सुनौलो नियम—यो व्यावहारिक छ
सुनौलो नियम—यो व्यावहारिक छ
अधिकांश मानिसहरू सुनौलो नियम भनेको येशूले सुरु गर्नुभएको नैतिक शिक्षा हो भन्ठान्छन् तर स्वयम् येशूले यसो भन्नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।”—यूहन्ना ७:१६.
हो सुनौलो नियमको रूपमा चिनिने शिक्षालगायत येशूका अन्य शिक्षाहरूको स्रोत येशूलाई पठाउनुहुने सृष्टिकर्ता, यहोवा परमेश्वर हुनुहुन्छ।
सबै मानिसले अरूले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने चाहन्छ त्यस्तै व्यवहार उनीहरूले अरूलाई पनि गरोस् भन्ने यहोवाको सुरुको उद्देश्य थियो। अरूको हितको ख्याल गर्ने सन्दर्भमा परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा सबैभन्दा उत्तम उदाहरण बसाल्नुभयो: “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) यसको अर्थ, मानिसले सम्भवतः सदाको निम्ति शान्ति, आनन्द अनि मेलमिलापमा जीवनको आनन्द उठाउन सकोस् भनेर परमेश्वरले मायालु ढंगमा मानिसजातिलाई आफ्ना विशिष्ट गुणहरूसहित सृष्टि गर्नुभयो। अनि ईश्वरप्रदत्त आफ्नो अन्तस्करणलाई सही प्रशिक्षण दिएको खण्डमा मानिसहरूले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने चाहन्थे अरूलाई पनि त्यस्तै व्यवहार गर्न तिनीहरूलाई डोऱ्याउने थियो।
स्वार्थको प्रभुत्व
मानिसजातिको त्यस्तो राम्रो सुरुआत हुँदाहुँदै पनि के भएको त? सरल शब्दमा भन्ने हो भने, स्वार्थ भावले मानिसमा प्रभुत्व जमाउन थाल्यो। प्रायजसो मानिसहरूलाई उत्पत्ति अध्याय ३ मा लिपिबद्ध, प्रथम मानव दम्पतीले के गरे भन्ने बाइबल विवरण थाह छ। परमेश्वरका धार्मिक स्तरहरूका विरोधी शैतानको लहैलहैमा लागेर आदम र हव्वाले स्वतन्त्रता खोजे तथा खराब र असल छनौट गर्ने सन्दर्भमा आफै निर्णय गर्न रोजेर परमेश्वरको शासनलाई तिरस्कार गरे। तिनीहरूको स्वार्थी र विद्रोही कार्यको नकारात्मक असर तिनीहरू आफैले मात्र होइन तिनीहरूका भावी सन्तानले पनि भोग्नुपऱ्यो। सुनौलो नियम भनी चिनिएको शिक्षालाई बेवास्ता गर्दा हुने विपत्तिजनक नतिजाको त्यो एउटा स्पष्ट उदाहरण थियो। अनि “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।”—रोमी ५:१२.
सम्पूर्ण मानिसजातिले यहोवा परमेश्वरले देखाउनुभएको मायालु मार्गहरूतर्फ पिठिउँ फर्काए तापनि उहाँले तिनीहरूलाई त्याग्नुभएन। उदाहरणका लागि, इस्राएल राष्ट्रलाई डोऱ्याउन यहोवाले तिनीहरूलाई आफ्नो व्यवस्था दिनुभयो। यसले तिनीहरूलाई अरूले आफूलाई जस्तो व्यवहार गरोस् भन्ने तिनीहरू चाहन्थे अरूलाई पनि त्यस्तै व्यवहार गर्न सिकायो। यो व्यवस्थाले दासहरू, टुहुराटुहुरी र विधवाहरूलाई कस्तो व्यवहार गर्नुपर्छ भनी निर्देशन दिएको थियो। यसमा आक्रमण, अपहरण र चोरी हुँदा के गर्नुपर्छ भनेर पनि औंल्याइएको थियो। सरसफाइसम्बन्धी नियमले अरूको स्वास्थ्यको ख्याल राख्थ्यो। यौनसम्बन्धी समेत नियम थियो। यहोवाले व्यवस्थाको मुख्य सार मानिसहरूलाई यसप्रकार बताउनुभयो: “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर।” यस भनाइलाई येशूले पनि पछि उद्धृत गर्नुभयो। (लेवी १९:१८; मत्ती ) इस्राएलीहरूमाझ भएका प्रवासीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर पनि व्यवस्थामा बताइएको थियो। व्यवस्थामा यस्तो आज्ञा दिइएको थियो: “प्रवासीलाई अत्याचार नगर, किनकि तिमीहरू मिश्रमा परदेशी रहेको कारण तिमीहरूले प्रवासीको मनलाई जान्दछौ।” अर्को शब्दमा भन्ने हो भने, इस्राएलीहरूले खाँचोमा परेका व्यक्तिहरूप्रति समानुभूति देखाउनुपर्थ्यो।— २२:३९, ४०प्रस्थान २३:९; लेवी १९:३४; व्यवस्था १०:१९.
