सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के वर्ग विभाजनरहित समाज साँच्चै सम्भव छ?

के वर्ग विभाजनरहित समाज साँच्चै सम्भव छ?

के वर्ग विभाजनरहित समाज साँच्चै सम्भव छ?

संयुक्‍त राज्य अमेरिकाको दोस्रो राष्ट्रपति जोन आडम्सले स्वतन्त्रताको ऐतिहासिक घोषणापत्रमा हस्ताक्षर गरेका थिए। उक्‍त घोषणापत्रमा यी महान्‌ शब्दहरू व्यक्‍त गरिएका थिए: “सबै मानिस समान सृष्टि गरिएका छन्‌ भन्‍ने कुरालाई हामी स्वतः प्रमाणित तथ्यको रूपमा लिन्छौं।” तैपनि, जोन आडम्सलाई मानिसहरू सबै समान छन्‌ भन्‍ने कुरामा शंका लागेको थियो, किनभने तिनले यस्तो लेखे: “मन अनि शरीरको असमानता सर्वोच्च परमेश्‍वरले मानव संरचनामा यस्तो गरी स्थापना गर्नुभएको छ कि कुनै पनि योजना वा नीतिले यसलाई समान बनाउन सक्दैन।” यसको विपरीत, बेलाइती इतिहासकार एच. जि. वेल्सको धारणाअनुसार समान समाजको सपना साकार गर्नु तीनवटा कुरामा आधारित थियो: सरल तर शुद्ध र निष्कलंकित विश्‍वव्यापी धर्म, सबैको निम्ति समान शिक्षा र सैन्य दल नहुनु।

वेल्सले परिकल्पना गरेको समान समाज अहिलेसम्म बनाउन इतिहास सफल भएको छैन। सबै मानिसहरू समान छैनन्‌ र समाजमा वर्ग विभाजन अहिले पनि व्याप्त छ। के त्यस्तो वर्ग विभाजनले समाजलाई समष्टिगत रूपमा केही फाइदा पुऱ्‍याएको छ? छैन। वर्ग विभाजनले मानिसहरूलाई विभाजित गर्छ जसको परिणामस्वरूप ईर्ष्या, घृणा, पीडा र रक्‍तपात हुन्छ। गोराहरू श्रेष्ठ छन्‌ भन्‍ने धारणाले गर्दा अफ्रिका, अष्ट्रेलिया र उत्तर अमेरिकामा अश्‍वेत व्यक्‍तिहरूले निकै दुःख खप्नुपऱ्‍यो। यही कारणले गर्दा भान डिइमेन ल्यान्डमा (हाल तास्मानिया) आदिवासीहरूको पूरा नरसंहार गरियो। युरोपमा, यहूदीहरू तुच्छ हुन्‌ भनी वर्गीकृत गरिएकोले नै नाजी विध्वंश सुरु भयो। अठाह्रौं शताब्दीमा फ्रान्सेली क्रान्ति र २० औं शताब्दीमा रूसमा बोल्सेभिक क्रान्ति सुरु हुनुको मुख्य कारण नै सामन्ती वर्गको ठूलो धनराशि र तल्लो तथा मध्यम वर्गमा व्याप्त असन्तुष्टि थियो।

विगतका एक जना बुद्धिमान्‌ मानिसले यस्तो लेखे: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” (उपदेशक ८:९) दुःख दिनेहरू, व्यक्‍ति होस्‌ वा वर्ग, तिनका शब्दहरू सत्य साबित भएका छन्‌। एउटा समूहले आफूलाई अर्कोभन्दा उच्च तुल्याउने बित्तिकै दुःखकष्ट र वेदना आइपर्छ।

परमेश्‍वरसामु सबै समान छन्‌

के मानिसहरूको कुनै समूह अर्को समूहभन्दा जन्मजातै श्रेष्ठ हुन्‌ त? परमेश्‍वरको नजरमा त कदापि पनि होइन। बाइबल यसो भन्छ: “पृथ्वीको सतहमाथि बास गर्नालाई [परमेश्‍वरले] एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।” (प्रेरित १७:२६) यसबाहेक, सृष्टिकर्ताले “राजकुमारहरूको पक्ष लिनुहुन्‍न, जसले धनी र गरीब दुवैलाई समान दृष्टिले हेर्नुहुन्छ। तिनीहरू सबै परमेश्‍वरले सृष्टि गर्नुभएका प्राणी हुन्‌।” (अय्यूब ३४:१९, नयाँ संशोधित संस्करण) सबै मानिसजातिको पुर्खा एउटै हो र परमेश्‍वरसामु सबै समान छन्‌।

