सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरण

यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरण

यहोवा—भलाइको सर्वोत्कृष्ट उदाहरण

“सेनाहरूका परमप्रभुलाई धन्यवाद चढ़ाऊ, किनभने उहाँ भलो हुनुहुन्छ!”—यर्मिया ३३:११.

१. हामी किन परमेश्‍वरको भलाइको प्रशंसा गर्न उत्प्रेरित हुन्छौं?

 यहोवा परमेश्‍वरको भलाइमा कुनै खोट छैन। अगमवक्‍ता जकरियाले यस्तो उद्‌गार गरे, “अहा, उहाँको भलाई कति महान्‌!” (जकरिया ९:१७) साँच्चै भन्‍ने हो भने, परमेश्‍वरको भलाइ उहाँले यस पृथ्वीमा हाम्रो आनन्दको निम्ति बनाउनुभएका सबै कुरामा झल्किन्छ। (उत्पत्ति १:३१) ब्रह्‍माण्ड सृष्टि गर्नुहुँदा परमेश्‍वरले लागू गर्नुभएका सबै जटिल नियमहरू बुझ्न हामी कहिल्यै सक्षम हुने छैनौं। (उपदेशक ३:११; ८:१७) तर हामीलाई जे जति थाह छ, त्यतिले नै हामीलाई परमेश्‍वरको भलाइको प्रशंसा गर्न उत्प्रेरित गर्छ।

२. तपाईं भलाइको परिभाषा कसरी दिनुहुन्छ?

भलाइ भनेको के हो? यो नैतिक श्रेष्ठता वा सद्‌गुण हो। यद्यपि, यो कुनै प्रकारको खराबी नगर्नुमा मात्र सीमित छैन। भलाइ, आत्माका फलहरूमध्ये एउटा हो र यो सकारात्मक गुण हो। (गलाती ५:२२, २३) अरूलाई असल तथा लाभ हुने कार्य गर्दा हामीले भलाइ प्रदर्शन गरिरहेका हुन्छौं। यस रीतिरिवाजमा एक जनालाई असल लाग्ने कुरा अर्को व्यक्‍तिलाई खराब लाग्न सक्छ। तथापि, हामी सुख अनि शान्तिको आनन्द उठाउन चाहन्छौं भने, भलाइको एउटै स्तर हुनुपर्छ। कसले यसको सही स्तर निर्धारण गर्न सक्छ?

३. उत्पत्ति २:१६, १७ ले भलाइको स्तरबारे के संकेत गर्छ?

भलाइको स्तर परमेश्‍वरले निर्धारण गर्नुहुन्छ। मानव इतिहासको सुरुमा यहोवाले प्रथम मानवलाई यस्तो आज्ञा दिनुभएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) हो, असल र खराबको ज्ञानको निम्ति मानिसहरू आफ्नो सृष्टिकर्तामा भर पर्नु आवश्‍यक छ।

असीम भलाइ

४. आदमले पाप गरेपछि मानिसजातिको निम्ति परमेश्‍वरले कस्तो प्रबन्ध मिलाउनुभएको छ?

आदमले पाप गरेर भलाइको स्तर निर्धारण गर्ने परमेश्‍वरको अधिकारलाई इन्कार गर्दा सिद्ध अवस्थामा अनन्त जीवनको आनन्द उठाउने मानिसजातिको प्रत्याशा खतरामा पऱ्‍यो। (उत्पत्ति ३:१-६) तथापि, पाप र मृत्युको दासत्वमा आदमको सन्तान जन्मनुअघि परमेश्‍वरले एउटा सिद्ध सन्तानबारे भविष्यवाणी गर्नुभयो। “वृद्ध साँप” शैतान अर्थात्‌ दियाबललाई सम्बोधन गर्दै यहोवाले यस्तो घोषणा गर्नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्‌।” (प्रकाश १२:९; उत्पत्ति ३:१५) पापी मानिसजातिलाई छुटकारा प्रदान गर्ने यहोवाको उद्देश्‍य थियो। आफ्नो प्रिय पुत्रको छुडौतीको बलिदानमा विश्‍वास गर्नेहरूको उद्धारको निम्ति प्रबन्ध मिलाउनुभएर यहोवाले साँच्चै असीम भलाइ प्रदर्शन गर्नुभएको छ।—मत्ती २०:२८; रोमी ५:८, १२.

