सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुसमाचारका आशिष्‌हरू

सुसमाचारका आशिष्‌हरू

सुसमाचारका आशिष्‌हरू

“नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई . . . सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई।”—यशैया ६१:१, २.

१, २. (क) येशूले आफ्नो विषयमा के प्रकाश पार्नुभयो र कसरी? (ख) येशूले घोषणा गर्नुभएको सुसमाचारले कस्ता आशिष्‌हरू प्रदान गऱ्‍यो?

 येशूको सेवकाईको सुरुतिर एक विश्राम दिनको कुरा हो, उहाँ नासरतको सभाघरमा हुनुहुन्थ्यो। विवरणअनुसार “यशैया अगमवक्‍ताको पुस्तक उहाँलाई दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको ठाउँ फेला पार्नुभयो। ‘परमप्रभुको आत्मा ममाथि छ, किनभने . . . सुसमाचार सुनाउनाको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो।’ ” येशूले भविष्यसूचक विवरणबाट अझ पढ्‌नुभयो। त्यसपछि उहाँ बस्नुभयो र भन्‍नुभयो: “आजको दिन यो धर्मशास्त्र तिमीहरूको सुनाइमा पूरा भएको छ।”—लूका ४:१६-२१.

यसरी येशूले आफूलाई भविष्यवाणी गरिएको सुसमाचारक, सुसमाचारका प्रचारक र सान्त्वनादाता भनेर चिनाउनुभयो। (मत्ती ४:२३) अनि येशूले भन्‍नुभएको कुरा साँच्चै सुसमाचार थियो! उहाँले आफ्ना श्रोताहरूलाई यसो भन्‍नुभयो: “म संसारको ज्योति हुँ, मपछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्‍ना ८:१२) उहाँले यसो पनि भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३१, ३२) हो, येशूसँग “अनन्त जीवनका कुरा” थियो। (यूहन्‍ना ६:६८, ६९) ज्योति, जीवन र स्वतन्त्रता, यी साँच्चै अनमोल आशिष्‌हरू हुन्‌!

३. येशूका चेलाहरूले कस्तो सुसमाचार प्रचार गरे?

सा.यु. ३३ पेन्तिकोसपछि पनि चेलाहरूले सुसमाचार प्रचार गर्ने येशूको कामलाई निरन्तरता दिए। तिनीहरूले “राज्यको यो सुसमाचार” इस्राएली र अन्यजातिहरू सबैलाई प्रचार गरे। (मत्ती २४:१४; प्रेरित १५:७; रोमी १:१६) ज-जसले सुसमाचार सुने, तिनीहरूले यहोवा परमेश्‍वरलाई चिने। तिनीहरू धार्मिक दासत्वबाट मुक्‍त भए अनि नयाँ आध्यात्मिक राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल[को]” भाग भए र यसका सदस्यहरूको आफ्नो प्रभु, येशू ख्रीष्टसँग स्वर्गमा अनन्तकालसम्म शासन गर्ने प्रत्याशा छ। (गलाती ५:१; ६:१६; एफिसी ३:५-७; कलस्सी १:४, ५; प्रकाश २२:५) ती पक्कै पनि अनमोल आशिष्‌हरू थिए!

अहिले प्रचारकार्य

४. आज सुसमाचार प्रचार गर्ने कार्य कसरी भइरहेको छ?

आज, अभिषिक्‍त मसीहीहरूले “अरू भेड़ा[को]” बढ्‌दो “ठूलो भीड़[को]” समर्थन पाएर सुरुमा येशूलाई दिइएको भविष्यसूचक आज्ञा पूरा गर्दैछन्‌। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) फलस्वरूप, आजजस्तो व्यापक तवरमा पहिले कहिल्यै सुसमाचार प्रचार गरिएको थिएन। यहोवाका साक्षीहरू २३५ मुलुक तथा इलाकाहरूमा “नम्रहरूलाई सुसमाचार सुनाउनलाई . . . मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, कैदमा परेकाहरूलाई स्वतन्त्रता र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न . . . परमप्रभुको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्नलाई, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई” अग्रसर भएका छन्‌। (यशैया ६१:१, २) यसर्थ, मसीही सुसमाचार कार्यले “कुनै पनि संकष्टमा हुनेहरूलाई” साँचो सान्त्वना र थुप्रै आशिष्‌हरू प्रदान गर्छ।—२ कोरिन्थी १:३, ४.