इस्राएलीहरूले विश्वासीपूर्वक व्यवस्था पालन गरुञ्जेल यहोवाले इस्राएल राष्ट्रलाई आशिष् दिनुभयो। दाऊद र सुलेमानको शासनकालमा इस्राएल राष्ट्र समृद्धशाली हुनुका साथै मानिसहरू आनन्दित तथा सन्तुष्ट थिए। ऐतिहासिक विवरण हामीलाई यसो भन्छ: “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं असंख्य थिए। तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, . . . हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।”—१ राजा ४:२०, २५.
दुःखको कुरा, त्यस राष्ट्रको शान्ति अनि सुरक्षा चिरकालीन हुन सकेन। आफूसित परमेश्वरको व्यवस्था भए तापनि तिनीहरूले त्यसलाई पालन गरेनन्। तिनीहरूले अरूको ख्याल राख्नुको सट्टा आफ्ना स्वार्थ इच्छाहरूलाई प्राथमिकता दिए। साथै, धर्मत्यागको कारण व्यक्तिविशेष र राष्ट्रमै दुःखकष्ट आइपऱ्यो। अन्ततः सा.यु.पू. ६०७ मा यहोवाले बेबिलोनीहरूको हातद्वारा यहूदा राज्य, यरूशलेमको शहर र त्यहाँ अवस्थित भव्य मन्दिरसमेत नाश हुन दिनुभयो। किन? “सेनाहरूका परमप्रभु भन्नुहुन्छ, ‘किनभने तिमीहरूले मेरा वचन पालन गरेनौ, यसैले हेर, म उत्तरका सबै कुलहरूलाई र मेरो दास, बाबेलको राजा नबूकदनेस्सरलाई डाकेर ल्याउनेछु। म तिनीहरूलाई यो देश र यसका बासिन्दाहरू र चारैतिर रहने यी सबै जातिहरूका विरुद्धमा ल्याउनेछु। म तिनीहरूलाई बिलकुलै नाश गर्नेछु। म तिनीहरूलाई भय र घृणा उत्पन्न गराउने औ सधैं उजाड़ रहिरहने तुल्याउनेछु।’ ” (यर्मिया २५:८, ९) हेर्नुहोस् त, यहोवाको शुद्ध उपासनालाई त्याग्दा तिनीहरूले कस्तो ठूलो मोल चुकाउनुपऱ्यो!
अनुकरण गर्नुपर्ने उदाहरण
अर्कोतर्फ, येशू ख्रीष्टले सुनौलो नियम सिकाउनु मात्र भएन तर यसलाई पालन गर्ने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण पनि बसाल्नुभयो। उहाँ साँच्चै अरूको हितको ख्याल राख्नुहुन्थ्यो। (मत्ती ९:३६; १४:१४; लूका ५:१२, १३) एक समयको कुरा हो नाइन शहर नजिकै एक जना विधवाको एउटै मात्र छोराको मुर्दा लगिंदै गरेको येशूले देख्नुभयो। बाइबल विवरण यसो भन्छ: ‘प्रभुले तिनलाई देख्नुभयो, तब तिनीमाथि टिठाउनुभयो।’ (लूका ७:११-१५) भाइन्स एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वड्र्स-अनुसार ‘टिठाउनु’ भन्ने अभिव्यक्तिले “हृदयदेखि उत्प्रेरित हुनु” भन्ने बुझाउँछ। उहाँले त्यस विधवालाई परेको दुःख महसुस गर्नुभयो र यसले उहाँलाई तिनको पीडा कम गर्ने सकारात्मक कदम चाल्न उत्प्रेरित गऱ्यो। येशूले त्यस केटाको पुनरुत्थान गर्नुभएर ‘त्यसलाई आमाको जिम्मा लगाउनुहुँदा’ ती विधवा कत्ति आनन्दित भए होलिन्!
अन्तमा, परमेश्वरको उद्देश्यअनुरूप येशूले राजीखुसीसाथ दुःख भोग्नुभयो अनि मानिसजाति पाप र मृत्युको दासत्वबाट मुक्त हुन सकोस् भनेर उहाँले आफ्नो जीवन छुडौतीको बलिदानको रूपमा अर्पण गर्नुभयो। सुनौलो नियमबमोजिम जीवन बिताएको यो सर्वोत्कृष्ट उदाहरण थियो।—मत्ती २०:२८; यूहन्ना १५:१३; हिब्रू ४:१५.
