सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनका शिक्षकहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरियो

परमेश्‍वरको वचनका शिक्षकहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरियो

परमेश्‍वरको वचनका शिक्षकहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरियो

हालैका महिनाहरूमा निर्देशन हासिल गर्न लाखौं शिक्षकहरू भेला भए। गत मे महिनादेखि विश्‍वभरि सुरु भएको “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक यहोवाका साक्षीहरूको सयौं जिल्ला अधिवेशनहरूमा तिनीहरू भेला भए। ती प्रतिनिधिहरूलाई आफै सिक्न, अझ बढी योग्य हुन र शिक्षकहरूको हैसियतमा आफ्नो दायित्व पूरा गर्न आग्रह गरियो।

के तपाईं पनि यीमध्ये कुनै एउटा अधिवेशनमा उपस्थित हुनुभएको थियो? हुनुभएको थियो भने, तपाईंले पनि साँचो परमेश्‍वर यहोवाको उपासना गर्न गरिएको जमघटमा प्रस्तुत गरिएका असल आध्यात्मिक भोजनहरूको पक्कै मूल्यांकन गर्नुभयो होला। अब हामीसँगै ती निर्देशनमूलक कार्यक्रमहरूको पुनरावृत्ति गर्नुभए कसो होला?

पहिलो दिन—प्रेरित धर्मशास्त्र सिकाउन उपयोगी हुन्छ

अधिवेशनको अध्यक्षले त्यहाँ उपस्थित प्रतिनिधिहरूलाई “परमेश्‍वरको वचनका शिक्षकहरू हो, सिक्नुहोस्‌” भन्‍ने भाषणद्वारा न्यानो स्वागत गरे। महान्‌ “गुरु” यहोवाबाट सिक्नुभएर येशू ख्रीष्ट पनि महान्‌ शिक्षक हुनुभयो। (यशैया ३०:२०; मत्ती १९:१६) हामी पनि परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा उन्‍नति गर्दै जान चाहन्छौं भने, हामी पनि यहोवाबाट सिकाइएको हुनैपर्छ।

त्यसको लगत्तै “परमेश्‍वरको राज्यबारे अरूलाई सिकाउँदा असल फल पाइन्छ” भन्‍ने भाग थियो। परमेश्‍वरको वचनका अनुभवी शिक्षकहरूका अन्तरवार्ताहरूबाट चेला बनाउँदा पाइने आनन्द तथा आशिष्‌हरूमाथि प्रकाश पारियो।

त्यसपछि, “परमेश्‍वरका महाकार्यहरूका विषयमा सुनेर उत्प्रेरित” भन्‍ने अर्को उत्साहवर्धक भाषण दिइयो। प्रथम शताब्दीमा परमेश्‍वरको राज्यसित सम्बन्धित “महाकार्यहरू[ले]” गर्दा थुप्रै मानिसहरू उत्प्रेरित भए। (प्रेरित २:११) हामी पनि छुडौतीको बलिदान, पुनरुत्थान र नयाँ करारसम्बन्धी आध्यात्मिक शिक्षाजस्ता “महाकार्यहरू[बारे]” घोषणा गर्दै मानिसहरूलाई ठोस कदम चाल्न उत्प्रेरित गर्न सक्छौं।

अर्को भाषणले सबैलाई “यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्‌” भनेर प्रोत्साहन दियो। (भजन ३५:२७) असललाई प्रेम गर्दै खराबीलाई घृणा गरेर, बाइबल अध्ययन गरेर, आध्यात्मिकतालाई खतरामा पार्ने हानिकारक प्रभावहरूलाई सक्रियतासाथ प्रतिरोध गरेर अनि विनम्रता खेती गरेर हामीले धार्मिकतामा लाग्न मदत पाएका छौं। त्यस्ता कदमहरूले हामीलाई हानिकारक संगत, संसारका भौतिक मूल्यमान्यताहरू तथा अनैतिक अनि हिंसात्मक मनोरञ्जनहरूबाट सुरक्षित रहन मदत गर्नेछन्‌।

“परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित” विषयक मुख्य भाषणले, यहोवाले हामीलाई आफ्नो वचन, पवित्र आत्मा र आफ्नो पार्थिव संगठनमार्फत्‌ उहाँका योग्य सेवकहरू बनाउनुहुन्छ भन्‍ने कुराको सम्झना दिलायो। परमेश्‍वरको वचन प्रयोग गर्ने सन्दर्भमा वक्‍ताले हामीलाई यस्तो सुझाउ दिए: “हाम्रो लक्ष्य, परमेश्‍वरको सन्देश मानिसहरूको हृदयसम्म पुऱ्‍याउने हुनुपर्छ।”

यस अधिवेशनको पहिलो गोष्ठीको विषय थियो, “आफू पनि सिक्दै अरूलाई पनि सिकाउँदै।” पहिलो भागले हामी अरूलाई जस्तो मसीही नैतिकताका उच्च स्तरहरू सिकाउँछौं, आफूले पनि त्यसै गर्नुपर्छ भनेर जोड दियो। अर्को भागले चाहिं हामीलाई ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्नु’ भन्‍ने सल्लाह दियो। (२ तिमोथी २:१५) आफूले सिक्ने हो भने, हामीले परमेश्‍वरलाई सेवा गर्न थालेको जतिसुकै वर्ष भएको किन नहोस्‌, नियमित तथा लगनशील भई बाइबल अध्ययन गरिरहनु आवश्‍यक छ। उक्‍त गोष्ठीको अन्तिम भागले, दियाबलले हामीमा घमण्ड, स्वतन्त्र मनोभाव, आफूलाई बढ्‌तै महत्त्व दिने झुकाउ, डाह, ईर्ष्या, आरिस, क्रोध र दोष कोट्याउने जस्ता मनोवृत्तिहरू पाइएला कि भनेर हेरिरहेको हुन्छ भनेर देखायो। तथापि, यदि हामीले दियाबललाई जोडतोडका साथ विरोध गऱ्‍यौं भने त्यो हामीबाट भाग्नेछ। त्यसको विरोध गर्नको लागि हामी परमेश्‍वरको नजिक जानु आवश्‍यक छ।—याकूब ४:७, ८.

“अश्‍लील कुराहरूको प्रकोपलाई घृणा गर्नुहोस्‌” भन्‍ने समयसापेक्ष भाषणले हामीलाई आफ्नो आध्यात्मिकतालाई दूषित पार्न सक्ने कुराहरू विरुद्ध कसरी लड्‌नुपर्छ भनेर देखायो। यहोवाको बारेमा अगमवक्‍ता हबकूकले यसो भने: “तपाईं[को] . . . दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्नसक्नुहुन्‍न।” (हबकूक १:१३) हामीले “जुन कुरो खराब छ, त्यसलाई घृणा” गर्नुपर्छ। (रोमी १२:९) छोराछोरीहरूले इन्टरनेट वा टेलिभिजन हेर्दा राम्ररी निरीक्षण गर्नुहोस्‌ भनेर आमाबाबुहरूलाई सल्लाह दिइयो। अश्‍लील कुराहरूतर्फ आकर्षित भएकाहरूले परिपक्व आध्यात्मिक मित्रहरूबाट मदत लिनुपर्छ भनेर पनि वक्‍ताले बताए। भजन ९७:१०; मत्ती ५:२८; १ कोरिन्थी ९:२७; एफिसी ५:३, १२; कलस्सी ३:५ र १ थिस्सलोनिकी ४:४, ५ जस्ता शास्त्रपदहरूलाई मनन गर्दै सम्झनु पनि मदतकारी हुनेछ।

अर्को, “परमेश्‍वरको शान्तिले तपाईंको रक्षा गरून्‌” विषयको भाषणले हामीलाई, चिन्ताले लादिंदा हामी आफ्नो बोझ यहोवामा बिसाउन सक्छौं भनेर विश्‍वस्त गराउँदै सान्त्वना दियो। (भजन ५५:२२) हामीले प्रार्थनामा आफ्नो मनको कुरा पोख्यौं भने, यहोवाले हामीलाई “परमेश्‍वरको शान्ति” दिनुहुनेछ, जुन उहाँसितको हाम्रो बहुमूल्य सम्बन्धको परिणामस्वरूप पाउने शान्त र सौम्य अवस्था हो।—फिलिप्पी ४:६, ७.

