सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“रुन्चे” रूख र यसको बहुउपयोगी “आँसु”

“रुन्चे” रूख र यसको बहुउपयोगी “आँसु”

“रुन्चे” रूख र यसको बहुउपयोगी “आँसु”

‘घाउमा मलहम लगाऊ’ भनी यर्मिया ५१:८ ले बताउँछ। पीडा कम गर्ने र निको पार्ने तत्त्वको स्रोतको खोजीमा हामी एजियन सागरको चियोस टापुमा पुग्यौं।

गृष्मऋतुको सुरुतिर चियोसका किसानहरूले असाधारण तरिकामा कटनी गर्ने तयारी गर्छन्‌। भुइँ बढारिसकेपछि झाडीजस्तो देखिने मास्टिक भनिने सदाबहार रूखहरूको फेदमा सेतो माटोले लिप्छन्‌। त्यसपछि ती किसानहरूले रूखका बोक्राहरूमा चिरा-चिरा पारेर रूखलाई “रुवाउँछन्‌।” लस्सादार पहेंलो “आँसु” बिस्तारै चुहिन थाल्छन्‌। दुई/तीन हप्तापछि लस्साहरू जमेर ढिक्का हुन्छन्‌ र किसानहरूले ती जमेका ढिक्काहरूलाई रूखको फेदमा लिपिएको सेतो माटोको सतहबाट संकलन गर्छन्‌। गम मास्टिक भनिने यी “आँसु” मलहम बनाउन प्रयोग गरिन्छन्‌।

तथापि, कटनी गर्नुअघि धैर्य तथा परिश्रम गर्नु आवश्‍यक हुन्छ। बटारिएका खैरा रूखका हाँगाहरू बढ्‌न निकै समय लाग्छ। रूख पूरा बढ्‌न अर्थात्‌ साधारणतया छदेखि दस फिटको उचाइसम्म पुग्न ४० देखि ५० वर्ष लाग्छ।

हाँगाहरू काट्‌नु र “आँसु” जम्मा गर्नुको अलावा मास्टिक उत्पादन गर्न थप कार्यहरू गर्नुपर्ने हुन्छ। मास्टिक “आँसु” जम्मा गरिसकेपछि किसानहरूले यसलाई चाल्छन्‌, धुन्छन्‌ र आकार तथा गुणस्तरअनुसार यसलाई अलग-अलग छुट्याउँछन्‌। पछि, यस मास्टिकलाई अझै सफा गरेर थुप्रै कार्यहरूमा प्रयोग गर्न सकिन्छ।

बहुमूल्य बिरुवाको इतिहास

अंग्रेजी शब्द “मास्टिक” युनानी शब्दबाट लिइएको हो र त्यसले “दाह्रा किट्‌नु” भन्‍ने अर्थ बुझाउँछ। (मत्ती ८:१२; प्रकाश १६:१०) यस नाउँले संकेत गरेअनुसार प्राचीन समयदेखि नै ताजा सासको लागि मास्टिकका लस्साहरूलाई चुइङ्‌गमको रूपमा प्रयोग गरिन्थ्यो।

मास्टिकबारे सबैभन्दा पुरानो जानकारी सा.यु.पू. पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटसले दिएको पाइन्छ। अन्य प्राचीन लेखक तथा चिकित्सकहरूमा अपोल्लोडोरस, डायोस्कोरिडस, थियोफ्रेस्टस र हिपोक्रेट्‌सलगायत अरूले पनि चिकित्सामा मास्टिकको प्रयोगबारे उल्लेख गरेका छन्‌। मास्टिकका रूखहरू भूमध्यसागर वरिपरिका समुद्री तटहरूमा उम्रिने भए तापनि लगभग सा.यु. ५० देखि यता प्रायः चियोसमा उम्रिन थालेको पाइन्छ। अनि चियोसमाथि विजय हासिल गर्ने रोमीहरूदेखि लिएर जिनोआली र अटोमनहरू सबैका लागि मास्टिक प्रमुख चासोको विषय थियो।

बहुउपयोगी मास्टिक

प्राचीन मिश्रका चिकित्सकहरूले मास्टिकलाई पखाला तथा जोर्नीशोथलगायत विभिन्‍न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गर्थे। तिनीहरूले यसलाई धूपको रूपमा र लासलाई कुहिनदेखि जोगाउन पनि प्रयोग गर्थे। मास्टिक रूख उपचारमा एकदमै उपयोगी र श्रृंगार-पटारका सामग्रीमा अनि अत्तर बनाउँदा प्रयोग हुने हुँदा बाइबलले उल्लेख गरेको ‘गिलादको मलहमका’ स्रोतहरूमध्ये मास्टिक पनि एक हुन सक्छ। (यर्मिया ८:२२; ४६:११) भनिन्छ, सुगन्धित पवित्र धुपौरो बनाउँदा राखिने नखी उत्पादन गर्ने रूख पनि मास्टिक परिवारमै पर्छ।—प्रस्थान ३०:३४, ३५.

आज, तैलचित्र, फर्निचर तथा संगीतका सामग्रीहरूलाई जोगाउने बार्निसमा मास्टिक प्रयोग गरिन्छ। यसलाई विद्युत्‌ प्रवाह रोक्न तथा पानी नछिर्ने सामग्रीको रूपमा पनि प्रयोग गरिन्छ भने, लुगा रंग्याउँदा अनि चित्रकारले चित्र कोर्दा रङलाई स्थायी बनाउन उपयुक्‍त मानिन्छ। मास्टिकलाई गम तथा छाला बनाउने काममा पनि प्रयोग गरिएको पाइन्छ। यसको मनै लोभ्याउने सुवास तथा अन्य गुणहरूले गर्दा मास्टिकलाई साबुन, श्रृंगारका सामग्री तथा अत्तरहरूमा पनि प्रयोग गरिन्छ।

विश्‍वभरि २५ वटा औषधीको आधिकारिक सूचीमा मास्टिक पनि उल्लेख गरिएको पाइन्छ। अरब राष्ट्रहरूमा यसलाई अझ पनि परम्परागत औषधीहरूमा प्रायजसो प्रयोग गरिन्छ। दाँतमा भरिने सिमेन्ट अनि क्याप्सुल औषधीहरूका भित्री लेपमा पनि यसलाई प्रयोग गरिन्छ।

मलहमको स्रोतको रूपमा विभिन्‍न काममा प्रयोग हुने “रुन्चे” मास्टिक रूखका “आँसुले” शताब्दीयौंदेखि पीडा कम गर्ने र निको पार्ने काम गरिरहेको छ। यसैकारण त यर्मियाको अगमवाणीले ‘घाउमा मलहम लगाऊ’ भन्‍नु उचित छ।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

चियोस

मास्टिकको कटनी गर्दै

मास्टिकको “आँसु” होसियारीसाथ संकलन गरिन्छ

[स्रोत]

Chios and harvest line art: Courtesy of Korais Library; all others: Kostas Stamoulis