५. हाम्रो हृदयको विचार खराब भए तापनि हामीले केही हदसम्म किन भलाइ प्रदर्शन गर्न सक्छौं?

हुन त हो, आदमको पापको कारण हाम्रो हृदयको विचार खराब भएको छ। (उत्पत्ति ८:२१) तर खुसीको कुरा, यहोवाले हामीलाई केही हदसम्म भलाइ प्रदर्शन गर्न मदत गर्नुहुन्छ। उहाँको अनमोल पवित्र लेखोटबाट सिकेका कुराहरूमा लागिरहँदा त्यसले हामीलाई ‘मुक्‍तिको निम्ति बुद्धिमान’ र ‘हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित’ मात्र बनाउँदैन तर उहाँको नजरमा असल काम गर्न पनि सक्षम बनाउँछ। (२ तिमोथी ३:१४-१७) धर्मशास्त्रीय निर्देशनबाट लाभ उठाउन र भलाइ प्रदर्शन गर्न हाम्रो मनोवृत्ति भजनरचयिताको जस्तै हुनुपर्छ, जसले यस्तो भजन गाए: “तपाईं [यहोवा] भलो हुनुहुन्छ, र भलाइ गर्नुहुन्छ। मलाई तपाईंका नियमहरू सिकाउनुहोस्‌।”—भजन ११९:६८.

यहोवाको भलाइको महिमा

६. राजा दाऊदले करारको सन्दूक यरूशलेममा ल्याउन लगाएपछि लेवीहरूले गाएको गीतको अभिव्यक्‍ति कस्तो थियो?

पुरातन इस्राएलका राजा दाऊदले परमेश्‍वरको भलाइ स्वीकारेर उहाँको डोऱ्‍याइ खोजे। दाऊदले भने, “परमप्रभु भला र सरल हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्गमा शिक्षा दिनुहुनेछ।” (भजन २५:८) इस्राएलीहरूलाई दिइएको ईश्‍वरीय निर्देशनमा दुइटा ढुंगाको पाटीमा लेखिएका दसवटा महत्त्वपूर्ण व्यवस्था अथवा दस आज्ञा पनि समावेश थियो र यसलाई करारको सन्दूक भनिने पवित्र बाकसमा राखिएको थियो। दाऊदले सन्दूक इस्राएलको राजधानी यरूशलेममा ल्याउन लगाएपछि लेवीहरूले गाएको भजनमा यस्तो अभिव्यक्‍ति पनि थियो: “परमप्रभुलाई धन्यवाद दिनु असल कुरो हो, किनभने उहाँको प्रेम सदा सर्वदा रहिरहन्छ।” (१ इतिहास १६:३४, ३७-४१) लेवी गायकहरूको मुखबाट ती शब्दहरू सुन्‍न पाउँदा कत्ति आनन्ददायी भयो होला!

७. अति पवित्र ठाउँमा सन्दूक ल्याएपछि र सुलेमानले समर्पणको प्रार्थना गरेपछि के भयो?

दाऊदका छोरा सुलेमानले निर्माण गरेका यहोवाको मन्दिरको समर्पणको दौडान पनि प्रशंसाका सोही शब्दहरूमा जोड दिइएको थियो। भर्खरै निर्माण गरिएको मन्दिरको अति पवित्र ठाउँमा करारको सन्दूक राखेपछि लेवीहरूले यहोवाको प्रशंसा गर्न थाले किनभने “त्यसो गर्नु असल छ, किनकि उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ।” त्यतिबेला चमत्कारपूर्ण ढंगमा मन्दिर धूवाँले भरिएको थियो र त्यसले यहोवाको महिमित उपस्थितिको चित्रण गर्थ्यो। (२ इतिहास ५:१३, १४) सुलेमानले समर्पणको प्रार्थना गरेपछि “स्वर्गबाट आगो झऱ्‍यो, र आगोले होमबलि र बलिदानहरू भस्म गऱ्‍यो।” यो देखेपछि “सबै इस्राएलीहरू . . . घोप्टो परेर दण्डवत्‌ गर्दै यसो भनेर परमप्रभुलाई धन्यवाद दिए, ‘परमप्रभु भलो हुनुहुन्छ, किनकि उहाँको करुणा सदा सर्वदै रहिरहन्छ।’ ” (२ इतिहास ७:१-३) इस्राएलीहरू १४ दिने लामो चाडपछि आ-आफ्नो घर फर्कंदा “परमप्रभुले दाऊद र सुलेमान औ आफ्नो प्रजा इस्राएललाई दिनुभएका सबै सुदिनको कारण तिनीहरू मनमा खुशी र आनन्द मनाए।”—२ इतिहास ७:१०.