५. सुसमाचार प्रचार गर्ने सन्दर्भमा मसीहीजगत्‌का चर्चहरूभन्दा यहोवाका साक्षीहरू कसरी फरक छन्‌?

यो कुरा साँचो हो कि मसीहीजगत्‌का चर्चहरूले धर्म प्रचार गर्न विभिन्‍न तरिकाहरू अपनाउँछन्‌। अन्य देशका मानिसहरूलाई धर्म परिवर्तन गर्न लगाउन थुप्रैले मिसनरीहरू पठाउँछन्‌। उदाहरणका लागि, दी अर्थोडक्स क्रिश्‍चियन मिसन सेन्टर म्यागजिन-मा मडागास्कर, दक्षिण अफ्रिका, तान्जानिया र जिम्बावेमा अर्थोडक्स मिसनरीहरूको गतिविधिबारे रिपोर्ट गरिएको छ। तथापि, मसीहीजगत्‌का अन्य चर्चका सदस्यहरूजस्तै अर्थोडक्स चर्चका सदस्यहरू पनि प्रचारकार्यमा भाग लिंदैनन्‌। त्यसको विपरीत, यहोवाका सबै समर्पित मसीहीहरू सुसमाचार प्रचारकार्यमा भाग लिन सक्दो कोसिस गर्छन्‌। सुसमाचार उद्‌घोषणा गर्नु भनेको आफ्नो विश्‍वासको प्रमाण दिनु हो भनेर तिनीहरूले बुझेका छन्‌। पावलले यसो भने: “मानिसले हृदयबाट धार्मिकतालाई विश्‍वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।” विश्‍वासले काम गर्न उत्प्रेरित गर्दैन भने त्यो साँच्चै मरेतुल्य हुन्छ।—रोमी १०:१०; याकूब २:१७.

अनन्त आशिष्‌ प्रदान गर्ने सुसमाचार

६. अहिले कस्तो सुसमाचार प्रचार भइरहेको छ?

यहोवाका साक्षीहरूले सुनाउने जस्तो सुसमाचार अरू कुनै समाचार छैन। सुसमाचार सुन्‍न इच्छुक व्यक्‍तिहरूलाई येशूले आफ्नो जीवन बलिदानको रूपमा अर्पण गर्नुभएर परमेश्‍वरलाई पुकार्न, पाप क्षमा गर्न बाटो खोल्नुका साथै अनन्त जीवनको आशा प्रदान गर्नुभयो भनी तिनीहरू बाइबल खोलेर देखाउँछन्‌। (यूहन्‍ना ३:१६; २ कोरिन्थी ५:१८, १९) अभिषिक्‍त राजा, येशू ख्रीष्टअन्तर्गत स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भइसकेको छ र त्यसले चाँडै पृथ्वीबाट दुष्टता हटाउनेछ र प्रमोदवन पुनर्स्थापित गर्नेछ भनी तिनीहरू घोषणा गर्छन्‌। (प्रकाश ११:१५; २१:३, ४) यशैयाको भविष्यवाणीअनुसार तिनीहरू आफ्ना छिमेकीहरूलाई “परमप्रभुको ग्रहणयोग्य वर्ष” अहिले नै हो र मानिसहरूसमक्ष सुसमाचार स्वीकार्ने मौका अझै छ भनी बताउँछन्‌। तिनीहरूले ‘हाम्रो परमेश्‍वरको बदला लिने दिन’ चाँडै आउँदैछ र त्यस बेला परमेश्‍वरले अपश्‍चात्तापी पापीहरूमाथि विनाश ल्याउनुहुनेछ भनेर पनि चेताउनी दिन्छन्‌।—भजन ३७:९-११.

