सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌

यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌

यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌

“परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

१, २. (क) भयले कसरी हामीलाई चोटपटक लाग्नदेखि जोगाउनसक्छ? (ख) बुद्धिमान्‌ आमाबाबुले किन आफ्नो छोराछोरीमा स्वास्थ्यकर भय विकास गर्न मदत गर्छन्‌?

 “निडरताको कारण जीवन खतरामा पर्नसक्छ भने भयले सुरक्षा दिन्छ” भनी लियोनार्डो डा भिन्चीले टिप्पणी गरे। शूरवीर हुन खोज्दा मानिस खतराहरूप्रति अन्धा हुन्छन्‌ भने भयले तिनलाई होसियार हुन सजग गराउँछ। उदाहरणका लागि, भीरको टुप्पाबाट तल हेर्दा यहाँबाट खस्यो भने के होला भनी सोच्दा मात्र पनि हामीमध्ये प्रायजसो डरले तुरुन्तै पछि हट्‌छौं। त्यसै गरी, स्वास्थ्यकर भयले परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध विकास गर्न मात्र होइन तर अघिल्लो लेखमा पढेझैं हामीलाई हानिबाट जोगाउन पनि मदत गर्छ।

तथापि, आधुनिक समयमा थुप्रै खतराहरूको डर राख्न सिक्नुपर्छ। केटाकेटीलाई बिजुली वा शहरको ट्राफिकको खतराबारे थाह नहुने हुँदा तिनीहरू गम्भीर खतरामा पर्नसक्छन्‌। a बुद्धिमान्‌ आमाबाबुले आफ्नो छोराछोरीलाई आफू वरपरको खतराबारे बारम्बार चेताउनी दिएर स्वास्थ्यकर भय सिकाउने प्रयास गर्छन्‌। यस भयले आफ्नो छोराछोरीको जीवन बचाउनसक्छ भनी आमाबाबुलाई थाह छ।

३. यहोवाले आध्यात्मिक खतराहरूबारे किन र कसरी चेताउनी दिनुहुन्छ?

यहोवाले हाम्रो हितको त्यस्तै चासो राख्नुहुन्छ। मायालु पिताको हैसियतमा उहाँले आफ्नो वचन र संगठनमार्फत हाम्रो फाइदाको निम्ति सिकाउनुहुन्छ। (यशैया ४८:१७) उहाँको ईश्‍वरीय शिक्षाको एउटा भाग हामीलाई आध्यात्मिक पासोबारे “घरिघरि” चेताउनी दिनु पनि हो। यसले गर्दा हामी त्यस्ता खतराहरूप्रति स्वास्थ्यकर भय विकास गर्नसक्छौं। (२ इतिहास ३६:१५; २ पत्रुस ३:१) इतिहासभरि ‘मानिसहरूले परमेश्‍वरको डर मान्‍नुका साथै उहाँको सबै कुरा पालन गरेको’ भए त्यस्ता थुप्रै आध्यात्मिक विपत्ति र दुःखकष्ट आइपर्ने थिएन। (व्यवस्था ५:२९) यस्तो “डरलाग्दो समय[मा]” हामी कसरी परमेश्‍वरको भय मान्‍ने हृदय विकास गर्नुका साथै आध्यात्मिक खतराहरूबाट टाढा रहनसक्छौं?—२ तिमोथी ३:१.

खराब कुरादेखि अलग रहनुहोस्‌

४. (क) मसीहीहरूले कस्तो घृणा खेती गर्नुपर्छ? (ख) पापपूर्ण आचरणबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? (पादटिप्पणी हेर्नुहोस्‌।)

“परमेश्‍वरको भय मान्‍नु दुष्टतालाई घृणा गर्नु हो” भनी बाइबल बताउँछ। (हितोपदेश ८:१३) एउटा बाइबल शब्दकोशले यस घृणालाई “विरोध, हेला वा आफूले कुनै सम्बन्ध राख्न नचाहने व्यक्‍ति र कुराप्रति व्यक्‍त गरिने भावनात्मक मनोवृत्ति” हो भनी व्याख्या गरेको छ। त्यसैले, ईश्‍वरीय भयमा यहोवाको नजरमा खराब कुराहरूलाई भित्र हृदयदेखि घृणा गर्नु पनि समावेश छ। b (भजन ९७:१०) जसरी भीरबाट तल हेर्ने बित्तिकै हामी आफसेआफ पछि हट्‌छौं, त्यसै गरी यस भयले हामीलाई खराबीबाट टाढा रहन उत्प्रेरित गर्छ। “परमप्रभुको भयले मानिसहरूलाई खराब कामबाट फर्काउँछ” भनी बाइबल बताउँछ।—हितोपदेश १६:६.