८, ९. (क) इस्राएलीहरूले यहोवाको भलाइको प्रशंसा गरे तापनि तिनीहरूले पछि गएर कस्तो मार्ग अपनाए? (ख) यर्मियामार्फत्‌ यरूशलेमबारे कस्तो भविष्यवाणी गरिएको थियो र त्यो भविष्यवाणी कसरी पूरा भयो?

दुःखको कुरा, इस्राएलीहरूले परमेश्‍वरको लागि गाएको आफ्नो प्रशंसाको भजनअनुरूप लामो समयसम्म जीवन बिताएनन्‌। समय बित्दै जाँदा यहूदाका मानिसहरूले ‘ओठले मात्र यहोवाको आदर गरे।’ (यशैया २९:१३) परमेश्‍वरको भलाइको स्तरअनुरूप जीवन बिताउनुको सट्टा तिनीहरूले खराब कुराहरू गर्न थाले। अनि तिनीहरूले कस्ता खराब कामहरू गरे? तिनीहरू मूर्तिपूजा, अनैतिकता, गरिबहरूको शोषण र अन्य घोर पापका दोषी भए! फलस्वरूप, सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश भयो र यहूदाका बासिन्दाहरूलाई बेबिलोनमा कैदी बनाएर लगियो।

यसरी परमेश्‍वरले आफ्ना जनहरूलाई सजाय दिनुभयो। तथापि, यरूशलेममा अझै यस्तो सोर सुनिनेछ भनेर उहाँले आफ्नो अगमवक्‍ता यर्मियामार्फत्‌ भविष्यवाणी गर्नुभयो: “सेनाहरूका परमप्रभुलाई धन्यवाद चढ़ाऊ, किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ।” (यर्मिया ३३:१०, ११) अनि हुन पनि त्यस्तै भयो। त्यस भूमिको विनाश भएको ७० वर्षपछि अर्थात्‌ सा.यु.पू. ५३७ मा बाँकी रहेका यहूदीहरू यरूशलेम फर्के। (यर्मिया २५:११; दानियल ९:१, २) तिनीहरूले मोरीयाह डाँडामा अवस्थित मन्दिरको इलाकामा वेदी पुनर्निर्माण गरे र बलिहरू चढाउन थाले। तिनीहरू फर्केको दोस्रो वर्षमा मन्दिरको जग बसालियो। त्यो कस्तो रमाहटको समय थियो! “जब बनाउनेहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्ना पोशाक लगाएर आफ्ना तुरहीका साथमा, र आसापका छोरा लेवीहरू आफ्ना आफ्ना खैंजड़ी लिएर इस्राएलका राजा दाऊदले तोकिदिएको रीतिअनुसार परमप्रभुको प्रशंसा गर्न आफ्नो आफ्नो ठाउँमा खड़ा भए। औ तिनीहरूले स्तुति गर्दै र परमप्रभुलाई धन्यवाद दिंदै यसो भनेर गाए, ‘परमप्रभुलाई धन्यवाद दिनु असल कुरो हो, किनभने उहाँको करुणा इस्राएलमाथि सदा सर्वदै रहिरहँदछ।’ ”—एज्रा ३:१-११.

१०. कस्ता उल्लेखनीय अभिव्यक्‍तिहरूद्वारा भजन ११८ को सुरु र अन्त हुन्छ?

