सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भलाइ प्रदर्शन गरिरहनुहोस्‌

भलाइ प्रदर्शन गरिरहनुहोस्‌

भलाइ प्रदर्शन गरिरहनुहोस्‌

“ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ।”—एफिसी ५:९.

१. आज लाखौंले भजन ३१:१९ मा उल्लिखित कुरामा कसरी सहमति जनाउँछन्‌?

 मानिसले गर्नसक्ने सबैभन्दा प्रशंसायोग्य काम परमेश्‍वरको महिमा गर्नु हो। आज, लाखौंले परमेश्‍वरको भलाइको प्रशंसा गरेर यसो गरिरहेका छन्‌। यहोवाका वफादार साक्षीहरूको हैसियतमा हामी पूरा तनमनले भजनरचयितासँग सहमत छौं, जसले यसो भन्दै भजन गाएका थिए: “तपाईंसँग डराउनेहरूका निम्ति राख्नुभएको तपाईंको भलाइ कति ठूलो छ।”—भजन ३१:१९.

२, ३. चेला बनाउने कार्यसँगसँगै हाम्रो आचरण असल छैन भने के हुन सक्छ?

यहोवाप्रतिको श्रद्धेय भयले हामीलाई उहाँको भलाइको प्रशंसा गर्न उत्प्रेरित गर्छ। यसले हामीलाई ‘परमप्रभुलाई धन्यवाद दिन, उहाँलाई धन्यको भन्‍न र उहाँको राज्यको महिमाको वर्णन गर्न’ पनि उत्प्रेरित गर्छ। (भजन १४५:१०-१३) त्यसैकारण त हामी राज्य प्रचारकार्य र चेला बनाउने काममा जोसका साथ भाग लिन्छौं। (मत्ती २४:१४; २८:१९, २०) निस्सन्देह, हाम्रो प्रचार गतिविधिसँगसँगै हाम्रो आचरण पनि असल हुनुपर्छ। अन्यथा, हामीले यहोवाको पवित्र नाउँमा कलंक लगाउन सक्छौं।

थुप्रै मानिसले परमेश्‍वरको उपासना गर्छु भनी दाबी त गर्छन्‌ तर तिनीहरूको आचरण उहाँको प्रेरित वचनमा औंल्याइएका स्तरहरूअनुरूप हुँदैनन्‌। आफूले दाबी गरेअनुसार जीवन नबिताउने व्यक्‍तिहरूबारे प्रेरित पावलले यस्तो लेखे: “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ? व्यभिचार नगर भन्‍ने तिमीले के आफै व्यभिचार गर्छौ? . . . किनभने यस्तो लेखिएको छ, ‘अन्यजातिहरूमा परमेश्‍वरको नाउँ तिमीहरूद्वारानै निन्दित भएको छ।’ ”—रोमी २:२१, २२, २४.

४. हाम्रो असल आचरणको कस्तो नतिजा हुन्छ?

यहोवाको नाउँमा कलंक लगाउनुको सट्टा हामी आफ्नो असल आचरणद्वारा उहाँको महिमा गर्ने प्रयास गर्छौं। यसले मसीही मण्डलीबाहिरका मानिसहरूमा पनि सकारात्मक असर पार्छ। एउटा कुरा त, यसले हाम्रा विरोधीहरूलाई चुप गराउन हामीलाई मदत गर्छ। (१ पत्रुस २:१५) सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हाम्रो असल आचरणले मानिसहरूलाई यहोवाको संगठनतर्फ आकर्षित गर्छ र तिनीहरूले पनि उहाँको महिमा गर्नुका साथै अनन्त जीवन प्राप्त गर्न बाटो खोल्छ।—प्रेरित १३:४८.

५. अब हामीले कस्ता प्रश्‍नहरूमाथि छलफल गर्नुपर्छ?