५. (क) हामी कसरी आफ्नो ईश्‍वरीय भयलाई बलियो बनाउनुका साथै खराबीलाई घृणा गर्नसक्छौं? (ख) यस सन्दर्भमा इस्राएल राष्ट्रको इतिहासले हामीलाई कस्तो पाठ सिकाउँछ?

पापको कारण हुने हानिकारक नतिजाहरू विचार गरी हामी स्वास्थ्यकर भय विकास गर्नुका साथै खराबीलाई घृणा गर्नसक्छौं। चाहे शरीरअनुसार होस्‌ वा आत्माअनुसार, हामी जे रोप्छौं त्यसैअनुसार कटनी गर्नेछौं भनी बाइबलले बताउँछ। (गलाती ६:७, ८) यसैकारण, यहोवाले उहाँको आज्ञा बेवास्ता गर्दा र साँचो उपासनालाई त्याग्दा हुने नतिजाहरू स्पष्टसँग व्याख्या गर्नुभएको छ। परमेश्‍वरको सुरक्षाविना सानो, निस्सहाय इस्राएल राष्ट्र क्रूर र शक्‍तिशाली छिमेकीहरूको आक्रमणको खतरामा पर्ने थियो। (व्यवस्था २८:१५, ४५-४८) इस्राएल अनाज्ञाकारी हुँदा भोगेका दुःखदायी नतिजाहरूबाट हामीले पाठ सिकेर ईश्‍वरीय भय खेती गर्न सकोस्‌ भनी बाइबलमा हाम्रो “चेताउनीको निम्ति लेखिएका हुन्‌।”—१ कोरिन्थी १०:११.

६. ईश्‍वरीय भय सिक्न हामीले विचार गर्नसक्ने केही धर्मशास्त्रीय उदाहरणहरू कुन हुन्‌? (पादटिप्पणी हेर्नुहोस्‌।)

सम्पूर्ण इस्राएल राष्ट्रले भोगेका घटनाहरूबाहेक बाइबलमा ईर्ष्या, अनैतिकता, लोभ वा घमण्डको वशमा परेका व्यक्‍तिहरूको जीवनी पनि लिपिबद्ध गरिएका छन्‌। c ती कतिपय मानिसहरूले यहोवाको सेवा गरेको निकै वर्ष भइसकेको थियो तर जीवनको महत्त्वपूर्ण घडीमा परमेश्‍वरप्रतिको तिनीहरूको भय बलियो हुन सकेन र तिनीहरूले दुःखद्‌ नतिजाहरू भोग्नुपऱ्‍यो। यी धर्मशास्त्रीय उदाहरणहरूमा मनन गर्दा त्यस्ता गल्तीहरू नदोहऱ्‍याउने हाम्रो संकल्प बलियो हुनसक्छ। व्यक्‍तिगत तवरमा दुःख भोगिसकेपछि मात्र परमेश्‍वरको सल्लाहलाई हृदयंगम गर्न सिक्यौं भने त्यो कत्ति दुःखलाग्दो हुनेछ! विशेष गरी आत्म-विलासिताको कारण मानिसले भोग्ने अनुभवहरूबाट पाठ सिक्न सकिन्छ भन्‍ने धारणा सामान्यतया राखिन्छ तर वास्तवमा त्यो धारणा सही होइन।—भजन १९:७.

७. आफ्नो लाक्षणिक वासस्थानमा यहोवाले कसलाई आमन्त्रित गर्नुहुन्छ?