यशैया अध्याय ६० को पूर्तिबारे व्याख्या गरिएको “यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ” भन्‍ने समापन भाषणले गर्दा पहिलो दिनको अन्त अत्यन्तै रोमाञ्चकारी भयो। यस संसारको वर्तमान अन्धकारमा देखा पर्न थालेका भेडाखाले “परदेशी” मानिसहरूले अभिषिक्‍त मसीहीहरूसँगसँगै मिलेर यहोवाको ज्योतिको आनन्द उठाउँदैछन्‌। पद १९ र २० लाई उल्लेख गर्दै वक्‍ताले यस्तो टिप्पणी गरे: “यहोवा, सूर्यजस्तै ‘डुब्ने’ वा चन्द्रमा जस्तै ‘अस्ताउनुहुने’ छैन। आफ्ना जनहरूमाथि ज्योति चम्काएर उहाँले तिनीहरूलाई महिमित तुल्याइरहनुहुनेछ। यस अन्धकारमय संसारको आखिरी दिनमा बाँचिरहेका हामीहरूको लागि कस्तो अद्‌भुत आश्‍वासन!” त्यस भाषणको अन्तमा वक्‍ताले आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड, खण्ड दुई विमोचन गरिएको घोषणा गरे। के तपाईंले यो नयाँ प्रकाशन पढिसक्नुभयो?

दोस्रो दिन—अरूलाई सिकाउन योग्य

दोस्रो दिन दैनिक पदको छलफलपछि “सेवकहरू जसद्वारा अरूले विश्‍वास गर्छन्‌” भन्‍ने अधिवेशनको दोस्रो गोष्ठी हामीले निकै चासो दिएर सुन्यौं। तीन भागमा बाँडिएको गोष्ठीका वक्‍ताहरूले मानिसहरूलाई विश्‍वासी हुन मदत गर्ने काममा समावेश राज्यको सन्देश फैलाउने, चासो देखाउँदा त्यस चासोलाई बढाउने र तिनीहरूलाई ख्रीष्टले आज्ञा गर्नुभएका कुराहरूमा ध्यान दिन सिकाउने तीनवटा चरणमा जोड दिए। अन्तरवार्ता तथा अभिनयहरूद्वारा हामीले विशेष गरी अरूलाई कसरी चेला बनाउन सिकाउन सक्छौं भन्‍ने कुरा बुझ्न सक्यौं।

अर्को भागको विषय थियो, “तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌।” सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको “अन्तसम्म स्थिर” रहनु हो भनेर वक्‍ताले देखाए। (मत्ती २४:१३) हामीले प्रार्थना, व्यक्‍तिगत अध्ययन, सभा र क्षेत्र सेवकाईजस्ता परमेश्‍वरका सम्पूर्ण प्रबन्धहरूको सदुपयोग गरेर ईश्‍वरीय भक्‍ति खेती गर्नुपर्छ। हामीले आफूलाई सांसारिक लालसा तथा क्रियाकलापहरूको वशमा पार्न वा हाम्रो ईश्‍वरीय भक्‍ति नष्ट गर्न दिनुहुँदैन।

मेहनत गर्ने र बोझले दबिएकाहरूले अहिले कसरी स्फूर्ति प्राप्त गर्न सक्छन्‌? “ख्रीष्टको जुवा बोकेर स्फूर्ति पाउने” विषयको भाषणले यस प्रश्‍नको जवाफ दियो। येशूले आफ्ना चेलाहरूलाई उहाँको जुवा बोक्न र उहाँबाट सिक्न मायालु निम्तो दिनुभयो। (मत्ती ११:२८-३०) येशूको अनुकरण गर्दै सरल अनि सन्तुलित जीवन बितायौं भने हामी उहाँको जुवा बोक्न सक्छौं। आफ्नो जीवन सरल बनाएकाहरूसित लिइएको अन्तरवार्ताले यस प्रस्तुतिका मुख्य बुँदाहरूलाई अझ बढी जोड दियो।