७. कुन अनुभवले यहोवाका साक्षीहरूको एकता देखाउँछ र तिनीहरूबीच यस्तो एकता हुनुको कारण के हो?

दुःख र विपत्तिले भरिएको संसारमा अनन्त लाभ प्रदान गर्ने सुसमाचार यही मात्रै हो। यो सुसमाचार स्वीकार्ने व्यक्‍तिहरू मसीहीहरूको विश्‍वव्यापी एकताबद्ध परिवारको भाग हुन्छन्‌। तिनीहरू राष्ट्रियता, जातीयता वा आर्थिक भिन्‍नताको कारण विभाजित हुँदैनन्‌। तिनीहरूले ‘प्रेम धारण गरेका छन्‌, जो सिद्धताको गाँठो हो।’ (कलस्सी ३:१४; यूहन्‍ना १५:१२) यो कुरा गत वर्ष एक अफ्रिकी देशमा स्पष्ट देखियो। एका बिहानै त्यस देशको राजधानीमा गोला-बारुदको आवाज सुनियो। त्यहाँ सरकारलाई अपदस्थ गर्ने प्रयास भइरहेको थियो। परिस्थितिले जातीय मतभेदको मोड लिंदा एउटा साक्षी परिवारले अर्को जातीय समूहका सँगी साक्षीहरूलाई सुरक्षा दिंदा तिनीहरूको आलोचना गरियो। त्यस परिवारले यस्तो उत्तर दियो: “हाम्रो घरमा यहोवाका साक्षीहरू मात्र छन्‌।” तिनीहरूको लागि खाँचोमा परेकाहरूलाई सान्त्वना दिने मसीही प्रेम महत्त्वपूर्ण थियो, जातीय पृष्ठभूमि होइन। त्यस परिवारको एक गैर-साक्षी नातेदारले यस्तो टिप्पणी गरिन्‌: “सबै धर्मका मानिसहरूले आफ्ना सँगी उपासकहरूलाई स्वीकार्न चाहेनन्‌। यहोवाका साक्षीहरूले मात्र स्वीकारे।” गृहयुद्धको चपेटामा परेका राष्ट्रहरूको यस्तै अरू थुप्रै अनुभवहरूले यहोवाका साक्षीहरूले साँच्चै “भाइ-बन्धुहरूलाई प्रेम” गर्छन्‌ भनी देखाउँछ।—१ पत्रुस २:१७.

सुसमाचारले मानिसहरूको जीवन परिवर्तन गर्छ

८, ९. (क) सुसमाचार स्वीकार्नेहरूले आफ्नो जीवनमा कस्ता परिवर्तनहरू गर्छन्‌? (ख) कस्ता अनुभवहरूले सुसमाचारको शक्‍तिको प्रमाण दिन्छ?

पावलले भनेअनुसार सुसमाचार भनेको “अहिले भइरहेको र पछि हुनेसमेत जीवन[सित]” सम्बन्धित कुरा हुनुपर्छ। (१ तिमोथी ४:८) यसले भविष्यको निम्ति मात्र अद्‌भुत आशा प्रदान गर्दैन तर ‘अहिलेको जीवनमा’ पनि सुधार ल्याउँछ। प्रत्येक यहोवाका साक्षीहरूले परमेश्‍वरको इच्छाअनुरूप आफ्नो जीवन बिताउन परमेश्‍वरको वचन, बाइबलमा दिइएका निर्देशनहरू पालन गर्छन्‌। (भजन ११९:१०१) तिनीहरूले धार्मिकता र वफादारीजस्ता गुणहरू खेती गर्दा तिनीहरूको व्यक्‍तित्व नै नयाँ हुन्छ।—एफिसी ४:२४.