ईश्‍वरीय भय खेती गर्नुपर्ने अर्को सशक्‍त कारण परमेश्‍वरसँगको हाम्रो सम्बन्धलाई सुरक्षित राख्ने चाहना हो। यहोवालाई अप्रसन्‍न तुल्याउन हामी डराउँछौं किनभने हामी उहाँसितको मित्रतालाई मूल्यवान्‌ ठान्छौं। आफ्नो लाक्षणिक वासस्थानमा यहोवाले कसलाई आमन्त्रित गर्न योग्यको मित्र ठान्‍नुहुन्छ? “जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ।” (भजन १५:१, २, नयाँ संशोधित संस्करण) सृष्टिकर्तासँगको यस विशेष सम्बन्धलाई हामीले मूल्यवान्‌ ठान्यौं भने, हामी उहाँको नजरमा निर्दोष भएर चल्न होसियार हुनेछौं।

८. मलाकीको दिनमा केही इस्राएलीहरूले परमेश्‍वरसँगको मित्रतालाई कसरी हल्कासित लिए?

दुःखको कुरा, मलाकीको समयका केही इस्राएलीहरूले परमेश्‍वरसँगको मित्रतालाई हल्कासित लिए। यहोवाको भय मान्‍नु तथा आदर गर्नुको सट्टा तिनीहरूले उहाँको वेदीमा बिरामी र लंगडो पशुहरू बलि चढाए। परमेश्‍वरप्रतिको भयमा देखिएको कमी विवाहप्रति तिनीहरूको मनोवृत्तिमा पनि झल्कियो। तरुणी केटीहरूसँग विवाह गर्न तिनीहरूले स-सानो निहुँ बनाएर आफ्ना पत्नीहरूलाई त्यागे। “स्वास्नीलाई त्याग्ने कुरालाई” यहोवा घिन गर्नुहुन्छ र आफ्नो छली मनोवृत्तिको कारण तिनीहरू परमेश्‍वरबाट अलग भएका छन्‌ भनी मलाकीले तिनीहरूलाई बताए। त्यागिएका पत्नीहरूको दुःखको प्रतीकात्मक आँसुले वेदी भिजिएको देख्दा देख्दै परमेश्‍वरले कसरी तिनीहरूका बलिदानहरूलाई कृपाको दृष्टिले हेर्न सक्नुहुन्थ्यो होला र? उहाँका स्तरहरूको त्यस्तो घोर अनादार गरेको देखेर यहोवा यस्तो प्रश्‍न गर्न उत्प्रेरित हुनुभयो: “मेरो डर खोइ?”—मलाकी १:६-८; २:१३-१६.

९, १०. यहोवासँगको मित्रतालाई मूल्यवान्‌ ठान्छौं भनी हामी कसरी देखाउनसक्छौं?

आज, त्यस्तै गरी यहोवाले स्वार्थी र अनैतिक पति र बुबाहरू वा पत्नी र आमाहरूको कारण समेत थुप्रै निर्दोष जीवनसाथी र केटाकेटीको हृदय छियाछिया भएको देख्नुभएको छ। निश्‍चय पनि यस्ता कुराहरूले उहाँलाई दुःखित तुल्याउँछ। परमेश्‍वरको मित्रले सबै कुरामा परमेश्‍वरको जस्तै दृष्टिकोण अपनाउँछ र वैवाहिक बन्धनलाई कम महत्त्व दिने सांसारिक विचारहरू त्याग्न अनि “व्यभिचारदेखि अलग” रहेर आफ्नो वैवाहिक सम्बन्ध बलियो बनाउने प्रयास गर्छ।—१ कोरिन्थी ६:१८.

१० विवाहका साथै जीवनका अन्य क्षेत्रमा पनि यहोवाको नजरमा खराब कुराहरूलाई घृणा गरेर उहाँसँगको मित्रताको गहिरो मूल्यांकन गर्दा हामीले यहोवाको अनुग्रह र अनुमोदन प्राप्त गर्नेछौं। प्रेरित पत्रुसले दृढतापूर्वक यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) ईश्‍वरीय भयले कसरी विभिन्‍न कठिन परिस्थितिमा समेत व्यक्‍तिविशेषलाई सही कुरा गर्न उत्प्रेरित गऱ्‍यो भन्‍ने हामीसित थुप्रै धर्मशास्त्रीय उदाहरणहरू छन्‌।

परमेश्‍वरको भय राख्ने तीन व्यक्‍ति

११. कस्तो परिस्थितिमा अब्राहाम “परमेश्‍वरसँग डराउँदो” रहेछ भनी घोषणा गरियो?

