तै साऊ पाउलोस्थित बेथेलमा गयौं।

झाऊ मारिया र मारिया झाऊ

हाम्रो जहाज आऊझानियु सा-ले साऊ पाउलोको सान्तोस बन्दरगाहबाट सेप्टेम्बर ६, १९६९ मा यात्रा सुरु गऱ्‍यो। नौ दिनको समुद्री यात्रापछि हामी पोर्चुगल पुग्यौं। सुरुका केही महिना हामीले केही अनुभवी भाइहरूसित लिस्बनको पुरानो जिल्ला आल्फामा र मोरोरेका साँघुरो सडकहरूमा काम गऱ्‍यौं। प्रहरीको पक्राउमा सजिलै नपर्न उहाँहरूले हामीलाई सजग हुन सिकाउनुभयो।

मण्डलीका सभाहरू साक्षीहरूको घरमा सञ्चालन हुन्थ्यो। छिमेकीहरू शंकालु भएजस्तो लाग्ने बित्तिकै सभाको निम्ति अर्कै घर मिलाइन्थ्यो। यसो गर्दा घरमा छापा मारिंदैनथ्यो र भाइहरू पक्राउमा पर्दैनथे। हाम्रा सम्मेलनहरू, जसलाई हामी पिकनिक भन्‍ने गर्थ्यौं ती लिस्बनको बाहिरी भागमा अवस्थित मोनसान्टो पार्क र रूखहरू धेरै भएको तटीय इलाका कोस्टा डा कापरिकामा आयोजना गरिन्थ्यो। हामी त्यस अवसरमा अनौपचारिक लुगा लगाउँथ्यौं र सचेत परिचारकहरूको समूह ठाउँ-ठाउँमा पाले बस्थे। कोही शंकास्पद व्यक्‍ति आएमा तुरुन्तै गेम खेलेजस्तो गर्न, पिकनिक जस्तो वातावरण बनाउन र लोकगीत गाएजस्तो गर्न समय पाउँथ्यौं।

हामीलाई चिन्‍न सुरक्षाकर्मीहरूलाई गाह्रो होस्‌ भनेर हामी आफ्नो वास्तविक नाउँ चलाउँदैन थियौं। भाइहरूले हामीलाई झाऊ मारिया र मारिया झाऊको रूपमा चिन्थे। कुनै पनि पत्र वा रेकर्डमा हाम्रा नाउँहरू प्रयोग गरिंदैनथ्यो। त्यसको सट्टा हामी प्रत्येकलाई नम्बर दिइएको थियो। मैले भाइहरूको ठेगाना जानाजानी कण्ठ गरिनँ। त्यसो गर्दा कथंकदाचित्‌ म पक्राउमा परिहालें भने उहाँहरूलाई धोका दिनबाट म बच्ने थिएँ।

प्रतिबन्धको बावजूद झाऊ र म साक्षी दिने हरेक अवसरको फाइदा उठाउन कटिबद्ध थियौं, किनभने कुनै पनि बेला हामीले आफ्नो स्वतन्त्रता गुमाउनसक्छौं भनी हामीलाई थाह थियो। हामीले स्वर्गमा हुनुहुने पिता, यहोवामाथि भरोसा गर्न सिक्यौं। हाम्रो संरक्षकको रूपमा उहाँले यस्तो तरिकामा आफ्ना स्वर्गदूतहरू चलाउनुहुन्थ्यो कि हामीलाई “अदृश्‍य हुनुहुनेलाई देखेझैं” महसुस हुन्थ्यो।—हिब्रू ११:२७, नयाँ संशोधित संस्करण।

एक चोटि पोर्टोमा घर-घरको प्रचारकार्यमा हामीले भेटेको एक जना मानिसले हामीलाई तिनको घरभित्र आउन जिद्दी गरे। सँगै काम गरिरहेकी बहिनीले विना हिचकिचाहट निमन्त्रणा स्वीकार्नुभयो र म पनि उहाँसँगै घरभित्र पस्नुबाहेक अरू केही विकल्पै देखिनँ। जसै घरभित्र पसेका मात्र के थियौं सैन्य पोसाकमा एक जना व्यक्‍तिको फोटो देखेर म आत्तिएँ। अब के गर्ने? घरधनीले हामीलाई बस्न आग्रह गरे अनि मलाई यस्तो प्रश्‍न गरे: “तपाईंको छोरालाई सेनामा बोलायो भने के तपाईं उसलाई पठाउनुहुन्छ?” यो संवेदनशील परिस्थिति थियो। शान्तपूर्वक तर मनमनै प्रार्थना गरेपछि मैले यस्तो जवाफ दिएँ: “मेरो छोराछोरी छैनन्‌ र यदि मैले पनि तपाईंलाई यस्तै परिकल्पित प्रश्‍न गरेको भए निश्‍चय तपाईंले पनि मलाई यस्तै जवाफ दिनुहुने थियो।” तिनले केही जवाफ दिएनन्‌। त्यसैकारण, मैले अझ यसो भनें: “तपाईंले भाइ वा बुबा गुमाउनुपर्दा कस्तो महसुस हुन्छ भनेर सोध्नुभयो भने चाहिं म त्यसको उत्तर दिनसक्छु, किनभने मेरो भाइ र बुबा दुवैको मृत्यु भइसक्यो।” कुरा गर्दै जाँदा मेरो आँखा रसायो र मैले त्यस व्यक्‍तिको पनि आँखा रसाएको देखें। आफ्नो श्रीमतीको हालै मृत्यु भएको कुरा तिनले बताए। मैले तिनलाई पुनरुत्थानको आशाबारे बताउँदा तिनले ध्यान दिएर सुनें। त्यसपछि हामीले राम्रोसित बिदाबारी गऱ्‍यौं र सबै कुरा यहोवाकै हातमा छोडेर त्यहाँबाट सकुशल निस्क्यौं।