१० यहोवाको भलाइको सन्दर्भमा प्रशंसाका त्यस्तै अभिव्यक्‍तिहरू थुप्रै भजनहरूमा पाइन्छन्‌। ती भजनहरूमध्ये एउटा भजन ११८ हो र यस भजनलाई इस्राएलीहरूले निस्तार चाडको अन्तमा गाएका थिए। भजनको सुरु र अन्त यसप्रकार छ: “परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ। र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ।” (भजन ११८:१, २९, नयाँ संशोधित संस्करण) सा.यु. ३३ मा येशू ख्रीष्टले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात आफ्ना विश्‍वासी प्रेरितहरूसित गाउनुभएको प्रशंसाको भजन यही हुन सक्छ।—मत्ती २६:३०.

“बिन्ती छ, मलाई तपाईंको महिमा देखाउनुहोस्‌”

११, १२. मोशाले परमेश्‍वरको महिमाको झलक पाएपछि कस्तो घोषणा सुने?

११ यहोवाको भलाइ र कृपाबीचको सम्बन्ध सर्वप्रथम एज्राको समयभन्दा शताब्दीयौंअघि प्रस्ट भएको थियो। इस्राएलीहरूले उजाडस्थानमा सुनको बाछाको उपासना र गल्ती गर्नेहरूलाई भस्म गरेको केही समयपछि मोशाले यहोवालाई यस्तो बिन्ती गरे: “बिन्ती छ, मलाई तपाईंको महिमा देखाउनुहोस्‌।” उहाँको अनुहार हेरेर मोशा जीवित रहनसक्‍तैन भनी थाह भएको कारण यहोवाले यसो भन्‍नुभयो: “म तेरै सामने मेरो सारा विभव [“भलाइ,” NW] देखाउनेछु।”—प्रस्थान ३३:१३-२०.

१२ भोलिपल्ट सीनै पर्वतमा मोशाले आफ्नो सामने यहोवाको भलाइ देखे। त्यतिबेला मोशाले परमेश्‍वरको महिमाको झलक देखे र यस्तो घोषणा पनि सुने: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता-पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ।” (प्रस्थान ३४:६, ७) यी शब्दहरूले यहोवाको भलाइ उहाँको कृपा र उहाँको व्यक्‍तित्वका अन्य पक्षहरूसँग सम्बन्धित छ भनेर संकेत गर्छ। यी कुराहरूलाई विचार गर्दा हामीले भलाइ प्रदर्शन गर्न मदत पाउँछौं। हामी सबैभन्दा पहिला यस अद्‌भुत घोषणामा दुई चोटि उल्लेख गरिएको गुणमा ध्यान देऔं।

“परमप्रभु . . . कृपा[मा] . . . प्रशस्त हुनुहुन्छ”

१३. परमेश्‍वरको भलाइको घोषणा गर्दा कुन गुण दुई-दुई चोटि उल्लेख गरिएको छ र यो किन एकदमै उपयुक्‍त छ?

१३ “परमप्रभु . . . कृपामा] प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुन्छ]।” “कृपा” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “वफादार प्रेम” पनि हो। परमेश्‍वरले मोशालाई गर्नुभएको घोषणामा दुई-दुई चोटि दोहऱ्‍याइएको गुण यही मात्र हो। यसरी दोहऱ्‍याइनु एकदमै उपयुक्‍त छ किनभने परमेश्‍वरको प्रमुख गुण प्रेम हो! (१ यूहन्‍ना ४:८) यहोवा ‘भलो हुनुहुन्छ, र उहाँको कृपा सदासर्वदा रहिरहन्छ’ भन्‍ने चिरपरिचित अभिव्यक्‍तिले यस गुणलाई प्रकाश पार्छ।

१४. विशेष गरी कसले परमेश्‍वरको भलाइ र कृपा पाउँछ?