उदाहरणका लागि, फ्रान्कोलाई विचार गर्नुहोस्‌। तिनी रिसाहा स्वभावका थिए। आफूले भनेजस्तो नहुँदा तिनी रिसले चूर हुन्थे र मालसामान जथाभावी फ्याँकेर रिस पोखाउँथे। तिनकी पत्नीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिन्‌ र तिनीहरूको मसीही उदाहरणबाट फ्रान्कोले आफ्नो आचरणमा परिवर्तन ल्याउनुपर्ने कुरा बुझ्न सके। तिनले पनि तिनीहरूसँग बाइबल अध्ययन गर्न थाले र अन्ततः शान्ति तथा आत्मसंयमजस्ता पवित्र आत्माका फलहरू प्रकट गर्न सके। (गलाती ५:२२, २३) सन्‌ २००१ सेवा वर्षको दौडान बेल्जियममा बप्तिस्मा लिएका ४९२ व्यक्‍तिहरूमध्ये तिनी पनि एक थिए। आलाहान्ड्रोको उदाहरणलाई पनि विचार गर्नुहोस्‌। ती युवक लागू पदार्थको नशामा यस्तो नराम्रोसँग फसिसकेका थिए कि तिनले लागू पदार्थ सेवन गर्न फोहोरको डुंगुरमा खानतलास गरेर त्यहाँ भेटिएका कुराहरू बेच्थे। आलाहान्ड्रो २२ वर्षको हुँदा यहोवाका साक्षीहरूले तिनलाई बाइबल अध्ययन गर्न प्रस्ताव राखे र तिनी राजी भए। त्यसपछि तिनी दिनहुँ बाइबल पढ्‌थे र मसीही सभाहरू पनि धाउँथे। तिनले आफ्नो जीवनमा यत्ति चाँडो परिवर्तन ल्याए कि छ महिनाभित्रमा तिनी सुसमाचार प्रचारकार्यमा भाग लिन योग्य भए। गत वर्ष पानामामा प्रचारकार्यमा भाग लिने १०,११५ मध्ये तिनी पनि एक थिए।

सुसमाचार—नम्र जनहरूलाई आशिष्‌

१०. सुसमाचार कसले सुन्छन्‌ र तिनीहरूको दृष्टिकोण कसरी परिवर्तन हुन्छ?

१० नम्र जनहरूलाई सुसमाचार प्रचार गरिनेछ भनी यशैयाले भविष्यवाणी गरे। नम्र जनहरू को हुन्‌? तिनीहरू प्रेरितको पुस्तकमा वर्णन गरिएअनुसार “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” हुन्‌। (प्रेरित १३:४८) तिनीहरू समाजका सबै क्षेत्रमा पाइने नम्र मानिसहरू हुन्‌, जसले सत्यको सन्देश स्वीकार्छन्‌। त्यस्ता व्यक्‍तिहरूले परमेश्‍वरको इच्छाअनुसार गर्दा प्राप्त हुने आशिष्‌हरू संसारले प्रदान गर्ने कुनै पनि कुराभन्दा मूल्यवान्‌ हुन्छ भनी सिक्नेछन्‌। (१ यूहन्‍ना २:१५-१७) तर यहोवाका साक्षीहरूले कसरी प्रचारकार्यद्वारा मानिसहरूको हृदय छुन्छन्‌?

११. पावलले बताएअनुसार सुसमाचार कसरी प्रचार गर्नुपर्छ?

११ प्रेरित पावलको उदाहरणलाई विचार गर्नुहोस्‌, तिनले कोरिन्थका मसीहीहरूलाई यस्तो लेखे: “ए भाइ हो, जब म तिमीहरूकहाँ आएँ, तब बात र ज्ञानको सर्वश्रेष्ठतामा परमेश्‍वरको रहस्य सुनाउन म आएको थिइनँ। किनभने मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेको कुराबाहेक अरू केही नजानेको हुनेनै अठोट गरेको थिएँ।” (१ कोरिन्थी २:१, २) पावलले आफ्ना श्रोताहरूलाई आफूले सिकेका कुराहरूद्वारा प्रभावित गर्न खोजेनन्‌। तिनले बाइबलमा लिपिबद्ध ईश्‍वरीय तथ्यहरू मात्र सिकाए। पावलले आफ्ना सँगी सुसमाचारक तिमोथीलाई दिएको प्रोत्साहन पनि याद गर्नुहोस्‌: “वचन प्रचार गर, . . . तयार रह।” (२ तिमोथी ४:२) तिमोथीले “वचन” अर्थात्‌ परमेश्‍वरको सन्देश प्रचार गर्नुपर्ने थियो। पावलले तिमोथीलाई यस्तो पनि लेखे: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।”—२ तिमोथी २:१५.