असिद्ध भएको कारण हामी कसरी यहोवाको अनादर गर्ने आचरणबाट र सच्चाइको खोजी गर्नेहरूलाई ठेस पुऱ्‍याउनदेखि टाढा रहन सक्छौं? हामी कसरी भलाइ प्रदर्शन गर्न सफल हुन सक्छौं?

ज्योतिको फल

६. “अन्धकारका निष्फल कार्यहरू” के-के हुन्‌ तर मसीहीहरूमाझ कस्ता फलहरू प्रदर्शन गर्नुपर्छ?

समर्पित मसीहीहरूको हैसियतमा हामी “अन्धकारका निष्फल कार्यहरू[बाट]” अलग रहनुपर्ने कुराहरू छन्‌। यसमा परमेश्‍वरको अनादर गर्ने कार्यहरू जस्तै, झूट बोल्ने, चोरी गर्ने, दुर्वचन बोल्ने, यौनबारे मनपरी गफ, अश्‍लील आचरण, छाडा ठट्टा र मतवालापन समावेश छन्‌। (एफिसी ४:२५, २८, ३१; ५:३, ४, ११, १२, १८) त्यस्तो काममा मुछिनुभन्दा बरु हामी “ज्योतिका सन्तानझैं हिंड़डुल” गर्छौं। प्रेरित पावल “ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ” भनी बताउँछन्‌। (एफिसी ५:८, ९) अतः ज्योतिमा हिंडेर हामी भलाइ प्रदर्शन गरिरहन सक्छौं। तर यो कस्तो प्रकारको ज्योति हो?

७. भलाइ प्रदर्शन गरिरहन हामीले के गर्नुपर्छ?

हामी आध्यात्मिक ज्योतिमा हिंड्यौं भने असिद्धताको बावजूद हामी भलाइ प्रदर्शन गर्न सक्छौं। “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ” भन्दै भजनरचयिताले गाए। (भजन ११९:१०५) हामी “सबै भलाइ[मार्फत्‌]” “ज्योतिको फल” प्रदर्शन गरिरहन चाहन्छौं भने, हामीले परमेश्‍वरको वचनमा पाइने, मसीही प्रकाशनहरूमा राम्ररी वर्णन गरिएको अनि हाम्रो उपासना थलोमा नियमित तवरमा छलफल हुने आध्यात्मिक ज्योतिबाट निरन्तर लाभ उठाइरहनुपर्छ। (लूका १२:४२; रोमी १५:४; हिब्रू १०:२४, २५) हामीले “जीवनको ज्योति” र ‘यहोवाको उज्ज्वल महिमा’ अर्थात्‌ येशू ख्रीष्टको उदाहरण र शिक्षामा पनि विशेष ध्यान दिनुपर्छ।—यूहन्‍ना ८:१२; हिब्रू १:१-३.

आत्माको फल

८. हामी किन भलाइ प्रदर्शन गर्न सक्छौं?

आध्यात्मिक ज्योतिले निस्सन्देह हामीलाई भलाइ प्रदर्शन गर्न मदत गर्छ। यसबाहेक, हामी यो गुण प्रदर्शन गर्न सक्छौं किनभने हामीले परमेश्‍वरको पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍तिको डोऱ्‍याइ पाएका छौं। ‘आत्माका फलहरूमध्ये’ भलाइ पनि एक हो। (गलाती ५:२२, २३) हामीले यहोवाको पवित्र आत्माको डोऱ्‍याइअनुसार गऱ्‍यौं भने, यसले भलाइका प्रशंसनीय फलहरू फलाउनेछ।

९. लूका ११:९-१३ मा लिपिबद्ध येशूका शब्दहरूअनुरूप हामी कस्तो व्यवहार गर्न सक्छौं?