१४ यहोवाले भलाइ प्रदर्शन गर्नुहुने एउटा तरिका हो, उहाँ “कृपा[मा] प्रशस्त” हुनुहुन्छ। यो विशेष गरी उहाँले आफ्ना समर्पित, विश्‍वासी मानव सेवकहरूलाई गर्नुहुने कोमल व्यवहारमा स्पष्ट हुन्छ। (१ पत्रुस ५:६, ७) उहाँलाई प्रेम र सेवा गर्ने मानिसहरूतर्फ उहाँले ‘कृपा देखाउनुहुन्छ’ भन्‍ने कुरा यहोवाका साक्षीहरूले पुष्टि गर्न सक्छन्‌। (प्रस्थान २०:६) इस्राएल राष्ट्रले यहोवाको कृपा वा वफादार प्रेम पाउन छोड्यो किनभने तिनीहरूले उहाँको पुत्रलाई तिरस्कार गरे। तर सबै राष्ट्रका विश्‍वासी मसीहीहरूतर्फ परमेश्‍वरको भलाइ र वफादार प्रेम सदासर्वदा रहिरहनेछ।—यूहन्‍ना ३:३६.

यहोवा—टिठाउनमा भरिपूर्ण र दयालु

१५. (क) सीनै पर्वतमा मोशाले सुनेको घोषणाको सुरुका अभिव्यक्‍तिहरू कस्ता थिए? (ख) टिठाउनुमा के-के समावेश छ?

१५ सीनै पर्वतमा मोशाले सुनेको घोषणाको सुरुमा यसो भनिएको थियो: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर।” “टिठाउनु” भनी अनुवाद गरिएको हिब्रू शब्दले “पेट” भन्‍ने अर्थ बुझाउन सक्छ र यो “गर्भाशय[को]” अर्थसित मिल्दोजुल्दो छ। अतः टिठाउनुमा कोमल अनुकम्पाजस्ता मानिसका भित्री भावनाहरू समावेश हुन्छन्‌। तर टिठाउनु भनेको कसैप्रति दया देखाउनु मात्र होइन। यसले हामीलाई अरूको दुःखकष्ट हटाउने केही ठोस कदम चाल्न पनि उत्प्रेरित गर्नुपर्छ। उदाहरणका लागि, मायालु मसीही प्राचीनहरूले सँगी विश्‍वासीहरूलाई उपयुक्‍त भएको बेला ‘खुसीसित कृपा देखाउने’ महत्त्वलाई बुझेका हुन्छन्‌।—रोमी १२:८; याकूब २:१३; यहूदा २२, २३.

१६. यहोवा दयालु हुनुहुन्छ भनी किन भन्‍न सकिन्छ?

१६ परमेश्‍वरको भलाइ उहाँको दयामा पनि प्रकट हुन्छ। दयालु व्यक्‍तिले “अरूका भावनाहरू बुझ्छ” र ‘विशेष गरी ऊ आफूभन्दा तल्लो स्तरका मानिसहरूप्रति दयालु हुन्छन्‌।’ विश्‍वासी सेवकहरूसँग व्यवहार गर्ने सन्दर्भमा दयाको सबैभन्दा सर्वोत्कृष्ट उदाहरण यहोवा हुनुहुन्छ। उदाहरणका लागि, परमेश्‍वरले दयालुपूर्वक स्वर्गदूतहरूमार्फत्‌ वृद्ध अगमवक्‍ता दानियललाई बल दिनुभयो र येशूलाई जन्माउने सुअवसरबारे कुमारी मरियमलाई जानकारी दिनुभयो। (दानियल १०:१९; लूका १:२६-३८) परमेश्‍वरका जनहरूको हैसियतमा हामी निश्‍चय पनि बाइबलका पानाहरूमार्फत्‌ हामीलाई उहाँतर्फ खिच्ने उहाँको दयालु मार्गको मूल्यांकन गर्छौं। यसरी भलाइ प्रदर्शन गर्नुभएकोमा हामी उहाँको प्रशंसा गर्छौं र हामी आफू पनि अरूसँग व्यवहार गर्दा दयालु हुने कोसिस गर्छौं। आध्यात्मिक योग्यता भएकाहरूले सँगी विश्‍वासीलाई “नम्रताको आत्माले” अनुशासन दिंदा विनीत र दयालु हुने कोसिस गर्छन्‌।—गलाती ६:१.