१२. आज कसरी यहोवाका साक्षीहरूले पावलका शब्द र उदाहरण पालन गर्छन्‌?

१२ यहोवाका साक्षीहरूले पावलको उदाहरणका साथसाथै तिनले तिमोथीलाई भनेका शब्दहरू पनि पालन गर्छन्‌। तिनीहरूले परमेश्‍वरको वचनको शक्‍ति मानिलिन्छन्‌ र आफ्ना छिमेकीहरूलाई आशा तथा सान्त्वनाका उचित शब्दहरू देखाउन त्यसको सदुपयोग गर्छन्‌। (भजन ११९:५२; २ तिमोथी ३:१६, १७; हिब्रू ४:१२) हो, जिज्ञासु व्यक्‍तिहरूले आफ्नो फुर्सतको समयमा बाइबलको ज्ञान सजिलै पाउन सकून्‌ भनेर तिनीहरूले बाइबल साहित्यको पूरापूर सदुपयोग गर्छन्‌। तर तिनीहरू सधैं मानिसहरूलाई धर्मशास्त्रमा लेखिएका शब्दहरू देखाउने कोसिस गर्छन्‌। परमेश्‍वरको प्रेरित वचनले नम्र जनहरूको हृदय छुनेछ भनी तिनीहरूलाई थाह छ। अनि यसरी बाइबल प्रयोग गर्दा तिनीहरूको आफ्नो विश्‍वास पनि बलियो हुन्छ।

“सबै विलाप गर्नेहरूलाई सान्त्वना”

१३. सन्‌ २००१ मा कस्तो घटनाले गर्दा विलाप गर्नेहरूलाई सान्त्वना दिनु खाँचो पऱ्‍यो?

१३ सन्‌ २००१ मा पनि थुप्रै विपत्तिहरू भए जसको फलस्वरूप थुप्रै मानिसहरूलाई सान्त्वनाको खाँचो पऱ्‍यो। यसको अभूतपूर्व उदाहरण गत सेप्टेम्बर महिनामा संयुक्‍त राज्य अमेरिकाको न्यु योर्क शहरको विश्‍व व्यापार केन्द्र र वाशिंगटन डी. सी. नजिकै पेन्टागनमा भएको आत्मघाती आतंकवादी आक्रमण थियो। यस आक्रमणले गर्दा सम्पूर्ण देशले नै भयानक धक्का महसुस गऱ्‍यो! त्यो घटना भएदेखि यता यहोवाका साक्षीहरूले ‘विलाप गर्नेहरू सबैलाई सान्त्वना’ दिने आज्ञा पूरा गर्न कोसिस गरिरहेका छन्‌। तिनीहरूले कसरी सान्त्वना दिए भन्‍ने कुराको पुष्टि निम्न केही उदाहरणहरूले दिनेछन्‌।

१४, १५. दुई भिन्‍न अवसरमा साक्षीहरूले कसरी विलाप गरिरहेकाहरूलाई प्रभावकारी ढंगमा सान्त्वना दिए?