मानिस मरेपछि आफू अरूभन्दा श्रेष्ठ भन्‍ने विचार सबै खत्तम हुन्छ भनी नबिर्सिनुहोस्‌। पुरातन मिश्रीहरू यस कुरामा विश्‍वास गर्दैनथे। फिरऊनले मृत्युपश्‍चात्‌ पनि उच्च ओहदाको आनन्द उठाइरहन सकून्‌ भनेर तिनीहरूले तिनको चिहानमा मूल्यवान्‌ चीजहरू पनि गाड्‌थे। तर के तिनले ती सबै बहुमूल्य चीजबीचको आनन्द उठाउन सके त? अहँ, सकेनन्‌। ती धनसम्पत्ति प्रायः चिहान लुट्‌ने लुटेराहरूको हातमा पर्थ्यो र तिनीहरूको हातमा नपरेका कतिपय चीजबीजचाहिं आज संग्रहालयहरूमा देख्न सकिन्छ।

फिरऊनले ती महँगा चीजहरू एउटै पनि चलाएनन्‌ किनभने तिनी मरिसकेका थिए। मानिस मरेपछि ठूलो र सानो जात, धनी र गरिब भन्‍ने केही पनि हुँदैन। बाइबल यसो भन्छ: “त्यसले बुद्धिमान मानिसहरू पनि मरेको देख्तछ, मूर्ख र पशुसरहका मानिसहरू पनि साथसाथै नष्ट भएका र तिनीहरूका धन-सम्पत्ति अरूहरूलाई छोड़ेका देख्छ।” (भजन ४९:१०, १२) चाहे हामी राजा हौं वा दास, यी प्रेरित वचनहरू हामी सबैलाई लागू हुन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्‌। . . . मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, १०.

परमेश्‍वरको नजरमा हामी सबै समान छौं र मृत्युमा पनि हामी सबै समान हुन्छौं। त्यसैले, हाम्रो यो छोटो जीवनमा एउटा समूह अर्को समूहभन्दा श्रेष्ठ हुन खोज्नु साँच्चै व्यर्थ छ!

वर्ग विभाजनरहित समाज—कसरी?

तैपनि, वर्ग विभाजनको कुनै महत्त्व नहुने समाज स्थापना हुनेछ भनेर के आज हामी आशा गर्न सक्छौं? हो, सक्छौं। आजभन्दा झन्डै २,००० वर्षअघि येशू यस पृथ्वीमा हुनुहुँदा त्यस्तो समाजको निम्ति जग बसाल्नुभयो। “उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌” भनेर येशूले आफ्नो जीवन सबै विश्‍वासी मानिसजातिको निम्ति छुडौतीको बलिदानको रूपमा अर्पण गर्नुभयो।—यूहन्‍ना ३:१६.

आफ्ना कुनै पनि अनुयायीले आफूलाई सँगी विश्‍वासीभन्दा श्रेष्ठ ठान्‍नुहुँदैन भन्‍ने कुरा स्पष्ट पार्नुहुँदै येशूले यसो भन्‍नुभयो: “तिमीहरूलाई कसैले गुरु नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई मालिक कसैले नभनोस्‌, किनकि तिमीहरूका एक मात्र मालिक ख्रीष्टनै हो। तर तिमीहरूमा जो सबैभन्दा ठूलो छ, त्योचाहिं तिमीहरूको सेवक हुनेछ, अनि जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्योचाहिं ठूलो हुनेछ।” (मत्ती २३:८-१२) परमेश्‍वरको नजरमा, येशूका सबै साँचो चेलाहरू एउटै विश्‍वासमा समान छन्‌।

