सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस्‌

प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस्‌

प्राचीनहरू हो, भार उठाउन अरूलाई प्रशिक्षण दिनुहोस्‌

विश्‍वभरि यहोवाका साक्षीहरूको मण्डलीमा निरीक्षकको हैसियतमा काम गर्नसक्ने पुरुषहरूको नितान्त खाँचो परेको छ। यस्तो आवश्‍यकता खट्‌कनुका तीनवटा मुख्य कारण छन्‌।

प्रथम, “तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ” भन्‍ने प्रतिज्ञा यहोवाले पूरा गर्दै हुनुहुन्छ। (यशैया ६०:२२) उहाँको अनुग्रहको कारण विगत तीन वर्षभित्र झन्डै एक लाख नयाँ चेलाहरूले यहोवाका साक्षीहरूको रूपमा बप्तिस्मा लिएका छन्‌। यी भर्खरै बप्तिस्मा प्राप्त व्यक्‍तिहरूलाई मसीही परिपक्वतातर्फ अघि बढ्‌न मदत गर्न जिम्मेवार पुरुषहरू चाहिन्छ।—हिब्रू ६:१.

दोस्रो, निकै वर्षदेखि प्राचीनको हैसियतमा सेवा गर्दै आएका कोही-कोही वृद्धावस्था वा स्वास्थ्य समस्याको कारण आफूले सम्हाल्दै आएका मण्डलीका जिम्मेवारीहरूको भार कम गर्न बाध्य भएका छन्‌।

तेस्रो, प्राचीनको हैसियतमा सेवा गर्दै आएका कोही-कोही अहिले अस्पताल सम्पर्क समिति, क्षेत्रीय निर्माण समिति वा सम्मेलन भवन समितिको सदस्यको रूपमा पनि काम गर्छन्‌। कुनै-कुनै अवस्थामा आफ्नो स्थानीय मण्डलीमा आफूले सम्हाल्दै आएका केही जिम्मेवारीहरूलाई छोडेर तिनीहरूले सन्तुलन कायम गर्नुपरेको छ।

थप योग्य पुरुषहरूको आवश्‍यकतालाई कसरी पूरा गर्न सकिन्छ? यसको लागि महत्त्वपूर्ण कुरा प्रशिक्षण नै हो। बाइबलले मसीही निरीक्षकहरूलाई “सिकाउनसक्ने विश्‍वासी मानिसहरूलाई” प्रशिक्षण दिनु भनेर प्रोत्साहन दिन्छ। (२ तिमोथी २:२) एउटा शब्दकोशअनुसार “प्रशिक्षण दिनु” भन्‍ने क्रियापदको अर्थ “योग्य, दक्ष वा कुशल बनाउन सिकाउनु” हो। प्राचीनहरूले अन्य योग्य पुरुषहरूलाई कसरी प्रशिक्षण दिन सक्छन्‌, आउनुहोस्‌ हामी हेरौं।

यहोवाको उदाहरण अनुकरण गर्नुहोस्‌

येशू ख्रीष्ट निश्‍चय पनि आफ्नो काममा ‘योग्य, दक्ष र कुशल’ हुनुहुन्थ्यो र यसमा छक्क मान्‍नुपर्ने कुनै कारण छैन! उहाँ स्वय्‌म यहोवाबाट प्रशिक्षित हुनुहुन्थ्यो। कस्ता कारणहरूले गर्दा यो प्रशिक्षण कार्यक्रम त्यस्तो प्रभावकारी भयो? यूहन्‍ना ५:२० मा लिपिबद्ध गरिएअनुसार येशूले यसका तीनवटा कारण उल्लेख गर्नुभयो: “पिताले [१] पुत्रलाई माया गर्नुहुन्छ, र उहाँ आफैले गर्नुहुने सबै काम [२] उसलाई देखाउनुहुन्छ, औ . . . [३] यीभन्दा ठूला काम उहाँले उसलाई देखाउनुहुनेछ।” यी कारणहरू जाँच्दा प्रशिक्षणको सन्दर्भमा अन्तरदृष्टि पाउन सक्छौं।

पहिला येशूले भन्‍नुभएको यस कुरालाई याद गर्नुहोस्‌: “पिताले पुत्रलाई माया गर्नुहुन्छ।” सृष्टिको सुरुआतदेखि नै परमेश्‍वर र उहाँको पुत्रबीच न्यानो सम्बन्ध थियो। हितोपदेश ८:३० ले उहाँहरूबीचको सम्बन्धबारे प्रकाश पार्छ: “त्यस बेला म [येशू ] उहाँको [यहोवा परमेश्‍वर] छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें।” येशूको मनमा उहाँ यहोवाको “प्रिय” हुनुहुन्छ भन्‍नेबारे कुनै शंका थिएन। अनि पिताको साथमा काम गर्न पाउँदा महसुस गर्नुभएको आनन्द येशूले पनि लुकाउनुभएन। मसीही प्राचीनहरू र तिनीहरूले प्रशिक्षण दिने व्यक्‍तिबीच न्यानो र खुला सम्बन्ध भए कत्ति बेस हुन्छ!