१४ एउटी साक्षी जो पूर्ण-समय सुसमाचारक हुन्‌, तिनले सडकको पेटीमा हिंडिरहेको एक जना आइमाईसँग कुरा थालिन्‌ र तिनलाई हालै भएको आतंकवादी आक्रमण कस्तो लाग्यो भनेर सोधिन्‌। ती आइमाई रुन थालिन्‌। तिनले आफूलाई असाध्यै दुःख लागेको र कसरी हुन्छ अरूलाई मदत गर्न चाहेको कुरा तिनले व्यक्‍त गरिन्‌। साक्षी बहिनीले तिनलाई परमेश्‍वरले हामी सबैमा गहिरो चासो लिनुहुन्छ भनी बताइन्‌ र यशैया ६१:१, २ पढेर सुनाइन्‌। सबै जना विलाप गरिरहेको बेला ती ईश्‍वरीय प्रेरित शब्दहरू उक्‍त आइमाईलाई तार्किक लाग्यो। तिनले एउटा पर्चा स्वीकारिन्‌ र साक्षी बहिनीलाई तिनको घरमा आउन आग्रह गरिन्‌।

१५ सुसमाचार प्रचार गरिरहेका दुई जना साक्षीले आफ्नो टहरोमा काम गरिरहेको एक जना मान्छेलाई भेटे। तिनीहरूले हालै विश्‍व व्यापार केन्द्रमा भएको दुःखद्‌ घटनालाई विचार गर्दै धर्मशास्त्रबाट सान्त्वनाका केही शब्दहरू देखाउने प्रस्ताव राखे। तिनको अनुमति पाएपछि तिनीहरूले २ कोरिन्थी १:३-७ पढेर सुनाए, जहाँ यसो भनिएको छ: “सान्त्वना पनि ख्रीष्टद्वारा प्रशस्त मात्रामा हुन्छ।” साक्षीहरू सान्त्वनादायी काममा लागिरहेकोमा मूल्याकंन व्यक्‍त गर्दै उक्‍त मानिसले यसो भने: “तपाईंहरूले गरिरहेको असल कार्यमा परमेश्‍वरको आशिष्‌ होस्‌।”

१६, १७. दुःखद्‌ घटनाहरूको कारण दुःखित वा विचलित भएका व्यक्‍तिहरूलाई मदत गर्ने बाइबलको शक्‍ति कुन दुइटा अनुभवले देखाउँछ?

१६ एक जना साक्षीले जिज्ञासु व्यक्‍तिकहाँ पुनःभेट गर्न जाँदा एउटी आइमाईको छोरा भेटे जसले पहिला चासो देखाएका थिए। भर्खरैको दुःखद्‌ घटनाले गर्दा तिनी आफ्ना छिमेकीहरूबारे चिन्तित भएको कुरा तिनले बताए। साक्षीहरू आफैले समय निकालेर मानिसहरूलाई भेटिरहेको देखेर त्यो मानिस छक्क परे। आक्रमण हुँदा तिनी विश्‍व व्यापार केन्द्र नजिकै काम गरिरहेको र सम्पूर्ण घटना आफूले देखेको बताए। परमेश्‍वरले किन दुःखकष्ट रहिरहने अनुमति दिनुभएको भनी प्रश्‍न गर्दा साक्षीले बाइबलबाट शास्त्रपद पढेर सुनाए र त्यसमध्ये एउटा शास्त्रपद भजन ३७:३९ थियो जहाँ यसो भनिएको छ: “धर्मात्माको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दुःखको समयमा उहाँनै तिनीहरूको दृढ़ गढ़ हुनुहुन्छ।” त्यस मानिसले दयालुपूर्वक साक्षीहरू तथा तिनीहरूको परिवारको हालखबर कस्तो छ भनी सोधे र फेरि आउन आग्रह गरे। यसरी भेट्‌न आएकोमा तिनले गहिरो मूल्यांकन व्यक्‍त गरे।

१७ आतंकवादी आक्रमणपछिका दिनहरूमा यहोवाका साक्षीहरूले विलाप गर्ने हजारौं मानिसहरूलाई सान्त्वना दिए र यसै सिलसिलामा साक्षीहरूले एउटी आइमाईलाई भेटे। तिनी हालैका घटनाहरूले गर्दा असाध्यै निराश भएकी थिइन्‌ र साक्षीहरूले भजन ७२:१२-१४ पढेर सुनाउँदा तिनले ध्यान दिएर सुनिन्‌: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” यी शब्दहरू साह्रै अर्थपूर्ण साबित भए! उक्‍त आइमाईले त्यो शास्त्रपद फेरि पढ्‌न आग्रह गरिन्‌ र थप छलफलको लागि उनीहरूलाई आफ्नो घरमा बोलाइन्‌। वार्तालापको अन्तसम्ममा त बाइबल अध्ययन सुरु भइसकेको थियो।

१८. एक जना साक्षीलाई सबैको खातिर प्रार्थना गरिदिन आग्रह गर्दा तिनले आफ्ना छिमेकीहरूलाई कसरी मदत गरे?