११ बाइबलमा एक जना यस्तो व्यक्‍ति छन्‌ जसलाई यहोवाले आफ्नो मित्र भन्‍नुभयो। ती व्यक्‍ति हुन्‌, कुलपिता अब्राहाम। (यशैया ४१:८) अब्राहामको एक मात्र छोरा इसहाक जसद्वारा परमेश्‍वरले ठूलो राष्ट्र खडा गर्ने प्रतिज्ञा गर्नुभएको थियो, तिनलाई यहोवाले बलिदानको रूपमा चढाउन अह्राउनुहुँदा अब्राहामको ईश्‍वरीय भयको ठूलो परीक्षा भयो। (उत्पत्ति १२:२, ३; १७:१९) के “परमेश्‍वरका मित्र[ले]” यो पीडादायी परीक्षा पार गर्ने थिए? (याकूब २:२३) अब्राहामले इसहाकलाई मार्न छुरी उठाउनै लाग्दा यहोवाको स्वर्गदूतले यसो भने: “तेरो हात त्यस केटामाथि नउठा, औ त्यसलाई केही नगर्‌। किनभने अब मैले थाह पाएँ तँ परमेश्‍वरसँग डराउँदो रहेछस्‌, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”—उत्पत्ति २२:१०-१२.

१२. केले अब्राहामको ईश्‍वरीय भय उत्प्रेरित भएको थियो र हामीले पनि त्यस्तै मनोभाव कसरी देखाउनसक्छौं?

१२ पहिला पनि अब्राहामले आफूलाई यहोवाको भय राख्ने व्यक्‍ति भनी प्रमाणित गरिसके तापनि यस अवसरमा भने तिनले आफ्नो ईश्‍वरीय भय उल्लेखनीय ढंगमा प्रकट गरे। इसहाकलाई बलि चढाउन राजी हुँदा तिनले आदरपूर्ण आज्ञाकारिता मात्र देखाइरहेका थिएनन्‌। अब्राहाम, स्वर्गमा हुनुहुने पिताले आवश्‍यक परेमा इसहाकको पुनरुत्थान गरेर आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने पूर्ण विश्‍वासले उत्प्रेरित भएका थिए। पावलले लेखेझैं “प्रतिज्ञा गर्नुभएको कुरा परमेश्‍वरले गर्न पनि सक्नुहुन्छ भन्‍ने अब्राहामलाई पूरा निश्‍चय थियो।” (रोमी ४:१६-२१, नयाँ संशोधित संस्करण) ठूल-ठूला त्यागहरू गर्नुपरे तापनि के हामी परमेश्‍वरको इच्छाअनुसार गर्न तयार छौं? यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्‍ने कुरा मनमा राख्दै त्यस्तो आज्ञाकारिताले चिरकालीन फाइदाहरू हुन्छ भनी के हामी पूर्णतया विश्‍वस्त छौं? (हिब्रू ११:६) त्यो परमेश्‍वरप्रतिको साँचो भय हो।—भजन ११५:११.

१३. युसूफले किन आफूलाई ‘परमेश्‍वरसँग डराउने’ मानिस भनी वर्णन गर्नसक्थे?

१३ अब हामी सक्रिय ईश्‍वरीय भयको अर्को उदाहरण जाचौं। त्यो हो, यूसुफको। पोतिफरको घरमा दास हुँदा यूसुफले व्यभिचार गर्ने दबाउ दिनहुँ सामना गर्नुपऱ्‍यो। आफ्नो मालिकको पत्नी नभेट्‌ने तिनीसित अरू कुनै उपाय नै थिएन, जसले बारम्बार यूसुफलाई अनैतिक कार्य गर्न दबाउ दिइरहन्थिन्‌। आखिरमा जब तिनले “यूसुफको लुगा समाते” तब “यूसुफ भागे, र घरबाट बाहिर निस्के।” खराबीबाट तुरुन्तै भाग्न तिनलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? निस्सन्देह, मुख्य कारण परमेश्‍वरप्रतिको भय अर्थात्‌ “यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा . . . पाप” नगर्ने चाहना थियो। (उत्पत्ति ३९:७-१२) यूसुफले आफूलाई ‘परमेश्‍वरसँग डराउने’ मानिसको रूपमा सही वर्णन गर्नसक्थे।—उत्पत्ति ४२:१८, नयाँ संशोधित संस्करण।

१४. यूसुफले देखाएको कृपामा कसरी परमेश्‍वरप्रतिको साँचो भय झल्कियो?

