सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गिलियडमा सामेल हुन इच्छुक मनोभाव चाहिन्छ

गिलियडमा सामेल हुन इच्छुक मनोभाव चाहिन्छ

गिलियडमा सामेल हुन इच्छुक मनोभाव चाहिन्छ

वाचटावर बाइबल स्कूल अफ गिलियडले समर्पित पुरुष तथा स्त्रीहरूलाई विदेशमा मिसनरी सेवा गर्न प्रशिक्षण दिन्छ। गिलियडमा को-को आउँछन्‌? राजीखुसीले सेवा गर्न चाहनेहरू। (भजन ११०:३) यो कुरा सेप्टेम्बर ८, २००१ का दिन, १११ औं कक्षा स्नातक हुँदा स्पष्ट देखिन्थ्यो।

यस कक्षाका केही विद्यार्थीहरूले राजीखुसीसाथ आफ्नो परिवार, साथीभाइ तथा देश छोडेर आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न थालिसकेका थिए। यसप्रकार तिनीहरूले आफू अर्कै वातावरणमा जीवन बिताउन सक्छ कि सक्दैन भनी जाँचे। उदाहरणका लागि, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नको लागि आफ्नो चाँजोपाँजो मिलाएर राइशा र नाताली बोलिभिया, टड र मिशेल डोमिनिकन रिपब्लिक अनि डेभिड र मोनिक एसियाको एउटा देशमा बसाइँ सरे। अरू कोही विद्यार्थीहरूचाहिं निकारागुआ, इक्वेडर र अल्बेनियामा बसाइँ सरेर सेवा गर्न थालिसकेका थिए।

उच्च माध्यमिक विद्यालयमा छँदै क्रिस्टीलाई स्पेनी भाषा सिक्न प्रोत्साहित गरियो। फलतः विवाह हुनुभन्दा दुई वर्षअघि नै तिनी इक्वेडरमा सेवा गर्न सक्षम भइन्‌। अरू कति जनाले चाहिं आफ्नै देशमा विदेशी भाषाको मण्डलीमा सेवा गरे। सल र प्रिसिसाले अर्कै प्रकारको चुनौती सामना गर्नुपऱ्‍यो अर्थात्‌ इच्छुक मनोभाव देखाउँदै तिनीहरूले स्कूल जानअघि अंग्रेजी भाषा सिक्न मेहनत गरे।

बीस हप्ते लामो मिसनरी प्रशिक्षण चाँडै सिद्धियो। दीक्षान्त समारोहको दिन पनि हेर्दाहेर्दै आइपुग्यो र विद्यार्थीहरूले आफ्ना साथीहरू तथा परिवारको साथमा बुद्धिमान्‌ सल्लाह र प्रोत्साहनका अन्तिम दुई शब्द सुने।

कार्यक्रमका अध्यक्ष, गिलियड स्कूलको सातौं कक्षाका स्नातक थियोडर जारास थिए। तिनी अहिले यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यको रूपमा सेवा गर्छन्‌। गिलियडमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनुको एउटा मुख्य उद्देश्‍य सारा पृथ्वीमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने हो भनेर संगठनको हैसियतमा हामीले कहिल्यै बिर्सेका छैनौं भनेर भाषणको सुरुमै तिनले जोड दिए। (मर्कूस १३:१०) गिलियडले योग्य विद्यार्थीहरूलाई यस प्रचारकार्य पहिलाभन्दा अझ व्यापक तवरमा गर्न र मिसनरीहरूको विशेष आवश्‍यकता भएका ठाउँहरूमा जान सक्षम बनाउँछ। भाइ जारासले विद्यार्थीहरूलाई गिलियडमा प्राप्त गरेको प्रशिक्षण तिनीहरूलाई खटाइएका १९ वटा देशमा गएर त्यहाँ सेवारत अन्य मिसनरीहरूसँगसँगै काम गरेर सदुपयोग गर्न प्रोत्साहन दिए।

