पाठकहरूका प्रश्नहरू
पाठकहरूका प्रश्नहरू
बेग्लै धर्म मान्ने आफ्नो पतिले धार्मिक चाडपर्वका विभिन्न गतिविधिहरूमा भाग लिन्छन् भने, मसीही पत्नीले परमेश्वरप्रतिको वफादारी र आफ्नो पतिप्रतिको अधीनतालाई कसरी सन्तुलनमा राख्नसक्छिन्?
यसो गर्न उसलाई बुद्धि र चतुऱ्याइँको आवश्यकता पर्छ। तर यी दुवै दायित्वहरूलाई सन्तुलनमा राख्न सक्दो प्रयास गर्नु नै पत्नीको लागि उचित हुन्छ। येशूले यस्तै परिस्थितिलाई ध्यानमा राखेर यो सल्लाह दिनुभयो: “यसकारण जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” (मत्ती २२:२१) हो, यहाँ उहाँले सरकारप्रतिको दायित्वबारे बताउँदै हुनुहुन्थ्यो, जसको अधीनमा बस्नु भनेर पछि मसीहीहरूलाई आज्ञा दिइयो। (रोमी १३:१) तथापि, परमेश्वरप्रतिको दायित्व र आफ्नो पतिको बेग्लै विश्वास भए तापनि तिनको अधीनमा बस्ने धर्मशास्त्रीय सल्लाह पालन गर्न पत्नीले सन्तुलन कायम गर्न सक्छिन्।
बाइबलले जोड दिएअनुसार मसीहीहरूको प्रथम दायित्व भनेको नै सर्वशक्तिमान् परमेश्वरप्रति सधैं वफादार रहनु हो भन्ने कुरालाई बाइबलसित परिचित कुनै पनि व्यक्तिले नकार्न सक्दैन। (प्रेरित ५:२९) तैपनि, धेरैजसो परिस्थितिहरूमा एक जना साँचो उपासकले परमेश्वरको उच्च नियम भंग नगरी बेग्लै विश्वास भएका अख्तियारवालाको अनुरोध वा मागलाई पूरा गर्न सक्छन्।
दानियलको पुस्तकको अध्याय ३ मा हामी तीन जना हिब्रू जवानहरूको शिक्षाप्रद उदाहरण पाउँछौं। त्यसबेलाको सरकार प्रमुख नबूकदनेसरले तिनीहरूलगायात सबैलाई दूराको मैदानमा भेला हुने उर्दी जारी गरे। झूठो उपासनासित सम्बन्धित कार्य हुने भएकोले ती तीन हिब्रूहरू सकेसम्म त्यहाँ उपस्थित हुन चाहँदैनन् थिए होला। कुनै कारणले गर्दा होला दानियल त्यहाँ उपस्थित हुनु परेन तर ती तीन हिब्रूहरू त्यहाँ उपस्थित हुनैपर्थ्यो। a त्यसैकारण, उर्दीअनुसार तिनीहरू त्यहाँ उपस्थित त भए तर तिनीहरूले कुनै गलत कार्य गरेनन् र गर्नेवाला पनि थिएनन्।—दानियल ३:१-१८.