येशूले उल्लेख गर्नुभएको दोस्रो कारण हो, पिताले “उहाँ आफैले गर्नुहुने सबै काम उसलाई देखाउनुहुन्छ।” यी शब्दहरूद्वारा हितोपदेश ८:३० मा उल्लिखित शब्दहरूको पुष्टि हुन्छ। विशेष गरी यहोवाले ब्रह्‍माण्डको सृष्टि गर्नुहुँदा येशू “उहाँकै सामने” हुनुहुन्थ्यो। (उत्पत्ति १:२६) सेवकाई सेवकहरूसँग एकदमै नजिकसँग काम गरेर अनि तिनीहरूलाई आफ्ना जिम्मेवारीहरू राम्ररी सम्हाल्न सिकाएर प्राचीनहरूले यस उत्कृष्ट उदाहरणको अनुकरण गर्न सक्छन्‌। तथापि, क्रमबद्ध रूपमा प्रशिक्षण चाहिने व्यक्‍तिहरू नवनियुक्‍त सेवकाई सेवकहरू मात्र होइनन्‌। निकै वर्षदेखि निरीक्षकको हैसियतमा सेवा गर्न अघि बढिरहेका तर अहिलेसम्म पनि नियुक्‍त नभएका विश्‍वासी भाइहरूबारे के भन्‍न सकिन्छ नि? (१ तिमोथी ३:१) प्राचीनहरूले त्यस्ता भाइहरूलाई तोकेरै स्पष्ट सल्लाह दिनुपर्छ ताकि तिनीहरूले आफूले उन्‍नति गर्नुपर्ने क्षेत्र थाह पाउन सकून्‌।

उदाहरणका लागि, कुनै एक जना सेवकाई सेवक आफ्ना जिम्मेवारीहरू पूरा गर्ने सन्दर्भमा भरपर्दो, समयनिष्ठ र कर्तव्यनिष्ठ हुन सक्छ। ऊ असल शिक्षक पनि होला। मण्डलीका थुप्रै कुरामा उसले असाध्यै राम्रो गरिरहेको हुन सक्छ। तथापि, सँगी मसीहीहरूसँगको व्यवहारमा ऊ अलि रूखो भएको उसलाई यादै नभएको हुन सक्छ। प्राचीनहरूले “ज्ञानको नम्रतासित आफ्नो काम बढ़िया चाल-चलनबाट देखाओस्‌।” (याकूब ३:१३) सेवकाई सेवकलाई स्पष्टसँग उसको समस्या बताउँदै उन्‍नति गर्न व्यावहारिक सल्लाहहरू दिनु के प्राचीनको तर्फबाट दयाको अभिव्यक्‍ति हुनेछैन र? प्राचीनले होसियारीसाथ आफ्नो ‘वचन नूनले स्वादिलो पाऱ्‍यो’ भने तिनले दिएको सल्लाह स्वीकार्न सजिलो हुनेछ। (कलस्सी ४:६) निस्सन्देह, सेवकाई सेवकले आफूलाई दिइएको कुनै पनि सल्लाह खुला मनले स्वीकार्दा प्राचीनको काम धेरै सजिलो हुन्छ।—भजन १४१:५.

कुनै-कुनै मण्डलीमा प्राचीनहरूले सेवकाई सेवकहरूलाई निरन्तर प्रशिक्षण दिइरहेका हुन्छन्‌। उदाहरणका लागि, बिरामी वा वृद्ध व्यक्‍तिलाई भेट्‌न जाँदा प्राचीनहरूले योग्य सेवकाई सेवकलाई आफ्नो साथमा लैजान्छन्‌। यस प्रकार सेवकाई सेवकले गोठालो रूपी काममा अनुभव बटुल्छन्‌। निस्सन्देह, सेवकाई सेवक स्वयम्‌ले आफ्नो आध्यात्मिक प्रगति गर्न प्रयास गर्न सक्छन्‌।—तल “सेवकाई सेवकहरूले के गर्न सक्छन्‌” भन्‍ने शीर्षक भएको पेटी हेर्नुहोस्‌।