स्नातक हुन लागेकाहरूलाई समयानुकूल सल्लाह

त्यसपछि थुप्रै भाषणहरू भए। संयुक्‍त राज्य शाखा समितिका सदस्य विलियम भान डे. वलले “मिसनरी जोस—साँचो मसीहीहरूको चिनारी” भन्‍ने विषयमा भाषण दिए। तिनले मत्ती २८:१९, २० मा लिपिबद्ध “चेला बनाओ” भन्‍ने आज्ञामा आफ्नो भाषण केन्द्रित गरे र विद्यार्थीहरूलाई यस्तो जोडदार आग्रह गरे: “आफ्नो मिसनरी कार्य जोस र उत्साहका साथ गर्नुहुने येशूको अनुकरण गर्नुहोस्‌।” भावी मिसनरीहरूलाई मिसनरी कार्यमा आफ्नो जोस कायम राख्न मदत गर्न तिनले विद्यार्थीहरूलाई यस्तो प्रोत्साहन दिए: “व्यावहारिक तालिका बनाउनुहोस्‌, व्यक्‍तिगत अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌, ईश्‍वरतान्त्रिक विषयहरूसम्बन्धी नयाँ जानकारीहरू थाह पाउनुहोस्‌ र आफू त्यस असाइनमेन्टमा हुनुको कारण कहिल्यै नबिर्सनुहोस्‌।”

कार्यक्रमका अर्को वक्‍ता परिचालक निकायका सदस्य गाइ पियर्स थिए। तिनले “ ‘तर्कशक्‍ति’ विकास गर्न नछोड्‌नुहोस्‌” भन्‍ने विषयमा भाषण केन्द्रित गरे। (रोमी १२:१, NW) तिनले स्नातक हुने विद्यार्थीहरूलाई आफ्नो सोच्ने र तर्क गर्ने ईश्‍वरप्रदत्त क्षमतालाई चलाउन प्रोत्साहन दिंदै व्यावहारिक सल्लाह दिए। “यहोवाले आफ्नो वचनमार्फत तपाईंलाई के भन्दै हुनुहुन्छ भनी गहन विचार गर्नुहोस्‌। यसले तपाईंको रक्षा गर्नेछ” भनी तिनले बताए। (हितोपदेश २:११) “तर्कशक्‍ति[मा]” नै बाधा पुग्ने गरी आफ्ना विचारहरूमा जिद्दी नगर्न भाइ पियर्सले कक्षालाई सम्झाए। यी समयानुकूल सल्लाहहरू मिसनरीको रूपमा सेवा गर्न लागेका स्नातकहरूलाई पक्कै मदतकारी हुनेछन्‌।

त्यसपछि अध्यक्षले गिलियडका एक जना प्रशिक्षक लरेन्स बोवेनलाई मञ्चमा आमन्त्रित गरे र तिनले “अरू कुरा केही नजानेको हुने नै अठोट गर” भन्‍ने विषयमा भाषण दिए। कोरिन्थमा मिसनरी सेवाको दौडान प्रेरित पावलले “येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेको कुराबाहेक अरू केही नजानेको हुनेनै अठोट गरे” भनी तिनले औंल्याए। (१ कोरिन्थी २:२) ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली, पवित्र आत्माले सम्पूर्ण बाइबलमा दिइएको सन्देशलाई समर्थन गर्छ भनी पावललाई थाह थियो। त्यो हो: प्रतिज्ञा गरिएको सन्तानद्वारा यहोवाको सार्वभौमिकता उच्च पार्ने। (उत्पत्ति ३:१५) स्नातक हुन लागेका ४८ जना विद्यार्थीलाई पावल र तिमोथीजस्तो हुन र “पक्का कुराहरूको नमूना पक्री” राखेर मिसनरीहरूको रूपमा सफल हुन आग्रह गरियो।—२ तिमोथी १:१३.