यहोवाका साक्षीहरूको ठूल-ठूला जमघटहरूको एउटा विशेषता, यहोवाप्रति समर्पित नयाँ सेवकहरूको बप्तिस्मा पनि हो। “बप्तिस्मापछि अरूलाई सिकाउने अझ थप अवसरहरू प्राप्त हुन्छ” विषयको भाषण दिने भाइले ती बप्तिस्मा लिने उम्मेदवारहरूलाई न्यानो स्वागत गरेर सेवाका महान्‌ सुअवसरहरूमा भाग लिन आमन्त्रित गरे। धर्मशास्त्रीय आवश्‍यकताहरू पूरा गरेर भर्खरै बप्तिस्मा लिएका परमेश्‍वरको वचनका नयाँ शिक्षकहरूले मण्डलीमा विभिन्‍न जिम्मेवारीहरू वहन गर्न सक्छन्‌।

“महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌” भन्‍ने विषय अपराह्नको पहिलो भाषण थियो। स्वर्गमा हुनुहुँदा येशूले आफ्नो पितालाई हेरेर उहाँको अनुकरण गर्नुभयो र फलस्वरूप महान्‌ शिक्षक हुनुभयो। पृथ्वीमा हुनुहुँदा उहाँले प्रभावकारी शिक्षण पद्धतिहरू प्रयोग गर्नुभयो, जस्तै: मन छुने खालका प्रश्‍नहरू सोध्नुभयो, सरल तर जीवन्त उदाहरणहरू चलाउनुभयो। येशूको शिक्षा परमेश्‍वरको वचनमा आधारित थियो र उहाँले जोसिलो, न्यानो ढंगमा अख्तियारप्राप्त व्यक्‍तिले जस्तै बोल्नुभयो। के हामी यस्तो महान्‌ शिक्षकको अनुकरण गर्न उत्प्रेरित भएनौं र?

“के तपाईं अरूको सेवा गर्न इच्छुक हुनुहुन्छ?” विषयक अर्को उत्साहवर्धक भाषणले हामीलाई मानिसहरूको सेवा गर्ने सन्दर्भमा येशूले देखाउनुभएको उदाहरण अनुकरण गर्न प्रोत्साहन दियो। (यूहन्‍ना १३:१२-१५) वक्‍ताले योग्य व्यक्‍तिहरूलाई अरूलाई मदत गर्ने मौका पाउँदा पछि नहट्‌ने तिमोथीजस्तै हुन स्पष्टसित आग्रह गरे। (फिलिप्पी २:२०, २१) आफ्ना छोराछोरीहरूलाई पूर्ण-समय सेवकाईमा लाग्न मदत गर्ने सन्दर्भमा आमाबाबुहरूलाई एल्काना र हन्‍नाको अनुकरण गर्न प्रोत्साहित गरियो। अनि जवानहरूलाई पनि येशू ख्रीष्ट र जवान तिमोथीको उदाहरण विचार गर्दै आफूलाई सेवाको काममा व्यस्त राख्न सल्लाह दिइयो। (१ पत्रुस २:२१) अरूको सेवा गर्ने मौकाको फाइदा उठाएकाहरूको अनुभवबाट पनि हामी प्रोत्साहित भयौं।