के प्रारम्भिक मसीहीहरूले आफूलाई समान ठाने? येशूको शिक्षा बुझ्नेहरूले आफूलाई समान ठाने। तिनीहरूले एकअर्कालाई विश्‍वासमा समान ठाने र यो कुरा तिनीहरूले एकअर्कालाई “भाइ” भनी सम्बोधन गरेर देखाए। (फिलेमोन १, ७, २०) आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍न कसैलाई पनि प्रोत्साहन दिइएको थिएन। उदाहरणका लागि, पत्रुसले आफ्नो दोस्रो पत्रमा आफ्नो परिचय दिंदा कस्तो नम्रता झल्काए, विचार गर्नुहोस्‌: “शिमोन पत्रुस, येशू ख्रीष्टका दास र प्रेरितबाट, हाम्रा परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्टको धार्मिकतामा हामीले जस्तै अनमोल विश्‍वास प्राप्त गर्नेहरूलाई।” (२ पत्रुस १:१) पत्रुस आफैले पनि येशूबाट शिक्षा प्राप्त गरेका थिए र प्रेरितको हैसियतमा तिनले थुप्रै महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्थे। तैपनि, तिनले आफूलाई दास ठाने र अरू मसीहीहरूले पनि त्यस्तै अनमोल विश्‍वास प्राप्त गरेका छन्‌ भनी स्वीकारे।

मसीहीपूर्व समयमा परमेश्‍वरले इस्राएललाई आफ्नो विशेष जाति बनाउनुभएको कारण समानताको सिद्धान्त विरोधाभासपूर्ण छ भनी कसै-कसैले दाबी गर्लान्‌। (प्रस्थान १९:५, ६) तिनीहरूले यो जातीय श्रेष्ठताको उदाहरण हो भन्लान्‌ तर यो साँचो होइन। हुन त हो, इस्राएलीहरू अब्राहामको सन्तान भएको कारण तिनीहरूले परमेश्‍वरसँग विशेष सम्बन्धको आनन्द उठाए र तिनीहरू ईश्‍वरीय दर्शनका माध्यम भए। (रोमी ३:१, २) तर यसको उद्देश्‍य तिनीहरूलाई अरूभन्दा उच्च बनाउनु थिएन। बरु, ‘पृथ्वीका सबै जातिहरू आर्शीवादी’ होऊन्‌ भन्‍ने उद्देश्‍य थियो।—उत्पत्ति २२:१८; गलाती ३:८.

तर समय बित्दै जाँदा अधिकांश इस्राएलीहरूले आफ्नो पुर्खा अब्राहामको विश्‍वासको अनुकरण गरेनन्‌। तिनीहरू अवफादार भए र येशूलाई मसीहको रूपमा स्वीकारेनन्‌। त्यसैकारण परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभयो। (मत्ती २१:४३) तथापि, नम्र जनहरू परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरूबाट वञ्चित भएनन्‌। सा.यु. ३३ पेन्तिकोसमा मसीही मण्डलीको स्थापना भयो। पवित्र आत्माद्वारा नियुक्‍त गरिएका मसीहीहरूको यस संगठनलाई “परमेश्‍वरका इस्राएल” भनिन्थ्यो र यो आशिष्‌हरू प्राप्त गर्ने माध्यम साबित भयो।—गलाती ६:१६.

त्यस मण्डलीका कोही-कोही सदस्यलाई समानताबारे सिकाउनु परेको थियो। उदाहरणका लागि, गरिबहरूलाई भन्दा धनीहरूलाई विशेष आदर दिने मसीहीहरूलाई चेला याकूबले सल्लाह दिए। (याकूब २:१-४) त्यस्तो व्यवहार गलत थियो। प्रेरित पावलले यहूदी मसीहीहरूभन्दा अन्यजातिका मसीहीहरू र पुरुषहरूभन्दा स्त्री मसीहीहरू कुनै पनि तरिकामा तुच्छ छैनन्‌ भनी देखाए। तिनले यस्तो लेखे: “ख्रीष्ट येशूमा भएकोले विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्र हौ। किनकि ख्रीष्टमा बप्तिस्मा भए जति तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। अब यहूदी, ग्रीक, कमरा, फुक्का, नर नारी छैन, किनभने तिमीहरू सबै ख्रीष्ट येशूमा एउटै छौ।”—गलाती ३:२६-२८.

