सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ

भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ

भिन्‍नाभिन्‍नै मनोवृत्ति विकास गर्ने दाजुभाइ

आमाबाबुले गर्ने निर्णयहरूले छोराछोरीलाई पक्कै असर गर्छ। यो कुरा आज जति सान्दर्भिक छ, अदनको बगैंचामा पनि त्यति नै सान्दर्भिक थियो। आदम र हव्वाको विद्रोही कार्यले सारा मानवजातिमाथि गहिरो असर पाऱ्‍यो। (उत्पत्ति २:१५, १६; ३:१-६; रोमी ५:१२) यद्यपि, यदि हामी हाम्रो सृष्टिकर्तासित असल सम्बन्ध विकास गर्ने छनौट गर्न चाहन्छौं भने, हामी सबैसित यसो गर्ने मौका छ। मानव इतिहासकै पहिलो दाजुभाइ कयिन र हाबिलको विवरणले यस कुरालाई स्पष्ट पार्छ।

आदम र हव्वालाई अदनबाट निकालेपछि परमेश्‍वरले तिनीहरूसित कुरा गर्नुभएको कुनै धर्मशास्त्रीय रेकर्ड छैन। तथापि, यहोवाले तिनीहरूका छोराहरूसित आफ्नो सम्बन्ध तोड्‌नुभएन। निस्सन्देह, आफ्ना आमाबाबुबाट कयिन र हाबिलले अदनमा घटेको घटनाबारे थाह पाएको हुनुपर्छ। “जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनु[भएको]” तिनीहरूले देख्न सक्थे। (उत्पत्ति ३:२४) पसिना र पीडा जीवनको वास्तविकता हुनेछ भनी परमेश्‍वरले गर्नुभएको घोषणा सत्य साबित भएको पनि यी मानिसहरूले देखे।—उत्पत्ति ३:१६, १९.

यहोवाले सर्पलाई भन्‍नुभएको कुरा पनि कयिन र हाबिललाई राम्ररी थाह भएको हुनुपर्छ: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) कयिन र हाबिललाई यहोवाबारे जे जति थाह थियो त्यसले तिनीहरूलाई परमेश्‍वरसित अनुमोदन प्राप्त सम्बन्ध विकास गर्न उत्प्रेरित गर्ने थियो।

यहोवाको भविष्यवाणी अनि एक जना मायालु दाताको हैसियतमा उहाँका गुणहरूलाई गहिरिएर विचार गर्दा कयिन अनि हाबिलको मनमा पक्कै पनि ईश्‍वरीय अनुमोदन प्राप्त गर्ने इच्छा जागेको हुनुपर्छ। तर कुन हदसम्म तिनीहरू त्यस्तो इच्छा विकास गर्न चाहन्थे? परमेश्‍वरलाई उपासना गर्ने अनि आफ्नो आध्यात्मिकतालाई विकास गर्ने तिनीहरूको भित्री इच्छालाई के उहाँप्रति विश्‍वास खेती गर्ने हदसम्म तिनीहरूले प्रयोग गर्ने थिए?—मत्ती ५:३.

दाजुभाइ दुवैले भेटी ल्याउँछन्‌

समयको दौडान कयिन र हाबिलले परमेश्‍वरसामु भेटी ल्याए। कयिनले भूमिको उब्जनीबाट केही ल्याए र हाबिलले आफ्ना भेडाका बगालबाट पहिले जन्मेका पाठाहरू चढाए। (उत्पत्ति ४:३, ४) त्यतिबेला यी पुरुषहरूको उमेर लगभग १०० वर्ष पुगेको हुन सक्छ किनकि आदम १३० वर्षका हुँदा तिनको छोरा सेत जन्मिएको थियो।—उत्पत्ति ४:२५; ५:३.