येशूको प्रशिक्षण त्यस्तो प्रभावकारी हुनुको तेस्रो कारण, यहोवाले उहाँलाई भविष्यमा हुने प्रगतिलाई ध्यानमा राखेर प्रशिक्षण दिनुभयो। पिताले पुत्रलाई “यीभन्दा ठूला काम” देखाउनुहुनेछ भनी येशूले भन्‍नुभयो। पृथ्वीमा हुनुहुँदा आफूले बटुलेको अनुभवले गर्दा भविष्यमा आइपर्ने कार्यभारहरू सम्हाल्न आवश्‍यक गुणहरू विकास गर्न येशू सक्षम हुनभयो। (हिब्रू ४:१५; ५:८, ९) उदाहरणका लागि, येशूले निकट भविष्यमा अत्यन्तै गहन जिम्मेवारी पाउनुहुनेछ अर्थात्‌ अहिले मरिसकेका लाखौं मानिसहरूको पुनरुत्थान गरेर तिनीहरूको न्याय गर्ने जिम्मेवारी।—यूहन्‍ना ५:२१, २२.

प्राचीनहरूले सेवकाई सेवकहरूलाई अहिले प्रशिक्षण दिंदा भावी आवश्‍यकताबारे पनि विचार गर्नुपर्छ। वर्तमान आवश्‍यकताहरू पूरा गर्न प्राचीन तथा सेवकाई सेवकहरू पर्याप्त छजस्तो देखिएला तर नयाँ मण्डली स्थापना गर्दा नि? थुप्रै मण्डलीहरू स्थापना गर्दा नि? विगत तीन वर्षभित्र विश्‍वभरि ६,००० भन्दा बढी नयाँ मण्डलीहरू स्थापना भएका छन्‌। ती नयाँ मण्डलीहरूको हेरचाह गर्न थुप्रै प्राचीन तथा सेवकाई सेवकहरूको आवश्‍यकता पर्छ!

प्राचीनहरू हो, आफूले प्रशिक्षण दिइरहनुभएका पुरुषहरूसँग न्यायो सम्बन्ध विकास गरेर के तपाईंले यहोवाको उदाहरण अनुकरण गरिरहनुभएको छ? आफ्नो कार्यभार कसरी पूरा गर्नुपर्छ भनेर के तपाईंले तिनीहरूलाई देखाइरहनुभएको छ? भविष्यमा आइपर्ने आवश्‍यकताहरूबारे के तपाईंले विचार गर्नुभएको छ? यहोवाले येशूलाई दिनुभएको प्रशिक्षणको अनुकरण गर्दा प्रचुर मात्रामा आशिष्‌ पाउन सकिन्छ।

काम बाँड्‌न नहिचकिचाउनुहोस्‌

थुप्रै गहन जिम्मेवारीहरू सम्हालिरहेका प्राचीनहरू अरूलाई जिम्मेवारी सुम्पन हिचकिचाउन सक्छन्‌। विगतमा तिनीहरूले त्यसो गरेर हेरेको तर राम्रो नतिजा प्राप्त नभएको हुन सक्छ। त्यसैकारण, तिनीहरूले यस्तो मनोवृत्ति राख्न सक्छन्‌, ‘कुनै काम राम्ररी गर्ने हो भने, त्यो आफैले गर्नुपर्छ।’ तर के यो धर्मशास्त्रमा व्यक्‍त गरिएअनुसार कम अनुभवीहरूले बढी अनुभवीहरूबाट प्रशिक्षण प्राप्त गरोस्‌ भन्‍ने यहोवाको इच्छासित मेल खान्छ र?—२ तिमोथी २:२.

आफ्नो एक जना सहयात्री यूहन्‍ना मर्कूस प्याम्फिलियाबाट तिनीहरूसँग छुट्टिएर घर फर्किंदा प्रेरित पावल खुसी भएनन्‌। (प्रेरित १५:३८, ३९) तथापि, यस्ता अवरोधहरूको कारण पावल अरूलाई प्रशिक्षण दिनदेखि निरुत्साहित भएनन्‌। तिनले अर्को एक जना जवान भाइ तिमोथीलाई छाने र मिसनरी कार्यको निम्ति तिनलाई प्रशिक्षण दिए। a (प्रेरित १६:१-३) बिरियामा मिसनरीहरूले भीषण सतावट भोग्नुपरेको कारण पावल त्यहाँ बस्नु व्यावहारिक हुने थिएन। त्यसकारण, तिनले नयाँ मण्डलीको जिम्मा परिपक्व भाइ सिलास र तिमोथीलाई सुम्पे। (प्रेरित १७:१३-१५) निस्सन्देह, तिमोथीले सिलासबाट धेरै कुरा सिके। पछि, तिमोथी अन्य जिम्मेवारीहरू सम्हाल्न योग्य भएपछि पावलले तिनलाई थिस्सलोनिकीको मण्डलीलाई प्रोत्साहन दिन पठाए।—१ थिस्सलोनिकी ३:१-३.