प्रतिबन्धको बावजूद निष्कपट व्यक्‍तिहरूलाई सत्यको ज्ञान प्राप्त गर्न मदत गरियो। ओरास्यु नाउँ गरेको एक जना व्यापारीसँग मेरो श्रीमान्‌ले अध्ययन गर्न थाल्नुभएको पोर्टोमा नै हो र तिनले चाँड-चाँडो प्रगति गरे। पछि तिनको छोरा एमिलियो, जो अनुभवी चिकित्सक थिए, तिनले पनि यहोवाको निम्ति अडान लिएर बप्तिस्मा लिए। साँच्चै, यहोवाको पवित्र आत्मालाई कुनै पनि कुराले रोक्न सक्दैन।

“यहोवाले के हुन दिनुहुन्छ, कसैलाई थाह हुँदैन”

सन्‌ १९७३ मा झाऊ र मलाई बेल्जियम, ब्रसेल्समा आयोजना हुने “ईश्‍वरीय विजय” अन्तरराष्ट्रिय सम्मेलनमा उपस्थित हुन आमन्त्रित गरियो। त्यहाँ मोजाम्बिक, अंगोला, केप भर्ड, मेडिरा र अजोरसलगायत स्पेन र बेल्जियमका हजारौं भाइहरू उपस्थित थिए। न्यु योर्कस्थित मुख्यालयबाट आउनुभएका भाइ नोरले आफ्नो भाषणको समापनमा यसो भन्‍नुभयो: “विश्‍वासी भई यहोवाको सेवा गरिरहनुहोस्‌। यहोवाले के हुन दिनुहुन्छ, कसैलाई थाह छैन। कसलाई के थाह, अर्को अन्तरराष्ट्रिय अधिवेशनको लागि पोर्चुगल जानुपर्ने हो कि!”

त्यसको अर्को वर्ष पोर्चुगलमा प्रचारकार्यलाई कानुनी मान्यता दिइयो। अनि भाइ नोरले भन्‍नुभएझैं सन्‌ १९७८ मा लिस्बनमा पहिलो अन्तरराष्ट्रिय अधिवेशन आयोजना गरियो। लिस्बनका सडकहरूमा पाटी, विज्ञापन पत्र, पत्र-पत्रिकासहित जनभाषणको लागि निमन्त्रणा दिंदै हिंड्‌न पाउनु ठूलो सुअवसरको कुरा थियो! हाम्रो सपना साकार भयो।

पोर्चुगलका भाइहरूसँग हाम्रो असाध्यै माया बसिसकेको थियो, जसमध्ये थुप्रैले मसीही तटस्थाको कारण कारागारको सजाय र पिटाइ खानुपरेको थियो। हामी पोर्चुगलमा नै सेवा गरिरहन चाहन्थ्यौं। तथापि, हामीले चाहेजस्तो भएन। सन्‌ १९८२ मा झाऊलाई मुटुसम्बन्धी गम्भीर समस्याले सताउन थाल्यो र शाखा कार्यालयले हामीलाई ब्राजिलमै फर्किने सुझाउ दियो।

कठिन समय

ब्राजिल शाखा कार्यालयका भाइहरू असाध्यै मदतकारी हुनुहुन्थ्यो र हामीलाई साऊ पाउलो प्रान्तको टाउबाटा शहरको किरेरन मण्डलीमा सेवा गर्न खटाइयो। झाऊको स्वास्थ्यस्थिति दिन प्रतिदिन बिग्रिन थाल्यो र घरबाट पनि बाहिर निस्कन नसक्ने हुनुभयो। जिज्ञासु व्यक्‍तिहरू बाइबल अध्ययन गर्न हाम्रो घरमै आउँथे भने हाम्रो घरमा दिनहुँ क्षेत्र सेवाको निम्ति सभाका साथै साप्ताहिक पुस्तक अध्ययन पनि हुन्थ्यो। यी प्रबन्धहरूले हामीलाई आफ्नो आध्यात्मिकता कायम राख्न मदत गऱ्‍यो।

