सुनौलो नियम एक विश्वव्यापी शिक्षा
सुनौलो नियम एक विश्वव्यापी शिक्षा
“यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ७:१२.
यी शब्दहरू येशू ख्रीष्टले झन्डै दुई हजार वर्षअघि उहाँको प्रख्यात डाँडाको उपदेशमा भन्नुभएको थियो। त्यसपछिका शताब्दीहरूमा यस सरल भनाइबारे धेरै कुरा भनिएका र लेखिएका छन्। यसलाई “धर्मशास्त्रको मुख्य सार,” “आफ्नो छिमेकीप्रति मसीहीहरूको जिम्मेवारीको सारांश” र “आधारभूत नैतिक सिद्धान्त” इत्यादि भनी बयान गरिएको छ। यो भनाइ असाध्यै प्रख्यात भएको कारण यसलाई अक्सर सुनौलो नियम भनिन्छ।
तथापि, सुनौलो नियम तथाकथित् मसीहीजगत्मा मात्र सीमित छैन। यहूदीधर्म, बौद्ध धर्म र युनानी दर्शन सबैले यस नैतिक सिद्धान्त कुनै न कुनै तरिकामा उल्लेख गरेका छन्। पूर्वीय देशहरूमा सबैभन्दा ज्ञानी र महान् शिक्षकको रूपमा चिनिने कन्फुसियसको भनाइ पूर्वका मानिसहरूलाई राम्ररी थाह छ। कन्फुसियसका फोर बुक्स-मध्ये तेस्रो अर्थात् दी आनालेक्ट्स-मा सुनौलो नियमको धारणा तीन चोटि उल्लेख गरिएको पाउँछौं। विद्यार्थीहरूको प्रश्नको जवाफमा कन्फुसियसले दुई चोटि यसो भने: “तिमीहरू आफूलाई जे गरेको चाहदैनौं त्यो अरूलाई पनि नगर।” एक चोटि आफ्नो विद्यार्थी जिगोङले घमण्ड गर्दै यसो भने, “अरूले मलाई जे नगरोस् भन्ने म चाहन्छु, म पनि तिनीहरूलाई त्यसो गर्न चाहन्नँ।” यसको प्रत्युत्तरमा शिक्षकले यस्तो सोचनीय उत्तर दिए, “कुरा सही हो, तर तिमीले यो अहिलेसम्म गर्न सकेका छैनौ।”
यी शब्दहरू पढ्दा कन्फुसियसले येशूका यी शब्दहरूलाई नै बेग्लै दृष्टिकोणबाट प्रस्तुत गरेका थिए भनी थाह पाउनसक्छौं। स्पष्टै देखिने भिन्नता के हो भने, येशूले उल्लेख गर्नुभएको सुनौलो नियमअनुसार हामीले अरूको भलाइ हुने सकारात्मक कार्य गर्नुपर्छ। मानिलिनुहोस्, येशूको यो सकारात्मक टिप्पणीअनुसार मानिसहरू दिनहुँ अरूको हेरचाह र मदत गर्दै यसै स्तरअनुरूप जीवन बिताइरहेका छन्। सबै मानिसले यसो गरेर जीवन बिताएको खण्डमा के आजको संसार उत्तम स्थान हुँदैन र? अवश्य।
चाहे नियमलाई सकारात्मक, नकारात्मक वा अन्य जुनसुकै तरिकामा व्यक्त गरिएको किन नहोस्, सबैभन्दा उल्लेखनीय कुरा विभिन्न समय तथा स्थानहरूमा विभिन्न पृष्ठभूमिका मानिसहरूले सुनौलो नियमको शिक्षालाई निकै महत्त्वपूर्ण ठानेका छन्। यसले स्पष्टसित के देखाउँछ भने, येशूले डाँडाको उपदेशमा भन्नुभएको कुरा विश्वव्यापी शिक्षा हो र यसले पृथ्वीका सबै ठाउँका, सबै उमेका मानिसहरूको जीवनलाई असर गर्छ।
आफैलाई सोध्नुहोस्: ‘के म अरूले मलाई आदरपूर्वक, निष्पक्षसाथ र इमानदारीपूर्वक व्यवहार गरोस् भन्ने चाहन्छु? के म जातीय पूर्वाग्रह, अपराध र युद्धविनाको संसारमा बाँच्न चाहन्छु? के म सबैले एकअर्काको भावना र हितको ख्याल राख्ने परिवारको भाग हुन चाहन्छु?’ वास्तवमा भन्ने हो भने, त्यस्ता कुराहरू चाहँदिनँ भनेर कसैले भन्न सक्दैन, सक्छ र? तर यथार्थमा कमै मानिसहरूले मात्र यस्तो अवस्थाको आनन्द उठाइरहेका छन्। अधिकांश मानिसहरू त यस्तो कुराको आशा गर्नुसमेत व्यावहारिक ठान्दैनन्।
सुनौलो नियममा धब्बा
इतिहासका पानाहरू पल्टाएर हेर्दा मानवता विरुद्ध थुप्रै अपराधहरू गरिएका छन्, जहाँ मानवअधिकारलाई पूर्णतया बेवास्ता गरिएको थियो। यसमा अफ्रिकाको दासप्रथा, नाजी यातना शिविरमा मृत्यु, बालबालिकामाथि शोषण र थुप्रै ठाउँमा क्रूर नरसंहार इत्यादि समावेश छन्। यस्ता दर्दनाक घटनाहरूको सूची धेरै लामो छ।
अत्याधुनिक प्रविधि प्रयोग गर्ने वर्तमान संसार साह्रै स्वार्थी छ। आफ्नो सुविधा वा अधिकारलाई जोखिममा राखेर कमै मानिसले मात्र अरूबारे सोच्ने गर्छन्। (२ तिमोथी ३:१-५) मानिसहरू यतिबिघ्न स्वार्थी, क्रूर, भावशून्य र आत्मकेन्द्रित हुनुको कारण के हो? के यो सुनौलो नियम अझै प्रख्यात भए तापनि त्यसलाई अव्यावहारिक, पुरानो जमानाको नैतिक नियम भनी बेवास्ता गरिएको कारण होइन र? दुःखको कुरा, परमेश्वरमाथि विश्वास गर्छु भनी दाबी गर्ने थुप्रै मानिसहरूमाझ पनि अवस्था यस्तै छ। अनि अहिलेको अवस्थालाई हेरेर भन्ने हो भने, मानिसहरू झन्-झनै स्वार्थी हुँदै जानेछन्।
अतः विचार गर्नैपर्ने केही महत्त्वपूर्व प्रश्नहरू हुन्: सुनौलो नियमअनुसार जीवन बिताउनुमा के-के समावेश छ? के सुनौलो नियमअनुसार जीवन बिताउने मानिसहरू अझै छन्? अनि के सबै मानिसजातिले सुनौलो नियमअनुसार जीवन बिताउने समय आउला? यी प्रश्नहरूको साँचो जवाफको लागि कृपया यसपछिको लेख पढ्नुहोस्।
[पृष्ठ ३-मा भएको चित्र]
कन्फुसियस तथा अरूले विभिन्न किसिमले सुनौलो नियम सिकाए