१८ एक जना साक्षी धनाढ्यहरूको इलाकाको एउटा रेस्टुराँमा काम गर्थे र त्यहाँका मानिसहरूले पहिले परमेश्‍वरको राज्यको सुसमाचारप्रति त्यति चासो देखाएका थिएनन्‌। आतकंवादी आक्रमणपछि त्यस समुदायमा सन्त्रास पैदा भएको थियो। आक्रमणपछिको शुक्रबार साँझ रेस्टुराँकी म्यानेजरले सबैलाई बाहिर गएर मृतकहरूको सम्झनामा मैनबत्ती बाल्न आग्रह गरिन्‌। तिनीहरूको भावनालाई कदर गर्दै उक्‍त साक्षी बाहिर पेटीमा गएर चुपचापसित उभेछन्‌। म्यानेजरलाई तिनी एक जना यहोवाका साक्षी हुन्‌ भन्‍ने कुरा थाह थियो। त्यसैले, मृतकहरूको सम्झना गरिसकेपछि तिनले साक्षीलाई सबैको प्रतिनिधित्व गर्दै प्रार्थना गर्न आग्रह गरिन्‌। साक्षीले त्यस आग्रहलाई स्वीकारे। तिनले आफ्नो प्रार्थनामा मानिसहरू सबैले विलाप गरिरहेका छन्‌ तर तिनीहरूले कुनै आशै नभएझैं विलाप गर्नुपर्दैन भनी उल्लेख गरे। तिनले त्यस्ता बीभत्स घटनाहरू नहुने समय आउनेछ र बाइबलले प्रदान गर्ने सही ज्ञानमार्फत सबै जना सान्त्वनाका परमेश्‍वरसँग नजिक हुन सक्छन्‌ भनेर बताए। “आमिन” भनेपछि रेस्टुराँबाहिर जम्मा भएका ६० भन्दा बढी मानिसहरूले उक्‍त साक्षीलाई धन्यवाद दिए र म्यानेजरले यो आफूले अहिलेसम्म सुनेका प्रार्थनाहरूमध्ये सबैभन्दा राम्रो प्रार्थना हो भनेर तिनलाई अंकमाल गरिन्‌।

समुदायको निम्ति आशिष्‌

१९. कोही-कोही मानिसहरूले यहोवाका साक्षीहरूको उच्च नैतिक स्तरको कदर गर्छन्‌ भन्‍ने कुरा कुन अनुभवले देखाउँछ?

१९ विशेष गरी यी दिनहरूमा यहोवाका साक्षीहरू सक्रिय भएका समुदायहरूमा तिनीहरूको उपस्थितिले फाइदा भएको छ भनी थुप्रैले टिप्पणी गरेका छन्‌। शान्ति, इमानदारी र स्वच्छ नैतिकता प्रवर्धन गर्ने मानिसहरू कसको लागि लाभकारी हुँदैन र? एउटा मध्य एसियाली देशमा साक्षीहरूले देशको सुरक्षा निकायको अवकाशप्राप्त अधिकारीलाई भेटेछन्‌। आफूलाई एक चोटि विभिन्‍न धार्मिक संगठनबारे जाँचबुझ गर्न खटाइएको कुरा तिनले बताए। यहोवाका साक्षीहरूको गतिविधि जाँचबुझ गर्दा तिनीहरूको इमानदारी र असल आचरण देखेर आफू प्रभावित भएको कुरा तिनले बताए। तिनले उनीहरूको दृढ विश्‍वास र तिनीहरूको शिक्षा धर्मशास्त्रमा आधारित भएकोमा सराहना गरे। ती मानिस बाइबल अध्ययन गर्न राजी भए।

२०. (क) गत वर्ष यहोवाका साक्षीहरूको गतिविधिको रिपोर्टले के देखाउँछ? (ख) अझ धेरै गर्न बाँकी छ भन्‍ने कुरा कुन कुराले संकेत गर्छ र हामी सुसमाचार प्रचार गर्ने सुअवसरप्रति कस्तो दृष्टिकोण राख्छौं?