तिनीहरूले चढाएको भेटीले, कयिन र हाबिलले आफ्नो पापी अवस्थालाई बुझेका थिए र तिनीहरू परमेश्‍वरको अनुग्रह प्राप्त गर्न चाहन्थे भन्‍ने कुरालाई देखाउँथ्यो। सर्प र स्त्रीको सन्तानबारे यहोवाको प्रतिज्ञामा तिनीहरूले केही हदसम्म भए पनि विचार गरेकै हुनुपर्छ। यहोवासित अनुमोदन प्राप्त सम्बन्ध विकास गर्न कयिन र हाबिलले कति समय लगाए अनि प्रयास गरे, त्यसबारे केही उल्लेख गरिएको छैन। तर तिनीहरूले चढाएका भेटीहरूप्रति परमेश्‍वरले देखाउनुभएको प्रतिक्रियाले तिनीहरू दुवैको भित्री मनसाय प्रकट गर्छ।

केही विद्वान्‌हरूको भनाइअनुसार हव्वाले सर्पलाई नाश गर्ने “सन्तान”, कयिन नै हुनुपर्छ भन्ठानेकी हुन सक्छ किनभने कयिन जन्मिंदा तिनले यसो भनिन्‌: “परमप्रभुको आशीर्वादले एक पुरुष प्राप्त गरें।” (उत्पत्ति ४:१) यदि कयिनले पनि यस्तै विचार राखेका थिए भने, त्यो बिलकुलै गलत थियो। अर्कोतिर, हाबिलले चढाएको बलिदानमा विश्‍वास झल्किन्थ्यो। यसरी, “विश्‍वासैबाट हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्‍वरमा चढ़ाए।”—हिब्रू ११:४.

हाबिलमा आध्यात्मिक अन्तरदृष्टि हुनु र कयिनमा यसको कमी हुनु मात्र यी दुई दाजुभाइको भिन्‍नता थिएन। तिनीहरूको आचरणमा पनि भिन्‍नता थियो। त्यसैकारण, “परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो। तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन।” कयिनले आफूले चढाएको भेटीबारे त्यति गम्भीरतासाथ नसोचेको र झारा टार्ने उद्देश्‍यले मात्र भेटी चढाएको हुन सक्छ। तर परमेश्‍वरले केवल औपचारिकता पूरा गर्ने उपासनालाई स्वीकार्नुभएन। कयिनले दुष्ट हृदय विकास गरेका थिए र तिनको गलत मनसायलाई यहोवाले उदांग पार्नुभयो। आफ्नो भेटी स्वीकार नहुँदा कयिनले देखाएको प्रतिक्रियाबाट तिनको वास्तविक मनोवृत्ति प्रकट हुन्छ। आफ्नो मनोवृत्ति अनि मनसायलाई सच्याउनु त परै जाओस्‌ बरु उल्टै “कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो।” (उत्पत्ति ४: ५) तिनले देखाएको आचरणले तिनको दुष्ट विचार अनि मनसाय प्रकट हुन्छ।

चेताउनी र प्रतिक्रिया

कयिनको मनोवृत्ति थाह पाएर परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र? यदि तैंले असल गरेनस्‌ भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गनैपर्छ।”—उत्पत्ति ४:६, ७.

यसमा हामी सबैको लागि पाठ छ। वास्तवमा, हामीलाई निल्न पाप ढोकामै ढुकिबस्छ। यद्यपि, परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ र जे ठीक छ, त्यो हामी छनौट गर्न सक्छौं। यहोवाले कयिनलाई “असल” गर्न आग्रह गर्नुभयो तर उहाँले कयिनलाई त्यसो गर्न कर गर्नुभएन। कयिनले आफ्नै इच्छाअनुसार गरे।