१४ आफूलाई दासत्वमा बेच्ने दाजुभाइहरूसित यूसुफको वर्षौंपछि भेट भयो। तिनीहरूलाई खानेकुराको नितान्त आवश्‍यकता परिरहेको थियो र यूसुफले यस परिस्थितिको फाइदा उठाएर तिनीहरूसँग सजिलै बदला लिनसक्थे। तर मानिसहरूसँग निरंकुश व्यवहार गर्दा परमेश्‍वरप्रतिको भय झल्कँदैन। (लेवी २५:४३) अतः यूसुफले आफ्ना दाजुहरूको मन परिवर्तन भएको पर्याप्त प्रमाण पाएपछि तिनले कृपालु भई उनीहरूलाई क्षमा दिए। यूसुफले जस्तै ईश्‍वरीय भयले हामीलाई पनि खराबीलाई भलाइले जित्नका साथै प्रलोभनमा नपर्नदेखि होसियार हुन उत्प्रेरित गर्नेछ।—उत्पत्ति ४५:१-११; भजन १३०:३, ४; रोमी १२:१७-२१.

१५. अय्यूबको आचरण देखेर यहोवाको हृदय किन प्रसन्‍न भयो?

१५ परमेश्‍वरको भय राख्ने अर्को उल्लेखनीय व्यक्‍ति अय्यूब हुन्‌। यहोवाले दियाबललाई यसो भन्‍नुभयो: “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्‌? परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस तैंले कोही पाउनेछैनस्‌।” (अय्यूब १:८) लामो समयसम्म अय्यूबको निर्दोष आचरण देखेर स्वर्गमा हुनुहुने पिताको हृदय प्रसन्‍न भएको थियो। अय्यूबले परमेश्‍वरको भय राखे किनभने तिनलाई यो कुरा सही हुनुका साथै जीवन व्यतीत गर्ने सबैभन्दा राम्रो मार्ग हो भनी थाह थियो। “परमेश्‍वरको डरनै बुद्धि हो, र दुष्टताबाट अलग रहनु समझ–शक्‍ति हो” भनी अय्यूबले उद्‌गार व्यक्‍त गरे। (अय्यूब २८:२८) विवाहित मानिस भएको कारण तिनले कहिल्यै जवान स्त्रीहरूलाई अनुचित दृष्टिले हेरेनन्‌ र आफ्नो मनमा व्यभिचारी विचारहरू खेलाइरहेनन्‌। तिनी एक जना धनी व्यक्‍ति भए तापनि तिनले आफ्नो भरोसा धनमा राखेनन्‌ र तिनी हर प्रकारको मूर्तिपूजाबाट अलग रहे।—अय्यूब ३१:१, ९-११, २४-२८.

१६. (क) कुन तरिकामा अय्यूबले अनुग्रह देखाए? (ख) आफूले क्षमा दिन आनाकानी नगरेको कुरा अय्यूबले कसरी देखाए?