२० हजारौं अनुभवहरूमध्ये यस लेखमा उल्लेख गरिएका केही उदाहरणहरूबाट यहोवाका साक्षीहरू सन्‌ २००१ सेवा वर्षको दौडान असाध्यै व्यस्त थिए भनी स्पष्ट हुन्छ। a तिनीहरूले लाखौं मानिसहरूसँग कुरा गरे, विलाप गर्नेहरूलाई सान्त्वना दिए र तिनीहरूको सुसमाचार प्रचारकार्यबाट असल परिणाम प्राप्त भयो। बप्तिस्मा लिएर परमेश्‍वरप्रतिको आफ्ना समर्पण २,६३,४३१ जना मानिसहरूले जनसमक्ष प्रकट गरे। विश्‍वभरि सुसमाचारकहरूको संख्या १.७ प्रतिशतले वृद्धि भयो। येशूको मृत्युको स्मरणार्थमा उपस्थिति संख्या १,५३,७४,९८६ ले अझ धेरै काम गर्न बाँकी छ भन्‍ने कुरा संकेत गर्छ। (१ कोरिन्थी ११:२३-२६) सुसमाचार सुन्‍ने नम्र व्यक्‍तिहरूलाई खोज्न हामी नछोडौं। अनि यहोवाको ग्रहणयोग्य वर्ष चलुञ्जेल हामी “मन भाँचिएकाहरूको हृदयलाई” सान्त्वना दिन नछोडौं। यो कस्तो सन्तोषजनक काम हो! निश्‍चय पनि हामी सबै यशैयाका यी शब्दहरूमा सहमत छौं: “म परमप्रभुमा साह्रै आनन्दित हुनेछु। मेरो आत्माले मेरा परमेश्‍वरमा आनन्द मनाउनेछ।” (यशैया ६१:१०) परमेश्‍वरका यी भविष्यसूचक वचनहरू पूरा गर्न परमेश्‍वरले हामीलाई सधैं प्रयोग गरिरहून्‌: “परमप्रभु परमेश्‍वरले धर्म र प्रशंसा सारा जातिहरूका सामने उब्जाउनुहुनेछ।”—यशैया ६१:११.

[फुटनोट]

a पृष्ठ १९ देखि २२ मा दिइएको चार्टले सन्‌ २००१ सेवा वर्षको दौडान यहोवाका साक्षीहरूको गतिविधिको रिपोर्ट दिन्छ।

के तपाईंलाई सम्झना छ?

• येशूले प्रचार गर्नुभएको सुसमाचारबाट नम्र जनहरूले कसरी लाभ उठाए?

• प्रथम शताब्दीमा येशूका चेलाहरूले प्रचार गरेका सुसमाचार सुन्दा मानिसहरूले कस्तो लाभ उठाए?

• सुसमाचार सुन्‍ने मानिसहरूले अहिले कस्तो आशिष्‌ पाएका छन्‌?

• सुसमाचारक हुने सुअवसरप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १९-२२-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाका साक्षीहरूको २००१ सेवा वर्ष रिपोर्ट

(छापिएको प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरूले सुसमाचार प्रचार गर्ने आफ्नो जिम्मेवारी कहिल्यै बिर्संदैनन्‌

[पृष्ठ १७-मा भएका चित्रहरू]

सुसमाचार सुन्‍नेहरू सबै एकताबद्ध विश्‍वव्यापी भ्रातृत्वको भाग हुन्छन्‌