आत्माको फल, भलाइ प्रदर्शन गरेर यहोवालाई प्रसन्‍न तुल्याउने साँचो इच्छाले हामीलाई येशूका शब्दहरूअनुरूप गर्न उत्प्रेरित गर्नुपर्छ: “ ‘माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौं, घच्‌घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, औ घच्‌घच्याउनेको निम्ति खोलिनेछ।’ औ तिमीहरूमध्ये कुनचाहिं बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुंगा देला कि माछा मागेमा माछाको सट्टा साँप देला? अथवा अण्डा मागेमा त्यसलाई बिच्छी देला? तिमीहरू [असिद्ध र तुलनात्मक हिसाबमा] दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।’ ” (लूका ११:९-१३) आउनुहोस्‌, आत्माको फल भलाइ प्रदर्शन गरिरहन यहोवाको आत्माको निम्ति निरन्तर प्रार्थना गरेर हामी येशूको सल्लाह पछ्याइरहौं।

‘असल काम गरिरहनुहोस्‌’

१०. प्रस्थान ३४:६, ७ मा यहोवाको भलाइका कस्ता पक्षहरू उल्लेख गरिएका छन्‌?

१० परमेश्‍वरको वचनबाट आध्यात्मिक ज्योति र परमेश्‍वरको पवित्र आत्माको मदत पाएर हामी ‘असल काम गरिरहन’ सक्छौं। (रोमी १३:३) नियमित बाइबल अध्ययनद्वारा हामीले परमेश्‍वरको भलाइको कसरी देखासिकी गर्न सक्छौं भन्‍ने कुरा झन्‌ धेरै सिक्ने छौं। प्रस्थान ३४:६, ७ मा लिपिबद्ध मोशाले सुनेको घोषणामा उल्लिखित परमेश्‍वरको भलाइका विभिन्‍न पक्षहरूबारे अघिल्लो लेखमा छलफल गरिएको थियो। त्यहाँ हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, . . . हुनुहुन्छ।” यहोवाको भलाइका यी विभिन्‍न पक्षहरूलाई नियाल्दा हामीले ‘असल काम गरिरहन’ मदत पाउनेछौं।

११. यहोवा टिठाउन भरिपूर्ण र दयालु हुनुहुन्छ भन्‍ने ज्ञानले हामीलाई कस्तो असर पार्नुपर्ने हो?

११ यस ईश्‍वरीय घोषणाले हामीलाई टिठाउनमा भरिपूर्णदयालु हुँदै यहोवाको अनुकरण गर्नुपर्ने आवश्‍यकतबारे सजग गराउँछ। “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌” भनी येशूले भन्‍नुभयो। (मत्ती ५:७; लूका ६:३६) यहोवा दयालु हुनुहुन्छ भनी थाह भएकोले हामी प्रचारकार्यमा भेट्‌ने मानिसहरूलगायत अरूसँग व्यवहार गर्दा भद्र र हँसिलो हुन उत्प्रेरित हुन्छौं। यो पावलको सल्लाहअनुरूप हो: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।”—कलस्सी ४:६.

१२. (क) परमेश्‍वर रिस गर्नमा ढिलो हुनुभएको कारण हामीले अरूसँग कस्तो व्यवहार गर्नुपर्छ? (ख) यहोवाको कृपाले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

१२ यहोवा रिस गर्नमा ढिलो हुनुभएको कारण ‘असल काम गरिरहने’ हाम्रो इच्छाले हामीलाई आफ्ना सँगी विश्‍वासीहरूको सानातिना गल्तीहरू सहन र तिनीहरूका असल गुणहरूमा ध्यान दिन उत्प्रेरित गर्छ। (मत्ती ७:५; याकूब १:१९) यहोवाको कृपाले हामीलाई कठिन परिस्थितिहरूमा समेत वफादार प्रेम प्रदर्शन गरिरहन उत्प्रेरित गर्छ। यो पक्कै पनि मनमोहक गुण हो।—हितोपदेश १९:२२, NW.