प्रारम्भिक भाषणहरूको श्रृंखलाको अन्तिम भाषणको विषय थियो, “परमेश्‍वरले दिनुभएको वरदान अर्थात्‌ आफूले पाएको सुअवसरको मूल्यांकन गर्नुहोस्‌।” गिलियड स्कूलका रजिस्ट्रार, वालेस लिभरेन्सले विद्यार्थीहरूलाई सेवाका सुअवसरहरू परमेश्‍वरको अनुग्रह हुन्‌, आफ्नो अधिकार वा आफूले कमाएको कुरा होइन भनी बुझ्न मदत गरे। प्रेरित पावलको उदाहरणलाई औंल्याउँदै भाइ लिभरेन्सले यसो भने: “यहोवाले पावललाई तिनका कामको आधारमा राष्ट्रहरूको प्रेरित हुन नियुक्‍त गर्नुभएको थिएन। त्यसो हुँदो हो त, पावलले त्यो असाइनमेन्ट प्राप्त गर्नु तिनको अधिकारको कुरा वा तिनी यसको हकदार थिए जस्तो देखिने थियो। यो आफूले सेवामा बिताएको वर्ष वा अनुभवमा पनि निर्धारित थिएन। नत्र भने त मानव दृष्टिकोणबाट हेर्दा बर्णाबासले यस्तो नियुक्‍ति पाउनुपर्ने जस्तो देखिन्छ। यो व्यक्‍तिगत योग्यतामा पनि आधारित थिएन किनकि त्यसो हुँदो हो त सम्भवतः पावलभन्दा अप्पोलस बोल्नमा सिपालु थिए। यो परमेश्‍वरको अनुग्रहको अभिव्यक्‍ति थियो।” (एफिसी ३:७, ८) भाइ लिभरेन्सले विद्यार्थीहरूलाई आफूले पाएको वरदान वा सेवाको सुअवसर अरूलाई परमेश्‍वरको मित्र हुन र “परमेश्‍वरको . . . वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन” प्राप्त गर्न मदत दिनको लागि चलाउन प्रोत्साहन दिए।—रोमी ६:२३.

यसपछि गिलियडका अर्का प्रशिक्षक मार्क नुमेरले “तयारी गर्दा राम्रो नतिजा पाइन्छ” भन्‍ने विषयमा केही विद्यार्थीहरूसँग जीवन्त छलफल गरे। (हितोपदेश २१:५) प्रचारकले सेवकाईको निम्ति विशेष गरी हृदयदेखि राम्ररी तयारी गर्दा मानिसहरूमा साँचो चासो देखाइरहेको झल्किन्छ भनेर अनुभवहरूले देखायो। के भन्‍ने भनेर तिनी कहिल्यै अकमक्क पर्नेछैन। बरु, तिनले तिनीहरूलाई आध्यात्मिक तवरमा मदत हुने कुराहरू भन्‍नेछन्‌ र गर्नेछन्‌। “सफल मिसनरीको निम्ति यही नै महत्त्वपूर्ण कुरा हो” भनी भाइ नुमेरले आफू अफ्रिकामा मिसनरीको रूपमा सेवा गर्दाका अनुभव सुनाए।

मिसनरी सेवा—सन्तोषजनक पेसा

प्याटर्सन एजुकेशनल सेन्टरमा विशेष प्रशिक्षणको लागि आएका राल्फ वल्स र चार्ल्स वुडीले केही अनुभवी मिसनरीहरूसँग अन्तरवार्ता लिए। मानिसहरूप्रतिको प्रेमले गर्दा नै मिसनरी सेवामा आनन्द पाइन्छ भन्‍ने कुरालाई अन्तरवार्ताहरूले जोड दिइयो। ती अनुभवी मिसनरीहरू आफैले मिसनरी सेवा किन सन्तोषजनक पेसा हो भनी बताएको सुन्‍न पाउनु विद्यार्थी तथा श्रोताहरूमाझ भएका तिनीहरूका परिवार तथा साथीहरूका निम्ति आश्‍वासनदायी थियो।