वर्तमान समयमा वर्ग विभाजनरहित मानिसहरूको समूह

यहोवाका साक्षीहरू आज धर्मशास्त्रीय सिद्धान्तअनुरूप जीवन बिताउने प्रयास गर्छन्‌। समाजको वर्ग विभाजन परमेश्‍वरको नजरमा व्यर्थको हो भनी तिनीहरूले बुझेका छन्‌। अतः तिनीहरूबीच पादरी र सर्वसाधारण भन्‍ने वर्ग विभाजन छैन अनि तिनीहरू छालाको रंग वा धनको आधारमा भेदभाव गर्दैनन्‌। तिनीहरूमध्ये कोही-कोही धनी होलान्‌ तर तिनीहरू “जीवनको शेखी” गर्दैनन्‌ किनभने त्यस्ता कुराहरू क्षणिक हुन्‌ भनी तिनीहरूलाई थाह छ। (१ यूहन्‍ना २:१५-१७) बरु, तिनीहरू सबै ब्रह्‍माण्डको सार्वभौम, यहोवा परमेश्‍वरको उपासनामा एकताबद्ध छन्‌।

आफ्ना सहमानवहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने जिम्मेवारी तिनीहरू सबैले स्वीकारेका छन्‌। येशूले जस्तै तिनीहरूले पनि शोषित र अपहेलितहरूको घर-घरमा गएर आदर देखाउँछन्‌ र तिनीहरूलाई परमेश्‍वरको वचन सिकाउने प्रस्ताव राख्छन्‌। तल्लो वर्गका मानिसहरूले उच्च वर्गका मानिसहरूसित काँधमा काँध मिलाएर काम गर्छन्‌। महत्त्वपूर्ण कुरा सामाजिक वर्ग होइन तर आध्यात्मिक गुणहरू हुन्‌। अनि प्रथम शताब्दीमा झैं आज पनि सबै जना एउटै विश्‍वासमा बाँधिएका भाइबहिनीहरू हुन्‌।

समानतामा विविधता हुन्छ

निस्सन्देह, समानताको अर्थ शत प्रतिशत एकरूपता होइन। यस संगठनमा विभिन्‍न जात, भाषा, राष्ट्रियता र आर्थिक पृष्ठभूमिका पुरुष, महिला, वृद्ध तथा जवानहरू छन्‌। व्यक्‍तिविशेषको हैसियतमा तिनीहरू सबैको मानसिक र शारीरिक योग्यताहरू बेग्लाबेग्लै छन्‌। तर ती भिन्‍नताले कसैलाई अरूभन्दा श्रेष्ठ बनाउँदैन। बरु, त्यस्तो भिन्‍नताले गर्दा हुने विविधता मनमोहक हुन्छ। त्यस्ता मसीहीहरू आफूसँग भएको कुनै पनि सीप परमेश्‍वरले दिनुभएको वरदान ठान्छन्‌ र आफूलाई श्रेष्ठ ठान्‍ने कुनै कारण छैन भनेर बुझेका हुन्छन्‌।

वर्ग विभाजन, परमेश्‍वरको डोऱ्‍याइअनुसार चल्नुको सट्टा मानिसले मानिसमाथि अधिकार जमाउन खोज्दाको नतिजा हो। चाँडै, परमेश्‍वरको राज्यले पृथ्वीमाथि शासन गर्न थाल्ने छ र त्यसको फलस्वरूप, मानव-निर्मित वर्ग विभाजनलगायत सबै दुःखकष्टका कारणहरू हटाइनेछन्‌। त्यसपछि भने साँच्चै “नम्रहरूले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:११) आफूलाई श्रेष्ठ ठान्‍ने कुनै पनि कारण हुनेछैन। मानवजातिको विश्‍वव्यापी भ्रातृत्वलाई कुनै पनि सामाजिक वर्गले विभाजित गर्नेछैन।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

सृष्टिकर्ताले “राजकुमारहरूको पक्ष लिनुहुन्‍न, जसले धनी र गरीब दुवैलाई समान दृष्टिले हेर्नुहुन्छ। तिनीहरू सबै परमेश्‍वरले सृष्टि गर्नुभएका प्राणी हुन्‌।”— अय्यूब ३४:१९, नयाँ संशोधित संस्करण।

[पृष्ठ ६-मा भएको चित्र]

यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूप्रति आदर देखाउँछन्‌

[पृष्ठ ७-मा भएका चित्रहरू]

साँचो मसीहीहरूमाझ हुनुपर्ने महत्त्वपूर्ण कुरा आध्यात्मिक गुणहरू हुन्‌