१३. यहोवा ‘सत्यतामा प्रशस्त’ हुनुहुन्छ भनी देखाउन हामीले कस्तो व्यवहार गर्नुपर्छ?

१३ हाम्रो स्वर्गमा हुनुहुने पिता ‘सत्यतामा प्रशस्त’ हुनुभएकोले ‘सत्य वचनमा हामी आफैलाई परमेश्‍वरको सेवकजस्तो देखाउँछौं।’ (२ कोरिन्थी ६:३-७) यहोवाले घिनाउनुहुने सातवटा कुरामध्ये “झूट बोल्ने जिब्रो” र “धेरै असत्य बोल्ने झूटा गवाही” पनि हुन्‌। (हितोपदेश ६:१६-१९) त्यसैले, यहोवालाई प्रसन्‍न तुल्याउने हाम्रो इच्छाले हामीलाई ‘झूट त्यागेर सत्य बोल्न’ उत्प्रेरित गरेको छ। (एफिसी ४:२५) यस महत्त्वपूर्ण क्षेत्रमा हामी भलाइ प्रदर्शन गर्न कहिल्यै नचुकौं।

१४. हामी किन क्षमाशील हुनुपर्छ?

१४ परमेश्‍वरले मोशालाई गर्नुभएको घोषणाले हामीलाई क्षमा गर्न पनि उत्प्रेरित गर्छ किनभने यहोवा क्षमा दिन तयार हुनुहुन्छ। (मत्ती ६:१४, १५) पश्‍चात्ताप नगर्नेहरूलाई यहोवाले अवश्‍य सजाय दिनुहुन्छ। त्यसकारण, मण्डलीमा आध्यात्मिक स्वच्छता कायम राख्ने सन्दर्भमा भलाइको स्तर पक्रिराख्नुपर्छ।—लेवी ५:१; १ कोरिन्थी ५:११, १२; १ तिमोथी ५:२२.

“कसरी हिंड़छौ ठीकसँग हेर”

१५, १६. एफिसी ५:१५-१९ मा लिपिबद्ध पावलको सल्लाहले हामीलाई भलाइ गरिरहन कसरी मदत गर्छ?

१५ हामी वरपर व्याप्त दुष्टताको बावजूद भलाइ प्रदर्शन गरिरहन हामी परमेश्‍वरको आत्माले भरिनुपर्छ र हामी कसरी हिंड्‌छौं ठीकसँग हेर्नुपर्छ। यसकारण, पावलले एफिससका मसीहीहरूलाई यस्तो आग्रह गरे: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ। यसैकारण मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ। औ दाख-मद्यले नमात्तिओ, जसमा कामोद्दीपन हुन्छ, तर आत्माले भरिपूर्ण भएका होओ। एउटाले अर्कोसँग भजन, गीत र आत्मिक गानमा बोल्दै प्रभुको निम्ति आफ्नो हृदयले गाउँदै र बजाउँदै।” (एफिसी ५:१५-१९) यस आखिरी दिनमा यो सल्लाह हाम्रोनिम्ति एकदमै उपयुक्‍त छ।—२ तिमोथी ३:१.

१६ भलाइ गरिरहने हो भने, हामी ईश्‍वरीय बुद्धि अभ्यास गर्नेहरूझैं हिंड्‌न होसियार हुनुपर्छ। (याकूब ३:१७) हामी घोर पापहरू गर्नदेखि अलग रहनुपर्छ र पवित्र आत्माले भरिएर यसैको निर्देशन पालन गर्नुपर्छ। (गलाती ५:१९-२५) मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा दिइने आध्यात्मिक निर्देशन पालन गरेर हामी असल काम गरिरहन सक्छौं। पावलले एफिससका मसीहीहरूलाई लेखेका शब्दहरूले हाम्रो उपासनाको प्रायजसो जमघटहरूमा गाइने हार्दिक “आत्मिक गान[बाट]” पनि हामी लाभ उठाउँछौं भनी सम्झना दिलाउन सक्छ र ती कतिपय गीतहरूमा भलाइजस्ता अन्य आध्यात्मिक गुणहरू वर्णन गरिएका छन्‌।

१७. परिस्थितिले गर्दा नियमित तवरमा सभाहरूमा उपस्थित हुन नसक्ने गम्भीर बिरामी परेका मसीहीहरू कुन कुराबारे पक्का हुन सक्छन्‌?