परमेश्‍वर रिस गर्नमा ढिलो हुनुहुन्छ

१७. यहोवा “रीस गर्नमा ढिलो” हुनुभएकोमा हामी किन कृतज्ञ छौं?

१७ ‘परमेश्‍वर रिस गर्नमा ढिलो हुनुहुन्छ।’ यी शब्दहरूले यहोवाको भलाइको अर्को पक्षमाथि ध्यान केन्द्रित गर्छ। यहोवाले हाम्रा गल्तीहरू सहनुहुन्छ र हामीलाई आफ्ना गम्भीर कमजोरीहरूमाथि विजय हासिल गर्न र आध्यात्मिक प्रगति गर्न समय दिनुहुन्छ। (हिब्रू ५:१२–६:३; याकूब ५:१४, १५) परमेश्‍वरको धीरजले गर्दा अहिलेसम्म उहाँका उपासक भई नसकेका मानिसहरूलाई पनि फाइदा हुन्छ। तिनीहरूले परमेश्‍वरको राज्य सन्देश सुनेर पश्‍चात्ताप गर्ने मौका पाउँछन्‌। (रोमी २:४) तथापि, यहोवा धीरजी हुनुभए तापनि भलाइले उहाँलाई कहिलेकाहीं आफ्नो रिस पोखाउन उत्प्रेरित गर्छ। जस्तै, इस्राएलीहरूले सीनै पर्वतमा सुनको बाछाको उपासना गर्दा उहाँले त्यस्तो रिस पोखाउनुभएको थियो। परमेश्‍वरले शैतानको दुष्ट रीतिरिवाजको अन्त गर्नुहुँदा उहाँले आफ्नो रिस झनै प्रकट गर्नुहुनेछ।—इजकिएल ३८:१९, २१-२३.

१८. सत्यको सन्दर्भमा यहोवा र मानव नेताहरूबीच कस्तो भिन्‍नता छ?

१८ “परमप्रभु . . . सत्यतामा प्रशस्त हुनुहुन्छ।” ठूल-ठूला प्रतिज्ञाहरू गरेर पूरा नगर्ने मानव नेताहरूभन्दा यहोवा एकदमै भिन्‍न हुनुहुन्छ! त्यसको विपरीत, यहोवाका उपासकहरूले उहाँले आफ्नो प्रेरित वचनमा भन्‍नुभएका सबै कुरामा भरोसा गर्न सक्छन्‌। यहोवा सत्यतामा प्रशस्त हुनुभएकोले हामी सधैं उहाँका प्रतिज्ञाहरूमा भरोसा गर्न सक्छौं। उहाँको भलाइको कारण हाम्रा स्वर्गमा हुनुहुने पिताले हाम्रो प्रार्थनाको जवाफस्वरूप प्रशस्त मात्रामा आध्यात्मिक सत्य दिनुहुन्छ।—भजन ४३:३; ६५:२.

१९. पश्‍चात्तापी पापीहरूप्रति यहोवाले कस्तो उल्लेखनीय ढंगमा भलाइ देखाउनुभएको छ?

१९ “परमप्रभु . . . अपराध, र पाप क्षमा गर्नुहुनेहुनुहुन्छ।] भलाइको कारण यहोवा, पश्‍चात्तापी पापीहरूलाई क्षमा दिन तयार हुनुहुन्छ। हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताले येशूको बलिदानमार्फत्‌ क्षमा दिने प्रबन्ध मिलाउनुभएकोमा हामी निश्‍चय पनि कृतज्ञ छौं। (१ यूहन्‍ना २:१, २) छुडौतीको बलिदानमा विश्‍वास गर्ने सबैले यहोवासँग सुमधुर सम्बन्धका साथै प्रतिज्ञा गरिएको नयाँ संसारमा अनन्त जीवनको आनन्द पनि उठाउन सक्छन्‌ भन्‍ने कुरा थाह पाउँदा हामी साँच्चै खुसी छौं। यहोवाले मानिसजातिप्रति भलाइ देखाउनुभएकोमा उहाँको प्रशंसा गर्ने कस्तो सशक्‍त कारण!—२ पत्रुस ३:१३.