पावल र तिमोथीबीचको सम्बन्ध चिसो र भावशून्य अर्थात्‌ अत्यन्तै औपचारिक थिएन। तिनीहरूबीच न्यानो सम्बन्ध थियो। कोरिन्थका मण्डलीलाई लेख्दा पावलले तिमोथीलाई संकेत गर्दै “तिनी प्रभुमा मेरा प्यारा र विश्‍वासी छोरा हुन्‌” भने। तिनले अझ यसो भने: “ख्रीष्टमा भएका मेरा चाल तिनले तिमीहरूलाई सम्झना गराउनेछन्‌।” (१ कोरिन्थी ४:१७) पावलबाट प्राप्त गरेको प्रशिक्षणलाई तिमोथीले राम्ररी पालन गरे, जसले गर्दा पछि आफ्ना कार्यभारहरू पूरा गर्न तिनी योग्य भए। थुप्रै जवान भाइहरू योग्य सेवकाई सेवक, प्राचीन वा परिभ्रमण निरीक्षकसमेत भएका छन्‌ किनभने तिनीहरूले साँचो चासो लिने पाको भाइबाट प्राप्त प्रशिक्षणबाट लाभ उठाएका छन्‌। तिमोथीको सन्दर्भमा पनि पावलले यस्तै गरे।

प्राचीनहरू हो, अरूलाई प्रशिक्षण दिनुहोस्‌!

यशैया ६०:२२ मा उल्लिखित भविष्यवाणी अहिले पूरा भइरहेको छ भन्‍नेबारे कुनै शंका छैन। यहोवाले “तुच्छ चाहिं एउटा सामर्थी जाति” बनाउँदै हुनुहुन्छ। त्यो राष्ट्र “सामर्थी” भइरहनको लागि यो एकदमै व्यवस्थित हुनुपर्छ। प्राचीनहरू हो, प्रशिक्षण पाउन योग्य समर्पित व्यक्‍तिहरूलाई थप प्रशिक्षण दिने तरिकाहरूबारे विचार गर्नुभए कसो होला? उन्‍नति गर्नको लागि के-कस्ता छाँटकाँटहरू गर्नुपर्छ, त्यसबारे प्रत्येक सेवकाई सेवकलाई थाह दिनुहोस्‌। अनि तपाईं बप्तिस्मा प्राप्त भाइहरू हो, आफूले व्यक्‍तिगत तवरमा पाइरहनुभएको ध्यानको पूरापूर फाइदा उठाउनुहोस्‌। आफ्नो योग्यता, ज्ञान र अनुभव बढाउने सुअवसरको फाइदा उठाउनुहोस्‌। यहोवाले निश्‍चय पनि यस्तो मायालु कार्यक्रममा आशिष्‌ दिनुहुनेछ।—यशैया ६१:५.

[फुटनोट]

a पछि, पावलले फेरि यूहन्‍ना मर्कूससँग काम गरे।—कलस्सी ४:१०.

[पृष्ठ ३०-मा भएको पेटी]

सेवकाई सेवकहरूले के गर्न सक्छन्‌

हो, प्राचीनहरूले सेवकाई सेवकहरूलाई प्रशिक्षण दिनुपर्छ तर सेवकाई सेवकहरू आफैले पनि आध्यात्मिकतामा प्रगति गर्न केही कुराहरू गर्न सक्छन्‌।

—सेवकाई सेवकहरू आफूलाई सुम्पिएको काम पूरा गर्न लगनशील र भरपर्दो हुनुपर्छ। तिनीहरूले अध्ययन गर्ने राम्रो बानी पनि बसाल्नुपर्छ। धेरै हदसम्म प्रगति भन्‍ने कुरा अध्ययन र सिकेका कुराहरू प्रयोग गर्नुमा निर्भर हुन्छ।

—सेवकाई सेवकले मसीही सभामा भाषण दिन तयारी गर्दा योग्य प्राचीनसँग आफ्नो विषयवस्तु कसरी प्रस्तुत गर्ने भनेर सुझाउ माग्न हिचकिचाउनु हुँदैन।

—सेवकाई सेवकले आफूले दिन लागेको बाइबल भाषण कस्तो हुन्छ हेरिदिन र उन्‍नतिको निम्ति सल्लाह माग्न सक्छन्‌।

सेवकाई सेवकहरूले प्राचीनहरूसँग मदत माग्नुपर्छ र तिनीहरूले दिएको सल्लाह स्वीकार्नुका साथै त्यसलाई व्यवहारमा उतार्नुपर्छ। यस प्रकार तिनीहरूको प्रगति “सबैमा प्रकट” हुनेछ।—१ तिमोथी ४:१५.