१७ गम्भीर बिरामीको कारण नियमित तवरमा मसीही सभाहरूमा उपस्थित हुन नसक्ने हाम्रा सँगी विश्‍वासीहरूबारे नि? आफ्ना आध्यात्मिक भाइबहिनीहरूसँगसँगै यहोवाको सेवा गर्न नसक्दा तिनीहरूको मन चूर्ण हुन सक्छ। तर यहोवाले प्रत्येकको परिस्थिति बुझ्नुहुन्छ, सबैलाई ज्योति तथा पवित्र आत्मा दिनुहुनेछ र असल काम गरिरहन मदत गर्नुहुनेछ भनी तिनीहरू पक्का हुन सक्छन्‌।—यशैया ५७:१५.

१८. भलाइको मार्गमा हिंड्‌न हामीलाई कुन कुराले मदत गर्नेछ?

१८ भलाइको मार्ग पछ्याइरहन हामी आफ्नो संगतिबारे होसियार हुनुपर्छ र “असल नरूचाउने[हरूबाट]” अलग रहनुपर्छ। (२ तिमोथी ३:२-५; १ कोरिन्थी १५:३३) त्यस्तो सल्लाह पालन गर्दा “परमेश्‍वरका पवित्र आत्मा” विरुद्ध कुराहरू गरेर यसलाई “सन्ताप” नदिन मदत पाउँछौं। (एफिसी ४:३०) यसबाहेक, आफ्नो जीवनशैलीद्वारा भलाइका प्रेमीहरू भएको प्रमाण दिने र यहोवाको पवित्र आत्माको डोऱ्‍याइमा हिंड्‌नेहरूसँग घनिष्ठ सम्बन्ध विकास गर्दा हामी असल काम गरिरहन मदत पाउँछौं।—आमोस ५:१५; रोमी ८:१४; गलाती ५:१८.

भलाइको परिणाम राम्रो हुन्छ

१९-२१. भलाइ प्रदर्शन गर्दा भएका नतिजाबारे अनुभवहरू बताउनुहोस्‌।

१९ आध्यात्मिक ज्योतिमा हिंड्‌दा, परमेश्‍वरको आत्माको निर्देशन पालन गर्दा र हामी कसरी हिंड्‌छौं त्यसबारे होस पुऱ्‍याउँदा हामी खराबीबाट अलग रहन र ‘असल काम गरिरहन’ मदत पाउँछौं। फलस्वरूप, यसको परिणाम राम्रो हुन्छ। उदाहरणका लागि, दक्षिण अफ्रिकाका जङजेली नाउँ गरेका यहोवाका एक साक्षीको अनुभवलाई विचार गर्नुहोस्‌। बिहान स्कूल जाने क्रममा तिनले आफ्नो खातामा अलि-अलि गरी जम्मा गरेको पैसा कति भएछ भनी हेर्न तिनी बैंक गएछन्‌। स्वचालित पैसा गन्‍ने मेसिनले गल्तीले ४२,००० ऱ्‍यान्ड बढी (६,००० अमेरिकी डलर) जम्मा भएको देखायो। बैंकका सुरक्षा गार्ड तथा अरू मानिसहरूले तिनलाई त्यहाँबाट पैसा झिकेर अर्को बैंकमा खाता खोल्नु भने। तर तिनी जुन साक्षी दम्पतीसित बस्थे, तिनीहरूले मात्र पैसा नझिकेर बेस गऱ्‍यौ भने।