२०. परमेश्‍वरले खराबीलाई सहनुहुन्‍न भन्‍ने सन्दर्भमा हामीसँग कस्ता प्रमाणहरू छन्‌?

२० ‘परमेश्‍वरले दोषीलाई कुनै किसिमले पनि निर्दोष ठहराउनुहुने छैन।’ वास्तवमा यो यहोवाको भलाइको प्रशंसा गर्ने अर्को कारण हो। किन? किनभने भलाइको एउटा महत्त्वपूर्ण पक्ष भनेको नै यसले कुनै पनि तरिकामा खराबीलाई सहँदैन। यसबाहेक, “उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, . . . सुसमाचार नमान्‍नेहरूलाई” उहाँले दण्ड दिनुहुनेछ। तिनीहरूले “अनन्त विनाशको सजाय भोग्नेछन्‌।” (२ थिस्सलोनिकी १:६-९) त्यसपछि यहोवाका बाँकी रहेका उपासकहरूलाई “असल नरूचाउने” अर्थात्‌ अधर्मी मानिसहरूले कुनै प्रकारको गोलमाल गर्न पाउने छैनन्‌ र फलतः जीवनको पूरा आनन्द उठाउन सक्नेछन्‌।—२ तिमोथी ३:१-३.

यहोवाको भलाइको देखासिकी गर्नुहोस्‌

२१. हामीले किन भलाइ देखाउनुपर्छ?

२१ हामीले परमेश्‍वरको भलाइको निम्ति धन्यवाद दिनुपर्ने र उहाँको प्रशंसा गर्नुपर्ने थुप्रै कारणहरू छन्‌। उहाँका सेवकहरूको हैसियतमा के हामीले यो गुण प्रदर्शन गर्न यथासक्दो गर्नुपर्दैन र? गर्नुपर्छ किनभने प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ।” (एफिसी ५:१) हाम्रो स्वर्गमा हुनुहुने पिताले सधैं भलाइ देखाउनुहुन्छ र हामीले पनि त्यसै गर्नुपर्छ।

२२. अर्को लेखमा हामी के छलफल गर्नेछौं?

२२ हामी तनमनले यहोवाप्रति समर्पित छौं भने, हामी उहाँको भलाइको देखासिकी गर्न अवश्‍य उत्सुक हुनेछौं। हामी पापी आदमका सन्तान भएको कारण असल कुरा गर्न हामीलाई सजिलो हुँदैन। तथापि, यसपछिको लेखमा हामी भलाइ प्रदर्शन गर्नु किन सम्भव छ भनेर बुझ्नेछौं। हामी भलाइको सर्वोत्कृष्ट उदाहरण यहोवाको देखासिकी गर्न सक्ने र गर्नुपर्ने विभिन्‍न तरिकाहरू छलफल गर्नेछौं।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• भलाइ भनेको के हो?

• कस्ता धर्मशास्त्रीय अभिव्यक्‍तिहरूले परमेश्‍वरको भलाइ प्रकाश पार्छ?

• यहोवाले भलाइ प्रदर्शन गर्नुहुने केही तरिकाहरू के-के हुन्‌?

• हामीले किन यहोवाको भलाइको उदाहरण देखासिकी गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

यहोवाले आफ्ना पुरातन जनहरूलाई अनुशासन दिनुभयो किनभने तिनीहरूले परमेश्‍वरको लागि गाएको आफ्नो प्रशंसाको भजनअनुरूप लामो समयसम्म जीवन बिताएनन्‌

[पृष्ठ १२-मा भएको चित्र]

बाँकी रहेका विश्‍वासी जनहरू यरूशलेम फर्के

[पृष्ठ १३-मा भएको चित्र]

मोशाले परमेश्‍वरको भलाइको अद्‌भुत घोषणा सुने

[पृष्ठ १५-मा भएको चित्र]

यहोवाको भलाइ, उहाँले हामीलाई बाइबलका पानाहरूमार्फत्‌ उहाँतर्फ खिच्नुहुने तरिकामा प्रदर्शन हुन्छ