प्रेरित विवरण यसो भन्छ, “कयिनले आफ्नो भाइ हाबिललाई भने, ‘आऊ, हामी बाहिर खेतमा जाऔं।’ औ जब तिनीहरू खेतमा थिए तब आफ्नो भाइ हाबिलको विरुद्धमा उठेर कयिनले तिनलाई मारे।” (उत्पत्ति ४:८) यसरी कयिन अनाज्ञाकारी, निष्ठुर हत्यारा भए। यहोवाले कयिनलाई “तेरो भाइ हाबिल कहाँ छ?” भनी सोध्नुहुँदा तिनले अलिकता पनि पश्‍चात्तापी मनोभाव देखाएनन्‌। बरु, कठोरतासाथ अनि ज्यादै अशिष्ट भएर कयिनले यस्तो जवाफ दिए: “मलाई थाह छैन। के म मेरो भाइको गोठाला हुँ र?” (उत्पत्ति ४:९) यस्तो सरासर झूठ अनि दायित्व पन्छाउने जवाफले कयिनको निर्दयीपन प्रकट हुन्छ।

यहोवाले कयिनलाई श्राप दिनुभयो र अदनबाट बाहिर निकालिदिनुभयो। पहिले नै भूमिलाई श्राप परिसकेको कारण कयिनको लागि त्यो श्राप झन्‌ चर्को हुने थियो र अब उप्रान्त तिनको भूमिमा केही उब्जनी हुने थिएन। तिनी पृथ्वीमा भगुवा र डुलुवा हुने थिए। आफूलाई दिइएको कठोर दण्डप्रति कयिनले गरेको गुनासोले आफ्नो भाइको हत्याको बदला आफूमाथि आइपर्ने कुराको चिन्ताले तिनलाई सताएको कुरा प्रस्ट हुन्छ, तर तिनले निष्कपट पश्‍चात्ताप देखाएनन्‌। यहोवाले कयिनलाई “चिन्ह” लगाइदिनुभयो र हाबिलको हत्याको बदला लिन कसैले कयिनलाई नमारोस्‌ भन्‍ने आफ्नो अभिप्रायलाई सबैले जनोस्‌ र पालन गरोस्‌ भनी यहोवाले यो चिन्ह आज्ञप्तिस्वरूप दिएको हुन सक्छ।—उत्पत्ति ४:१०-१५.

त्यसपछि कयिन “परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्नलागे।” (उत्पत्ति ४:१६) आफ्नी बहिनी वा भतिजीहरूमध्ये कुनै एकलाई स्वास्नी बनाइसकेपछि तिनले एउटा शहर बनाए र आफ्नो छोराकै नाउँमा त्यस शहरको नाउँ पनि हनोक राखे। कयिनको सन्तान लेमेक पनि आफ्नो अधर्मी पूर्वजजस्तै हिंस्रक स्वभावका भए। तर नूहको दिनको जलप्रलयमा कयिनको वंशको नामोनिशानै मेटियो।—उत्पत्ति ४:१७-२४.

हाम्रोलागि पाठ

कयिन र हाबिलको विवरणबाट हामी पाठ सिक्न सक्छौं। प्रेरित यूहन्‍नाले मसीहीहरूलाई एक आपसमा प्रेम गर्न आग्रह गरे, “कयिनजस्तै ता होइन, जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्‍यो।” कयिनको “काम खराब थियो, तर उसको भाइको कामचाहिं धार्मिक थियो।” यूहन्‍नाले अझै यसो भने: “आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।” हो, हामीले आफ्ना सँगी मसीहीहरूसित गर्ने व्यवहारले परमेश्‍वरसितको हाम्रो सम्बन्ध अनि हाम्रो भविष्यलाई असर गर्छ। कुनै सँगी विश्‍वासीलाई घृणा गरेर हामी यहोवाको अनुमोदन प्राप्त गर्न सक्दैनौं।—१ यूहन्‍ना ३:११-१५; ४:२०.