सुनौलो नियम व्यवहारमा उतार्ने मानिसहरू
के हाम्रो समयमा पनि सुनौलो नियमअनुसार जीवन बिताउने मानिसहरू छन्? छन् र तिनीहरू आफूलाई अनुकूल हुँदा मात्र सुनौलो नियमअनुसार जीवन बिताउने गर्दैनन्। उदाहरणका लागि, दोस्रो विश्वयुद्धको दौडान नाजी जर्मनीमा यहोवाका साक्षीहरूले परमेश्वरमा विश्वास र छिमेकीप्रति प्रेम कायम राखे अनि सुनौलो नियमसित सम्झौता गर्न इन्कार गरे। राज्यले सबै यहूदीहरूलाई घृणा र शोषण गर्ने अभियान चलाउँदा पनि साक्षीहरूले सुनौलो नियम पालन गर्न छाडेनन्। खानाको अभाव भए तापनि भोका यदूदी र गैर-यहूदीहरूसित खाना बाँडचुड गरी खाएर यातना शिविरमा समेत तिनीहरूले सँगी मानवहरूको ख्याल राखे। यसबाहेक, अरूलाई मार्न सरकारले हतियार उठाउने आज्ञा दिए तापनि अरूको हातबाट आफू मारिन नचाहेझैं अरूलाई पनि मार्न तिनीहरूले अस्वीकार गरे। आफैलाई झैं प्रेम गर्नुपर्नेहरूलाई तिनीहरू कसरी मार्न सक्थे र? यस्तो इन्कार गरेको कारण धेरैलाई यातना शिविरमा मात्र पठाइएन तर मारियो पनि।—मत्ती ५:४३-४८.
यशैया २:२-४ मा भविष्यवाणी गरिएअनुरूप “धेरै मानिसहरू” अर्थात् विश्वभरि ६० लाखभन्दा बढी मानिसहरू ‘यहोवाले देखाउनुभएको मार्गमा हिंडिरहेका’ छन्। लाक्षणिक अर्थमा तिनीहरूले “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउन” सिकेका छन्। यस कष्टदायी समयमा तिनीहरूले शान्ति अनि सुरक्षा पाएका छन्।
यो लेख पढ्नुहुँदा तपाईंले सुनौलो नियमको अर्को पक्षबाट पनि लाभ उठाइरहनुभएको छ। आज थुप्रै मानिसहरू आशाहीन र निस्सहाय भएकोले दुःख भोगिरहेका छन् भनी यहोवाका साक्षीहरूलाई थाह छ। यसैकारण, साक्षीहरू स्वेच्छासाथ बाइबलमा पाइने आशा र व्यावहारिक निर्देशनबारे अरूलाई सिक्न मदत दिन सकारात्मक कदम चाल्छन्। यो काम अहिले अत्यन्तै व्यापक रूपमा भइरहेको विश्वव्यापी शैक्षिक कार्यको भाग हो। यसको नतिजा कस्तो भएको छ?तपाईं नि?
शैतान अर्थात् दियाबलको लहैलहैमा लागेर सुनौलो नियमलाई बेवास्ता गर्दा अदनको विद्रोहदेखि अहिलेसम्म मानिसजातिले भोगिरहनुपरेको दुःखकष्टबारे एकछिन सोच्नुहोस्। यहोवाले चाँडै यस परिस्थितिलाई हटाउने उद्देश्य राख्नुभएको छ। कसरी? “शैतानका कामहरू नष्ट पार्नालाईनै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो।” (१ यूहन्ना ३:८) यो परमेश्वरको राज्यशासनअन्तर्गत सुनौलो नियम सिकाउने र त्यसअनुसार जीवन बिताउने व्यक्ति अर्थात् येशू ख्रीष्टको बुद्धिमानी र सक्षम नेतृत्वमा हुनेछ।—भजन ३७:९-११; दानियल २:४४.
पुरातन इस्राएलका राजा दाऊदले यसो भने: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ। तिनले दिनभरि अनुग्रहसाथ व्यवहार गर्छन्, र ऋण दिन्छन्, र तिनका सन्तानले आशिष पाउँछन्।” (भजन ३७:२५, २६) के अहिले अधिकांश मानिसहरूले “अनुग्रहसाथ व्यवहार” गर्नुको सट्टा आफ्नै स्वार्थपूर्ति मात्र गरिरहेका छैनन् र? साँच्चै, सुनौलो नियम पालन गर्दा यसले साँचो शान्ति अनि सुरक्षातर्फ डोऱ्याउनसक्छ किनभने हामी अहिले र भविष्यमा परमेश्वरको राज्यअन्तर्गत पाउने आशिष्हरूको आनन्द उठाउनसक्छौं। परमेश्वरको राज्यले पृथ्वीबाट सबै स्वार्थ र दुष्टता हटाउनेछ अनि अहिलेको भ्रष्ट मानव दुष्ट रीतिरिवाजको सट्टा परमेश्वरको नयाँ राज्य हुनेछ। अनि सुनौलो नियमअनुसार जीवन बिताउँदा सबै मानिस आनन्दित हुनेछन्।—भजन २९:११; २ पत्रुस ३:१३.
[पृष्ठ ४, ५-मा भएका चित्रहरू]
येशूले सुनौलो नियम सिकाउनु मात्र भएन तर त्यसलाई व्यवहारमा उतारेर सर्वोत्कृष्ट उदाहरण पनि बसाल्नुभयो
[पृष्ठ ७-मा भएका चित्रहरू]
सुनौलो नियम पालन गर्दा यसले साँचो शान्ति अनि सुरक्षातर्फ डोऱ्याउनसक्छ