तेस्रो गोष्ठीको विषय थियो, “ईश्‍वरतान्त्रिक शिक्षाबाट अझ पूर्ण लाभ उठाउनुहोस्‌।” पहिलो वक्‍ताले ध्यान दिन सक्ने समय बढाउनुपर्ने महत्त्वमाथि जोड दिए। त्यसो गर्नको लागि हामी सुरुमा व्यक्‍तिगत अध्ययन गर्न थोरै समय छुट्‌याएर पछि त्यसै समयलाई बढाउँदै लैजाने कोसिस गर्न सक्छौं। सभाहरूको दौडान शास्त्रपदहरू खोल्न र टिपोटहरू लिन पनि तिनले प्रोत्साहन दिए। दोस्रो वक्‍ताले हामीलाई “पक्का कुराहरू” पक्रिरहनुपर्ने आवश्‍यकताप्रति सजग गराए। (२ तिमोथी १:१३, १४) सञ्चार माध्यमका अनैतिक प्रस्तुति, मानव दर्शन, बाइबलका आलोचना तथा धर्मत्यागी शिक्षाहरूदेखि आफूलाई सुरक्षित राख्न हामीले व्यक्‍तिगत अध्ययन तथा सभामा उपस्थित हुन समय निकाल्नै पर्छ। (एफिसी ५:१५, १६) गोष्ठीको अन्तिम वक्‍ताले ईश्‍वरतान्त्रिक शिक्षाबाट पूर्णतया लाभ उठाउन सिकेका कुराहरू व्यवहारमा उतार्नुपर्ने आवश्‍यकतामाथि जोड दिए।—फिलिप्पी ४:९.

“हाम्रो आध्यात्मिक प्रगतिको लागि नयाँ प्रबन्ध” विषयको भाषण सुन्‍न पाउँदा हामी अत्यन्तै रोमाञ्चित भयौं! बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन नामक पुस्तक अब चाँडै नै प्रकाशित हुनेछ भन्‍ने कुरा थाह पाउँदा हामी साह्रै हर्षित भएका थियौं। वक्‍ताले यसका केही विषय सूची पढेर सुनाउँदा हामीलाई त्यो पुस्तक प्राप्त गर्न हतार भएको थियो। यस पुस्तकको स्पीच काउन्सिलका बुँदाहरूबारे तिनले यसो भने: “यो नयाँ पुस्तकले राम्ररी पढ्‌न, बोल्न र सिकाउन ५३ वटा पक्ष प्रस्तुत गर्न सांसारिक पाठ्यक्रमजस्तो तरिका अपनाएको छैन। यो धर्मशास्त्रीय सिद्धान्तमा आधारित छ।” यस पुस्तकले अगमवक्‍ताहरू, येशू र उहाँका चेलाहरूले सिकाउने सन्दर्भमा कस्तो राम्रो तरिका अपनाए भनेर देखाउनेछ। हो, यस पाठ्यपुस्तक र ईश्‍वरतान्त्रिक सेवकाई स्कूलका नयाँ विशेषताहरूले हामीलाई परमेश्‍वरको वचनका अझ दक्ष शिक्षकहरू बन्‍न अवश्‍यै मदत गर्नेछ।

तेस्रो दिन—समयको हिसाबले शिक्षकहरू हुनुपर्ने हो

अन्तिम दिन दैनिक पदको छलफलपछि, सबैले त्यस अधिवेशनको अन्तिम गोष्ठीलाई ध्यान दिएर सुने, “मलाकीको भविष्यवाणीले हामीलाई यहोवाको दिनको लागि तयार बनाउँछ।” मलाकीले यहूदीहरू बेबिलोनबाट फर्केको झन्डै सय वर्षपछि भविष्यवाणी गर्न थाले। यहोवाका धार्मिक नियमहरूलाई बेवास्ता गर्दै अनि अन्धा, लंगडा र रोगी जनावरहरूको बलिदान चढाएर उहाँको अनादर गर्दै तिनीहरू फेरि धर्मत्याग र दुष्टतामा लागेका थिए। त्यति मात्र कहाँ हो र, विदेशी आइमाईहरूसित विवाह गर्नको लागि होला तिनीहरूले आफ्ना युवावस्थाका पत्नीहरूलाई त्यागिरहेका थिए।

मलाकीको भविष्यवाणीको पहिलो अध्यायले यहोवा आफ्ना जनहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने आश्‍वासन दिन्छ। यसले परमेश्‍वरप्रति श्रद्धेय भय राख्नुका साथै पवित्र कुराहरूको मूल्यांकन गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिन्छ। यहोवा हामी निःस्वार्थ प्रेमद्वारा उत्प्रेरित भई उहाँलाई सर्वोत्तम उपासना चढाएको चाहनुहुन्छ। हाम्रो पवित्र सेवा औपचारिकता मात्र हुनुहुँदैन र हामीले उहाँलाई लेखा दिनै पर्छ।