अक्टोबर १, १९८५ मा आफ्नो मृत्यु नहोऊञ्जेलसम्म झाऊले यहोवाको सेवामा आफूले सक्दो गर्नुभयो। म दुःखी साथै अलि निराश भए तापनि आफ्नो कार्यमा लागिरहन मैले अठोट गरेकी थिएँ। तर अप्रिल १९८६ मा मेरो घरको सबै सरसामान चोरी हुँदा अर्को समस्या थपियो। जिन्दगीमा पहिलो चोटि मैले एक्लो महसुस गरें र साह्रै डर पनि लाग्न थाल्यो। एउटा दम्पतीले मलाई केही समयको लागि तिनीहरूसँगै बस्न मायालु निमन्त्रणा दिए लागि म छु।

झाऊको मृत्यु र चोरीको घटनाले यहोवाको सेवामा पनि मलाई असर गऱ्‍यो। सेवकाईमा जाँदा मलाई आत्मविश्‍वास नै हुँदैनथ्यो। आफूले झेल्नु परिरहेको कठिनाइबारे शाखा कार्यालयमा लेखेपछि मेरो भावनात्मक सन्तुलन पुनः प्राप्त गर्न मदतको निम्ति बेथेलमा केही समय बिताउने निमन्त्रणा पाएँ। त्यतिबेला साँच्चै सुदृढ हुन सकें!

अलि बलियो महसुस हुन थालेपछि मैले साऊ पाउलोको इपुआ भन्‍ने शहरमा सेवा गर्ने असाइनमेन्ट स्वीकारें। प्रचारकार्यले गर्दा म व्यस्त हुन्थें तर कहिलेकाहीं निरुत्साहित महसुस गर्थें। त्यस्तो बेला म किरेरन मण्डलीका भाइहरूलाई फोन गर्थें र कुनै-कुनै परिवार केही दिन मसँगै बस्नको निम्ति आउँथें। त्यस्ता भेटहरू मेरोलागि साँच्चै प्रोत्साहनजनक थियो! मैले इपुआमा बिताएको प्रथम वर्षमा ३८ विभिन्‍न भाइबहिनीले मलाई भेट्‌न लामो यात्रा गरे।

सन्‌ १९९२ मा झाऊको मृत्युभएको छ वर्षपछि मैले यहोवाको संगठनबाट एउटा अर्को निमन्त्रणा पाएँ। यसपाली चाहिं साऊ पाउलोको फ्रान्का भन्‍ने शहरमा सेवा गर्नुपर्ने थियो। म अहिलेसम्म पनि यहीं पूर्ण-समय प्रचारकको रूपमा सेवा गरिरहेकीछु। यहाँको इलाका अत्यन्तै फलदायी छ। सन्‌ १९९४ मा मैले यहाँको मेयरसँग बाइबल अध्ययन सुरु गरें। मैले तिनीसँग अध्ययन थाल्दा तिनी ब्राजिलको प्रतिनिधि सभाको निम्ति चुनाउ लड्‌दै थिए। तर तिनको व्यस्त तालिकाको बावजूद हामी हरेक सोमबार दिउँसो अध्ययन गर्थ्यौं। अध्ययनको दौडान कसैले बाधा नपुऱ्‍याओस्‌ भनेर तिनले आफ्नो फोनको लाइन नै बन्द गर्थे। तिनले बिस्तारै आफूलाई राजनीतिबाट अलग गरेको र सच्चाइको मदतले आफ्नो वैवाहिक सम्बन्ध पुनः बलियो बनाएको देख्दा म अत्यन्तै खुसी भएँ! तिनी र तिनकी पत्नीले १९९८ मा बप्तिस्मा लिए।

आफ्नो जीवनलाई यसो फर्केर हेर्दा, पूर्ण-समय सेवकको रूपमा मेरो जीवन प्रचुर आशिष्‌ र सुअवसरहरूले भरिपूर्ण छ भन्‍नसक्छु। यहोवाले मलाई उहाँको संगठनमार्फत दिनुभएको निमन्त्रणा स्वीकार्दा मैले साँच्चै प्रशस्त मात्रामा इनामहरू पाएकी छु। अनि भविष्यमा जस्तोसुकै निमन्त्रणा आए तापनि त्यसलाई राजीखुसीसाथ स्वीकार्न म झनै कटिबद्ध भएकी छु।

[पृष्ठ २५-मा भएका चित्रहरू]

सन्‌ १९५७ मा पूर्ण-समय सेवकाईमा प्रवेश गर्दा र आज

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९६३ मा ब्राजिल बेथेल परिवारसँग

[पृष्ठ २७-मा भएको चित्र]

अगस्त १९६५ मा हाम्रो बिहे हुँदा

[पृष्ठ २७-मा भएको चित्र]

पोर्चुगलमा हाम्रो काममा प्रतिबन्ध लगाइएको बेला आयोजना गरिएको सम्मेलन

[पृष्ठ २८-मा भएको चित्र]

सन्‌ १९७८ मा “विजयी विश्‍वास” अन्तरराष्ट्रिय अधिवेशनको दौडान लिस्बनमा सडक साक्षी दिंदै