१६ तथापि, ईश्‍वरीय भयको अर्थ भलाइ गर्नुका साथसाथै खराबीबाट अलग रहनु पनि हो। अतः अय्यूबले अन्धा, लंगडा र दरिद्रहरूप्रति दया देखाए। (लेवी १९:१४; अय्यूब २९:१५, १६) “आफ्ना सँगीहरूलाई अनुग्रह नदेखाउनेहरूले सर्वशक्‍तिमान्‌प्रति पनि भय राख्न छोड्‌छ” भन्‍ने कुरा अय्यूबले बुझेका थिए। (अय्यूब ६:१४, NW) दया नदेखाउनु भनेको क्षमा नदिनु र इबी राख्नु पनि हो। परमेश्‍वरको निर्देशनमा अय्यूबले आफूलाई साह्रै चित्त दुखाएका तीन जना साथीहरूको खातिर प्रार्थना गरे। (अय्यूब ४२:७-१०) आफूलाई कुनै तरिकामा चित्त दुखाउने सँगी विश्‍वासीप्रति के हामी पनि क्षमा दिने त्यस्तै मनोवृत्ति देखाउनसक्छौं? आफ्नो अपमान गर्ने व्यक्‍तिको खातिर निष्कपट प्रार्थना गर्दा पनि द्वेष भाव हटाउनु निकै मदतकारी हुन्छ। ईश्‍वरीय भयको कारण अय्यूबले उठाएको आनन्दले हामीलाई ‘परमेश्‍वरसँग डराउनेहरूका निम्ति उहाँले राख्नुभएको भलाइ कति ठूलो छ’ भन्‍ने कुराको पूर्वझलक दिन्छ।—भजन ३१:१९; याकूब ५:११.

परमेश्‍वरको भय विरुद्ध मानिसको भय

१७. मानिसको भयले हामीलाई के गर्नसक्छ तर किन त्यस्तो भयले भावी प्रत्याशाहरूलाई असर गर्न सक्दैन?

१७ परमेश्‍वरको भयले हामीलाई सही काम गर्न उत्प्रेरित गर्नसक्छ भने मानिसको भयले हाम्रो विश्‍वासलाई कमजोर बनाउनसक्छ। यसकारण, प्रेरितहरूलाई सुसमाचारका जोसिला प्रचारकहरू हुन प्रोत्साहन दिंदै येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “शरीर मार्ने तर आत्मालाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्नसक्नेसँग बरु डराओ।” (मत्ती १०:२८) मानिसको डरले हाम्रा भावी प्रत्याशाहरूलाई असर गर्न सक्दैन भनी येशूले बताउनुभयो। यसबाहेक, हामी परमेश्‍वरको भय राख्छौं किनभने हामी उहाँको विस्मयकारी शक्‍तिबारे सजग छौं, जसको अगाडि सबै राष्ट्रको पराक्रम नगण्य छ। (यशैया ४०:१५) यहोवाले आफ्ना विश्‍वासी सेवकहरूको पुनरुत्थान गर्न सक्नुहुन्छ भनी अब्राहामजस्तै हामी पनि पूर्णतया विश्‍वस्त छौं। (प्रकाश २:१०) यसप्रकार, हामी पूर्ण भरोसाका साथ यसो भन्‍नसक्छौं: “परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?”—रोमी ८:३१.

१८. यहोवाको भय राख्नेहरूलाई उहाँले कुन तरिकामा इनाम दिनुहुन्छ?

१८ विरोधी चाहे आफ्नै परिवारको सदस्य होस्‌ वा स्कूलमा धम्काउने व्यक्‍ति, ‘जसले परमप्रभुको भय मान्छ, त्यसको उहाँ सुरक्षित किल्ला हुनुहुनेछ’ भनी हामीलाई थाह छ। (हितोपदेश १४:२६, नयाँ संशोधित संस्करण) हाम्रो पुकारा यहोवाले सुन्‍नुहुनेछ भन्‍ने कुरा मनमा राख्दै हामी बलको निम्ति उहाँलाई प्रार्थना गर्नसक्छौं। (भजन १४५:१९) यहोवाको भय राख्नेहरूलाई उहाँले कहिल्यै बिर्सनुहुन्‍न। आफ्नो अगमवक्‍ता मलाकीमार्फत उहाँले यस्तो आश्‍वासन दिनुहुन्छ: “परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले आपसमा कुरा ध्यानसित सुन्‍नुभयो, औ उहाँको डर मान्‍नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।”—मलाकी ३:१६.

१९. कस्तो प्रकारका डरहरू हट्‌नेछन्‌ तर कस्तो चाहिं सदासर्वदा रहनेछ?