त्यस्तै गरी, चाडपर्वको बिदाको समयमा बेग्लै विश्वास भएका पतिले आफ्नो मसीही पत्नीलाई उनले गर्न नचाहेको कुनै काम गर्न लगाउलान् वा गरिदिन अनुरोध गर्लान्। केही उदाहरणहरूलाई ध्यान दिनुहोस्: सबै मिलेर चाडपर्व मनाउन तिनले उनलाई कुनै खास परिकार बनाउन अह्राउलान्। अथवा त्यस दिन तिनले सपरिवार (आफ्नी पत्नीसहित) कुनै नातेदारको घरमा खाना खान वा भेटघाटको लागि जानुपर्ने कुरा गर्लान्। अथवा बिदाअघि तिनले आफ्नी पत्नी किनमेल गर्न जाँदा तिनको लागि पनि केही सामानहरू जस्तै, उक्त चाडपर्वमा खाइने विशेष खानेकुरा, उपहार वा उपहार पोको पार्ने कागज र चाडपर्वका शुभकामना कार्डहरू किनेर ल्याउन अह्राउनसक्छन्।
त्यतिबेला पनि मसीही पत्नी झूठा धर्मिक गतिविधिहरूमा भाग नलिन दृढ हुनुपर्छ तर पतिले अह्राएको यस्ता कामहरू नि? पति परिवारको शिर हो र परमेश्वरको वचनले यसो भन्छ, “ए पत्नी हो, प्रभुमा खुल्ने जस्तैगरी पतिका अधीनमा बस।” (कलस्सी ३:१८) यस्ता परिस्थितिहरूमा परमेश्वरप्रति वफादार हुँदै के उनले पत्नीले देखाउनुपर्ने अधीनता देखाउन सक्छिन्? आफ्नो पतिप्रतिको आज्ञाकारिता र त्योभन्दा पनि महत्त्वपूर्ण यहोवाप्रतिको आज्ञाकारिताबीच कसरी सन्तुलन कायम गर्ने भनी उनले निर्णय गर्नुपर्छ।
अरू बेला पनि पतिले आफूलाई मनपर्ने वा कुनै खास समयमा खाइने विषेश किसिमको खाना पकाउन अह्राउलान्। उनी आफ्नो पतिलाई प्रेम गर्नुका साथै शिरत्वको आदर गर्न चाहनेछिन्। के पतिले कुनै विशेष परिकार चाडपर्वकै बेला पकाउने आग्रह गर्दा, के उनले त्यो परिकार पकाउन सक्छिन्? केही मसीही पत्नीहरूले आफ्नो अन्तस्करण खलबल नहुने गरी यसलाई दैनिक खाना पकाउने कामको रूपमा गर्छन्। पतिको लागि यो धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण होला तर वफादार मसीही पत्नीले भने त्यसलाई कुनै धार्मिक महत्त्व दिने छैन। त्यसै गरी, हरेक महिना वा वर्षमा आफ्ना नातेदाहरूलाई भेट्न जाँदा पतिले आफ्नो पत्नीलाई पनि सँगै लैजान चाहलान्। के चाडपर्वको दिनमा उनी आफ्नो पतिसित जान सक्छिन्? अथवा किनमेल गर्न जाँदा पतिले जुनसुकै उद्देश्यले कुनै सामान मगाए तापनि के पत्नीले तिनको लागि उक्त समान किनेर ल्याउँनेछिन्?
निस्सन्देह, मसीही पत्नीले अरूको भावनाको ख्याल गर्नुका साथै आफ्नो कामले अरूलाई पार्ने असरबारे पनि विचार गर्नुपर्छ। (फिलिप्पी २:४) जसरी तीन हिब्रूहरूले तिनीहरू दूराको मैदान गएको अरू कसैले नदेखोस् भन्ने चाहेको हुनसक्थे त्यसै गरी उनी अरूलाई आफू चाडपर्वसित सम्बन्धित गतिविधिमा भाग लिएको भान पार्न चाहँदिनन्। पतिलाई माया तथा आदर गर्ने पत्नीको हैसियतमा आफ्नो भावनालाई कदर गर्दै पतिले चाडपर्वमा सामेल हुन कर गर्ने छैनन् भन्ने आशा गरेर पत्नीले पतिसित बुद्धिमानीसाथ कुरा गर्न सक्छिन्। झूठा धार्मिक क्रियाकलापहरूमा सरिक हुन इन्कार गर्दा उत्पन्न हुन सक्ने कुरालाई बिचार गर्दै त्यस्तो अप्ठ्यारो परिस्थिति सृजना हुन नदिनु नै बेस होला भने पतिले बुझ्नसक्नेछन्। हो, पहिला नै गरिएको शान्तिपूर्ण छलफलको परिणाम शान्तिपूर्ण नै हुनसक्छ।—हितोपदेश २२:३.
निचोडमा भन्ने हो भने, विश्वासी मसीहीले कुनै पनि निर्णय गर्नुअघि सबै कुरा राम्ररी बुझ्नुपर्छ। तीन हिब्रू जवानहरूले गरेझैं परमेश्वरप्रतिको आज्ञाकारिताले प्राथमिकता पाएको हुनैपर्छ। (१ कोरिन्थी १०:३१) तर प्रत्येक मसीहीले भूल्न नहुने कुरा के हो भने, परिवार वा समाजमा अख्तियार प्राप्त व्यक्तिले कुनै काम गर्न अह्राउँदा, आफ्नो विश्वासअनुसार सम्झौता गर्न नपर्ने कस्ता कामहरू गर्न सकिन्छ, त्यसबारे निर्णय गर्नुपर्छ।
[फुटनोट]
a अगस्त १, २००१ प्रहरीधरहरा-को “पाठकहरूका प्रश्नहरू” हेर्नुहोस्।