२० बैंक खुला हुने अर्को दिन गएर जङजेलीले बैंकलाई त्यस गल्तीबारे खबर गरे। पछि थाह पाइयो कि तिनको बैंक खाता नम्बर र एक जना धनी व्यापारीको खाता नम्बर उस्ता-उस्तै रहेछ र त्यस व्यापारीले झुक्केर तिनको नम्बरमा पैसा जम्मा गरेका रहेछन्‌। जङजेलीले एक पैसा पनि खर्च नगरेको देखेर छक्क मान्दै व्यापारीले सोधे: “तपाईं कुन धर्म मान्‍नुहुन्छ?” जङजेलीले आफू यहोवाको साक्षी भएको कुरा बताए। बैंकका अधिकारीहरूले पनि तिनको खूबै प्रशंसा गर्दै यसो भने: “सबै मानिसहरू यहोवाका साक्षीहरूजस्तो इमानदार भए कत्ति बेस हुन्थ्यो।” हो, इमानदारी र भलाइको कामले गर्दा अरूले यहोवाको महिमा गर्न सक्छन्‌।—हिब्रू १३:१८.

२१ असल नतिजा प्राप्त गर्न भलाइका कामहरू ठूल-ठूलो नै हुनुपर्छ भन्‍ने छैन। उदाहरणका लागि, सामोआको एउटा टापुमा पूर्ण-समय प्रचारकको रूपमा काम गर्ने एक जना साक्षी स्थानीय अस्पताल गएछन्‌। मानिसहरू डाक्टरलाई पर्खिरहेका थिए र तिनले आफूसँगै बसिरहेकी एउटी वृद्ध आइमाई असाध्यै बिरामी भएको याद गरे। त्यस वृद्ध आइमाईले चाँडो डाक्टरलाई भेट्‌न पाओस्‌ भनेर तिनले आफ्नो पालोमा उनलाई जचाउन दिने प्रबन्ध मिलाएछन्‌। पछि यस साक्षीले उक्‍त वृद्ध आइमाईलाई बजारमा भेटेछन्‌। उनले त्यस साक्षी र तिनको असल काम बिर्सेकी थिइनन्‌। उनले यसो भनिन्‌: “यहोवाका साक्षीहरू आफ्नो छिमेकीलाई साँच्चै प्रेम गर्दा रहेछन्‌ भनेर मलाई अब थाह भयो।” उनले पहिला त राज्य सन्देशप्रति त्यति चासो देखाएकी थिइनन्‌ तर साक्षीले गरेको भलाइको कामले गर्दा परिणाम राम्रो भयो। उनी गृह बाइबल अध्ययन गर्न राजी भइन्‌ र परमेश्‍वरको वचनको ज्ञान लिन थालिन्‌।

२२. ‘असल काम गरिरहने’ एउटा महत्त्वपूर्ण तरिका के हो?

२२ सम्भवतः भलाइ प्रदर्शन गर्नुको महत्त्व दर्शाउने अनुभवहरू तपाईंलाई पनि थाह छ होला। ‘असल काम गरिरहने’ एउटा उल्लेखनीय तरिका परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्ने काममा नियमित तवरमा भाग लिएर हो। (मत्ती २४:१४) यस अनमोल कार्यमा हामी जोसका साथ भाग लिइरहौं किनभने विशेष गरी सकारात्मक प्रतिक्रिया देखाउनेहरूप्रति भलाइ गर्ने यो एउटा उत्तम तरिका हो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, हाम्रो सेवकाई र असल आचरणले भलाइको मुख्य स्रोत, यहोवाको महिमा गर्छ।—मत्ती १९:१६, १७.

‘भलाइको काम गर्न’ नछोड्‌नुहोस्‌

२३. मसीही सेवकाई किन असल कार्य हो?