१९ संसारमा भएका सबै मानिसले परमेश्‍वरको उपासना गर्ने र मानिसको भय नामेट हुने समय नजिकै छ। (यशैया ११:९) भोक, रोग, अपराध र युद्धको डर पनि हराउनेछ। तर परमेश्‍वरको भय सदासर्वदा रहनेछ किनभने स्वर्ग अनि पृथ्वीमा भएका उहाँका विश्‍वासी सेवकहरूले उहाँको निरन्तर महिमा गर्नुका साथै उहाँप्रति आदर तथा आज्ञाकारिता देखाउनेछन्‌। (प्रकाश १५:४) त्यतिञ्जेल, हामी सबैले सुलेमानको यस प्रेरित सल्लाहलाई हृदयंगम गरौं: “पापीहरूको अनुसरण गर्न चेष्टा नगर्‌, तर दिनहुँ परमेश्‍वरको भय मान्‌। त्यसो गरिस्‌ भने तेरो भविष्य उज्ज्वल हुनेछ, तेरो आशा व्यर्थमा जानेछैन।”—हितोपदेश २३:१७, १८.

[फुटनोटहरू]

a आफ्नो काममा बारम्बार खतरनाक परिस्थिति सामना गर्नुपर्दा खतराप्रति वयस्कहरूको डर नै हराउनसक्छ। थुप्रै सिकर्मीहरूको किन औंला काटिएका हुन्छन्‌ भनी एक जना अनुभवी कालिगढलाई प्रश्‍न गर्दा तिनले यस्तो सरल जवाफ दिए: “द्रुत गतिले चल्ने बिजुलीको करौंती चलाउँदा-चलाउँदा तिनीहरूलाई त्यो देखेर डर लाग्नै छोडिसकेको हुन्छ।”

b स्वयम्‌ यहोवाले यस्तो घृणा महसुस गर्नुहुन्छ। उदाहरणका लागि, न्यु वर्ल्ड ट्रान्सलेसन-मा एफिसी ४:२९ मा खराब बोलीलाई “कुहिएको वचन” भनिएको छ। “कुहिएको” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थले सडेको फलफूल, माछा वा मासु भन्‍ने बुझाउँछ। त्यस्तो पदावलीबाट हामीले कुवाक्य वा अपशब्दलाई कुन हदसम्म घृणा गर्नुपर्छ भनी स्पष्ट बुझ्छौं। त्यस्तै गरी, धर्मशास्त्रमा मूर्तिहरूलाई अक्सर “घृणित” भनी व्याख्या गरिएको छ। (व्यवस्था २९:१७; इजकिएल ६:९) फोहोरमैला वा दिसापिसाब देख्दा हामीले स्वतः देखाउने प्रतिक्रियालाई विचार गर्दा मात्र पनि परमेश्‍वरले कुनै पनि प्रकारको मूर्तिपूजालाई गर्नुहुने घृणाबारे बुझ्नसक्छौं।

c उदाहरणका लागि, कयिन (उत्पत्ति ४:३-१२); दाऊद (२ शमूएल ११:२–१२:१४); गेहजी (२ राजा ५:२०-२७); र उज्जियाह (२ इतिहास २६:१६-२१) का धर्मशास्त्रीय विवरणहरूलाई विचार गर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• हामी कसरी खराबीलाई घृणा गर्न सिक्छौं?

• मलाकीको समयका केही इस्राएलीहरूले यहोवासँगको मित्रतालाई कसरी हल्कासित लिए?

• परमेश्‍वरको भयबारे अब्राहाम, यूसुफ र अय्यूबबाट हामी के कुरा सिक्नसक्छौं?

• कुन भय सधैं रहनेछ र किन?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

बुद्धिमान्‌ आमाबाबुले आफ्नो सन्तानलाई स्वास्थ्यकर भय सिकाउँछन्‌

[पृष्ठ २०-मा भएको चित्र]

जसरी डरले हामीलाई खतराबाट टाढा रहन मदत गर्छ त्यसै गरी ईश्‍वरीय भयले हामीलाई खराब कुराहरूबाट टाढा रहन मदत गर्छ

[पृष्ठ २३-मा भएको चित्र]

आफ्ना झूटा तीन मित्रहरूको सामना गर्नुपर्दा समेत अय्यूबले परमेश्‍वरप्रतिको भय कायम राखे

[स्रोत]

From the Bible translation Vulgata Latina, 1795