परिचालक निकायका अर्का एक सदस्य जोन ई. बारले मुख्य भाषण दिए, जसको विषय थियो “परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ।” (यशैया ४२:१०) “नयाँ भजन” भन्‍ने पदावली बाइबलमा नौ चोटि उल्लेख गरिएको छ भनी भाइ बारले बताए। तिनले यस्तो प्रश्‍न गरे, “यो नयाँ भजन भनेको के हो?” त्यसपछि तिनले यस्तो जवाफ दिए: “यहोवाको सार्वभौमिकताको सन्दर्भमा प्रकट भएका नयाँ कुराहरूको कारण नयाँ भजन गाइएको थियो भनी प्रसंगले स्पष्ट पार्छ।” तिनले विद्यार्थीहरूलाई मसीही राजा, येशू ख्रीष्टद्वारा शासनारूढ परमेश्‍वरको विजयी राज्यको प्रशंसाको भजनमा स्वरमा स्वर मिलाउन आग्रह गरे। गिलियडमा प्राप्त प्रशिक्षणले तिनीहरूलाई “नयाँ भजन[को]” विविध पक्षलाई पहिलाभन्दा अझ गहिरो गरी बुझ्न मदत गरेको भाइ बारले उल्लेख गरे। “यस स्कूलले तपाईंहरू जहाँसुकै जानु भए तापनि आफ्ना भाइबहिनीहरूसँगै यहोवाको प्रशंसाको ‘भजन’ गाउनुपर्ने आवश्‍यकतालाई जोड दिएको छ; तपाईं आफ्नो असाइनमेन्टमा सधैं अरूसँग एकता कायम गर्नुहोस्‌।”

विद्यार्थीहरूलाई प्रमाणपत्र दिएपछि कक्षाका प्रवक्‍ताले गिलियडमा उनीहरूले प्राप्त गरेको प्रशिक्षणको निम्ति मूल्यांकन पत्र पढेर सुनाए।

के तपाईं परमेश्‍वरको सेवामा अझ बढी गरेर अझ फलदायी हुन सक्नुहुन्छ? सक्नुहुन्छ भने, यी स्नातक विद्यार्थीहरूले जस्तै गर्नुहोस्‌। यसैकारणले गर्दा तिनीहरू मिसनरी सेवाको लागि योग्य हुन सके। परमेश्‍वरको सेवामा खुसीसाथ स्वेच्छाले आफूलाई अर्पण गर्दा धेरै आनन्द पाइन्छ।—यशैया ६:८.

[पृष्ठ २५-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: १०

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १९

विद्यार्थीहरूको संख्या: ४८

औसत उमेर: ३३.२

सच्चाइमा बिताएको औसत वर्ष: १६.८

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२.६

[पृष्ठ २६-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको १११ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हो।

(१) योमन्स, सि.; तोक्कारी, ए.; नुनेस, एस.; फिलिप्स, जे.; डकेन, एम.; सिल्भेस्ट्री, पि. (२) मोरिन, एन.; बिने, जे.; लोपेज, एम.; भान हाउट, एम.; कान्टु, ए.; सिल्भाशी, एफ. (३) विलियम्स, एम.; इटो, एम.; भान कोली, एस.; लेभरिन, डि.; फ्युजेल, एफ.; जिस्सलर, एस. (४) योमन्स, जे.; मस, एम., हजिन्स, एम.; डडिङ, एस.; ब्रिसेनो, जे.; फिलिप्स, एम. (५) लोपेज, जे.; इटो, टि.; सोमरुड, एस.; कोज्जा, सि.; फ्युजेल, जि.; मस, डि. (६) विलियम्स, डि.; डडिङ, आर.; जिस्सलर, एम.; मोरिन, आर.; बिने, एस.; कान्टु, एल. (७) डकेन, एम.; हजिन्स, टि.; लेभरिन, एम.; सिल्भेस्ट्री, एस.; भान हाउट, डि., ब्रिसेनो, ए. (८) भान कोली, एम.; नुनेस, ए.; कोज्जा, बि.; सोमरुड, जे.; तोक्कारी, एस.; सिल्भाशी, पि.