२३ हाम्रो सेवकाई असल कार्य हो भन्‍ने कुरामा कुनै शंका छैन। यसले गर्दा हामी र बाइबल सन्देश सुन्‍ने व्यक्‍तिहरू दुवैको उद्धार हुन सक्छ र अन्ततः जीवनतर्फ डोऱ्‍याउने बाटोमा पुऱ्‍याउँछ। (मत्ती ७:१३, १४; १ तिमोथी ४:१६) अनि निर्णयहरू गर्नुपर्दा असल गर्ने इच्छाले यस्ता प्रश्‍नहरू सोध्न हामीलाई झकझकाउन सक्छ: ‘यस निर्णयले मेरो राज्य प्रचार गतिविधिमा कस्तो असर पार्छ? मैले विचार गरिरहेको मार्ग के साँच्चै राम्रो हो? के यसले अरूलाई “अनन्त सुसमाचार” स्वीकार्न र यहोवा परमेश्‍वरसँग नजिक हुन मदत गर्नेछ? (प्रकाश १४:६) राज्य गतिविधिहरूलाई प्रवर्धन गर्ने निर्णय गर्दा धेरै आनन्द प्राप्त हुन्छ।—मत्ती ६:३३; प्रेरित २०:३५.

२४, २५. मण्डलीमा भलाइ गर्नसक्ने केही तरिकाहरू के-के हुन्‌ र भलाइ प्रदर्शन गरिरह्‍यौं भने हामी कुन कुरामा पक्का हुन सक्छौं?

२४ भलाइ गर्नुका लाभहरूलाई हामी कहिल्यै हल्कासँग नलेऔं। मसीही मण्डलीलाई समर्थन गरेर अनि यसको हित र कल्याणको निम्ति सक्दो गरेर हामी यो गुण प्रदर्शन गरिरहन सक्छौं। निश्‍चय पनि मसीही सभाहरूमा नियमित तवरमा उपस्थित भएर भाग लिंदा हामीले असल काम गरिरहेका हुन्छौं। हाम्रो उपस्थितिले मात्र पनि सँगी उपासकहरू प्रोत्साहित हुन्छन्‌ र राम्ररी तयार पारिएको टिप्पणीले तिनीहरूलाई आध्यात्मिक तवरमा सुदृढ बनाउँछ। राज्यभवनको स्याहारसम्भार र देखभालको निम्ति सहयोग गर्दा पनि हामीले असल काम गरिरहेका हुनेछौं। (२ राजा २२:३-७; २ कोरिन्थी ९:६, ७) निस्सन्देह, “मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।”—गलाती ६:१०.

२५ कस्तो-कस्तो परिस्थितिमा भलाइ देखाउनुपर्नेछ भन्‍ने विषयमा हामी पहिल्यै केही भन्‍न सक्दैनौं। त्यसकारण आउनुहोस्‌, नयाँ चुनौतीहरू आइपर्दा हामी धर्मशास्त्रबाट ज्योतिको खोजी गरौं, यहोवाको पवित्र आत्माको निम्ति प्रार्थना गरौं अनि उहाँको असल र सिद्ध इच्छा पूरा गर्न यथासक्दो गरौं। (रोमी २:९, १०; १२:२) भलाइ प्रदर्शन गरिरह्‍यौं भने यहोवाले हामीलाई प्रशस्त मात्रमा आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामी निर्धक्क हुन सक्छौं।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• हामी कसरी सबैभन्दा प्रशंसायोग्य काम गर्न सक्छौं?

• भलाइलाई किन ‘ज्योतिको फल’ भनिन्छ?

• भलाइलाई किन ‘आत्माको फल’ भनिन्छ?

• हाम्रो असल आचरणको परिणाम कस्तो हुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

परमेश्‍वरको वचन र उहाँको पवित्र आत्माले हामीलाई भलाइ प्रदर्शन गर्न मदत गर्छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

भलाइ प्रदर्शन गर्दा असल नतिजाहरू हुन्छन्‌