मलाकी दोस्रो अध्यायका कुराहरूलाई हाम्रो दिनसित मिलान गर्दै गोष्ठीको दोस्रो भागका वक्‍ताले यस्तो प्रश्‍न सोधे: “ ‘हाम्रो ओठबाट अधर्मको कुरा ननिस्कोस्‌’ भनेर के हामी व्यक्‍तिगत तवरमा सजग छौं?” (मलाकी २:६) सिकाउन नेतृत्व लिनेहरूले आफूले भनेका कुराहरू परमेश्‍वरको वचनमा आधारित छन्‌ वा छैनन्‌, पक्का गर्नुपर्छ। शास्त्र विपरीत पारपाचुके गर्नुजस्तो धोकेबाज कामलाई हामीले घृणा गर्नुपर्छ।—मलाकी २:१४-१६.

“यहोवाको दिनमा को बच्नेछ?” भन्‍ने विषयमा बोल्दै गोष्ठीका अन्तिम वक्‍ताले हामीलाई यहोवाको दिनको लागि तयार हुन मदत गरे। तिनले यस्तो उद्‌गार व्यक्‍त गरे: “मलाकी अध्याय ३, पद १७ को प्रमुख पूर्ति यहोवाका जनहरूमै भइरहेको छ भनेर थाह पाउनु तिनीहरूको लागि कस्तो सान्त्वनादायी कुरा हो! उक्‍त पदमा यसो भनिएको छ: ‘जुन दिन म तिनीहरूलाई मेरो निज धन बनाउनेछु तिनीहरू मेरा हुनेछन्‌, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। औ कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई छोडिदिएझैं म तिनीहरूलाई छोडिदिनेछु।’ ”

कोरहका छोराहरूलाई चित्रित गर्दै नाटकीय भेषभूषामा प्रस्तुत गरिएको “यहोवाको अधीनमा बस्नुहोस्‌” भन्‍ने नाटक त्यस अधिवेशनको अर्को विशेषता थियो। आफ्नो बुबाले मोशा र हारूनप्रति विद्रोही मनोभाव देखाए तापनि तिनीहरू यहोवा र उहाँका प्रतिनिधिहरूप्रति वफादार रहे। कोरह तथा तिनका समर्थकहरू नाश हुँदा कोरहका छोराहरू बचे। त्यसपछि, “वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुहोस्‌” विषयको भाषणले नाटकका विषयवस्तु हामी प्रत्येकको लागि कसरी अर्थपूर्ण छ भनेर स्पष्ट पाऱ्‍यो। कोरह तथा तिनका समर्थकहरू चुकेका छवटा भिन्‍नाभिन्‍नै क्षेत्रहरूबारे वक्‍ताले चेताउनी दिए। ती हुन्‌: यहोवाको अख्तियारको अधीनमा नबस्नु, घमण्डी हुनु, महत्त्वाकांक्षी हुनु र ईर्ष्याको वशमा पर्नु, यहोवाले नियुक्‍त गर्नुभएका जनहरूको असिद्धतालाई कोट्याउनु, गनगन गर्ने बानी बसाल्नु, आफूले पाएका सेवाका सुअवसहरूमा असन्तुष्ट हुनु र यहोवाप्रतिको वफादारीभन्दा मित्रता वा पारिवारिक सम्बन्धलाई बढी महत्त्व दिनु।

जन भाषणको विषय “सबै जातिलाई कसले सत्य सिकाइरहेको छ?” थियो। त्यसमा छलफल गरिएको सत्य साधारण सत्य नभई येशू ख्रीष्टले साक्षी दिनुभएको यहोवाको उद्देश्‍यबारे सत्य कुरा थियो। वक्‍ताले धार्मिक विश्‍वास, उपासना गर्ने तरिका र व्यक्‍तिगत आचरणसित सम्बन्धित सत्यमाथि जोड दिए। प्रथम शताब्दीका मसीहीहरूसित आजका यहोवाका साक्षीहरूलाई तुलना गरेर हेर्दा ‘साँच्चिनै परमेश्‍वर हाम्रो बीचमा हुनुहुन्छ’ भन्‍ने हाम्रो विश्‍वास झनै बलियो भयो।—१ कोरिन्थी १४:२५.