कयिन र हाबिललाई एउटै वातावरणमा हुर्काइएको हुनुपर्छ तर कयिनमा परमेश्‍वरप्रति विश्‍वासको कमी थियो। वास्तवमा, तिनले शैतानको मनोभाव प्रदर्शित गरे, जो सुरुदेखिनै ‘हत्यारा र झूटको पिता थियो।’ (यूहन्‍ना ८:४४) हामी सबैसित छनौट गर्ने मौका छ, जसले पापलाई रोज्छ उसले आफूलाई परमेश्‍वरबाट अलग्याउँछ अनि अपश्‍चात्तापीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्छ।

अर्कोतिर, हाबिलले यहोवाप्रति विश्‍वास खेती गरे। वास्तवमा, “विश्‍वासैबाट हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्‍वरमा चढ़ाए, जसद्वारा तिनी धर्मी हुन्‌ भन्‍ने तिनको गवाही भयो। तिनका भेटी विषयमा परमेश्‍वरलेनै गवाही दिनुभयो।” धर्मशास्त्रमा हाबिलले बोलेको एक शब्द पनि उल्लेख गरिएको छैन तर तिनको उदाहरणीय विश्‍वासद्वारा तिनी “अझै बोल्दैछन्‌।”—हिब्रू ११:४.

निष्ठावान्‌ व्यक्‍तिहरूको लामो पंक्‍तिमा हाबिल प्रथम थिए। ‘भूमिबाट यहोवालाई दुहाइ दिने’ तिनको रगत बिर्सिएको छैन। (उत्पत्ति ४:१०; लूका ११:४८-५१) हामीले हाबिलले जस्तै विश्‍वासको खेती गऱ्‍यौं भने, हामी पनि यहोवासित मूल्यवान्‌ अनि चिरस्थायी सम्बन्धको आनन्द उठाउन सक्छौं।

[पृष्ठ २२-मा भएको पेटी]

कृषक र गोठालो

भूमिमा खेती गर्नु र जनावरहरूको रेखदेख गर्नु परमेश्‍वरले आदमलाई सुरुमै दिनुभएका जिम्मेवारीहरूमध्ये एक थियो। (उत्पत्ति १:२८; २:१५; ३:२३) तिनको छोरा कयिनले खेतीकिसानको काम गरे र हाबिलचाहिं गोठालो भए। (उत्पत्ति ४:२) यद्यपि, जलप्रलयअघि मानवजातिको भोजन केवल फलफूल तथा तरकारीहरू मात्र भएकोले भेडा पालन किन गर्नुपऱ्‍यो?—उत्पत्ति १:२९; उत्पत्ति ९:३, ४.

भेडा राम्ररी हुर्कन मानव हेरविचार आवश्‍यक हुन्छ। मानव इतिहासको सुरुदेखि नै मानिसहरूले यी घरपालुवा जनावरहरूको पालनपोषण गर्थे भन्‍ने कुरा हाबिलको पेसाबाट प्रमाणित हुन्छ। जलप्रलयअघिका मानिसहरूले जनावरहरूको दूध प्रयोग गर्थे या गर्दैनथे भन्‍ने विषयमा धर्मशास्त्रले केही पनि बताउँदैन तर शाकाहारी मानिसहरूले पनि भेडाको ऊन प्रयोग गर्न सक्छन्‌। अनि भेडा मरेपछि त्यसको छाला निकै उपयोगी हुन्छ। उदाहरणका लागि, आदम र हव्वालाई पहिऱ्‍याउन यहोवाले “छालाका लुगा” प्रबन्ध गर्नुभयो।—उत्पत्ति ३:२१.

तर जे होस्‌, सुरुमा कयिन र हाबिल एकअर्कासित मिलेर बस्थे भन्‍ने अनुमान गर्नु व्यावहारिक देखिन्छ। तिनीहरूले परिवारका अन्य सदस्यहरूलाई लाउन र खानको लागि आवश्‍यक कुराहरूको उत्पादन गर्थे।

[पृष्ठ २३-मा भएको चित्र]

कयिनको “काम खराब थियो, तर उसको भाइको कामचाहिं धार्मिक थियो”