त्यस हप्ताको लागि प्रहरीधरहरा पत्रिकाको अध्ययन लेखको सारांशपछि त्यहाँ उपस्थित परमेश्‍वरको वचनका सबै शिक्षकहरूलाई “अरूलाई सिकाउने काम तत्परताका साथ पूरा गर्ने” भन्‍ने विषयको अन्तिम भाषणमार्फत्‌ शिक्षण कार्यमा लाग्न उत्प्रेरित गरियो। त्यस कार्यक्रमको संक्षिप्त पुनरावृत्तिले शिक्षण कार्यमा हामी योग्य शिक्षकहरू हुन सक्ने किसिमले धर्मशास्त्रको प्रयोग गर्नुपर्ने महत्त्वका साथै हामीले अरूलाई सिकाउने सत्यप्रति विश्‍वस्त हुनुपर्ने कुरामा जोड दियो। वक्‍ताले ‘हाम्रो प्रगति सबैमा प्रकट गर्न’ र ‘आफ्नो र आफ्नो शिक्षाको विषयमा होशियार रहने’ सुझाउ हामीलाई दिए।—१ तिमोथी ४:१५, १६.

“परमेश्‍वरको वचनका शिक्षकहरू” जिल्ला अधिवेशनबाट हामीले आध्यात्मिक भोजको आनन्द उठायौं! हामी सबै जना परमेश्‍वरको वचन अरूलाई सिकाउने सन्दर्भमा यहोवा र येशू ख्रीष्टजस्ता हाम्रा महान्‌ शिक्षकहरूको अनुकरण गरिरहन सकौं।

[पृष्ठ २८-मा भएको पेटी/चित्रहरू]

विशेष आवश्‍यकताहरू पूरा गर्न नयाँ प्रकाशनहरू

संसारका कुनै-कुनै ठाउँमा धर्मशास्त्रीय सत्य सिकाउन उपयोगी हुने दुइटा प्रकाशन प्राप्त गर्दा “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक जिल्ला अधिवेशनमा आएका प्रतिनिधिहरू अत्यन्तै उत्साहित भए। डु यु ह्‍याभ एन इमोर्टल स्पिरिट? शीर्षकको पर्चा त्यस्ता मुलुकहरूमा वार्तालाप सुरु गर्न उपयोगी हुनेछन्‌ जहाँका स्थानीय भाषाहरूले “प्राण” र “आत्मा”-बीचको भिन्‍नतालाई स्पष्ट पार्दैन। यो नयाँ पर्चाले आत्मिक शक्‍ति र आत्मिक प्राणी भनेको बेग्लाबेग्लै कुरा हो र मरेपछि मानिस आत्मिक प्राणी बन्दैन भनेर देखाउँछ।

त्यस अधिवेशनको दोस्रो दिन अ सेटिस्फाइङ लाइफहाउ टु अटेन इट नामक पुस्तिका विमोचन गरियो। सृष्टिकर्ताको कुनै व्यक्‍तित्व छैन र परमेश्‍वरबाट प्रेरित कुनै पनि पुस्तक छैन भन्‍ने धारणा भएका मानिसहरूसित बाइबल अध्ययन सुरु गर्ने हेतुले यो पुस्तिका तयार पारिएको हो। के तपाईंले यी नयाँ प्रकाशनहरू क्षेत्रमा प्रयोग गरिसक्नुभयो?

[पृष्ठ २६-मा भएका चित्रहरू]

इटालीको मिलानमा र संसारभर सम्पन्‍न अधिवेशनहरूमा सयौंले बप्तिस्मा लिए

[पृष्ठ २९-मा भएको चित्र]

“यहोवाको अख्तियारको आदर गर्नुहोस्‌” विषयक नाटकले श्रोताहरूको मनै छोयो